Sunday, 6 November 2022

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील   

२१ कात्तिक, सुर्खेत । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदान स्थल रहेका छन् ।

समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, (ख) मा दुई अति संवेदनशील, ३६ संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन् । त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन् ।

निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको पनि प्रजिअ रिजालले बताए ।

सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदानस्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी    

निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार तीन सय ४४ जना कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकताअनुसार थप कर्मचारी र स्वयमसेवक खटाउन सकिने पनि जानकारी दिए ।

सूचना अधिकारी ज्ञवालीका अनुसार पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक-एक कार्यालय सहयोगी खटिनेछन् ।

उनले मतदानस्थल र मतदान केन्द्रमा खटिनेमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको जानकारी दिए । प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १३९ मतदानस्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ (१) मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ (१) मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/11/1214197

कर्णालीमा असोज महिनामा विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता   

२१ कात्तिक, कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा रहेको जानकारी दिए ।

‘असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दश/दश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो’, उनले भने, ‘विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।’ त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक/एक गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए ।

चालु आव ०७९/०८० को साउन, भदौ र असोज महिनामा विपदबाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार ४१८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।

त्यस्तै, तीन हजार २८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७/१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताए । उनका अनुसार विपदबाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।

कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपात चिसोबाट दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण असोज घटनामा खोज तथा उद्धारकार्यमा सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।

‘विपद्को समयमा एक सय २८ मान्छेको उद्धार गरिएको थियो’ सचिव भुसालले भने, ‘खासमा पछि गएर राहत वितरण गर्नेभन्दा पूर्वतयारीकै काम गर्नु बुद्धिमानी रहेछ ।’ विपद् कुनै पनि बेला हुनसक्ने जनाउँदै उनले स्थानीय आपत्कालीन कार्यसञ्चालन समितिलाई बलियो र क्रियाशील बनाउनतर्फ सबै विकास साझेदार र सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।



source https://www.onlinekhabar.com/2022/11/1214194

पूर्वी नेपालमा भूकम्पको धक्का

२१ कात्तिक, काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1214164

Friday, 4 November 2022

पूर्व कमाण्डरसँगको प्रतिस्पर्धामा पूर्ण

१९ कात्तिक, रोल्पा । माओवादी सशस्त्र युद्धको उद्गमथलो रोल्पामा यस पटक नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पनि पूर्व माओवादी नै छन् । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण खारेज भएपछि रामबहादुर थापा बादलसँगै एमालेमै रहेका नेता पूर्णबहादुर बुढा यसपटक एमालेबाट उम्मेदवार बनेका छन् ।

सशस्त्र युद्धका क्रममा वर्षमान पुन मातहतमा धेरै फौजी आक्रमणमा सहभागी भएका बुढा यसपटक पुन विरुद्ध नै चुनावी मैदानमा उत्रिएकाले रोल्पाको प्रतिस्पर्धालाई रोचक मानिएको छ ।

१५ कात्तिक २०४२ मा रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा जन्मिएका पूर्ण विद्यालय अध्ययन गर्दैमा २०५४ सालमा तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्य बनेका थिए । २०५६ सालमा अखिल क्रान्तिकारीको एरिया कमिटी अध्यक्ष हुँदै उनी माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए ।

२०५८ सालमा अखिल क्रान्तिकारीको रोल्पा जिल्लाको कार्यवाहक अध्यक्ष र २०५९ मा माओवादी लडाकुको प्लाटुन कमान्डर र नेकपा माओवादी रोल्पाको जिल्ला कमिटी सदस्य भएका थिए ।

२०६१ मा माओवादी लडाकुको कम्पनी कमान्डर र कम्पनी कमिसारको जिम्मेवारी पाएका उनी पछि बटालियन कमाण्डरसम्म भए । त्यतिबेला उनको कमाण्डर उपराष्ट्रपति नन्दकिशोर पुन थिए । रुकुमको खारा, सल्यानको कपुरकोट ब्यारेक, म्याग्दीको बेनी, पाल्पाको तानसेन, कपिलवस्तुको तौलिहवाका साथै राजमार्गका कमाण्डो भिडन्तमा पनि उनी सहभागी भए । खारा भिडन्तमा त उनी सामान्य घाइते समेत भएका थिए ।

२०५७ मंसिरमा माओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा पूर्णले कमाण्डर वर्षमान पुन मातहतमा काम गरेका थिए । ‘लडाइँका दौरान सयौं मोर्चामा सँगसँगै लड्यौं । पछि वर्षमान पुन पूर्व जानुभयो, मेरो कार्यक्षेत्र पश्चिममा भयो’, पूर्णले भने ।

माओवादी सेना समायोजनको समयमा २०६६ देखि २०६८ पूर्णले बालानन्द शर्मा नेतृत्वको सेना समायोजन विशेष समितिमा रहेर काम गरेका थिए । एमाले र माओवादीको एकीकरण खारेज भएर पूर्ण एमालेमै बसेपछि उनी लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

आफ्नै पूर्व कमाण्डरसँगको प्रतिस्पर्धाबारे उनले भने, ‘त्यति मिठो त लागेको छैन तर राजनीतिमा सबै कुरा सम्भव हुँदोरहेछ ।’ निर्वाचनलाई व्यक्तिगत नभई विचार र सिद्धान्तको लडाइँ भन्ने पूर्ण वर्षमानबारे भन्छन्, ‘उहाँ आफ्नो विचार, सिद्धान्त अनुसार निर्वाचनमा लड्नुहोला म नेकपा एमालेको विचार, सिद्धान्त अनुसार प्रतिस्पर्धा गर्छु ।’

निर्वाचनमा जित–हार स्वाभाविक भएकाले यसलाई सहज रूपमा लिने पूर्ण बताउँछन् ।

३० वैशाखको स्थानीय तह चुनावमा पाएको मतको आधारमा रोल्पामा नेकपा एमाले तेस्रो शक्ति हो । पहिलोमा माओवादी केन्द्र र दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा रोल्पामा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारले ४० हजार ७९१ मत पाए भने नेपाली कांग्रेसले २४ हजार ६६४, नेकपा एमालेले १५ हजार ३०१, राप्रपाले एक हजार २१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत पाएका थिए ।

वर्षमान पुन १५ वर्षसम्म परीक्षण भएको र रोल्पाका लागि केही गर्न नसकेकाले मतदाता आफूतिर आकर्षित हुने बुढाको भनाइ छ । ‘कांग्रेससँग गठबन्धन नरुचाएका माओवादी मतदाताहरूले समेत मलाई भोट दिन्छन्’ बुढाले भने ।

