११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा ।
सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ । त्यही कारणले सभापतित्व गर्न जमर्को गरेकी हुँ ।’
तर राज्यमन्त्रीसरहको संसदीय समिति सभापतिमा आरजुको रुची यतिमा मात्र सीमित नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई कांग्रेसमा ‘नेता’का रुपमा स्थापित गर्ने प्रयास निरन्तर भइरहेको छ । त्यही क्रममा यो पटक उनलाई संसदीय समितिको सभापति बनाइएको हो ।
शेरबहादुर देउवासँग २०५१ सालमा विवाह गरेपछि आरजु लामो समय कांग्रेसको सक्रिय राजनीतिमा आइनन् । गैर सरकारी संस्थाहरुमै व्यस्त रहिन् । २०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद बन्दासम्म उनको रुची पार्टी राजनीतिमा उतिसारो थिएन ।
जब देउवा सभापति भए, उनको सक्रियता बढ्यो । ०७४ को आम चुनावमा कैलाली ५ मा प्रत्यक्ष चुनाव लडिन् । तर नेकपा एमालेका नारदमुनि रानासँग पराजित भइन् । मंसिर ०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट फेरि समानुपातिक सांसद भइन् ।
निकटवर्तीहरुका अनुसार देउवा आफू पार्टी नेतृत्वमै रहेका बेला आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । तर १५औं महाधिवेशनमा एकै पटक पदाधिकारीमा अगाडि सार्दा स्वीकार्यता हुन्न भन्ने देउवा र आरजु दुबैले बुझेका छन् । उनले संसदको यो कार्यकालमा केही काम गरेर आफ्नो स्वीकारोक्ति बढाउन बाटो रोजिन्, जसका लागि संसदीय समितिको सभापति उपयुक्त थियो ।
एक सांसद भन्छन्, ‘हिजो गगन थापा, रवीन्द्र अधिकारीहरुले संसदीय समितिको नेतृत्व गरेर आफ्नो छवि बनाएका थए । अब आरजुलाई पनि त्यो अवसर बन्नसक्छ ।’
कांग्रेसका एक सांसदका अनुसार सुरुमा आरजुको रुची सार्वजनिक लेखा समितितिर देखिएको थियो । तर त्यहाँ बस्दा थप विवादमा पर्ने देखेपछि उनी कृषि समितिको सदस्य भइन् । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि उनले सभापति बन्ने चाहना राखिन् ।
आरजुले चाहेपछि कसैले रोकेनन् । संसदीय समितिको सभापतिहरु चयनका क्रममा देउवाले शेखर कोइराला–गगन थापा समूहका नेताहरुसँग परामर्श गरेका थिएनन् । संस्थापन समूहका नेताहरु त आरजुलाई नेतृत्वमा स्थापित गर्न नै लागेका थिए । स्रोतका अनुसार पछिल्लो समय प्रवक्ता डा. प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, एनपी साउद, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मोहनबहादुर बस्नेत लगायतका नेताहरु आरजुलाई स्थापित गर्न लागेका छन् ।
कृषि समितिको सभापति बनाउने क्रममा पनि उनीहरुले नै वातावरण बनाएका थिए । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि बलायर लगायतका नेताहरुले आरजुलाई सभापति बन्न आग्रह गरे । आरजुले ‘दाइलाई के भन्नुहुन्छ’ भनेकी थिइन् । एक सांसद भन्छन्, ‘दाइले केही भन्नुभयो भने हामी भनौंला भनेपछि उहाँ तयार हुनुभयो ।’
कांग्रेस सांसद बलायर पनि आफूहरुले सभापति भएर नेतृत्व गर्नुस् भनेर आग्रह गरेको बताउँछन् । ‘उहाँलाई जसरी बद्नाम गराउन खोजिएको छ, त्यो होइन’ उनले अनलाइनखबरसँग भने, ‘हामीले नै उहाँलाई नेतृत्व लिन आग्रह गरेका हौं ।’
यसअघि पनि यो समितिमा सदस्य भइसकेका बलायरका अनुसार कृषि समितिले जलवायु परिर्वतन लगायतका मुद्दामा अन्तर्राष्ट्रिय समुदायसँग समेत काम गर्नुपर्छ । त्यसका लागि आरजु उपयुक्त भएकाले नै आग्रह गरेको बलायर बताउँछन् । सभापतिमा आरजुको प्रस्तावक बसेका कांग्रेस सांसद बलायर भन्छन्, ‘यो उहाँको चाहना मात्र होइन, समितिको आवश्यकता पनि हो ।’
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लामो समयको रस्साकस्सीपछि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई दोस्रोपटक संशोधन गर्दै निकै नै लचक बनाएको छ ।
सोमबार राष्ट्रबैंकले गरेको संशोधनमार्फत कम्पनीहरुले वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालु पूँजी कर्जा लिन पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो कर्जाको सीमा २५ प्रतिशत मात्रै थियो । राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यो मार्गदर्शनमा पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
केन्द्रीय बैंकले आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको शून्य कायम गर्नुपर्ने व्यवस्थामा पनि परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुरुप अब यस्तो प्रकृतिको कुनै पनि प्रकारको कर्जालाई शून्यमा झार्नुपर्ने छैन ।
त्यसमध्ये क्यास–क्रेडिट कर्जामा १० प्रतिशत भन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ भने ट्रस्ट रिसिप्ट कर्जा, डिमाण्ड तथा अन्य चालु पूँजी कर्जामा भने यस्तो व्यवस्था नै हटेको छ ।
