Saturday, 25 June 2022

 सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी   

१२ असार, महोत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो ।

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् । सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो ।

यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् ।

यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ ।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ । धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताए ।

सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ । त्यसैले मदिरा चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ । सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1148094

कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

१२ असार, काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो ।

अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1148088

एकीकृत समाजवादीको विद्रोही समूहमा विभाजन, पत्र दुरुपयोगपछि ६ सांसद ‘ब्याक’

१२ असार, काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निम्तिएको ‘लफडा’ अझै साम्य भइसकेको छैन । तर, सरकारबाट फिर्ता नहुन अरु सांसदको समेत साथ लिएर बनेको विद्रोही समूह भने आन्तरिक अन्तरविरोधकै कारण कमजोर हुँदै गएको छ ।

विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेमबहादुर आले, रामकुमारी झाँक्रीसहित मन्त्री नबनेका अरु सांसदहरु समेत गरी १० जनाले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएपछि मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले निम्तिएको लफडा औपचारिकरुपमै सार्वजनिक भएको थियो ।

माधव नेपालसमक्ष नपुग्दै सार्वजनिक भएको ध्यानाकर्षण पत्रमा मन्त्रीबाट फिर्ता हुन सर्त नै सर्त राखिएका छन् । तर, शनिबारसम्म आइपुग्दा विद्रोही समूहमा समेत विभाजन आइसकेको छ । हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरूमा पर्यटनमन्त्री आले, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र पुष्पाकुमारी कर्ण छन्।

पत्रको दुरुपयोग भएको भन्दै ‘ब्याक’

संसदीय दलको बैठकको समेत माग गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक भएपछि एकीकृत समाजवादीको एकता कायमै रहनेबारे गम्भीर सन्देह उत्पन्न भएको थियो ।

त्यसपछि अध्यक्ष माधवकुमार नेपालले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरु सांसदलाई फकाउन नेता सोमप्रसाद पाण्डेलाई परिचालन गरेका थिए । पाण्डे नेपालका सम्धी समेत हुन् ।

नेता सोमप्रसाद पाण्डेले भने- किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो, साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।

पाण्डेले शुक्रबार बिहान विरोध खतिवडा र किसान श्रेष्ठसँग कुराकानी गरे । पार्टी विवाद मिलाउने सन्दर्भमा रामकुमारी झाँक्रीसँग भने उनले बिहीबार साँझ नै लामो कुरा गरेका थिए । ध्यानाकर्षण पत्र बिहीबार नै लेखिएकाले पाण्डेले रामकुमारीलाई त्यो पत्र मिडियामा सार्वजनिक गर्न आग्रह समेत गरेका थिए ।

हस्ताक्षर गर्नेमध्य बाँकी रहेका सांसदसँग पाण्डेले हिजो बेलुकासम्म कुरा गरि भ्याइसकेका थिए ।  तर, पत्र शुक्रबार बिहानै मिडियामा सार्वजनिक भयो । पत्र नै आएपछि हस्ताक्षर गरेकाहरुले समेत अप्ठ्यारो माने । पर्यटनमन्त्री आलेले त शुक्रबार दिउँसो पोलिटब्युरो बैठकमा आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

मिडियामा नल्याउने भनेको पत्र सार्वजनिक गरेकोमा आलेसहित अन्य सांसद असन्तुष्ट बने र हस्ताक्षर फिर्ता लिने ‘मुड’मा पुगे । ‘अध्यक्षलाई ध्यानाकर्षण गराउने भनेर हामीले लेख्यौं,’ हस्ताक्षर फिर्ता लिएका सांसद कृष्णलाल महर्जनले अनलाइनखबरसँग भने, ‘हस्ताक्षर गर्यौं । अध्यक्षलाई लगेर बुझाउनु भन्दा पहिले साथीहरुले पहिले मिडियालाई लगेर दिएछन् । त्यसले गर्दा पार्टीले पनि अर्कै हिसाबले सोच्यो ।’

ध्यानाकर्षण पत्रमा आफूहरुले उठाएको माग ठिक भए पनि प्रक्रिया गलत हुन पुगेको महसुस आफूहरुले गरेर हस्ताक्षर फिर्ता लिएको उलने बताए । ‘सबैको कुरा के रह्यो भने हामीले राखेको माग बेठिक होइन, तर प्रक्रिया अनुसार पार्टीभित्र आउनुपर्ने चिज पार्टीभित्र नआइकन बाहिर गइदियो र सबै चिज बिग्रियो,’ महर्जनले भने।

अर्का सांसद गोपाल बमले आफूहरुले पार्टीभित्र थोरै असन्तुष्टि राखेको तर यसले पार्टीलाई क्षति गर्छ भनेर अध्यक्षका तर्फबाट पाण्डेले सम्झाएपछि आफू कन्भिन्स भएर हस्ताक्षर फिर्ता लिएको बताए । ‘हामीले छलफलका लागि अलिकति असन्तुष्टिका भावना पोखेको मात्रै हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो त अन्तरपार्टी जीवनमा स्वभाविक पनि हो । पार्टीलाई सही जीवन दिनका लागि एउटा मसला पनि हो यो ।’

हस्ताक्षरले गर्दा पार्टी र गठबन्धनलाई नै समस्या पर्ने भन्दै पाण्डेले धेरै सांसदलाई फिर्ता लिन ‘कन्भिन्स’ गराएका थिए । ‘तपाईंहरुको कुरा पनि ठिकै हो, पार्टीले निर्णय गरिसक्यो,’ पाण्डेको भनाइबारे सांसद बमले भने, ‘सिंगो पार्टी र गठबन्धनमै समस्या आउने भयो । तत्काल संसदीय दलको बैठक बोलाउने माग फिर्ता लिउँ भन्ने कुरा गरेपछि ठिकै छ, पछि छलफल गरौंला नि भनेर फिर्ता लिइयो । पार्टीको संस्थागत निर्णय भइसकेको कुरालाई मान्नै पर्यो ।’

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ ।

ध्यानाकर्षण पत्र सार्वजनिक गरेर अनावश्यक मिडियाबाजी गरेको भन्दै हस्ताक्षर गर्नेमध्यका एक सांसदले मन्त्री खतिवडासँग असन्तुष्टि समेत पोखेका थिए । उनले ती सांसदलाई साथीहरुले ‘गडबड’ गरेको जवाफ दिएका थिए ।  खतिवडासँग ती सांसदको असन्तष्टि थियो, ‘अस्ति हाम्रो जुन हिसाबले कुराकानी भएको हो, त्यो हिसाबले नगइकन मिडियाबाजी नगरौं है भनेर मैले विशेष अनुरोध गरेको थिएँ, झन् उल्टो तपाईंहरुले के–के गर्नुभयो भने । उहाँले साथीहरुले गडबड गरे भन्नुभयो ।’

पाण्डेले ध्यानाकर्षण पत्रको विषय एउटा र उद्देश्य अर्कै भएपछि कुरा बुझेर सांसदहरुले हस्ताक्षर फिर्ता लिएको बताए। ‘किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।’

‘मन्त्रीबाट हटाए सरकार गिराइदिने चेतावनी’

शनिबार बिहान सत्ता गठबन्धनको बैठक बालुटारमा बस्यो । माधव नेपाल निकट एक नेताका अनुसार बैठकमा देउवाले सांसद किसान श्रेष्ठसँग कति सांसद छन् भनेर जिज्ञासा राखेका थिए । बैठकमा देउवाको भनाइबारे ती नेताले भने, ‘हामीसँग १८ जना सांसद छन्, यदि तपाईंहरुले हामीलाई हटाउनुभयो भने हामी १८ जनाले यो सरकार गिराइदिन्छम् भनेर प्रधानमन्त्रीलाई भन्नु भएछ । त्यो भनेपछि आज प्रधानमन्त्रीले सोध्दै हुनुहुन्थ्यो रे– कति जना छन् हँ त्यो किसान श्रेष्ठसँग ?’

