Thursday, 1 August 2019

पाण्डेको अगुवाइमा चिनियाँ हुवाजिन सिमेन्टमा अवरोध

१७ साउन, काठमाडौं । स्थानीय राजनीतिकर्मी र स्वार्थ समूहको पेलाइका कारण चिनियाँ हुवाजिन कम्पनीले नेपालमा भित्र्याएको १४ अर्ब ४० करोड प्रत्यक्ष वैदेशिक लगानी संकटमा परेको छ । यही स्थिति जारी रहे सिमेन्ट उद्योगका लागि गरिएको सो लगानी फिर्ता लैजाने विषयमा समेत सो कम्पनीका अधिकारीहरु छलफलमा छन् ।

चिनियाँ सरकारी स्वामित्वको कम्पनीले धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तीमा सिमेन्ट उद्योग निर्माणको काम गरिरहेको छ । तर, अनेक बहानामा काम प्रभावित भएपछि कम्पनी नेपालबाट फिर्ता हुन सक्ने अवस्था पैदा भएको स्रोतले बतायो ।

गत वर्ष असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा लगानी बोर्ड र हुवाजिनले सिमेन्ट उद्योगमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोस चीनको हुवाजिन सिमेन्टसँग लगानी सम्झौता, १६ अर्बमा उद्योग खुल्ने

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगको थियो । सुरुवाती चरणमा एक हजार जनालाई रोजगारी प्रदान गर्ने उद्योगले पहिलो चरणमा १४ अर्ब ४० करोड लगानी भित्र्याएको थियो ।

विवाद

कारखानासम्म जाने सडकको विषयमा सबैभन्दा ठूलो विवाद छ । शिलान्यास भएको ९ महिनामा उत्पादन थाल्ने लक्ष्य राखेको उद्योगले बेनीघाटबाट ११.५ किलोमिटर दुरीमा १२ मिटर चौडाइको सडक खन्न थालेको थियो । तर, यसमा छिमेकी गजुरी गाउँपालिकाका स्थानीयवासीले विरोध जनाए । कारखाना जाने बाटो र विद्युतसमेत आफ्नै गाउँबाट लैजानुपर्ने स्थानीयको माग छ ।

सोही गाउँपालिकाका प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले असन्तुष्ट स्थानीयवासीको नेतृत्व गरेका छन् । गजुरीमा आयोजित एक कार्यक्रममा सांसद पाण्डेले सिमेन्ट उद्योगको डोजरमाथि आगो लगाइदिने सार्वजनिक भाषण गरेको बेनीघाट रोराङका स्थानीयले बताए । जबकी उद्योग शिलान्यासमा पाण्डे आफैं सहभागी थिए । उनै पाण्डे हालै स्थानीयवासीले बनाएको संघर्ष समितिको कार्यक्रममा सहभागी भएका थिए ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ

दुरीका हिसाबले नजिक पर्ने भएकाले उद्योगले बेनिघाटबाट बाटो लैजानु स्वाभाविक नै देखिन्छ । बेनिघाटभन्दा गजुरीबाट लैजाँदा करिब ३ किलोमिटर बढी सडक खन्नुपर्ने अवस्था रहेको कम्पनीको भनाइ छ ।

यता, उद्योगले बनाइरहेको सडकले जैविक विविधता मासिएको तथा उद्योग सञ्चालनपछि वातावरण प्रदुषण फैलिने भन्दै एक संस्थाले विभिन्न निकायमा उजुरी गरेको छ । गजुरीका स्थानीय भूमि कर्णेलको संयोजकत्वमा बनेको ‘वातावरण बचाउ अभियान’को उजुरीपछि वातावरण संरक्षणका क्षेत्रका कार्यरत विभिन्न संस्थाबाट स्थानीय सरकारलाई पत्र आएको बेनिघाट रोराङ गाउँपालिका-२ का वडा अध्यक्ष टंकबहादुर थापाले बताए । थापाका अनुसार वन मास्न नदिनू, खोला, कुलेसोमा सडक बनाउन नदिनू भन्ने खालका पत्रहरु वडामा आएका छन् ।

त्रिपाठी र पाण्डेको जुँगाको लडाइ

प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी र प्रदेश ३ प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे तत्कालीन नेकपा एमाले धादिङका समकालीन नेता हुन् । माधव नेपाल गुटका पाण्डे लामो समय केन्द्रीय राजनीतिका पात्र बने भने त्रिपाठी ओझेलमा परे ।

ओली गुटले धादिङमा पाण्डेलाई साइजमा राख्न मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशसभामा पठाएर त्रिपाठीलाई प्रतिनिधिसभामा उम्मेदवार बनायो । त्यसयता पाण्डे समूह त्रिपाठी गुटविरुद्ध लागेको जनाकारहरु बताउँछन् ।

त्यसमाथि प्रदेश ३ को मुख्यमन्त्री बन्नबाट समेत पाण्डे बञ्चित गरिएपछि धादिङमा पाण्डेको राजनीतिक पकड त्रिपाठीतर्फ सरेको चर्चा व्यापक छ । प्रधानमन्त्री आफैंले भित्र्याएको चिनियाँ परियोजनामा त्रिपाठीले समन्वय गरिरहेका छन् भने व्यावसायी सुरज वैद्यले पनि १५ प्रतिशत लगानी गरेका छन् ।

प्रदेशमन्त्री एवं प्रभावशाली नेता शालिकराम जम्मकट्टेल तथा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी हुवाजिनलाई जसरी पनि स्थापित गरेरै छाड्ने अडानमा छन् ।

तर नेता पाण्डे, गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बस्नेतलगायतले भने उद्योग टिक्नै नदिने अवस्था सिर्जना गरिरहेको स्थानीय जानकारहरु बताउँछन् ।

‘प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्र खुल्ने कुनै पनि उद्योगका लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार सरकारले सहजीकरण गर्ने भनिएकोमा आफैं सडक बनाउँछु भन्दासमेत अवरोध भएको छ,’ हुवाजीनका एक कर्मचारीले भने ।