निजी क्षेत्रले माग गरेअनुरुप नै चालू पूँजी कर्जामा लचकता अपनाएको राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘बजार सामान्य अवस्थामा भएको भए मार्गदर्शनमा परिमार्जन आवश्यक थिएन । तर, अहिले बजार अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । त्यसो हुँदा हामीले चालू पूँजीसम्बन्धी स्थापित मान्यताभन्दा धेरै नै लचक ढंगले यसमा संशोधन गरेका छौं’, गभर्नर अधिकारीले अनलाइनबखरसँग भने ।
चालू पूँजी कर्जाको मार्गदर्शन लागू नहुने सीमामा पनि केन्द्रीय बैंकले हेरफेर गरेको छ । यसअघि सबै प्रकार कम्पनीहरुलाई एक करोड रुपैयाँसम्म चालूपूँजी कर्जासम्बन्धी मार्गदर्शन लागू नहुने व्यवस्था थियो । अन्य कम्पनीलाई यही व्यवस्था कायम रहे पनि उत्पादनमूलक उद्योगमा ३ करोडसम्मको कर्जामा मागर्दशन लागू नहुने बनाइएको छ ।
त्यस्तै, उत्पादनमूलक उद्योगको ४ करोडसम्मको कर्जामा वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालुपूँजी कर्जाको सीमा कायम गर्नसक्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षको कात्तिकमा चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएपछि निजी क्षेत्रले त्यसको विरोध गर्दै आएको थियो । यस विषयलाई संशोधन गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले प्रधानमन्त्रीसमेतलाई गुहारेका थिए ।
चालू पुँजी सम्बन्धी मार्गदर्शन संशोधन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृति दिएपछि मात्रै जारी गर्ने सहमति मौद्रिक नीति पारित गर्ने बोर्ड बैठकमा भएको थियो । सोही अनुसार सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा छलफल भएर स्वीकृत गरेपछि मात्रै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले उक्त मार्गशर्दन संशोधन गरेको हो ।
बैंक र व्यवसायीको आपसी सहमतिमा वित्तीय स्रोतको अनिश्चित प्रयोग भइरहेको अवस्थामा नयाँ मार्गदर्शनले वित्तीय स्रोतको सही उपयोग र पारदर्शी बनाउन मद्दत गर्ने उसको दाबीसहित १ कात्तिक २०७९ बाट राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । मार्गदर्शनले कर्जा जुन प्रयोजनको लागि लिइएको हो सोही प्रयोजनको लागि खर्च गर्नुपर्ने सुनिश्चितता गरेको थियो । यसअघि २७ पुस २०७९ मा नै यो पहिलोपटक संशोधन भएको थियो ।
लेखापरीक्षण भएको कारोबार रकम सोही वर्षको अनुमानित वित्तीय विवरणको तुलनामा २० प्रतिशतभन्दा कम भएमा चालुपूँजी कर्जाको सीमा समायोजन गर्नुपर्ने व्यवस्थाका कारण व्यवसायीले यसको विरोध गरिरहेका थिए ।
यसअघिको हेलचेक्र्याइँलाई कडाइ गर्न बैंकहरूले नियमित रूपमा कागजात तथा ऋणीको खाता पनि आकस्मिक निरीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो । प्रत्येक त्रैमासको अन्तिम महिनामा चालुपूँजीको सीमा वृद्धि गर्न र पुराना ऋणीलाई नयाँ चालुपूँजी कर्जा स्वीकृत गर्न नपाइने व्यवस्थासमेत थियो ।
ठूला ऋणीहरुले कर्जाको ‘एभरग्रिनिङ’ गरेर वित्तीय स्रोतमा कब्जा जमाएको भन्दै केन्द्रीय बैंकले त्यसमा लगाम लगाउन खोजेको थियो । तर, विगत दुई वर्षदेखि अर्थतन्त्र निरन्तर रुपमा ओरालो लागिरहेको सन्दर्भमा केन्द्रीय बैंकले लचकता अपनाएको देखिन्छ ।
चालु पूँजी कर्जा मार्गदर्शनमा भएको संशोधनले निजी क्षेत्रलाई सहजीकरण गर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल बताउँछन् । उनले भने, ‘यसअघि कतिपय विषयमा व्यवहारिक समस्या थिए, तिनलाई पनि यो संशोधनले समाधान गर्ने देखिन्छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि पहिलेभन्दा खुकुलो बनाएर चालुपूँजी कर्जा मागदर्शन आउनु सकारात्मक भएको बताउँछन् । वार्षिक कारोबारको २५ प्रतिशतको सीमा रहेकामा त्यसलाई बढाएर ४० प्रतिशत पुर्याउँदा त्यसले व्यवसायीलाई सहज हुने उनले बताए ।
वर्षमा सात दिन अनिवार्य रुपमा चालू पुँजी कर्जा शून्य बनाउनुपर्ने व्यवस्थालाई सच्याएर क्यास–क्रेडिट कर्जामा मात्रै सीमित गर्ने र त्यसमा पनि १० प्रतिशत कायम गर्न पाइने व्यवस्थाले केही सहज बनाउने उनले बताए । अहिले व्यवसाय घटामा रहेको अवस्थामा त्यो लागू गर्न पनि कठिन रहेको उनले बताए ।
अहिले व्यवसायीलाई सहज फाइनान्सिङ आवश्यक रहेका बेला राष्ट्रबैंकले राम्रो काम सुरु गरेको परिसंघका अध्यक्ष अग्रवाल बताउँछन् । ‘अब सरकारले पुँजीगत खर्च गरेर तरलता बढाउनुपर्छ, ब्याजदर अझै घट्नुपर्छ’, उनले भने । जग्गाको कित्ताकाट पनि खुलेकोले अर्थतन्त्र अब सहज हुँदै जाने उनको तर्क छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि केन्द्रीय बैंकले उद्योग र वर्किङ क्यापिटल साइकल फरक भएका अन्य कम्पनीलाई फरक खालको नीति लिन खोजेको बताउँछन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी
