Saturday, 30 May 2020

क्वारेन्टाइनबाट भागेर आत्महत्या

१८ जेठ, गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको वडा अध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए ।

उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।

छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।

वडाअध्यक्ष न्यौपानेले घटनाबारे दिएको जानकारी यस्तो छ–

शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका थिए । हामी व्यस्त थियौं । शनिबार साँझ करिब साढे ६ बजेतिर शौचालय जान्छु भनेर कोठाबाट निस्किनु भएछ ।

स्वास्थ्य जाँच्दै जाने क्रममा एक जना मान्छे खै ? शौचालय गएको चन्द्रबहादुर खै ? भनेर खोजी सुरु भयो । क्वारेन्टाइनमा नभेटिएपछि भागेको थाहा भयो । वरपर खोज्दै जाँदा स्कुलभन्दा करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटियो । करिब एक घण्टाको बीचमा हामीले शव फेला पार्यौं ।

आत्महत्या गर्नुको कारण थाहा छैन । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।



source https://www.onlinekhabar.com/2020/05/868986

हत्या आरोपमा २ जना पक्राउ

१८ जेठ, धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको शव फेला परेको थियो ।

उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अङ्गमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/05/868985

फेरि कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ । संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका हुन् ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि यही जेठ १४ गतेको कार्यसूचीबाट संविधान संशोधनको विषय झिकिएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ ।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

राजपाको अर्को संशोधन विधेयक

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ ।

तर, राजपाले ल्याएको संविधान संशोधन सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता हुन बाँकी छ ।

राजपाले नक्सा सम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि यही विषय राखेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नक्सासम्बन्धी विषयमा मात्रै संविधान संशोधन गर्ने र बाँकी विषयमा छलफल गर्दै गरौंला भनेपछि राजपा नेपालले आफ्ना मागहरुलाई उल्लेख गरेर संविधान संशोधन सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्न खोजेको छ ।

राजपाले आफ्नो संविधान संशोधन प्रस्तावमा प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेको छ ।

तर, राजपालाई समाजवादीको छैन साथ !

राजपा र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ बनिसकेको छ । नयाँ पार्टी बनेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ । तर, कानुनी रुपमा राजपा र समाजवादीको अस्तित्व कायम छ ।

पार्टी एक भइसकेको भएपनि राजपाले आफूहरुलाई नसोधी संविधान संशोधन विधेयक लगेको समाजवादीको आरोप छ ।

‘हाम्रो दलमा संविधान संशोधन विधेयक लानेबारे छलफल भएको छैन । राजपाले लग्यो । आइतबार सरकारले ल्याएको विधेयक हाउसमा पेश गर्ने कार्यसूची तय भएको जानकारी प्राप्त भयो । सरकारी विधेयक पास हुन केही दिन लाग्छ । त्यहि बीचमा हामी निर्णय गर्छौं,’ समाजवादीका नेता उमाशंकर अरगरियाले अनलाइनखबरसँग भने ।

सरकारले ल्याएको विधेयकमा विरोध गर्ने पक्षमा आफूहरु नरहेको पनि उनले बताए । ‘खाली हाम्रा कुरा पनि सुनियोस् भन्ने हो । नक्सा बाहेकका विषयलाई सम्बोधन गर्नेबारे अहिलेसम्म राजपा र सरकार दुवैसँग कुनै छलफल भएको छैन,’ नेता अरगरियाले भने ।



source https://www.onlinekhabar.com/2020/05/868984

डुसेलडोर्फको पोष्टमा ५ गोल हान्दै बायर्नले बनायो १० अंकको अग्रता

१८ जेठ, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा शानदार जितसहित उपाधि यात्रा थप मजबुत पारेको छ । शनिवार भएको खेलमा फर्चुना डुसेलडोर्फलाई फराकिलो अन्तरले पराजित गरेको बाय्नले दोस्रो थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको फराकिलो अग्रता बनाएको छ ।

रोवर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बायर्नले ५–० को जित हासिल गरेको हो ।

लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले५२औं मिनेटमा गोल गरेका थिए । बार्यनले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल भने डुसेलडोर्फका माथिएस जोर्गेनसनले आत्मघाती गरेका थिए ।

जितपछि २९ खेलबाट बायर्नले ६७ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्ड ५७ अंकसहित दोस्रोमा छ ।

