१९ मंसिर, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् ।
संस्थापन समूहका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् ।
१ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । १ हजार १०० मत गणना हुँदा जोशीले ५ सय १० मत ल्याउँदा शर्माले ५ सय ८५ मत ल्याएर जीत सुनिश्चित गरिसकेका थिए ।
१७ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरेका शर्मा पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाउँदै आएका थिए । हक्की स्वभावका शर्माले कास्कीमा प्रभाव कायमै राखेको भए पनि स्वभावका कारण उत्तिकै आलोचित पनि भइरहन्थे ।
झण्डै २ दशक नेतृत्व गरेर पनि फेरि कास्की कांग्रेसको सभापतिको उम्मेदवार बन्दा उनी पराजित भएका थिए । शुक्रराज शर्मा कास्कीका यस्ता राजनीतिक पात्र हुन्, जो संसदीय निर्वाचनमा हारिरहे तर पार्टीभित्र भने सधैं जमिरहे । २०४८ र २०५१ सालका कास्की क्षेत्र नम्बर २ बाट टिकट पाएका शर्माले चुनाव भने जित्न सकेनन् । २०५६ सालमा राष्ट्रिय सभा सदस्य भएका शर्मा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार जगत विश्वकर्मासँग चुनाव हारेका थिए ।
उनको उपस्थितिलाई कास्कीमै पनि निकै चुनौतिपूर्ण रुपमा हेरिँदै गइरहेका बेला शर्माले संघीयतापछि भएको कांग्रेसको पहिलो प्रदेश समिति सभापति बनेर इतिहास लेखाउन सफल भएका छन् ।
प्रदेश सभापतिका उम्मेदवार बन्न समूहबाट ५ जनामा निकै रस्साकस्सीबीच शर्माको नाम टुंगो लागेको थियो । संस्थापन समूहले केन्द्रीय सदस्य जोशीलाई निर्विकल्प उम्मेदवारका रुपमा उभ्याउँदै प्रचार थालिसक्दा पनि पौडेल समूहले उम्मेदवारको टुंगो लगाउन सकेको थिएन ।
पौडेल समूहबाट कास्कीबाट मात्रै ३ जना आकांक्षी थिए । कास्कीबाट शर्मासहित पूर्व मन्त्रीसमेत रहेका यज्ञबहादुर थापा र वौद्धिक र प्रखर नेता भनेर चिनिएका नेता देवराज चालिसेले दाबी गरिरहेका छन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसीले पनि प्रदेश सभापतिमा दाबी गरिरहेका थिए ।
सभापतिका सबै आकांक्षी अरुलाई छोड्न टसमस नभएपछि वरिष्ठ नेताहरु नै पोखरा आएका थिए । संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त १५ गते पोखरा आएका थिए । २ दिनको छलफलपछि बिहीबार उद्घाटन कार्यक्रम सकिएपछि रातिमात्र शर्माको नाममा सहमति जुटेको थियो ।
गण्डकी प्रदेशलाई पौडेल समूहको वर्चश्व मानिन्छ । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाकै प्रदेश भए पनि पछिल्लो समय संस्थापन समूहले प्रभाव जमाउँदै लगेको थियो । पौडेल समूहले सधैं जित्ने तनहुँ, कास्की, लमजुङजस्ता जिल्लामा पनि संस्थापनले जितेको थियो ।
एकातिर ५ जना उम्मेदवारबाट शर्मा टिकट पाउँदा पौडेल पक्षबाटै अन्तरघात हुन सक्ने अनुमान गरिएको थियो भने अर्कोतिर संस्थापनबाट गण्डकीबाट प्रभावशाली नेता मानिने जोशी प्रतिस्पर्धामा थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार पदम गिरीसँग हार व्यहोरेका जोशीले त्यसअघि ३ निर्वाचन जितेका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य जोशीको गण्डकीमा रहेको प्रभावकाबीच आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका शर्माको