Thursday, 3 November 2022

आर्सनल युरोपा लिगको नकआउट चरणमा, युनाइटेडले प्लेअफ खेल्नुपर्ने

१८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ज्युरिचलाई १-० ले पराजित गर्दै आर्सनल समूह ए को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलका लागि काएरन टिर्नेले गोल गरे ।

आर्सनलले ६ खेलबाट १५ अंक जोड्यो । बोडो/ग्लिम्टलाई २-१ ले पराजित गरेको पिएसभी आइन्डहो भने १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पिएसभीले अब युरोपा लिगको नकआउट चरणमा प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ ।

यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिगमा समूहको अन्तिम खेलमा स्पानिस क्लब रियल सोसिडाडलाई १-० ले हरायो । जितका बाबजुत पनि युनाइटेड समूह ‘ई’ को विजेता भने बन्न सकेन र सिधै नकआउट चरणमा पुग्ने अवसर गुमायो । युनाइटेड र सोसिडाडको समान १५ अंक भएपनि गोल अन्तर अघि रहँदै सोसिडाड अन्तिम १६ मा प्रवेश गर्‍यो । अब युनाइटेडले भने अन्तिम १६ मा प्रवेश पाउनका लागि प्लेअफ खेल्नुपर्नेछ ।

युरोपा लिगमा ८ समूहका समूह विजेताहरु सिधै अन्तिम १६ मा प्रवेश गरेका छन् । ८ समूहका उपविजेताले भने युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदै युरोपा लिगमा घटुवा भएका ८ टिमसँग प्लेअफ खेल्नुपर्नेछ । त्यसबाट विजेता टिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने छन् ।



source https://www.onlinekhabar.com/2022/11/1212928

रवि लामिछाने भन्छन्- संसदमा जान तम्तयार छौं

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘वाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए ।

आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरे । जसले देशका बेथिति अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलीन गरिदिने उनले बताए ।



source https://www.onlinekhabar.com/2022/11/1212483

मधेश राजनीतिको कथामा फिल्म बनाउँदै ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ

काठमाडौं । सर्वाधिक कमाइको कीर्तिमान रचेको नेपाली फिल्म ‘कबड्डी ४’का निर्माता तथा निर्देशक रामबाबु गुरुङको आगामी फिल्मको लाइनअप निश्चित भएको छ ।

‘कबड्डी ५’को निर्माण थाल्नुअघि गुरुङको निर्देशनमा नयाँ फिल्मको छायांकन सुरु हुँदैछ । मधेशको विषयवस्तुमा बन्न लागेको फिल्मको पटकथा श्याम शाहले लेखेका छन् । फिल्मको शीर्षक भने राखिसकिएको छैन ।

‘मधेशको राजनीति र समाजको कथावस्तुमा फिल्म बनाउँदैछौं,’ निर्देशक गुरुङले अनलाइनखबरसँग भने, ‘यो फिल्मको छायांकन सकेपछि मात्र हामी कबड्डी ५ को तयारीमा जुट्नेछौं ।’

दुई चरणमा फिल्मको छायांकन हुनेछ । एक चिसो र गर्मीयामका दृश्य भिन्न मौसममा खिच्ने तयारी छ । खुला अडिसनमार्फत कलाकार छनोट गर्ने योजना छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा बन्ने फिल्मबारे निर्देशक गुरुङले भने, ‘यो राजनीतिक व्यंग्यको कथावस्तुमा समेत बन्नेछ । यसले समाज र राजनीतिलाई सटायर गर्छ ।’ महत्वपूर्ण कुरा के छ भने यो फिल्ममा दयाहाङ राई र निर्देशक गुरुङको सहकार्य हुनेछैन ।

गुरुङकै नयाँ फिल्म ‘जारी’ आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा छ ।



source https://www.onlinekhabar.com/2022/11/1212495

Wednesday, 2 November 2022

उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

१७ कात्तिक, काठमाडौं । उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।

उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बीबीसीले जनाएको छ ।

जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।

उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाबीच एयरफोर्स ड्रिलपछि उत्तर कोरियाको तर्फबाट आक्रामक कदम उठाउने सिलसिला जारी रहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले उक्त ड्रिल रोक्न आह्वान गरेको थियो । त्यसको जवाफमा दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरिायाबीचको सम्बन्ध बिगार्ने प्रयास सफल नहुने बताएको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1212440

मभन्दा योग्य छ भने अर्कोलाई जिताउनुस् : आकर्षण पोखरेल

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि उम्मेदवार छन् । पोखरेल विगतमा नेताहरूले समस्या धेरै उठाएको तर समाधान दिन नसकेको बताउँछन् । ‘समस्या छ भनेर मात्र हुन्न, समाधान दिन सक्नुपर्छ’ हिजोआज उनी यही भनेर भोट मागिरहेका छन् । पोखरेलसँग उनको चुनावी अभियानका विषयमा गरिएको कुराकानी :

मतदातासँग संवाद गरिरहनुभएको छ, उनीहरूले के खोज्ने रहेछन् ?