डर्टमण्डले आज एससी पाडेरबवर्नसँग खेल्नेछ ।

बुण्डेसलिगाको अन्य खेलमा हर्था बर्लिनले अग्सबर्गलाई २–० ले, एनट्राट फ्राङ्कफुर्टले वुल्फ्सवर्गलाई २(१ ले, होफेनहेइमले माइन्ज र वेडर ब्रेमनले साल्कालाई समान १० ले पराजित गरेको छ ।



source https://www.onlinekhabar.com/2020/05/868982

कोरोना जाँच गर्न राखिएको मान्छेको रगत बाँदरले चोरेपछि…

काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको रगतको नमूना बाँदरले चोरेर लगेपछि भारतको एक मेडिकल कलेजमा तहल्का मच्चिएको छ ।

उत्तर प्रदेशस्थित मीरुट सहरमा रहेको मीरुट मेडिकल कलेजमा बाँदरको एक झुण्ड छिरेर प्रयोगशालामा नमूना परीक्षणका लागि राखिएको कोरोना भाइरस संक्रमितको रगतका नमूना चोरेर भागेको हो ।

समाचार अनुसार तीनजना कोभिड विरामीको रगतको नमूना राखिएका टेष्टट्युबहरु बाँदरले चोरेको हो ।

बाँदरले कोरोना परीक्षणका लागि राखिएको रगत चोरी गरेर लगेको भिडियो नै सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यसमा बाँदरले अस्पताल परिसरमा रहेको एउटा रुखको टुप्पामा बसेर आफूले चोरेर लगेको रगतको नमूनाको टेष्टट्युब तथा सर्जिकल पञ्जाहरु समेत चपाउन लागेको देखिन्छ ।

Monkey steals blood samples suspected to be of Covid patients in UP’s Meerut

A monkey snatched away blood samples which were suspected to be of #Covid19 patients. The incident was reported from Uttar Pradesh’s Meerut. Locals were beginning to fear the spread of coronavirus infection after the incident. Later it was clarified that the samples were not for Covid-19.

Posted by Hindustan Times on Friday, May 29, 2020

उत्तर प्रदेशको सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको उक्त शिक्षण अस्पताल सो प्रान्तको कोरोना परीक्षण तथा उपचारको केन्द्रीय प्रयोगशाला तथा अस्पताल पनि हो ।

अस्पतालका अनुसार बाँदरले चोरी गरेको नमूना कोरोना विरामीको स्वाब नभई नियमित रुपमा परीक्षणका लागि लिइएको रगत हो । नमूना रगत बाँदरले चोरी गरेका तिनैजना विरामीहरु सोही अस्पतालमा उपचाररत छन् ।

बाँदरले चोरी गरेको रगत कोभिड–१९ विरामीको रगत भएकोले बाँदरका कारण कोरोना भाइरस फैलिने जोखिम बढेको कतिपयले बताइरहँदा अस्पतालले भने रगतको नमूनाबाट कोरोना भाइरस सर्ने जोखिम नरहेको दाबी गरेको छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/868980

रहेनन् विश्वकै वृद्ध व्यक्ति

काठमाडौं । संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको मृत्यु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार विश्वका सबैभन्दा वृद्ध व्यक्तिको रुपमा रहेका बब ह्विग्टनको १ सय १२ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित बबको गत बिहीबार मृत्यु भएको हो । बेलायतको ह्याम्पसायरका बासिन्दा बब पूर्वशिक्षक तथा इन्जिनियर समेत हुन् ।

जापानका चितेस्तु वातानाबेको मृत्युसँगै गत फेब्रुअरीमा ह्विग्टनले विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिज बुकमा प्रवेश पाएका थिए । तर उनले केवल ४ महिना मात्र कीर्तिमानीको ताज पहिरिन पाए ।

उनको जन्म सन् १९०८ को मार्च २९ मा बेलायतको योर्कशायरमा भएको थियो । बाबुआमाका सातजना सन्तानमध्ये एक रहेका ह्विग्टनका तीनजना छोराछोरी, १० जना नाति-नातिनी तथा २५ जना पनाति-पनातिनी रहेका छन् ।