रोल्पाले सशस्त्र युद्धमा ठूलो बलिदानी गरे पनि विकासको प्रतिफल भने पाउन नसकेको, दुई–चार जना नेताको अवस्था मात्र फेरिएको उनले टिप्पणी गरे ।



source https://www.onlinekhabar.com/2022/11/1213477

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए ।

२६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।



source https://www.onlinekhabar.com/2022/11/1213468

स्वतन्त्र भारतका पहिलो मतदाता नेगी रहेनन्

१९ कात्तिक, काठमाडौं । स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन भएको छ । हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गरेका छन् । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो ।

पेशाले शिक्षक रहेका उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए । त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उनले बीबीसीसँगको एक कुुराकानीमा बताएका थिए ।

पछिल्लो पटक उनले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेको हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले उल्लेख गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1213465

चुनाव बहस ३ : हेटौंडाबाट LIVE

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा चुनावी बहसको तेस्रो श्रृंखला बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट सुरु भएको छ ।

हेर्नुहोस् हेटौंडाको हुप्रचौरबाट  प्रत्यक्ष प्रसारण



source https://www.onlinekhabar.com/2022/11/1213454

भूमिका र प्रकाशको जोडी ‘देउराली’मा फिट, गीत पनि हिट

काठमाडौं । लोक सांगीतिक दुनियाँमा भूमिका गिरी र प्रकाश दूतराजको जोडी जमेको छ । उनीहरुले १० दिन अगाडिमात्रै सार्वजनिक गरेकोे ‘देउरालीमा’ गीतले युट्युबमा  १२ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ । यसअघि उनीहरुकै ‘चोली मैलै भो’ गीतले १ करोडभन्दा बढी भ्युज पाएको थियो ।

‘देउरालीमा’ गीत कात्तिक ८ गते मात्रै भूमिका गिरीको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो समाचार तयार पार्दासम्म यो गीत १२ लाख ३३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । ‘चोली मैलै भो’ पछि उनीहरुको यो दोस्रो सहकार्य थियो । यति धेरै भ्युज पाएपछि आफूहरुको सहकार्य सार्थक भएको भूमिका बताउँछिन् ।

छोटो समयमै धेरै दर्शक पाएपछि भूमिका दंग छिन् । म्युजिक भिडियो सुटिङको सिलसिलामा हाल अष्ट्रेलियामा रहेकी भूमिकाले अनलाइनखबरसँग भनिन्, ‘दर्शकले यति धेरै माया गरिदिंदा हामी नतमस्तक भएका छौं ।’

देउरालीमा बोलका गीतका शब्द बसन्त विश्वकर्माका हुन् । भूमिका र प्रकाश दूतराजले स्वर दिएका छन् । अभिनय पनि उनीहरुले नै गरेका छन् ।

देउरालीमा गीतको छायांकन नितान्त गाउँले परिवेशमा गरिएको छ ।  दुरदराजका नेपालीहरुको सामाजिक पक्षलाई टपक्क टिपेको गीतको म्युजिक भिडियोमा भूमिका र प्रकाशको अभिनय फिटमात्रै भएको छैन हिट पनि भएको छ ।

भूमिका कुटानी–पिसानीका लागि घट्ट जाने क्रममा घट्ट चलाउने प्रकाशसँगको अव्यक्त प्रेमलाई कथा बुनेर म्युजिक भिडियो तयार पारिएको छ । आधुनिक प्रविधिको प्रयोग गरे पनि हाम्रा पुराना परम्परा र सम्पदालाई जोगाइ राख्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ । यो कथा निर्देशन मौसम हिमालीले गरेका छन् ।

यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1213437

प्रारब्ध र कर्मयोगले जेलिएको जीवनलीला “कृष्ण”

पुराणहरूले दैवीकरण र दानवीकरण गरेका पात्रहरूलाई मानवीकरण गर्ने सतत् प्रयासको प्रतिफलका रूपमा देखिएको बृहत् उपन्यास हो, ‘‘कृष्ण’’ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा प्राध्यापनरत पाल्पावासी शङ्करप्रसाद गैरेले सिर्जना गरेको यो उनको दोस्रो उपन्यास हो । यसअघि, पछिल्ला करिब पन्ध्र वर्षदेखि कविता, गजल, कथा, समालोचना, अनुसन्धान र भाषा–विज्ञानको क्षेत्रमा निरन्तर कलम चलाउनेँदै आएका उनको पहिलो उपन्यासका रूपमा ‘उज्यालोतिर’ (विसं.२०७४) प्रकाशित छ । पछिल्लोपटक उनको अनुसन्धानमूलक कृति ‘साहित्यमा बगनासकाली’ (विसं. २०७९) बजारमा आएको छ ।

आफ्नो नयाँ उपन्यास ‘‘कृष्ण’’ का सन्दर्भमा लेखक गैरेले भनेका छन्, “भन्न खोजेको कुरा मानव र दिव्य मानवबीचको अन्तर हो । प्रेमको उच्चता हो, त्याग हो, समर्पण हो र स्वाभिमान हो । सायद मलाई यो कथा रोज्न र यी कुराहरू भन्न अन्तश्चेतनामा अवस्थित ईश्वरले प्रेरित ग¥यो ।”

रमाइलो के महसुस हुन्छ भने लेखक आफैँ अन्तश्चेतनामा अवस्थित ईश्वरद्वारा प्रेरित भएका छन् ! अर्थात्, “ईश्वर” लाई “मानव” वा “दिव्यमानव” बनाउने प्रयासमा लेखक आफैँ ईश्वरको शरण परेका छन् ! यही कुराको छाप उपन्यासमा सर्वत्र पाइन्छ । खासगरी कृष्ण र उनका दाइ बलरामले सम्पादन गर्ने वा गराउने तमाम क्रियाकलापमा उनीहरूमा देखिने अमानवीय शक्ति, अद्भुत क्षमता, दैवीय सत्ताले ओतप्रोत देखिने चामत्कारिक गुण, विलक्षणता एवं स्वभाव आदिले कतै पनि उनीहरूलाई सामान्य वा आम मानिस बोध गराउँदैनन् । उपन्यासकार स्वयंले पनि कृष्णको जन्मलाई ‘युगपुरुष’ को जन्म भएको संकेत गरेका छन् (पृ.७५–७६) ।