‘बैंकहरुले नै आवश्यकताका आधारमा ४० प्रतिशतसम्म कर्जा दिनसक्ने गरी संशोधन भएको छ, त्यसले सकारात्मक प्रभाव पर्नेछ’, उनले भने । चालुपूँजी कर्जाको सबै लिमिट आर्थिक वर्षमा १ पटक ७ दिनको लागि शून्य गर्नुपर्ने व्यवस्थालाई क्यास क्रेडिट कर्जामा १० प्रतिशत भन्दा तल ल्याउनुपर्ने र अन्यमा आवश्यक नहुने हुँदा त्यसले निकास दिन्छ भन्ने लागेको उनले बताए ।
यस्तै सरकार र विश्व बैंकलगायतका निकायसँग काम गर्ने निर्माण कम्पनीलाई भेरियन्ससम्बन्धी व्यवस्थालाई दीर्घकालीन रुपमा नै काम गर्न दिने व्यवस्था पनि निर्माण क्षेत्रको समस्यालाई हेरेर ल्याएको बैंकर केसी बताउँछन् ।
‘भेरियन्स एनालाइसिस पनि २ वर्षपछि मात्रै कार्यान्वयन हुने व्यवस्था गरिएको छ । धेरै समस्यालाई सम्बोधन गर्न खोजिएको छ’, बैंकर केसी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारका पनि समूहका कुनै एक जनाको निष्क्रिय कर्जा भयो भन्दैमा सम्पूर्ण साझेदारलाई निष्क्रिय कर्जामा राख्ने कुरा सकारात्मक नहुने उनले बताए ।
बैंकर संघका पूर्वअध्यक्ष तथा नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना पनि निजी क्षेत्रका धेरै समस्या सम्बोधन गर्ने गरी चालुपूँजी कर्जा सम्बन्धी मागर्दशन संशोधन भएको बताउँछन् । उनले भने, ‘आकस्मिक चालुपूँजी कर्जा पनि २ पटकसम्म दिन पाइने भएको छ ।
यस्तै कर्जा बक्यौता शून्य नै हुनु नपर्ने र क्यास क्रेडिट कर्जामा मात्रै १० प्रतिशत भन्दा तल कायम गर्दा हुने व्यवस्थाले सहजीकरण गर्छ भन्ने लाग्छ ।’
कर्जा नोक्सानी व्यवस्था र वर्गीकरणमा पनि कडाइ
राष्ट्रबैंकले चालुपूँजी कर्जामा व्यवसायीलाई लचकता अपनाउँदै कर्जाको नोक्सानी व्यवस्था र वर्गीकरणमा कडाइ गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत गराएरै राष्ट्र बैंकले उक्त परिपत्र जारी गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा (इसीएफ)को शर्त अनुसार नेपालको १० वर्ष बैंकको एसेट क्वालीटी रिभ्यु हुँदै छ । त्यसअगाडि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा समस्या छैन भनेर देखाउन सबै जोखिमको प्रोभिजन गराउन खोजेको राष्ट्र बैंक स्रोतको दाबी छ । नेपालका बैंकहरुको निष्क्रिय कर्जा अनुपातमा आईएमएफले पटक पटक शंका व्यक्त गर्दै आएको थियो । आईएमएफकै शर्तअनुसार एसेट क्वालीटी रिभ्यु गर्नुअघि कर्जाको बर्गीकरणमा राष्ट्र बैंक कठोर बनेको हो ।
एउटै व्यक्ति वा संस्थाले एकभन्दा बढी कर्जा लिएर कुनै एउटा कर्जामा निष्क्रिय वर्गमा वर्गीकरण भएमा अन्य कर्जालाई सुक्ष्म निगरानीमा राख्न निर्देशन दिएको छ । यस्तै कुनै समूहभित्रको एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा बर्गीकरण भएमा समूहमा रहेको अन्य सदस्य ऋणीहरुको उक्त ऋणीसँगको व्यवसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई पनि निष्क्रिय वर्गमा वर्गीकरण गर्न निर्देशन दिएको छ ।
यसले बैंकहरुलाई समस्या पर्ने बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना बताउँछन् । यस्तै निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म किस्ताको सावाँ तथा ब्याज भुक्तानी नियमित भएमा मात्रै असल वर्गमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तो कर्जाको नोक्सानी व्यवस्था पनि ६ महिनासम्म कायम राख्नुपर्ने भएको छ ।
निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुन आवश्यक प्रावधान पूरा गरेको ६ महिनापछि मात्रै स्तरोन्नति गरी सोही अनुसारको कर्जा नोक्सानी व्यवस्था कायम निर्देशन दिएको हो ।
राष्ट्र बैंकले कर्जा वर्गीकरणमा कडाइ गरेर एकातिरबाट व्यवसायीलाई छोडेजस्तो गरेर अर्कातिर बैंकहरुलाई कस्न खोजेको नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना बताउँछन् । ‘राष्ट्र बैंकको उद्देश्य ननबैंकिङ एसेट हुनुभएन भन्ने देखिन्छ । ऋण तिरिसकेपछि पनि ६ महिनासम्म कुनुपर्ने व्यवस्था व्यवहारिक भएन, त्यसको लजिक बुझ्न सकेका छैनौं’, उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारका पनि समूहका कुनै एक जनाको निष्क्रिय कर्जा भयो भन्दैमा सम्पूर्ण साझेदारलाई निष्क्रिय कर्जामा राख्ने कुरा सकारात्मक नहुने उनले बताए । समूहका कुनै एउटा लगानीकर्ता खराब हुँदैमा सबैलाई त्यसैमा राख्दा झनै ठूलो समस्या हुने उनले बताए ।
११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ ।
नेपालका ब्रेक डान्सर दीपक लामाले यसमा सहभागिता जनाउँदैछन् । ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् । ‘हाम्रो लागि ब्रेकडान्सिङ एसियन गेम्समा हुनु नै एकदम ठूलो कुरा हो,’ पोखरमा बसेरएसियन गेम्सको तयारी गरिरहेका दीपकले अनलाइनखबरसँग भने, ‘प्रतियोगितामा भाग लिन पाउनु नै हाम्रो लागि ठूलो उत्साह हो । म एकदमै उत्साहित छु ।’
