Thursday, 26 December 2019

शेखर, चन्द्र र मीनबहादुरको एउटै स्वर– लगानी प्रक्रिया सहज भए नेपालमा कायापलट हुन्छ

११ पुस, बागलुङ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा केबलकार बनाउने योजनामा छन् । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा नेपालका गाउँ–गाउँसम्म कृषिमा हिमालय ब्राण्ड स्थापित गर्न चाहन्छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई १७ वटामात्रै होइन, नेपालका थप सहरमा भाटभटेनी सुपरमार्केट खोल्ने सपना जागेको छ ।

उनीहरूलाई लाग्छ, यसरी नै सबै लगानीकर्ताहरू जाग्ने हो भने १५ वर्षभित्रै नेपाललाई कायापलट गर्न सकिन्छ । त्यसो भए नेपालमा औद्योगिक तथा व्यावसायिक ब्राण्ड स्थापित गरिसकेका यी उद्यमीलाई लगानी विस्तार गर्न के कुराले रोकेको छ त ?

यो प्रश्नमा उनीहरूको एउटै स्वर छ– नेपालमा लगानी गर्ने उत्साहजनक वातावरण नै छैन । लगानी गर्न सरकारी प्रक्रिया यति जटिल छ, काम सम्पन्न गर्ने समयभन्दा प्रक्रिया पूरा गर्न बढी समय लाग्छ । सरकारले निजी क्षेत्रलाई समृद्धिको पार्टनरका रूपमा हेर्दैन ।’

नेपालमै उद्योग र व्यावसायिक सफलता हात पारेर ब्राण्ड स्थापित गरेका ३ घराना । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ।

सानो लगानी र थोरै पुँजीबाट व्यावसायिक जीवन सुरु गरेका यी उद्यमीले कसरी यत्रो सफलता हात पारे ? अहिले नेपालमा लगानीको अवसर र सम्भावना कस्तो छ ? कुन ठाउँमा लगानीको योजना बनाउँदै छन् ? यी ३ उद्यमीले संवाद गरे । सन्दर्भ थियो, ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ ।’

बागलुङ महोत्सवको पूर्वसन्ध्यामा बागलुङ उद्योग वाणिज्य संघले नेपाली उद्यममा ब्राण्ड बनेका ३ जना उद्यमी एउटै मञ्चमा राखेर संवाद गराएको हो । गण्डकी प्रदेशको आर्थिक तथा लगानी नीतिका विषयमा अर्का वक्ता थिए, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । सहजीकरणमा थिए, प्रभु बैंकका सीईओ अशोक शेरचन ।

केन्द्रमा बागलुङमा लगानीको अवसर र सम्भावनाको विषय थियो । तर, बागलुङले पनि समग्र नेपालकै प्रतिनिधित्व गर्ने भएकाले बहसको जोड लगानीको वातावरण र प्रतिफलतिरै केन्द्रित भयो ।

गोल्छाले हजुरबुवाले दुःख गरेर सुरु गरेको व्यवसायको विरासत सम्झे । व्यावसायिक परिवारको विरासतलाई अझ विस्तार गर्दै थप ब्रान्ड स्थापित गर्दै नेपाल सरकारपछि धेरै रोजगारी दिने कम्पनीसमेत बनेको गोल्छाले बताए ।

ढकालले बागलुङबाट ३ हजार ५ सय रूपैयाँ बोकेर काठमाडौं छिरेर अहिले यो ठाउँमा आइपुगेको बताए । खोटाङको किसान परिवारमा जन्मेका गुरुङले ३५ हजारमा सुरु गरेको भाटभटेनीमा अब ५० हजारलाई रोजगारी दिने सपना बोकेर हिँडेको सुनाए ।

नेपालमा सरकारी जटिल नीति, जग्गा प्राप्तिको समस्या र लगानीको प्रतिफल आउने ग्यारेन्टी अझै हुन नसकेको उनीहरूको भनाइ छ ।