पौराणिक मिथकलाई आधार बनाइएको उपन्यास ‘‘कृष्ण’’ को कथानक सुरु हुन्छ, पहिलो अध्याय ‘कथारम्भ’ बाट, जसमा लेखकले श्वैरकल्पनाको मीठो प्रयोग गर्दै अष्ट–चिरञ्जीवीमध्येका एक र अशोभनीय एवं अस्वस्थकर व्यवहारका कारण श्रीकृष्णद्वारा अभिशापित अश्वत्थामाका कुनै पछिल्लो पुस्ताका वृद्ध प्रतिनिधिलाई कुनै गुफामा भेटेको र उनै वृद्धले सुनाएको कथा जस्तो गरी वर्णन अगाडि बढाएका छन् । तर पठन अगाडि बढ्दै जाँदा त्यही कल्पना र श्वैरकल्पना चाहिँ भेटिँदैन । उपन्यासको पटाक्षेप हुन्छ ‘कथान्त’ नामाकरण भएको अन्तिम अध्यायबाट । यो बीचमा अर्को अध्याय ‘अपदस्थ’ देखि अगाडि बढेको उपन्यासमा ‘युगपुरुष’, ‘गोकुल’, ‘लीला’, ‘प्रणय’, ‘सङ्गठन’, ‘प्रेमोत्कर्ष’, ‘राजनीति’, ‘वधशाला’, ‘गुरुकुल’, ‘परराष्ट्र सम्बन्ध’, ‘विवाह’, ‘लक्ष्यभेदन’, ‘परीक्षा’, ‘हस्तिनापुर’, ‘मित्रता’, ‘मित्र मिलन’, ‘ईष्र्या’, ‘शान्तिदूत’, ‘युद्ध’, ‘कुरुक्षेत्र’ र ‘निष्कर्ष’ समेत सानाठूला गरी जम्मा २४ अध्याय छन् ।

उपन्यासमा सबैभन्दा लामो अध्याय ‘सङ्गठन’ बनेको छ जुन ७७ पृष्ठसम्म विस्तारिएको छ । यस अध्यायमा उपन्यासका नायक कृष्ण र उनका दाइ बलराम भर्खरै गोकुलबाट वृन्दावन बसाइँ सरेपछि मथुराका अत्याचारी राजा कंसविरुद्ध लड्नका लागि स्थानीय जनहरूलाई युद्धकलाको तालिम दिने र अन्य तयारीमा व्यस्त भएको प्रसङ्ग उल्लेख छ । त्यससँगै राधा र कृष्णबीचको प्रेम–सन्दर्भ पनि विस्तृत रूपमा यसै अध्यायले उजागर गरेको छ । त्यसपछिको लामो अध्याय ‘कुरुक्षेत्र’ हो जुन ५४ पृष्ठसम्म फिँजारिएको छ र जसले महाभारतको १८ दिन लामो युद्धको कथा भनेको छ ।

औपचारिक कथा कृष्णका मावली हजुरबुबा महाराज उग्रसेनको दरबारबाट थालनी हँुदै अगाडि बढ्दै–बढ्दै कुनै व्याधाको तीर दाहिने पैतालामा लागेर एक विशाल वृक्षको छायामुनि पल्टिरहेका कृष्णको मृत्युमा पुगेर टुङ्गिन्छ ।

उपन्यासमा देखाइएको एक प्रमुख प्रसङ्ग राधा र कृष्णबीचको प्रेम उच्च छ, उदात्त छ । उनीहरूको प्रेम आदर्श, निःस्वार्थता, त्याग र बलिदानमा आधारित छ । राधाले पहिलोपटक कृष्णलाई भेट्दा नै उनलाई ‘श्याम’ भनेर सम्बोधन गर्छिन् र एउटा माला अनि मयूरपङ्ख उपहार दिन्छिन्, जसलाई कृष्णले आजीवन धारण गर्दछन् । राधाले एकपटक कृष्णलाई दिएको पत्रमा लेख्छिन्, “यतिबेला मलाई लागिरहेछ तिमी मेरो प्रेम हौ र म तिम्रो पे्रम । एउटा यस्तो पे्रम जुन कहिल्यै समाप्त हँुदैन । हो, श्याम । मलाई यस्तो लाग्दैछ, म समाप्त भएर जाउँला, एकदिन तिमी पनि समाप्त हुन्छौ तर हाम्रो प्रेम युगौंसम्म रहनेछ । मेरो मनमा यस्तो भाव खै कहाँबाट विकसित भयो, म भन्न सक्दिनँ श्याम ।…”(पृ.१८८) ।

अर्को एक ठाउँ राधाले भनेकी छन्, “पे्रम भनेको त्याग हो । जहाँ प्राप्तिको अभिलाषा हुन्छ, त्यहाँ प्रेम हँुदैन । त्यो त स्वार्थ हुन्छ । … प्रेममा सहज रूपमा प्राप्त भए ग्रहण गर्न सक्नुपर्छ र त्याग्नु परे पनि सहज रूपमा त्याग्न सक्नुपर्दछ । प्रेममा आफ्नोभन्दा अरूको भलो चिताउनुपर्छ र त्यही प्रेम अमर हुन्छ, जीवन्त रहन्छ ।” ( पृ.२१३) ।

राधा र कृष्ण दुवैजना एकअर्कालाई हृदयको गहिराइबाट प्रेम गर्छन् तर “सबै कुरा नियतिबाट पहिलेदेखि नै निर्दिष्ट छन्” भन्ने मान्यता व्यक्त गर्ने कृष्णको विवाह भने राधासित कहिल्यै हुँदैन बरु विभिन्न परिस्थितिबीच अन्य तीनजना युवती क्रमशः रुक्मिणी, जाम्बवती र सत्यमाभासित हुन्छ । त्यसो भए पनि र आफू नर्क नै जानु परे पनि कृष्णको हितका लागि जे सुकै गर्न सधैँ तत्पर रहने राधाको समर्पण अनौठो छ र त्यसका अगाडि कृष्ण–पत्नीहरू नतमस्तक हुन्छन् । तर राधा भने आजीवन अविवाहित बस्छिन् । तर उनको उत्तराद्र्ध र शेष जीवनबारे उपन्यास पूर्णतः मौन छ ।