स्मरण रहोस् १ सय १२ वर्षका ह्विग्टनले विश्वका सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान राखिरहेकै बेला दक्षिण अफ्रिकाका एक व्यक्तिले आफू सबैभन्दा बढी उमेरको भएको दाबी पेश गरिरहेका थिए । १ सय १६ वर्षका दाबी गरिएका फ्रेडी ब्लोमको उमेरका बारेमा गिनिज वर्ल्ड रेकर्डसले प्रमाणित गर्न बाँकी नै छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/868978

कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा विश्वबजारमा आउने दाबी

१८ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो । त्यसमा लेखिएको छ– यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो ।

कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित एक पशुपंछी बजारबाट सुरु भएको थियो । तर यसको औषधि अझै पत्ता नलाग्दा विश्वभर महामारीको रुप लिएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/05/868976

अब माइक्रोसफ्टमा रोबोट पत्रकार !

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो एमएसएन वेबसाइटमा कार्यरत पत्रकारहरुलाई हटाएर स्वचालित रोबोट पत्रकार भर्ना गर्ने भएको छ ।

अहिले विभिन्न सञ्चार माध्यमबाट समाचार संकलन गरी हेडलाइन र तस्वीर छनोट गरेर माइक्रोसफ्टको वेबसाइटमा प्रकाशित गर्ने कामका लागि माइक्रोसफ्टले करारमा पत्रकारहरु राखेको छ ।

तर अबचाहिँ करारमा रहेका सबै पत्रकारहरुलाई हटाएर समाचार छनोट तथा प्रकाशन गर्न माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्नेछ ।

यो नयाँ प्रयोग आफ्नो व्यवसायको मूल्यांकनको एक हिस्साको रुपमा रहेको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘अन्य सबै कम्पनीहरुजस्तै हामीले पनि नियमित रुपमा आफ्नो व्यवसायको मूल्यांकन गर्ने गर्दछौँ । यसबाट कतिपय क्षेत्रमा लगानीमा वृद्ध गर्न तथा कर्मचारीहरुको पुनः खटनपटनमा सहयोग गर्दछ ।’

आफ्नो वेबसाइटमा प्रकाशित गर्ने प्रयोजनका लागि माइक्रोसफ्टले पनि अन्य प्रविधि कम्पनीहरुले जस्तै गरी विभिन्न समाचार एजेन्सीहरुलाई रकम तिर्ने गर्दछ ।

तर समाचार एजेन्सीहरुबाट कुन–कुन समाचार आफ्नो वेबसाइटमा राख्ने भन्ने निर्णय गर्नका लागि भने माइक्रोसफ्टले करारमा पत्रकार भर्ना गर्ने गरेको छ ।

रोबोटलाई पत्रकारका रुपमा भर्ना गर्ने माइक्रोसफ्टको निर्णयसँगै जुन महिनाको अन्त्यदेखि एमएसएन वेबसाइटमा कार्यरत कम्तिमा ५० जना करारका पत्रकारको जागिर जानेछ । यद्यपि पूर्णकालीन पत्रकारको टोली भने यथावत रहनेछ ।

उता जागिरबाट हटाइन लागेका करारका पत्रकारलेचाहिँ मानिसलाई मेसिनबाट विस्थापित गर्ने विषयमा सोच्नु पनि अनैतिक रहेको बताएका छन् । रोबोटलाई कडा सम्पादकीय गाइडलाइन्समा अभ्यस्त हुन कठीन हुने भन्दै उनीहरुले यसले माइक्रोसफ्टको न्यूज साइटमा असान्दर्भिक समाचारहरु देखिने जोखिम रहेको दाबी गरेका छन् ।

माइक्रोसफ्टको जागिर गुमाउन लागेका एकजना पत्रकारले भनेका छन्, ‘आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको जागिर कसरी हडप्दैछ भन्ने विषय पढेर मैले समय बिताउँथेँ । तर अहिले मेरै पालो आयो ।’

स्मरण रहोस् विश्वका विभिन्न सञ्चार तथा प्रविधि कम्पनीहरुले खर्च कटौतिका लागि रोबोट पत्रकारिता सुरु गर्न थालेका छन् । गुगलले यस रोबोट पत्रकारिताको सम्भावनाका विषयमा अध्ययन गर्न एक परियोजना सुरुवात गरेको छ ।’



source https://www.onlinekhabar.com/2020/05/868973

नेकपा सचिवालयमा नयाँ ट्विस्ट ! बजेटमा एमसीसी स्वीकृत भइसक्यो !