प्रदेशसभा सांसद त्रिपाठी पनि समग्र जिल्लालाई माथि उठाउन सक्नेे परियोजनामा आश्चर्यजनक ढंगबाट अवरोध सृजना गरिएको बताउँछन् । आफ्ना ‘श्रद्धेय नेता’ बाटै उद्योगको डोजरमा आगो लगाइदिने सार्वजनिक अभिव्यक्ति सुनेर आफू अचम्मित बनेको त्रिपाठीले बताए । सार्वजनिक लेखा समितिले समेत आफ्नो क्षेत्राधिकार नै नपर्ने विषयमा प्रवेश गराएर लगानी प्रभावित बनाउन खोजेको उनको आरोप छ ।

यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा हुवाजिन उद्योगले धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न हालै सिफारिस गरेको थियो ।

पाण्डे गुटको तर्क

अनलाइनखबरले पटक-पटक प्रयास गर्दा पनि नेता पाण्डे सम्पर्कमा आएनन् । पाण्डे गुटका मानिने गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले भने उद्योगका कारण जनता पीडित भएपछि केही कुरा उद्योगसमक्ष राखेको बताए ।

‘उद्योग बन्द होओस् भन्ने हाम्रो चाहना होइन,’ उनले भने, ‘तर, ठूलो उद्योग भन्दैमा कानुनी प्रक्रिया पूरा नगरी अगाडि बढ्न मिल्दैन ।’

उद्योगले गलत ठाउँमा कारखाना राखेको, वातावरणीय प्रभाव मूल्यांकन नगरेको, स्थानीय जनतासँग सल्लाह गरेरभन्दा पनि एकलौटी ढंगबाट अगाडि बढ्न थालेपछि जनताले प्रतिरोध गरेको बस्नेतले बताए ।

‘जनताले आपत्ति जनाएपछि उनैले भोट हालेर प्रतिनिधि बनेका हामीले उनीहरुको समस्यामा बोल्नै पर्थ्यो र बोलेका हौं,’ बस्नेतले भने ।

बालकको मृत्युमा क्षतिपूर्ति

कारखानासम्म पुग्न उद्योगले बेनिघाटमा खनिरहेको सडकको ग्राबेल गर्न उद्योगले त्रिशुली नदीबाट ढुंगा गिट्टी झिकेको थियो । तर अरु कसैले खनेको खाडलमा परेर एक बालकको मृत्यु भएपछि मृतकको परिवारलाई हुवाजिनले १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नु परेको एक स्थानीय जनप्रतिनिधिले बताउँछन् । ती जनप्रतिनिधिका भनाइमा सो खाडल क्रसरले खनेर बनाएको थियो तर क्षतिपूर्ति हुवाजिन उद्योगलाई तिराइयो ।

‘हरेक विषयमा स्थानीय तहदेखि केन्द्रसम्मै विवाद सृजना गरिएपछि चिनियाँहरुको मनोबल ओरालो लागेको छ,’ ती जनप्रतिनिधिले भने ।

तर गजुरी गाउँपालिकाका अध्यक्ष बस्नेत भने बालकको निधन चिनियाँले खनेकै खाडलका कारण भएको दाबी गर्छन् ।

लगानी बोर्ड मौन !

हुवाजिनका समस्या र लगानी बोर्डले गरिरहेको सहजीकरणका सम्बन्धमा बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि लगानी बोर्डका अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सहसचिव एवम् बलराम रिजालले फोन पनि उठाएनन् भने एसएमएसको पनि कुनै जवाफ दिएनन् ।



source https://www.onlinekhabar.com/2019/08/785085

शरीरलाई किन आवश्यक छ भिटामिन डी ?

आफ्नो जीवनभरी स्वस्थ तथा निरोगी रहनु हरेक व्यक्तिको चाहना हो । स्वस्थ र निरोगी रहनका लागि हरेक व्यक्तिले उचित मात्रामा सबै प्रकारका भिटामिनहरु सेवन गर्नु आवश्यक छ । स्वास्थ्य क्षे त्रमा करिव २० प्रकारका भिटामिनहरुको बारेमा अनुसन्धान भैरहेको छ ।

यद्यपि, ती मध्ये भिटामिन ए, बी, सी, डी तथा के चलनचल्तिमा छन् । यी मध्ये हाम्रो शरीरलाई अति आवश्यक भिटामिन डीका बारेमा केही जानकारी यहाँ प्रस्तुत गर्दैछौं ।

भिटामिन डीको आवश्यकता

भिटामिन डीको सबैभन्दा महत्वपूर्ण कार्य हाम्रो शरीरको हड्डी बलियो बनाउनु हो । त्यसो त हड्डी बलियो बनाउनका लागि क्याल्सियमको आवश्कता पर्दछ । भिटामिन डीले त्यही क्याल्सियमको मात्रालाई सन्तुलित बनाउँछ । भिटामिन डीको सेवनले हामीलाई हड्डीसँग सम्बन्धित कुनै पनि रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

भिटामिन डीले हाम्रो शरीरको मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यसका साथै यसले शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि सहयोग पुर्‍याउँछ । भिटामिन डिले हड्डी टुट्नबाट समेत बचाउँछ ।

केमा पाइन्छ भिटामिन डी ?

हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घीउ, अण्डाको पहेंलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यी मध्ये पनि सूर्यको किरण सबैभन्दा राम्रो र निःशुल्क पाइने भिटामिन डीको स्रोत हो ।

हामी हरेक दिन करिव पाँच मिनेट घाममा बस्यौं भने पनि हाम्रो शरीरले भिटामिन डी पाइरहेको हुन्छ । हाम्रो छालामा एउटा त्यस्तो पदार्थ हुन्छ, जुन सूर्यको पराबैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।

भिटामिन डीको कमीले के-के हुन्छ ?

