Sunday, 3 September 2023

वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै

१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले कतारविरुद्ध खेलिरहेको छ ।

युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरह्को छ ।

समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो ।

समूह ‘ए’ मा कतारले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । यसअघि खेलेका तीनवटै खेलमा कतार पराजित भएको थियो ।

नेपालले दुई वर्षपछि कतारसँग टी-२० क्रिकेट खेल्न लागेको हो । यसअघि २०२१ नोभेम्बरमा कतारसँग भएको तीन खेलको टी-२० सिरिज नेपालले क्लिन स्वीप नै गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल युएईसँग बुधबार खेल्नेछ ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा ६ र समूह ‘बी’ मा ५ टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1360424

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।

मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।

रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।

युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ ।

मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन ।

मेटाले पनि युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । एजेन्सी



source https://www.onlinekhabar.com/2023/09/1360416

युनाइटेडमाथि आर्सनलको पुनरागमन जित

काठमाडौं । इन्जुरी टाइममा दुई गोल गर्दै आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि पुनरागमन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडलाई ३-१ ले हरायो ।

खेलको २७औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै भ्रमणकारी टोली युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता एकछिन पनि टिकेन। लगत्तै अर्को मिनेटमा आर्सनलका कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेल बराबरीतर्फ अघि बढिरहेको थियो । ८८औँ मिनेटमा युनाइटेडका अलेजान्द्रो गार्नाचोले गोल गरेपछि भिएआरले अफसाइड दिएको थियो ।

तर आर्सनलले इन्जुरी टाइममा दुई गोल गर्‍यो । इन्जुरी टाइमको छैटौं मिनेटमा डेक्लान राइस र दशौँ मिनेटमा गाब्रिएल जेससले गोल गर्दै आर्सनललाई जित दिलाए ।

जितपछि चार खेलबाट १० अंक जोडेको आर्सनल पाँचौ स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको युनाइटेड चार खेलबाट ६ अंकसहित ११औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2023/09/1360410

कान्सेलो र फेलिक्सको डेब्यु खेलमा बार्सिलोना विजयी

काठमाडौं । जाआओ कन्सेलो र जाआओ फेलिक्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेको खेलमा बार्सिलोनाले ओसासुनालाई ला लिगामा २-१ ले पराजित गरेको छ ।

रोबर्ट लेवान्डोस्कीले खेल सकिन पाँच मिनेटअघि पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३ अंक जोडेको हो ।

ओसासुनाको मैदानमा भएको खेलमा जुल्स कोन्डेले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ओसासुनाका चिली अभिलाले ७६औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि लेवान्डोस्कीले निर्णायक गोल गरे ।

ओसासुनाका अलेजान्द्रो काटेनाले लेवान्डोस्कीलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो भने रेफ्रीले काटेनालाई रातो कार्ड देखाए । दश खेलाडीमा समेटिएको ओसासुना विरुद्ध लेवान्डोस्कीले नै पेनाल्टीमा गोल गरी बार्सिलोनालाई जित दिलाए ।

सुरुमा पहेँलो कार्ड मात्र पाएपनि भिएआरको सहयोगमा काटेनालाई रातो कार्ड देखाइएको हो ।

जितपछि चार खेलबाट १० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ ।

म्यानचेष्टर सिटीका कान्सेलो र एट्लेटिको मड्रिडका फरवार्ड फेलिक्स डेडलाइन डे मा लोनमा बार्सिलोनामा अनुबन्ध भएका थिए । सन् २०१७ पछि कान्सेलोले पहिलो पटक ला लिगा खेलेका हुन् ।

यस्तै एथ्लेटिक विल्वाओबाट बार्सा आएका इनिगो मार्टिनेजले पनि ओसासुना विरुद्ध बार्सिलोनाका लागि डेब्यु गरे ।



source https://www.onlinekhabar.com/2023/09/1360400

Saturday, 2 September 2023

रसुवागढीनाकाबाट एक किलो सुनसहित महिला पक्राउ

१७ भदौ, रसुवा ।  रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/09/1359857

