Friday, 29 November 2019

सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

१४ मंसिर, बिराटनगर । सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् ।

‘कृष्णदासजी महाराज’ भनेर चिनिने बाबाजीको पहुँच प्रहरीका माथिल्ला अधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, नेता अनि शीतलनिवाससम्मै देखिएको छ विगतदेखि नै ।

राष्ट्रपति र सिंगै प्रदेश सरकारलाई चतरामा बोलाउन र नक्शा पास नगरेको भवन राष्ट्रपतिबाट उदघाटन गराउन सक्ने ल्याकत भएका बाबाजीविरुद्ध बलात्कारको अभियोग दर्ता भएपछि यसबारे स्थलगत रुपमा बुझ्न हामी शुक्रबार चतरास्थित सिद्धबाबाको १२८ कोठे नवनिर्मित आश्रममा पुग्यौं ।

बाबाजीको यो आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन । मुख्यमन्त्री शेरधन राईले नै ‘म कृष्णदासजी महाराजबाट प्रभावित भएँ’ भनिसकेपछि उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।’
शुक्रबार चतरा पुगेर हामीले सिद्धबाबाको विषयमा उनका सहयोगीहरुसँग केही कुरा सोधखोज गर्‍यौं । आश्रममा साधक र साधिकाहरु भेटिए । जवान महिलाहरुको उपस्थिति पनि बाक्लै देखिन्थ्यो । तर, त्यहाँ कृष्णदासजी महाराज अर्थात् सिद्धबाबा थिएनन्, उनी बिराटनगर पुगिसकेका थिए ।
यो पनि पढ्नुहोस मुख्यमन्त्री शेरधन राईले भने- महाराजजीबाट प्रभावित भइयो

शुक्रबार दिउँसो विभिन्न सञ्चार माध्यममा ‘सिद्धबाबा पक्राउ’ भनेर समाचारहरु आए । तर, प्रहरीले उनलाई आइतबार मात्र गिरफ्तार गर्ने भन्दै साइत हेरेर बसिरहेको छ । अदालतबाट पक्राउ पूर्जी नआएको बाहना प्रहरीले बनाइरहेको छ । अदालत स्रोतले भने पक्राउ पूर्जी जारी भैसकेको बताएको छ । बलात्कारको जाहेरी परिसकेपछि कुनै पनि सर्बसाधारण व्यक्ति तत्काल हिरासतमा पर्ने गरेको छ ।

तर, भीआइपीहरुले भने अस्पताललाई नै हिरासत बनाउने गरेका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराकै पालादेखि अस्पताललाई भीआइपीको हिरासत बनाउने नजीर स्थापित गरिसकेको छ नेपाल प्रहरीले ।

शुक्रबार हामी बाबाजीको आश्रमबाट रिपोर्टिङ सकेर निस्कनै लाग्दा बाबाजीमा सहयोगी बुद्ध शाक्य नाम गरेका व्यक्तिले ‘अध्ययनका लागि’ भन्दै तीनवटा ‘ब्रोसर’ थमाए । एउटा ब्रोसर प्रदेश १ सरकारसँग मिलेर गरिएको हरित अभियानको विषयमा थियो, जहाँ राष्ट्रपति र मुख्यमन्त्रीलाई चतरामा ल्याइएको बारे सगर्व वर्णन गरिएको रहेछ । दोस्रो ब्रोसर उनको आध्यात्मिक प्रतिष्ठानको र तेस्रोचाहिँ आश्रमको विषयमा परिचय दिइएको रहेछ । हामी ती ब्रोसरहरु नपल्टाई ब्यागमा राखेर मोटरसाइकलमा फर्कियौं ।

एक युवतीले बाबाजीलाई निरन्तर प्रेमपूर्ण म्यासेजहरु पठाएको स्क्रिन सट कृष्णदासका सहयोगीहरुले प्रहरीका हाकिमहरुलाई उपलब्ध गराएका रहेछन् । तिनै स्क्रिन सटहरु हामीले पनि इमेलमार्फत प्राप्त गर्‍यौं । र, शुक्रबार चतराबाट फर्कनासाथ त्यसबारे एउटा समाचार लेखेर अनलाइनखबरमा प्रकाशित गर्‍यौं । बाबाजीमाथि षडयन्त्र भइरहेको भन्ने उनका अनुयायीहरुको दाबीलाई पनि हामीले समाचारमा ठाउँ दियौं ।
यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

तर, समाचार लेखिसकेपछि साँझ ती ब्रोसरहरु पल्टाएर अध्ययन गर्न खोज्दा त्यहाँभित्र तीन हजार रुपैयाँ भेटियो ।

लगत्तै ब्रोसर उपलब्ध गराउने बुद्ध शाक्यलाई फोन गरेर सोधियो–‘ब्रोसरभित्र ३ हजार रुपैयाँ हाल्नुभएको रहेछ, तपाईहरुले यस्तो काम किन गर्नुभएको ?