यसैगरी सुदामा र कृष्णबीचको मित्रता अनि सुदामाप्रति कृष्णको सादर स्नेह पठनीय छ । कृष्णको मित्र–प्रेम कस्तो छ भने सुदामाका आँसु कृष्णको आँखामा अटाउन पुगेका हुन्छन् । यद्यपि, स्वाभिमानी ब्राह्मण सुदामाको भक्तियोग र ज्ञानयोग तथा कृष्णकै कर्मयोगबारे पनि अत्यल्प चर्चा मात्र छ । यथार्थमा उपन्यासले त्यसको अलि सविस्तार चर्चाको माग गर्दछ ।

यहाँनिर कृष्णको एउटा अद्भुत स्वभाव पनि उद्बोधित हुन्छ– केही समय कृष्णको संगत गरेको मानिस बिछोडपछि झन्झन् कृष्णप्रेमी र कृष्णभक्त बन्दै गएको हुन्छ । यही कारण हुनुपर्दछ, कृष्णका नजिक रहेका वा उनको संगत गरेका देवकी, नन्दलाल, यशोदा, वसुदेव, सुदामा, गोकुल, वृंदावन, द्वाराका, राधा, रुक्मिणी, सत्यभामा, जाम्बवती सबैजना अजरअमर भए ।

उपन्यासमा कृष्णको माध्यमबाट भन्न खोजिएको छ–जीवन गतिशील छ र यसमा कहिल्यै पूर्णविराम लाग्दैन । जन्म र मरण त सृष्टिको नियम नै हो ।

यस्तै अर्को एक ठाउँमा कृष्णको भनाइ छ, “यो मानवीय स्वभाव हो प्रियव्रत । मान्छे आफ्नो सानो कमजोरी र अभावलाई ठूलो ठान्छ र अर्काको ठूलोभन्दा ठूलो समस्यालाई पनि झिनोमसिनो ।” (पृ.२६९) ।

सबैले जानेकै तथ्य हो, महाभारत आफैँमा एक अत्यन्त लोकप्रिय महाकाव्यात्मक पौराणिक आख्यान हो र ‘‘कृष्ण’’ उपन्यासले त्यसै आख्यानभित्र थुनिएका अनेकानेक पात्रहरूलाई एकपटक फेरि नेपाली पाठकसामु जीवन्त बनाइदिएको छ । त्यसकारण यस उपन्यासभित्र जीवन छ । जीवनका विविध आयाम छन् र प्रत्येक प्राणीले जीवनमा भोग्नुपर्ने तमाम उहापोह एवं आरोह–अवरोहका विशद् शृङ्खला छन् ।

त्यसमाथि उपन्यासका महानायक श्रीकृष्णका मानवीय तर ‘सुपर पावरयुक्त क्षमता’ ले भरिएका रमाइला, रोचक एवं रोमाञ्चक क्रियाकलापले पठनलाई कुनै बेला पनि बोझिलो हुन दिँदैनन् । शिशु कृष्णलाई मार्न हिँडेकी पूतना कृष्णको समिप पुगेको केहीबेरमा चामात्कारिक किसिमबाट आफैँ मर्नु, कंसकी महत्वाकांक्षी बहिनी पूतना मात्र नभएर कंसले पठाएका तमाम डरलाग्दा एवं महाबलशाली राक्षसगण बालक कृष्ण–बलरामका हातबाट मारिँदै जानु, मथुरामा ती दुई भाइले शक्तिशाली पहलमानहरूका साथै मदमत्त विशाल हात्तीलाई सहजै मार्नु र त्यहीँ अन्ततः उनै बालक कृष्णले आफ्ना अत्याचारी मामा कंसलाई मथुरावासीका अगाडि मार्नु आदि प्रसङ्ग उल्लेख गर्न मिल्छ ।

यसैगरी कृष्णलाई अनैतिक एवं नारीपरस्त भन्दै उनलाई बदनाम र महिमाहीन गर्न खोज्ने स्वभाव बोकेका मानिसहरूलाई नाजवाफ पार्दै उपन्यासकारले कृष्णलाई नारीको उच्च सम्मान एवं सुरक्षा गर्न कटिबद्ध व्यक्तित्वका रूपमा चित्रण गरेका छन् । त्यसका लागि उपन्यासकारले सरोवरमा निर्वस्त्र नुहाइरहेका युवती र कृष्णले उनीहरूका वस्त्र लुकाइदिएको प्रसङ्ग उल्लेख गरेका छन् । त्यसो गरेर कृष्णले ती युवतीहरूलाई खुल्ला सरोवर वा खुल्ला स्थानमा नग्न नुहाउन नहुने पाठ सम्झाएका हुन्छन् । उल्लिखितसमेत तमाम सन्दर्भ र प्रसङ्गहरूले प्रस्ट औँल्याउँछन्– ‘‘कृष्ण’’ सामान्य बाजारु उपन्यास होइन, एउटा गम्भीर एवं अनुपम किताब हो ।

उपन्यासकारले तीन वर्षभन्दा केही लामो प्रयास र अथक परिश्रमपछि मात्र यो उपन्यास लेखिसिद्ध्याएका हुन् । लेखनक्रममा उनले महाभारत र भागवतका अतिरिक्त विष्णुपुराण र पद्मपुराण जस्ता पौराणिक ग्रन्थ अनि नेपाली उपन्यास ‘द्वन्द्वको अवसान’, ‘मोदीआइन’ र ‘राधा’ आदिका साथै कृष्णसम्बन्धी पछिल्लो समयमा प्रकाशित नेपाली र हिन्दी साहित्यका थुप्रै कथा–आख्यानहरूको अध्ययन एवं अनुशीलन गरेको उल्लेख गरेका छन् । यो तथ्यले पनि प्रमाणित गर्दछ, ‘‘कृष्ण’’ उपन्यास आफैँमा एक किसिमको शोधग्रन्थ पनि हो जसले एक लाखभन्दा बढी श्लोक भएको महाभारत मूलग्रन्थ पढ्न नसक्नेहरूलाई छोटकरीमा भए पनि यो महागाथा पढ्न, बुझ्न र सिक्न प्रेरित गर्ने क्षमता राख्दछ । अध्ययनप्रेमीका लागि यो एउटा राम्रो खुराक हुनसक्ने तथ्यमा दुई मत हुन सक्दैन ।