नेपालले भुटानविरुद्ध बलिङ गर्दै, रुबी पोदारको राष्ट्रिय टिममा डेब्यु

१७ भदौ, काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।

सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् । उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् ।

यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् ।

आजको पहिलो रोजाइको टिममा तीनै नयाँ खेलाडी एकै साथ सेटमा देखिनेछन् ।

नेपालको प्लेइङ ११ :

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, अस्मिना कर्मचार्य, इन्दु बर्मा, बिन्दु रावल, पुजा महतो, सम्झना खड्का, रुबी पोदार, खुसी ढंगोल, कविता कुवँर र कविता जोशी



source https://www.onlinekhabar.com/2023/09/1359848

हालान्डको ह्याट्रिकमा सिटीको शानदार जित

काठमाडौं । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार फुलहमलाई ५-१ ले पराजित गरेको छ । यस सिजन शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली बनेको सिटी चार खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीको सानदार जितमा हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । त्यसअघि सिटीका लागि जुलियन अल्भारेजले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर दुई मिनेटपछि नै फुलहमका टिम राएमले गोल गरी खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी टाइममा नाथन एकेले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

दोस्रो हाफ हालान्डको नाममा रह्यो । ५८औं मिनेटमा पहिलो गोल गर्दै सिटीको अग्रता ३-१ बनाएका हालान्डले ७०औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो र सिटीका लागि चौथो गोल गरे । यतिमै नरोकिएका हालान्डले इन्जुरी टाइममा गोल गरी यस सिजन लिगमा पहिलो ह्याट्रिक पूरा गरे भने सिटीलाई ५-१ को जित दिलाए ।

टोटनहमले बर्नलीलाई ५-२ ले हरायो, सनको ह्याट्रिक

अर्को खेलमा कप्तान हेउन मिन सनले ह्याट्रिक गरेपछि लण्डन क्लब टोटनहमले बर्नलीलाई ५-२ ले पराजित गरेको छ । बर्नलीको मैदानमा चौथो मिनेटमै लाइल फोस्टरले गोल गरेपछि पछि परेको टोटनहमका लागि सनले १६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसपछि उनले ६३औं र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । टोटनहमका लागि क्रिस्टियन रोकेरो र जेम्स म्याडिसनले एक/एक गोल गरे ।

बर्नलीका लागि दोस्रो गोल जोस ब्रोनहिलले इन्जुरी टाइममा गरे ।

यस सिजन तेस्रो जितपछि चार खेलबाट १० अंक जोडेर टोटनहम दोस्रो स्थानमा उक्लेको छ । सिटीसँगै टोटनहम पनि अपराजित छ । अर्को अपराजित टोली वेष्टहम चार खेलबाट १० अंक भएपनि गोलअन्तरमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

चेल्सी पराजित

अर्को लण्डन क्लब चेल्सी भने घरेलु मैदानमै नटिङहम फरेस्टसँग १-० ले पराजित भएको छ । यस सिजन चेल्सीको यो दोस्रो हार हो ।

नटिङहम फरेस्टलाई जित दिलाउन एन्टोनी एलांगाले दोस्रो हाफमा गोल गरे । उनले ताइवो अवोयिनीको पासमा ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही गोल नटिङहम फरेस्टलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

चार खेलमा दोस्रो जित निकालेको फरेस्ट ६ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ । चार खेलबाट ४ अंक मात्र रहेको चेल्सी ११औं स्थानमा छ ।

 



source https://www.onlinekhabar.com/2023/09/1359835

Friday, 1 September 2023

गोरखा-आबुँखैरेनी सडकको कट्टेलचोकमा बम जस्तै शंकास्पद वस्तु भेटियो

१६ भदौ, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक्’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।



source https://www.onlinekhabar.com/2023/09/1359638

ताराखोलाको स्लेट ढुङ्गा नेपालका मुख्य सहरमा निर्यात

१६ भदौ, गलकोट।  बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी गर्‍यो । गत आवमा पालिकाको कुल ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।

ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ ।

पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो । पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन् ।

ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौं, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिए ।