मतदाताको माग ठूला छैनन्, उनीहरूले दैनिक समस्या समाधान होस् भन्ने नै चाहना राखेको देखिन्छ । हाम्रो देशमा त्यो स्तरको चेतनास्तर देखिंदैन, त्यसैले उम्मेदवारसँग पनि सानातिना समस्या नै राख्दा रहेछन् ।

कस्ता समस्या राख्दा रहेछन् ?

खानेपानी, सडक खाल्डाखुल्डी भएका, ट्राफिक अस्तव्यस्तता, ढलको समस्या, फोहोर नउठ्ने समस्या, उपचार महँगो भएको आदि आदि । सुशासनमा कम चासो छ ।

तपाईंले के एजेण्डा उठाउनुभएको छ ?

मैले निर्वाचित भएपछि नीतिगत काम गर्छु भनेको छु । एउटा क्षेत्रका लागि होइन, देशकै लागि काम गर्छु भनिराखेको छु । व्यावहारिक समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ भनेर संकल्प प्रस्तावहरू तयार पारेर मतदातालाई दिइरहेको छु ।

मेरो संकल्प खानेपानीको लागि हरेक धारामा पिउने पानी आउनुपर्छ । विगतमा उम्मेदवारले आश्वासन मात्र दिए, मैले त्यसलाई प्रष्ट्याउन खोजेको छु ।

कसरी त ?

राजनीतिक दलहरूले टोल स्तरसम्म कमिटी बनाएको देखिन्छ । मैले त्यस्तो टोल कमिटीले विकासका काममा सहजीकरण गर्नुपर्छ भनेको छु । उदाहरणका लागि मैले आफू बस्ने लोलाङ हाइटमा दश घरमा एउटा प्रोजेक्ट गरेको छु । उहाँहरूले आफ्नो हिसाबले विगतमा जस्तै इनार वा ट्याङ्करबाट पानी जम्मा गर्नुहुन्छ । जम्मा भएको पानीलाई एउटा केन्द्रीय ट्याङ्की बनाएर राख्ने र त्यसलाई शुद्धीकरण गरेर घरघरमा पठाउने । पछि ट्याङ्कर ल्याउनुपर्‍यो भने मिटर सिस्टममा पानी वितरण गर्ने ।

तपाईंका मतदाताको माग व्यवस्थित शहरीकरण देखिन्छ, तर, सडक साँघुरो छ, त्यसलाई फराकिलो पार्न घर भत्काउनुपर्छ । यसको समाधान के हुन्छ ?

त्यसका लागि सडकलाई वान वे बनाउनुपर्छ । एउटा सडकमा एकतर्फ जाने गाडी मात्र चल्ने । बाटो बढाउन समस्या छ भने जबर्जस्ती दोहोरो लेन बनाउने होइन । अझ बिहान स्कुल बस भएका बेला सडकमा बढी समस्या देखिन्छ । दुई किलोमिटर टाढाको स्कुल पुग्न दुई घन्टासम्म लाग्छ । त्यसकारण साँघुरा सडकहरूलाई वान वे बनाउने बारेमा अध्ययन गरिरहेको छु ।

त्यस्तै सडकलाई विभिन्न प्रकारमा विभाजन पनि गर्न सकिन्छ । हाल हामीसँग स्थानीय सडकहरू मात्र छन्, जहाँ मान्छे हिंड्न पनि मिल्ने, जताबाट पनि गाडी मोड्न मिल्ने । यसलाई चिर्न मैले चुनावी संकल्पपत्रमा पूर्वाधारमा राष्ट्रिय सडक सञ्जाल सम्बन्धी नीति बनाउने भनेको छु । कुन सडकमा कति भार बोकेको गाडी कुन बेला चलाउने भनेर नीति बनाउनुपर्छ ।

तपाईंले भनेजस्तै नीति बनाउन योग्य व्यक्ति छान्ने चाहना जनतामा छ ?