यसो भए तापनि महाभारत–कुरुक्षेत्रबारे जान्ने–बुभ्mनेहरूका लागि उपन्यास ‘‘कृष्ण’’ ले केही नयाँ तथ्य भने दिन सकेको छैन । पहिले कंसको निरन्तर निशृंश व्यवहार र पछि शकुनीको धूर्त्याइँ एवं दुर्योधनको अहंकारका छिटपुट प्रसङ्गबाहेक उपन्यासमा रोमाञ्चक द्वन्द्व छैन, घृणास्पद कुटिलता र जगरका रौँ ठड्याउने क्रूरताको लेपन छैन, बरु छ त एकोहोरो कथानक र सपाट वर्णन मात्र ।

सायद सम्पादनको क्रममा यथेष्ट ध्यान पुग्न नसकेकाले हुनुपर्छ, केही नमिल्दा प्रसङ्गसित पनि जम्काभेट हुन पुग्दछ, जस्तो– नवजात कृष्णलाई लिएर वसुदेव गोकुल आइपुग्नै लाग्दा सुत्केरी–व्यथा लागेकी यशोदाले शिशुलाई जन्म दिन्छिन्, त्यसलाई पहिला ‘बालक’भनिएको छ तर लगत्तै केही पंक्तिपछि ‘बालिका’ भनी सम्बोधन गरिएको छ (पृ.७८) । … कृष्ण चार महिनाको हुँदा चार खुट्टाले टेकेर दौडिन थालेका थिए लेखिएको छ (पृ.१०३) । यस्तै अर्को एक ठाउँमा भनिएको छ… केही क्षणपछि पानी कोखिलामा हालेर यशोदा घरभित्र पस्दै थिइन् (पृ.१२९) । ठाउँठाउँमा यस्ता कतिपय उदाहरण छन् ।

यस्तै एक प्रसङ्गमा– गुरु द्रोणाचार्य, पितामह भीष्मलगायतले अर्जुनसँग प्रतिस्पर्धा गर्नबाट कर्णलाई रोक्दा स्पष्टीकरण माग्ने दुर्योधन नै थियो (पृ.४२६) । (त्यो कुन प्रतिस्पर्धा हो भन्नेबारे अन्यत्र कतै उल्लेख नै छैन) ।

महाभारत युद्धका कतिपय प्रसङ्गहरू पनि प्रश्न उठाउनुपर्ने किसिमका छन्–

– जुवामा पहिले युधिष्ठिरले आफूलाई बाजीमा राखेको र त्यो दाउ हारेपछि भीमले आफूहरू चार भाइलाई पनि दाउमा राख्न आग्रह गरेपछि युधिष्ठिरले त्यो दाउ पनि खेलेको र हारेको प्रसङ्ग (पृ.४७५) ।

– पासा जुवामा पाँच पाण्डव हारिसकेको समाचार दासीबाट सुनेपछि द्रौपदीले आपूmलाई पनि दाउमा थाप्न स्वीकृति दिएको प्रसङ्ग (पृ.४७६) ।

– महाभारतभित्रको एउटा प्रमुख मुद्दा चिरहरण प्रसङ्गको उल्लेख नै नभएको प्रसङ्ग । बाह्र वर्षको वनवास र एक वर्षको गुप्तवासको धृतराष्ट्र प्रस्तावलाई सर्वप्रथम द्रौपदीले स्वीकार गरेको प्रसङ्ग (पृ.४७९) ।

– भीम एक–एक गर्दै दुर्योधनका भाइहरूको हत्या गरिरहेका थिए र दुर्योधनका अन्ठानब्बे भाइहरूको एकै दिन अन्त्य भयो भन्ने प्रसङ्ग । (यथार्थ त्यस्तो नभएर दुर्योधनका आठ भाइहरू युद्धको चौथो दिन, सत्र भाइहरूको आठौं दिन र त्यसपछि पनि क्रमशः दिनहुँ मारिँदै गएर अन्तिम अर्थात् अठारौं दिन स्वयं दुर्योधन मारिएको हो) ।

– गान्धार राजकुमार शिखण्डी लेखिएको प्रसङ्ग (यथार्थमा शिखण्डी राजा द्रुपदका पुत्र र पाञ्चाल देशका राजकुमार थिए) ।

– महाभारत युद्धको चौथो दिन भीमपुत्र घटोत्कच विनाशकारी पहिरो बनेर कौरव सेनामा प्रलय मच्चाइरहेको थियो… । कर्णले घटोत्कचलाई मार्न ब्रम्हास्त्र प्रयोग गरेको आदि प्रसङ्ग ।

(यथार्थमा घटोत्कच महाभारतमा सुरुदेखि सहभागी भएको नभई चौधौं दिन द्रोणाचार्यको हत्यापश्चात् कौरव पक्षबाट रात्रि–युद्ध गर्दै राक्षस–योद्धा अलम्बसलाई मैदानमा उतारेपछि कृष्णको सल्लाहमा भीमले आह्वान गरेपछि घटोत्कच युद्धमा सहभागी भएको र कौरव सेनामा हाहाकार मच्चाउँदै सर्वत्र भय सिर्जना गरिरहेको बेला दुर्योधनको आग्रहमा कर्णले आफूसित भएको दिव्यास्त्र ‘वासवी शक्ति’ को प्रयोग गरेपछि घटोत्कचको मृत्यु हुन्छ) । यस्तै अन्य सन्दर्भ पनि छन् प्रश्न उठाउन मिल्ने ।

श्रीकृष्णका विविध पक्षबारे जान्नेसुन्नेहरूलाई थाहा छ– कृष्णका अनेक नाम छन् (ती सबै त उपन्यासमा उल्लेख छैनन्) । उनका त कन्हैया, मनोहर, श्याम, मनमोहन, माधव, मुरलीधर, केशव, गोविन्द, जनार्दन, मुरारी, वासुदेव, नन्दलाला, यशोदानन्दन, देवकीनन्दन, राधेश्याम, पार्थसारथी आदिआदि अनेक नाम छन् ।

कृष्णको वर्ण कालो छ, उनी दुनियाँको दुःख आपूmले हरण गर्दछन् । कालो रंगमाथि अरू कुनै रंगको प्रभाव पर्दैन र कृष्णले सबै रंगको प्रभाव आफूभित्र समेटेका छन् । त्यसकारण पनि उनी काला छन्, श्याम रंगका छन् । निष्काम कर्मयोगी उनी नियति वा प्रारब्धलाई सबै कुराको आधार पनि मान्दछन् । उपन्यासमा, देह त्याग गर्नुभन्दा पहिले कृष्णले आफूमाथि तीर चलाउने सिकारीसित बोलेका छन् । कृष्णका अन्तिम शब्दहरू हुन्, “तिमी निमित्त हौ व्याधा, निमित्त । यो पूर्व निर्धारित थियो । तिमी विधिको विधानबाट निर्देशित छौ । त्यसकारण क्षमा माग्नुपर्ने औचित्य छैन ।”

