Wednesday, 26 January 2022

बैतडीमा बस दुर्घटना, ८ जना घाइते

१३ माघ, धनगढी । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बिहान करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनास्थलबाट उनीहरुको उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको खड्काले बताए ।

बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वीरेन्द्र लुहारलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1070787

जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न प्रदेश सरकारको निर्देशन

१३ माघ, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका सवारी साधन तोडफोड गर्नाका साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा उनले आग्रह गरेका छन् ।

यसैबीच मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।



source https://www.onlinekhabar.com/2022/01/1070778

भेरी अस्पतालमा १२ घण्टाभित्र २ संक्रमितको मृत्यु

१३ माघ, बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो ।

यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।



source https://www.onlinekhabar.com/2022/01/1070776

कमलालाई सधैं फलिफाप, भुँइबाट संसदतिर भुवन

१२ माघ, पोखरा । प्रदेशसभा सदस्य र र स्थानीय जनप्रतिनिधिले फ्लोर क्रस गरेपछि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा पाँचदलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् ।

५ दलीय गठबन्धनको जीत सुनिश्चित भएका बेला गण्डकी प्रदेशबाट महिलाबाट कमला पन्त, खुलाबाट सुरेल आले र दलितबाट भुवन सुनारले राष्ट्रिय सभाको यात्रा तय गरे ।

मतान्तर धेरै नै फरक हुँदा फ्लोर क्रसले उनीहरुको जित रोक्न सकेन । तर गण्डकीमा घात नहुने सत्तापक्षीय दलहरुको अनुमान गलत सावित भएको छ ।

गण्डकीमा गठबन्धनको ३१ सांसद छन् । कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २२/ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङे पनि गठबन्धन सरकारकै मन्त्री भएकाले उनको पनि मत गठबन्धनलाई नै जाने अनुमान थियो । एमालेका जम्मा २७ सांसद छन् ।

तर, गठबन्धनकी पन्त र एमालेका महिला उम्मेदवार लिला पोखरेल थनेत, दलिततर्फका गठबन्धनका उम्मेदवार भुवन सुनार र एमाले उम्मेदवार अर्जुन सुनामले समान २९/२९ जना सांसदको मत पाए । गठबन्धनबाट अन्यतर्फका उम्मेदवार सुरेश आलेमगरलाई ३० जना सांसदले मत दिँदा एमालेका उम्मेदवार पुण्यप्रसाद पौडेलले २८ सांसदको मत पाए ।

यसबाट ४ मत बढी रहेको गठबन्धनका सांसदले फ्लोर क्रस गरेको पुष्टि भएको छ । एक जना प्रदेश सभाका सांसद छाप नै नलगाइ खाली मत खसालेको पाइएपछि बदर भएको थियो ।

८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा गठबन्धनलाई स्थानीय तहबाट पनि फ्लोर क्रस भएको छ । ९९ जनप्रतिनिधि रहेको गण्डबन्धनबाट ११ जनाले मत क्रस गरेको पाइएको छ । एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको परिणामले देखाएको छ ।

महिला कोटाबाट निर्वाचित पन्तलाई स्थानीय तहका ९४ जनाले मतदान गरे भने एमालेकी लीला थनेतले ७४ मत पाएकी छन् ।

माओवादीका आलेले ९२ र उनका प्रतिस्पर्धी पौडेलले ७५ मत पाएका छन् । दलिततर्फ माओवादीका सुनारले ९२ र एमालेका सुनामले ७४ जनाको मत पाए ।

गण्डकीमा स्थानीय तहका १ सय ७० जनप्रतिनिधिमध्ये १ सय ६८ जनाले मतदान गरे । ६० सदस्यीय प्रदेश सभामा ५९ जना सांसदले मतदानमा सहभागी बनेका थिए । गण्डकीमा जनमोर्चाका सांसद कृष्ण थापा कारबाहीमा परेपछि एक पद रिक्त छ ।

सानो मतान्तर भएको खण्डमा गठबन्धनबाट फ्लोर क्रस भएका कारण हार समेत हुनसक्ने संकेत देखिएकाले चिन्ताको विषय भएको कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले बताए । माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान गठबन्धनमा घात भएकाले गम्भीर समीक्षा हुनुपर्ने बताउँछन् ।

भाग्यमानी कमला

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसकी पन्त गण्डकी प्रदेशबाट पाचौं पटक संसद छिर्ने भाग्यमानी नेता बनेकी छन् । हालै भएको कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्तलाई संसदीय खेल सधैं फलिफापजस्तै बनेको छ ।