राष्ट्रिय राजनीतिलाई अघि बढाउन आर्थिक विकास पहिलो पाइला हो । कृषिको कुरा गर्दा हिमालदेखि तराईसम्म केही न केही फल्छ । यसकारण कृषिलाई माथि लैजानुपर्छ । तर, कृषिलाई माथि लैजान सरकारले नै सहयोग गरिरहेको छैन ।

यसका लागि मैले एग्रिकल्चर पर्चेज एग्रिमेन्टको कुरा लिएर आएको छु । तथ्यांक हेर्दा ९५ करोड रुपैयाँको कागती आयात भएको छ । यसको अर्थ ९५ करोड रुपैयाँको कागतीको बजार हामीसँग छ ।

राज्यले व्यवसायी वा किसानहरूसँग ९५ करोडको कागती खरिद गर्ने सम्झौता गर्न सक्छ । यसो गर्दा आयात रोकिन सक्छ ।

यसका लागि त संसदमा बहुमत चाहिन्छ नि ?

समाधान नै दिन नसकेर समस्या देखिएको हो । समाधानको राम्रो सुझाव वा प्रस्ताव आउँदा सबैले समर्थन गर्छन् । समस्या छ भनेर उठाएर हुन्न समाधान दिन सक्नुपर्छ । समाधानको विषय पस्किन सक्दा एक्लै भएर पनि जुन दल बहुमतमा आए पनि नेतृत्व गर्न सकिन्छ ।

म चुनावी अभियानमा छु । मभन्दा योग्य भए अर्कोलाई जिताउनुस्, होइन म योग्य छु भने मलाई जिताउनुस् । ताकि योग्यले जित्दा सबैले जित्छौं ।



source https://www.onlinekhabar.com/2022/11/1212398

चुनाव बहस २ : जनकपुरधामबाट LIVE

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा चुनावी बहसको दोस्रो श्रृंखला मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सुरु भएको छ ।

हेर्नुहोस् अन्नपूर्ण होटल, जिरो माइलबाट प्रत्यक्ष प्रसारण



source https://www.onlinekhabar.com/2022/11/1212424

कृषि औजार कारखानामा छिर्‍यो राष्ट्रिय आविष्कार केन्द्र

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखानामा भएका सामग्रीको लगत संकलन सुरु भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो ।

मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको छ ।

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।

कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर प्रज्वल कोजुले औजार उपकरणको अवस्था चेकजाँच गरिरहेको बताए ।

‘काम गर्न यता उता हिँडडुल गर्न मिल्ने गरि सरसफाई गरेका छौं । मेकानिकल सेक्सनमा पहिलाका मेशिन उपकरणलाई सफा गर्दै, चेक गर्दै, बनाउन मिल्ने छ कि छैन ? या कामै नलाग्ने छन् कि ? भनेर छुट्याउँदै छौं’, उनले भने, ‘लेथ मेसिन, सेपर, ग्रेन्डरहरु ठीकै छ । मोटरहरु राम्रै कन्डिसनमा छ । पछि चालु अवस्थामा ल्याउन मर्मत नै गर्नुपर्ने हुन्छ । टेस्टिङ गर्दा धेरैजसो मेसिनहरु बनाएर काम गर्न मिल्ने अवस्थामा छ ।’

६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केही मेसिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको बताउँदै उनले कतिपय यत्तिकै पनि चलाउन सकिने बताए ।

कारखानामा रहेका मेसिनहरू संकलन गर्दै आविष्कार केन्द्रका कर्मचारीहरू ।

बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सुरक्षाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिइएको छ । कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीका अनुसार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मुल्यांकन गरिरहेको बताए ।

‘कति मेसिन, औजार, उपकरण छ । काम लाग्ने कति छ, कति मर्मत गरेर चलाउन सकिन्छ, कति कामै नलाग्ने छ । भवनको अवस्था के छ ? रंगरोगन र मर्मत संभारका लागि के कति खर्च लाग्छ’, उनले भने, ‘प्राविधिक मुल्यांकन गर्नुहुन्छ, रेकर्ड राख्नुहुन्छ । लागत स्टिमेट सहित प्रतिवेदन समितिलाई बुझाउनुहुन्छ । ‘

सोही प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएर रकम निकासा गरी कारखाना सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताए ।

‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उनले भने, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२/३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।

