Tuesday, 5 September 2023

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा

२० भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा श्रीलंकाले मंगलबार राति अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ । यस जितपछि श्रीलंका समूह ‘बी’ को विजेता बन्दै सुपर फोरमा पुगेको छ ।

श्रीलंकाले दुवै खेल जित्दै ४ अंक जोड्यो । एक जित र एक हारको नतिजा निकालेको बंगलादेशपछि यस नतिजापछि समूह उपविजेता हुँदै सुपर फोरमा पुग्यो । अफगानिस्तान भने दुवै खेल हार्दै समूह चरणबाटै बाहिरियो ।

अफगानिस्तान एक समय सुपर फोर नजिक थियो । तर लगातार विकेट गुमाएपछि अभागी बन्यो । लाहोरस्थित गद्दाफी स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको २९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा २८९ रनमा अलआउट भयो ।

अफगानिस्तानलाई सुपर फोरमा पुग्न श्रीलंकाले दिएको लक्ष्य ३७.१ ओभरमा पूरा गर्नुपर्ने थियो । वा ३७.४ ओभरमा २९५ रन बनाएको अवस्थामा पनि अफगानिस्तान सुपर फोरमा पुग्ने थियो । तर सफल हुन सकेन ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । यस्तै कप्तान हश्मातुल्लाह शाहिदीले ६६ बलमा ३ चौका र १ छक्कासहित ५९ रन जोडे ।

रासिद खानले १६ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाए । अन्तिमसम्म क्रिजमा रहेका रासिद अर्को छेउबाट विकेट गइरहँदा निराश बनेका थिए ।

श्रीलंकाका कसुन रजिथाले ४ तथा दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

ओपनर पथुम निसांका ४० बलमा ६ चौका प्रहार गर्दै ४१ रन जोडे भने दिमुथ करुणारत्ने ३५ बलमा ६ चौका मदतमा ३२ रन बनाए । महिश थिक्सनाले २४ बलमा २८ रन बनाए । दुनिथ वेलालागे ३९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा अविजित ३३ रन बनाए ।

अफगानिस्तानका लागि गुलबादीन नइबले ४ तथा राशिद खानले २ र मुजिब उर रहमानले १ विकेट लिए ।

यस खेलपछि सुपर फोरको समीकरण पनि पूरा भएको छ । समूह्य ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन् ।

सुपर फोरमा अब राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ र शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुपर फोर अन्तर्गत बुधबार पाकिस्तान र बंगलादेशबीच लाहोरमा खेल हुनेछ । फाइनलसहित बाँकी खेल भने श्रीलंकामा हुनेछ ।



source https://www.onlinekhabar.com/2023/09/1361563

एनआरएनले नेपाली नागरिकता पाउने बाटो खुल्यो, कसरी पाइन्छ नागरिकता ?

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन । त्यसैले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।

नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको उनी निकट स्रोतले बतायो । स्रोतले भन्यो, ‘संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहना थियो, त्यसैले नागरिकता सम्बन्धी नियमावली पारित गर्न प्रधानमन्त्रीको विशेष जोडबल थियो ।’

केके गर्न पाइन्छ, केके गर्न पाइँदैन ?

यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुने छ । यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइने छैन ।

कसलाई जरुरी छ यो नागरिकता ?

खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई यो नागरिकता जरुरी थियो । उनीहरुले नेपालमा सीप र लगानी भित्राउन कानुनी अडचन भएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गरेका थिए । आफूलाई राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग थियो । नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुने छ ।

अझै छ असन्तोष

गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदै गर्दा धेरैजसो गैरआवासीय नेपाली खुसी छन् । तर, नयाँ नागरिकता अंगीकृत भएको र उनीहरुको वंशजको नागरिकताका नाता टुटेको भन्दै केही गैरआवासीय नेपालीले यसलाई वंशजको श्रेणीमा राखिदिन माग गरिरहेका छन् । अहिले सरकारले दिने भनेको नागरिकता आफूहरुले नलिने उनीहरुको भनाइ छ ।

यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ । अधिकांश विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुले अझै पनि नेपाली नागरिकता नत्यागेको हुँदा पहिले उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने छ र त्यसपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका साथ आफू वा आफ्नो आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।



source https://www.onlinekhabar.com/2023/09/1361550

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण विजयी

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुँदा रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित भए ।

खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ४१८ मत पाएर विजयी भएका छन् । उनी शंकर पोखरेल निकटका हरि रिजालको प्यानलबाट उम्मेदवार बनेका थिए । कंडेल प्यानलका अर्का प्रत्यासी दुर्गाबहादुर चौधरी ३९३ मत पाएर पराजित भए ।

महिला उपसचिवमा लिला राना ३५२ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी बसन्ती अधिकारीले ३५१ मत पाएर पराजित भइन् ।

पदाधिकारीमा एक उपसचिव पूर्ण बुढामगरबाहेक अरु सबै राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । सचिवमा निर्विरोध निर्वाचित लक्ष्मण आचार्य पनि कंडेल पक्षका हुन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कंडेल प्यानलका हुन् ।

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1361538

Monday, 4 September 2023

१९ वर्षपछि सेभिया फर्किए रामोस

१९ भदौ, काठमाडौं । स्पेका पूर्वडिफेण्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । सेभिया छाडेर रियल मड्रिड गएको १८ वर्षपछि उनी सेभियामै फर्किएका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेपछि उनी फ्रि ट्रान्सफरमा सेभियामा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रामोसले सेभियामा एक वर्षको सम्झौता गरेका छन् ।

‘यो धेरै विशेष दिन हो । घर फर्कुन सधैं विशेष हुन्छ,’ रामोसले भनेका छन्, ‘म यहाँ फर्कंदा खुशी छु र सकेसम्म सहयोग गर्ने प्रयास गर्नेछु जुन महत्वपूर्ण कुरा हो ।’

रामोसले स्पेनका लागि विश्वकप र युरोकप जितेका छन् भने १६ वर्षमा स्पेनका लागि कीर्तिमानी १८० खेल खेलेका छन् । उनले रियल मड्रिडमा हुँदा चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

सेभिलमा जन्दमिएका उनी ७ वर्षको हुँदा एकेडेमीमा आबद्ध भएका थिए । जहाँ उनले सबैखाले प्रतियोगितामा सेभियाका लागि ५० खेल खेले अनि सन् २००५ मा रियल मड्रिड पुगे ।

स्पेनको राजधानी मड्रिडमा १६ वर्ष बिताउँदा रामोसले ६७१ खेल खेले भने ५ ला लिगा र ४ च्याम्पियन्स लिगसहित २२ ट्रफी जिते ।

रियल मड्रिडसँग सम्झौता सकिएपछि उनी २०२१ मा पीएसजीमा अनुबन्ध भएका थिए जहाँ उनले दुई सिजन खेल्दै लिग उपाधि जिते ।



source https://www.onlinekhabar.com/2023/09/1361017

नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित

१८ भदौ, काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो ।

भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे ।

टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके ।

नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो ।

भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरे ।

साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । आसिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो ।

त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आसिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनााए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पारी नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।

त्यसबेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो ।

यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।



source https://www.onlinekhabar.com/2023/09/1361006

एमाले लुम्बिनी अधिवेशन : मंगलबार बिहान ७ बजेदेखि मतदान

१८ भदौ,बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सोमबार रातिदेखि हुने भनिएको मतदान स्थगित गरिएको छ।

रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले तयारी नपुगेको मतदान स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनुसार मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी सोमबार राति स्थगित गरिएको हो ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल उम्मेदवार छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको  बताउने गरेका छन् । सचिवमा भने लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १९ गते मात्रै मतदान दुई दिन लम्बिएको छ ।
निर्वाचनले ५ पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।



source https://www.onlinekhabar.com/2023/09/1361003

नेपाल र भारतबीचको खेल सुरु, भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।

खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो । भारतका लागि रोहित शर्मा र शुभमन गिलले ब्याटिङ गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2023/09/1360995

जसपाले गर्‍यो कार्यालय समिति सदस्यको कार्यविभाजन

१८ भदौ, काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ ।

केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।

यसैगरी बैठकले पूर्वकेन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजात बरबुझारथ गर्ने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।



source https://www.onlinekhabar.com/2023/09/1360993

नेपाल र भारतबीचको खेल १०ः३५ भित्र सुरु हुनैपर्ने, नभए स्थगित

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०ः३५ भित्र सुरु हुनैपर्ने भएको छ । २० ओभर खेल खेलाउन १०ः३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ ।

त्यसअघि नेपाली समय अनुसार १०ः१५ बजे मैदानको निरीक्षण हुनेछ ।

श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २.१ ओभर ब्याटिङ गरेर १७ रन जोड्दा खेल वर्षाका कारण अवरुद्ध भएको थियो । खेल अवरुद्ध भएको साढे १ घण्टा भन्दा बढी भइसकेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1360989