उपन्यासमा प्रयुक्त कागज र छपाइ सुन्दर छ भने भाषा–शैली सटीक, सुललित, प्राञ्जल र मर्मस्पर्शी छ । ठूला, जटिल र अबोध्य शब्द अनि लामा–लामा एवं दुर्बोध्य पंक्तिहरूको प्रयोग लगभग छैन जसले गर्दा भाषा नदी जसरी बेरोकटोक बगेको छ । यसले गर्दा समेत भाषा आफुनै किसिमको मिठासले भरिएको छ ।

त्यसो त उपन्यासकारले पढेको हिन्दीभाषाको छाप पनि बेलाबखत प्रस्ट देखिन्छ जतिबेला उनी माखन, मकरा, मैया, सैतान, आसपास, हाय राम, हाय कन्हैया, सौगन्ध, चाँद आदि जस्ता शब्दहरू ठाउँठाउँमा प्रयोग गरिरहेका हुन्छन् । यसो भए तापनि उपन्यासमा प्रयुक्त भाषिक आभाले गर्दा एकपटक होइन, पटकपटक पढे पनि मन बोझिल बनाउँदैन ।

यद्यपि महाभारत युद्ध सुरु हुनुअघि कृष्णले अर्जुनलाई सुनाएको गीतासारको भाषा भने यही किसिमको छैन । गीतासार लेख्ने क्रममा उपन्यासकार हतारिएको आभाष हुन्छ, त्यसकारण त्यो निकै संक्षिप्तमा मात्र उल्लेख मात्र गरेका छन् । लाग्छ, समष्टिलाई वेष्टिमा समाहित गर्ने प्रयासमा उपन्यासकार वर्णन–शृङ्खलामा यताउति रुमल्लिएका छन् ।

यस्तो प्रतीत हुन्छ, मानौं समग्रमा ५६५ पृष्ठ लामो किताबका पानाहरूभन्दा बाहिर सुन्न नमिल्ने कृष्ण–बाँसुरी–धुनले उपन्यासकार शंकर गैरेलाई पनि मुग्ध तुल्याइदिएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1213433

सुरक्षा समितिसँग समन्वय गर्दै चुनावलाई शान्तिपूर्ण बनाउने कांग्रेसको निर्णय

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुरक्षा समितिसँग समन्वय गर्दै आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न भूमिका खेल्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको बैठकले सो निर्णय गरेको हो । उपसमितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई शान्तिपूर्ण तथा सौहाद्रपूर्ण ढंगले सम्पन्न गर्न प्रदेश र जिल्ला तहदेखि नै सुरक्षा समितिसँग समन्वय गर्ने निर्णय गरेको हो ।

उपसमिति संयोजक बस्नेतका अनुसार प्रदेश तथा जिल्ला संयोजकहरुले प्रदेश तथा जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति गठन गरी बैठक बस्ने, प्रदेश संयोजकले जिल्ला संयोजकसँग समन्वय तथा अनुगमन गर्ने र प्रदेश संयोजकले क्षेत्रीय सुरक्षा समितिसँग समन्वय गर्ने छन् ।

प्रदेश संयोजकले जिल्ला सुरक्षा समितिसँग समन्वय गर्ने र केन्द्रीय सुरक्षा समन्वय समितिका सम्बन्धित जिल्लाका सदस्यहरुसँग समन्वय गर्ने गरी जिम्मेवारी निश्चित गरिएको केन्द्रीय सदस्य बस्नेतले बताए ।

सुरक्षा समन्वय उपसमितिका सदस्यहरुले सम्बन्धित प्रदेश तथा जिल्ला संयोजकसँग सम्पर्क समन्वय गर्ने पनि उनले बताए ।

 



source https://www.onlinekhabar.com/2022/11/1213022

Thursday, 3 November 2022

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

काठमाडौं । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए ।

उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे ।

प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र ? भनेर जिज्ञासा राखेकी थिइन् ।

सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । प्रिमियरमा भाग लिन मुम्बई पुगेका प्रदीप काठमाडौं फर्कंदैछन् ।

यसैबीच, प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको, तर निधो भइनसकेको उनी निकट स्रोतले जनाएको छ । प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज भएको थियो ।



source https://www.onlinekhabar.com/2022/11/1212982

पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी

१८ कात्तिक, वीरगञ्ज । पर्साको ठोरीमा स्नातक तहको अध्ययन हुने भएको छ । सदरमुकाम वीरगञ्जबाट ६० किलोमिटर टाढा रहेको ठोरीमा स्नातक तहको पढाइ सुरु गर्न लागिएको हो ।

१४ वटा पालिका रहेको पर्सामा हालसम्म वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा मात्रै स्नातक तहको अध्यापन हुने गरेको छ ।

विजयबस्तीमा स्नातक तह अध्यापन अनुमतिका लागि २०६९ सालदेखि पहल भइरहेको थियो । यसवर्ष त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायमा कक्षा सञ्चालन गर्न सम्बन्धन दिएको छ ।

ठोरी गाउँपालिकाको विजयबस्तीमा कक्षा सञ्चालनको तयारी भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त सबै शैक्षिक संस्थालाई मंसिर १८ गतेदेखि स्नातक तहको अध्यापन सुरु गर्न निर्देशन दिइसकेको छ । त्रिविको सम्बन्धन पाएपछि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको विजयवस्ती क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

विजयबस्ती क्याम्पसको भवन नभएकाले तत्कालका लागि विजयबस्ती माध्यमिक विद्यालयमा नै कक्षा सञ्चालन गरिने उनले बताए ।

‘विजयबस्ती क्याम्पसको स्वामित्वमा भवन लगायत भौतिक पूर्वाधार छैन, आफ्नै भवन नहुँदासम्म विद्यालय सञ्चालनमा बाधा नपर्नेगरि विजयबस्ती माविमा नै कक्षा सञ्चालन गर्छौं’, उनले भने ।

यसवर्ष शिक्षा शास्त्र संकाय अन्र्तगत अनिवार्य विषयहरु नेपाली, अंग्रेजी सहित स्वास्थ्य, जनसंख्या विषयका कक्षा सञ्चालन हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

व्यवस्थापन खर्च जुट्छ कसरी ?

