Tuesday, 1 October 2019

आजबाट देशैभर फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवाको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ ।

यो सेवा विस्तारका लागि सरकारले ०७५ माघ २० मा चीनको जेडटीई कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यस्तै, हङकङको सीसीएसआईलाई नेटवर्क १ र नेटवर्क २ को जिम्मा दिइएको थियो । यी कम्पनीले १ वर्षभित्रै सबै स्थानमा नेटवर्क विस्तार गरिसक्ने गरी काम गरिरहेको नेपाल टेलिकमको भनाइ छ ।

टेलिकमले यसलाई हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको भएको दाबी गरेको छ । सबै वस्तीहरूमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म यो महत्त्वपूर्ण रहने टेलिकमको भनाइ छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ ।

फोरजी सेवाको प्रयोगले उच्च गतिको इन्टरनेट सेवा सञ्चालनमा आएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत श्र्रव्यदृश्य तथा विद्युत्तीय माध्यमबाट शिक्षा, स्वास्थ्य, समाजिक सेवाहरू र मनोरञ्जनलगायतका सेवा प्रभावकारी हुने ठानिएको छ । भिडियोलगायतका सेवा प्रवाह गर्न पनि यसबाट सहज हुनेछ ।



source https://www.onlinekhabar.com/2019/10/800760

टोटनह्यामको पोष्टमा बायर्नको सात गोल, सर्जको ह्याट्रिक

१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहृयाम जर्मन क्लब बायर्न म्युनिखसँग फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहृयाम ७-२ गोलअन्तरले पराजित भएको हो ।

बायर्नका लागि सर्ज गनाब्रीले ह्याट्रिकसहित चार गोल गरे । सर्जले आर्सनलबाट फुटबल करियर सुरु गरेका थिए ।

त्यस्तै, रोबेर्टो लेवान्डोस्कीले दुई र जोशुआ किमिचले एक गोल गर्न सफल भए । यता, टोटनहृयामका लागि सन हेयुङ मिन र हृयारी केनले समान १-१ गोल गरे ।

खेलको १२औं मिनेटमा सन हेयुङ मिनले गोल गर्दै टोटनहृयामका लागि अग्रता दिलाएका थिए । तर यो अग्रता धेरैबेर टिकेन । खेलको १५औं मिनेटमा नै किमिचले गोल गरेपछि बायर्नले १-१ गोलको बराबरी बनायो । खेलको ४५औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफसम्म बायर्न २-१ गोलले अघि रहृयो ।

खेलको ५३औं र ५५औं मिनेटमा सर्ज गनाब्रीले गोल गरेपछि बायर्न टोटनहृयाममाथि ४-१ गोलअन्तरले अघि रहृयो । तर खेलको ६१औं मिनेटमा केनले पेनाल्टीबाट गोल टोटनम्यामलाई ४-२ गोलको स्थितिमा ल्याए । यसपछि खेलको ८३औं र ८८औं मिनेटमा गनाब्री र ८७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले टोटनहृयाममाथि ७-२ गोलको फराकिलो जित निकालेको हो ।

 



source https://www.onlinekhabar.com/2019/10/800759

रियल मड्रिड ब्रुगससँग बराबरीमा रोकियो

१५ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा बेल्जियम क्लब ब्रुगससँग बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको समूह ‘ए’ को खेलमा रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे ।

पहिलो हाफमा नै दुई गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरीमा सकाएको हो । खेलको नवौं मिनेटमा डेनिसले गोल क्लब ब्रुगसलाई अग्रता दिलाए । उनले खेलको ३९ औं मिनेटमा अर्को गोल थप्दै रियल मड्रिडविरुद्ध २-० गोलको अग्रता दिलाए ।

५६ औं मिनेटमा रामोसले गोल गर्दै रियललाई २-१ गोलको स्थितिमा ल्याए । ८४औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्लब ब्रुगस १० खेलाडीमा सीमित भएको थियो । यसको एक मिनेटपछि अर्थात खेलको ८५औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गरेपछि रियलले क्लब ब्रुगससँग २-२ गोलको बराबरी खेलेको हो ।

यसै समूहमा भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेनले गलतासारेलाई १-० गोलअन्तरले पराजित गरेको छ ।



source https://www.onlinekhabar.com/2019/10/800757

पेरुका राष्ट्रपतिद्वारा संसद विघटन

१४ असोज, काठमाडौं । राजनीतिक संकट गहिरिएपछि पेरुको संसद बिघटन भएको छ । राष्ट्रपति मार्टिन भिजकाराले संसद विघटन गरी ताजा निर्वाचनका लागि आहृवान गरेका छन् ।