मधेश प्रदेशसभाले जानकारी गरायो सांसद पक्राउको घटना

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशसभाले स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेको सार्वजनिक जानकारी गराएको छ ।

सभामुख रामचन्द्र मण्डलको निर्देशनमा मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् ।

‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्र्दभमा कानून बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेश गरिएको भने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को उपनियम (२) बमोजिम यो सूचना गरिएको छ’ सूचनामा उल्लेख छ ।

सप्तरी क्षेत्र नं. ४ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सोमबार दिउँसो २ः५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

बोदेबर्साइन नगरपालिका ५ बस्ने सत्रुधनप्रसाद सिंह यादवका छोरा सांसद यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । उनलाई पुनः भोलि पेश गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

२०६४ असार ९ गते अपहरण गरी तत्कालिन खोक्सरप्रवाह गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस–३ कि रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी परेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तबीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए । यद्यपि उनी प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।



source https://www.onlinekhabar.com/2023/09/1360986

कोशी सरकार विवादमा रिट निवेदक पक्षको ५ तर्क

१८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादबारे सर्वोच्च अदालतमा सोमबार बहस सुरु भएको छ ।

विश्वासको मत लिने दिन प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले दिएको विश्वासको मतविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथि न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।

सोमबार निवेदकको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले संविधान, कानुन, संसदीय व्यवस्था र सर्वोच्च अदालतले गरेको यसअघिको फैसलाविपरीत काम भएको भन्दै प्रदेशसभामा कुनै प्रस्तावमा मतदान हुँदा मत बराबर भएको अवस्थामा बाहेक सभाका अध्यक्षले मत दिन नसक्ने र दिए पनि मान्य नहुने जिकिर गरे ।

सोमबार दिनभर निवेदकको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भने सरकारी पक्षले मंगलबार पालो पाउनेछन् । सोमबारको सुनुवाइमा मुख्य गरी पाँचवटा विषयवस्तुलाई कानुन व्यवसायीहरुले प्राथमिकता दिए ।

तर्क एक– मत बराबर भएकै थिएन

कानुन व्यवसायीहरुले कोशी प्रदेशसभामा मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाउन गरेको प्रस्तावमा बराबर मत व्यक्त नभएको र त्यो अवस्थामा सभाको अध्यक्षता गर्नेले मतदान गर्न नमिल्ने जिकिरलाई मुख्य रुपमा उठाए ।

निवेदक हिक्मत कार्कीको पक्षबाट बहस गर्ने सबैजसो कानून व्यवसायीहरुले संविधानमा नै बराबर मत व्यक्त भएको अवस्थामा बाहेक सभामुखले निर्णायक मत व्यक्त गर्न नपाउने भन्दै सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले व्यक्त गरेको मत मान्य नहुने जिकिर गरे ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बहसका क्रममा भने, ‘कोशी प्रदेशको विषयमा मत बराबर भएको अवस्था थिएन । सभाको अध्यक्षता गर्ने व्यक्तिको हैसियत सभामुखको भन्दा बिल्कुल फरक हुदैन ।’

तर्क दुई– दुवै पद उस्तै हो, मतदान गर्न मिल्दैन

लिखित जवाफ पेश गर्ने क्रममा प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले आफू सभामुख नभएको, केही समयका लागि मात्रै सभाको अध्यक्षता गरेकाले मत दिएको जिकिर गरेका थिए । उनले आफू प्रदेश सभाको सभामुख नभएकाले दुवैतिर मत बराबर नभएको अवस्थामा समेत मत दिन पाउने जिकिर गरेका थिए ।

त्यसको प्रतिवादमा कानुन व्यवसायीहरुले सभामुख र सभाको अध्यक्षता गर्ने व्यक्ति एउटै हुने भन्दै सभाध्यक्षलाई समेत निशर्त मतदान गर्ने अधिकार नभएको जिकिर गरे । सभाध्यक्षले समेत प्रदेश सभामा तटस्थता देखाउनुपर्ने र दुवैतर्फ बराबर मत भएमा मात्रै निर्णायक मत व्यक्त हुनुपर्नेमा इस्राइल मन्सुरीले पदको दुरुपयोग गरेको उनीहरुको जिकिर थियो । वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘सभामुख र सभा अध्यक्षको पद उस्तै हो, मतदान गर्न मिल्दैनथ्यो । दुवैले पदको दुरुपयोग गरे ।’

