Wednesday, 8 December 2021

सहुलियत कर्जा : ब्याज अनुदानमा ९ अर्ब खर्च, स्वरोजगार ऋण लिने युवा भेटिएनन् !

२३ मंसिर, काठमाडौं । सरकारले ल्याएको सहुलियत पूर्ण कर्जा कार्यविधि अनुसार नेपाल राष्ट्र बैंकले ब्याज अनुदानमात्रै नौ अर्ब बढी दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न बैंकहरुबाट दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ विभिन्न शीर्षकमा सहुलियत कर्जा स्वीकृत भएको छ । लगानी भएको कर्जाहरूबाट असार मसान्तसम्म नौ अर्ब रुपैयाँभन्दा बढी ब्याज अनुदान उपलब्ध गराइएको राष्ट्र बैंकले बताएको छ ।

बैंकले सुहलियत ब्याजदर अनुसार बेस रेटमा दुई प्रतिशत प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । दुई प्रतिशत प्रिमियम जोड्दा हुने ब्याजदरमा पनि सरकारले पाँच प्रतिशत अनुदान दिनेछ । अनुदान वापतको रकम भने बैंकहरुले राष्ट्र बैंकसँग दावी लिने गरेका छन् ।

बैंकले ब्याज अनुदान वापतमात्रै नौ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवुकमार ढकालले बताए । हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ लगानी गरेका छन् । लगानी गरेको कुल सहुलियत कर्जामध्ये एक खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार रुपैयाँ लगानीमै रहेको छ ।

कृषि कर्जामा आकर्षण

निकै लोकप्रिय मानिएको शिक्षित युवा स्वरोजगार कर्जा साथै उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि धेरै लगानी हुन सकेको छैन

सरकराले सहुलियत कर्जासम्बन्धी कार्यविधि बनाएर २०७५ सालमै लागू गरेको थियो । यो कार्यविधि अनुसार विभिन्न १० शीर्षकमा सहुलियत ब्याजदरमा ऋण पाउन सक्ने व्यवस्था छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अनुसार केही शीर्षकमा निकै राम्रो आकर्षण देखिएको छ भने केही शिर्षकहरुमा कर्जा लिने मान्छे नै पाउन मुश्किल देखिएको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै आकर्षण कृषि कर्जामा देखिएको छ । ‘क’ वर्गका वाणिज्य बैंकहरुले मात्रै असोज मसान्तसम्म एक खर्ब ३४ अर्ब ६३ करोड ७३ लाख ८५ हजार रुपैयाँ कृषि तथा व्यवसायिक पशुपंक्षी कर्जालगानी गरेका छन् । विकास बैंकहरुले १३ अर्ब तीन करोड १४ लाख ३९ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले एक अर्ब ६१ करोड १३ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुमार्फत समेत तीन करोड ८३ लाख ४० हजार रुपैयाँ कृषि कर्जा लगानी भएको छ । सबैको जोड्दा असोज मसान्तसम्म एक खर्ब ४९ अर्ब ३१ करोड ८५ लाख २१ हजार रुपैयाँ लगानी भएको छ ।

कृषि पछि धेरै कर्जा लगानी हुनेमा महिला उद्यमशील कर्जा देखिएको छ । वाणिज्य बैंकहरुले ५८ हजार ९४५ जना महिलालालाई ६१ अर्ब आठ करोड ४९ लाख ४८ हजार रुपैयाँ महिला उद्यमशील कर्जा लगानी गरेका छन् । ऋण लिनेको संख्याका आधारमा हेर्ने हो भने भने महिला उद्यमशील कर्जा कृषि कर्जा भन्दा धेरै देखिएको छ । तर रकमका आधारमा कृषि कर्जा धेरै लगानी भएको छ । यस अवधिमा विकास बैंकहरुले १४ अर्ब दुई करोड ९९ लाख १४ हजार रुपैयाँ, फाइनान्स कम्पनीहरुले एक अर्ब नौ करोड ७० लाख ८१ हजार रुपैयाँ र लघुवित्त संस्थामा ७ करोड १८ लाख ५० हजार रुपैयाँ गरी महिला उद्यमशील कर्जामा ७६ अर्ब २८ करोड ३७ लाख ९३ हजार रुपैयाँ लगानी भएको छ ।

२ जनाले मात्रै लिए युवा स्वरोजगार कर्जा

सहुलियत ब्याजमा पाइने कर्जाका १० शीर्षक मध्ये युवा वर्ग स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको पाइएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म दुई जनालेमात्रै यस्तो कर्जाको उपयोग गरेका छन् । युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा वाणिज्य बैंकहरुबाट जम्मा दुई जनाका लागि मात्रै ऋण लगानी भएको राष्ट्र बैंकले बताएको छ ।

प्राविधिक तथा व्यवसायिक तालिमका लागि समेत बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत ऋण उपलब्ध गराउने गरेका छन् । तर यो शीर्षकमा पनि हालसम्म १७ जनाले मात्रै ऋण लिएको राष्ट्र बैंकले बताएको छ । निकै लोकप्रिय मानिएको शिक्षित युवा स्वरोजगार कर्जा साथै उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि धेरै लगानी हुन सकेको छैन ।

उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि सर्टिफिकेट धितोमा उपलब्ध हुने भनिएको कर्जा हालसम्म एक ३८ जनाले मात्रै पाएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा पनि कार्यविधि लागू भएको तीन वर्ष वितिसक्दा जम्मा एक सय ४८ जनाले मात्रै लिएको राष्ट्र बैंकले बताएको छ ।

तालिकामा हेर्नुस् कुन शीर्षकमा कति कर्जा ?

सि.नं.  कर्जाको शीर्षक ऋण संख्या    ऋण रकम(हजारमा)     
१. व्यवसायिक कृषि तथा पशुपंक्षी ५३,७८५ १४,९३,१८,५२१
२. शिक्षित युवा स्वरोजगार १४८ ७७,८४३
३. विदेशबाट फर्केका युवा परियोजना ९२८ ७,६४,२४९
४. महिला उद्यमशील ७३,०७८ ७,६२,८३,७९३
५. दलित समुदाय व्यवसाय विकास १,०७४ ७,३९,४६२
६. उच्च र प्राविधिक तथा व्यवसायिक १३८ ४५,८२६
७. भूकम्पपीडित निजी आवास २२८ ७५,५८०
८. कपडा उद्योग सञ्चालन २८२ ४१,१९,६९१
९. सिटिइभिटीबाट मान्यताप्राप्त तालिम ४००
१०. युवा वर्ग स्वरोजगार कर्जा १७ ८,३००
जम्मा १,२९,६८० २३,१४,३३,६६४


source https://www.onlinekhabar.com/2021/12/1049798

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More