भिटामिन डीको कमीले महिलाहरुमा धेरै प्रकारका समस्याहरु देखा पर्छन् ।  अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट तथा दैनिक कामकाजमा नै फरक पर्न सक्छ । भिटामिन डीको कमिले फोक्सोले गर्ने कार्य क्षमतामा पनि कमि आउँछ । यसबाहेक भिटामिन डीको कमीले फोक्सो खुम्चिन्छ । यसले गर्दा श्वास-प्रश्वास प्रकृयामै समस्या उत्पन्न हुन सक्छ ।

भिटामिन डीको कमिले ढाड तथा कम्मर दुख्न थाल्छ । एउटा अध्ययन अनुसार कम्मर दुखाइबाट पीडित ३ सय ६० जना बिरामीहरुमा भिटामिन डीको स्तर परिक्षण गरिएको थियो । परिणाम, सबै बिरामीहरुमा भिटामिन डीको कमि देखियो । भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन्छ, जसबाट हड्डीसंग सम्बन्धित कुनै पनि समस्या देखा पर्न सक्छ ।

एउटा अध्ययन अनुसार भिटामिन डीको कमीले किशोरीहरुलाई कम उमेरमै  श्वास-प्रश्वास प्रकृयाको समस्या देखिन सक्छ ।

शरीरको मध्य भागमा कम्मर हुन्छ र यसले शरीरको अधिकांश भार थामेको हुन्छ । मेरुदण्ड समेत पूर्णरुपले कम्मरमै अडिएको हुन्छ । यदि हाम्रो शरीरमा भिटामिन डीको कमी छ भने मेरुदण्डले शरीरको भार थेग्न गाह्रो पर्छ ।

भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्कीन फोल्ड रेशाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, उनीहरुमा भिटामिन डीको मात्रा बढी हुनेहरुको तुलनामा मोटोपन तीव्र रुपमा बढ्ने गरेको पाइएको छ ।

महिलाहरु प्रायः हाडजोर्नीको समस्याबाट ग्रस्त हुन्छन् । उमेर बढ्दै जाँदा महिलाहरुमा यो समस्या झन् बढ्दै जान्छ । उनीहरुलाई साधारण काम गर्न समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा उनीहरुले भिटामिन डीको सेवन गर्ने मात्रा बढाए भने त्यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सक्नछन् ।

महिलाहरुमा कम्मर दुखाइको समस्या पनि साझा समस्याकै रुपमा देखिन्छ । वैज्ञानिकहरुका अनुसार यदि जाडोमा भिटामिन डीको प्रमुख श्रोत घामलाई सेवन गरेमा यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुले विभिन्न प्रकारका स्वास्थ समस्याबाट ग्रसित हुनु पर्छ । त्यस्तो बेलामा उनीहरुको शरीरमा भिटामिन डीको कमि भयो भने मल्टिपल सिरोसिसको सम्भावना अत्यधिक हुन्छ ।

त्यसो त भिटामिन डी हाम्रो आँखाका लागि पनि फाइदाजनक हुन्छ । हालै गरिएको एउटा अध्ययन अनुसार भिटामिन डीको प्रयोगले नजिकको दृश्य हेर्न गाह्रो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका साथै जुन महिलाले बाल्यकालदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन्, उनीहरुलाई महिनाबारीपछि हड्डीसँग सम्बन्धित रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।



source https://www.onlinekhabar.com/2019/08/785006

चितवनमा वडा कार्यालयमा आगजनी



source https://www.onlinekhabar.com/2019/08/785090

तीन दिनसम्म चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ ।

हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । यो रेखा बिस्तारै नेपाल तर्फ सर्दै आइरहेको छ ।

त्यसैले हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा पनि भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार राति भने पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले अनुमान गरेका छन् ।

आइतबार दिउँसो पनि शनिबार दिउँसोको जस्तै अवस्था रहने छ । तर, राति भने पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/08/785088

बालबालिकालाई किन सिकाउने पूजापाठ गर्न ?

साउनको महिना छ । भक्ति आरधानाको महिना हो । यतिबेला तपाईं मठमन्दिर धाउनुहुन्छ, पूजापाठ गर्नुहुन्छ । यावत् विधी सम्पन्न गरिरहँदा तपाईंले आफ्नो बालबच्चालाई सम्झनुहुन्छ ?

सायदै तपाईं यी कुरामा आफ्ना बालबच्चालाई संलग्न गराउनुहुनेछ । आफुसँगै पूजापाठ गरेमा, प्रार्थना गरेमा उनीहरुको पढ्ने समय बर्बाद हुन्छ भन्ने तपाईंलाई लाग्न सक्छ । तपाईंसँगै बच्चा पनि मन्दिर जान चाहन्छन्, पूजापाठ गर्न चाहन्छन्, आरती गर्न चाहन्छन् । यद्यपी तपाईंले उनीहरुलाई त्यसमा अनुमति दिनुहुन्न । भन्नुहुनेछ, अहिले तिम्रो उमेर भएको छैन । अर्थात तिमीले यी सबै गर्नुको कुनै फाइदा छैन ।

बालबालिकालाई हामीले सानै उमेरदेखि पारिवारिक संस्कारमा अभ्यस्त गराउनुपर्छ । पूजापाठ गर्नु, मठ-मन्दिर धाउनु, धुपबात्ती बाल्नु हाम्रो पारिवारिक संस्कारकै एक अंश हुन् । यी कुरामा पनि हामीले बालबालिकालाई अभ्यस्त गराउनुपर्छ । आखिर बालबालिकाले पूजापाठ गर्दैमा के हुन्छ ?