त्यही कारण पनि प्रधानमन्त्री अलमलमा परेको र सरकार कतै अल्पमतमा पर्ने त होइन भन्ने डरले देउवाले बजेटपछि मन्त्री हेरफेर गर्ने बताएका थिए । आजको बैठकपछि देउवा पनि स्पष्ट भएको समाजवादीका ती नेताको भनाइ छ । ‘त्यो कारणले गर्दा पनि प्रधानमन्त्री अलमलमा पर्नु भएको थियो । अब प्रधानमन्त्री अलमलमा हुनुहुन्न, स्पष्ट हुनु भएको छ,’ उनले भने ।

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ । ‘उस्तै पर्यो भने माधवकुमार नेपाललाई नै दलको नेताबाट हटाएर म नेता बन्न सक्छु भन्ने योजना रहेछ,’ नेपाल निकट अर्का नेताले भने, ‘त्यसकै निम्ति दलको बैठक बोलाउने र त्यहाँ बहुमत सिद्ध गर्ने भनेर दलको बैठक बोलाएको हो ।’

बैठक बहिस्कार, बारम्बार बालुवाटार

६ सांसदले हस्ताक्षर फिर्ता लिएपछि ३ जना मन्त्री एकीकृत समाजवादीको शनिबार कार्की ब्यांकेटमा बसेको केन्द्रीय समिति बैठकमै गएनन् । मन्त्रीहरु विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ (किसान) र रामकुमारी झाँक्री बैठकमा उपस्थित थिएनन् ।

बैठकमा नगएकोबारे बुझ्दा स्वास्थ्यमन्त्री खतिवडाले आफू दिनदिनै बैठकमा गइरहेको र आज काम परेकाले नगएको प्रतिक्रिया दिए । ‘बैठकमा म दिनदिनै गएको छु,’ उनले अनलाइनखबरसँग भने, ‘स्थायी कमिटीमा गएको छु । पोलिटब्युरोमा गएको छु । अनि आज अरु काम पर्दैन मेरो ? महत्व हेरेर बैठकमा जाने हो । म पर्सिको बैठकमा जान्छु ।’

दिउँसो बैठकमा नगएका तीनै मन्त्रीहरु शनिबार अबेर भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । स्रोतका अनुसार देउवालाई अन्तिम पटक आफ्नो निरन्तरताबारे कुरा राख्ने र त्यो सफल नभए अन्य सांसदले जस्तै हस्ताक्षर फिर्ता लिने तयारी उनीहरुले गरेको स्रोतको दाबी छ ।



source https://www.onlinekhabar.com/2022/06/1148080

Friday, 24 June 2022

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी   

११ असार, बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ ।

विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए ।

बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ,’ उनले भने । उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।

कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ । कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।

फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1147906

फेरि अर्को बालेन जन्मिए

पेशाले आफू ठेकेदार भए पनि उनी आज दौरा-सुरुवाल र टोपीमा सजिइसकेका थिए । समय बिहानको ठीक ६ बजेको थियो ज्योतिषीको भनाइ अनुसार पहिलो मत आफै्ले आफैंलाई हाल्दा जित्ने संभावना बढ्ने ज्योतिषीय अध्ययनबाट ग्रह-दशा-नक्षत्र आदि हेरेर बताएका थिए ।

नेताज्यूका भक्तहरू भनौं कार्यकर्ता लावालस्कर सहित घर अगाडि आइसकेका थिए । नेताज्यू कार्यकर्तासँग मतदान गर्न आˆनो वडाको मतदान केन्द्रमा पुगे र जुराएकै साइत र समय अनुसार आफ्नो पहिलो मत हाल्न सफल भए ।

त्यसपछि सुरु भयो ३२ वटै वडाको अनुगमन जहाँ मतदाता ५ बजे बिहानैदेखि मताधिकारको प्रयोग गर्न लाइन लागेर बसेका थिए । नेताज्यूले सबै वडाको खबर लिए, सबैतिर राम्रै छ भन्ने सन्देश आयो । मतदाता र कार्यकर्ताहरूका लागि चियानास्ता र खानाको सबै वडामा ३० गतेको उत्सवको लागि राम्रै प्रबन्ध गरेका थिए भनौं राम्रै खर्चेका थिए नेताज्यूले ।

मतदान सम्पन्न भएपछि ३२ वटै वडाबाट वडा प्रतिनिधिसहित कार्यकर्ताहरू मतपेटिकासँगै राष्ट्रिय सभा गृह पुगेका थिए । उत्सवको रौनक राम्रै छाएको थियो जसले ठेकेदारलाई नेता र नेताज्यूलाई मेयर बनाउने पक्कापक्की झैं भइसकेको थियो । कार्यकर्ताहरूले पलपलको राम्रै खबर दिन्थे, खबर अनुसार नेताज्यूलाई मेयर पद पाउने सुनिश्चितता भएपछि सभागृह नजिक रहेको होटल/लजमा बस्न गए । अब बाँकी थियो भने मतगणना र उनको जितको घोषणा ।

रंगी-विरंगी सपना हेर्न थाले नेताज्यू । कल्पनाको सागरमा डुबिसकेका थिए निद्रा लागेको पत्तै पाएनन् । कति बेला भक्तहरू होटलबाट निस्के त्यो पनि थाहा पाएनन् । मतगणना सुरु भयो सुरुका वडाहरूको मतगणना हुँदा प्रतिस्पर्धीहरूसँग २-४ भोटको तल-माथि हुँदै अघि बढिरहेका थिए ५-६ वडाको मतपरिणाम हेर्दा उनकै पोल्टामा देखिएको जस्तो भएको थियो अझ उनको वडा त झन् डल्लै बाँकी थियो । लगानी खेर जाँदैन भन्ने कुरामा नेताज्यू सुनिश्चित थिए ।

३२ वटै वडाका भक्तजनहरू भेट्न आउँदा उनी बसेको होटलको बिल दिनदिनै बढ्न थालेको थियो । नभन्दै उनको वडाको मतगणना सुरु भयो मतपरिणाम सन्तोषजनक मात्र आयो नेताज्यू अत्तालिए, भक्तहरूले सान्त्वना दिन थाले । अब बाँकी रहेको वडाको पनि मत परिणाम आउन थालेपछि नेताज्यू उधोतिर लाग्न थाले । २-४ भोटको तलमाथि भएर के भयो र पछि जित हाम्रै हुन्छ अत्तालिइहाल्नुपर्दैन भएजति साम-दाम-दण्ड-भेद प्रयोग गरेकै छौं भन्दै सान्त्वना दिंदै नेताज्यूलाई उचाल्न थाले ।

दिन बित्दै गयो मतपरिणाम आउने क्रम जारी नै रहृयो । तर उनको मत भनेे धेरैपछि पर्यो । विस्तारै ठूला ठूला नेताहरूको फोन आउन छाड्यो र भक्तहरू पनि पातलिंदै गए । कस्ता कस्ता दिग्गज नेताहरूको मत परिणाम स्वतन्त्रबाट उठेका बालेन साहको अगाडि आधा जस्तै भइसकेको थियो ।

नेताज्यू आˆनो मतपरिणाम देखेर निरास भइसकेका थिए अन्ततः त्यो अन्तिम दिन आयो जुन दिन १ वा २ वटा वडाको मात्र मतगणना हुन बाँकी थियो । नेताज्यूलाई भेट्न आउने वरिष्ठ भनाउँदा नेता तथा कार्यकर्ता हराइसकेका थिए । साँझको ७ बज्न लागेको थियो । नेताज्यू विस्तारै आˆनो रुमबाट निस्के, होटलको बिल काउन्टरतिर आए र हिसाब मागे । राम्रै बिल उठेको रहेछ । ड्राइभरलाई फोन गरे र घरबाट पैसा मागेर ल्याउन आदेश दिए । विल भर्पाइ चुक्ता गरेपछि नेताज्यू सीधै घरतिर लागे ।