त्यसअघि संसदले ‘नैतिक अक्षमता’ रहेको भन्दै राष्ट्रपति भिजकारालाई हटाएर उपराष्ट्रपति मर्सिडेज आराओजलाई कार्यवाहक राष्ट्रप्रमुख बनाउने घोषणा गरेको थियो ।सभामुख पेड्रो ओलेचाले संसदको बैठक शुक्रबारका लागि डाकिएको र त्यसले राष्ट्रपति भिजकारालाई पदबाट हटाउने जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भिजकाराले संसदसँग पटक-पटक संघर्ष गर्नु परिरहेको छ । संसदमा केइकी फुजिमोरी नेतृत्वको पपुलर फोर्स पार्टी बहुमतमा छ । तर, फुजिमोरी आफैं पनि भ्रष्टाचारको आरोपमा जेलमा छिन् । केइकी पूर्वराष्ट्रपति अलबर्टो फुजीमोरीकी छोरी हुन् ।

राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशको छनौटको विधि परिवर्तन गर्न नचाहेको भन्दै संसदको आलोचना गर्दै आएका थिए । यी दुई विषयलाई लिएर राष्ट्रपति र संसदबीच लामो समयदेखि विवाद र असमझदारी थियो ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेको केहीपछि नै संसदले राष्ट्रपतिलाई नै एक वर्षका लागि निलम्बित गर्ने गरी मतदान गरेको थियो ।

विपक्षी सांसदहरुले आफूहरु सत्ता विद्रोहको अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी अहिले सत्ताविद्रोहको अवस्थामा छौं,’ विपक्षी सांसद जोर्ज डेल कास्टिल्लोले भने, ‘मुलुकको सशस्त्र फौज र प्रहरी राजनीतिकर्मीहरुको यस खेलबाट टाढै रहने मेरो विश्वास छ ।’

यो घटना पनि पेरुमा वर्षौंदेखि जारी राजनीतिक विवादकै एक श्रृंखलाका रुपमा देखिएको विश्लेषकहरुले टिप्पणी गरेका छन् ।



source https://www.onlinekhabar.com/2019/10/800748

मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डाको पूजा आज

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो । कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ ।

पूर्वीय मान्यता अनुसार लौका र कुपिण्डो केवल महाज्ञानी वा विद्वान ब्राह्मणको भोजन हो । अरु कुनैपनि वर्गका मानिसलाई यसको सेवनको अनुमति छैन । वैज्ञानिक दृष्टिले हेर्ने हो भने लौका र कुपिण्डोलाई प्राणशक्ति, बुद्धि र शारीरिक शक्ति बढाउने स्रोतको रुपमा मान्ने गरिन्छ । विभिन्न धर्मशास्त्रहरुले कुपिण्डोको बारेमा व्याख्या गरेका छन् ।

जसमा कतै यसले प्राणलाई आफूभित्र सोस्ने गरेको उल्लेख पाईन्छ भने कतै यसले प्राणलाई प्रसार गर्ने कुरा समेत उल्लेख गरिएको छ । धर्तीको सबैभन्दा अधिक प्राणवान तथा उर्जा प्रदान गर्नेवाला फल कुपिण्डो हो । जसरी पिपलको वृक्षले २४ घण्टा नै अक्सिजन दिने गर्दछ । त्यसै प्रकार लौका तथा कुपिण्डोले प्रचुर मात्रामा ऊर्जालाई ग्रहण या अवशोषित गरेर उसको प्रसार गर्ने गर्दछ ।

धार्मिक मान्यता

धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ । यो धार्मिक मान्यतालाई विज्ञानसँग जोड्दा मृत्यु, रोग र कमजोरीको समस्या समाधान गर्ने एउटै जडिबुटी कुपिण्डोको सेवन तर्फपनि यसले संकेत गरेको हो कि भन्ने विश्वास गर्न सकिन्छ ।

आफ्नो मदमाधुर्यको बलले अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको भन्ने अर्को तर्कपनि पाईन्छ । संस्कृत शब्द कुष्माण्डाको नेपाली नाम कुपिण्डो हुन्छ । ब्रह्माण्ड नै उत्पत्ति गरेको भन्ने अर्थमा यिनलाई आदिदेवी वा आदिरुपापनि भन्ने गरिन्छ । सूर्यमण्डल भित्र बस्ने यी देवीको आठ ओटा हात रहेको मानिन्छ । जसमा कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । एउटा हातमा भने सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ ।

