Saturday, 1 February 2020

मड्रिड डर्बीमा रियल विजयी, बेन्जिमाको गोल निर्णायक

१९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिवार भएको मड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी बढाएको छ । करिम बेन्जिमाले गरेको एकमात्र गोल मद्दतमा रियलले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गोल गरेको हो । बेन्जिमाले ५६औ मिनेटमा फरलान्ड मेन्डीको पासमा गोल गरेका थिए । त्यही गोल निर्णायक बन्दा रियलले ३ अंक जोडेको हो ।

जितपछि रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनमाथि ४ अंकको स्पष्ट अग्रता बनाएको छ । २२ खेलबाट ४९ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ४३ अंकसहित दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/02/832996

लिभरपुललाई २२ अंकको अग्रता, उपाधि जित्न २० अंक आवश्यक

१९ माघ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीमाथि २२ अंकको अंग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। लिगअन्तर्गत शनिवार साउथह्याम्पटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले २२ अंकको फराकिलो अग्रता बनाएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । रोवर्टो फिर्मिनोले असिस्टको ह्याट्रिक गरे ।

पहिलो हाफमा साउथह्याम्पटनले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो। तर लिभरपुले दोस्रो हाफमा गोल गर्यो । ४७औं मिनेटमा रोवर्टो फिर्मिनोको पासमा च्याम्बरलाइनले गोल गर्दै अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा हेन्डरसनले अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हेन्डरसनको पासमा सलाहले गोल गर्दै अग्रतालाई ३-० बनाए । ९० मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । यस पटक पनि फिर्मिनोले नै असिस्ट गरेका थिए ।

जितपछि २५ खेलबाट लिभरपुलले ७३ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा छ। लिभरपुलले अब १३ खेल खेल्न बाँकी छ। यस्तोमा लिभरपुलले २० अंक जोडेपनि उपाधि जित्नेछ ।

प्रिमियर लिगमै शनिवार भएको खेलमा दुई पूर्व विजेता चेल्सी र लेस्टर सिटीले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि लेस्टरको २५ खेलबाट ४९  र चेल्सीको उति नै खेलबाट ४२ अंक छ । लेस्टर तेस्रो र चेल्सी चौथो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/02/832992

छापामा आज : तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाव

१९ माघ, काठमाडौं । चीनमा रहेका विद्यार्थी फर्काउन सरकारले थालेको पहल र नेकपाको जारी केन्द्रीय समिति बैठक आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन अमेरिकाले दिएको दबाव, बढ्दो व्यापार घाटालगायत विषय पनि समेटिएका छन् ।

‘तिब्बतीलाई ट्राभल डकुमेन्ट दिन अमेरिकी दबाब’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृह मन्त्रालयलाई दबाव दिएको समाचारमा उल्लेख छ ।

‘दूतावासले परराष्ट्र हुँदै गृह मन्त्रालयलाई पत्र पठाएर र गृहका अधिकारीलाई पटकपटक भेटेरै ६ जना शरणार्थीलाई अमेरिका लैजानका लागि कागजात बनाइदिन दबाव दिएको छ,’ कान्तिपुर समाचारमा लेखिएको छ ।

दूतावासले गत अगस्टको सुरुमै १९ वर्षीया छेतेन छेजोमसहितका नाममा अनुमतिपत्र जारी गरिदिन परराष्ट्रमार्फत गृहलाई पत्र पठाएको समाचारमा लेखिएको छ । पत्रमा नाम उल्लेख गरिएकाको राष्ट्रियता तिब्बतियन लेखिएको जनाइएको छ ।

गृहले दूतावासको मागअनुसार तिब्बती शरणार्थीका नाममा अनुमतिपत्र दिन इन्कार गरेको छ । गृहले नमानेपछि अमेरिकी दूतावासका कन्सुलर माइकल ई. म्युसीले गृहका अधिकारीसँग भेटेर यात्रा अनुमतिपत्र जारी गरिदिन दबाव दिएको समाचारमा उल्लेख छ ।

नोवल कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजीमा लागेको अर्को खबर पनि कान्तिपुरमा छ ।

‘चीनको वुहानबाट नेपालीलाई यसरी फर्काइँदै छ’ शीर्षकमा नयाँ पत्रिकाले समाचार छापेको छ । समाचार अनुसार हुबेईका चार सहरबाट नेपालीलाई वुहानसम्म बसमा र त्यहाँबाट नेपाल एयरलाइन्सको विशेष विमानमा स्वदेश ल्याउने तयारी सरकारले गरेको छ । चीनबाट फर्काइएका नागरिकलाई अन्य देशले कसरी राखेका छन् भन्नेबारे पनि नयाँ पत्रिकाले सोधीखोजी गरेको छ ।

साहुकार रामबाबुले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको समाचार पनि नयाँ पत्रिकामा छापिएको छ ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको कडा आलोचना भएको नागरिकले लेखेको छ । समाचार अनुसार दलाल पुँजीपतिको घेराबन्दीमा नेताहरू परेको आरोप केन्द्रीय सदस्यहरूले लगाएका छन् ।

नागरिकले जस्तै अन्नपूर्णले पनि नेकपा केन्द्रीय समिति बैठकमा सरकारको चर्को आलोचना भएको लेखेको छ । चीनबाट नेपाली फर्काइन लागेकोदेखि सामाजिक सञ्जालको विज्ञापन भुक्तानीमा गरिएको नियन्त्रणसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छापिएको छ ।



source https://www.onlinekhabar.com/2020/02/832982

नेताज्यू, नमस्कार !

चुनावका बेला १० औंला जोड्दै भोट माग्न आउनुभएको थियो । चुनावी सभामा अनेक वाचा गर्नुभएको थियो । मतदाता सामु गिड्गिढाउनुभएको थियो । तपाईंले मन्द मुस्कान छर्दै भीडतर्फ हात हल्लाएको दृश्य म कहाँ बिर्सन सक्छु ? अझ तपाईंले भीडमा अगाडि बढ्दै दरिलो हात मिलाएको दृश्य त कम रोमाञ्चक थिएन ।

चुनाव सम्पन्न भयो । तपाईंले चुनाव जित्नुभयो । हो, साँच्चै मैले तपाईंलाई भोट दिएको थिएँ । जसले तपाईंलाई भोट दिएका थिएनन्, तिनले पनि सन्तोषको सास फेरेका थिए । आखिर चुनाव शान्तिपूर्वक सम्पन्न

भएको थियो । विपक्षी उम्मेदवारले पनि तपाईंलाई बधाई दिएका थिए । अंकमाल गरेको फोटो पनि पत्रिकामा छापिएको थियो ।

चुनावपछि तपाईं काठमाण्डौं जानुभयो । हो, तपाईंलाई राजधानी पठाउन जिताएको हो, त्यहीँ जानुभयो । तर, त्यहाँ गएर चाँहि के गर्दै हुनुहुन्छ ? तपाईंको शुभचिन्तकको नाताले मेरो चासो मात्र हो ।

त्यसो त म पनि यही काठमाडौं खाल्डोभित्रै छु । सर्वसाधारण नेपालीका छोराछोरीले उच्च शिक्षा हासिल गर्न यही काठमाडौं आउनैपर्‍यो । उच्च शिक्षा पश्चात अलिअलि भएको अवसर यही काठमाडौं मै छ । कि त विदेश भासिनुपर्‍यो । मलाई काठमाडौंको भीडभाड, धूलो, धूँवामा निस्सासिनु पर्दा काठमाडौं वरिपरिका हरिया पहाड पनि जेलको भित्ताजस्तै लाग्छ । म र मजस्ता धेरै मानिसहरुलाई आफ्नो गाउँघर प्यारो भए पनि काठमाडौं खाल्डोमा जाकिनुपरेको छ ।

नेपालले २०६२ सालमा लोकतान्त्रिक छलाङ्ग मारेपछि संसदले ६०१ जना सदस्यको जम्बो आकार लियो । त्यो जम्बो संसद सिंहदरबारभित्र चन्द्र शमसेरको नाचघरमा अटाएन । धन्य, चीनले दानमा बनाई दिएको अन्तराष्ट्रिय सम्मेलन भवनमा जम्बो संसद अटायो ।

आफूले भोट दिएर जिताएको साँसद भनेपछि मतदातालाई केही आशा त भैहाल्दोरहेछ । आफू यता काठमाडौंमा, गाउँघरतिर के छ भनेर हालखबर बुझ्यो- के हुनु जस्ताको तस्तै । म झापा जिल्ला निर्वाचन क्षेत्र नं. १ को मतदाता हुँ । २००८ सालमा नगरपालिका बनेको भद्रपुर, कालान्तरमा मृत शहरमा परिणत भयो । मेची पुल बनेपछि भद्रपुर बौरिने आशा थियो । हाल भद्रपुरमा मेची नदीमाथि पुल निर्माण सम्पन्न भएको छ । दशकौंपछि भद्रपुरवासीको सपना साकार भयो । तर, मेची पुलबाट सवारीसाधन चलेको छैन ।

बरु नवनिर्मित मेचीपुल सेल्फी खिच्ने ठाउँ बनेको छ । हात्ती आयो, हात्ती आयो फुस्सा भन्ने नेपाली उखान छ । तर, हाम्रो गाउँघरतिर हात्ती आएर उत्पात मच्चाएको खबर आइरहन्छ । विद्युतीय तारबार लगाए पनि जंगली हात्ती गाउँघर, खेतबालीमा आउन छोडेको छैन ।