पटकपटक सांसद, मन्त्री बन्ने सीमित कांग्रेस नेतृमध्ये पर्छिन्, कमला पन्त । २०५१ सालपछि निरन्तर संसद छिरेकी कांग्रेस नेतृ पन्त फेरि पनि राष्ट्रिय सभा निर्वाचन जितेर सांसद हुने भाग्यमानी महिला बनेकी छन् । २०५१ सालपछि २०७४ सालबाहेक हरेक निर्वाचनमा टिकट पाएकी उनले गोरखाबाट सांसदमात्रै होइन, मन्त्रीसमेत बनिसकेकी छन् । २०५१ सालको मध्यावधि निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट जितेर पन्त पहिलो पटक संसदमात्रै छिरिनन्, सहायक मन्त्री नै बनिन् । २०५६ सालको निर्वाचनमा पनि उनैले टिकट पाइन् । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा राज्यमन्त्री बन्न सफल भइन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा फेरि पनि उनी राज्य मन्त्री बन्ने अवसर पाइन् ।

२०६४ र ०७० सालमा संविधान सदस्य बनेकी पन्तले २०७४ सालको निर्वाचनमा पनि टिकटको दाबी गरेकी थिइन्, तर कांग्रेसले नयाँ शक्तिका बाबुराम भट्टराईले सघाउने निर्णय गरेपछि उनले चुनाव उठ्न पाइन् । ४० को दशकमा पद्मकन्या क्याम्पसमा विद्यार्थी राजनीति थालेकी पन्त स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, सहसचिव हुँदै २०४५ सालमा सभापति बनेकी हुन् । उनी हालै सकिएको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार थिइन् । महाधिवेशनमा हार ब्यहोरेपनि रामचन्द्र पौडेलको सिफारिसमा राष्ट्रिय सभामा जित सुनिश्चित भएको टिकट हात पारेर संसद छिर्न सफल भइन् ।

संसदीय यात्रामा सुरेशको दोस्रो सुर

यस्तै संसदीय प्रतिस्पर्धालाई नै बहिस्कार गर्दै माओवादी केन्द्रबाट अलग भएका नेता सुरेश आलेमगर माओवादीमा मात्रै फर्किएनन् फेरि त्यही संसद नै फर्किएका छन् । २०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनका चर्चित नेता आलेमगरका लागि दोस्रो पटक संसदको यात्रा गर्दैछन् ।

२०३६ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेका पूर्व शिक्षक आलेमगर निष्ठावान नेतामै गनिन्छन् । मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालमा मोहन वैद्यहरुसँगै आलेमगर पनि जोडिएका थिए । मोटो मसाल, एकता केन्द्र हुँदै नेकपा माओवादीमा लागेका आलेमगर सशत्र संघर्ष हुँदै  शान्ति प्रक्रियासम्म आइपुग्दा थुप्रै पटक पक्राउ परे ।

शान्ति प्रक्रियामा आएपछि पनि अन्तरिम व्यवस्थापिका सदस्य बनेका आलेमगरले पहिलो संविधान सभाको चुनावमा कांग्रेस नेता गोविन्दराज जोशीलाई हराएका थिए । पटकपटक सांसद र मन्त्री बनेका जोशीलाई हराएर चर्चामा रहेका आलेमगर दोस्रो संविधान सभाअघि नै संसदीय अभ्यासलाई बहिस्कार गरेर मोहन वैद्यसँगै माओवादीबाट अलग भएका थिए ।

वैद्यसँगै माओवादीबाट विभाजित भएका आलेमगरले नेता रामबहादुर थापालाई साथ दिए । ३ वर्षपछि रामबहादुर थापासँगै माओवादीमै फर्किएका हुन् । नेकपा विवादमा रामबहादुर थापाले केपी ओली रोज्दै मन्त्रीकै अफर गर्दा पनि नचाहिने भन्दै आफू माओवादीमै फर्किएको दाबी आलेमगरले छ । माओवादी सल्लाहकार, वैकल्पिक हुँदै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसमेत बनिसकेका आलेमगर अहिले पनि केन्द्रीय सदस्य छन् । तिनै आलेमगरलाई जित सुनिश्चित रहेको गठबन्धनबाट राष्ट्रिय सभामा प्रचण्डले टिकट दिए । र आलेमगरले फेरि संसदको यात्रा तय गरेका छन् ।