सन् ७० को दशकमा अमेरिकन हिप हप संस्कृतिबाट सुरु भएको ब्रेकडान्सिङ पछिल्लो समय भने विभिन्न खेलकुद प्रतियोगितामा समावेश हुन थालेको छ । यसअघि सन् २०१० मा चीनमै भएको १६औं एसियन गेम्समा डान्स स्पोर्ट्सकादुईविधा स्ट्यान्डर्ड डान्स र ल्याटिन डान्स समावेश थियो । स्ट्यान्डर्ड र ल्याटिन डान्स दुवैका सबै ५-५ इभेन्टमा चीनले क्लिन स्वीप गरेको थियो ।
एसियन गेम्समा दशकअघि नै समावेश भएको ब्रेकिङडान्स विश्व स्तरमा भने सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षणको रुपमा समावेश गरिएको थियो । अब भने यो ओलम्पिक गेम नै बनिसकेको छ । डान्स स्पोर्टस अन्तर्गत ब्रेकिङडान्स (बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।
दीपकले अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीआईओसीले छात्रवृत्ति उपलब्ध गराएको छ । ओलम्पिकमा पुग्नका लागि भने उनले छनोट चरण पार गर्नुपर्नेछ ।
ओलम्पिक तयारीमै रहँदा नै एसियन गेम्स खेल्ने पाउनु उनका लागि दोहोरो अवसर हो । एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएपछि दीपकको तयारीको रफ्तार झन् बढेको छ ।
‘एसियन गेम्सको लागि ट्रेनिङ गर्न म पोखरामा छु । मलाई कोचले बिहान र बेलुका दुई समयका लागि फरक स्थानमा ट्रेनिङको लागि छुट्याइ दिनुभएको छ । अरु खेलाडीपनि हुन्छन्’, दीपकले भने ।
ओलम्पिक छात्रवृत्तिले उनलाई एसियन गेम्सको तयारीका लागि अझ सजिलो भयो । ‘ओलम्पिक स्कलरसिपले गर्दा मलाई एकदम सहज भएको छ । मलाई चाहिने सामान, ट्रेनिङ गर्ने, ट्राभलका लागि धेरै सहज भएको छ । ट्रेनिङ फ्यासिलिटी सबै कुरामा सहज छ’,मासिक ७५० अमेरिकी डलर छात्रवृत्ति पाइरहेका उनले भने ।
यो रकमले आफू पूर्ण रुपमा डान्समै केन्द्रीत हुन पाएको उनी बताउँछन् । सुरुवाती समयमा तेक्वान्दो, जिम्न्यास्टिक, उसु लगायत खेल खेलेकाउनीभन्छन्, ‘अहिले मैले पूर्ण समय बि बोइङलाई नै दिन पाएको छु ।’
बी-बोइङ क्षेत्रमा ‘टोनी’ स्टेज नाम राखेका उनी यही नामबाट धेरै चिनिन्छन् । उनी एस्ट्रो ब्वाइज क्रूका सदस्य पनि हुन् ।
पदक जित्ने लक्ष्य
कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धाका लागि उत्रिएपछि हरेक खेलाडीको सपना पदक जित्ने नै हुन्छ । अझ त्यसमा च्याम्पियन बन्ने धेरैको लक्ष्य हुन्छ ।
पहिलो पटक एसियन गेम्स खेल्न लागेका दीपकको लक्ष्य पनि त्यही छ । तर ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा उत्तिकै दबाब र चुनौती पनि हुन्छ । त्यो उनले बुझेका छन् ।
उनले सकेसम्म राम्रो प्रदर्शन गरेरदेशको नाम राख्ने प्रयास गर्ने बताए । ‘पदक जित्ने नै भनेर ट्रेनिङ गरिराखेको छौँ । त्यही अनुसार कोचले तयार गरिरहनुभाछ । बाँकी त्यही गएपछि थाहा हुन्छ । म आफ्नो बेस्ट दिनेछु’, दीपकले आफ्नो लक्ष्यबारे सुनाए, ‘टार्गेट गोल्डकै राखेका छौं, अब के हुन्छ त्यो त खेलेपछि थाहा हुनेछ ।’
एसियन गेम्स अघि विदेशमा गएर पनि तयारी गर्ने योजना भइरहेको उनले बताए । ‘नेपालमा पनि ट्रेनिङ राम्रो भइराखेको छ । अहिले सबै प्यासिलिटीहरु उपलब्ध छन्,’ उनले भने, ‘विदेशको ट्रेनिङ पनि चाहिन्छ । त्यसका लागि पनि योजना भइरहेको छ सायद चाँडै थाहा हुन्छ होला ।’
पहिला ब्याटल अहिले खेल
एसियन गेम्समा ब्रेकिङ डान्स समावेश हुँदा अहिले समग्रमा डान्स स्पोर्ट्स-बी बोइङ समुदाय नै पूरा उत्साहित छ । मनोरञ्जनका लागि गरिने डान्स अहिले अन्तर्राष्ट्रिय खेलकै रुपमा विकास हुँदैछ । ‘पहिलो कुरा हाम्रो ब्रेकिङ खेलकुदमा पर्नु नै हाम्रो समुदायको लागि ठूला कुरा हो । त्यही अनुसार विकास पनि भइरहेको छ । यति रिकगनाइजेसन पाउनु भनेको डान्स स्पोर्ट्सको लागि ठूलो कुरा हो ।’
अहिले ओलम्पिक, एसियन गेम्स जस्ता इभेन्टमा यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति नेपालको अपेक्षा झन् बढ्ने विश्वास छ ।
पहिले डान्स ब्याटलको रुपमा रहेको ब्रेकिङ अब खेल नै बनिसकेको छ । नेपालमा बी बोइङ गर्नेहरुका लागि २०७५ सालमा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोट्र्स एसोसिएसन नै स्थापना भएको छ । त्यसैमार्फत नेपालमा खेलाडीहरुले आफ्नो कला देखाउनेछन् ।
यस्तो हुनेछ एसियन गेम्समा ब्रेकिङ डान्स
गोन्शु काना स्पोर्ट्स पार्कको जिम्नासियममा हुने यस प्रतियोगिता अक्टोबर ६ र ७ मा आयोजना हुनेछ । यस पटक जम्मा दुई स्वर्णका लागि ब्रेक डान्समा प्रतिस्पर्धा हुनेछ । जसमा महिला र पुरुषतर्फ एक एक इभेन्ट हुनेछ ।
ब्रेक डान्सिङमा लागि ल्यामिनेट फ्लोरको आवश्यकता पर्नेछ । जसको मिनिमम साइज ८ बाई ८ हुनेछ । ८ मिटरको सर्कल हुनेछ ।
ब्रेक डान्सिङमा कम्पिटेसनमा रेड र ब्लु टिम हुनेछ । दुवैले पालैपालो प्रदर्शन गर्नेछन् ।
हरेकले एक पटक ब्याटल गर्नेछन् । जसलाई एक राउण्ड भनिन्छ । ब्याटल ६० सेकेण्ड भन्दा बढी हुनेछैन ।
सहभागी खेलाडीहरुको संख्याको आधारमा प्रतियोगिता विभिन्न स्टेजमा खेलाइनेछ । क्वालिफाइङ राउण्ड प्रिलिमिनारी राउण्ड नकबउट राउण्ड क्वाटरफाइनल सेमिफाइनल फाइनल हुनेछ ।