लोकतान्त्रिक व्यवस्थामा आफूले भोट दिएर जिताएको साँसद आफ्नो प्रतिनिधी हो । त्यसैले साँसद जस्तो व्यक्ति आफ्नो लागि पि्रय हुने नै भयोे । शायद, उहाँ अति व्यस्त हुनुहुन्छ होला । देश विकास र जनताको भलाईमा गम्भिर चिन्तन मनन्मा हुनुहुन्छ होला । त्यसैले मैले साँसदज्यूको मोबाइल नम्बर पत्ता लगाएँ । फोन गरेँ, सम्पर्क भए त मरीजाउँ ।

म पनि लागेपछि, एकोहोरो लाग्ने मान्छे परेँ । बारम्बारको प्रयासपछि उताबाट साँसदज्यूको वाणी सुन्न पाएँ- के थियो होला, अहिले व्यस्त छु, पछि कल गर्छु है । पछि भनेको कहिले कुन्नि ? अहिलेसम्म कल गर्नु भाको छैन । त्यसो त जागिर, सरुवा आदि इत्यादि भनसूनको लागि नेतालाई फोन आएर धुरुक्कै पार्छ होला । तर, पनि मतदाताले आफ्ना जनप्रतिनिधिसँग भेटन किन यति सारै गाह्रो ? आफ्ना मतदातासँग संवाद अन्तरक्रिया गर्ने नियमित कार्यक्रम नै राख्न मिल्दैन र ? आजकल संचारका सर्वसुलभ माध्यम पनि छन् । कि जनतासँग भेटघाट अर्को चुनावमा मात्र हो ?

बानेश्वरतिर काम परेर कहिलेकाँही जाँदा आफ्नो पि्रय साँसदसँग भेट भैहाल्छ कि भनेर यसो आँखा घुमाउँछु । म अभागी रहेछु । बरु द्वन्द्वकालमा नै चिनजान भएका दुई माओवादी कार्यकर्ताहरुसँग बानेश्वर चौकमा जम्काभेट भयो, जो दौरासुरुवालमा ठाँटिएका थिए । आफ्नो सांसद नभेटे पनि कुनै न कुनै सांसदलाई भेटेँ भनेर म उत्साहित भएँ । अदब साथ नमस्कार गरेँ, अनि माननीयज्यू, के छ हालखबर भनेर सोधेँ । तर, मेरो अनुमान फेल खाएछ । संसद भवनलाई देखाउँदै हामी त त्यहाँभित्र छैनौं पो भन्छन् । हो र ? म अक्कमकिएँ । हाम्रो नम्बर अलि पुगेन भन्दै उनीहरु लस्किए ।

आफ्नो सांँसदलाई भेट्ने प्रयास असफल भएपछि, अर्का एक झापाली साँसदलाई मैले निशाना बनाएँ । उनी सानो पार्टीका नेता भए पनि चुनावी तालमेल गरेर साँसद जितेका छन् । एकदिन अपरान्ह बानेश्वरको कफीसपमा उनी लगायत पाँच/छ जनाको समूहमा भलाकुसारी गर्ने मौका मिल्यो । नेपालको सुदूरपूर्वी दक्षिण कुनामा अवस्थित जलथल जंगललाई वन्यजन्तु आरक्ष बनाउन सकिन्छ कि भन्ने छलफलको विषय थियो । अचम्मको जैविक विविधता बोकेको ६४ सय हेक्टरमा फैलिएको जलथल जंगल साँच्चै वन्यजन्तु आरक्ष बनाउन लायक ठाउँ छ । कुनै जंगललाई आरक्ष बनाउने विषय सजिलो छैन । जेहोस् साँसदले कुरा चाँहि राम्ररी सुनिदिए । अनि म र मेरा साथीहरुलाई के लाग्यो भने मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भने जस्तै नेता ठूलो विचार/व्यवहारले हुन्छ, पार्टीले हुँदैन ।

त्यसपछि साँसदका पराजित उम्मेदवारलाई पनि भेटौं न त भन्ने मेरो मनसुवा भयो । आखिर उनी प्रतिपक्षी दलका प्रवक्ता पनि हुन् । म साथीहरुसँग बल्खु पुगेँ । नेपाली काँग्रेस पार्टीको मुख्यालय सुनसान थियो । पार्टी सत्तामा नहुँदा पद, पैसा, पावरका आँकाक्षीहरुको भीड नलाग्नु अनौठो होइन । जेहोस् विश्वप्रकाश शर्मासँग सजिलै भेट भयो । उनीसँग कालो चिया खाँदै भलाकुसारी गरियो । विषय उही जलथलको जंगल । छलफलअनुसार काम अघि बढोस् वा नबढोस् । हामीले आफ्ना कुरा राख्ने अवसरचाँहि पायौं ।

मेरो यो गन्थनको आशय के हो भने लोकतन्त्रमा नेता र जनताबीच संवाद हुनु जरुरी छ । निर्वाचित जनप्रतिनिधि होस् वा पार्टीका जिम्मेवार नेता जनसाधारणसँग सम्पर्कमा रहनु पर्छ । जनप्रतिनिधी/नेता स्थानीय, क्षेत्रीय वा राष्ट्रियस्तरका जेसुकै हुन्, आफ्नो कार्यक्षेत्रमा समय दिनु, जनताको राय लिनु, पीरमर्का सुन्नु, छलफल चलाउनु जस्ता गतिविधिले लोकतन्त्रलाई बलियो बनाउँछ । के लोकतन्त्र भनेको ५ वर्षमा एकपटक भोट हाल्नु, जित्नेले शासन चलाउनु मात्र हो र ? त्यसैगरी, ५ वर्ष हार्नेहरु खुम्चिएर बस्नु मात्र हो र ?

नेपालस्थित विदेशी राजदूतहरु सर्वसाधारण नेपालीहरुसँग संवाद अन्तरक्रिया गर्न थालेका छन् । अमेरिकी राजदूत महोदयले फरर्र नेपालीमा बोलेको भिडियो फेसबुकमा पाइन्छ । उता चिनियाँ राजदूत महोदया सार्वजनिक कार्यक्रममा नाचेर, फोटोशेसन गरेर नेपाली जनताको मन जित्दैछिन् । हाम्रा नेताहरु चाँहि आफ्नै कार्यकर्ताबाट घेरिएर बस्न रुचाउँछन् ।

मेरो अनुभवमा नेता भेटन पनि त्यही कार्यकर्ताको घेरोले नदिने रहेछ । दशैंतिहार -छठ, ल्होसार सहित) को शुभकामना आदानप्रदान कार्यक्रम राखिन्छ । एकतर्फी भाषण मात्र सुनाउँछन् । यो त उही सामन्ती पारा भएन र ? अहिलेका जनतालाई नेताले भेडा नै ठानेका छन् क्या हो ? मलाई मात्र यस्तो लागेको हो कि, अरुलाई चाँहि कस्तो लाग्छ कुन्नि ?

जेहोस् हाम्रा नेताज्यूहरु साना, ठूला, जितुवा, हरुवा, पार्टीका, युनियनका, माओवादी, समाजवादी, राजावादी आदि-इत्यादि सबैलाई मेरो जनही एक-एक थान नमस्कार !



source https://www.onlinekhabar.com/2020/02/832929

ईश्वरबल्लभको अधुरो सपना

आयामेली त्रिमूर्तिर्मध्ये एक ईश्वरवल्लभलाई मैले ०३६ सालमा दीपज्योति मासिक पत्रिकाका लागि अन्तरवार्ता लिने सिलसिलामा पहिलोपल्ट उनकै तत्कालीन अफिस परिवार नियोजन संघको कार्यालयमा भेटेको हुँ । त्यतिवेला परिवार नियोजन संघको अफिस राष्ट्रिय नाचघरको उत्तरपटि्टको एटटा भवनमा थियो ।

ईश्वरवल्लभको कोठा भर्‍याङमाथि थियो । सोधखोज गर्दै म त्यहाँ पुगेको थिएँ । उनी पहिलो भेटमै आत्मीय लागे । चिया खुवाए र तत्कालै ‘एउटा शहरको किनारामा’ कविता सङ्ग्रह हस्ताक्षर गरेर उपहार पनि दिए । अनि साँझ राष्ट्रिय नाचघरको मूलगेटमा भेट्ने र कतै बसेर अन्तरवार्ता गर्ने सल्लाह भयो ।

साँझ उनी अफिस छुटेर आउँदा म राष्ट्रिय नाचघरको गेटमा कुरिरहेको थिएँ ।

उनले असन कमलाक्षीको एउटा मम दोकानमा लगे । मैले अन्तरवार्ता लिएँ । उनले दुईप्लेट मम र त्यतिखेर बजारमा पाइने उनको प्रिय ब्राण्ड “क्लियोपाट्रा” एक क्वार्टर पनि मगाए । अन्तरवार्ता सकिँदा मम र क्लियोपाट्राको क्वार्टर पनि सकिइसकेको थियो ।

त्यो अन्तरवार्ता दीपज्योति मासिकमा छापियो, ‘दालभातले अवकाश दिएका बेला लेख्ने कवि’ शीर्षकमा ।

त्यतिबेला भर्खरै बहुदलको पक्षमा सडक कविता क्रान्ति सम्पन्न भएको थियो र म त्यसमा संलग्न थिएँ । उनलाई सडक कविता क्रान्तिको विषयमा प्रश्न गर्दा उनले ‘म कवितालाई सडकभन्दा माथि उठाउन चाहन्छु’ भन्ने जवाफ दिएका थिए । त्यो जवाफ विवादास्पद भयो र त्यही जवाफका कारण उनी सडक कविता क्रान्ति विरोधीका रुपमा दर्ता भए ।

