Monday, 6 December 2021

 साफ यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

२१ मंसिर, काठमाडौं । सन् २०१८ मा भुटानमा भएको साफ यू-१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्यो । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा पनि नेपाल पराजित भएको थियो । सेमिफाइनलमा भने नेपालले भारतलाई हराएको थियो । तर उपाधि जित्ने चाहना अधुरै रह्यो ।

त्यसवेला पहिलो रोजाइकी गोलकिपर रहेकी अन्जन राना मगरको नेतृत्वमा नेपालले यसपटक भने च्याम्पियन बन्ने लक्ष्य राखेको छ । बंगलादेशसँग बदला लिने अनि उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-१९ महिला राष्ट्रिय टिम आज ढाका प्रस्थान गर्दैछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठ र कप्तान अन्जनाले टिम राम्रो रहेको र उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

यसपटक पाँच टिम मात्र सहभागी छन् र राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टिमबीच उपाधिका लागि फाइनल खेल हुनेछ । नेपाललले उपाधि जित्ने लक्ष्य पूरा गर्न पहिला शीर्ष दुईमा स्थान बनाउनुपर्छ ।

नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले टिम राम्रो रहेको र टार्गेट नै उपाधि जित्ने रहेको बताएका छन् । ‘हाम्रो टिम राम्रो छ । हाम्रो टार्गेट विजेता बन्ने हो । खेल पनि राम्रो छ,’ सोमबार अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले भने ।

उनले सिनियर टिमका खेलाडी टिममा हुँदा टिम राम्रो बनेको बताए । भारतमा हुने भनिएको फोर नेसन्स कप स्थगित हुँदा दुई खेलाडी यू-१९ टिममा थपिएको उनले बताए । कप्तान अन्जनासहित कुल ६ खेलाडी सिनियर टिमबाट खेलिसकेका छन्।

प्रशिक्षक श्रेष्ठले यसपटक बंगलादेशविरुद्ध बदला लिनेसमेत बताए । ‘बंगलादेशविरुद्ध बदला लिनु छ । जितेरै आउनु छ । उनीहरूको मैदानमा भए पनि जित्नुपर्छ’ श्रेष्ठले दृढका साथ भने, ‘पहिलाको भन्दा टिम राम्रो छ । नयाँ आएने खेलाडीहरू पनि राम्रो छ । कुसुम खतिवडा, अमिशा कार्कीलगायत खेलाडी छन् ।’

यू-१९ टिमले तयारी स्वरुप सिनियर टिमसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा पनि राम्रो प्रदर्शन भएको श्रेष्ठले बताए ।

कप्तान अन्जनाले पनि प्रशिक्षककै भनाईमा सहमत जनाउँदै उपाधि जित्ने लक्ष्य रहेको बताइन् । ‘टिमको लक्ष्य च्याम्पियन हुने नै हो । त्यही अनुसार तयारी भएको छ र रिजल्ट ल्याउने आशासहित जाँदैछौं । हाम्रो मुख्य टार्गेट भनेको भारत र बंगलादेशलाई हराउनु नै हो,’ अन्जनाले भनिन् ।

उनले त्यसका लागि राम्रो तयारीसमेत भएको र टिम राम्रो रहेको बताए । ‘हाम्रो राम्रो तयारी भएको छ । राम्रो कोचहरू पाएका छौं’ अन्जनाले भनिन्,‘हाम्रो बलियो पक्ष भनेकै टिम राम्रो छ । एउटा राम्रो भन्ने छैन । सबै क्षेत्रमा राम्रो छ । बहिनीहरु पनि खेल्न उत्साहित छन् ।’

कप्तान अन्जनासहित डिफेण्डर विमला विक, मिडफिल्डर प्रिती राई, फरवार्ड रजनी थोकर, रश्मिकुमारी घिसिङ र सबिता राना मगरले सिनियर राष्ट्रिय टिमबाट खेलेका छन् ।

यस्तै उपमेयर कप महिला राष्ट्रिय लिग छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दीपा शाही, चन्द्रा भण्डारी, कुसुम खतिवडा, अमिशा कार्कीलगायत खेलाडी पनि टिममा छन् । प्रशिक्षक श्रेष्ठले कुसुम, अमिसालगायत खेलाडी राम्रो रहेको बताए ।

प्रशिक्षक श्रेष्ठले राम्रो खेलाडी छनोट गरेर नै राम्रो टिम बनाएको बताए ।

नेपालले डिसेम्बर ११ मा घरेलु टोली बंगलादेशसँग नै पहिलो खेल खेल्दै च्याम्पियनसिप सुरुआत गर्नेछ । यसपटक नेपालसहित आयोजक बंगालदेश, भारत, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएको च्याम्पियनसिप खेलेको पाकिस्तान र माल्दिभ्स यसपटक सहभागी छैनन् भने श्रीलंकाले पहिलोपटक खेल्दैछ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ भने तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ मा खेल्नेछ । यस्तै लिगको अन्तिम खेलमा भारतसंग डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोलीले डिसेम्बर २२ मा फाइनल खेल्नेछन् ।

नेपाली टिम

अन्जना राना मगर, सावित्री किशन, अंकिता राई, सलोनी राना मगर, सबिना चौधरी,मन्जु कुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ,रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता राना मगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर



source https://www.onlinekhabar.com/2021/12/1048966

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More