क्वालिफाइङ स्टेजमा सबै सहभागी खेलाडीलाई ४ समूहमा विभाजन गरिनेछ । हरेक खेलाडीले आफ्नो प्रदर्शनी देखाउने अवसर पाउनेछन् ।
त्यसपछि जजले हरेक खेलाडीले प्रदर्शनलाई तुलना गरेर वरीयता छुट्याउनेछन् ।
यस्तै प्रिलिमिनरी स्टेजमा क्वालिफाइङ स्टेजमा प्राप्त वरीयताको आधारमा जोडी बनाएर प्रतिस्पर्धा गराइनेछ र त्यसबाट १६ विजेतालाई राउण्ड रोविन स्टेजका लागि छनोट गरिनेछ ।
त्यसपछि खेलाडीलाई चार समूहमा चार-चार खेलाडी राखेर विभाजन गरिनेछ र हरेकले आफ्नो समूहमा अन्य खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
हरेक समूहको शीर्ष दुई खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसपछि नकआउट चरणका खेलहरु हुनेछ ।
नकआउट चरण र सेमिफाइनल चरणमा ३ खेल २ जीत प्रतिस्पर्धा प्रणाली लागू हुनेछ । त्यसपछि अन्तिम चरणमा प्रवेश गर्ने खेलाडीहरुले तीन राउण्डको डुएल्स पूरा गर्नुपर्नेछ र पूरा भएपछि नतिजा घोषणा गरिनेछ ।
प्राविधिक, प्रदर्शन, रचनात्मकता, विविधता, संगीत, र व्यक्तित्व जस्ता सूचकहरूका आधारमा दुवै खेलाडीहरूको प्रदर्शनलाई अंक दिनका लागि जजहरुले ‘स्कोर स्लाइडर’ को फर्ममा स्कोरिङ प्रणाली प्रयोग गर्नेछन् ।
११ भदौऽ पाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ ।
दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते भएको प्रहरीले जनाएको छ।
घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
मोटरसाइकल आइतबार राति साढे १ बजे दुर्घटना भएको थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
१० भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सरको परीक्षणमा विकास भएको नयाँ प्रविधि तथा त्यसको फाइदाबारेमा विराटनगरमा हालै एक गोष्ठी सम्पन्न भएको छ । लिक्विड-बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले ‘सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि-क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।
भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी) को मुख्य आयोजनामा सम्पन्न गोष्ठीमा बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले पाठेघरको क्यान्सरको स्क्रिनिङ जस्ता महिला स्वास्थ्यका महत्वपूर्ण विषयमा सचेतना जगाउने प्लेटफर्म आफूहरुले सृजना गरिरहेको बताए । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो, तर पनि न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको छ। हाम्रो सेप द फ्युचर अफ सर्भाइकल क्यान्सर स्क्रिनिङ इभेन्ट मार्फत, हामी नेपालको पूर्वी भागका अग्रणी स्त्री रोग विशेषज्ञ, प्रसूति तथा रोग विशेषज्ञहरूको सहयोग र सहभागितामा प्रारम्भिक स्क्रीनिङका फाइदाहरूबारे प्रभावकारी सन्देश प्रवाह गर्नेमा आशावादी छौं,’ उनले भने ।
दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठीमा चिकित्सा क्षेत्रका ७० भन्दा बढी विज्ञहरुको सहभागितामा थियो। विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।
नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ । वार्षिक यो रोगका २ हजार २४४ नयाँ बिरामी आउने र १ हजार ४९३ जनाको मृत्यु हुने गरेको छ। नेपालमा प्रति एक लाख महिलामा १६.४ जना पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यसको दर घटाउनुर्ने भनेर सिफारिस गरेको भए पनि यो चार गुणा बढेको छ। डब्लुएचओले प्रति एक लाख महिलामा ४ जनामा झार्नुपर्ने भनेको थियो। नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक एक लाख महिलामा ११ जनाको ज्यान जाने गरेको छ। सही समयमा उपयुक्त स्क्रिनिङ भएमा यसलाई रोकथाम गर्न सकिन्छ।
बीडी विश्वको सबैभन्दा ठूलो मेडिकल टेक्नोलोजी कम्पनीहरूमध्ये एक हो।
काठमाडौं । रक्सी पिउनुअघि र पिइसकेपछि एउटै मान्छे दुईखाले बन्छन् । रक्सी पिउनुअघि मान्छे अक्सर शान्त, सचेत र सुबानी हुन्छन् । रक्सी पिइसकेपछि मान्छे अलि रसिक बन्छन्, उत्तेजित पनि ।
रक्सीको मात्रा थपिंदै जाँदा मान्छेको बोली, हाउभाउ मात्र होइन अनुहारको रुपरंग पनि बदलिन थाल्छ । जब मान्छेलाई रक्सीको मात चढ्न थाल्छ, जिब्रोले राम्ररी काम गर्दैन । बोली लर्बराउन थाल्छ । खुट्टाले राम्ररी साथ दिंदैन । खुट्टा लर्खराउन थाल्छ । आँखा रातो हुन्छ, टाउको दुख्छ ।
त्यसपछि पनि उसले अरु रक्सीको डोज थप्न थाल्यो भने शरीर नै उसको नियन्त्रणबाहिर जान्छ । आफैंले बोलेको कुरा पत्तो पाउँदैनन् । आफूले गरेको कुरा थाहा पाउँदैनन् । रक्सी पिइसकेपछि मान्छे त्यस्तै हुँदैनन्, जस्तो सामान्य अवस्थामा हुन्छन् । तर भात, तरकारी, सागसब्जी, फलफूल, चिया, दही वा अरु कुनै पनि खानेकुरा खाएपछि तुरुन्तै मान्छेको शरीरमा यस्तो असर देखिंदैन । आखिर रक्सी पिएपछि किन यस्तो हुन्छ ?
नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटरले भनेका छन्, ‘धेरै रक्सी पिएपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले शरीरमा धेरै खराबी नगरोस् । त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अलमलिएको जस्तो देखिन्छन् ।’
रक्सी खाएपछि एउटा तत्कालीन र अर्को दीर्घकालीन साइड इफेक्ट देखिने न्युरोलोजिस्ट सुनिलराम कोइराला बताउँछन् ।
उनी भन्छन्, ‘रक्सी यस्तो पदार्थ हो, जुन खाने बित्तिकै पेटमा पुगेसँगै रगतमा मिसिइहाल्छ । १० मिनेटदेखि एक-दुई घण्टासम्म यसको पूरै असर देखिन थाल्छ । हाम्रो दिमागमा स्नायु प्रणालीले सूचना दिइराख्नुपर्छ । त्यहाँ विभिन्न रसायन उत्पादन भइरहेका हुन्छन् । रक्सीले तिनीहरूलाई अवरुद्ध गरेर मस्तिष्कको सूचना प्रणालीलाई नै फरक पारिदिन्छ ।’
त्यसैले रक्सी खाएको मान्छेले सोच्न नसक्ने, निर्णय गर्न नसक्ने, बोली लर्बराउने, सम्झिन नसक्ने जस्ता समस्याहरू देखिन थाल्ने कोइराला बताउँछन् । उनी भन्छन्, ‘रक्सीले हाम्रो स्नायु प्रणालीलाई र मस्तिष्कलाई धेरै उत्तेजित बनाएर सोचविचार नै ठप्प जस्तै बनाइदिन्छ ।’
यसैगरी अर्का वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘रक्सी रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । अनि मस्तिष्कसँग सम्बन्धित समस्या देखा पर्न थाल्छ ।’
रक्सी पिउने मान्छेको तार्किक, सोच्ने क्षमता कमजोर हुन्छ । यसैले उनीहरू सही ढंगले काम-व्यवहार गर्न नसक्ने डा. झा बताउँछन् ।
रक्सीको मात्रा बढ्दै गएपछि त्यसको साइड इफेक्ट पनि बढेर जान्छ । मात्रा धेरै भयो भने बान्ता हुने, मान्छे अचेत हुने जस्ता साइड इफेक्ट समेत देखिन सक्ने न्युरोलोजिस्ट डा. कोइराला बताउँछन् ।
मस्तिष्कको पछाडिको भागले हात, खुट्टा, बोलीको चाललाई संयोजन गर्छ । कसरी हिंड्ने, कसरी बोल्ने भन्ने निर्देशित गर्छ । रक्सीले तिनलाई प्रभावित पारेर काम गर्न दिंदैन । जसले गर्दा रक्सी खाएको मान्छे लर्बडाउँदै हिंड्ने, खुट्टा टेक्न नसक्ने, बोली पनि लर्बराउने जस्ता साइड इफेक्ट देखिने उनी बताउँछन् ।
कोइराला भन्छन्, ‘रक्सीले मस्तिष्कको ‘फ्रन्टल लोब’को भागमा असर पार्छ र सोच्न नसक्ने बनाउँछ । कसैले त रक्सी पिएपछि जे पायो त्यही बोल्ने, गाली गर्ने वा नचाहिने कुरा गरेको देखिन्छ ।’
रक्सीको व्यक्तिपिच्छे फरक-फरक असर देखिन्छ । रक्सीको सेवनले मस्तिष्कमा न्युरोट्रान्समिटरहरूबीच सञ्चारको गति सुस्त हुन्छ । यसले मस्तिष्क र आँखामा सन्देशहरू प्राप्त गर्न ढिलाइ हुन सक्छ, यसले आँखाको मांसपेशीको समन्वयलाई कमजोर बनाउँछ । जसले गर्दा मदिराको अत्यधिक सेवनले आँखा सुख्खा हुने र रातो हुने जस्ता समस्या पनि देखिने कोइराला बताउँछन् ।
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।
राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।
लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।
१० भदौ, काठमाडौं । नेपाली मुक्केबाज म्याक्स बस्नेतले स्कटिस खेलाडीलाई पराजित गरेका छन् ।
उनले स्कटिस च्याम्पियन फ्रिउलाई अंकको आधारमा अपराजित गरेका हुन् । यस जितपछि म्याक्स स्कटल्याण्डको नयाँ क्रज वेइट च्याम्पियन समेत बनेका छन् । अब उनी युरोपियन टाइटल च्यालेन्जर बनेका हुन् ।
केही दिनअघि मात्रै म्याक्स लण्डनस्थित बेल्स बक्सिङ एकेडेमीका को सीईओ नियुक्त भएका थिए ।
यो आफ्नो लागि ठूलो सम्मान भएकोले यसले नेपाली बक्सलाई बेलायतमा गएर खेल्न ढोका खुलेको उनले बताएका छन् ।
गत जुनमा अन्य नेपाली खेलाडीसँगै म्याक्स लण्डन पुगे पनि विपक्षी खेलाडी घाइते हुँदा उनको इभेन्ट रद्द भएको थियो ।
१० भदौ, काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिउ ।
हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो- एथ्लेटिक्स ।
तर यही एथ्लेटिक्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक दिलाउने खेल पनि हो । सन् १९७३ मा सुरु भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । त्यतिबेला कास्य पदक जितेका उनले १९७५ मा पनि त्यसलाई दोहोर्याए ।
अजितकुमार यादवले २०१९ मा भएको तेस्रो एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक स्वर्ण जितेका थिए भने गत वर्ष दीपक अधिकारीले काठमाडौंमै भएको एसियन क्रस कन्ट्रीमा अर्को ऐतिहासिक स्वर्ण जिते ।