तर, हाम्रो सम्वन्ध भने त्यो अन्तरवार्तापछि प्रगाढ भयो । हामी नियमित भेटघाट गर्ने भयौं ।

मैले उनको ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ कविता सङ्ग्रह पढिसकेको थिएँ । उनले उपहारमा दिएको ‘एउटा शहरको किनारामा’ पनि पढिसकेको थिएँ । उनका कविता कठोर हुन्थे, बुझ्नै कठिन । तर पनि त्यो पढ्दा बेग्लैखालको मज्जा आउँथ्यो ।

दार्जीलिङमा शुरु भएको तेश्रो आयाम अर्थात् आयामेली आन्दोलनका त्रिमूर्तिमध्ये ईश्वरवल्लभ एक भए पनि उनी अब आयामेली आन्दोलनको आयु सकिएको कुरा गर्थे । बैरागी काईंला धुलाबारीमा चूपचाप बसेका थिए । दार्जीलिङबाट ईन्द्रबहादुर राई भने लीला लेखनको जोरजाम गर्दै थिए । त्यही छेकोमा ईश्वर वल्लभले काठमाडौंवाट ‘आठौं दशक’ भन्ने साहित्यिक आन्दोलन गर्ने कुरा उठाएका थिए । तर, उनी एक्लै थिए, सहयात्री थिएनन् र उनलाई पछ्याउनेहरु पनि थिएनन् । त्यसैले उनको त्यो ‘आठौं दशक’ को परिकल्पनाले सफलिभूत हुने अवसर पाएन ।

त्यहीबीच जीवन आचार्यको सम्पादन र रामेश्वर मानन्धरको प्रकाशनमा ‘आकुञ्चन’ नामक साहित्यिक पत्रिकाको शुरुवात भयो २०३६ सालमा ।

रामेश्वर मानन्धर काठमाडौंमा तत्कालीन समयमा निकै लोकप्रिय ममचा रेष्टुरेण्ट ‘ओके ममचा रेष्टुँरा’ का सञ्चालक थिए । एक दिन ईश्वरबल्लभले मलाई त्यस रेष्टुँरामा लगे । म कहिले काहीँ त्यहाँ ममचा खान जाने हुनाले परिचित रेष्टुँरा नै थियो । रामेश्वरले खाजा र ममचा अनि क्लियोपेट्राको क्वार्टरले स्वागत गरे ।

हामी त्यहाँबाट फर्कियौं । म कालिमाटीमा बस्थें, ईश्वरबल्लभ थापाथली कुरिया गाउँमा । हामी हिँड्दै त्रिपुरेश्वर आयौं । त्यतिबेला म त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्थें र त्रिपुरेश्वरको ट्रलीबस अफिसको छेउमा रहेको राम दाइको होटलमा बिहानको चिया, दिउँसो खाजा र साँझको खाना खाने गर्थें । त्यहाँ उधारो चल्थ्यो । मैले ईश्वरबल्लभलाई भनें, ‘दाइ, म त यहाँ भात खाने गर्छु, तपाईं पनि खाउँ ?’

गोविन्द गिरी प्रेरणा

‘हुन्छ भाइ ।’ उनले भने ।

हामीले खाना खायौं र छुट्टियौं ।

त्यो दिन शुरु भएको ओके ममचा रेष्टुँरामा उनले रामेश्वरको सौजन्यमा ममचा र रक्सी खुवाउने अनि मैले राम दाइको होटलमा भात खुवाउने क्रम झण्डै ६ महिनाभन्दा बढी चल्यो । मलाई छक्क लाग्थ्यो, घर परिवार भएका ईश्वरबल्लभले त्यसरी मसँग किन भात खाइरहे ? न मैले सोधें, न उनले बताए । यो रहस्य रहस्यकै गर्भमा रहृयो सदासदाका लागि ।

छक्क त रामेश्वर मानन्धरदेखि पो मान्नुपर्ने थियो, ‘आकुञ्चन’ पत्रिकाको संरक्षक भइदिएवापत हरेक दिन त्यसरी आतिथ्य गरेर ऋणमोचन गरिरहे उनले ।

एक दिन ईश्वरवल्लभलाई हृदयाघात भयो । उनी केही दिन वीर अस्पतालमा भर्ना हुनुपर्‍यो । त्यसको केही समयपछि उनलाई परिवार नियोजन संघको जागिरबाट अवकाश दिइयो । यो बडो दुःखदायी अवस्था थियो । पछि राष्ट्रिय योजना आयोगमा उनले जागिर पाए । तर, साहित्यकार लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकै केही दिनमा उनको जागिर त्यहाँबाट पनि गयो । उनी सँगसँगै जीवन आचार्यको पनि जागिर गयो । यो कुरा लोकेन्द्रवहादुर चन्दलाई सिर्जनशील साहित्य समाजले गरेको स्वागत समारोहमा जानकारी गराइएको थियो । तर, मिष्टर क्लिन उपनाम पाएका प्रधानमन्त्री चन्दले उनीहरुको जागिर थमौती गर्न सकेनन् ।

ईश्वरबल्लभले रुपरेखा मासिकमा ‘बल्लभ र नयाँ प्रतिभा’ नामक एक स्तम्भ शुरु गरेका थिए । उनले नयाँ पुस्ताका कविको परिचयसहित तिनका केही कविता सो स्तम्भमा प्रस्तुत गर्थे । त्यो युवा पुस्तामा आकर्षण र चर्चाको विषय भएको थियो । धेरै युवा पुस्ताका कविहरु त्यस स्तम्भमा देखा पर्न लालायित थिए । तर, केही कविहरुलाई प्रस्तुत गरेपछि सो स्तम्भ निरन्तर हुन सकेन ।

तर, उनी नयाँ पुस्ताका धेरै कविहरुलाई त्यसमा प्रस्तुत गर्न चाहन्थे । त्यतिबेला प्रस्तुत गर्न चाहेका कविहरुलाई दशकौंपछि दुबसु क्षेत्रीको सम्पादनमा निस्कन थालेको ‘समकालीन नेपाली साहित्य’ पत्रिकामा निरन्तरता दिइएको थियो । त्यो क्रम उनको जीवनकालमा चलिरहेको थियो ।

त्यस्तै उनले अमेरिकाबाट प्रकाशित हुने ‘विश्व परिक्रमा’ पाक्षिक अखबारमा पनि स्तम्भ लेखन गर्दै थिए । विधान आचार्य र ईश्वरबल्लभ एक ताक एउटा साप्ताहिक अखबारमा स्तम्भ लेखकका रुपमा पनि काम गर्थे ।

वास्तवमा ईश्वरबल्लभको जीवन वाल्यकालदेखि नै विसङ्गतिपूर्ण रह्यो ।

उनी सानो छँदा नै उनकी आमाले कालिमाटीस्थित निवासमा सेरिएर आत्महत्या गरेकी थिइन् । उनले आमाको रगतको फाल्सा हातले सोहोरेको दुर्दान्त कथा बताउने गर्थे । त्यही दृश्यको शब्दीकरण थियो उनको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कविता ।

त्यो कविता ईश्वरबल्लभको जीवनसँग गाँसिएको थियो । आमाको आत्महत्यासँग गाँसिएको थियो । एउटा असहनीय पीडाको प्रकटीकरण थियो ।

ईश्वरबल्लभका पिता खाँटी ब्राह्मण पण्डित मुरलिधर भट्टराई थिए भने आमा नेवारनी थिइन् राममाया ।

साहित्य समूह बिराटनगरले २०३८ साल शनिबार आयोजना गरेको ‘विराट साहित्य सम्मेलन’ मा आयामेली आन्दोलनका तीनैजना साहित्यकार ईन्द्रवहादुर राई, वैरागी काईंला र ईश्वरवल्लभ एकसाथ उपस्थित भएका थिए । तर, ईश्वरवल्लभ किन हो कुन्नि अरु दुईसँग नजिक हुन वा आत्मीय रुपमा रहन चाहेनन् । जबकि ईन्द्रबहादुर राई र बैरागी काईंलावीच भने सहोदर दाइभाइको जस्तो सम्वन्ध थियो ।

धुलाबारी झापामा आयामेली आन्दोलनको २५ वर्ष अर्थात् रजत जयन्ती धुमधामका साथ मनाइएको थियो । बैरागी काईंला झापामै थिए । ईन्द्रबहादुर राई दार्जीलिङबाट समारोहमा सरिक हुन आए । तर, ईश्वरवल्लभ सञ्चो नभएको भन्दै त्यस कार्यक्रममा भाग लिन गएनन् । उनको आफ्नै प्रकारको स्वाभाव थियो ।

काठमाडौंमा एउटा गतिलो साहित्यिक संस्थाको जरुरी महसुस गरियो र त्यसको स्थापनाका लागि जुटे तुलसी दिवस, क्षेत्रप्रताप अधिकारी, नगेन्द्रराज शर्मा, हेम हमाल आदि । त्यसका अनेकन बैठकहरु भए । धेरैजसो तुलसी दिवसको निवास चाकुपाटमा । लामो र निकै गहन छलफल पछि ‘सिर्जनशील साहित्यिक समाज’ नामाकरण गरियो ।