बिहान सूर्योदयको किरणसँगै काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको नाम गुन्जन थाल्यो । आफ्नो बेडबाट उठ्दै केटाकेटीहरूलाई कराउँदै टिभी बन्द गरे । हेर्दा हेर्दै काठमाडौं बालेनमय भइसकेको थियो । केटाकेटी, बुढाबुढी युवायुवती सबै मेयर बालेनकै नाम लिई गफ गर्ने, हर्षोल्लास मनाउने, कोही बाटोमै नाचगान गर्ने जस्ता गतिविधि देखाइरहेका थिए ।

झ्यालबाट बाहिर हेरे बालेनका समर्थकहरू नेपालको झन्डा लिई एकआपसमा रंग अबिर दल्दै शुभकामना प्रकट गर्दै नारबाजी लगाउँदै हिंडिरहेका थिए । नेताज्यूले हेर्न सकेनन् र झ्याल बन्द गरी कोठातिर लागे । यो हारको दोष कसलाई दिने ठम्याउन सकिरहेका थिएनन् नेताज्यू । नेता बन्ने, ठूला ठूला नेता रिझाउने, टिकट पाउने र कार्यकर्ताहरूलाई पाल्ने कार्य देखिलिएर मत परिणाम आफ्नै पोल्टामा पार्नका लागि ठेकेदार सा’वले लाखौं खर्चेका थिए ।

इमानदारीपूर्वक १५ वर्षसम्म निर्माण कार्य/ठेक्काबाट कमाएको सबै पैसा स्वाहा पारिसकेका थिए । सम्पत्तिको नाममा अब मात्रै बाँकी थियो भने आफू बस्ने घर र एउटा सेकेण्ड हृयान्ड चारचक्के गाडी ।

हप्तादिन वितिसकेको थियो मत परिणाम आएको, ठेकेदार सा’वलाई घरबाट बाहिर निस्कन गाह्रो भइरहेको थियो । कसरी बाहिर निस्कने, कसलाई के भन्ने, सोच्न सकिरहेका थिएनन्, उनलाई भेट्न न कुनै कार्यकर्ता नै आए, न कुनै नेता भनाउँदाहरूको फोन नै आयो, भेट्न त परै जाओस् ।
नेता बन्ने रोग लागेपछि श्रीमतीसँग पनि बोलचाल बन्द भइसकेको थियो । घरमा आउने-जाने कुनै समयको ठरठेगान हुँदैनथ्यो, आइहाले भने पनि रक्सीको नशामा डुबेर १२-१ बजे राति लावालस्करसहित आउँथे र ढोका खोल्न लगाई आˆनो कोठामा गएर लम्पसार परेर सुत्थे । भक्तजनहरूले त्यो घरलाई धर्मशाला नै बनाइदिएका थिए ।

श्रीमती तथा बच्चाहरूले कहिलेकाहीं टिभी हेर्दा बालेन साहको नाम सुन्नेवित्तिकै टिभी मारिदिन्थे र बालेनलाई तथानाम गाली गर्थे । भनौं बालेनलाई दुश्मनकै रूपमा हेर्न थालेका थिए । कहींकतै जाने ठाउँ थिएन, मेशिन उपकरण जेसीवी जस्ता साधनहरू धितो राखेर ऋण लिइसकेका थिए, जुन भए जति सबै खर्च भइसकेको थियो ।

साँझको ६ बजिरहेको थियो कोठामा एक्लै ठेकेदार सा’व झोक्राएर बसिरहेका थिए । फेरि पहिलेकै अवस्थामा कसरी आउने भन्ने विषयमा सोचिरहेका थिए तर कुनै निकास पाउन सकिरहेका थिएनन् । ५ कक्षा पढ्ने १० वर्षे छोरो दौड्दै बाबा बाबा भन्दै आयो र हत्केला समाउँदै भन्न लाग्यो “बाबा आज हाम्रो स्कुलमा नयाँ मेयर बालेन साह आउनुभएको थियो ।” नाम सुन्दै बुढाको पारा तात्तियो प्रेसर हाई भएर आयो । हत्केला झट्काउँदै रिसाएर “नलिई त्यसको नाम मेरो अगाडि” भन्दै छोरालाई हप्काए । छोरो अक्क न वक्क भयो । त्यो बच्चाले के बुझेको थियो होला र यत्रो ठूलो राजनीति । मुख कालो बनायो, बाबालाई हेर्दै आँखाबाट आँशु तप्प तप्प झार्दै शिर निहुरायो र विस्तारै जान खोज्यो ।

बुढा केही कन्ट्रोल भएपछि छोरोलाई हेर्दै कडा स्वरमा सोधे “केको लागि आएको थियो त्यो ?” बच्चाले डराउँदै नम्र स्वरमा भन्न लाग्यो । आज बालेन सर हाम्रो स्कुलमा आएर हामी सबैलाई ज्ञानी मान्छे, असल मान्छे कसरी बन्नुपर्छ भनेर सिकाए । उनको राम्रा राम्रा कुरा सुनेर मलाई पनि मेयर बन्न मन लाग्यो र मैले पनि “मेयर बन्न के गर्नुपर्छ ?” भनेर सोधें, त्यसपछि मेयर सा’वले “इमानदारीपूर्वक समाजको हितमा काम गर र केही असल काम गरेर देखाऊ मेयर आफैं बनिहाल्छौं नि” भन्दै मेरो नाम सोधे र मलाई धेरै काम गर्न बाँकी छ भन्दै गए ।

जाँदा जाँदै यो पेन मलाई दिएर जानुभयो । ठेकेदार सा’वले छोराको अनुहार एकटकसँग हेरिरहे, आज छोराले के बोल्यो भनेर ठम्याउनै सकिरहेका थिएनन्, एक खाले शान्तिको अनुभूति भयो । बालेनप्रतिको वितृष्णा हराएर गयो । भएभरका सारा नकारात्मक विचारहरू एकपलमै गायब भयो ।

ठेकेदार सा’वले केही हल्का महसुस गर्न थाले, मेयर बालेन प्रति जतिसुकै नकारात्मक सोच भए पनि यो हप्ता दश दिनका र विगतमा बालेनले गरेका हरेक गतिविधि र प्रतिभाको जानकारी लिइरहेका थिए, सायद प्रतिस्पर्धी भएकै कारण बालेनप्रति नकारात्मक सोच पलाएको थियो ।

“बाबु यो पेन मलाई देउ यसको महत्व बुझ्दैनौ तिमी अहिले” भन्दै छोराको हातबाट पेन लिए र यसो औंला भाँच्दै हिसाब जोडे जस्तो गरेर “यो पेन म तिमीलाई १५ वर्षपछि तिम्रो कोटको खल्तीमा राखिदिन्छु है” भने, छोराले पनि कुरो बुुझे-नबुझे पनि यसो बुझे जस्तो गरेर टाउको हल्लाउँदै गयो ।

ठेकेदार सा’वको आँखा रसाएर आएको थियो विगतमा नेताहरू रिझाउनदेखि लिएर टिकट पाउन र कार्यकर्ता पोसेसम्मकोमा लाखौं लाख खर्चेको रकम यदि समाजसेवामा लगाएको भए आज गर्वको साथ बाटोमा टाउको ठड्याएर हिंड्न सकिन्थ्यो भन्दै मनमनै सोचिरहेका थिए त्यतिकैमा उनलाई के भयो कुन्नि टेबलमा राखिएको पाना टिपे र तुरुन्तै पार्टी परित्यागको राजिनामा पत्र ठोकिहाले ।

एकछिन शान्त बसेपछि मोबाइलमा एउटा नम्बर लगाए उताबाट “नमस्कार नेताज्यू के सेवा गर्न सक्छु आदेश होस् ?” भन्ने सन्देश आयो, “हेर्नु पि्रन्सिपल सा’व म अहिले नेता पनि होइन ठेकेदार पनि होइन एउटा गार्जेनको रूपमा सानो रिक्वेस्ट गर्न लागेको” उताबाट “हुन्छ भन्नुस्” भन्ने आवाज आयो । ठेकेदार सावले “मेरो छोरा बालकुमारलाई चिन्नु हुन्छ नि ?” भने ।

