Thursday, 9 December 2021

रानीपोखरीमा फर्कियो गोलपाटी, सेरोफेरो पनि मल्लकालीन

२३ मंसिर, काठमाडौं । शान्तिबाटिकामा रहेको नेता गणेशमान सिंहको शालिकसँगै गोलाकार फल्चा बनाइरहेका श्रमिकहरुलाई एकछिन फुर्सद छैन । यसअघि रानीपोखरी आसपास नदेखिएको फल्चा किन बनाइँदैछ भन्ने जानकारी उनीहरुलाई छैन ।

यो देख्दा नयाँ पुस्ताका मान्छेलाई त नयाँ संरचना थपियो कि भन्ने पनि लाग्न सक्छ । जमलका ९२ वर्षीय राममान नेवार भने यो संरचना बन्न लागेको सुनेर खुशी छन् ।

‘हामी सनोमा कसैलाई भेट्न बोलाउन परे ‘चाक्ला फल्चा’मा आऊ भन्थ्यौं,’ उनी भन्छन्, ‘ज्यादै पुरानो भएर भत्किएपछि त्यो फल्चा बनेन, बरु नेताको शालिक बन्यो । अहिले शालिकसँगै फल्चा पनि बनाउँदैछन् भन्ने सुनेर खुसी लागेको छ ।’

फल्चाको पुनर्निर्माण हात्ती चढेको प्रताप मल्लको मूर्तिभन्दा पछाडि हुँदैछ, जहाँ यो पहिलो थियो । रानीपोखरीको हिस्साकै रुपमा थियो मल्लकालीन चाक्ला फाल्चा । त्यसलाई स्थानीयले ‘गोलपाटी’को नामले पनि चिन्थे । विभिन्न समयमा खिचिएका तस्वीरमा यो पाटी देखिन्छ ।

उपत्यका ‘आधुनिक’ बन्दैजाँदा यो पाटी हरायो । पाका स्थानीय र सम्पदाविज्ञहरुले यसबारे ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसैको परिणाम भन्नुपर्छ, आजकल रानीपोखरी वरपर निर्माण मजदुरलाई भ्याइनभ्याई छ । योजनाअनुसार काम सकियो भने आगामी पुस ९ गते सम्ममा रानीपोखरी वरपरको क्षेत्र थप सुन्दर बन्नेछ ।

हुन त १२ वैशाख २०७२ को महाभूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले ५ कात्तिक २०७७ मै गरिसकेकी छन् ।

अहिले पुनर्निर्माण प्राधिकरण रानीपोखरी वरपरको क्षेत्रलाई पनि मल्लकालीन शैलीमा ढाल्नेगरी दोस्रो चरणमा काम गर्दैछ । यो चरणमा शान्ति वाटिका र जमल क्षेत्र पनि समेटिएको छ ।

प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालका अनुसार दोस्रोे चरणको काम पनि सकिन लाग्दैछ । आगामी पुस ९ गते प्राधिरकण नै विघटन हुने भएकाले त्यसअघि नै काम सक्ने योजना रहेको उनले सुनाए ।

‘पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, सम्पदा संरक्षण अभियन्ता र स्थानीयबासीको सल्लाहअनुसार हामीले गरेको डिजाइनमा रानीपोखरी थप सुन्दर बन्दैछ’, अर्याल भन्छन् ।

यो काम सकेपछि जमलको विश्वज्योति हलअघि आकाशेपुलसँगै रानीपोखरीको नयाँ प्रवेशद्वार तयार हुनेछ । सडकपेटी समेत गाभेर सो ठाउँमा रानीपोखरीको आँगन तयार हुँदैछ ।

प्रवेशद्वार काठमाडौंको परम्परागत घर र पाटीको शैलीमा बन्दैछ । काठ र इँटाको प्रवेशद्वारका दुबैतर्फ फल्चा पनि बन्नेछ । प्राधिकरणका सहसचिव अर्यालका अनुसार प्रवेशद्वारको संरचनाहरुले उपत्यकाको अर्को पुरानो वस्ती खोकनाको पनि झल्को दिनेछ ।

‘रानीपोखरी उत्तरको जगतनारायण मन्दिरसहित अहिले दक्षिणतिबाट हेर्दा नदेखिने संरचनाहरुलाई पनि रानीपोखरीको ‘भ्यू’मा अटाउने डिजाइनमा काम हुँदैछ’, अर्याल भन्छन्, ‘चाँगुनारायणको कलश जात्रासँग जोडिएको यो मन्दिरको पनि पुरानै शैलीमा पुननिर्माण हुँदैछ । सोही स्थानमा ढुंगे धारा पनि तयार गरिँदैछ ।’

पहिले कानुन पुस्तकालय रहेको रानीपोखरीसँगैको भवनलाई रेट्रोफिट गरिएको छ । यो भवनलाई रानीपोखरी पुनर्निर्माणका क्रममा भेटिएका पुरातात्विक वस्तुहरुको संग्राहलय बनाउने योजना छ ।

रानीपोखरी दक्षिणतर्फको शान्तिबाटिकाले पनि नयाँ स्वरुप पाउँदैछ । साढे ६ रोपनीमा फैलिएको यो बाटिकामा दुबो रोपिँदैछ । रानीपोखरीको आडैमा प्रहरी कार्यालयसँगै नयाँ पाटी बन्दैछ ।

रानीपोखरी घुम्न आएकाहरुलाई आराम गर्न र घामपानी छल्नपनि सहज होस् भनेर पाटी बनाइएको सहचिव पौडेलले बताए । ‘सबै संरचनाको डिजाइन पुराना तस्वीरहरुका आधारमा गरिएको हो,’ उनले भने, ‘रानीपोखरीको सेरेफेरोलाई सम्भव भए सम्म हिजो कै अवस्थामा फर्काउने प्रयत्न भएको छ ।’

‘ग्रेटर टुँडिखेल’को अवधारणामा काम भए रानीपोखरीलाई परम्परागत पोखरीकै स्वरुपमा फर्काउन थप सहयोग पुग्ने पौडेल बताउँछन् । अहिले चाही बिघटन हुनुअघि पुनर्निर्माण प्राधिकरणले आफ्नो काम सकेर रानीपोखरी काठमाडौं महानगरलाई हस्तान्तरण गर्नेछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/12/1049882

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More