Thursday, 22 August 2019

बडीमालिकाका पाँच वडाध्यक्षले दिए विकास समितिबाट राजीनामा

६ भदौ, बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका पाँच वडाध्यक्षले विभिन्न विकास समितिबाट राजीनामा दिएका छन् ।

नगरप्रमुख र उपप्रमुखले एकलौटी गरेको भन्दै बिहीबार एक ध्यानाकर्षण पत्रसहित पाँचै वडाका अध्यक्षले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा दिनेमा नगरपालिकाका स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्बरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथ छन् । राजीनामा दिने पाँचै जना नेकपाबाट विजयी जनप्रतिनिधि हुन् ।

स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य रहेका वडा नं. ७ का वडाध्यक्ष धर्मराज पाध्यायले विभिन्न समितिमा रहेका वडाध्यक्षहरूले त्यसबाट सामूहिक राजीनामा दिएको रासससँग बताएका छन् । नगर प्रमुख र उपप्रमुखले एकलौटी गरेकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

यद्यपि, बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफूमाथि मिथ्या आरोप लगाइएको अनलाइनखबरसँग दाबी गरे । सहमतिकै आधारमा आफूले काम गरिरहेको उनको जिकिर छ । ‘नगर प्रमुख र उपप्रमुखले एकलौटी गर्नु भएको आरोप वडाध्यक्षहरूले लगाउनु भएको छ । यसमा कुनै सत्यता छैन’, नगर प्रमुख बडुवालले आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण दिँदै भने ।



source https://www.onlinekhabar.com/2019/08/790292

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More