प्रिन्सिपल सा’वले तपाईंको ज्ञानी छोरा यो स्कूलको शान हो । उसलाई नचिन्ने को छ र, यस वर्षको परीक्षाको नतिजामा सबै भन्दा हाइएस्ट नम्बर ल्याएर पास गर्ने उही हो । “आज हाम्रो स्कुलमा मेयर साव विद्यार्थीसँग भेटघाट गर्न आउनुभएको थियो, जाने बेला बालकुमारको बारेमा निकै चासो लिनुभएको थियो र मसँग पूरा परिचय लिएर जानुभएको छ” भनेर जानकारी गराउनुभयो ।

ठेकेदार सा’वको मन झन् हषिर्त भयो, खुसीले गद्गद् भए छोरोको प्रगति सुनेेर । चुनावमा होमिएपछि श्रीमती, छोराछोरी के कस्ता छन् सबै बिर्सिसकेका थिए । फेरि केही सम्झँदै पि्रन्सिपल सा’वलाई भने “मेरो एउटा रिक्वेष्ट छ नि त्यो के हो भने मेरो छोराको नाम स्कूलमा बालकुमार छ नि त्यसलाई काटेर बालेन्द्र लेखिदिनु होला ।” प्रिन्सिपल यो कुरा सुनेर एकछिन अलमलिए त्यसपछि हाँस्दै ठिक छ म नाम परिवर्तन गरिदिन्छु भनेर फोन काटे ।

धेरै दिनपछि ठेकेदार सा’व छोराछोरी, श्रीमती सँगै बसेर रातको खाना खाए । आज उनको शरीरमा एक खाले नयाँ ऊर्जा र उमङ्ग पैदा भएको थियो । त्यत्रो सम्पत्ति स्वाहा भए पनि आज अलिकति पनि विचलित देखिएका थिएनन । खुसी साथ खाना खाएर सुते । बिहान चाँडै उठे ।

बिहानको ८ बज्न लागेको थियो नुहाईधुवाई गरेर कपडा लगाई घरबाट सरासर निस्कन लागे तर निस्कँदा निस्कँदै गेट अगाडि पुगेर टक्क अडिए । अब जाने कहाँ ? त्यो उनले ठम्याउनै सकेनन्, के गर्ने ? कसलाई भेट्ने ? कसरी काम अगाडि बढाउने ? निधो नभएपछि ठेकेदार सा’व फर्केर घर अगाडि बरण्डामा रहेको कुर्सीमा आएर बसे । टाउको निहुरिएको थियो उनी निरास देखिन्थे ।

त्यतिकैमा एउटा गाडी आयो र गेट अगाडि रोकियो । यसो टाउको उठाएर हेरे दुई जना व्यक्ति गाडीबाट ओर्लेर खुल्ला रहेको गेटबाट सरासरभित्र प्रवेश गरे र ठेकेदार साबलाई नमस्कार गरे ।

ठेकेदार सा’व छक्क परे उनले सोचेका पनि थिएनन् कि गेटबाट भित्र प्रवेश गर्ने व्यक्ति उनका प्रतिस्पर्धी बालेन साह हुन् भनेर । दुवै जनालाई नमस्कार फर्काउँदै घर भित्र प्रवेश गरे र सोफामा बसे ।

बालेन साहले नम्रताका साथ “हजुरको बारेमा मैले पहिले नै जानकारी पाएको थिएँ हजुर एउटा असल कन्स्ट्रक्टर हो भनेर तपाईंले १२-१५ वर्षअघि बनाएका बाटाहरू जस्ताको त्यस्तै छन्, हो तपाईं यसपालिको चुनावमा हार्नुभयो तर तपाईंले गरेको कामको मूल्याङ्कन काठमाडौंवासीले राम्रै गरेका छन् हामीलाई तपाईं जस्तो इमानदार निर्माण व्यवसायीको आवश्यकता छ ।

के तपाईं हाम्रो टिममा आएर काम गर्न चाहनुहुन्छ ? अब यो देश बनाउने सुरुवात हामीबाटै गर्नुपर्छ ।” यति भनेपछि ठेकेदार सा’वको खुसीको सीमा रहेन सर्वस्व स्वाहा भएको अवस्थामा के खोज्छस् कानो आँखा झैं भयो उनलाई । तुरुन्तै सहमति जनाए ठेकेदार सा’वले । मेयर बालेन्द्रसँग आएका उनका सहपाठीले “आज तपाईं १० वजे महानगरपालिकामा आउनुहोला र एग्रिमेन्ट पेपरमा साइन गरी भोलिदेखि काम सुरु गर्नुहोला” भन्दै दुबै जना ठेकेदार सा’वसँग हात मिलाएर बिदा भए । ठेकेदार सा’व उहाँहरूलाई विदा गर्दै हात हल्लाइरहे !



source https://www.onlinekhabar.com/2022/06/1147903

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा   

११ असार, गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘पहिराको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं’, उनले भने । कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ ।

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए । उनले भने, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।’

यसैगरी ५२ घर रहेको रघुगङ्गा–८ चौरखानीमा ३० परिवारको बसोबास छ । पहिराकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन् ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।

यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए ।

‘पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौं’ उनले भने । कमजोर भ–ूभागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।

वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए । दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो ।

हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन् ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन् ।

चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1147899

घन्ट र घण्टाकर्ण !

रात्रिको समय ११:५९ बजे मेरो मनमा धेरै घण्टी बजे। चाँडै १२ बज्दैछ। के अब देशमा पनि भ्रष्टाचार र कुशासनको १२ बज्ला ? भ्रष्टाचारीको १२ मात्रै बजेर पुग्दैन। एक, दुई बजेका घण्टा बज्दै सुशासन र समृद्धिको नवबिहानीको स्वागतमा प्रातः आरतीको घण्टी पनि त सुनिनु पर्‍यो। के घण्टाघरको घण्टको आवाज टुँडिखेलको खुलामञ्च हुँदै शहीद गेटमा ठोक्किएर मार्ग परिवर्तन गरी सिंहदरबारसम्मै पुग्ला ?

घण्टाको चिन्तनले मलाई बालापनका मधुर स्मृतिमा पुर्‍यायो ! तातो आलु खेल्दा मेरो आफ्नै हातमा बल पर्ने बित्तिकै रोकिएको घण्टी। परीक्षामा पास बनाइदेऊ न है भन्दै मन्दिरमा बजाएको घण्टी। परीक्षा सकिन १५ मिनेट बाँकी रहँदा मुटुको धड्कनको रफ्तार बढाउने घण्टी। हाजिरजवाफ प्रतियोगितामा सही उत्तर दिंदादिंदै बजेको घण्टी, अन्तिम पिरियडमा सरले होमवर्क नगरेर कक्षामा पिट्दापिट्दै पाले दाइले बजाएको घण्टी, बिहानै मोबाइलको अलार्मको घण्टी इत्यादि खाले घण्टी बजे मेरो मनमा। यिनीहरूको बज्ने तौरतरिका र बज्दा दिने सङ्केतहरू भने नितान्त भिन्न भिन्न थिए।

हरिवंश पुराण पञ्चम् स्कन्धमा वर्णित कथाका अनुसार घण्टाकर्ण नामका दैत्य भगवान् शिवका अनन्य भक्त थिए। तर उनको अहम् केन्द्रित स्वभाव र शिवजीप्रतिको अन्धभक्तिको कारणले अरू देवताको नाम र बखान पनि उनी सुन्न चाहँदैनथे। त्यसैले उनले आफ्ना दुवै कानमा घण्ट धारण गरेका थिए। मैले जाने सुनेको नै एक मात्र सत्य हो। अरू सब षड्यन्त्र हुन् भन्ने विचार ‘घण्टाकर्ण’ प्रवृत्ति हो र त्यो घण्टाकर्ण म पनि हुन सक्छु अनि तपाईँ पनि हुन सक्नुहुन्छ, होइन र ? प्रश्न यो हैन कि घण्टाकर्ण किन जन्मिन्छन्? तर प्रश्न यस्ता पात्र तथा प्रवृत्तिले समाजलाई कतातिर डोर्‍याउँछ भन्ने हो।