शाक्यले तपाईभन्दा अगाडि चतरा आएका सुनसरीका पत्रकारहरुलाई पनि यसैगरी दिइएको थियो, त्यही भएर तपाईलाई पनि दिएको भन्ने जवाफ फर्काए ।

हामीले उनलाई त्यो पैसा फिर्ता लिन आउन भन्यौं । जवाफमा उनले ‘हैन, अब त्यो पैसाको विज्ञापन हालिदिनोस्’ भने ।

हामीले यस्तो काइते प्रस्तावलाई स्वीकार गर्ने प्रश्नै भएन । एउटा व्यवसायिक पत्रकारलाई प्रभावित पार्ने यस्तो तुच्छ आपराधिक मानसिकता त्यो ‘आध्यात्मिक थलो’ भित्र कसरी जाग्रित भयो ? हामीलाई बाबाजीका चेलाहरुको पारा देखेर अचम्म लाग्यो ।

यस्तो गलत कार्य नगर्न आग्रह गरेपछि बाबाजीका सहयोगीले म्यासेज पठाएर ‘हाम्रो हरित आन्दोलनको सूचना प्रसारित गर्न वा सो रकम फिर्ता गरिदिन भनेका छन् । झुक्याएर थमाइएको नोटबारे म्यासेजमा भनिएको छ, ‘यो हाम्रो सामाजिक अभियानको प्रमोसनका लागि हो ।’

कसैलाई पनि घुस दिनु भनेको फौजदारी अपराध हो । त्यसैले, हामीले यो रकम सिद्धबाबाको बलात्कारसम्बन्धी जाहेरी दर्ता भएको सुनसरी प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने र बाबाजीका सहयोगीमाथि कारवाहीका लागि निवेदन दिने निर्णय लिएका छौं । ती ब्रोसरहरु र तीन हजार नगद अनलाइनखबरका सम्वाददातासँग सुरक्षित रहेको छ ।

भीआइपीसँगको कनेक्सन

विगतदेखि नै विभिन्न विवादहरुमा तानिँदै आएका सिद्धबाबाले बोलाउनासाथ त्यहाँ जाने र कानून मिचेर बनाइएका संरचनाहरुमा लाहाछाप लगाइदिने कार्य कम्युनिष्ट सरकारका मुख्यमन्त्री र राष्ट्रपतिसम्मले गरिदिएको हुनाले बलात्कार आरोपी बाबाजीको कनेक्सन सरकारको माथिल्लो तहसम्मै रहेको प्रष्ट हुन्छ । यही कारणले बाबाजीमाथि अनुसन्धान गर्नु प्रहरीका लागि बिरालाको घाँटीमा घण्टी झुण्ड्याउनुजस्तै बन्न पुगेको देखिन्छ ।

त्यसो त विहीबार नै चतरामा पूर्वाञ्चलका डीआइजी सुटुक्क आएको र बाबाजीलाई भेटेर फर्केको चर्चा चतराका स्थानीयबासीहरुले गरे । कनिष्ट प्रहरीहरुले पनि डीआईजीले बाबाजीलाई भेट गरेको बताएका छन् । तर, डीआइजी ठाकुरप्रसाद ज्ञवाली भने आफूले बाबाजीलाई नभेटेको बताउँछन् ।

बिराट नर्सिङ होममा रहेका बाबाजीले हेडक्वार्टरमा रहेका प्रहरी हाकिमहरुसँग पनि निरन्तर सम्पर्क गरिरहेको बुझिएको छ । कतिपय प्रहरीका श्रीमती नै बाबाजीका भक्त रहेको उनका सहयोगीहरु बताउँछन् ।

बिराटनगर नर्सिङ होममा पुग्दा बाबाजीले पत्रकारसँग बोल्न मानेनन् । उनले ‘समय आएपछि बोल्छु’ मात्र भने । बाबाजीका अंगरक्षकले अस्पतालमा उनको तस्वीरसमेत खिच्न दिएनन् ।