यो पनि पढ्नुस्



source https://www.onlinekhabar.com/2022/11/1212370

निर्वाचन आयोगले रोक्यो प्रधानमन्त्री देउवाको डडेल्धुरा यात्रा

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ ।

प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको हो ।

‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रैछ । हामीले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय भएको हो,’ स्रोतले भन्यो ।

आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो ।

चौतर्फी दबाबपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो । तर, सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बतायो ।

प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा जाने तयारीमा थिए । बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1211979

नेपालगञ्जबाट सुरु भयो ‘महापुरुष’को पोस्ट-रिलिज प्रचार, दर्शकसँग बसेर फिल्म हेर्ने

काठमाडौं । अहिले हलमा चलिरहेको महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन् । पहिलो सप्ताहन्त उत्कृष्ट कमाइ गरेको फिल्मलाई बलियो वर्ड अफ माउथ मिलिरहेको छ ।

पहिलो साता फिल्मले चार करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने प्रक्षेपण छ । दोस्रो साता पनि ठूला फिल्म नभएकाले यसको फाइदा महापुरुषलाई नै हुने देखिन्छ ।

विकडेजमा समेत ५० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको फिल्ममा दर्शकलाई तान्ने अभियान निर्माताले थालेका छन् । यतिबेला निर्माताको जोड मोफसल केन्द्रित देखिन्छ ।

जसअनुसार निर्माता र कलाकारको टोली बुधबार पश्चिम नेपालको प्रमुख फिल्म बजार नेपालगञ्ज पुगेको छ । त्यसपछि सुदूरपश्चिम, लुम्बिनी प्रदेशका हल हुँदै पूर्वी नेपालका हलमा ‘क्याम्पेन’ चलाउँदै फिल्मले दर्शकसँग साक्षात्कार गर्नेछ ।

कात्तिक १६ मा नेपालगञ्जमा दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढका दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछ ।

महापुरुषको ‘पोस्ट-रिलिज’ भ्रमणमा रविन्द्रसहित निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली सामेल छन् ।

अघिल्ला आफ्ना फिल्म टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रालाई पनि ती सहरबाट राम्रो प्रतिक्रिया मिलेको बानियाँले बताए । निर्देशक भट्टराई पनि दर्शकीय प्रतिक्रिया सकारात्मक रहेको बताउँछन् ।

‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने ।

अमेरिका भ्रमणमा रहेका अभिनेता हरिवंश आचार्यले भिडियो सन्देशमार्फत फिल्म हेर्न अपील गरेका छन् ।

यसअघिका नेपाली फिल्ममा महिलाको नजरबाट संवेदनाको कथा भनिए पनि महापुरुषले पुरुषको दृष्टिकोणबाट संवेदनाको कथा पेस गर्छ । अधवैंसे एकल पुरुष प्रेममा पर्दा आउने सामाजिक र व्यक्तिगत उतारचढावको कथा यसले भन्छ ।



source https://www.onlinekhabar.com/2022/11/1211976

Tuesday, 1 November 2022

यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

१६ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ ।

मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो ।

त्यसैका लागि तीन दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो ।

पहिलो पटक सेन्ट्रल एसियाका राष्ट्रहरु सम्मिलित यू-२३ प्रतियोगिता ढाकामा आगामी डिसेम्बर २० देखि २७ सम्म आयोजना हुँदैछ ।

त्यसमा यसअघि नेपालले सहभागि जनाउने पक्का भएको संघले जनाइसकेको छ ।

खेलाडी छनोट कार्यक्रम यही कात्तिक २१ देखि २३ गतेसम्म राष्ट्रिय खेलकुद परियदको कभर्डहलमा हुने संघले जनाएको छ ।

संघले सबै जिल्ला, क्लबहरुका २३ वर्ष मुनिका इच्छुक खेलाडीलाई छनोटमा सहभागिता जनाउन समेत आग्रह गरेको छ । छनोटमा सहभागि हुने नागरिकता साध ल्याउनुपर्नेछ ।

यस्तै संघले बंगलादेशमै आयोजना हुने सीएभए महिला र पुरुष बिच भलिबल प्रतियोगिताका लागि पनि महिला र पुरुष टिमका लागि खेलाडी छनोट गर्ने जनाएको छ ।

बिच भलिबलको लागि पनि छनोट कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने संघले जनाएको छ ।

साथै संघले सात वटै प्रदेश भलिबल संघका अध्यक्षलाई इन्डोर भलिबल र बिच भलिबलका लागि छनोटमा आफ्ना खेलाडीहरु पठाउन आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2022/11/1211937