वास्तवमा त्यो संस्थाको निर्माणका लागि तुलसी दिवसको रुचि प्रवल देखिन्थ्यो । पछि साहित्यिक पत्रकार संघको काउण्टरमा जन्मेको भन्ने आरोप लागे पनि त्यसमा सत्यता थिएन । विधान बनिसकेपछि क्षेत्रप्रतापको अध्यक्षमा रुचि देखियो । तर, तुलसी दिवस आफैं अध्यक्षका लागि पूर्वतयारीमा थिए ।

चुनावका लागि चुनाव आयोग बनाउनुपर्ने भयो । यो प्रजातान्त्रिक संस्था हो भन्ने देखाउन पनि चुनाव गराउन जरुरी थियो । अत कुटनीतिक हिसाबले क्षेत्रप्रतापलाई चुनाव आयोगको प्रमुख आयुक्त बनाइयो । यसले तुलसी दिवसका लागि अध्यक्षको बाटो सफा भयो । चुनावको सूचना निस्किएपछि अचानक ईश्वरवल्लभले अध्यक्षको पदमा उम्मेदारी दिए । पिपलबोटमा जम्मा हुने, तर सिर्जनशील साहित्य समाजको निर्माणका लागि भएको पूर्वकार्य थाहा नपाउने साहित्यकारहरुले ईश्वर दाइ जस्तो कर्मठ कविले यो चुनाव नजित्ने कुरै छैन भनेर उकेरा लाइदिए ।

तुलसी दिवस पूरा प्यानलका साथ पूर्ण तयार भएर चुनावमा लागेका थिए । ईश्वरवल्लभ एक्लै ठिङ्ग अध्यक्षमा उम्मेदवार बनेका थिए, उनका अघिपछि कोही थिएनन् । अतः साह्रै थोरै, नगन्य भोट पाए र पराजित भए । उनी मनमौजी थिए, तर पनि पराजित हुनु नमज्जाकै कुरा हो । विश्वभाषा क्याम्पसमा भएको सो निर्वाचनको परिणामपछि रन्थनिँदै उनी एक्लै त्यहाँबाट निस्केका थिए ।

ईश्वरबल्लभ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञका रुपमा पुगे । तर, उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । उनले पत्रिकाको पहिलो पृष्ठमा समाचार बन्ने बोली बोलिदिए, ‘एकेडेमी चारखाल अड्डाजस्तो छ ।’
तर विडम्वना ! त्यो उनले भनेको चारखाल अड्डामा आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । प्रज्ञा प्रतिष्ठानको नयाँ कानून आयो र पुरानो कानूनअनुसार नियुक्त भएका सबै पदमुक्त भए । त्यसपछि पुनः उनले सो पदमा जाने मौका पाएनन् ।

ईश्वरबल्लभलाई चर्काे आर्थिक सङ्कटले घेरेको थियो । उनी सुगर, उच्च रक्तचापलगायतका रोगहरुले ग्रस्त थिए । आयस्ताको बाटो थिएन । एकेडेमीका उनी आजीवन सदस्य भएवापत भत्ता त पाउँथे, तर समयमा अर्थ मन्त्रालयबाट निकासा नहुँदा आजीवन सदस्यहरुले समयमा भुक्तानी पाउँदैनथे । नियमित प्राज्ञहरु र कार्यरत कर्मचारीहरुलाई दिइसकेपछि मात्र आजीवन सदस्यको भुक्तानीको पालो आउँथ्यो । त्यो प्राथमिकतामा पर्दैनथ्यो ।

उनलाई हेमराज ज्ञवालीले स्नेहपूर्वक कान्तिपुर दैनिकमा नियमित स्तम्भ लेखनको जिम्मेवारी दिएका थिए । त्यो स्तम्भ पनि बेलाबखत विवादित हुन्थ्यो । उनी हरेक अङ्कमा एकजना कविको केही कविता उद्धरण गर्थे स्तम्भको अन्तमा । उनलाई दाइ-दाइ भनेर फोन गर्नेहरु र उनलाई निसन्देह मनपर्ने कविका कविताका हरफ हुन्थे नै, कविताका हरफ कहिल्यै नपर्ने कविहरु उनको कुरा काट्थे ।

तर, उनी हरेक हप्ता केही न केही लेखिरहन्थे । त्यो नियमितताले उनलाई घर चलाउन वा औषधी खर्चका लागि भरथेक हुन्थ्यो ।

ईश्वरबल्भले मदन पुरस्कार पाए । साझा पुरस्कार पाए । मुक्ति पुरस्कार पाए । व्यथित सिन्धु पुरस्कार पाए । रत्नश्री स्वर्ण पदक पाए ।

उनले कविता लेखे । आलोचनात्मक लेखहरु लेखे । कथाहरु लेखे । उनले उपन्यास पनि शुरु गरेको बताएका थिए, एउटा अन्तरवार्तामा । त्यो उपन्यासको नाम ‘भगुवा’ राखेका थिए । तर, त्यो उपन्यास न पूरा भयो, न प्रकाशित नै भयो ।

ईश्वरबल्लभले कमै समीक्षा, समालोचना लेखे । तर, पारिजातको ‘शिरिषको फूल’ का बारेमा उनले रुपरेखामा लेखेको समीक्षा अप्रिय थियो । उनले लेखेका थिए, एउटा सानु पोयट्रीले भन्न सक्ने कुरा भनी हेर्ने उपन्यास शिरिषको फूल लेखिँदा फेसन त भयो-भयो, नजान्ने भर्खरैकी केटीले नसुहाउने गरी ‘स्लिवलेस ब्लाउज’ लाएकोमा काखीबाट चियाउने गरेका काखीका भुत्लाहरु जुगुप्सापूर्ण हुन्छ, त्यसको सुचारु ‘सेभिङ’ पनि भएन- एडिकोलनहरु लगाउन पनि बिर्सिए । सायद त्यस्तो फेसन भयो ।’

उनले त्यति मात्र होइन, पारिजातको उपन्यास पूरै असफल भएको दाबी पनि गरिदिए । उनको यो लेखनले पारिजातको अहममा चोट पुर्‍यायो र दुवैका वीच सम्वन्ध तिक्त भयो । कतिसम्म भने, पारिजातले मौका पाएसम्म ईश्वरवल्लभलाई शाब्दिक प्रहार गरिरहिन् आजीवन ।

कवितामा उनी कठोर देखिन्थे । उनका कविता नबुझिने कविताको कित्तामा पर्थेे । केही कविता वुझिने भए पनि ।

तर, ईश्वरबल्लभ गीतमा कोमल थिए । मायालु थिए । हृदयस्पर्शी थिए । ‘दुईटा फूल देउरालीमा..’, ‘मलाई यो जिन्दगी लाग्दछ…’, ‘हजार सपनाहरुको माया लागेर आउँछ..’ जस्ता कर्णप्रिय, सदावहार र कालजयी गीत उनकै कलमको उपहार हो ।

उनको कविताले बोल्थ्यो –

माथि आकाश हेर्नु छ
क्षितिज छुनु छ
एकजनालाई फूलको थुँगा दिनु छ ।
नजिकमा कोही छ कि छैन
यदि छ भने उसलाई बोलाउनु छ ।

तर, कसैलाई बोलाउनुअघि नै उनी आफैं अनन्त यात्रामा हिँडिदिए ।

उनले एकपल्ट मसँग भनेका थिए, ‘यदि मैले पैसा कमाएँ भने मेरी आमाले आत्महत्या गरेको त्यो कालिमाटीको घर किन्छु ।’

ईश्वरको देहावसानसँगै उनको त्यो सपना पनि सदासदाका लागि अधुरो नै रह्यो ।

गोविन्द गिरी प्रेरणाका थप लेखहरु

डिस्कोर्स : बैरागी विश्वविद्यालय
विस्मृतिमा बानिरा 
घुम्ने मेचमाथि ‘अन्धो’ कवि !
ध्रुवचन्द्र गौतम : लेख्नु र सास फेर्नु उस्तै !
काँडामा फूलेका कालीप्रसाद 
मोराश : एउटा धरोहरको विसर्जन



source https://www.onlinekhabar.com/2020/02/832925

फ्रेण्ड्स क्लबलाई कृषि विकास बैंकको साथ

काठमाडौं । ए डिभिजन क्लब फ्रेण्ड्सलाई कृषि विकास बैकले प्रयोजन गर्ने भएको छ । क्लब र बैंकबीच शनिबार प्रायोजन सम्झौता भएको छ, जसअनुसार कृषि विकास बैकले सहप्रायोजकको रुपमा ५ लाख उपलब्ध गराउने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले थप ५ लाख उपलब्ध गराउने र आगामी दिनमा प्रमुख प्रायोजकको रुपमा प्रस्तुत हुने बताए ।



source https://www.onlinekhabar.com/2020/02/832923

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट विजुली

१८ माघ, काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ ।

दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन ।

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए ।

बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला-ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832922

ए डिभिजन लिगमा संजोकको हृयाट्रिक

काठमाडौं । संजोग राई शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

संजोगको हृयाटि्रक मद्दतमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्‍यो ।

४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि संयोज छाए । ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरे ।

जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832920

‘साङ्लो’ एक्सन चलचित्र मात्र होइनः विराज

नायक विराज भट्ट एक्सन स्टारको रुपमा चिनिन्छन् । उनले प्रायः एक्सन चलचित्रहरुमा नै काम गरेका छन् । उनको एक्सनलाई दर्शकले रुचाएका पनि छन् ।