यहाँका ढुङ्गा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उनको भनाइ छ ।

‘केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु’, उनले भने, ‘यहाँ ढुङ्गा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पुर्‍याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुङ्गा पुर्‍याइन्छ ।’ यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उनको भनाइ छ ।

ताराखोलाको स्लेट ढुङ्गा ब्राण्ड भइसकेको भन्दै उनले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुङ्गा अहिले आधुनिक घरका भित्तामा टास्न र भुईंमा छाप्न प्रयोग हुन थालेको बताए ।

यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुङ्गा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए ।

उनले आफूले उत्पादन गरेको ढुङ्गा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताए । अन्य स्थानको ढुङ्गाभन्दा यहाँको ढुङ्गा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पुर्‍याउन मुस्किल भइरहेको उनको भनाइ छ ।

ताराखोलाको ढुङ्गा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ । पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ ।

‘अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ’, घर्तीले भने, ‘तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।’

पालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाएको भन्दै ढुङ्गा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताए ।

पालिकाको आर्थिक कार्यविधि अनुसार प्रतिवर्गफिट रु दुईका दरले कर तथा ठेक्कामार्फत निकासी कर सङ्कलन गर्दै आइरहेको सापकोटाको भनाइ छ ।

पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न रु ३० हजार र नवीकरण गर्न २५ हजार शुल्क तोकेको छ । पालिकामा स्लेट ढुङ्गाको खानी  प्रशस्त रहेकाले आन्दानीको स्रोत बर्सेनि बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिए ।

ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन् ।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो ।



source https://www.onlinekhabar.com/2023/09/1359629

जलवायु परिवर्तनले परेको असरको क्षतिपूर्ति लिन पहल गरौं : वनमन्त्री महतो

१५ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन् ।

‘द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेण्डर रेस्पोन्सिभ एक्सन’ शीर्षकमा आयोजित जलवायु सम्मलेनमा बोल्दै वनमन्त्री महतोले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले लवायु परिवर्तन सम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप—२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी गराए ।

उन भने, ‘विगमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । तर, आगामी कोप-२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपाली पहिलो पटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (वृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दा बारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामहरुबारे त्यहाँ जानकारी गराइने छ ।’

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले उनले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको र यसको मुख्य जोखिममा महिला, बालबालिका परिरहेको बताइन् ।

उनले भनिन्, ‘युवाहरुले यसको जोखिम न्युनिकरणका लागि काम गर्नुपर्ने र महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुमा परेको असरलाई सम्बोधन गर्नुपर्छ । हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउनुपर्छ ।’

आयोजक संस्था अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी आएको बताइन् । उनले जलवायु परिवर्तनको असरले गम्भीर असर परिरहेको भन्दै यसलाई सबै मिलेर जोगाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

‘अबको केही महिनामा नै नेताहरु कोप-२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भेला हुँदैछन् । हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निमार्ण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छु’  उनले भनिन्।

यस्तै यूएन वुमन नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज् नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्वपूर्ण भएको बताइन् । उनले भनिन्, ‘जलवायु परिवर्तन कम गर्न नेपालको पहल निकै महत्वपूर्ण छ । नेपाल सरकारसँग मिलेर हामीले जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौं ।’



source https://www.onlinekhabar.com/2023/09/1349550

Thursday, 31 August 2023

एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने

१५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन् । समूह ‘ए’ मा भने, अफगानिस्तान र मंगोलिया, समूह ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स र  मलेसिया छन् ।

हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ ।

खेल टि–२० शैलीमा हुनेछ । नेपाल टि–२० आई वरियतामा १७ औं स्थानमा छ । जापान ५३ औं टि–२० आई स्थानमा छ । कम्बोडिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपाल वरियताको आधारमा आफूभन्दा निकै कमजोर टोली जापान र कम्बोडियासँग खेल्नेछ ।

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ । भारतको ऋतुराज गायकवाड र पाकिस्तानको कासिम अक्रमले एसियन गेम्सका लागि कप्तानी गर्नेछन् ।