उनीहरुले आफ्नो परिवारको संस्कारलाई बुझ्छन् । यसभन्दा बढी चाहि उनीहरु स्वयम् पनि पूजापाठ, भक्तिभावबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पूजापाठ गर्नु भनेको मन शुद्धिकरण गर्ने विधी हुन् । पूजापाठ गरिरहँदा हामी कसैप्रति समर्पित, कृतज्ञ हुने गर्छौं । यसबेला हाम्रो मनमा नकारात्मक भाव आउँदैन । यो एक विधी हो । यही विधीमा हामीले आफ्नो बालबालिकालाई पनि अभ्यस्त गराउन सकिन्छ । यसले उनीहरुमा भक्ति भावको पनि विकास हुन्छ । आफुभन्दा ठूला, गन्यमान्य मान्छेप्रति श्रद्धा गर्न सिक्छन् ।

पूजापाठ गर्नुअघि शरीर शुद्धिकरण गरिन्छ । नुहाउने, सरसफाई गर्ने, शुद्ध खानेकुरा मात्र सेवन गर्ने । यी कुराले पनि उनीहरुलाई अनुशासित जीवनमा अभ्यस्त बनाउँछ ।

पूजापाठ गर्ने विशेष विधी एवं तौर तरिका हुन्छन् । घुँडा टेकेर बस्ने, हात जोडेर नमस्कार गर्ने, आँखा बन्द गर्ने । यी शारीरिक क्रिया पनि मनको शुद्धिकरणसँग सम्बन्धित छन् । पूजापाठ गरिरहँदा तपाईंका बच्चाले यी सबै कुरा सिकिरहेका हुन्छन् ।

बालबालिकालाई तपाईंले मन्दिर जान प्रेरित गर्न सक्नुहुनेछ । उनीहरु मन्दिर जानेछन्, त्यहाँको माहौल हेर्नेछन् । पूजापाठ गरेको, धुपबात्ती बालेको देखेर उनीहरुमा कौतुहलता पैदा हुनेछ । आखिर किन यी विधी गरिन्छ ? यसबाट के लाभ हुन्छ ? उनीहरु आफै पनि जान्न उत्सुक रहन्छन् । यतिबेला मन्दिर धाउनु, पूजापाठ गर्नुको महत्व र फाइदाबारे तपाईंले वैज्ञानिक जवाफ दिन आवश्यक छ ।

किन पूजापाठ ?

मन्दिर धाउनु, पूजापाठ गर्नु, धुपबत्ती बाल्नु, प्रार्थना गर्नु । यी सबै काम हामीलाई आडम्बर लाग्छ । ढोंग लाग्छ । पुरातन सोंच लाग्छ । आफुलाई आधुनिक र शिक्षित वर्गमा राख्ने हामी पूजापाठ गर्नु, मन्दिर धाउनु आवश्यक ठान्दैनौं । जबकी यी सबै विधी-विधान गर्नुको वैज्ञानिक महत्व छ । किन मन्दिर धाउने, किन पूजापाठ गर्ने ? यी कुरालाई ठाडै अस्विकार गर्नुभन्दा यसभित्रको महत्व र अर्थलाई बुझ्न जरुरी हुन्छ ।

मन्दिर धाउनु, पूजापाठ गर्नु भनेको मनलाई शान्त तुल्याउनु हो । मनलाई शुद्ध तुल्याउनु हो । मनलाई सकारात्मक तुल्याउनु हो । मनलाई कृतज्ञ तुल्याउनु हो । जब मनलाई शुद्ध गरेर यस किसिमको सकारात्मक भावहरु पैदा गर्नुहुनेछ, तपाईंमा धार्मिक प्रवृत्ति विकास हुनेछ । धार्मिक प्रवृत्ति भनेको देखावटी रुपमा भगवानको भक्ति गर्ने होइन, उनमा मानविय भावनाको विकास हुनु हो । दया, प्रेम, करुणा जाग्नु हो । सकारात्मक दृष्टिकोण बन्नु हो । शान्त एवं सौम्य स्थितीमा रहनु हो ।



source https://www.onlinekhabar.com/2019/08/784993

पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु

१७ साउन, बाजुरा । बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । निरुता र निस्मिता आमा-छोरी हुन् ।

पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।

पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै आफू पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए । घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा छन् ।



source https://www.onlinekhabar.com/2019/08/785086

बच्चाले व्यायाम नगर्दा के हुन्छ ?

हामी भन्छौं, तीस बर्ष पार गरेपछि अनिवार्य व्यायाम गर्नुपर्छ । खानपानमा सर्तक हुनुपर्छ । स्वास्थ्य जाँच गराउनुपर्छ ।

बालबालिका वा किशोरकिशोरीको हकमा भने हामी व्यायामको कुरा गर्दैनौं । उनीहरु यसैपनि स्वस्थ्य हुन्छन् । खेल्छन्, उफ्रन्छन्, दौडन्छन् । शरीर लचिलो हुन्छ । रोग लागेकै हुँदैन । त्यसैले अतिरिक्त व्यायामको जरुरत हुँदैन ।

के बालबालिकालाई व्यायाम आवश्यक छैन ? उनीहरु दिनभर जे-जसरी खेल्छन्, उफ्रन्छन् त्यती नै काफी छ त ?

चाहे उमेर पुगको होस् वा कलिलो, शारीरिक रुपले सक्रिय रहनुपर्छ । खासगरी उमेर ढल्कदै गएपछि हामी शारीरिक सक्रियता अरु बढी महसुष गर्छौं । शरीरलाई चुस्त र फुर्तिलो राख्न मात्र होइन, संभावित रोगबाट बच्न पनि हामी सक्रियता खोज्छौं । शरीर सक्रिय भएमा रोग लाग्दैन भन्छौं । त्यसैले हामी बिहान दौडन्छौं, व्यायाम, योग, प्राणायाम गर्छौ, दिनभर सक्रिय रहन्छौं ।

बालबालिकाको सन्दर्भमा भने हामी यी कुराहरुलाई खासै आवश्यक मान्दैनौ । बच्चाको शरीर यसैपनि लचिलो हुन्छ उनीहरुलाई व्यायामको आवश्यकक्ता पर्दैन भन्छौं । तर, यो गलत बुझाई हो ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागका दिशानिर्देशकका अनुसार ६ बर्ष र त्यसभन्दा बढी उमेरका बच्चाका लागि दिनमा कम्तीका एक घण्टा शारीरिक गतिविधी आवश्यक छ । अध्ययन अनुसार बच्चाले सप्ताहमा कम्तीमा तीन पटक एरोबिक वा यस्तै किसिमको व्यायाम गर्नु जरुरी छ । जबकी सप्ताहको बाँकी तीन दिन मांसपेशी र हड्डी बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।

के भन्छ अध्ययन ?