‘अहिलेको संसदीय अभ्यासप्रति असन्तुष्टि अझै पनि छ तर यहीँभित्रै बसेर संघर्ष गर्न फर्किएको हुँ,’ आलेमगर भन्छन्, ‘माओवादी आन्दोलनको जगमा फेरि संसदका यात्रा तय गरेको छु । संसदीय प्रणालीलाई अझै सुधार्न मेरो बहस, मन्थन र संघर्ष रहने छ ।’

भुँइबाट संसदतिर भुवन

उत्पीडन र विभेदलाई निर्मूल पार्न अठोटका साथ कम्युनिस्ट आन्दोलन थालेका नेता हुन्, युवन सुनार । जातीय विभेदका विरुद्ध आवाज उठाउँदा उठाउँदै राजनीतिमा होमिएका सुनार पार्टीको केन्द्रीय नेता होइनन् । जातीय विभेदको अन्त्य र उत्पीडित वर्गको पक्षमा आवाज उठाइरहे पनि उनीले पार्टीबाट ठूलो अवसर पाएका थिएनन् ।

मोटो मसाल हुँदै माओवादी सशत्र संघर्षमा होमिएका दलित आन्दोलनका अगुवा सुनारलाई अहिलेको राष्ट्रिय सभाको चुनावमा दलित कोटाबाट पुष्पकमल दाहाल प्रचण्डले टिकट दिलाए र पहिलो पटक संसदीय स्वाद लिँदै छन् । ‘सधैं पार्टीको भुइँमा बसेर पिँधमा रहेका मानिसहरुका लागि आन्दोलन गरें जनतालाई संगठित गराएँ । तर, यो व्यवस्था ल्याउनका लागि रगत पसिना बगाएँ,’ सुनारले भने, ‘हामीले नै लडेर ल्याएको उपललब्धी रक्षा गर्न बल्ल पार्टीले सम्झियो ।’

सुनार नमूना मछिन्द्र क्याम्पस लगनखेलका पूर्व स्ववियु सभापति पनि थिए । अहिले माओवादी प्रदेश समिति सदस्य छन् । दलित मुक्ति गोरखाको अध्यक्ष हुँदा पक्राउ गरेर २ वर्ष जेल जीवनसमेत खेपेका सुनार २०६८ सालमा दलित आयोगको सदस्य सचिव थिए । माओवादीभित्र दुई लाइन संघर्ष चल्दा सुनार डा. बाबुराम भट्टराई लाइनका थिए ।

जन्मथलो सँगै रहेका पालुङटार निवासी सुनार भट्टराईको कट्टर समर्थक थिए । भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति निर्माण गर्दा पनि उनी त्यही अभियानमा जोडिएका थिए । तर, भट्टराईले कम्युनिस्ट विचारधारा छोड्ने भनेपछि माओवादीमै फर्किएको सुनार बताउँछन् ।‘पार्टीमा निरन्तर लागे पनि सधैं पर्दा पछाडि नै रहेर काम गरें तर पहिलो पटक पार्टी सम्झियो,’ सुनारले भावुक भएर भने, ‘एउटा गाउँको हिजोको गोठालो पनि अब सांसद भन्ने भयो ।’

 



source https://www.onlinekhabar.com/2022/01/1070770

Tuesday, 25 January 2022

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

१२ माघ, काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ ।

नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले पनि समकक्षी नरेन्द्र मोदीको सुस्वास्थ्यको कामना गर्दै भारतीय जनताको प्रगति र समृद्धिको कामना गरेका छन् । उनले सामाजिक आर्थिक विकासमा भारतले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले आगामी दिनमा नेपाल भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय सममकक्षी डा. जयशंकर र भारतीय जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/01/1070277

‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरधाममा प्रदर्शन

१२ माघ, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए । उनीहरुले ‘स्थानीय निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन किन !’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार प्रहरी देखेपछि उनीहरु भागेका थिए । उनका अनुसार सडकमा कुनै पनि प्रकारको अवरोध छैन । प्रदर्शन गर्नेहरु पनि सडकमा छैनन् ।

सिके राउतका नेता/कार्यकर्ताहरुले किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका छन् । त्यही क्रममा आज बिहान सडकमा टायर बालेर केहीबेर उनीहरुले प्रदर्शन गरेका हुन् ।



source https://www.onlinekhabar.com/2022/01/1070268

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सत्ता गठबन्धन अगाडि, प्रदेश १ मा झिनो अन्तर