कमलपित्त लागेको बिरामीले सबैतिर पहेंलो र साउनमा आँखा फुटेको गोरुले सबै हरियो देख्नु स्वाभाविक नै हो। सूर्यको एक प्रकाशले आकाशको क्यानभासमा कोर्दा इन्द्रेणीका सात रङ्ग दृष्टि गोचर हुन्छन्। एकमा अनेक र अनेकमा एक सृष्टिको सौन्दर्य हो तर त्यो देख्न फराकिलो दृष्टि चाहिन्छ ! यो सामग्री आलोचना भन्दा आत्मालोचना गर्ने प्रयोजनको लागि लेखिएको हो।

नेपाली राजनीतिमा र तपाईँ हामीमाझ पनि यस्ता घण्टाकर्णहरू छ्यापछ्याप्ती छन्। त्यो चाहे मूलधारको राजनीतिमा होस् या त वैकल्पिक राजनीति नै किन नहोस्। तर दुर्भाग्य एउटा घण्टाकर्णले अर्को घण्टाकर्ण देख्छ तर आफ्नै कानमा झुन्डिएका घण्ट देख्दैन ! केही छिटपुट कानका घण्टा विसर्जन गरी आँखाका पट्टी खोलेका सचेत नागरिक पनि छन् तर ती मौन।

घण्टाकर्णहरूलाई सम्झाउने जागरण अभियान त चलाउने तर पहिले त्यो बिरालोको घाँटीमा घण्टा कसले झुन्डाउने ? यो बडा मुस्किल काम हो।

अब घण्टीका केही फाइदाहरूको पनि चर्चा गरौँ। भनिन्छ- घण्टीको ध्वनिबाट एक तरङ्ग निस्कन्छ। जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकरूपता ल्याउँदछ मनको एकाग्रता बढाउँछ। घण्टी बजेपछि त्यसले एक तीखो तर टिकाउ ध्वनि निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेन्डसम्म गुन्जिरहन्छ।

शास्त्रहरूमा यसले मानिसको शरीरमा हुने ७ वटै चक्रहरूमा तरङ्ग पैदा गरी मूलधार जागरणमा समेत मद्दत गर्ने प्रसंग उल्लेख छन्। फलस्वरूप हाम्रो दिमागको एकाग्रता बढी मनमा शान्तिको प्रादुर्भाव हुन्छ। तर दीर्घकालीन आत्मिक शान्तिको लागि बाह्य ध्वनि भन्दा पनि अन्तर्ध्वनि सुन्न सक्ने क्षमता विकसित हुनुपर्छ।

तर यसको विपरीत घण्टीको सात सेकेन्ड गुञ्जायमानले ल्याएको आनन्दसँगै बुद्धि विकासलाई घण्टाकर्णको निमेषले पनि समाजको एकाग्रता भङ्ग गर्न सक्छ भन्ने कुरासँगै क्षणिक लोकरिझ्याईवादको दुष्चक्रमा परेका सबैले बुझ्न जरुरी छ। भीडभाड माझ सबैभन्दा चर्को स्वर मात्रै सुनिएला तर सबैभन्दा चर्को स्वर नै सत्य हो भन्ने घण्टाकर्ण प्रवृत्ति हो।

प्रारम्भमा घण्टाको आहतले मात्रै तरङ्गित हुने कानहरू अन्ततः अन्तस्करणको अनाहत नाद सुन्न सक्ने बन्नुपर्छ। त्यसरी नै केही पत्रकार या अभियन्ताको चिच्याहटले प्रारम्भमा केही तरङ्ग ल्याउला तर समग्र मुलुककै रूपान्तरण हुन आम जनता गाउँगाउँबाट उठ्नैपर्छ। परिवर्तनको शङ्खघोष सुन्न सबैले घण्ट मात्रै उठाएर पुग्दैन। कसैले कलम चलाउनु पर्‍यो त कसैले हँसिया हथौडा समाउनु पर्‍यो ! लौरी टेकेरै भए पनि सबैले साथ दिनुपर्‍यो !

जान्नेलाई त छान्ने तर प्रश्न उठ्छ यहाँ को जान्ने ? उसो भए आफूलाई मान्ने मात्रै जान्ने अनि अरूलाई ढुङ्गाले हान्ने ? समाज बुझेका, देखेकाहरूलाई पनि मान्न तयार हुनुपर्‍यो। सबै आलोचना विरोध मात्रै हुन्न, केही सुझाव पनि हुन्छन् तर ती सुझाव सुन्न गठेमङ्गलको जात्राको साङ्केतिक गथांमुगः दहन जस्तै घण्टाकर्ण प्रवृत्तिलाई नष्ट गर्नुपर्छ।

भेडेटारको जङ्गलमा चौपायाको घाँटीमा बजेको घण्टीले किसानको मनमा दिएको आनन्द र दमकलको घण्टीबीच फरक भने हामीहरूले छुट्याउने हिम्मत राख्नुपर्छ।

मन्दिरको सार्वजनिक घण्टाझैं हामी नेपाली जनता धेरैका हातबाट बजिसक्यौं। कहिले राजाका सिपाहीले लाठी बजाए त कहिले कमरेडका जनसेनाले बन्दूकले बजाए। ओलीदेखि माधव, प्रचण्डका एकअर्कालाई दिएका गालीमा ताली बजाउँदा बजाउँदै आफ्नो भविष्यमा खतराको घण्टी बजेको नसुन्निएको हो ?

त्यसैले हतारमा दिएको समर्थन र विश्वास मन्दिर द्वारको घण्टा जस्तो नहोस्- जो आउँछ बजाएर जान्छ। चप्पल चोर्न आउने समेत घण्टा बजाएर जान्छ।

एक सचेत नागरिकले हरेक घण्टामा हैन हरेक घडीमा सजग रही लोकतन्त्रको मन्दिरमा कुशासन र भ्रष्टाचार विरुद्ध घण्ट अवश्य बजाऔं तर आफैंभित्र रहेका घण्टाकर्ण, अन्धकासुर प्रवृत्तिको पनि दहन गरेनौं भने हरेक घण्टाकर्ण कालान्तरमा भष्मासुर बन्ने खतरा रहन्छ !

श्री पशुपतिनाथले सबैको आँखा उघारुन् !



source https://www.onlinekhabar.com/2022/06/1147893

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।

स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे । बैठक नै बरालिएको थियो ।

हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।

आज बस्ने बैठकमा पनि स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।



source https://www.onlinekhabar.com/2022/06/1147888

पैतालामा धुलो, आँखामा तुवाँलो

कोरोना महामारीका कारण दुई वर्षसम्मको बन्दाबन्दीले निसासिएको मान्छे म । साँच्चै पिंजडामा थुनिएको एउटा चराजस्तै भइसकेको थिएँ । मातृभूमिको यादले कम सताएको थिएन मलाई । त्यही न्यास्रो मेट्न त लकडाउन खुल्नासाथ कर्मभूमि छोडेर हिजै मात्र मातृभूमि आइपुगेको थिएँ म ।

लण्डनको हिथ्रो विमानस्थलको अध्यागमनबाट छिर्नुअघि ‘आऊ एउटा ईकोडेटिङमा, तिमीलाई काठमाडौंमा भेट्नुपर्ने छ’ कविता फेसबुकमा अपलोड गर्छु । सुरक्षा जाँच गराएर ड्युटी फ्रीमा एक बोतल ब्लेक लेबल किन्छु । जहाजभित्र बोर्डिङ गर्दैगर्दा मैले राखेको स्टाटसमा ‘शुभयात्रा !’ जस्ता शुभेच्छाका शब्दहार बर्सिन्छन् । ‘वा, क्या दामी इको कविता !’ जस्ता कमेन्टहरूको ओइरो लाग्न थाल्छन् ।