एसियाकै एथ्लेटहरुले प्रतिस्पर्धा गर्ने एसियन च्याम्पियन्सिप, एसियन युथ च्याम्पियनसिप र एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा पदक जिते पनि नेपालले एसियाली खेलकुदकै मैदानमा एथ्लेटिक्समा पदक जित्नबाट चुकेको छ ।
आउँदो महिना चीनमा हुने १९औं एसियाली खेलकुदमा ४ महिला र ४ पुरुष धावकले भाग लिँदै छन् । जुन यसअघिको एसियाली खेलकुदको भन्दा दोब्बर बढी हो । ८ खेलाडी सहभागी हुने भए पनि यसपालि पदकको आशा भने नेपालले गरेको छैन ।
सहभागिता नै अहिलेका लागि महत्वपूर्ण बन्दै आएको छ । एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ भन्छन्, ‘एसियन लेभलमा हामी धेरै तल छौं । पदकका लागि यो किसिमको दुई-तीन महिनाको तयारीले पुग्दैन ।’
धनवीर चौधरीको सहयोगमा ७ जना खेलाडीलाई दशरथ रंगशालामा प्रशिक्षक गराइरहेका गुरुङले साउन १ देखि विशेष प्रशिक्षण सुरु गरेका छन् ।
यसपालिको एथ्लेटिक्समा राजन रोकाय र पुष्पा भण्डारीले म्यारथनमा तथा दीपक अधिकारी र सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडने छन् । दीपक गत फागुनमा काठमाडौंमा नै भएको १६ औं एसियन क्रस कन्ट्रीमा तथा सन्तोषीले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका थिए । एशियाली खेलकुदका लागि विदेशमा प्रशिक्षण गर्न पाउने एक्ली धाविका सन्तोषीले इथियोपियामा प्रशिक्षण गरिरहेकी छिन् । इथियोपियाको प्रशिक्षण प्रभावकारी भइरहेको भन्दै उनले लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताए । ‘यसअघि विभि्न समस्याले धेरैमा राम्रो प्रदर्शन गर्न सकेको छैन । यस पटक एसियन गेम्समा भने साँच्चै राम्रो गर्ने लक्ष्य छ ।’
राजपुरा पछाई र गोपीचन्द्र पार्की ५ हजारमिटर तथा सोमबहादुर कुमाल ४०० र ८०० मिटर, फूलमती राना ८०० र १५०० मिटरमा सहभागी हुने छन् । गोपीचन्द्र पार्की र सोमबहादुर कुमालको यो दोस्रो सहभागिता हो । यसअघिको एसियाली खेलकुदमा म्यारथन दौडिएका गोपीचन्द्र यसपालि ५ हजार मिटरमा दौडिने छन् । उनीले गएको दक्षिण एसियाली खेलकुद सागमा ५ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यसैले यसपालि एसियाली खेलकुदमा पनि उनलाई ५ हजार मिटरमै दौडाउने गुरुङले बताए ।
एसियाली खेलकुद खेल्ने दीपक, सोम, राजपुरा र फूलमतिले गत असारमा थाइल्याण्डमा भएको एसियन च्याम्पियनसिप खेलेका थिए । एसियाली खेलकुदका लागि अनुभव बटुल्नकै लागि थाइल्याण्ड पठाइएका उनीहरुबाट नयाँ राष्ट्रिय कीर्तिमान बन्ने अपेक्षा गरिए पनि त्यो पूरा भएको थिएन । ‘एसियन च्याम्पियनसिपमा गर्मीले गर्दा गाह्रो भयो । तर राम्रो अनुभव रह्यो । अब एसियन गेम्समा राम्रो टाइमिङ निकाल्ने लक्ष्य छ,’ दीपकलेअनुभव सुनाए ।
दीपकको इभेन्ट १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान गोपीको नाममा छ । उनले २०१८ मा ३० मिनेट ३०:९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । त्यसमा ह्याण्ड टाइमिङको कीर्तिमान भने दिपकले गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा बनाएका थिए । उनले १० मिनेट १०:३ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै राष्ट्रिय र व्यक्तिगत नयाँ कीर्तिमान एसियाली खेलकुदमा बनाउने नेपालको लक्ष्य छ । ५-१० वर्षको तयारी गरेर पदक जित्ने गरेको सुनाउँदै मुख्य प्रशिक्षक गुरुङले भने, ‘यस पटक नेपालको लक्ष्य पदक भन्दा राष्ट्रिय कीर्तिमान बनाउने र कीर्तिमान सुधार गर्ने हो।’
एसियाली खेलकुदको अनुभवले आउँदो सागमा पदक जित्ने अर्को लक्ष्य नेपालले राखेको मुख्य प्रशिक्षक गुरुङ सुनाउँछन् । ‘हाम्रो मुख्य लक्ष्य आउने साउथ एसियन गेम्समा गत संस्करण भन्दा बढी मेडल जित्ने हो,’ उनी भन्छन्, ‘किनभने साउथ एसियामा हाम्रो प्रदर्शन राम्रो छ । १३औं भन्दा १४औं संस्करणमा मा धेरै मेडल जित्ने लक्ष्य हो ।’
नेपालले एसियन च्याम्पियनसिप, वर्ल्ड च्याम्पियनसिप, एसियन गेम्स जस्ता ठूला प्रतियोगितामा भाग लिँदा त्यहाँको अनुभवले सागमा फाइदा पुग्ने विश्वास प्रशिक्षक गुरुङलाई छ ।
क्लोज क्याम्पमा बसेर तयारी
सन्तोषीबाहेकका ७ जना खेलाडी मुख्य प्रशिक्षक गुरुङकै योजना अनुसार क्लोज क्याम्पमा बसेर तयारीमा छन् । तयारी राम्रो भइरहेको गुरुङ बताउँछन । ‘अहिले हामीले क्याम्प राखेर तयारी गराइरहेका छौं। होटलमा बसेका छन् । उनीहरुलाई रेस्टको समय पनि मिलेको छ ।’