प्रहरीले अहिलेसम्म उनका अंगरक्षकलाई फिर्ता बोलाएको छैन । यद्यपि प्रहरीले बाबाजीमाथि निगरानी भइरहेको र अनुसन्धान सुरु भएको बताएको छ ।



source https://www.onlinekhabar.com/2019/11/815708

कडा सुरक्षा व्यवस्थाबीच दाङमा उपचुनाव, नमूना मतदान केन्द्रमा महिलामात्रै कर्मचारी

१४ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङ क्षेत्र नंं ३ (ख) र घोराही उपमहानगरापलिका– १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको बताए ।

निर्वाचनका लागि ३ सय ३८ पुरुष र ७२ जना महिला गरी ४ सय १० जना कर्मचारी खटिएका छन् भने ३ सय २६ जना स्वयम सेवक नियुक्त भएका छन् । ३४ मतदानस्थल, ८२ मतदान केन्द्रका लागि ८२ मतदान अधिकृत र त्यति नै सहायक मतदान अधिकृतले काम गर्दैछन् ।

प्रदेश सभाको निर्वाचनमा ३४ हजार ९ सय ४० महिला र ३६ हजार ७ सय ७८ जना पुरुष सहभागी हुनेछन् भने एक जना तेस्रो लिंगी समुदायका मतदाता समेत सहभागी हुनेछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १६ को निर्वाचनमा ४ हजार ४ सय ५३ मतदाताका लागि प्राप्त भएको ४ हजार ९ सय मतपत्र मध्य ४ हजार ४ सय ८२ मतपत्र बुथहरुमा पठाइएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।

वडा अध्यक्ष निर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ हजार ३ सय ६५ जना महिला र २ हजार ८८ जना पुरुष सहभागी हुने निर्वाचन कार्यालयले बताएको छ । मुख्य निर्वाचन अधिकृत थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ अन्र्तगत आधारभुत विद्यालय बाहुनडाँडा (क) मतदान केन्द्रलाई नमूना केन्द्र बनाइएको छ । त्यहाँ सम्पूर्ण महिला कर्मचारीहरू खटाइएको छ ।

सुरक्षा व्यवस्था कडा

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी जिल्लाको सुरक्षाकर्मीको साथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

मनोनयन दर्ता भएसँगै सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले अस्थायी बेसदेखि गस्ती गर्ने र पेट्रोलियम टोलीसम्मको व्यवस्था गरिएको बताए ।

शिवु खनालबाट



source https://www.onlinekhabar.com/2019/11/815705

डोटीका २ स्थानमा भेटिएको बम सेनाद्वारा डिस्पोज

१४ मंसिर, डोटी । डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।

आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको हो । विस्फोटमा विप्लव समूह संलग्न रहेको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।



source https://www.onlinekhabar.com/2019/11/815707

उपनिर्वाचनका तस्वीरहरू

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान भइरहेको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म हुनेछ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि नयाँ जनप्रतिनिधि छनोटका लागि मतदान भइरहेको छ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि पनि मतदाताले मत जायर गरिरहेका छन् । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि अहिले मतदान भइरहेको छ ।

पोखराको नवप्रभात माध्यमिक विद्यालयबाहेक अन्यत्र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ । पोखराको मतदानस्थलनजिकै बिहान बम विस्फोट भएको हो । विस्फोटपछि २० मिनेट मतदान स्थगित भए पनि अहिले मतदान भइरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको अनलाइनखबरलाई जानकारी दिए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

तस्वीरमा कास्कीको उपचुनाव

कास्की क्षेत्र नं. २ मा अहिले मतदान भइरहेको छ । तत्कालीन पर्यटन मन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि यो निर्वाचन क्षेत्रमा आज निर्वाचन भएको हो ।

यो क्षेत्रमा ३२ मतदानस्थलमा र ८२ मतदान केन्द्र तोकिएका छन् । यही मतदानस्थलबाट ७१ हजार ८ सय ७१ जनाले निर्वाचनमा मतदान गरेर आफ्नो प्रतिनिधि छान्ने छन् ।

यो निर्वाचनमा ११ दलका र १० स्वतन्त्र गरी २१ जना चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीको नाम दर्ता भएको छ ।

विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी जमुना शर्माको नामसमेत स्वतन्त्रमा दर्ता भएको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङको उम्मेदवारी दर्ता भएको छ ।

पोखराको नयाँबजारमा रहेको नवप्रभात माध्यमिक विद्यालयनजिकै बम विस्फोटका कारण केही बेर मतदान स्थगित भए पनि अन्य स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको त्यहाँस्थित अनलाइनखबरकर्मी अमृत सुवेदीले जनाएका छन् ।