अहिले विराज आफैँले निर्माण तथा निर्देशक गरेर चलचित्र ‘साङ्लो’ तयार गरेका छन् । यस चलचित्रको मुख्य भूमिकामा विराज आफैँ फिचर भएका छन् । केही वर्ष नेपाली चलचित्रबाट बसाई सरेर भोजपूरी चलचित्रमा पुगेका विराज पुनः यस चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् ।

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले राम्रो प्रतिकृया दिइरहेका छन् । ट्रेलरमा विराजको एक्सन दृष्यहरुलाई विशेष जोड दिइएको छ । जुन कुरालाई दर्शकले निकै रुचाएका छन् । धेरै दर्शकले बाघ पुनस् जंगल फर्किएको प्रतिकृया दिइरहेका छन् ।

अभिनेता, निर्माता तथा निर्देशक विराज यस चलचित्रबाट दर्शकको अपेक्षा पूरा हुने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘दर्शकले मबाट जुन कुराको अपेक्षा गरेर कुरिरहनु भएको छ त्यो पूरा हुनेछ । हामीले दर्शककै सन्तुष्टीको लागि धेरै मेहनत गरेका छौँ ।’

साङ्लो एक्सनप्रधान मात्र नभएको विराज बताउँछन् । उनले भने, ‘एक्सन चलचित्र भनेर एक्सन मात्र छैन् । चलचित्रमा हसाउने, रुवाउने कुराहरु पनि छन् । समग्रमा यो चलचित्रको विषयबस्तु नै राम्रो पाउनु हुनेछ ।’

विराजका अनुसार चलचित्रमा ग्रामिण भेगको समस्याहरुलाई पनि देखाइएको छ । ‘हाम्रो देशका ग्रामीण भेगहरु कति सुन्दर छन् । तर, त्यहाँ स्वस्थ्य, शिक्षा, यातायात जस्ता कुराहरुको समस्या छ । त्यसलाई पनि हामीले चलचित्रमा देखाएका छौँ । चलचित्रको कथा नै गाउँबाट सुरु हुन्छ ।’

माघ २४ गते रिलिज हुने यस चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । निकिता र विराज यस चलचित्रमा जोडी बनेका छन् ।



source https://www.onlinekhabar.com/2020/02/832918

‘युनिभर्स बोस’ माथि अग्रवाल घरानाको जुवा !

१८ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण सुरु हुन झण्डै डेढ महिना बाँकी छ, तर माहौल अहिल्यै गर्माइसक्यो । यसपालिको ईपीएल अघिल्ला संस्करणहरुभन्दा विशेष र प्रतिक्षित किन बनेको छ भने टी-२० का ग्लोबल सुपरस्टार क्रिस गेल यसमा जोडिएका छन् ।

(गेलसँगै अरु केही प्रख्यात क्रिकेटरहरु पनि चौंथो ईपीएलमा आवद्ध भएका छन् । तर, यो आलेख चाहिँ टी-२० क्रिकेटका ‘युनिभर्स बोस’ भनेर चिनिने गेलमाथि केन्द्रित छ ।)

टी-२० क्रिकेटमा विश्वकिर्तिमानका विस्कुन लगाएका गेललाई त्रिवि क्रिकेट मैदानमा ब्याट घुमाइरहेको हेर्न पाउनु नेपाली क्रिकेटप्रेमीहरुका लागि गजबको मौका हो । चाहे क्रिस गेलको ब्याटबाट ठूल्ठूला छक्का निस्किउन्, चाहे नेपाली बलरले उनको विकेट उखेडुन्, दुवै अवस्थामा रोमाञ्चकताको कमि हुने छैन । अर्थात् फ्यानहरुका लागि दुवै हातमा लड्डु ।

(तथापि, गेल चाँडै आउट हुँदाको रोमाञ्चकता भन्दा उनले ठूला सटहरु हान्दाको रोमाञ्चकता लामो हुने छ।)

पोखरा राइनोजमा आवद्ध हुनासाथ गेलले टि्वटरमा भिडियो सन्देश जारी गरे । उनले आफैंले आफूलाई ‘किङ अफ टी-२० क्रिकेट’ संज्ञा दिँदै भनेका छन्, ‘मेरो आँधी हेर्न तयार हुनुस् ।’

हो पनि । आफ्नो उत्कृष्ट फर्ममा रहँदा गेल आँधीतुल्य हुन्छन् । २० ओभरको क्रिकेटमा त उनका लागि असम्भव केही लाग्दैन । जुनसुकै अवस्थाबाट टिमका लागि जित निकाल्न सक्छन् । खासगरी ठूला छक्काका लागि कहलिएका छन् उनी । भिडियो गेम खेलेजस्तो एकपछि अर्को बलमा छक्कामाथि छक्का हान्नसक्ने क्षमता उनमा छ ।

टी-२० क्रिकेटमा सर्वाधिक म्याच स्कोर, सर्वाधिक सतक, सर्वाधिक छक्का, सर्वाधिक करिअर स्कोर लगायत विश्वकिर्तिमान गेलका नाममा छन् । उनले अहिलेसम्म दुई अन्तर्राष्ट्रिय सहित २२ वटा टी-२० सतक हानिसके । यो रेकर्डको आसपास पनि छैनन् अरु ब्याट्सम्यान ।

एउटा क्रिकेटिङ वेबसाइटले सूत्रको हवाला दिँदै ७० हजार डलरमा गेललाई किनिएको समाचार प्रकाशित गरेको छ । यसमा जमैकादेखि प्लेनको विजनेस क्लासमा आउजाउ र पाँचतारे होटलमा बसाइँ खर्चसमेत जोड्दा ८ अंकको रकम पुग्न सक्छ

अँ, गेलका कमजोरी पनि थुप्रै छन् । ‘स्ट्राइक रोटेट’ मा उनी त्यति विश्व्ाास गर्दैनन् । प्रायः ठूला सटमै निर्भर हुन्छन् । शून्य फुटवर्कमा ‘स्ट्यान्ड एन्ड डेलिभर’ गर्ने गेलको शैली क्रिकेटमा त्यति अनुकरणीय मानिँदैन । उनी संयमित ब्याटिङ गर्न जान्दैनन् । उनको ब्याटिङ ‘कन्सिस्टेन्ट’ पनि छैन । कहिलेकाहीँ सिंगो प्रतियोगितामा उनी चल्दैनन् ।

खराब फर्ममा रहँदा साह्रै दयनीय बन्छन् गेल । यस्तो अवस्थामा पनि पुग्छन्, मानौं उनले ब्याटिङ गर्नै बिर्सिए । सबैभन्दा धेरैपटक शून्यमा आउट हुने ब्याट्सम्यानको सूचीमा गेल दोस्रो नम्बरमा छन् । २७ पटक खाता नखोलि आउट भएका गेलभन्दा अगाडि रहेका वेस्ट इन्डिजकै ड्वेन स्मिथ २८ चोटि डक आउट भएका छन् । यस हिसाबले क्रिस गेलमाथि लगानी गर्नु भनेको एक हिसाबको जुवा नै हो ।

गेल अहिले आफ्नो उत्कृष्ट लयमा छैनन् । हार्मस्ट्रिङ इन्जुरीका कारण केही समय क्रिकेटबाट अलग रहेका उनले हालै बंगलादेश प्रिमियर लिगको ‘सेकेन्ड हाफ’ मा पुनरागमन गरेका थिए । उनले चटोग्राम च्यालेन्जर्सका लागि चार खेल खेल्दै १ सय ४४ रन बटुले । यो मामुली प्रदर्शन हो ।

त्यसअघि उनले अघिल्लो सिजनको जान्सी प्रिमियर लिग खेलेका थिए । त्यसमा फ्लप रहेका गेलले २०१९ को बाँकी सिजन क्रिकेटबाट रेस्ट लिए । भारतविरुद्ध वेस्टइन्डिजको एकदिवसीय सिरिजमा समेत उनी उपलब्ध भएनन् । त्यसपछि उनले क्रिकेटबाट सन्यास लिनसक्ने अनुमान गरिएको थियो । तर, हालैको एउटा प्रेस मिटमा गेलले अझै केही समय टी-२० क्रिकेट खेल्ने बताएका छन् ।

गेलले सन् २००० बाटै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । उनका धेरैजसो समकालिन क्रिकेटरहरुले सन्न्यास लिइसकेका छन् ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दास गेलको आगमनले उत्साहित र त्रसित दुवै भएको बताउँछन् ।

उनले भने, ‘पर्सनल्ली भन्नुपर्दा उत्साहित त छु नै, यो स्तरको ब्याट्सम्यानलाई हाम्रै मैदानमा खेलेको हेर्न पाउनु पनि ठूलो अवसर हो । अर्कोतर्फबाट चिन्तित पनि छु । किनभने पनि एउटा फ्रेन्चाइज टिमसँग आवद्ध छु । यदि हाम्रो टिमविरुद्ध उनको ब्याटिङ चल्योे भने त्यो हाम्रोलागि दुस्वप्न बराबर हुन सक्छ ।’

उनले हाँस्दै थपे, ‘मेरो टिम बाहेकका खेलमा भने गेलले छक्का चौका वर्षाएको हेर्न चाहन्छु ।’

गेलको मूल्य कति ?