सातै प्रदेशमा केबलकार बनाउने योजना बुनेका ढकालले बागलुङसँगै गण्डकी प्रदेशको सिग्लेस कोरी र नवलपुरको मौलाकालीमा पनि केबलकार बनाउने योजनामा रहेको सुनाए । तर, सरकारी प्रक्रिया जटिल भएकाले समस्या पारेको उनको भनाइ थियो । ‘सरकारी प्रक्रिया सहज बनाइदिनुस् । १८ महिनामा मौलाकालीमा केबलकार सञ्चालनमा ल्याउँछौं,’ ढकालले भने, ‘त्यति नै समयमा कास्की सिक्लेसको कोरीमा केबलकार बनाउँछौं । राज्यले वातावरण त बनाइदिनु पर्‍यो नि ।’

चन्द्रागिरिमा केबलकार बनाउने काम २ वर्षमा सकिएको तर लगानीको प्रक्रिया पूरा गर्नै ५ वर्ष लागेको ढकालले बताए ।

नेपालमा लगानीका निम्ति पहिलेभन्दा वातावरण बनेको भए पनि अझै उत्साहजनक नरहेको उनको भनाइ थियो ।

गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाको भनाइ पनि उस्तै छ । सरकारी मेकानिजम सहज हुने हो भने १५ वर्षभित्रै देश कायापलट गर्न सकिने गोल्छा बताउँछन् । ‘हाम्रा नेताले भनेझैं देश समृद्ध बनाउन सकिन्छ । हाम्रो सरकारी संयन्त्र पुरानो भयो । लगानी बढाउन सरकारी नीति सहज हुनुपर्‍यो’, गोल्छाले भने, ‘हामी बागलुङका गाउँठाउँमा पनि ब्राण्ड विस्तार गर्न तयार छौं ।’
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ नेपालमा व्यवसाय गर्न फलामको चिउरा चपाउनुपर्ने बताउँछन् । ‘बागलुङजस्ता ठाउँमात्रै होइन । संसारभर भाटभटेनी पुर्‍याउँछु भन्ने लक्ष्य लिएर हिँडेको छु’, गुरुङले अगाडि भने, ‘नेपालमा व्यवसायीलाई लगानी गर्नै गाह्रो छ ।’

सहजकर्ता शेरचन र ग्लोबल आइएमी बैंकका अध्यक्षसमेत रहेका ढकाल बागलुङमै जन्मेका हुन् र सहजकर्ता बागलुङमै लगानी भित्राउनेबारेमै जोड दिन्छन् । ३ वर्षभित्र बागलुङमा लगानी भित्राउन सक्ने सम्भावनाबारे ३ जनालाई शेरचनले जिज्ञासा राखे ।

ढकालले बागलुङमा केही न केही गर्न आतुर रहेको र प्रतिफलको ग्यारेन्टी भए छिट्टै लगानी भित्राउने बताए ।

गोल्छा समूहका शेखरले बागलुङमा ठूलो अर्गानिक उत्पादन हुन सक्छ भने आफ्नो ब्रान्ड ल्याउन तयार रहेको प्रतिबद्धता जनाए । सरकारले जग्गा मिलाइदिने हो भने १० महिनाभित्र बागलुङमा भाटभटेनी खोल्ने गुरुङले बताए ।

जुनसुकै लगानीकर्ता पनि प्रतिफलको ग्यारेन्टी हेरेरमात्र आउने ढकालको भनाइ थियो । लगानी भित्राउनेसम्बन्धी सरकारको मेकानिजम साह्रै पुरानो र थोत्रो भइसकेको ढकालले गुनासो गरे । सरकारी मेकानिजमले निजी क्षेत्रलाई समृद्धिको पार्टनर सम्झन नसकेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा लगानीको सम्भावना र चुनौती दुवै रहेको बताए । घाटा खानका लागि कुनै पनि लगानीकर्ता लगानी गर्न नआउने बताउँदै गोल्छाले चुनौती चिरेर अवसर र सम्भावना लेखाउने काम सरकारको भएको बताए ।

आज नेपालमा उपभोक्ता बढेसँगै आयात पनि बढेको तर यहाँ उत्पादन गर्नुभन्दा आयात सस्तो पर्ने गोल्छाको भनाइ छ । उत्पादन गर्न लाग्ने खर्च र बेचिरहेको मूल्यले नेपाली किसान कहिल्यै धनी हुन नसक्ने गोल्छाले बताए ।