प्रतिस्पर्धालाई चुनौतिपूर्ण मानिएको थियो । ‘तर, हाम्रो पकड रहेको जिल्लामा संस्थापन हाबी हुँदै जाँदा धेरै नै सचेत भएका थियौं । उद्घाटन कार्यक्रममा संस्थापनका उम्मेदवारलाई मात्र बोल्न दिइएपछि नाराबाजी नै गर्ने स्थिति आयो । त्यहाँ संस्थापनकको नियतै खराब देखियो,’ कास्कीका एक पौडेल समूहका नेताले भने, ‘बढी महत्वकांक्षी हुँदा कास्कीमै पौडेल पक्षले हार बेहो¥यो । यसबाट पनि पाठ सिकेर धेरै अन्तरघात हुन पाएन ।’ निर्वाचन संयोजक कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले पक्षपात गरेको भन्दै पौडेल समूहले विरोध गरेका थिए ।
महामन्त्रीको गृह जिल्लामा सभापति देउवा र महामन्त्री कोइरालाको एउटै प्यानल बनेको थियो । गण्डकी प्रदेशमा त्यसको असर देखिन नदिन नेताहरुले कसरत गरेका थिए ।
प्रदेश तथा प्रतिनिधिमै पौडेल समूहको वर्चश्व भए पनि अन्तत झिनो मतान्तरले शर्माले कांग्रेस गण्डकी प्रदेशको नेतृत्व सम्हाल्ने मौका पाए ।
५ जना आकांक्षीबीच शर्माको नाममा सर्वसम्मत गराउन सक्नु वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले निकै ठूलो उपलब्धिका रुपमा लिएका थिए । पौडेल र कोइरालाकै प्रदेशमा आउने नतिजाले धेरै ठलो अर्थ राख्ने उनीहरुकै भनाइ थियो । जसरी गण्डकीमा ५ जना उम्मेदवारम्धयेबाट एक जनामा सहमति भयो त्यही सन्देश केन्द्रमा पनि दिन चाहेको र त्यसका लागि परे त्याग गर्न पनि तयार पारेको पौडेल र कोइरालाले अनलाइनखबरसँग बताएका थिए ।
पदाधिकारीमा मिश्रित नतिजा तर पौडेल समूहकै वर्चश्व
गण्डकीमा संस्थापन र संस्थापनइतरबीच पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी परेको थियो । प्रदेश सभापतिमा पौडेल समूहका शर्मा विजयी भए पनि पदाधिकारीमा भने मिश्रित नतिजा आएको छ । तर, पौडेल समूहकै वर्चश्व देखिएको छ ।
उपसभापतिमा शीर्ष मत ल्याउँदै स्याङ्जाकी पौडेल समूहकी कल्पना तिवारी र संस्थापन प्यानलबाट मेखलाल श्रेष्ठले जितेका छन् । गण्डकीका सामाजिक विकास मन्त्री श्रेष्ठलाई ठक्कर दिनकै लागि पौडेल समूहले सोही क्षेत्रकी तिवारीलाई उठाएको थियो । तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् । संस्थापनबाट म्याग्दीका नेत्र महत र पौडेल पक्षका बागलुङका हरिप्रसाद श्रेष्ठ उपसभापतिमा पराजित भए ।
महामन्त्रीमा पनि दुबै प्यानलका एकएक जना उम्मेदवार विजयी भएका छन् । पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले शीर्ष मत ल्याउँदै विजयी भए भने संस्थापन समूहबाट कास्कीका कुमार खड्काले जितेका छन् । खड्का गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । संस्थापनबाट गोरखाकका ईश्वर पाण्डे र पौडेल समूहका नवलपुरका विष्णु लामिछानेले पराजय भोगेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समितिका सभापतिसमेत हुन् ।
सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डे, पर्वतका रामचन्द्र जोशीले जीत हाल पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । गण्डकी प्रदेश सभा सदस्यसमेत रहेकी गौतमलाई हराउँदै रानाभाट विजयी भएकी हुन् ।
source https://www.onlinekhabar.com/2021/12/1048106






0 comments:
Post a Comment