कुष्माण्डाको पूजा विधि

सबैभन्दा पहिले कलश र उसमा स्थापना गरिएको नवदूर्गा एवं अरु भगवानहरुको पूजा गर्नुपर्दछ । त्यसपछि कुष्माण्डा देवीको पूजा गर्नुपर्दछ । पूजाको विधि सुरु हुनुभन्दा पहिले हातमा फूल लिएर देवीलाई प्रणाम गर्नुपर्दछ । त्यसपछि व्रत, पूजनको संकल्प गर्नुपर्दछ । त्यसपछि वैदिक एवं दूर्गा सप्तशती मन्त्रद्वारा कुष्माण्डा सहित समस्त स्थापित देवताहरुको षोडशोपचार विधिद्वारा पूजा गर्नुपर्दछ।

यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, बेसार, सिन्दूर, दुवो, बेलपत्र, आभूषण, पुष्पाहार, सुगन्धित द्रव्य, धूप९दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गर्नुपर्दछ। तत्पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गर्नुपर्दछ ।

कुषमाण्डाको ध्यान मन्त्र

वन्दे वांछित कामर्थे चन्द्रार्घकृत शेखराम्।
सिंहरूढ़ा अष्टभुजा कूष्माण्डा यशस्वनीम्॥
भास्वर भानु निभां अनाहत स्थितां चतुर्थ दुर्गा त्रिनेत्राम्।
कमण्डलु, चाप, बाण, पदमसुधाकलश, चक्र, गदा, जपवटीधराम्॥
पटाम्बर परिधानां कमनीयां मृदुहास्या नानालंकार भूषिताम्।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल, मण्डिताम्॥
प्रफुल्ल वदनांचारू चिबुकां कांत कपोलां तुंग कुचाम्।
कोमलांगी स्मेरमुखी श्रीकंटि निम्ननाभि नितम्बनीम्॥

कुष्माण्डा देवीको स्तोत्र पाठ

दुर्गतिनाशिनी त्वंहि दरिद्रादि विनाशनीम्।
जयंदा धनदा कूष्माण्डे प्रणमाम्यहम्॥
जगतमाता जगतकत्री जगदाधार रूपणीम्।
चराचरेश्वरी कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरी त्वंहिदुःख शोक निवारिणीम्।
परमानन्दमयी, कूष्माण्डे प्रणमाभ्यहम्॥



source https://www.onlinekhabar.com/2019/10/800691

महराको राजनीति हरण गर्ने महिला जनयुद्धकी कार्यकर्ता

१५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकतामा परेको छ । केही पत्रिकाहरुले त यसैसँग सम्बन्धित कार्टुनसमेत छापेका छन् ।

एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले महरा आफ्नो ‘बाबुसमान व्यक्ति’ भएको भन्दै आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छिन् ।

महराले राजीनामा दिनुअघिका ४८ घण्टाका घटनाक्रम र राजीनामा दिइसकेपछि अबको प्रक्रियालाई आजका पत्रपत्रिकाहरुले सूक्ष्म ढंगले केलाउने प्रयास गरेका छन् ।

कान्तिपुरले ‘त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा लेखिएअनुसार घटना सार्वजनिक भएपछि भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपाली ती महिलाको कोठामा नगएको जिकीर महराले गरे ।

त्यसपछि सोधपुछका लागि अध्यक्ष प्रचण्ड आफैं गए । महराले त्यही कुरा दोहोर्‍याए । तर प्रचण्डले यस्ता ‘टालटुले जवाफले हुँदैन’ भन्दै प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्न बालुवाटारस्थित निवासमा पुगे । त्यहीँबाट ओलीले महरालाई फोन गरे । तर, महराले ‘ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन’ भनेर जवाफ दिए ।

ओलीले आफूसँग घटनाको सबै रिपोर्ट आइसकेकाले झूट नबोल्न भने । त्यसपछि भने महराले ‘म छानबिनका लागि बाटो खोलिदिन्छु,’ भनेको कान्तिपुरको समाचारमा उल्लेख छ । लगत्तै बसेको सचिवालय बैठकको निर्णयको आधारमा महराले राजीनामा दिएका थिए ।

नेपाल समाचारपत्र दैनिकले महराको राजीनामासँगै नयाँ सभामुखको चर्चा सुरु भएको समाचार लेखेको छ । साथै ‘महराको राजनीति हरण गर्ने महिला माओवादी जनयुद्धकी कार्यकर्ता’ शीर्षकको अर्को समाचार पनि समाचारपत्रमा छ ।