यी आँखाले लण्डनका सडकमा धुलो, धुवाँ र फोहोरको डुङ्गुर र आकाशमा तुवाँलो देख्नु पर्दैन । जहाजले हेथ्रो विमानस्थल छाड्नेबित्तिकै काठमाडौंमा पनि स्वच्छ हावामा श्वासप्रश्वास गर्न पाऊँ भनी कामना गरेथें मैले ।

घमाइलो र न्यानो हुन्छ काठमाडौंको मौसम । यद्यपि कल्पना गरेजस्तो वातावरण काठमाडौंमा कहाँ भेट्नु र ! ट्याक्सी  लिएर घरतिर हुइँकिदा सडकको धुवाँ र धुलोमा रुमलिएको पाउँछु आफैंलाई । फेरि बाक्लो तुवाँलोले लपेटिएको छ–क्षितिज । कोभिडविरुद्धको तीन-तीनवटा सुई यो कुममा छिरिसकेको भए पनि मेरो मुखलाई मास्कले ड्याम्मै टालेको छु । मास्कले कोरोना, धुवाँ र धुलोबाट जोगाउँछ भन्ने ठानेको छु मैले ।

बार्दलीमा बसेर ड्युटी फ्रीमा किनेको ब्ल्याक लेभलको बिर्को खोल्छु । तल देखिने नक्खु खोलाको भ्याली र पारि देखिने भैंसेपाटीसँग चियर्स गर्छु । आमाको हातले बनाएको ट्वाक्क परेको आलुको अचारसँग ह्वीस्कीको चुस्की लगाउन थाल्छु ।

त्यहीबेला फेसबुक खोल्छु । फेसबुकको वालमा मोबाइल नम्बरसहित पोस्ट्याउँछु– ‘लु म काठमाडौं सकुशल उत्रें । तपाईंहरूको शुभेच्छाका लागि हार्दिक धन्यवाद ! चियाकफी गफ, साहित्यिक गोष्ठी, सेकुवाघरतिर भेटघाट, इको राइटिङ या इको डेटिङका लागि सम्पर्क गर्नुहोला !’

मेरा नजर ठोक्किन्छन्– नक्खु भ्यालीको खैरो क्यानभासमा कोरिएका घडेरीका प्लटिङ र प्लानिङबेगरका निर्माणाधीन घरहरूमा । विस्तारै साँझ ढल्न थाल्छ जुनकिरीका उज्याले जस्तै लाग्छन् कङ्क्रिटका जङ्गलमा बलेका बिजुलीबत्ती ।

दुई गोलार्द्धका फरक समय । लामो उडानपछिको मेरो थकित ज्यान । ह्वीस्कीको नशा । वसन्तको शीतल र न्यानो मौसमलाई ओढ्दै गर्दा विस्तारामा भुस भएको पत्तै भएनछ ।

०००

२०७८ फागुन ५ गते ।

सभाकक्ष बुक गर्न आज प्रज्ञा प्रतिष्ठान जानु छ । नेपाल आएको बेला पुस्तक विमोचन गर्ने पहिलेदेखिकै सोच हो मेरो ।

अचेल त काठमाडौंमा पठाओ एपमा ट्याक्सी  दैलोदैलोमै मगाउन मिल्दो रहेछ । एउटा ट्याक्सी बुक गर्छु । दश मिनेटमा ट्याक्सी  हाजिर हुन्छ । ड्राइभरको नाम र थर, गाडी नम्बर, टेलिफोन नम्बर, उसको लोकेसन र कति समयपछि आइपुग्छ भन्ने कुरा सबै एपमा देखिने । अमेरिकामा विकास गरिएको प्रविधि हो यो । नेपालमा चाहिं बङ्गलादेशी व्यापारीको व्यवस्थापनमा सञ्चालित रहेछ– पठाओ । यसैले त लाभान्वित भएका छन्, काठमाडौंवासी ।

परम्परागत ढाँचाको ट्याक्सी चढेको भए भाडाका लागि ड्राइभरसँग अनावश्यक बार्गेनिङ गर्नुपर्थ्यो । धन्न यसपालि यस्तो झन्झटमा परिएन । सरकारले पेट्रोलको मूल्यवृद्धि महिनैपिच्छे गर्ने तर सोहीअनुरुप मिटरलाई ‘क्यालिब्रेट’ नगरिदिएपछि बार्गेनिङ नहोस् पनि किन !

बीस वर्षे पुराना गाडीहरू करिब-करिब विस्थापित भइसकेको रहेछ काठमाडौंमा । त्यही भएर होला, तुलनात्मक रूपमा गाडीले फ्याँक्ने कालो धुवाँको मुस्लो पहिलेको भन्दा कम देख्छु । ट्राफिक व्यवस्थापनमा पनि केही सुधार आएको अनुभूति भइरहेको छ । सडकपेटीमा बिछ्याइएका रहेछन् इँटा र कङ्क्रिटका ब्लक । अनि रोपिएका रहेछन् सस्याना हरिया बुट्यान । जावलाखेलबाट प्रज्ञा प्रतिष्ठानको गेटसम्म पुग्दा यी दृश्य देखेर फुरुक्क पर्छ मेरो मन ।

क्षणिक पलका लागि मात्र रहन्छ यो खुसी । अलिक पर सडक छेउमा फोहोरमैलाको पहाड देख्नुपर्‍यो मेरो आँखाले । एकसर्को कडा गन्ध मास्क छेडेर नाकभित्रै पस्छ ।

साथीहरूले काठमाडौं वरिपरिका निकुञ्जमा हाइकिङ गर्दै गरेका फोटो फेसबुकमा पोस्ट्याउने गर्थे । ती देखेर मेरा खुट्टा चिलाइरहेका थिए । प्रज्ञा भवनमा बुकिङको काम सिध्याएपछि हिंडेरै घर फर्किने सोच बनाउँछु ।

हिमाल र पहाडमा दुई दिनभन्दा बढी रात बसेर गरिने पैदलयात्रालाई ‘ट्रेकिङ’ भनिन्छ । तर बाहिर रात नबिताई घरै फर्कने यात्रालाई ‘हाइकिङ’  भनिन्छ । र,  सहरबजार घुमी हिंड्ने कार्यलाई ‘टुर’ । सबैखाले यात्रा मन पर्छ मलाई । टुरमा निस्किँदा मानिसका आआफ्ना रुचि हुन्छन् । कसैले भवनका डिजाइन हेर्लान् । कसैलाई सपिङ मल र सडकपेटीका आर्टले आकर्षित गर्लान् । म चाहिं फोहरमैला व्यवस्थापन, सडकपेटीका वृक्षारोपण र फलफूलका रुख, परेवा, कौवाजस्ता सहरिया चराचुरुङ्गी, फ्याउरो, गाईगोरु र कुकुरजस्ता जनावर हेर्दै हिंड्छु । समग्रमा म सहरको इकोलोजी बुझ्दै हिंड्न मन पराउँछु । अर्थात् सहर कत्तिको वातावरणमैत्री छ वा छैन भन्ने कुरालाई हेर्छु । यदि छैन भने के कसरी वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विचार खेलाउँदै हिंड्छु । त्यसैले यस्ता पदयात्रालाई म ‘स्ट्रिट इको–टुर’ भन्न रुचाउँछु ।

यही स्ट्रिट इको–टुर गरेका फोटा, साथीहरूलाई देखाउन, फेसबुकमा हाल्नुछ । त्यसैले म लाग्छु कमलादीबाट पुतलीसडक, डिल्लीबजार, प्रदर्शनीमार्ग, टुँडिखेल, भद्रकाली, रङ्गशाला, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जावलाखेल हुँदै घर ।

यस क्रममा डिल्लीबजारको मूल सडकमै दर्शन गर्नपुग्छु फोहोरको थुप्रोलाई । बटुवाहरु मजस्तै नाक छोप्दै बाटो काटिरहेका छन् । इँटा तथा कङ्क्रिटका ब्लक बिछ्याइएका छन् सडकपेटीमा । तर पाइलैपिच्छे ओद्रिएका । कति स्वतः त कति मानवीय लापरवाहीले । खानेपानीको नाला र ढल मर्मत गर्दा उक्काइएका हुँदा हुन् ती पेटी । म सोच्छु– जुन ठेकेदारले प्रोजेक्ट सम्पन्न गर्छ, उसैको जिम्मेवारी होइन र पेटीलाई पहिलाकै अवस्थामा ल्याउने ! कतै कतै त बडेमानका खाल्डाखुल्डी छन् । मोबाइल हेर्दै हिंड्ने युवायुवतीहरू धन्न खाल्डामा परेनन् ।