१७ जेठ, काठमाडौं । सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको अनुदान रकम घुसाएको भनेर सत्तारुढ नेकपामा विवाद शुरु भएको छ । विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको छ ।

सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि निम्त्याइएको छ ।

नेकपा सचिवालयका बहुमत सदस्य एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छन् । तर, शनिबारको सचिवालय बैठकमा संस्थापन पक्षका नेताहरुले एमसीसी सहयोग अघिल्ला आर्थिक वर्षमै संसदबाट स्वीकृत भैसकेको रोचक तर्क गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षका एक सचिवालय सदस्यका अनुसार एमसीसीको अनुदान रकम बजेट वक्तव्यमा उल्लेख भएको भने यो तेस्रोपटक भइसक्यो । बजेट वक्तव्यमा लगातार पर्दै आएको विषयलाई तेस्रो वर्षमा आएर बखेडा झिकिएको ती नेताको तर्क छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेको पहिलो बजेट आव २०७५/७६ मै बैदेशिक सहयता तथा ऋण अनुदान शीर्षकमा अमेरिकी सहयताभित्र मिलेनियम च्यालेन्ज कोअपरशेन (एमसीसी)को ५ अर्ब अनुदान उल्लेख भई पारित भएको ती नेताले बताए ।

नेकपा नेताका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा पनि सोही शीर्षकको बिनियोजन बिधेयक पारित भइ कानुनको रुपमा क्रियाशील छ । चालु आर्थिक वर्षमा एमसीसीको अनुदान रकम ६ अर्ब रुपैया बजेटको अनुसूचीमा उल्लेख छ ।

सचिवालय बैठकले एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट यसलाई हटाइने निश्कर्ष निकालेको छ

सोही बजेटको निरन्तरता स्वरुप आगामी आर्थिक वर्षको बजेटको अनुसूचीमा वैदेशिक सहायता तथा अनुदान शीर्षकमा ५ अर्ब एमसीसी अनुदान उल्लेख छ ।

आर्थिक वर्ष ०७६/७७ को बजेट वक्तव्यको १६८ नम्बर बुँदामा च्यालेञ्ज फन्डको उल्लेख गरिएको थियो, जसलाई संसदले पारित गरिसकेको छ ।

यस वर्ष बजेटको आकार घटेकाले अघिल्लो वर्षको भन्दा केही रकम कम उल्लेख भएको हुनसक्ने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. लालशंकर घिमिरे बताउँछन् ।

नेकपाभित्र यसपटक बजेटमा एमसीसी घुसाइएको भनेर विवाद निकालिए पनि एमसीसीको अनुदानलाई सम्भावित आय विवरणमा पहिले नै स्वीकार गरेर संसदले पारित गरिसकेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार एमसीसीको अनुदान यसपटक घुसाइएको होइन ।

उनले भने– लगातार दुईवटा आर्थिक वर्षमा सरकारको सम्भावित आय शीर्षकमा वैदेशिक अनुदानभित्र एमससीको पाँच अर्ब अनुदान उल्लेख छ र ती विधेयक पारित भएर कानुनका रुपमा छन् । अहिले सम्भावित करीव ६० अर्ब बैदेशिक अनुदान तथा सहायताभित्र एमसीसीको पौने ६ अर्बले निरन्तरता पाएको  अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन्  ।

करीव ५० अर्बको एमसीसी परियोजना उर्जा अन्तर्गत अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक पूर्वाधारमा खर्च हुने भनिएको छ । सबै अनुदान एकै आर्थिक वर्षमा खर्च नहुने भएकाले सम्भावित स्रोतका रुपमा एक वर्षमा खर्च गर्न सकिने रकम बजेटमा पारिएको हुन्छ ।

तर, संसदबाट एमसीसी परियोजना पास नभएसम्म सो रकम प्राप्त नहुने भएकाले सरकार संसदको यसै अधिवेशनबाट एमसीसी पारित गराउन खोजिरहेको छ ।

यसबारे नेकपाभित्र विवाद कायमै छ ।

गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले झलनाथ खनालको नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाएको थियो । कार्यदलका बहुमत सदस्यले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