एसियन गेम्स खेल्ने नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)



source https://www.onlinekhabar.com/2023/09/1358942

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

१५ भदौ, काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौं को भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहने छन् ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको दाबी छ । साथै यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर/एफएचाइ तीन सय ६० रहेका छन । साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1358928

Wednesday, 30 August 2023

यज्ञोपवित अर्थात् सकारात्मक अवधारणा

सामान्यतया प्रत्येक वर्ष वर्षा ऋतुको श्रावण शुक्लपक्षको पूर्णिमाको दिनलाई तागाधारीहरूले जनैपूर्णिमा, रक्षाबन्धन एवं नेवारहरूले गाईजात्रा पर्वको रूपमा मनाउँदछन् । यस वर्ष अधिकमास (मलमास) परेकोले जनैपूर्णिमा एक महिना ढिलो भएर भाद्र महिनामा परेको छ ।

जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका तागाधारीहरूले पवित्र तलाउ, कुण्ड वा गंगातटमा गई स्नान गरी विधिपूर्वक मन्त्रद्वारा शुद्धीकरण गरिएका नयाँ जनै लगाउने तथा पुरानो जनै विसर्जन गर्ने प्रचलन छ । केही दशक अघिसम्म पनि व्रतबन्ध गरेका तागाधारीहरूको शरीरमा जनै नरहेको कल्पना गरिंदैनथ्यो भने अहिले नयाँ पुस्तामा जनै नरहेको विषय सामान्य रूपमा नै लिएको पाइन्छ ।

नयाँ पुस्तामा जनैप्रतिको आकर्षण किन कम भयो ? यसको दार्शनिक, सामाजिक, सांस्कृतिक, संरचनात्मक, ऐतिहासिक एवं चिकित्सकीय आयामका बारेको ज्ञान नयाँ पुस्तामा सार्न सकियो त ? यो लेख यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित छ ।

जनैलाई विष्णु र ब्रहृमाको सृष्टिको प्रथम सूत्रको प्रतीकको रूपमा लिने गरिन्छ र यसै अनुरूप नै जनैको लम्बाइ पनि जनै धारण गर्ने मानिसको नाभिसम्मको मात्र रहनुपर्दछ भन्ने मान्यता छ । नाभि भन्दा छोटो वा लामो लम्बाइकोे जनैको धारण अशुभ मानिन्छ ।

धार्मिक एवं सांस्कृतिक रूपमा जनै धारण व्रतबन्ध संस्कार पश्चात् गरिन्छ । सनातन धर्मका अनुसार जनै अर्थात् उपनयन वा यज्ञोपवित धारण मनुष्य मात्रको जीवनकालमा गरिने १६ संस्कारमध्ये दशौं संस्कारमा पर्दछ । संस्कृत भाषामा ‘व्रत’ को अर्थ प्रतिज्ञा वा संकल्प हुन्छ भने ‘बन्ध’ को अर्थ नियम वा विधि ।

व्रतबन्ध अर्थात् उपनयन संस्कारमा गुरुले शिष्यलाई गायत्री मन्त्र सुनाई जनै अर्थात् उपवित प्रदान गर्दछन् र आफ्नो आश्रममा शिक्षा प्रदान गर्नका लागि स्वीकार पनि गर्दछन् । यसैले, व्रतबन्ध संस्कारको सम्पूर्ण अर्थ शिष्यले ‘गुरुले निर्माण गरेको विधिलाई पूर्ण रूपमा पालन गरी शिक्षा प्राप्त गर्न सार्वजनिक रूपमा संकल्प वा प्रतिज्ञा गरेको’ भन्ने लाग्दछ ।

उपनयन संस्कारबाट उपवित प्राप्त गरेको शिष्यलाई द्विज भनिन्छ । द्विजको अर्थ उपवित प्राप्त गर्ने व्यक्तिको दोस्रो जन्म भएको मानिन्छ । व्रतबन्धपछि द्विज आफ्नो जीवनको ब्रहृमचर्य अवस्थामा प्रवेश गर्दछन् । ब्रहृमचर्य अवस्थामा उनले आफूलाई सम्पूर्ण रूपमा आध्यात्मिक ज्ञानको विकास र त्यसको साधना एवं ध्यानमा केन्दि्रत गर्दछन् ।