भद्रकालीको आकाशे पुल तरेर टुँडिखेलको साइडमा उत्रिन्छु । पुलको तल छ– खोलाझैं सुस्याउने गाडीका लस्कर तीव्रगतिमा । पुलमाथि सेल्फी खिच्न व्यस्त युवायुवतीहरु र फुटकर पसलहरु । पुल तर्नुअघि हङकङ बजार पसेर आएको थिएँ । नाकैमा ठोक्किने गरी झुन्ड्याइएका लुगैलुगाको साँघुरो गल्ली ।

शहीदगेट आइपुग्दा, शहीद दिवस मनाएको धेरै दिन भएको थिएन भन्ने सङ्केत दिन्छन् झुन्ड्याइएका ब्यानरले । केही ब्यानरमा प्रथम शहीद लखन थापामगरको तस्वीर मात्रै र केहीमा चारै जना शहीद– दशरथ, धर्मभक्त, शुक्रराज र गङ्गालाल । किन ती पाँचै शहीद एउटै ब्यानरमा अट्न नसकेका ? शहीद स्मारकको शिरमा भने त्रिभुवनको सालिक । राजा राष्ट्रकै शिखर पुरुष हुन्, शिरमै बस्छन् । तर त्रिभुवनले प्रजातन्त्र ल्याउन खोज्दा सहादत प्राप्त गरेका थिए र ? नेपाली जनता प्रश्न गर्ने गर्छन्, ‘शहीदगेटको शिरमा प्रथम शहीदलाई नराखेर किन राजालाई राखिएको ?’

शहीदगेटलाई फन्को मारेर अगाडि बढ्दा उता धरहराले मुन्टो ठड्याएर चियाउँदै रहेछ । त्यतिनैखेर २०७२ को भुइँचालोले भुइँमा ढालेको विभत्स दृष्यको सम्झना आउँछ । म त्यता नछिरीकन सिधै ओरालो लाग्छु दशरथ रङ्गशालातिर । त्यति बेला मलाई धरहरामाथि चढेका थुप्रै मानिसको ज्यान गएको स्मरण हुन्छ । पहिलाको भन्दा अहिलेको धरहरा अलि मोटाएको हो कि भन्ने लाग्छ । मोटै बजेटले बनेको हुँदो हो । निर्माण सम्पन्न नभई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे भन्ने सुनिन्थ्यो । निर्माणकार्य सुरु नहुँदै भव्य शिलान्यास गरिने पनि चलन छ नेपालमा ।

रंगशालाको मूलद्वार हुँदै थापाथलीतिर मोडिन्छन् मेरा पाइला । मोडमै एउटा अत्याधुनिक जस्तो लाग्ने सार्वजनिक शौचालय भेटिन्छ । शुल्क तिरेर प्रयोग गर्न सकिने । शौचालय प्रयोग गर्ने मन हुँदाहुँदै, मैले गरेको शौच आखिरमा बागमतीमा गएर विसर्जन हुने त हो भनी थामेर बाटो लाग्छु । काठमाडौंमा रेस्टुरेन्टका शौचालय प्रयोग गरिहालुँ जस्तो लाग्दैन । आखिर बागमती प्रदूषकको रुपमा मेरो पनि नाम दरिएला कि भन्ने डर लाग्छ मलाई । तर कहिलेकाहीं प्रयोग नगरी पनि नहुने । घरमा त मेरो सेप्टिक ट्याङ्की छ ।

त्रिपुरेश्वर र थापाथलीबीचको साँघुरो सडकपेटीमा वृक्षरोपण गरेर हरियाली पार्ने काम गरिएको रहेछ । यस्ता वातावरणमैत्री प्रयासप्रति नगरपालिकालाई मनमनै सराहना प्रकट गर्न मन लाग्छ । तर ती वृक्षमा मलजल नपुगेको लक्षण देखिन्छन् । त्यतिबेला कार्यालय समय नै हुनपर्थ्यो । यति लामो बाटो नापिसक्दासम्म मैले कहींकतै नगरपालिकाका कामदारले काम गरेको देख्न सकेको थिइनँ । त्यहींनेर भने दुई महिला खुइलिसकेको हाइभिज भेष्टमा झाडुले सडककिनार बढार्दै गरेको देख्छु । पेटी र सडकको साँधमा थुप्रिएको बाक्लो धुलाको तहलाई देख्दा ब्रुमरले बढार्नुपर्ने जस्तो लाग्छ मलाई । केही वर्षअघि नगरपालिकाले धुलो बढार्ने ब्रुमर गाडी किनेको छ भन्ने मिडियामा पढेको थिएँ । तर ती मेसिन आज कतै देखिएनन् । बिग्रेर नगरपालिकाको आँगनमा थन्केका होलान् । आधुनिक प्रविधि प्रयोग गरेर मात्रै सडकलाई भनेजस्तो रुपमा सफा राख्न सकिन्छ भन्ने मेरो मान्यता हो ।

थापाथली आइपुग्दा त्यहाँको चौरस्ता अति व्यस्त अवस्थामा हुन्छ । मधुरो ट्राफिक लाइट झिमिकझिमिक गर्दै, ट्राफिक पुलिस तिरिततिरित सिठ्ठी फुक्दैछन् । बीचको लेन मिचेर मोटरसाइकलहरू ट्राफिक लाइट नजिकै जोतिंदै, कुनै भने फुटपाथमा चढाउँदै अगाडि बढ्दै हुन्छन् । म्याराथुन दौड प्रारम्भ हुन लागेको र धावकहरू तछाडमछाड गर्दै दौडन तमतयार हुँदैछन् जस्तो लाग्छ यी दृश्य हेर्दा । रङ उडेका जेब्राक्रसिङका धर्साउपर पदयात्री सडक पार गर्दैगर्दा, ट्याँटा र टुँटुँ हर्न बजाउँदै गाडीहरू पनि दोहोरै चल्दै । म पनि अरु पदयात्रीको आडलाग्दै, गाडीले कतै ठक्कर दिन्छ कि भनेर डराउँदै पारि तर्छु ।

पारि के पुगेको हुन्छु, एक गुजुल्टो टेलिफोनको तारमा झन्डै अल्झेथ्यो मेरा पाइला । बाङ्गोबाङ्गो पोलको टुप्पातिर नजर लगाउँदा गिद्धको गुण जत्रो आकारमा तार बटारिएका पाउँछु । एउटा पोलदेखि अर्को पोलबीच तारहरू भुइँसम्म लत्रिएका । दृश्य प्रदूषणको एक ज्वलन्त उदाहरण हो यो । त्यो चोक भएर दिनमा कति मन्त्री, मेयर र सांसदका गाडी गुड्दा हुन् । विडम्बना ! तिनका नजर महङ्गा कारका झ्यालबाट ती कुरुप दृष्यउपर के परुन् ! परेका हुन्थे भने त सहरलाई सुन्दर पार्न चाल्थे होलान् केही न केही कदम ।

ती तनरङ्ङ परेका तारका बारेमा सोच्दासोच्दै बागमती पुल काट्दै रहेछु । कुहेको अण्डाजस्तो लाग्ने क्या नमीठो गन्धले ठ्यास्सै हान्छ मेरो नाकमा । मास्कबाट पनि नाकभित्र छिर्ने गन्ध भनेपछि कति शक्तिशाली रहेछ ! पुलको तलतिर मेरा दृष्टिपात हुँदा, काठमाडौंवासीका ढल बगाउँदै बिचरा बागमती नदी अचेत अवस्थामा घस्रिंदै थिई । नदीलाई तटबन्धन गरिंदै रहेछ । कङ्क्रिटका पर्खाल अधकल्चो अवस्थामा पल्टेका देखिन्छन् । ‘वायो इन्जिनियरिङ’ गरेर तटबन्ध निर्माण गरे पो नदीको पारिस्थितिक सन्तुलन ल्याउन सकिन्छ । बजेट सिद्दिएर निर्माण कार्य रोकिएको हो कि बिदाको दिन परेर हो, मैले ठम्याउन सकिनँ ।