यतिबेला सबैलाई कौतुहल छ, पोखराले गेललाई भित्र्याउन कति रकम खर्चियो ? तर, ईपीएलको आयोजक र फ्रेन्चाइजले विदेशी खेलाडीहरुको खरिद मूल्य गोप्य राख्ने गरेका छन् । स्वदेशी खेलाडीसँग ठूलो अन्तराल भएकाले यस्तो गरिएको हुन सक्छ ।

यस विषयमा हामीले पोखरा राइनोजकी प्रमुख दीपा अग्रवालसँग प्रश्न गर्दा उनले खुलाउन नमिल्ने बताइन् । ‘ईपीएलमा विदेशी खेलाडीहरुको मूल्य सार्वजनिक नगर्ने नीति छ । त्यसैले म यसमा केही बताउन सक्दिनँ,’ उनले भनिन् ।

एउटा क्रिकेटिङ वेबसाइटले सूत्रको हवाला दिँदै ७० हजार डलरमा गेललाई किनिएको समाचार प्रकाशित गरेको छ । यसमा जमैकादेखि प्लेनको विजनेस क्लासमा आउजाउ र पाँचतारे होटलमा बसाइँ खर्चसमेत जोड्दा ८ अंकको रकम पुग्न सक्छ । अर्थात् एक करोडको नजिक । ईपीएलको कुनै पनि फ्रेन्चाइजका लागि यो रकम अथाह हो ।

यदि गेलका लागि एक करोड खर्चिन पोखरा राइनोज तयार भएको हो भने त्यो अत्यधिक महंगो मान्नुपर्ने हुन्छ । किनकी ईपीएलमा एउटा टिमले अधिकतम ७ वटा म्याच खेल्ने हो । त्यसमा पनि गेलले २ वटा म्याच मात्रै खेल्ने सम्भावना रहेको बताइँदै छ । किनकी २९ मार्चबाट आईपीएल सुरु हुँदैछ । त्यसको सेड्यूलले ईपीएलमा गेलको सहभागिता प्रभावित बन्ने छ ।

गेलसँग सम्झौता गर्दा उनले कतिवटा म्याच खेल्न सक्छन् भन्नेबारे छलफल नभएको पोखरा राइनोजकी अग्रवाल बताउँछिन् ।

उनले भनिन्, ‘उहाँले कतिवटा म्याच खेल्नुहुन्छ भन्ने मात्रै महत्वपूर्ण होइन । उहाँको उपस्थिति नै ठूलो कुरा हो । उहाँ सबै म्याचमा उपस्थित हुन सक्नुभएन भने पनि हामीसँग रिप्लेसमेन्ट प्लेयरहरु हुनुहुन्छ ।’

आईपीएलमा गेललाई २ करोड भारु (२ करोड २० लाख रुपैयाँ) मा पञ्जाबले किनेको थियो । करिब दुई महिना चल्ने यो प्रतियोगितामा उनले अधिकतम १७ म्याच खेल्न सक्छन् । यस हिसाबले हेर्दा पोखरा फ्रेन्चाइजले उनलाई आईपीएलमा भन्दा पनि महंगोमा खरिद गरेको प्रतित हुन्छ । जबकि आईपीएल र ईपीएलका फ्रेन्चाइजले गर्ने आम्दानी तुलनायोग्य नै छैन ।

सन्दिप लामिछानेसहित भेट्रान बसन्त रेग्मी, ललित राजवंशीजस्ता स्पिनरहरु गेललाई अप्ठेरोमा पार्न सक्ने क्षमता राख्छन्

गेलजस्तो खेलाडीलाई नेपाल ल्याउन पोखरा राइनोजले देखाएको साहसलाई सह्राना गर्नुपर्छ । तर, अर्को सिजनमा पनि उनी वा उनी स्तरका खेलाडीलाई निरन्तरता दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दासको भनाइमा फ्रेन्चाइजहरुले धान्न सकिने देखेर नै ठूलो लगानी गरी गेल लगायतका महंगा खेलाडीहरु भित्र्याएका हुन् ।

दास भन्छन्, ‘हाम्रो क्रिकेट पनि विस्तारै ग्लोबल हुने क्रममा छ । विश्वचर्चित खेलाडीहरुले ईपीएलमा सहभागिता जनाउँदा यसको मार्केट भ्यालु बढ्छ नै । यही विश्वासमा फ्रेन्चाइजहरुले लगानी गरेको हुनुपर्छ । यो नेपाली क्रिकेटका लागि राम्रो संकेत हो ।’

यसकारण उनलाई रोज्यौं : दीपा अग्रवाल 

व्यापारिक घरानासँग जोडिएको पोखरा राइनोज अरु फ्रेन्चाइजभन्दा आर्थिकरुपमा सवल छ । अरु व्यवसायबाट कमाएको पैसालाई यस घरानाले क्रिकेटमा खन्याएको देखिन्छ ।

यस फ्रेन्चाइजकी प्रमुख दीपा अग्रवाल क्रिस गेललाई भित्र्याउने निर्णय लिँदा आर्थिक लाभको दृष्टिकोणबाट मात्रै आफूहरुले नसोचेको बताउँछिन् । समग्र नेपाली क्रिकेटकै हितलाई लिएर आफूले जोखिम उठाएको उनको भनाइ छ ।

अग्रवालको भनाइ जस्ताको त्यस्तै :

क्रिकेटप्रेमीहरुमा क्रिस गेलको डिमान्ड हाई छ । विश्वमै उहाँको फ्यान फलोइङ धेरै छ र ईपीएलको स्तर पनि बढ्दैछ । त्यसो ह्वाइ नट ? फ्यानहरुको जे डिमान्ड छ हामीले त्यो हेर्ने हो ।

क्रिस गेल नेपालमा आउँदा त्यसको फाइदा पोखरा राइनोजलाई मात्र हुँदैन । समग्र नेपाली क्रिकेटलाई नै हुन्छ । उहाँसँगै खेल्दा वा उहाँविरुद्ध खेल्दा नेपाली खेलाडीहरुले धेरै कुरा सिक्न सक्छन् । अर्को कुरा, नेपाली क्रिकेट प्रेमीहरुले आफ्नै मैदानमा उनको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । यस्तो कहिल्यै सोचिएको थियो ? यो समग्र नेपाली क्रिकेटकै लागि उत्साहको कुरा हो ।

नेपालमा सबै चिज गाह्रै छ । यो सजिलो छनोट होइन । बल्ल हिजो कन्ट्राक्ट साइन भयो । बिस्तारै आर्थिक व्यवस्थापनको प्लानहरु गरिरहेका छौं । त्यसलाई कति एक्जिक्यूट गर्न सक्छौं भन्ने आफ्नो ठाउँमा छ । हाम्रो आम्दानीको स्रोत भनेको जर्सीको लोगो, स्पोन्सरसीप, एसोसिएट स्पोन्सरहरु हुन् ।

आर्थिकरुपले हेर्ने हो भने हामी तीन संस्करणसम्म माइनसमै छौं । तर, हामीले दीर्घकाललाई हेरेर काम गरिरहेका छौं । बच्चा जन्मिनेवित्तिकै एकैचोटि ठूलो हुँदैन नि । हामी पनि आशावादी छौं कि भविष्यमा राम्रो हुन्छ ।

नेपाली स्पिनरविरुद्ध गेल

आईपीएल आयोजकले यसपालि प्रत्येक फ्रेन्चाइजलाई टेस्ट राष्ट्रबाट खेलिसकेको कम्तिमा एकजना खेलाडी समावेश गर्नैपर्ने नियम बनायो । यसमा सबै फ्रेन्चाइजहरुले बलरभन्दा ब्याट्सम्यानमा नै रुचि देखाएका छन् । अहिलेसम्म कुनै पनि टिमले विश्वस्तरीय बलर भित्र्याउने पहल गरेका छैनन् ।

यो स्वाभाविक पनि हो । किनकी नेपालमा बलरभन्दा पनि राम्रा ब्याट्सम्यानको खडेरी छ । टी-२० लिगहरुमा प्राय टिमहरु विदेशी ब्याट्सम्यानमै निर्भर रहेको पाइन्छ । त्यसैले विदेशी ब्याट्सम्यान भित्र्याएर ब्याटिङ पक्ष मजबुत बनाउने होडमा छन् टिमहरु ।

क्रिस गेलको कुरा गर्दा, तुफानी मुडमा रहेको बेला उनले कुनै पनि बलरलाई बाँकी राख्दैनन् । तर, सामान्यतया स्पिनरभन्दा फास्ट बलरमाथि गेलको ब्याट बढी जाग्छ । अहिले नेपालमा स्तरीय फास्ट बलर छैनन् । त्यसैले उनले टीयू क्रिकेट ग्राउन्डमा नेपाली फास्ट बलरहरुको राम्रै धुलाई गर्न सक्ने अनुमान गरिएको छ ।

गेलको आँधी रोक्ने हो भने कुनै पनि टिमले स्पिनर प्रयोग गर्नुको विकल्प छैन । सन्दिप लामिछानेसहित भेट्रान बसन्त रेग्मी, ललित राजवंशीजस्ता स्पिनरहरु गेललाई अप्ठेरोमा पार्न सक्ने क्षमता राख्छन् ।

विदेशी बलरहरु हायर नगरिएकाले यो प्रतियोगितामा सहभागी एक मात्र विश्वस्तरीय बलर नेपालकै सन्दिप हुन् । सबैजसो अन्तर्राष्ट्रिय टी-२० लिग खेलेर एकसे एक ब्याट्सम्यानको विकेट चट्काइसकेका उनले घरेलु मैदानमा क्रिस गेलविरुद्ध गर्ने बलिङ प्रतियोगिताकै हेर्नलायक पक्ष हुनेछ । हालै बिग बासमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएका सन्दिपले ईपीएलमा काठमाडौं किङ्स ११ बाट खेल्दैछन् ।