भक्तपुरमा यसरी भइरहेछ मतदान

भक्तपुरका क्षेत्र नं. १ कमा पनि शनिबार बिहानैदेखि मतदान भइरहेको छ । यस क्षेत्रका तत्कालीन प्रदेश सदस्य हरिशरण लामिछानेको निधन भएपछि यहाँ आज चुनाव हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, अहिलेसम्म यहाँ सौहार्दपूर्ण रूपमा मतदान भइरहेको छ ।

धरानकाे चुनाव

धरान उपमहानगरपालिकाको मेयर र एक वडाअध्यक्ष पदका लागि  मतदान भइरहेको छ । मतदान रूपमा भइरहेको त्यहाँबाट हाम्रा प्रतिनिधिले जनाएका छन् ।
तस्वीरहरूः विकास श्रेष्ठ/भक्तपुर, अमृत सुवेदी/पोखरा, ध्रुव भट्टराई/रोशन अधिकारी/धरान



source https://www.onlinekhabar.com/2019/11/815684

पोखराको मतदानस्थल नजिकै बम विस्फोट, मतदान स्थगित

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान स्थगित भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए ।

वम विस्फोटपछि केहीबेरका लालगि नवप्रभात माध्यमि विद्यालयमा रहेको मतदानस्थलको मतदान स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/11/815679

तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

मतदानका लागि धरानको मतदानस्थल पुगेकी एक मतदाता ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।



source https://www.onlinekhabar.com/2019/11/815673

रोकिएन तस्करी, ५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, उपनिर्वाचन र दक्षिण एसियाली खेलकुदसँग सम्बन्धित विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक महिला बेचबिखन, सुनतस्करी, सार्वजनिक जग्गा अतिक्रमणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।  साथमा शनिबारीय सामग्री त छँदैछ ।

अन्नपूर्ण, नागरिक र राजधानीले कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारीमा गएको लेखेका छन् । एथ्लेटिक्सको कीर्तिमानी खेलाडी तुलसा खत्री १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता छाडेर वैदेशिक रोजगारीका लागि कतार उडेकी हुन् ।

राजधानीका अनुसार चीनको उहानमा केही समयअघि भएको सातौं गीष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी खत्रीले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले ४ सय मिटर दौडमा ५९.५७ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा पनि उनले सेनाबाट प्रतिनिधित्व गर्दै स्वर्णपदक हात पारेकी थिइन् । त्यसैले उनलाई दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्णपदकको प्रवल दावेदार ठानिएको थियो ।

अन्नपूर्णका अनुसार, मन्दिर जान्छु भन्दै बन्द प्रशिक्षणबाट निस्किएकी उनी जहाज चढेर कतार पुगेकी छन् ।

‘राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन’, अन्नपूर्णले लेखेको छ ।

नागरिकका अनुसार, तुलसाले आफ्नो प्रशिक्षकलाई देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झूट बोल्न बाध्य भएँ । मेरो जीवन सहज पार्न कतार हिँडेँ भन्ने सन्देश पठाएकी छन् ।

५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

कान्तिपुरले पछिल्ला ५ वर्षको सुन तस्करी अवस्थाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, बितेका ५ वर्ष र ०७६ को ८ महिनामा ५.६७ क्विन्टल सुन बरामद भएको छ ।

कान्तिपुरका अनुसार ०७१ मा १११ केजी, ०६२ ६२ केजी, ०७३ मा ९१ केजी र ०७४ मा १७९ केजी सुन तस्करी गरेर ल्याउँदै गर्दा बरामद भएको छ । अघिल्लो वर्ष ०७५ मा ८९ र ०७६ को ८ महिनामा २९ केजी सुन बरामद भइसकेका छन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2019/11/815665

तीनै तहका रिक्त पदमा आज उपनिर्वाचन

१४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो ।

उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।



source https://www.onlinekhabar.com/2019/11/815664

Thursday, 28 November 2019

अमिताभ लेख्छन्–‘मैले अवकाश लिनुपर्छ’

बलिउड नायक अमिताभ बच्चनले आफूलाई डाक्टरले आराम गर्न र कामबाट विश्राम लिन सुझाव दिएको उल्लेख गरेका छन् । उनले, ब्लग लेख्दै आफ्नो शरीरले आफूलाई अवकाश लिन भनेको उल्लेख गरेका छन् ।