संसदबाट एमसीसी पारित नभए बजेटको अनुसूचीबाट हट्ने

यसैवीच सचिवालय बैठकले एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट यसलाई हटाइने निश्कर्ष निकालेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यसअनुसार हुनेछ । यदि संसदले अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाका बारेमा सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले पनि यस विषयमा स्पष्ट पार्नुभएको छ ।’

बजेटमा प्रस्तुत अनुसूचीमा राखिएको एमसीसी योजनाका बारेमा आवश्यक स्पष्टताको निम्ति आकस्मिक बैठक बसेको श्रेष्ठले बताए । उनले भने, ‘एमसीसीसम्बन्धी प्रस्ताव अहिले संसदमा विचाराधीन छ, त्यसैले बजेटको व्यवस्था त्यसअन्तर्गत नै हुने कुरा स्पष्ट पारियो ।’



source https://www.onlinekhabar.com/2020/05/868870

Friday, 29 May 2020

रेडजोनमा भय मिश्रित ७२ घण्टा

यतिबेला समाजका थुप्रै अङ्गहरू एक प्रकारले कोमाको स्थितिमा छन् । तर, पत्रकारिताको गति भने निर्वाध चलिरहेको छ । समाजमा कोरोना महामारीको जोखिम पनि थपिँदैछ । लकडाउनका बेलामा खासगरी चिकित्साकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूजस्तै पत्रकारहरूका लागि कर्म, मन र डरको सन्तुलन मिलाउनु निकै जटिल सन्दर्भ बनेको छ ।

‘भोलि बिहान पत्रकार महासंघ सुनसरीले फिल्डमा सक्रिय भएर खटिएका २० जना पत्रकारको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब सङ्कलन गर्दैछ । साढे नौ बजे इटहरी क्वारेन्टिनमा आउनु है,’ सोमबार साँझ पत्रकार दाइ सचिन पोखरेलले फोनमा एउटा प्रतीक्षारत सूचना सुनाउनुभयो ।

सरकारले कोरोना रोकथामका लागि दुई महिनादेखि लगाएको लकडाउनका बीचमा म सुनसरी जिल्लाका विभिन्न जोखिमयुक्त स्थानमा पुगेर टेलिभिजनका लागि रिपोर्टिङ कार्यमा निरन्तर सक्रिय थिएँ । दुई पटक भारतसँग जोडिएको सुनसरीको हरिनगरसहित सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका पुग्दा निकै डराएको थिएँ ।

मनको डर कतिखेर बाहिर फुत्किने हो र साथीहरूका सामु कमजोर देखिइने हो भन्ने मनोवैज्ञानिक दबाव परेको थियो

बीचमा म रिपोर्टिङकै लागि प्रदेश १ को कोरोना सङ्क्रमित राखिएको कोभिड–१९ अस्पताल (कोसी अस्पताल) विराटनगरसमेत पुगें । विराटनगरमै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अन्तर्वार्तासमेत गरें ।

काठमाडौंबाट वीरगन्जदेखि सप्तरी र उदयपुर हुँदै पूर्व आउनुभएका सहकर्मीहरुसँग रिपोर्टिङका लागि दुई दिन सँगसँगै हिँडेका थियौं । मनमा कताकता भय पलाउन सुरु भइसकेको थियो । यसबीचमा म अति समस्यामा परेका केही व्यक्तिहरूको सहयोगका लागि औषधि लिन जोगवनी सीमानाका र धरानसमेत पुगेको थिएँ ।

मङ्गलबार दिउँसो ११ बजे इटहरी–५ स्थित जनता क्याम्पस परिसरमा इटहरी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा कोरोना परीक्षणका लागि स्वाब (खकार) सङ्कलन गरियो ।

पहिलो चरणमा मसँगै सुनसरीका २० जना पत्रकारबाट स्वाब सङ्कलन गरिएको थियो । त्यस क्रममा केही साथीहरू डराए । केहीले स्वाब सङ्कलनको सूचीबाट आफ्नो नामसमेत हटाए । स्वाब सङ्कलनका क्रममा धेरै साथीहरूको अनुहार मलिन थियो । रिपोर्ट पोजेटिभ आउँदाको अवस्थामा त्यसको सामना कसरी गर्ने भन्ने चिन्ता अरूलाई जस्तै मलाई पनि थियो ।