बालबालिकाको शारीरिक र मानसिक विकासको लागि तीनदेखि पाँच बर्षको उमेरमा शारीरिक रुपले सक्रिय राख्न आवश्यक छ । आमाबुवाले आफ्ना बालबालिकाको शारीरिक सक्रियतामा ख्याल राख्नुपर्छ । उनीहरुलाई खेलकुदको माध्यामबाट पनि यसमा प्रेरित गर्न सकिन्छ । व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ ।

पछिल्लो बर्ष ‘अमेरिका एकेडेमी अफ पीडियाटि्रक्स २०१८ नेशनल कन्फरेन्स एन्ड एक्जिबिसन’मा प्रस्तुत एक अध्ययनमा के पाइयो भने अभिभावकले बच्चाको शारीरिक गतिविधिमा त्यती महत्व दिइएको पाइँदैन । जो बालबालिका शारीरिक रुपमा सक्रिय छन्, उनीहरु पनि हप्तामा दुई वा तीन दिनमात्र सक्रिय हुन्छन् ।

बालबालिकाका लागि योग

बालबालिकालाई योगमा पनि अभ्यस्त गराउन सकिन्छ । योग समूचित व्यायाम पनि हो । बालबालिकाले जुनसुकै किसिमको योग आसन अभ्यास गर्न सक्छन् । उनीहरुको शरीर लचिलो र फुर्तिलो हुने भएकाले उनीहरुलाई विभिन्न योग आसनको अभ्यास गर्न त्यती कठिनाई पनि हुँदैन ।

यद्यपी बालबालिकाकै शारीरिक अवस्थालाई मध्यनजर गरेर कतिपय योग विधी एवं आसन निर्धारण गरिएका छन् । ति योग विधीमा बालबालिकालाई अभ्यस्त गराउन सकिन्छ । योगका साथै प्राणायाम र ध्यानमा पनि उनीहरुलाई अभ्यस्त गराउन सकिन्छ ।



source https://www.onlinekhabar.com/2019/08/784991

गीत गाउँदा गाउँदै किन रोए मोहम्मद रफी ?

हिन्दी सिनेको संसारमा मोहम्मद रफीलाई लिएर दर्जनौं रमाइला किस्साहरु प्रचलित छन् । संगीतका यी महारथीले आफ्ना हजारौं गीतहरुमार्फत थुप्रै पुस्ताहरुलाई प्रभावित बनाए । आज पनि उनका अधिकांश गीतहरु पटक-पटक सुनिन्छन् ।

गायक मोहम्मद रफीको निधन ३१ जुलाई १९८० मा भएको थियो । अर्थात, आजकै दिन उनले यो धर्ती छाडेको ३९ वर्ष भयो । तर, आफ्ना सुमधुर तथा कणर्र्पिय गीतहरुका माध्यमबाट उनी आज पनि हामीमाझ जीवित नै छन् ।

मोहम्मद रफीले सन् १९४० देखि १९८० सम्ममा करिव २६ हजार वटा गीतमा आवाज दिए । ती मध्ये अधिकांश गीतहरु क्लासिक मानिन्छन् । ती गीतहरुमा फिल्मी गीतहरुका अतिरिक्त भजन, लोकगीत तथा कव्वाली र क्षेत्री भाषाका गीतहरु पनि समावेश छन् ।

रफीको बारेमा के भनिन्छ भने सडकमा मागेर हिँड्ने माग्नेहरुको गीतहरु सुन्दा-सुन्दै उनलाई गायकीप्रति आकर्षण बढेको थियो । बाल्यकालमा उनी तिनीहरुका गीत सुन्थें र अर्को ठाउँमा गएर नयाँ व्यक्तिहरुलाई सुनाउँथे ।

बाबुल की दुआएं…गाउँदा गाउँदै रोए

साठी र सत्तरीको दशकमा रफीले त्यस्ता धेरै वटा गीतहरुमा स्वर दिए, जसमा दुःख र पीडाको छटपटी महसुस गर्न सकिन्छ । भनिन्छ, स्वयं रफी पनि ती गीतहरु गाउँदा गाउँदैै भावुक हुन्थे, जसको अनुमान ती गीतहरु सुनेर पनि लगाउन सकिन्छ ।

ती मध्ये एउटा गीत हो-बाबुल की दुआएं लेती जा…। भनिन्छ, ‘नील कमल’ फिल्मको उक्त गीत गाउने क्रममा रफीको आँखाबाट पटक-पटक आँशु बगेका थिए ।

किनभने उक्त गीत रेकर्डिङ हुनुभन्दा ठिक एक दिनअघि मात्रै उनकी छोरीको विवाह भएको थियो, जसका कारण उनी भावुक भएका थिए । उक्त गीतका लागि उनलाई भारतको राष्ट्रिय पुरस्कार पनि प्राप्त भएको थियो ।

फाँसीमा झुण्डिनुअघि रफीको गीत

मोहम्मद रफीका लागि संगीत दिनु भनेको कुनै पनि संगीतकारका लागि पनि सम्मानको कुरा हुने गर्दथ्यो । संगीतकार नौशादका लागि मोहम्मद रफीले धेरै वटा गीतहरु गाएका थिए । नौशादले रफीको बारेमा एउटा कथा भनेका थिए ।

एउटा अपराधीलाई फाँसीको सजाय सुनाइएको थियो । जब फाँसीमा झुण्डिने दिन आयो, उनलाई उनको अन्तिम इच्छाका बारेमा सोधियो । उनल आफ्नालाई केही पनि मागेनन, केवल बैजू बावरा फिल्मको गीत ‘दुनिया के रखवाले’ सुन्न इच्छा व्यक्त गरेका थिए । उक्त गीतमा रफीको स्वर थियो र गीत गाउने क्रममा रफीले जिउ-ज्यान नै लगाएका थिए । कैदीको उक्त चाहाना सुनेर जेलका पदाधिकारीहरु समेत आश्चर्यमा परेका थिए ।