अमिताभ अहिले चलचित्र ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । ब्लगमा उनी लेख्छन्–‘शान्ती, ताजाको सार । जाडोको अनुभुती, सफा आशाको हावा । बिहान ५ बजेपछि आराम । त्यहाँ ठूलो विनम्रता र मार्गमा सत्कारको आनन्द छ । सानो शहरको सरलता सर्वोच्च शासन गर्दछ ।’

अमिताभ अगाडि लेख्छन्–‘मैल अवकाश लिनुपर्छ । टाउकोले अरु केही सोचिरहेको छ र औलाले अर्को सोचिरहेको छ । यो एक सन्देश हो ।’

अमिताभको हातमा अहिले चलचित्रको अभाव नै छैन । उनी लगातार चलचित्रमा व्यस्त छन् । तर, उनलाई डाक्टरे आराम गर्न भनिरहेका छन् । उनी, चलचित्र ‘ब्रम्हास्त्र’को एक्सन दृश्यको छायांकनका लागि पोल्याण्ड जाने तयारीमा समेत छन् ।



source https://www.onlinekhabar.com/2019/11/815381

प्रचण्डले भने- चाँडै चीन भ्रमणमा जाँदैछु

१३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।

यो पनि पढ्नुस्–‘टु प्लस वान’ उपयुक्त लागेको छैन : प्रचण्ड

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुने लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।



source https://www.onlinekhabar.com/2019/11/815380

हलमा ‘सरौतो’ र ‘लभ यू हमेशा’

आज शुक्रबारदेखि २ नेपाली चलचित्र हलमा लागेका छन् । हरि हुमागाँइको निर्देशनमा तयार भएको चलचित्र ‘सरौतो’ र भाष्कर प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू हमेशा’ रिलिज भएका हुन् ।

चलचित्र ‘सरौतो’ एक्सन प्रधान चलचित्र हो । चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा लगायतका कलाकारको अभिनय छ । रिभेन्ज स्टोरीमा तयार भएको चलचित्रले चलचित्र क्षेत्रमा सुमीलाई स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यस्तै, नायक यशराज गरचको साथमा दुई नव–कलाकार ऋचा र फिजाको अभिनय रहेको चलचित्र ‘लभ यू हमेशा’ पनि रिलिज भएको छ । यो चलचित्र प्रेमकथामा निर्माण भएको छ । आजैबाट चलचित्र ‘मखमली मखमली’ पनि हलमा लागेको छ ।

करिब एक महिना यता नेपाली चलचित्रले हलमा दर्शक तान्न सकिरहेका छैनन् । ‘सरौतो र लभ यू हमेशा’ यसमा सफल होलान् त, प्रतिक्षा गरौ ।



source https://www.onlinekhabar.com/2019/11/815370

‘नालापानी’ हेरेपछि प्रधानसेनापतिले गरे तारिफ

चलचित्र ‘नालापानी’ हलमा रिलिज भएको छैन । तर, यो चलचित्रको विशेष प्रदर्शनी नेपाली सेनाको मुख्यालयमा गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको टिमले यो चलचित्र हेरेको छ ।

चलचित्र हेरिसकेपछि उनले भने–‘नालापानीेले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान विर्सन दिदैन । हामीले हाम्रो इतिहासलाई विर्सियौय भने हाम्रो राष्ट्रलाई पनि विर्सिन्छौ । राष्ट्रको रक्षा लागि सेनाले मात्र नभएर सेना र जनता दुबैले सहकार्य गर्ने हो भने असम्भव केही पनि छैन ।’

विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी सहित ३०० जना बढी नेपाली सेनाका अधिकारीहरुले चलचित्र हेरेका थिए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंगे्रज र नेपालको युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर वलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर यो चलचित्र निर्माण भएको छ । यो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोटा, पुजना प्रधान लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले मिलेर गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको एकसन, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन छ । चलचित्रको रिलिज मिति तय गरिएको छैन ।



source https://www.onlinekhabar.com/2019/11/815368

आस्थाको ‘आधार भाग २’ सार्वजनिक

‘दि भ्वाइस अफ नेपाल’को निर्णायक समेत रहेकी गायिका आस्था राउतको ‘आधार भाग २’ एल्बम सार्वजनिक गरिएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतले एल्बमको सार्वजनिक गरे । कलाकार हरिवंश आचार्यले आस्थाको स्वर फरक रहेको भन्दै प्रशंसा गरे ।

यो एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् । यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्कालाई फिचरिङ गरिएको छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ ।



source https://www.onlinekhabar.com/2019/11/815364

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More