पुल तरेर कुपण्डोल आइसक्दा पनि बागमतीबाट उत्सर्जित गन्धले मलाई छोड्दैन । घरसम्मै त्यो गन्ध मेरो लुगामा टाँसिएर पछ्याउने हो कि जस्तो लागेर आउँछ । त्यसपछि धेरै वर्षअघि रचेको ‘बागमती ब्लुज’ कविताको एक पङ्क्ति स्मरण गर्ने प्रयास गर्छु म–

‘… मैले उनका आँखामा

सङ्लो सागर देख्न चाहन्थे

तर त्यो सागर कतै भेटिएन

बरू वर्षातको भेल पसेको पोखरीजस्तै

धमिला थिए उनका आँखा……

कुपण्डोलको तेर्सै उकालो लाग्दैगर्दा एक अधबैंसे महिलाले मेरो ध्यानाकर्षण गर्छिन् । उनी सडकपेटीमा एक दर्जन जति सागका मुठा फिंजाएर बेच्न बसेकी थिइन् । बिचरा, कतिबेला तिनको साग बिक्री हुने हो ? त्यही पैसाले चामल किनेर लग्ने होला ? र, कति बेला घरमा पुगेर छोराछोरीलाई खाना पकाएर खुलाउने होलिन् भनेर चिन्तामग्न बन्दै म बाटो नाप्छु । त्यतिका साग सबै मैले किनेर पनि कहाँ लग्ने ? माग्ने भए बरु दुई चार सय रुपैयाँ दिन्थें । कुनै रेस्टुरेन्टको साहुजी आएर सबै साग खरिदेला भन्ने कामना गर्दै म जावलाखेलतिर उकालो लाग्छु ।

पेटीमा स्कुटी र साइकलहरु पार्क गरिएका छन् । पदयात्रीलाई नै बाधा पुग्ने गरी पसलेले विज्ञापनका बोर्ड पनि तेर्स्याएका । पसलभित्र भने कतै महङ्गा कपडा त कतै महङ्गा फर्निचर, ट्वाइलेट र किचनका सामान । काठमाडौंवासीका सुन्दर घर हुन्छन् र घरमा वेस्टर्न स्टाइलका किचन र ट्वाइलेट पनि हुन्छन् । त्यसैगरी यहाँका गल्ली, सडक र सडकपेटी पनि सुन्दर हुनु नि !

गोधूली साँझ ढल्किँदै गर्दा जावलाखेल राउन्डेवाउट आइपुगेछु । यसको बीचमा जहिल्यै हरिया दूबो र बोटबिरुवाकका साथमा फूल फुलाइएको हुन्छ । यो मात्रै एक स्टान्डर्डको र सधैं व्यवस्थित गरेर राखिएको राउन्डेवाउट लाग्छ मलाई । यता आउँदा उताको झझल्को नआउने कुरै हुन्न । बेलायतमा बनाइएका राउन्डेवाउटभन्दा यो राउन्डेवाउट केही कम देख्दिन । यसलाई निर्माण गर्ने तत्कालीन इन्जिनियर र सरकारलाई मनमनै सम्झन्छु म ।

यो चोक कटेपछि सटकट् बाटो लिएर रिङरोडतिर लाग्छु । गिट्टी र बालुवाजस्ता निर्माण सामग्री सडकै छेकिने गरी लहरै थुपारिएका छन् । यस्तै लापरवाहीले हो हाम्रा सहरबजार धुलाम्य बनेका छन् । रिङरोड क्रस गर्न न आकाशे पुल छ, न त सबवे नै । त्यसैले त मानिसहरू सडक दुर्घटनामा परेको समाचार दिनदिनै सुन्नुपर्छ । तीव्र गतिमा आएका गाडीबाट तर्किंदै जेनतेन पारि तर्छु । र, पुग्छु घर ।

चप्पल पहिरिएको मेरा पैताला यतिखेर धुलाम्मे भइसकेका छन् । नङमा पालिस लगाएर स्याण्डलमा हिंड्ने महिलाहरू आफ्ना पैताला सुन्दर राखिराख्न कसरी सक्षम हुन्छन् कुन्नि ! छक्कै पर्छु म । यति बेला मेरा खुट्टा कुकुरलाई दिंदा पनि नखाला जस्ता भइसकेका छन् । बालवयमा नाङ्गै खुट्टा हिंडेर स्कुल पुगेको, घाँसदाउरा गर्न वन जाँदा काँडा बिझेको जस्ता स्मृति मानसपटलमा पुनः दोहोरिन्छन् ।

थकाइले सुस्केराउँदै धुलाम्मे टोपी, मास्क र चश्मा टेबलमा राख्छु । घरको बार्दलीबाट नक्खु खोलाको भ्यालीतिर नजर लगाउँदा तुवाँलोको खैरो पर्दामा बेरिएको हुन्छ काठमाडौंको क्षितिज । राति आकाशमा जूनतारा देख्न नपाउँदा बेस्सरी नरमाइलो लाग्छ मलाई ।

मेरो बाँकी नेपाल भ्रमण पनि पैतालामा धुलो र आँखामा तुवाँलो लिएरै बित्ने होला भन्ठान्दै विस्तारामा घुस्रिन्छु ।



source https://www.onlinekhabar.com/2022/06/1147884

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

१० असार, काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे । एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् ।

डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

तस्वीरहरु



source https://www.onlinekhabar.com/2022/06/1147874

Thursday, 23 June 2022

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

१० असार, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ ।

त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।



source https://www.onlinekhabar.com/2022/06/1147342

पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु

१० असार, विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली भने पुगिसकेको छ ।

घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए । ‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’

करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएको हुनसक्ने उनले अनुमान गरे । ‘करिब ४ बजेतिर लाइट नबाली एउटा मोटरसाइकल आएको रहेछ,’ उनले भने, ‘त्यही मोटरसाइकलमा आएकाले राखेको हुनसक्छ ।’

उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’



source https://www.onlinekhabar.com/2022/06/1147337

आकाशमा अनुपम दृष्य : ५ ग्रह र चन्द्रमा एउटै लहरमा

१० असार, काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।

मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान करिब साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृृहस्पती, मंगल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको जानकारी दिए । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मंगल, शनि र वृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिन्छ ।

‘यी ग्रहहरुको अनुपम दृष्य नांगो आँखाले नै देखिन्छ, टेलिस्कोप वा अरु कुनै विशेष उपकरण चाहिँदैन,’ भट्टराईले भने । दूरबिनको सहायताले हेर्दा शनि ग्रहको बाहिरको घेरा पनि देखिने उनको भनाइ छ । खगोलशास्त्रबारे जान्न र बुझ्न चाहनेहरुका लागि यो राम्रो अवसर भएको पनि भट्टराईले बताए ।

१८ वर्ष पहिले देखिएको थियो यस्तै दृष्य

आज बिहान सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मंगल ग्रह देखा परेका थिए । सूर्योदय अघि शुक्र र सूर्योदयसँगै बुध ग्रह देखिएका थिए । शुक्र र बुध ग्रहको बीचमा रातो रंगको रोहिणी तारा थियो । रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एक हो ।

यी ग्रहहरू एउटै लहरमा १८ वर्षअघि अर्थात् सन् २००४ को डिसेम्बरमा देखिएका थिए । अब यी ग्रहहरु सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ ।

सौर्यमण्डलमा रहेका ग्रहहरू सबैले आफ्नै कक्षमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् ।

ज्योतिषीहरुले ग्रहहरु एउटै लहरमा आएको अवस्थालाई शुभ संकेतको रुपमा लिने गरिएको बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/06/1147312

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More