किशोर कुमारका लागि पनि गाएका थिए

किशोर कुमार, जो आफैंमा एक ठूला गायक थिए । यद्यपि, प्रँरम्भ उनले अभिनेताको रुपमा समेत फिल्ममा काम गरेका थिए । त्यसताका किशोर कुमारले अभिनय गर्ने फिल्ममा उनका लागि पाश्र्व गायन गर्ने गायकको खोजी हुन थाल्यो । अन्ततः मोहम्मद रफीमै आएर उक्त खोजि रोकियो ।

त्यसक्रममा किशोर कुमारका लागि रफीले करिव ११ वटा गीत गाएका थिए । रफीको स्वरको एउटा विशेषता के थियो भने उनको स्वर रहेक अभिनेतालाई सुहाउँथ्यो । दिलीप कुमारदेखि देवानन्दसम्म तथा शम्मी कपूरदेखि लिएर राजेन्द्र कुमारसम्म, उनले जसका लागि पनि पाश्र्व गायन गरेका थिए, उक्त गीतलाई फिल्मको पर्दामा हेर्दा के लाग्थ्यो भने उक्त गीत रफीले होइन्, तीनै अभिनेताहरुले गाएका हुन् । रफीको यो एउटा अद्भूत शैली थियो ।

मोहम्मद रफीले आफ्नो करियरमा करिव-करिव सबै ठूला अभिनेताहरुका लागि गीत गाए । तीनमा धर्मेन्द्र, राजेश खन्ना, दिलीप कुमार, मनोज कुमार, राजेन्द्र कुमार, अमिताभ बच्चन, शम्मी कपूरु आदि समावेश छन् ।



source https://www.onlinekhabar.com/2019/08/784997

चर्चित रियालिटी शो ‘खतरों के खिलाडी-१०’ मा को-को ?

टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘खतरों के खिलाडी’ को आगामी सीजन दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो रियालिटी शो नेपाली दर्शकमाझ पनि उत्तिकै लोकपि्रय छ ।

उक्त शोको दशौं सीजन चाँडै नै प्रारम्भ हुँदैछ । यसपटक पनि यो शोमा बलिउडमा स्थापित निर्देशक रोहित शेट्टी नै देखिंदैछन् । खतरों के खिलाडी सीजन १० को छायांकन बुल्गेरियामा हुने निश्चित भैसकेको छ ।

यो शोका निर्माताहरु दसौं सीजनमा हरेक क्षेेत्रलाई प्रतिनिधित्व गर्ने प्रतियोगिहरुको समुह बनाउन इच्छुक छन् । पछिल्लो पटकको सीजन दर्शकमाझ निकै लोकपि्रय रहेको थियो । यस्तो बेला निर्माताहरुले यसपटक पनि उत्कृष्ट प्रतियोगिहरुलाई मात्र सहभागि गराउने कार्यमा जुटेका छन् ।

उक्त रियालिटी शोका लागि अहिलेसम्म निश्चित भएका केही सेलिब्रेटी प्रतियोगिहरु यस्ता छन्ः

आरजे मलिष्का

यो रियालिटी शोको आगामी सीजनमा लोकप्रिय रेडियो जक्की मलिष्का मेन्डोन्सा पनि सहभागि हुने सम्भावना छ । मलिष्का एक मजबूत प्रतियोगीको रुपमा देखा पर्न सक्ने सम्भावना छ । एउटा समाचारमा जनाइए अनुसार मलिष्कासंग निर्माताहरुको सम्झौता नै भैसकेको छ । कार्यक्रमका निर्माताले चाँडै नै उनको नाम घोषणा गर्न सक्नेछन् ।

अमृता खानविलकर

बलिउडको फिल्म ‘राजी’ की अभिनेत्री अमृता खानविलकर पनि प्रतिस्पर्धिको रुपमा खतरों के खिलाडी-१० मा देखा पर्ने सम्भावना छ । शोमा सहभागिताका बारेमा गरिएको एउटा जिज्ञासामा अमृताले भनेकी छिन्-‘हो, शोका निर्माता तथा मबीच यसबारेमा कुराकानी भएको छ । यद्यपि, अहिलेसम्म सबै कुरा निश्चित भने भैसकेको छैन ।’

रानी चटर्जी

भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री रानी चटर्जीको नाम पनि यसपटकको सीजनको प्रतिस्पर्धिको सूचीमा समावेश छ । भनिन्छ, रानीले यसपटकको खतरों के खिलाडीमा तहल्का मच्चाउने तयारी गरिसकेकी छिन् ।

करण पटेल

लोकप्रिय धारावाहिक ‘ये है मोहब्बतें’ का मुख्य अभिनेता करण पटेल पनि खतरों के खिलाडीको नयाँ सिजनमा देखिन सक्ने छन् । यो शोका लागि करणले आफ्नो फिटनेसमा समेत ध्यान दिन थालिसकेका छन् ।

अदा खान

लोकप्रिय धारावाहिक ‘नागिन’ की अभिनेत्री अदा खान पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धिको रुपमा सहभागिता जनाउने करिव-करिव निश्चित भैसकेको छ । भनिन्छ, शोका निर्माताले अदा खानसंग यसबारेमा कुराकानी गरिसकेका छन् ।

बलराज स्याल

लोकप्रिय कमेडियन बलराज स्याल पनि यो प्रतियोगितामा प्रतिस्पर्धिको रुपमा सहभागि हुने सम्भावना अत्यधिक छ ।

धर्मेश येलांन्डे

चर्चित डान्सर तथा कोरियोग्रँफर धर्मेश पनि यसपटकको यो प्रतियोगितामा प्रतियोगिको रुपमा सहभागिता जनाइरहेका छन् । भनिन्छ, धर्मेशसंग पनि शोका निर्माताले प्रस्ताव राखिसकेका छन् । धर्मेशले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि स्विकृति दिइसकेका छन् ।