भित्र जति डराए पनि बाहिर सबैजना केही होइन यो, सामान्य कुरा हो जस्तो भाव प्रस्तुत गरिरहेका थिए । मनको डर कतिखेर बाहिर फुत्किने हो र साथीहरूका सामु कमजोर देखिइने हो भन्ने मनोवैज्ञानिक दबाव परेको प्रायः साथीहरूको मुहार, आँखाको प्रस्तुति, कुरा गराइ र शारीरिक हाउभाउमा झल्किरहेको थियो । कति कुरा नभनेरै बुझ्नुपर्ने अवस्था आइलागेको थियो ।

स्वाब सङ्कलनअघि र पछि मन र दिमागमा अनेकखाले कुरा खेल्न थालेका थिए । कोरोना पोजेटिभ भइहाले मेरा कारणले अरू कति धेरैलाई सङ्क्रमित हुने हो र तनाव हुने हो भन्ने यावत् कुरा बारबार दिमागमा आउन थाल्यो । आफू बस्ने टोलमा पत्रकार भनेर जहाँ पनि हिँडेको छ, कुनै बार–बन्देज छैन, कतै टोलमा कोरोना फैलाउने माध्यम आफू नै त हुने होइन भन्ने सोच मनमा आउँदा बेलाबेलामा मन उद्वेलित हुन्थ्यो ।

कोरोना परीक्षणका लागि स्वाब दिएर आएको भनेर घरमा सुनाउँदा मपछि श्रीमतीजी, दुई छोरा र बुबा-आमामा चिन्ता र तनावको मात्रा उत्कर्षमा पुगेको थियो । परिवारका सदस्यहरूको अनुहारमा देखिएको भावले पनि मन थप खल्लो बनाएको थियो ।

यता, इटहरी–२ महेन्द्र मावि छेउका एक जना १८ वर्षीय युवकको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको खबरले इटहरी आत्तिएको थियो । खबरलगत्तै इटहरी २ र ३ नम्बर वडा सिल गरिएको थियो । टोल–टोलमा गरिएको माइकिङका कारण बच्चादेखि जेष्ठ नागरिकसम्म सबैमा त्रासको माहोल ह्वात्तै बढेको थियो । स्थानीय सरकारले हाम्रो घर भएको २ नम्बर वडालाई तत्काल रेड–जोन घोषित गरेको थियो ।

यस्तो पृष्ठभूमिमा ४८ घण्टापछि रिपोर्ट आउने भनिएको थियो । तर, सुनसरी, मोरङ र झापाबाट सङ्कलित दुई सय ५० जनाको स्वाबको एउटै लटमा परीक्षण गरियो, जसका कारण रिपोर्ट थाहा पाउन ७२ घण्टाभन्दा बढी समय कुर्नुपर्यो । रिपोर्ट नआउँदाको यो ७२ घण्टा ७२ महिनाजस्तो बोझिलो लागेको थियो ।

कसैलाई वा कुनै विषयको नतिजालाई पर्खिनुजस्तो सकस सायद कमै हुन्छ जिन्दगीमा । त्यही सकसमा बिताएँ मैले शरीरमा आएको हल्का ज्वरोसहितको यो ७२ घण्टा ।

रिपोर्टिङकै क्रममा कोरोना सङ्क्रमित भएका वीरगन्ज र उदयपुरका पत्रकार साथीहरू कोरोनासँग कसरी लडिरहेका होलान् भन्ने चिन्ता पनि मनमा आउँथ्यो । त्यसमा मुलुकको स्वास्थ्य अवस्था, अस्पतालको अवस्था, क्वारेन्टिनको व्यवस्थापन, जिम्मेवारी लिएकाहरूको व्यवहार, समाजको दृष्टिकोण आदि–इत्यादि छटपटिएको मनलाई अझ उद्वेलित बनाउन पर्याप्त थिए ।

यदि मेरो स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको भए म के गर्थें ? के लेख्थें ? यसबेला त्यो कुरा यहाँ उल्लेख गर्नु खासै सान्दर्भिक छैन । भाग्यवश परिस्थिति अनुकूल भइदियो । अनपेक्षित केही व्यहोर्नुपरेन । रिपोर्टिङका क्रममा वा अन्य काममा पनि बाहिर हिँड्दा, मान्छेसँग भेटघाट गर्दा सावधानी अपनाएकै कारण कोरोना भाइरसले मलाई छुन सकेन ।