अन्नपूर्ण पोष्ट दैनिकले भने सभामुखको उधारो राजीनामा’ शीर्षकमा समाचार लेखेको छ भने नागरिक दैनिकले महराको राजनीतिक भविष्य नै अन्योलमा परेको समाचार छापेको छ ।



source https://www.onlinekhabar.com/2019/10/800746

‘जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ’

१५ असोज, काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो ।

जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ ।

भारतले २० साउनमा संविधानको धारा ३७० खारेज गर्दै जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो । विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवासमेत बन्द गराइएको थियो ।

अहिलेसम्म पनि जम्मु कश्मीरको अवस्था सामान्य हुन सकेको छैन । लोकतन्त्र र मानवअधिकारलाई कुण्ठित गरेको भन्दै भारतको अन्तर्राष्ट्रियस्तरमा विरोध भइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/10/800743

Monday, 30 September 2019

जिम्बाब्वेविरुद्ध जित हात पार्ने लक्ष्यमा नेपाल

१४ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ ।

अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भने सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेलमा पनि जिम्बाब्वेलाई पराजित गर्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यलाई बलियो बनाउने दाउँमा छ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले लिग चरणको अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।



source https://www.onlinekhabar.com/2019/10/800570

बालुवाटारमा नेकपाको शीर्ष छलफल, सचिवालय बैठक बस्दै

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

मंगलबार विहानै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने संकेत गरेका छन् ।

यसबारे छलफल गर्न सचिवालय बैठक विहान ११ बजे बोलाइएको नेकपाले जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800568

डोटीमा खुलेनन् सुपथ मूल्यका पसल

१४ असोज, डोटी । जिल्लाका प्रमुख व्यापारी केन्द्र दीपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन् । सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएभन्दा महँङ्गो मूल्यका सामान किन्न बाध्य छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दीपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । सुपथ मूल्यको पसलमा आवश्यक पर्ने चिनी, नुनलगायतका खाद्यान्न दीपायलका लागि ढुवानी ठेक्का कसैले पनि नहालेका कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेशन उपशाखा कार्यालयले जनाएको छ ।

साल्टट्रेडिङ उपशाखाले सुपथ मूल्यको पसल सञ्चालन नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । साल्ट ट्रेडिङले पसल नचलाउने नाममा विभिन्न बाहना देखाउन थालेको पूर्वउद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘ढुवानी ठेक्का नहुँदा पसल नचलाएको भन्नु साल्ट ट्रेडिङ कर्पोरेशनको गैरजिम्मेवार भनाइ हो, नागरिकले पाउने सुविधाबाट बञ्चित गराउनु गलत छ ।’

बजारमा हाल चिनी रु ९५ र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । दशैँमा बजारमा व्यापारीले आफूखशी मनपरी रकम असुल गर्न थालेको स्थानीयवासी भरतबहादुर विकले बताए । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुपथ मूल्यको पसल सञ्चालन नभएको विषयमा आवश्यक जानकारी लिई सञ्चालन गर्न पहल गर्ने बताए ।

यतिमात्र नभई गत वर्ष खरीद गरिएको चिनीको मूल्य निर्धारण अर्थात् रकम नतोकिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनले खरीद गरी ल्याएको चिनीसमेत गोदाममै थन्किएको छ । गत वर्ष यहाँका केही स्थानीय तहले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि यो वर्ष सञ्चालन हुन सकेका छैनन् ।



source https://www.onlinekhabar.com/2019/10/800564

सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना

१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।

नेकपाका एक शीर्ष नेताका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’

यो पनि पढ्नुहोस सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्नेबारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपतिसमक्ष राजीनामा दिने सम्भावना पनि छ ।

बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ । तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।

सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरूले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।

यो पनि पढ्नुहोस गगन थापा भन्छन्- सभामुखको केस रफादफा हुनुहुँदैन

source https://www.onlinekhabar.com/2019/10/800561

भरतपुर कारागारका कैदीको उपचारका क्रममा मृत्यु

१४ असोज, चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो ।

अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो । उनको उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2019/10/800563

चाडपर्व विकृतिरहित ढंगले मनाऔं : मुख्यमन्त्री पौडेल

१४ असोज, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने बताएका छन् । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गरे । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उनको भनाइ थियो ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा मंगलबार आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए । उनले प्रदेश नम्बर ३ संघको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सदभाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए । विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उहाँले देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्व जिल्ला सभापति तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रामेश्वर राणा, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाली सेना प्रदेश प्रमुख, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतलगायतले विजयादशमीका अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।



source https://www.onlinekhabar.com/2019/10/800560

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More