६ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्रीहरूले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेको विषयमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । थापाले पूर्व प्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा बिर्सेर लम्पसारवादको नमूना पेस गरेको भनेपछि डा. भट्टराईले जवाफ दिएका छन् ।
परराष्ट्र मन्त्री रहिसकेका थापाले ट्विटरमा लेखेका छन्, ‘फेरि एक पटक देउवा, भट्टराई र यादवले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेस गरे ।’
शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला!सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं! https://t.co/7pC0Cnr6cH
— Baburam Bhattarai (@brb1954) August 23, 2019
पूर्वप्रधानमन्त्री भट्टराईको जवाफ यस्तो छ, ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नु हुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला । सुगौली सन्धियताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौं ।’
खुला सम्बन्धको वकालत गरेका भट्टराईलाई थापाको अर्को जवाफ छ, ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु । त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामो समय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रूपमा भेटेको अलि सुहाएन कि ?
सत्तारूढ नेताको टिप्पणी
प्रधानमन्त्रीले अर्को देशका विदेश मन्त्रीसंग अलग्गै गोप्य भेटवार्ता गर्नु कुटनीतिक मर्यादा र आचरणविपरीतको कार्य हो ।औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर (प्रोटोकल)लाई जहाँपनि ध्यान दिइन्छ । नेपाल जस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुन्छ
— Bhim Rawal (@BhimRawal179) August 22, 2019
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पनि भारतीय विदेशमन्त्रीसँगको भेटबारे टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको भेटबारे ट्विटरमै प्रश्न उठाएका हुन ।
पूर्वगृह मन्त्री रावल लेख्छन्, ‘कूटनीतिक मर्यादाको वास्ता नगरी पूर्वप्रधानमन्त्री नेपाली कांग्रेस सभापतिलगायतका कतिपय नेपाली नेताहरू द्वन्द्वकालको पीडा सम्झाउने गरी भारतीय विदेश मन्त्रीलाई भेट्न एउटा होटलमा धाएको देख्दा स्वाभिमानी नेपालीको शीर निहुरिएको छ । यस्ता नेताहरूबाट राष्ट्रिय हित र स्वाधीनताको लागि के आशा गर्ने ?’
तीन घण्टाको अन्तरमा गरिएको उनको अर्को ट्विटमा भनिएको छ, ‘प्रधानमन्त्रीले अर्को देशका विदेश मन्त्रीसँग अलग्गै गोप्य भेटवार्ता गर्नु कूटनीतिक मर्यादा र आचरणविपरीतको कार्य हो । औपचारिक भ्रमण र वार्तामा पदीय हैसियत वा स्तर (प्रोटोकल)लाई जहाँ पनि ध्यान दिइन्छ । नेपालजस्तो देशले विषय विज्ञ र सम्बन्धित कर्मचारी राखी वार्ता गर्नु उचित हुन्छ ।’
source https://www.onlinekhabar.com/2019/08/790308






0 comments:
Post a Comment