सन्दिपसँग आईपीएल लगायतका विभिन्न फ्रेन्चाइज लिगमा गेलविरुद्ध बलिङ गरेको अनुभव छ । अघिल्लो आईपीएलमा उनले गेलको विकेट पनि लिएका थिए । दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पञ्जाबबीचको खेलमा गेल र सन्दिपको रोचक भिडन्त भएको थियो । उक्त म्याचमा सन्दिपको बलिङमा गेलले आक्रामक रवैया देखाएका थिए । तर, अन्ततः उनको विकेट सन्दिपको पोल्टामा गयो । सन्दिपमाथि ४ चौका र एक छक्का प्रहार गरेका गेल ६९ रनको स्थितिमा सन्दिपकै बलमा क्याचआउट भएका थिए ।

क्यारेबियन लिगको २०१८ को संस्करणमा सन्दिप पनि गेलकै टिममा थिए । गेलको कप्तानीमा रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दिप अघिल्लो वर्षको सीपीएलमा भने बार्बाडोस ट्राइडेन्ट्समा आवद्ध भए ।

रमाइलो के भने सन्दिप जन्मिनुभन्दा एक वर्ष अगाडि नै क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् ।

टिम मालिकहरुलाई धन्यवाद : पारस खड्का

ईपीएलमा क्रिस गेलको उपस्थिति र यसले पार्ने प्रभावलाई लिएर नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग गरिएको संक्षिप्त कुराकानीः

क्रिस गेल नेपालमा ईपीएल खेल्न आउने कुराले कति उत्साहित हुनुहुन्छ ?

विश्वस्तरीय खेलाडीहरु आउनु हाम्रो क्रिकेटको लागि राम्रो संकेत हो । यसलाई नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरिरहेका उपलब्धीकै परिणामको रुपमा हेर्नुपर्छ । हामी अहिले ओडीआई कन्ट्री हौं । टी-२० विश्वकप पनि खेलिसकेका छौं । त्यसैले विश्वभरका खेलाडीको ध्यान तानिएको छ । साथै, नेपालमा फ्रेन्चाइज क्रिकेटको चार्मले गर्दा पनि उनीहरु आकर्षित भएको हुनुपर्छ ।

यसो भनिरहँदा गेल जस्ता विश्वस्तरीय खेलाडीहरु भित्र्याउने टिम वनर्सहरुलाई धन्यवाद दिन पनि हामीले बिर्सिनु हुँदैन । यसले हाम्रा युवा खेलाडीहरुलाई ठूलो एक्सपोजरको मौका दिएको छ ।

अहिले पनि घाटामै चलिरहेका छन् फ्रेन्चाइजहरु । गेलजस्ता खेलाडीहरु भित्र्याउने सिलसिलालाई आगामी संकरणमा निरन्तरता दिन सकिएला त ?

टिमहरुले आफ्नो प्लान बनाएका होलान् । हामी आशावादी हुनुपर्छ । भावि दिनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रदर्शनले पनि धेरै कुरा निर्धारण गर्ने छ ।

व्यक्तिगत रुपमा तपाईंचाहिँ क्रिस गेलको खेल हेर्न कति उत्साहित हुनुहुन्छ ? कि विपक्षी टिमको खेलाडी भएकाले त्रसित हुनुहुन्छ ?

हा…हा… । त्यस्तो हुँदैन । गेम हो । खेलिसकेपछि प्रतिस्पर्धा गर्नैपर्छ । कस्तो हुन्छ भने खेल सुरु भएपछि बल र ब्याटबीचको फाइट हुने हो । इन्डिभिजुअल खेलाडीलाई मात्र हेरेर हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि उहाँ आउँदै हुनुहुन्छ । उहाँजस्ता खेलाडीको आगमनले लिगको स्तर बढेको छ । नेपाली क्रिकेट राम्रो हुँदैछ भन्ने विश्वस्तरमा सन्देश गएको छ ।

तपाईंले क्रिस गेलको गेम कत्तिको फलो गर्नुहुन्छ ? उहाँलाई कसरी चिन्नुभएको छ ?

उहाँ एउटा ठूलो नाम हो । हामी सबैले फलो गर्छौं । टी-२० मा त सबैले उहाँलाई मानेका छन् ।

व्यक्तिगतरुपमा कस्तो हुनुहुन्छ थाहा छैन । अहिलेसम्म प्रत्यक्ष भेटेको छैन । सामाजिक सञ्जालमा हेर्दा रमाइलो खालको देखिनुहुन्छ । तर, सामाजिक सञ्जालमा मात्रै हेरेर व्यक्तिको मूल्यांकन हुँदैन ।

गेललाई बलिङ गर्नचाहिँ कत्तिको लालायित हुनुहुन्छ ?

त्यो म्याचको सिचुयसनमा भर पर्छ । हामीले कस्तो खालको रणनीति बनाउँछौं त्यसमा भर पर्छ । गेल क्रिजमा आउनेबित्तिकै मैले नै बलिङ गर्नुपर्छ भन्ने छैन । तर, पनि उहाँजस्तो ब्याट्म्यानलाई बलिङ गर्नु हामी सबैका लागि राम्रो अवसर हो । यदि नेपालको क्रिकेटले राम्रो गर्दै गयो भने आगामी दिनमा पनि उहाँजस्तो खेलाडीहरुसँग खेल्ने मौका धेरै आउने छन् ।

नेपालका फ्रेन्चाइज लिगहरुमा स्वदेशी खेलाडी र विदेशी खेलाडीको पारिश्रमिकमा ठूलो अन्तराल पाइन्छ । यसलाई कसरी लिनुहुन्छ ? 

खेलाडीहरुकै बलबुतामा नेपालको क्रिकेट यहाँसम्म आएको हो । त्यसैले उनीहरुले राम्रो पारिश्रमिक पाउनुपर्छ । मलाई लाग्छ भोलि नेपाली खेलाडीले पनि राम्रो मूल्य पाउनेछन् । नेपाली क्रिकेटरहरुको फाइनान्सियल स्टाटस माथि उक्लिनुपर्छ भन्ने पक्षमा छु म ।



source https://www.onlinekhabar.com/2020/02/832911

Friday, 31 January 2020

केपी ओलीको विचार अल्पमतमा पर्दैन : कैलाश ढुंगेल

१८ माघ, काठमाडौं । नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् ।

अनलाइनखबरसँग कुरा गर्दै प्रदेश मन्त्री ढुंगेलले भने, ‘केपी ओलीको विचार त्यही हो, त्यो विचार नेकपामा अल्पमतमा पर्दैन । सारमा मैले केपी ओलीको विकल्प खोज्नु भनेको चाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो भन्छु ।’

संघीय सरकारले प्रदेश सरकारलाई आदेश पालक बनाउन खोजेको र अधिकार दिन नचाहेको आरोप लागिरहेका बेला वागमती प्रदेशका अर्थमन्त्री ढुंगेलले भने फरक अनुभव गरेका रहेछन् । काम गर्नका लागि प्रदेशलाई प्रशस्त अधिकार क्षेत्र देखेका ढुंगेलले भारतमा भन्दा नेपालमा प्रदेशहरु अधिकारसम्पन्न रहेको दाबी गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकमा भाग लिन हेटौंडाबाट काठमाडौं आएका ढुंगेलले प्रदेशले काम गर्न सकेनौं भनेर केन्द्रलाई आरोप लगाउनु ‘नाँच्न नजान्नेले आँगन टेढो’ भने जस्तै हुने टिप्पणी समेत गरे । पछिल्लो समय प्रदेशहरुको कामले गति लिन थालेको महशुस गरेका ढुंगेल तीनै तहका सरकार एक अर्कामा नठोक्किइ अघि बढ्नुपर्ने बताउँछन् ।

प्रस्तुत छ, वागमती प्रदेशका अर्थमन्त्री तथा नेकपा नेता ढुंगेलसँग पार्टी बैठकमा भइरहेका छलफल र प्रदेश सरकारको सन्दर्भमा गरिएको कुराकानी ।

नेकपा बैठकमा प्रधानन्त्रीको आलोचना निकै भएको छ, तपाईहरु समूहगत छलफलमा सहभागी हुँदा कस्तो पाइयो ?

केन्द्रीय कमिटीको बैठक ढिला भएकै हो । बैठक ढिलो हुनुले पनि धेरै प्रश्नहरु उठेका छन् । समयमै बैठकहरु बस्दा छलफलहरु पार्टी कमिटीमै हुन्थे । त्यो गुनासो भनेको एउटा अध्यक्षमाथि वा प्रधानमन्त्रीमाथि मात्र होइन । प्रधानमन्त्रीले उद्घाटनकै दिन विस्तृतमा आफ्नो धारणा राखिसक्नुभएको छ ।

प्रधानमन्त्रीले पार्टी एकता, सरकार सञ्चालन लगायतका सबै विषयमा प्रष्ट पारेपछि उहाँमाथि कुनै आरोप लगाउनुपर्ने अवस्था छैन । प्रधानमन्त्रीको धारणाकै पक्षपोषण गर्दै यो बैठक टुंगिन्छ भन्ने मलाई लाग्छ ।

तर, प्रधानमन्त्री केपी ओली त पार्टीभित्र संख्यात्मक रुपमा अल्पमतमा परिसक्नुभएको छ, पूर्वएमालेको एउटा समूहले प्रचण्डलाई साथ दिएपछि ओलीकै धारणा पास हुन्छ भन्न सकिन्छ र ?