करिश्मा तन्ना

अभिनेत्री करिश्मा तन्ना पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धा गरिरहेकी छिन् । करिश्मा पछिल्लो समय नागिन-३ मा समेत देखिएकी थिइन् । यसबाहेक उनले बिग बोसमा पनि प्रतियोगिको रुपमा सहभागिता जनाइसकेकी छिन् । यसका साथै उनले अन्य थुप्रै रियालिटी शोहरुमा भाग लिइसकेकी छिन् ।

शिविन नारंग

अभिनेता शिविन नारंगले पनि खतरों के खिलाडीमा प्रतिस्पर्धि बन्ने निर्णय गरिसकेका छन् । शिविनलाई ‘एक वीर की अरदास-वीरा’ मा दर्शकहरुले मन पराइसकेका छन् ।

तेजस्वी प्रकाश

टेलिभिजन अभिनेत्री तेजस्वी प्रकाशले पनि यसपटकको खतरों के खिलाडीमा प्रतिस्पर्धिको रुपमा सहभागिता जनाउने निर्णय गरिसकेकी छिन् ।



source https://www.onlinekhabar.com/2019/08/785014

यमनको सैनिक परेडमा आक्रमण, ३२ को मृत्यु

१७ साउन, काठमाडौं । यमनको सैनिक परेडमा हुती विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । एक दर्जन घाइते भएका छन् ।

विद्रोही समूहले दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो ।

यसअघि अदन शहरमै एक प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जना मारिएका थिए । यद्यपि सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकअर्कासँग जोडिएको छ कि छैन भन्ने खुलेको छैन ।

सरकार समर्थित सुरक्षा बलले आफूहरुमाथि आक्रमणको तयारीस्वरुप परेड खेलिरहेकाले आक्रमण गरेको हुती विद्रोहीले बताएका छन् । यद्यपि सरकारी अधिकारीका अनुसार त्यो परेड नयाँ भर्ती भएका सैनिकको ग्राजुयसन समारोह थियो ।

सैनिक परेडमा आक्रमणको दृष्य अत्यन्त भयानक थियो । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्-शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिक रोइरहेका थिए ।

जुन सैन्य शिविरमा आक्रमण भएको छ, त्यसलाई ‘सुरक्षा बेल्ट’ नामले चिनिन्छ ।

यमन लामो समयदेखि युद्धग्रस्त छ, खासगरी मार्च २०१५ देखि । मार्च २०१५ मा हुती विद्रोहीहरुले देशको पश्चिमतर्फको एक ठूलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए ।



source https://www.onlinekhabar.com/2019/08/785080

विप्लव समूहका नेता कार्की भन्छन्- सरकारसँग वार्ताको विकल्प छैन



source https://www.onlinekhabar.com/2019/08/785078

आमाबुवासँग किन टाडिदैछन् छोराछोरी ?

बाआमालाई आश्रममा राख्छौ, घरमा कुकुर पाल्छौं

अँध्यारो तिम्रो मनमा छ, दियो मन्दिरमा बाल्छौं ।

कसैले रचेको यी पंक्ती वर्तमान समाजको यर्थाथ हो । धेरै छोराछोरीका निम्ति आफ्ना आमाबुवा ‘बोझ’ भएको छ । त्यही बोझ बिसाउन उनीहरु आमाबुवालाई बृद्धाश्रममा छाड्ने गर्छन् । हिजो छोराछोरी जुन आमाबुवा साथ खोज्थे, आज तिनै आमाबुवा निकटता पनि रुचाउँदैनन् । हिजो जुन आमाबुवाको छातीमा लपेटिएर बस्दा सुरक्षित र आनन्दित महसुष गर्थे, आज तिनै आमाबुवासँग बस्दा असहज मान्छन् । छोराछोरीले आमाबुवासँग दुरी बढाउँदैछन् ।

भनिन्छ, आमाबुवाले छोराछोरीको भविष्यका निम्ती आफ्नो वर्तमान विर्सन्छन् । आफ्नो इच्छा र आंकक्षा थाँती राखेर छोराछोरीकै खातिर कष्ट खेप्छन् । आफ्नो पीडा लुकाएर छोराछोरीको खुसी खोज्छन् । आमाबुवा यस्ता व्यक्ति हुन्, जो छोराछोरीलाई आफुभन्दा सफल, सुखी र समृद्ध भएको देख्न चाहन्छन् ।

छोराछोरीलाई आमाले संसार देखाउँछन् । बुवाले संसार चिनाउँछन् । तर, त्यही संसारमा बाँच्न सक्ने भइसकेपछि छोराछोरीले आमाबुवालाई भुल्छन् ।

हिजो आमाबुवाले छोराछोरी कसरी हुर्काएका थिए ? आफु भोको पेट बसेर छोराछोरीलाई भरपेट ख्वाएका थिए होलान् । आफ्नो स्वाद भुलेर छोराछोरीको स्वादमा रमाएका थिए होलान् । आफ्नो व्यथा भुलेर छोराछोरीको स्वास्थ्यमा ख्याल गरेका थिए होलान् ।

आमाबुवाले छोराछोरीकै आँखाबाट आफ्नो भविष्य चिहाउँछन् । छोराछोरी सवल र सक्षम भएमा आफुले पनि सुख प्राप्त गर्न सकिन्छ भनेर सोच्छन् । त्यसैले छोराछोरी सवल र सक्षम हुन्छन्, आमाबुवा उत्तिनै सन्तुष्ट हुन्छन् । तर जति-जति छोराछोरी हुर्कदै जान्छन्, उनीहरु क्रमस आफुहरुसँग टाडिदै गएको आमाबुवाले अनुभूत गर्न थाल्छन् ।