मेरोमात्र होइन, मसँगै स्वाब परीक्षणका लागि दिनुभएका सुनसरीका २० जना पत्रकारमध्ये सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यो अर्को ठूलो सन्तोषको कुरा भएको छ ।

यता, कोरोनाले जजसलाई छोएको छ, तीमध्ये एक जना बालिका र केही जेष्ठ नागरिकसहित धेरैजना भाइरससँगको युद्ध जितेर घर फर्किसकेका छन् । यो धरातलीय यथार्थ त्यो तनावपूर्ण ३६ घण्टामा मेरो तनाव कम गर्ने र मनोबल बढाउने एउटा प्रभावकारी सूत्र बनेको थियो । तथापि मेरो लागि यो ७२ घण्टाको समय अहिलेसम्मकै कठिन र अविस्मरणीय भयो ।

यत्रतत्र कोरोना महामारी फैलिएको यो संवेदनशील बेलामा फिल्डमा सक्रिय भएर खटिएका पत्रकारहरूका लागि स्वास्थ परीक्षण गरेर ढुक्क हुने अवसर प्रदान गर्नुहुने पत्रकार महासंघ सुनसरी, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी, इटहरी अस्पताल र इटहरी क्वारेन्टिनका चिकित्सकको नेतृत्वलगायत सबै सरोकारवाला तथा शुभेच्छुकहरूमा धेरैधेरै धन्यवाद !

(मनोज सुनसरीमा कार्यरत पत्रकार हुन् ।)



source https://www.onlinekhabar.com/2020/05/868865

ट्वीटरमा नयाँ फिचर : शव्द फुरेको बेला लेखेर राख्ने, फुर्सदमा ट्वीट गर्ने

काठमाडौं । कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन । अनि पछि कुनै बेला ट्वीट गरौँला भनेर पन्छिनुहुन्छ । तर केही समयपछि तपाईंले पहिले ट्वीट गर्न आँटेको कुरा वा फुरेका शव्दहरु बिर्सिनुहुन्छ । जसका कारण तपाईंले ट्वीटमा व्यक्त गर्न चाहेको महत्वपूर्ण विषय समेत फासफुस हुन्छ ।

तर अबचाहिँ यस्तो हुने छैन । किनकी माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका लागि दुई नयाँ फिचर ल्याएको छ । जसको सहयोगमा अब ट्वीटर प्रयोगकर्ताले आफूलाई विषय फुरेको बेला लेखेर मन लागेको बेला ट्वीट गर्न सक्नेछन् ।

ट्वीटरमा अब प्रयोगकर्ताले आफ्नो ट्वीट आफूलाई इच्छा लागेको बेला पोष्ट गर्नेगरी समय तालिकामा राख्न अर्थात् ‘सेड्युल’ गर्न सक्नेछन् ।

त्यसका अलावा ट्वीटलाई ड्राफ्टमा पनि सेभ गर्न सकिनेछ र पहिले लेखिएको कुनै पनि कुरालाई ट्वीट गर्न सकिनेछ ।

नयाँ फिचर्सका बारेमा जानकारी दिँदै ट्वीटरले भनेको छ, अब वेब भर्सनमा ट्वीटर प्रयोगकर्ताले आफूलाई मन लागेको बेला ट्वीटलाई सेड्युल गर्न सक्नेछन् ।

कसरी गर्ने ?

यसका लागि ट्वीट गर्ने समय कम्पोज विन्डोमा तलपट्टि अन्य आइकन्ससँगै एक क्यालेन्डरको आइकन पनि देखिनेछ । त्यसमा क्लिक गरेपछि ट्वीट सेड्युल गर्न सकिनेछ ।

स्मरण रहोस् ट्वीटरले गत वर्ष नोभेम्बरमै सेड्युल ट्वीट फिचर परीक्षण गरिरहेको जानकारी दिएको थियो । त्यही फिचरलाई उसले आधिकारिक रुपमा लञ्च गरेको हो ।