१२ माघ, काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा  हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक अन्त मतदान नगर्ने निर्णय गरेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार हेर्दा सत्ता गठबन्धन सात वटै प्रदेशमा अगाडि देखिएको छ ।

एमालेलाई प्रदेश १ मा आस

प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले मात्रै अगाडि छ । एमाले नेताहरुले पनि अन्य प्रदेशमा हार्ने निश्चित भए पनि प्रदेश १ मा भने जित्न सकिने सम्भावना रहेको भन्दै प्रयास जारी राखेका छन् ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ छ । यसरी एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले मात्रै पछाडि छ ।



source https://www.onlinekhabar.com/2022/01/1070256

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै : आयोग

१२ माघ, काठमाडौं । १९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । ‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले भने ।

सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधी प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।



source https://www.onlinekhabar.com/2022/01/1070254

पुरातत्व विभागले एक खरिदारलाई सेवाबाट हटायो

१२ माघ, काठमाडौं । पुरातत्व विभागले प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना खरिदारलाई सेवाबाट हटाएको छ ।

विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट हटाएको हो ।

बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1070252

राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख/पप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1070248

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज, केके सार्वजनिक हुन्छ ?

१२ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दै छ ।

अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन भने करिब नौ महिना लाग्ने अनुमान छ ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने उनले बताए ।

प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ ।

गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।



source https://www.onlinekhabar.com/2022/01/1070246

भारतको ७३ औं गणतन्त्र दिवस : विपिन रावतलाई पद्म विभूषण

१२ माघ, काठमाडौं । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ ।

केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने छ ।

पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो । यसपटक पद्म विभूषण पाउनेहरुमा गत डिसेम्बर महिनामा हेलिकप्टर दुर्घटनामा निधन भएका सैनिक जनरल विपिन रावत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । यीमध्ये प्रभा यात्रेबाहेक अन्य तीनजनालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।

कोरोना खोप बनाउनेलाई पद्म भूषण

पद्म भूषण पाउने १७ जनामा यसपटक कोरोना भाइरसविरुद्धको खोप बनाउने सीरम इन्सटीच्युटका साइरस पुनावाला र भारत बायोटेकका संस्थापक अध्यक्ष कृष्णा एल्ला र उनकी पत्नी सुचिता एल्ला लगायत छन् ।

यसैगरी कांग्रेस नेता गुलाम नबी आजाद, पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र पूर्वगृहसचिव राजीव महर्षि, टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरन, गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका अध्यक्ष सत्या नगेला र भारतीय मूलका मेक्सिकोका वैज्ञानिक सन्जय राजाराम (मरणोपरान्त) लाई पनि पद्म भूषण सम्मान दिइँदै छ ।

यसैगरी अभिनेता भिक्टर बनर्जी, पन्जाबकी लोक गायिका गुरमित बाबा, अभिनेत्री एवम् लेखिका मधु जाफरी, शास्त्रीय संगीतकार राशिद खानलाई पनि पद्म भूषणबाट सम्मान गरिने छ ।

पद्म श्री पाउने १०७ जनाको सूचीमा गायक सोनु निगम, समाजशास्त्री शैबाल गुप्ता, लेखिका नजमा अख्तर, अभिनेता एवम् निर्देशक चन्द्रप्रकाश द्विवेदी, लद्दाखका सांसद शेरिङ्ग नामग्याल, खेलाडीहरु निरज चोपडा, सुमित एन्टिल, प्रमोद भगत, बन्दना कटारिया, अवनि लेखारा लगायत छन् ।

वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने गर्दछ ।

 



source https://www.onlinekhabar.com/2022/01/1070243

Monday, 24 January 2022

अफ्रिका कप अफ नेशन्सको खेल समर्थकबीच क्यामरुनमा झडप, ६ जनाको मृत्यु

११ माघ, काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने कोसिस गरिरहेका थिए । त्यही बेला मुख्य गेट नजिक भएको दुर्घटनामा आधा दर्जनको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

उक्त रंगशालामा ६० हजार दर्शक अट्ने क्षमता छ । तर कोभिड प्रोटोकल पालना गर्नुपर्दा ८० प्रतिशतभन्दा बढी दर्शक राख्न पाइँदैन्थ्यो ।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै क्यामरुनको मध्य क्षेत्रका गभर्नरले हताहतीको संख्या बढ्न सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार सो घटनामा केही बालबालिका बेहोस् भएका छन् ।

अफ्रिकी फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । खेलमा आयोजक २-१ ले विजयी भएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1069783

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More