छोराछोरी जति हुर्कदै, बढ्दै, पढ्दै र जान्नेबुझ्ने हुँदै जान्छन्, उनीहरुले आफ्ना आमाबुवालाई कमजोर आँक्न थाल्छन् । आफ्नो आमाबुवा आफुभन्दा पनि नजान्ने, नबुझ्ने रहेछन् भन्ने लाग्न थाल्छ । जबकी सानो छँदा उनीहरु सोच्थे, संसारमा मेरा आमाबुवा सबैभन्दा जान्ने र बुझ्ने हुन् । मेरो आमाबुवा नै सबैभन्दा दयालु छन् । मेरा आमाबुवा सबैभन्दा राम्रा छन् । तर, छोराछोरी हुर्कदै गएपछि उनीहरुको धारणा पनि फेरिदै जान्छ । आफ्नै आमाबुवा उनीहरुलाई कमजोर र निरिह लाग्न थाल्छ ।

हुर्केबढेका छोराछोरीले आमाबुवाप्रतिको प्रेम, समर्पण र श्रद्धा भुल्न थाल्छन् । उनीहरु जतिबेला पनि हतारमा हुन्छन् । आफ्नै दुनियामा मग्न हुन्छन् । उनीहरुलाई आमाबुवासँग बोल्ने फुर्सद हुँदैन ।

अहिले आमाबुवालाई पनि विरानो ठान्न थालिएको छ । बेलाबखत भेट्ने र औपचारिकता पुरा गर्न थालिएको छ । आमाबुवासँगको सम्बन्ध कृतिम र देखावटी हुँदैछ ।

हाम्रो संस्कार अनुसार आमाबुवा ईश्वरका प्रतिरुप हुन् । आमाबुवालाई सुखी र खुसी तुल्याउनु नै सन्तानको पहिलो दायित्व हो । आमाबुवाले हिजो जसरी निस्वार्थ भावले आफ्नो लालनपालन गरेका थिए, तिनै आमाबुवा बुढाबुढी भएपछि स्यहारसुसार गर्नुपर्छ । आमाबुवालाई आदर, सम्मान र श्रद्धा दिनुपर्छ ।

आमाबुवा बुढाबुढी हुँदै गएपछि उनीहरुको शक्ति, जाँगर सेलाउँदै जान्छ । काम वा श्रम गर्न असमर्थ हुन्छन् । यहिबेला रोगले पनि च्याप्न थाल्छ । औषधी र उपचार गर्नुपर्ने हुन्छ । बुढ्यौलीमा मान्छेका रहर, इच्छाहरु पनि रहँदैन । मन लागेको गर्न सक्दैनन्, मिठो लागेको खान सक्दैनन्, जान चाहेको ठाउँमा जान सक्दैनन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो सन्तानको दरिलो  र प्रेममय साथ चाहिन्छ ।



source https://www.onlinekhabar.com/2019/08/785009

बालुवाटार जग्गा किनबेचमा न्यायाशीश कुमार रेग्मी पनि संलग्न

१७ साउन, काठमाडौं । आजका दैनिक पत्रिकाका फ्रन्टपेजमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कान्तिपुरले बालुवाटार जग्गा किनबेचमा सर्वोच्च अदालतका न्यायाशीश कुमार रेग्मी पनि संलग्न भएको समाचार छापेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले एनसेलका ३५ टावरमा आगजनी गरिएको समाचार र राजधानी दैनिकले १४ मंसिरमा उपनिर्वाचन गर्ने सरकारको निर्णय भनेर समाचार छापेको छ ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने २ लाखले रोजगारी पाएको समाचार छापेको छ ।

रेग्मीले मीनबहादुरसँग किनेका थिए बालुवाटारको जग्गा

कान्तिपुरले सर्वोच्चका न्यायाधीश कुमार रेग्मी पनि बालुवाटारको सरकारी जग्गा किनबेचमा संलग्न भएकोबारे लेख्छ, ‘तत्कालीन कानुन व्यवसायी कुमार रेग्मीले २०६१ माघ ११ मा तीन कित्ता जग्गा मीनबहादुर गुरुङबाट किनी साढे दुई वर्षपछि टुक्रा टुक्रा पारेर बेचेका थिए ।’

कान्तिपुरसँग कुराकानी गर्दा रेग्मीले जग्गा किनेको स्वीकार पनि गरेका छन् । रेग्मीका अनुसार मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा उनी कानुनी सल्लाहकार थिए । कानुनी सल्लाहकार भएर काम गरेको पैसा लिन बाँकी रहेकाले मीनबहादुर गुरुङसँग जग्गा लिएको रेग्मीको भनाइ छ ।

रेग्मीले भनेका छन्, ‘अलअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँग धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक-दुई वर्षमै बिक्री भइहाल्यो । जति टुक्रा थियो, त्यति नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको भएकाले नाफा होला भनेर लगानी गरेको हो ।’

कर्मचारी नेपाली, तलब भारतबाट !

कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएका छन् ।’

कोसी योजनाका सम्पर्क अधिकृत सन्तोषकुमार चोङबाङ र गण्डक योजनाका अधिकृत तारा सिंहको तस्वीरसहित समाचारमा लेखिएको छ, ‘कतिसम्म भने सिंहसहितका नेपाली कर्मचारी बस्ने सम्पर्क कार्यालय पनि बिहार, पश्चिम चम्पारण जिल्लाको वाल्मीकिनगरमा राखिएको छ । कोसी योजनाको सम्पर्क कार्यालय भने विराटनगरमा छ ।’

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आएका बेला सम्पर्क अधिकृतद्वय चोङबाङ र सिंहले कान्तिपुरसँग भनेका छन्, ‘यो कोसी र गण्डक सम्झौतामा भएकै प्रबन्धअनुसारको व्यवस्था हो । आफ्नो राष्ट्रको हकहित र भलाइका लागि तोकिएको योजनामा काम गर्न पनि भारत सरकारको तलब खाइरहेको व्यवस्था सुहाउँदिलो छैन, यो आर्थिक भार नेपाल सरकारले बेहोर्नुपर्‍यो भन्नका लागि सिंहदरबार आएको हुँ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताउँदै आसन्न दुई देशीय परराष्ट्र मन्त्रीस्तरीय बैठकमा यसबारे कुरा उठाउने प्रतिबद्धता जनाएका छन् ।



source https://www.onlinekhabar.com/2019/08/785067

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More