शाब्दिक रूपमा ‘उप’ को अर्थ नजिक र ‘नयन’ को अर्थ अग्रसर भन्ने हुन्छ । यसरी उपनयनको अर्थ ‘नेतृत्वका लागि तयार भएको’ भन्ने लाग्दछ । व्यावहारिक रूपमा पनि व्रतबन्ध पश्चात्को शिक्षा एवं दीक्षा पश्चात् मनुष्य सांसारिक रूपमा समाजका अन्य सदस्य एवं सामाजिक जिम्मेवारीको बहन गरी नेतृत्वदायी भूमिका बहन गर्ने अवस्थाको नजिक पुगेको वा तयार नै भएको रूपमा लिइन्छ । त्यसैले व्रतबन्ध संस्कारलाई विवाह संस्कारको पूर्वशर्तको रूपमा पनि लिएको पाइन्छ ।

आचार्य चाणक्य एवम् आधुनिक मनोविज्ञानका ज्ञाताहरूका अनुसार मनुष्यको स्वभाव निर्माणको उमेर सात वर्षदेखि १४ वर्षको अवधि नै हो । यस उमेर पश्चात् उसको व्यक्तित्व यस अवधिमै बनेको स्वभावको प्रतिबिम्बको प्रस्फुटित स्वरूप मात्र हो ।

अर्को शब्दमा भन्नु पर्दा १४ वर्षको उमेर पश्चात् मानिसको स्वभावमा परिवर्तन आउन असम्भवप्रायः नै हुन्छ । अर्थात् यस पश्चात्को स्वभावमा आउने खास परिवर्तन एउटा दुर्घटना जस्तै हो । यसैले सात वर्षकै उमेरमा व्रतबन्ध गरी घरभन्दा टाढा गुरुको समिपमा रही शिक्षा प्राप्त गर्ने कार्यले मनुष्यको स्वभाव, आचरण, एवम् ज्ञानलाई एउटा सही दिशानिर्देश गर्न सहायकसिद्घ हुनसक्दछ ।

साथै, यस प्रक्रियामा हुने सहभागिताले उसलाई जीवनपर्यन्त सामाजिक परम्परा, मूल्यमान्यता एवम् रीतलाई अवलम्बन्ा गरी गुरुले प्रदान गरेको सिद्घान्तको मार्गदर्शनमा सामाजिक विषयमा निर्णय लिन मद्दत गर्दछ । प्रकारान्तरले उसबाट यसरी गरिनेे कार्यले सृष्टिमा निर्माण भएको चराचर जगतको अस्तित्वलाई निरन्तर चलाउन सहायकसिद्घ भई उसले आफ्नो जीवनलाई एउटा सार्थक जीवनको रूपमा परिणत गर्न सक्दछ ।

संरचनात्मक रूपमा जनैमा तीन वटा मूल धागोहरू रहेका हुन्छन् । प्रत्येक एउटा मूल धागोमा थप तीन वटा धागोहरू संयोजन भएका हुन्छन् । यसरी जनैमा नौ वटा धागाहरू हुन्छन् जसले तीन वटा मूल तत्व र ती मूल तत्वका थप तीन वटा सहायक तत्वहरूलाई प्रतिनिधित्व गर्दछन् । तीन वटा मूल धागाहरूले तीन वटा मूल तत्वहरू -नाडी वा स्नायु, गुण वा स्वभाव, र ऋण वा दायित्व) लाई प्रतिनिधित्व गर्दछन् ।

पितृ-मातृ ऋण अर्थात् पिता-माताप्रतिको दायित्व र गुरु ऋण अर्थात् ज्ञान प्रदान गरी दोस्रो जन्म दिने गुरुप्रतिको दायित्व । यी दायित्वहरूले मानिसलाई बाँच्नुको सार्थकता प्रदान गर्दछन् अर्थात् यी दायित्वको निर्वाह गर्नु नै सार्थक जीवन बाँच्नुको पहिलो र महत्वपूर्ण कर्तव्य हो भनी सम्झाउँछ । यसैले हरेक मानिसले आफू मर्नुभन्दा अघि यी तीन वटा दायित्वहरू पूरा गर्ने कर्तव्य निर्वाहका लागि बाँच्नुपर्दछ भन्ने कारण प्रष्ट्याउँछ ।