स्नातक तहमा विद्यार्थी भर्ना गर्ने तयारी भएसँगै सञ्चालन खर्चको व्यवस्थापनलाई लिएर भने चिन्तन शुरु भएको छ । ग्रामीण क्षेत्रमा क्याम्पस सञ्चालन खर्च कसरी जुटाउने भनेर बहस सुरु भएको हो ।

कक्षा सञ्चालनका लागि वार्षिक २०/२१ लाख खर्च हुने अनुमान क्याम्पस प्रशासनले गरेको छ । प्राध्यापक व्यवस्थापन, उनीहरुको तलब भत्ता शीर्षकमा सबैभन्दा धेरै खर्च हुने क्याम्पस प्रमुख गोपिलाल श्रेष्ठ बताउँछन् ।

तत्कालका लागि क्याम्पसको आन्तरिक आम्दानी नै क्यापस सञ्चालनको आधार हुने उनको भनाइ छ । विद्यार्थीसँग भर्ना शुल्क ५ हजार र मासिक शुल्क १५०० रुपैयाँ लिने उनी बताउँछन् । यसवर्ष ५० जनासम्म विद्यार्थी भर्ना हुनसक्ने अनुमान गरिएको छ ।

जनशक्ति व्यवस्थापनका लागि ठोरीमा सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकलाई प्राथमिकतामा राखिएको छ । सम्भव भएसम्म स्थानीय जनशक्तिमार्फत पठनपाठन गराउने क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीसँग लिने शुल्क तथा स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्ने लक्ष्य राखिएको क्याम्पस सञ्चालनका लागि सक्रिय अभियन्ता सन्तोष श्रेष्ठले बताए ।

ठोरीको शैक्षिक इतिहासमा निकै महत्व राख्ने स्नातक तहको पढाइका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने श्रेष्ठको धारणा छ ।

क्याम्पस सञ्चालनका लागि तत्काल आवश्यक डेस्क, बेन्च, टेबल, दराज लगायत फर्नीचरका सामग्रीहरु ठोरी गाउँपालिका कार्यालयले उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि क्याम्पसका लागि पनि बजेट विनियोजन गर्ने ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

क्याम्पस नहुँदा त्यस क्षेत्रका बासिन्दा सदरमुकाम वीरगञ्ज, चितवनको माडी, नारायणघाट, बाराको सिमरा, मकवानपुरको हटौंडा लगायतका सहरमा अध्यापनका लागि जानुपर्ने छ । खर्च गर्न नसक्ने अभिभावकले आफ्ना छोराछोरीको पढाइ बीचमै रोक्ने गरेका थिए ।

क्याम्पस सञ्चालनपछि ग्रामीण क्षेत्रमा रहेर उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट बन्चित विद्यार्थीले लाभ लिनेछन् । ठोरी, जीराभवानी लगायत ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले लाभ लिन सक्ने स्थानीय शिक्षक माधव तिमल्सिनाले बताए ।

ठोरीमा मात्रै ५ ओटा विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यी विद्यालयहरुबाट १२ कक्षा उत्तीर्ण हुने कतिपय विद्यार्थी आर्थिक अभावकै कारण स्नातक तह अध्ययन गर्नबाट वञ्चित हुने गरेका छन् । ठोरी गाउँपालिकाले १२ कक्षासम्म निशुल्क पढाउने व्यवस्था गरेको छ । आर्थिक अभावले क्याम्पस जान नसक्ने विद्यार्थीका लागि विजयबस्ती क्याम्पसले राहत दिने शिक्षक तिमल्सिनाको भनाइ छ ।



source https://www.onlinekhabar.com/2022/11/1212973

ललितपुर- ३ : डा. तोसिमा मैदानमै रहँदा सत्ता गठबन्धन र एमाले दबावमा

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएपछि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको ‘क्रेज’ बढेको छ । बिहीबार साँझ तोसिमालाई शुभकामना दिन भन्दै ढोलाहिटी, सैंबु, भैंसेपाटीदेखिका केही मतदाता जाउलाखेल आएका थिए ।

कार्की मेडिकल काउन्सिलको सदस्य रहेको र त्यो लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । कार्की भने ठूला दलका उम्मेदवार आफूसँग डराएर उम्मेदवारी खारेज गर्न लगाएको दावी गर्छिन् । ‘मलाई परास्त गर्न सबै हत्कण्डा अपनाइयो, साम, दाम, दण्ड, भेद लगाएर मलाई हटाउन खोजियो’ उनले सुनाइन्, ‘तर, म यत्तिकै हार मान्नेवाला छैन ।’

उनी सचेत भने भएकी छन् । कतिसम्म भने १६ कात्तिकको साँझ जाउलाखेलको चुनावी कार्यक्रममा माइक प्रयोग गर्न पनि उनले निर्वाचन अधिकृतलाई फोन गरेर अनुमति मागेकी थिइन् । ‘आचारसंहिता त हामीलाई मात्र लगाउँछन्’, उनले व्यग्यं गर्दै भनिन्, ‘अरुले दिनकै कार्यक्रम गरिरा’छन् ।’

ललितपुर–३ मा ललितपुर महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा पर्छन् ।

शहर र गाउँको मिश्रण भएको ललितपुर–३ मा ७ स्वतन्त्रसहित २० उम्मेदवार पनि मैदानमा छन् । उनीहरुमध्ये नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल मुख्य प्रतिस्पर्धी थिए । चिकित्सा पेशामा रहेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले पनि चुनावी माहोल बनाउँदै थिइन् ।

यो क्षेत्र माओवादी केन्द्रलाई छाडेकोमा ललितपुर कांग्रेसभित्र असन्तुष्टि छ । प्रतिस्पर्धी एमाले कांग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा छ ।

तर जब निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने र सर्वोच्च अदालतले थमौती दिने अवस्था आयो, डा. तोसिमा एकै पटक धेरै मतदातामाझ परिचित भएकी छन् । कुपण्डोलबाट तोसिमा भेट्न जाउलाखेल पुगेकी शर्मिला शाक्यले भनिन्, ‘आफू काम गर्दैनन्, अनि नयाँ कोही आयो भने डराउँछन् ।’

कांग्रेसको समर्थन जुटाउन सकस

३० वैशाखको स्थानीय निर्वाचनका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन सहज अवस्थामा हुनुपर्ने हो । किनकी कांग्रेस र एमाले हारहारीका शक्ति हुन् भने गठबन्धनमा रहेको माआवादी केन्द्र र एकीकृत समाजवादीको पनि राम्रै मत छ ।