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका म्याराथन धावक राजन देशको प्रतिनिधित्व गर्न उत्साहित छन् । उनी भन्छन्, ‘खेलमा बोलेर भन्दा पनि गरेर देखाउने हो । स्टार्ट भएर फिनिस नभएसम्म थाहा हुँदैन, राम्रो टाइमिङ निकाल्न मिहिनेत गरिरहेको छु ।’
प्रशिक्षणकै क्रममा सोमबहादुरलाई डेंगु भए पनि उनी अहिले निको भएर प्रशिक्षणमा फर्केका छन् ।
‘सोमबाटको आशा थियो । तर उसलाई डेंगु भइदियो । अहिले हप्ता दश दिन पछि रिकभर भएर आएको छ । अब एक महिना बाँकी छ । आशा छ कि उसले ठिक भएर राम्रो गर्नेछ ।’
इथियोपियामा तयारी गरिरहेकी सन्तोषीले पनि एसियन गेम्समा राम्रो गर्ने अपेक्षा छ ।
एसियन च्यामपियनसिप र वर्ल्ड च्याम्पियनसिपमा १०० र २०० मिटर दौडमा भाग लिएको भए पनि एसियन गेम्समा भने यो विधामा खेलाडी सहभागी छैनन् ।
१३औं सागमा पदक जितेका खेलको इभेन्टमात्र सहभागी गराउने हाई परफरमेन्स कमिटीको सुझाव अनुसार १०० र २०० मिटर दौड समावेश नगरिएको गुरुङ बताउँछन् ।
अरु खेलाडीलाई पनि वैदेशिक प्रशिक्षण गराउन पाए अझ राम्रो गर्न सक्ने गुरुङले बताए । ‘जस्तै सन्तोषी इथियोपियामा तयारी गरिरहेकी छिन् । त्यहाँ म्यारथनमा र लङ डिसट्यान्समा विश्वस्तरीय खेलाडी छन् र उसको ट्रेनिङ राम्रो हुन्छ र आफ्नो स्तर जाँच्न पाउछन् । उनीजस्तै सम्भावना बोकेका खेलाडीलाई ६ महिना वा वर्ष दिन विदेश पठाउने वा विदेशी प्रशिक्षक ल्याउने गरे राम्रो हुन्छ,’ गुरुङले भने, ‘साउथ एसियामा त हामी जित्छौं ।’
९ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् ।
नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।
लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गरेका थिए । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।
साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ ।
नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताए । यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उनको भनाइ छ ।
शिविरको डिटेल कार्यक्रमसहित चिकित्सकहरुको विवरणसमेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए । ‘शिविर गर्ने भनेपछि सबै विवरण चाहियो, भोलि कुनै ठाउँको शिविरमा कुनै घटना भए के गर्ने सबै आधारहरु हेर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘शिविर गर्ने चिकित्सकहरुको विषेशज्ञ, मेडिकल काउन्सिल दर्तालगायतका विषय पनि पालिकाको जानकारीमा हुनुपर्छ ।’
उनले पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर जिल्लाका ठूला अस्पतालहरुले शिविर सञ्चालन गरे पनि अरुलाई भने अनुमति नदिइएको उनले बताए ।
चितवन २ बाट जितेका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।
पुरानो मेडिकल कलेजले उपलब्ध गराएको भारतले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर मोवाइल स्वास्थ्य क्लिनिक चलाएका लामिछाने विवादमा परेपछि अहिले अर्को एम्बुलेन्स लिएर क्लिनिक चलाउँदै आएका छन् ।
पुरानो मेडिकल कलेजकै स्वास्थ्यकर्मीहरुको टिम लिएर उनले भरतपुर महानगरपालिकाका विभिन्न वडा स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।
९ भदौ, वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको छ ।
सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।
उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ ।
सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उहाँको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ । भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा छ ।
यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन् ।
नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा जान लागेका होलेनको आठ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुनेछन् । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।
अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन् । उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन् ।
कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका छन् । उनले अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर हुन् ।
उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टिपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए ।
उनी नेपालका लागि सेप्टेम्वरको पहिलो साता पुग्ने ने जनाइएको छ तर उनको भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन् ।