विक्रम संवत् १९७७ तिरको समयलाई पानीसरो मान्दै सरदार भीमबहादुर पाँडे आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’ मा समाजको जातीय विभाजन बारे लेख्छन्, ‘त्यस बखत गाउँमा प्रायः तीन वर्गका मानिस हुन्थे- तागाधारी, मतवाली र अछूत । तागाधारी वर्गमा बाहुन, क्षेत्री, ठकुरी अर्थात् जनै लगाउने ! मतवाली वर्गमा गुरुङ, चुरेटा, मगर, भोटे, कुमाले, थारू, राई, लिम्बू, नेवार अर्थात् छोइछिटो हाल्न नपर्ने र जाँडरक्सी खाएर जात नजाने । सार्की, कामी, दमाई, गाइने, पोडे लगायत माथि छुवाछूतको विभेद थियो ।’

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ

सनातन धर्मका अनुसार सम्पूर्ण देवताको निवास (देवलोक) उत्तर दिशातर्फ छ भने पितृहरूको निवास (पितृलोक) दक्षिण दिशातर्फ रहेको छ । त्यसैले पुण्य प्राप्त गर्ने सम्पूर्ण कार्यहरू पूर्वतर्फ फर्केर गर्ने गरिन्छ । सामान्यतया जनैलाई बायाँ काँधमा राखेर दाहिने हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर शुभकर्म गर्दा जनै उत्तर दिशा (देवलोक) तर्फ पर्न जान्छ ।

यस अवस्थामा गरिने कार्यलाई सव्य कर्म भनिन्छ । यसले सत्व्ा गुणलाई उत्प्रेरित र देवताहरूलाई आहृवान गर्दछ । त्यसैगरी अन्तिम संस्कार, पिण्डदान तथा श्राद्घमा तर्पण दिंदा जनैलाई दायाँ काँधमा राखेर बायाँ हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर पितृकार्य गर्दा जनै दक्षिण दिशा (पितृलोक) तर्फ पर्न जान्छ । यस अवस्थामा गरिने कार्यलाई अपसव्य कर्म भनिन्छ ।

अध्यात्म विज्ञानका अनुसार मानिसको शरीरमा नाभिभन्दा माथिको भागलाई शुद्घ र नाभिभन्दा तललाई अशुद्घ भागको रूपमा लिइन्छ । सनातन धर्मका अनुसार शौच कर्म अथवा उत्सर्जन कर्ममा रज एवं तम गुण प्रधान हुन आउँछ । त्यसैले उत्सर्जन कार्य गर्दा जनैलाई दायाँ कानमाथि राख्ने गरिन्छ ।

शौचकर्म गर्दा जनै नाभिभन्दा तल पर्न गई अशुद्घ हुन जाने सम्भावना रहने हुनाले जनैलाई कान माथि राख्दा सो सम्भावना टर्दछ भने अशुद्घ शक्ति (रज (पिसाब) र तम (दिसा) गुण) ले जनैलाई प्रेरित गर्ने सम्भावना पनि रहँदैन ।

पूर्वीय जीवनदर्शनको मूल ग्रन्थ चार वेदको संकलन कार्यको मुख्य श्रेय महर्षि व्यासलाई जान्छ । यी चार वेदहरूलाई यो रूपमा संकलित गर्न महर्षि व्यासको समूहमा ४०० बढी विद्वान् तथा विदुषीहरू रहेकोमा कम्तीमा पनि २५ भन्दा बढी विदुषीहरू रहेको विश्वास गरिन्छ । यस अर्थमा शिक्षा प्राप्त गर्ने वा व्रतबन्ध पश्चात् गुरुका समीपमा गई ज्ञान हासिल गर्ने अवसरबाट महिलाहरूलाई त्यस बखतमा वञ्चित नगरिएको कुरा जान्न सकिन्छ ।