तर यो क्षेत्रको प्रतिनिधिसभा सदस्य लिएको माओवादीले कांग्रेसले भोट पाउन भने सहज छैन ।

२०६४ सालमा ललितपुर ३ बाट संविधानसभामा निर्वाचित भुसालले ०७४ को चुनावमा एमालेको मद्दतमा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसको समर्थन लिएकी छन् ।

तर यो क्षेत्र माओवादी केन्द्रलाई छाडेकोमा ललितपुर कांग्रेसभित्र असन्तुष्टि छ । अघिल्लो चुनावमा पम्फासँग हारेका अमात्यको ललितपुर ३ मा बलियो प्रभाव छ । उनी यो पटक चुनावी अभियानमा कतै देखिएका छैनन् । चितवन पुगेका अमात्यले अनलाइनखबरसँग भने, ‘ललितपुर ३ का बारेमा म मौन छु । मैले कार्यकर्ता मतदातालाई यस विषयमा केही भनेको छैन ।’

प्रतिस्पर्धी एमाले पनि कांग्रेसमा देखिएको यही असन्तुष्टिको लाभ उठाउने दाउमा छ । एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अमृत खड्का पार्टीको भोट सुरक्षित गर्ने र कांग्रेसका असन्तुष्ट मतदाताको भोट तान्न चाहन्छन् ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले भने सत्ता गठबन्धनमा मतभेद मिलिसकेको दाबी गर्छन् । ललितपुर ३ ‘ख’ बाट प्रदेशसभा उम्मेदवार रहेका श्रेष्ठ भन्छन्, ‘पहिले केही मतभेद थियो, कार्यकर्तामा असन्तुष्टि थियो । अहिले सबै मिलिसकेको छ ।’

कांग्रेसका ललितपुर सभापति एवम् ललितपुर ३ ‘ख’ बाट प्रदेशसभा उम्मेदवार जितेन्द्र श्रेष्ठ

चुनावी एजेण्डा

अन्य चुनावी क्षेत्रका जस्तै सडक र खानेपानी यो क्षेत्रका पनि स्थायी समस्या हुन् । सबै उम्मेदवारले यो मुद्दा आफ्नो प्राथमिकतामा छ भन्न छुटाएका छैनन् ।

जसले जिते पनि वाचा पूरा गर्छन् भन्नेमा मतदाता विश्वस्त देखिँदैनन् । ललितपुर पुल्चोककी शर्मिला महर्जनलाई उम्मेदवारले भोट माग्दा गरेका वाचा पूरा गर्छन् भन्ने पटक्कै विश्वास छैन । उनी भन्छिन्, ‘भोट माग्नलाई अनेकथरि भन्छन् । तिनका घरमा सबै चिज पुगेकै छ, हाम्रो के चिन्ता गर्थे र ?’

९४ हजार मतदाता रहेको ललितपुर–३ का उम्मेदवारले सामना गर्नुपर्ने अर्को सवाल हो खोकना । निजगढ जोड्ने फास्ट ट्रयाकको सुरुवाती विन्दु बनाउन खोजिएको खोकना ललितपुरको प्राचीन बस्तीमध्ये एक हो । स्थानीय वासिन्दाले फास्ट ट्र्याकको जिरो प्वाइन्ट खोकनामा बनाउन नदिन लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका बाबजुद पनि दल र तिनका नेताले आफ्नो कुरा नसुनेको भन्दै खोकनावासी आक्रोशित छन् । खोकनाका रमेश डंगोल भोट माग्न आउने उम्मेदवारलाई खोकनावासीले फास्ट ट्रयाकका नाममा गरेको संघर्ष सुनाउने बताउँछन् । ‘भोट माग्न आउने सबैलाई हामीले हाम्रो भूमि जोगाउन गरेको संघर्ष सुनाउछु’, उनी भन्छन्, ‘हामीले त्यत्रो संघर्ष गर्दा कहाँ थिए उनीहरु ?’

खोकनामा स्थानीय

यो प्रश्नको सामना नयाँ दल र स्वतन्त्रको तुलनामा परम्परागत दलहरुले गर्नुपर्ने हुन्छ । जाउलाखेलका हिमाल कार्की भन्छन्, ‘नेताहरुसंग धेरै मान्छे वाक्क दिक्क भइसकेका छन् । यसपालि नयाँ पार्टी र उम्मेदवारतिर धेरैका आँखा छन् ।’

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका निरञ्जनविक्रम थापा, नेपाल मजदुर किसान पार्टीका निरज लवजु, हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकार र स्वतन्त्र उम्मेदवार सशस्त्र प्रहरी बलका पूर्व डीआईजी कृष्णभक्त ब्रह्मचार्य छन् ।

कांग्रेस जिल्ला सभापति श्रेष्ठ पनि डा. तोसिमाको कार्कीको उम्मेदवारीले चुनावी गणितमा प्रभाव पार्न सक्ने स्वीकार गर्छन् । तर कार्कीले सत्तारुढ गठबन्धनको मात्र नभई प्रतिस्पर्धी एमालेका उम्मेदवारको पनि मत काट्ने भएकाले आफूहरुले चुनाव जित्ने उनको दाबी छ । ‘तोसिमाजीले मत काट्नुहुन्छ होला, तर उहाँले हाम्रो मात्र नभई हाम्रा प्रतिस्पर्धी उम्मेदवारको पनि मत काट्नुहुन्छ’ श्रेष्ठ भन्छन् ।

३० वैशाखको स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतको आधारमा ललितपुर–३ मा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल हुन् । ललितपुर महानगरको वडा नम्बर १ र १३ मा स्वतन्त्र, २ र ३ मा एकीकृत समाजवादी, ४, १०, १४, २०, २८ मा कांग्रेस र ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमाले, २१, २६ र २७ मा माओवादी केन्द्रका उम्मेदवारले चुनाव जिते ।

वडाध्यक्षहरुले पाएको मत हेर्दा कांग्रेसले १९ हजार ७४४, एमालेले १९ हजार ७११ पाएको छ भने माओवादीले ७ हजार ९५८, एकीकृत समाजवादीले ५ हजार १२९, राप्रपाले ४ हजार ४४० र स्वतन्त्रले ३ हजार ५६६ मत मत पाएका छन् ।



source https://www.onlinekhabar.com/2022/11/1212944

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More