तर्क तीन– कार्कीलाई मुख्यमन्त्री नियुक्तिको आदेश होस्

यसअघि तत्कालिन सभामुख बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्दा एमाले नेता कार्कीले मुख्यमन्त्रीको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए । त्यस मुद्दामा ११ साउनमा फैसला सुनाउँदा तर सर्वोच्च अदालतले दुई वा त्यो भन्दा बढी दलको समर्थनमा सरकार बन्ने प्रक्रियालाई अघि बढ्न दिनुपर्ने औल्याएको थियो ।

यो पटक पनि कानुन व्यवसायीहरुले त्यही दावी दोहोर्‍याएका छन् । आफ्ना प्रतिस्पर्धी उद्धव थापाले विश्वासको मत नपाएको निश्चित भएको भन्दै कार्कीका कानुन व्यवसायीहरुले त्यस्तो अवस्थामा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा सबैभन्दा बढी मत भएको दलको नेतालाई नै संसदीय दलको नेता बनाउनुपर्ने माग गरेका छन् ।

दोस्रो प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा ‘विश्वासको मत नपाउनेलाई पटकपटक अवसर दिन मिल्दैन’ भन्ने व्याख्या भनेको भन्दै उनीहरुले अब पनि उद्धव थापाले अवसर पाउन नहुने र त्यो मौका हिक्मत कार्कीलाई जानुपर्ने तर्क गरे ।

तर्क चार– आवश्यकताको सिद्धान्त भन्न मिल्दैन

कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका उपसभामुख र अरु जेष्ठ सदस्यहरुले बैठकमा उपस्थित नभएर गैरसंवैधानिक चरित्र देखाएको आरोप लगाएका थिए । लिखित जवाफ पेश गर्दै उनले आवश्यकताको सिद्धान्त अनुसार, सभाको अध्यक्षता गरेका मन्सुरले मतदान गरेको जिकिर गरेका थिए ।

कानुन व्यवसायीहरुले त्यो दावीको प्रतिवाद गरे । अनि सभको अध्यक्षता गरेका इस्राइल मन्सुरीले आफूलाई दलबाट पनि ह्विप आएकाले बाध्य भएर मतदान गरेको जिकिर गरे । वरिष्ठ अधिवक्ता रमेश बडालले भने, ‘उद्धव थापाज्यूलाई मुख्यमन्त्री बनिरहने रहर पूरा गर्न आवश्यकताको सिद्धान्तको दुरुपयोग गर्न मिल्दैन ।’

तर्क पाँच– सच्याउने बेलामा मत हालेको मिलेन

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मतदानको बेलामा मत दिएका थिएनन् । मतदान सकिएपछि सांसदहरुलाई मत सच्याउने समय दिएका बेला सभाको अध्यक्षता छाडेर उनले मत व्यक्त गरेका थिए ।

सोमबारको सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लले त्यसै विषयमा जिज्ञासा राखेकी हुन् । उनले भनिन्, ‘तपाईंहरु मत सच्याउने बेलामा मतदान भएको छ भन्नुहुन्छ । सुरुमै मतदान गर्ने हो कि मत सच्याउने बेलामा पनि मतदान गर्न मिल्छ ?’

जवाफमा वरिष्ठ अधिवक्ता रविनारायण खनालले भने, ‘एक त सभाका अध्यक्षले शर्तात्मक अवस्था बाहेक मत व्यक्त गर्न मिल्दैन, अरु बेलामा समेत मत सच्याउने बेलामा मतदान गर्ने परिकल्पनै हुदैन ।’



source https://www.onlinekhabar.com/2023/09/1360979

Sunday, 3 September 2023

वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै

१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले कतारविरुद्ध खेलिरहेको छ ।

युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरह्को छ ।

समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो ।

समूह ‘ए’ मा कतारले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । यसअघि खेलेका तीनवटै खेलमा कतार पराजित भएको थियो ।

नेपालले दुई वर्षपछि कतारसँग टी-२० क्रिकेट खेल्न लागेको हो । यसअघि २०२१ नोभेम्बरमा कतारसँग भएको तीन खेलको टी-२० सिरिज नेपालले क्लिन स्वीप नै गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल युएईसँग बुधबार खेल्नेछ ।

सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा ६ र समूह ‘बी’ मा ५ टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1360424

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।

मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।

रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।

युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ ।

मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन ।

मेटाले पनि युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । एजेन्सी



source https://www.onlinekhabar.com/2023/09/1360416

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More