यसले प्रारम्भिक वैदिककालमा गुरुकुलमा पढ्ने र पढाउने कार्यमा महिला र पुरुषका बीचमा कुनै विभेद नरहेको बुझिन्छ । पौराणिक कालमा मैत्रेयी लगायतका महिलाहरूले जनै धारण गरेको तथा वेदको अध्ययन गरी तत्कालीन सद्गुरु एवम् महर्षिहरूसँग विभिन्न विषयमा शास्त्रार्थ गरेको कुरा उल्लेख भएको पाइन्छ ।

समयक्रममा शंकराचार्यले उत्तर मीमांसा (ब्रहृम सूत्र) को तुलनामा पूर्व मीमांसा (धर्म सूत्र) को प्रचारप्रसार एवम् व्यावहारिक प्रयोगमा जोड दिएबाट वैदिक ज्ञानको प्रयोगमा महिलाको सहभागिता कमजोर बन्दै गएको पाइन्छ । झण्डै एक शताब्दीअघि पनि नेपाली राई समुदायकी महिला योगेश्वरी अञ्जना देवी (नेपाली मीराका नामबाट भारतमा चर्चित) तथा भोजपुरकी योगमाया न्यौपाने (योगमायाका नामले चर्चित) ले पनि वैदिक ज्ञान आर्जन गरी प्रसिद्धि प्राप्त गरेको पाइन्छ । यसबाट महिलाहरूले पनि पुरुष समान व्रतबन्ध गर्न, जनै लगाउन तथा शिक्षा प्राप्त गर्न सक्दछन् तथा यस कार्यका लागि वैदिक दर्शनले भेदभाव नगरेको प्रष्ट हुन्छ ।

सनातन धर्मका अनुसार सबै मानिस जन्मँदा एकैस्तरमा अथवा शूद्रकै तहमा जन्मिन्छन् । अर्थात् जन्मका आधारमा कोही पनि ब्राहृमण वा क्षेत्रीय हुँदैनन् । यदि गुरुले शिष्य स्वीकार गरेमा उपनयन संस्कार पछि गुरुबाट प्राप्त ज्ञान, संस्कार, आचरण तथा आफ्नै चेतना सहितको साधनाद्वारा उनीहरू अन्य मानिसहरू भन्दा फरक स्तरमा पुग्दछन् ।

मानिसको शरीरमा भएको यज्ञोपवित वा जनैको धारण उसमा रहेको ‘सत्यलाई त्यही रूपमा देख्न सक्ने’ योग्यता एवम् क्षमताको पहिचान वा संकेत हो ।

समाज विज्ञानको सन्दर्भमा सिद्घान्तको व्याख्या र प्रयोग पनि समय र सन्दर्भ अनुसार प्रासंगिक हुने भएकोले जनै वा यज्ञोपवितलाई अकाट्य वा शाश्वत सिद्घान्तका रूपमा नभई एउटा सकारात्मक अवधारणाका रूपमा लिएको पाइन्छ ।

यसैकारण, श्रावण महिनाको शुक्लपक्षको पूर्णिमाको दिनलाई यज्ञोपवित धारण गर्ने दिन वा जनैपूर्णिमाको दिनको रूपमा मनाइन्छ । जनैपूर्णिमाको दिन मन्त्रद्वारा शुद्घीकरण गरिएको जनै धारण गरे पश्चात् प्रत्येक दिन हातमा लिई १०८ पटक गायत्री मन्त्र जाप गरी जनैलाई ऊर्जावान् बनाई राख्नुपर्दछ भन्ने मान्यता छ ।

जनैको अवधारणाको सही चेतनाका साथ यसलाई धारण गरी यथोचित प्रयोग गरेमा यसबाट बहुआयामिक लाभ प्राप्त गर्न सकिन्छ । यसले मानव शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै मानव जीवनलाई नै उद्देश्यमूलक बनाई सार्थकतातर्फ उन्मुख गर्नेमा द्विविधा गर्नुपर्दैन ।

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ ।



source https://www.onlinekhabar.com/2023/08/1358259

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More