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

१६ कात्तिक, गलकोट । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ ।

माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।

बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए । ‘समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो’, उनले भने ।

ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।

यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । ‘पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौं,’ बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहेका श्रीसले भने, ‘अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।’

दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ ।

गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो ।

करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताँछिन् ।

भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ ।

दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1211929

खुसीलालको समर्थन इन्द्र बानियाँलाई

१६ कात्तिक, हेटौंडा । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।

मंगलबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै चेपाङले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्तारुढ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधि सभा-२ को प्रदेशसभा (२) मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।’

नेकपा माओवादी केन्द्रका नेता चेपाङले सत्तारुढ दलहरुले उम्मेद्वारका सम्बन्धमा गरेको सहमतिमा चित्त नबुझेको भन्दै मकवानपुर-२ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए .

गठबन्धन दलहरुबिचको सहमतिअनुसार यो क्षेत्र नेपाली कांग्रेसलाई भाग लगाइएको थियो । गठबन्धनका दलहरुको तर्फबाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले उम्मेदवारी दर्ता गराएका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1211902

‘अब दलहरुले चुनावी घोषणापत्र लेख्न बन्द गर्नुपर्छ’

मंसिर ४ को चुनावमा दलहरु आफैंले आफैंविरुद्ध लड्न गइरहेको चुनाव हो । विगत पाँच वर्षमा उनीहरुले जेसुकै बाचा गरेका भए पनि प्रकारान्तरले जनतालाई धोका दिएका छन् । भविष्यप्रति अलिकति पनि आशा नजगाई उनीहरु चुनावमा जाँदैछन् । यो दुर्भाग्य हो ।

एक किसिमले भन्ने हो भने उनीहरु केवल शक्तिमा पुग्न मात्रै यो चुनावमा सामेल भइरहेका छन् । कुनै सपना छैन । विश्वसनियता गुमाएर उनीहरु चुनावमा जाँदैछन् । तै पनि नागरिकलाई यिनैमध्ये कसैलाई छनोट गर्नुपर्ने बाध्यता छ ।

सबैभन्दा दुःखद पक्ष, वैकल्पिक राजनीतिको आशा टरेको छ । जसले विकल्प हौं भन्दै यसअघि भोट मागेका थिए, वैकल्पिक राजनीतिका वैधतालाई तिनैले सिध्याइदिए । अझ आफूलाई वैकल्पिक भन्नेहरुमध्ये केही त प्रष्टै प्रतिगामी छन् ।

यस अर्थमा आगामी चुनाव कुनै उत्सुकता बेगरको चुनाव बन्नेवाला छ । आवधिक चुनावको मूख्य काम भनेको नेतृत्व फेर्ने हो । यो चुनावले त त्यो काम पनि गर्दै छैन । हामीले विगत पाँच वर्षमा प्रतिपक्षी विनाको लोकतन्त्र भोगेर आयौं । अब पनि त्यही रीत चल्ने छ ।

त्यसैले अब दलहरुले घोषणापत्र लेख्न बन्द गर्नुपर्छ । अहिले घोषणापत्र, संकल्पपत्र, प्रतिबद्धतापत्रका नाममा जे लेखाइँदैछ, यसको कुनै काम छैन भनेर दलका नेताहरु स्वयमले विगतमा प्रमाणित गरिसकेका छन् ।

उनीहरु बेकारमा नो नट् अगेनमाथि खनिएका छन् । वास्तवमा यो पुराना शक्तिहरुविरुद्ध सानो विरोध र विकल्पको खोजी हो । यसले उठाएको चुरो कुरो लाई ध्यान दिए पुग्छ ।

उनीहरुले जोकोही आए पनि अहिलेको भन्दा केही न केही राम्रो नै आउला भनेर अपेक्षा राखेका छन् । लोकतन्त्रमा यस्तो भन्न पाइन्छ । मानिसले उनीहरुलाई विभिन्न शक्ति र समूहसँग जोडेर हेरे पनि उनीहरुको मर्मलाई ध्यान दिनु आवश्यक छ । प्रतिबद्ध लगाउने किसिमका वक्तव्य गैरजिम्मेवार छन् ।

विष्णु सापकोटाका बाँकी विचारहरू अनलाइनखबरको वैचारिक भिडियो स्तम्भ ओके २० मिनेट्स्‌मा :



source https://www.onlinekhabar.com/2022/11/1211316

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More