Monday, 3 February 2020

पात्रोमा प्रकाशन गर्न नसकिएका तिथि, मिति र चाडबाडको जानकारी ‘पञ्चाङ्ग भाष्कर’मा

२१ माघ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रत्येक वर्ष पात्रो (पञ्चाङ्ग) मा प्रकाशन गर्न नसकिएका तिथि, मिति, चाड, पर्वसम्बन्धी विषय ‘पञ्चाङ्गभास्कर’ नामक कृतिमार्फत सार्वजनिक गर्ने भएको छ । पात्रोमा सबै विषय समावेश गर्न नसकिने भएकाले विभिन्न विषयमा विस्तृत जानकारी दिन वर्षमा कम्तीमा एकपटक ‘पञ्चाङ्गभास्कर’ प्रकाशन गरिने भएको हो ।

वार्षिक प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट व्यवस्था गर्ने वचन दिएको राससले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले नेपालमा करिब ४० मानिसले ज्योतिषीय फलादेश गरिरहेको जानकारी प्राप्त भएकाले तिनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केही कार्यक्रम बनाउन लागिएको जानकारी गए । फलादेश गर्ने र ज्योतिषसम्बन्धी काम गर्नेलाई शास्त्रीय मान्यताअनुरूप काम गर्न पनि उनले आह्वान गरे । ‘धर्म, कर्म र संस्कार संस्कृतिमा आएका विकृति रोक्न सबै जना लागौँ, ज्योतिष पेशा गर्नेले शास्त्रको मर्यादा राखेर सम्मानित हुने गरी काम गरौँ,’ अध्यक्ष गौतमले भने ।

प्रा. डा. दीर्घराज घिमिरेले पात्रोमा सूत्रगतरूपमा चाड पर्वसम्बन्धी विषय उल्लेख गरिने भएकाले त्यसलाई स्पष्ट पार्न ‘पञ्चाङ्गभास्कर’ लाई अनुसन्धानमूलक कृतिका रूपमा स्थापित गरी लैजानुपर्ने बताए । जिज्ञासुका लागि जानकारीमूलक र विश्लेषणात्मक लेख कृतिमा राखिनुपर्ने उनले बताए ।

वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले सामाजिक सञ्जाल वा विद्युतीय सञ्चारका माध्यमबाट नामकरण संस्कारलगायत कर्म गर्न नसकिने भए पनि ज्योतिष एवं पुरोहितले यस्तो गराइरहेकाले जागरण आवश्यक रहेको बताए । अग्नि र ब्राह्मण साक्षी राखेर मात्र कर्म गर्न सकिने शास्त्रीय वचन तोड्न नसकिने उनको भनाइ थियो ।

वाल्मीकि विद्यापीठका सह–प्राध्यापक डा. माधवप्रसाद पाण्डेयले शास्त्र प्रमाणका आधारमा मात्र चाड पर्वसम्बन्धी विषय निर्णय गर्न देशभरका पुरोहित एवं ज्योतिषीलाई प्रोत्साहन गर्ने किसिमका लेख रचना ‘पञ्चाङ्गभास्कर’ मा प्रकाशित हुनुपर्ने बताए ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले ‘पञ्चाङ्गभास्कर’ लाई सांस्कृतिक जगतमा सर्वोच्च अदालतले प्रकाशन गर्ने कानून पत्रिका जस्तै रूपमा लैजाने सोच बनाई अघि बढ्न लागेको बताए ।

समितिका सदस्य एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीनेशराज पन्तले विसं १९४१ देखि नै पात्रो (पञ्चाङ्ग) प्रकाशन हुन थाले पनि त्यसलाई व्याख्या गर्ने आधिकारिक कृति नभएकाले ‘पञ्चाङ्गभास्कर’ प्रकाशन निरन्तररूपमा हुनुपर्ने विचार राखे ।

 



source https://www.onlinekhabar.com/2020/02/833538

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More