भाटभटेनीका मीनबहादुरले पारदर्शिता, कडा परिश्रम र जिम्मेवार भएकै कारण यहाँसम्म आइपुगेको बताए । राज्यलाई पारदर्शी भएर कर तिर्दा पनि निकै झन्झट र अपमान हुने गरेको उनले सुनाए ।
‘व्यवसाय गर्न ठाउँ र मन सफा चाहिन्छ, उपभोक्ताप्रति जिम्मेवार हुनुपर्‍यो। कडा परिश्रम गर्नुपर्‍यो। अनि पारदर्शी हुनुपर्‍यो । भाटभटेनीको पैसा दायाँबायाँबाट होइन, कडा मेहनतले यहाँ आइपुगेको हुँ’, उनले भने, ‘पत्रकारहरू भाटभटेनीको पैसा दायाँबायाँको कि भन्ने प्रश्न गर्छन् । भाटभटेनी पारदर्शिताले चलेको हो।’

‘अनुदानको भरमा अब कुनै व्यवसाय चल्दैन। सरकारले सुविधा दिने हो, अनुदान होइन। मागेर गरिएका कुराहरू लामो समयसम्म टिक्दैन। राज्यले सुरक्षा दिन्छौं, नीति बनाइदिन्छौंं। निजी क्षेत्रले नै व्यवसाय गर्ने हो’, मन्त्री गुरुङले नेपालमा व्यवसाय गर्दा झन्झट धेरै भएको स्वीकार्दै पुराना कानुन फेरेपछि ती समस्या समाधान हुने दाबी गर्दै आश्वस्त पार्ने प्रयास गरे ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना्मन्त्री किरण गुरुङले देश नयाँ संरचनामा गए पनि अझैसम्म पुरानै नीतिअनुसार चलेको बताए । तीन तहको सरकार भनिए पनि सरकारहरू कानुन निर्माणको चरणमै रहेकाले कतिपय ठाउँमा नीतिगत समस्या परेको हुनसक्ने गुरूङको भनाइ थियो ।

पर्यटन, कृषि, ऊर्जालाई आर्थिक समृद्धिको आधार मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश लगानीको वातावरण बनाउन तयार रहेको गुरुङले बताए ।

‘हामी कानुन निर्माणकै चरणमा छौं । एउटा विधि र नीति निर्माण भएपछि त्यसैअनुसार सबै चल्ने हो’, गुरुङले भने, ‘लगानी भित्राउन कहाँ–कहाँ नीतिगत समस्या परेको हो । व्यवसायीको सल्लाहमै समस्या हटाएर गाँठो फुकाउन तयार छौं’, मन्त्री गुरुङले भने ।

जसरी कुनै पनि उद्यमी रातारात सफल हुन सक्दैन, त्यसरी नै राज्यले पनि रातारात परिवर्तन गर्न सक्दैन भन्ने कुरा बुझ्न अर्थमन्त्री गुरूङले आग्रह गरे । व्यवसायी पनि राज्यको विधिअनुसार चल्नुपर्ने उनको भनाइ थियो ।

सरकारले नीति बनाउने र त्यही नीतिअनुसार लगानी गर्ने काम व्यवसायीको भएको अर्थमन्त्री गुरुङले बताए । समृद्ध नेपाल निर्माणका निम्ति निजी क्षेत्र साझेदार भएको बताउँदै गुरुङले जग्गा प्राप्तिदेखि राज्यका कारण जटिलता उत्पन्न छन् भने हटाउन गण्डकी प्रदेश तयार रहेको प्रतिबद्धता जनाए । भूमिनीति बनिरहेको र त्यसपछि लगानीका निम्ति जग्गा प्राप्ति सहज हुने गुरुङको भनाइ थियो ।

‘समृद्ध नेपालका निम्ति समृद्ध अर्थतन्त्र चाहिन्छ । समृद्ध अर्थतन्त्रका निम्ति पुँजी निर्माण हुनुपर्छ । व्यवसाय र उद्यमबाट त्यो पुँजी निर्माण हुन्छ, उत्पादनसँग गाँसिएरमात्रै राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ’, अर्थमन्त्री गुरूङले भने, ‘उद्यमीले लगानी गर्नुस्, हामी सुरक्षाको ग्यारेन्टी गर्छौं ।’



source https://www.onlinekhabar.com/2019/12/823524

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More