त्यस्तै आफ्ना ट्वीटलाई ड्राफ्टको रुपमा सुरक्षित राख्ने नयाँ फिचर पनि प्रयोगकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ । यदि तपाईंले कुनै ट्वीट अहिल्यै नगरी केही समयपछि गर्न चाहनुहुन्छ भने ट्वीट फुरेको बखत लेखिहालेर त्यसलाई ड्राफ्टमा राख्न सक्नुहुन्छ ।

यसका लागि ट्वीट कम्पोज गर्दा लेखिने कम्पोज विन्डोको माथि वायाँपट्टि देखिने क्रस आइकनमा क्लिक गर्नुपर्दछ । त्यसो गरिसकेपछि लेखेका कुरालाई ड्राफ्टमा सेभ गर्ने अप्सन आउनेछ र सोही अप्सनमा क्लिक गरेर आफूले अहिले लेखेका कुरालाई भविष्यमा ट्वीट गर्नका लागि सुरक्षित राख्न सकिन्छ ।

पुरानो ड्राफ्टलाई ट्वीट गर्नका लागि केबल कम्पोज विन्डो खोले पुग्दछ । त्यसपछि माथि दायाँपट्टि रहेको Unsent Tweets अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि आफूले सेभ गरेका सबै ड्राफ्ट देखा पर्दछन् । तपाईंले ती ड्राफ्टबाट जुनसुकै छानेर सम्पादन समेत गरी ट्वीट गर्न सक्नुहुन्छ ।

ट्वीटरले उपलब्ध गराएका यी दुई फिचर करोडौँ ट्वीटर प्रयोगकर्ताले निकै नै मन पराउने पक्का छ ।

तर दुःखको कुरा यी नयाँ फिचर ट्वीटरको एन्ड्रोइड तथा आइओएस एपमा उपलब्ध छैनन् । तत्कालका लागि ट्वीटरको वेब भर्सनमा मात्र यी फिचरहरु प्रयोग गर्न सकिने ट्वीटरले जनाएको छ ।

–एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2020/05/868864

क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम !

काठमाडौं । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ ।

क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा कण्डम उपहार थमाएर घर पठाइएको छ ।

बिहारको गोपालगंज जिल्लामा स्वास्थ्य विभागको पहलमा यस्तो अभियान सुरु गरिएको हो । सरकारी अधिकारीका अनुसार १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरिसकेका प्रवासीहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिनेछ ।

भारतका विभिन्न प्रान्तहरुबाट त्यहाँ आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोनाबाट उच्च प्रभावित कतिपय राज्यबाट फर्किएकाहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिनेछ भने अन्य राज्यबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा राखिनेछ ।

होम क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई समेत १४ दिनको अवधि पश्चात् स्वास्थ्यकर्मीहरुले घरमै गएर परीक्षण गरी कण्डमको प्याकेट उपहार दिनेछन् ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/868862

रक्सीले मात्तिएका युवकले काटेर फ्याँके आफ्नै यौनांग

काठमाडौं । जर्मनीको बर्लिनमा रक्सीले मात्तिएका एकजना युवकले आफ्नै यौनांग काटेर फ्याँकेका छन् । बर्लिनस्थित एक पार्कमा बुधबार मध्यरातमा प्रहरीले रगताम्मे अवस्थामा लडेका ती युवकलाई उद्दार गरेको छ ।

इमर्जेन्सी नम्बरमा फोन गरेर गुहार मागेसँगै पुगेको पुलिसले लिंग काटिएर रगताम्मे भएका युवकलाई तत्कालै अस्पताल पुर्याएको थियो । तर दुःखको कुरा उनले काटेर फ्याँकेको लिंगको टुक्रा फेला नपरेका कारण डाक्टरहरुले उनको गोप्य अंगलाई जोड्न पाएनन् ।

ती युवकले निकै नै धेरै मदिरा सेवन गरेको र तीन पटकको प्रयासमा आफ्नो लिंग छिनालेको समेत प्रहरीले पत्ता लगाएको छ । प्रहरीले तीव्र खोजतलासका बाबजुत ती युवकले छिनालेर फ्याँकिएको यौनांगको टुक्रा फेला पार्न सकेको छैन ।

युवकले के कारणले आफ्नो यौनांग छिनाले भन्नेचाहिँ खुलेको छैन । उनको अवस्था गम्भीर रहेको कारण सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2020/05/868860

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More