पहिलो कुरा त दुवै अध्यक्षको साझा धारणा छ मुख्य विषयमा । राजनीतिक प्रतिवेदन दुवै अध्यक्षले संयुक्त रुपमा पेश गर्नुभएको छ । अल्पमत बहुमतको मतदान पनि भएको छैन । सारमा मैले केपी ओलीको विकल्प खोज्नु भनेकोचाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो भन्छु ।

केपी ओलीको नेतृत्वको सरकारले जुन दीर्घकालीन महत्वका काम गरिरहेको छ, त्यो कामको जस भविश्यमा ओलीको पोल्टामा जान्छ भन्ने डर केही मान्छेमा छ । केही मान्छेलाई अत्यास नै लागेको छ । केपी ओली अल्पमतमा भन्ने कुरै होइन । ओलीको विचार कुनै बेला अत्यन्त अल्पमतमा थियो । तर, कालान्तरमा उहाँकै विचारले जित्यो ।

जनताको बहुदलीय जनवादको बिचार ल्याउने बेला जननेता मदन भण्डारीलाई केपी ओलीको मुख्य समर्थन रहृयो, त्यो बेला पनि झण्डै अल्पमतमै परेको हो । तर, राम्रो विचार अल्पमत र बहुमतमा पर्ने कुराको महत्व हुन्न । यतिबेला केपी ओलीको विकल्प खोज्नु भनेको पार्टी एकता भत्काउनु हो ।

यो पनि पढ्नुहोस नेकपामा भैंसेपाटीको असर : अल्पमतमा पर्‍यो ओली समूह !

महाधिवेशनको मिति नै घोषणा भइसकेकेा अवस्थामा अब नेकपाभित्र धु्रवीकरण त हुन्छ, त्यतिबेला केपी ओली बाहेक अन्य नेताहरु एकजुट हुने सम्भावना चाहिँ यो बैठकबाट पनि देखियो भन्न सकिन्छ ?

विचारको प्रश्न हो सबैभन्दा ठूलो कुरा । विचारको सवालमा अहिले नेकपाले कस्तो बिचार लिने भन्ने कुरामा केपी ओली प्रष्ट हुनुहुन्छ । कम्युनिस्ट पार्टीभित्रको लोकतान्त्रिकरणको कुरा, कम्युनिस्ट पार्टीको नेतृत्व निर्माणको कुरा, बिचार निर्माणका कुरा भनेको जनताको बहुदलीय जनवाद नै हो ।

जनताको बहुदलीय जनवाद नाम भन्न नसकेपछि त्यसको सार नबोकी हामी कसैलाई सुख छैन । हामीले देखिसक्यौं नि, हिंसा ठीक रहनेछ भनेर बहुदलीय जनवादकै ठाउँमा आइपुगियो नि । हो, केपी ओलीको विचार त्यही हो, त्यो विचार नेकपामा अल्पमतमा पर्दैन ।

भनेपछि, केपी ओली पक्षले महाधिवेशनमा जबजको विचार फेरि लिएर जान्छ ?

फेरि लैजाने भन्ने कुरै होइन । जनताको बहुदलीय जनवाद छाडेकै छैन । जबज छाडेर नेपालको कम्युनिस्ट आन्दोलन अगाडि जान सक्छ र ? सक्ने भए, हाम्रो श्रद्धेय अध्यक्ष कमरेड पुष्पकमल दाहाल यो ठाउँमा आउनुहुन्थ्यो र ? त्यसैले जबज छाडेकै होइन ।

अहिले त जबज छाडेकै छ नि होइन र नेकपाले ?

जनताको जनवाद भनेको छ, मुलतः त्यसको सार भनेको जनताको बहुदलीय जनवादकै हो । नाममात्र नयाँ राखिएको हो । पन्ना एउटै राखेको, बाहिर कभर फरक राखेको न हो । त्यसैले कसैले केपी ओलीलाई कमजोर बनाउँछु भन्ने नसोचे हुन्छ ।

सरकारको आलोचना हुनु भनेको पनि त प्रधानमन्त्रीकै हो नि ?

त्यस्तो आलोचना छैन । आलोचना आएका पनि कस्ता छन् भने एमसीसीको कुरा उठेको छ । एमसीसी एजेण्डामा छ कि छैन, मलाई थाहा छैन । एमसीसी पारित गर्ने-नगर्ने भन्ने बैठकको एजेण्डामा त छैन, त्यो त सरकारको नियमित प्रक्रियाको कुरा हो । हामीले अमेरिकी सहयोग आउँदा शशंकित हुनुपर्ने, चीनको सहयोग आउँदा शशंकित हुनुपर्ने त्यो जरुरी नै छैन । कुनै देशको सहयोग आउँदा हामी आत्तिने कुराले राम्रो गर्दैन । एडीबी, वल्र्ड बैंकको सहयोग पनि हामीले शर्तसहित नै स्वीकार गरेका छौं । चीनको पनि त्यही हो, उनीहरुको ठेक्का प्रणाली छ ।

एमसीसी इण्डो प्यासिफिकमा जोडिएको छैन भन्ने हामीले पनि हेर्‍यौं । मूलकपी नहेर्ने अनि फलानाले भन्नुभएको, त्यही होला भन्दै कुदेर हिँड्ने प्रवृत्ति ठीक होइन । हिजो छलफलमा यस्ताखालका प्रवृत्ति पनि देखिए ।

मोही माग्ने ढुंग्रो लुकाउने प्रवृत्ति त्यागौं भन्ने मेरो आग्रह हो । उहाँले हुँदैन भनेपछि मैले पनि हुँदैन भनेँ भन्ने ढंगको बुझाइले हामीलाई फाइदा गर्दैन । बुझेर, पढेर मात्र धारणा राखौं ।

भीम रावलले पनि पढ्नुभएन त ?

भीम रावलले पढ्नुभएन भन्न चाहान्न । उहाँ पढ्ने मान्छे हो । कुनै आग्रह पूर्वाग्रहले पनि काम गरेको हुन सक्छ । कुनै समय सपथग्रहण नै नगरी पार्टीमा बस्ने मान्छे पनि हो उहाँ । कहिले यो मन्त्री खान्न भन्नुहुन्छ ।

भीम रावल बिद्धान नेता हो । हाम्रो पार्टीको आदरणीय नेता हो । उहाँका बारेमा म केही टिप्पणी गर्न चाहान्न । उहाँ आफ्ना कुरा गर्नुहुन्छ । एमसीसी पास हुन्छ सदनबाट । यसमा अरु बहस नगरौं । क्रान्तिकारी लफ्फाजी देखाएर कहीँ पनि पुगिन्न ।

तपाई प्रदेशको अर्थमन्त्री पनि हुनुहन्छ, तीनै तहका सरकारले काम गर्न सकेनन्, भ्रष्टाचार रोकिएन भन्ने आलोचना त बैठकमा भएको हो नि ?

यसभन्दा अगाडिका सरकारले सयका सय काम गरेको थिए भने आलोचना गर्दा हुन्छ । होइन भने केन्द्र सरकारको कुरा प्रधानमन्त्रीले बताइसक्नुभयो, देखिएकै छ । दीर्घकालीन महत्वका काम शुरु भएका छन् ।

प्रदेश सरकारको कामको कुरा गर्नुहुन्छ भने, म तपाईलाई हाम्रै प्रदेशको एउटा सानो उदाहरण दिन्छु । यसलाई हाइलाइट चाहिँ नगर्नुहोला, काम सानै हो । मान्छेलाई बोक्ने एम्बुलेन्स त छँदैछन् तर पशुपन्छी बिरामी भए भने तिनलाई अस्पताल लैजाने पशु एम्बुलेन्स दशवटा जति ल्यायौं । प्रदेशले २ वर्षको अवधिमा के गर्‍यो ? यसमा वस्तुनिष्ट समीक्षा गरौं ।

दुई वर्षको छोटो अवधिमा प्रदेश सरकारबाट के-के उथल-पुथलको अपेक्षा गरिएको हो ? हाम्रै वागमति प्रदेशको कुरा गर्नुहुन्छ भने प्रदेशभित्रको चक्रपथ निर्माण शुरु भएको छ । विश्वविद्यालयको स्थापना भयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरु गर्‍यो । १० वर्षभित्र डिजेल पेट्रोल गाडी विस्थापित गर्ने योजना अघि बढायो । कृषि क्षेत्रलाई ब्यापक औद्योगिकीकरण र चक्लाबन्दीको काम शुरु गरेका छौं । प्रदेशभित्रका स्थानीय तहका केन्द्रसम्म जाने सडक कालोपत्रे गर्ने बजेट हालिएको छ । प्रदेशका सबै जिल्लामा एउटा रंगशाला र कवर्ड हल बन्न थालेका छन् । हरेक स्कूलमा नर्सको व्यवस्थापन गर्ने, हरेक जिल्लामा चिस्यान केन्द्र बन्न थालेका छन् । काम त बल्ल हुन थालेका छन् नि ।

प्रदेश सरकारलाई काम गर्ने क्रममा संघीय सरकारले अधिकार नै दिन चाहेन, संघीयताको मर्म नै बुझेन भन्ने गुनासो पनि आइरहेका छन्, तपाईहरुले काम गर्ने क्रममा महशुस गरेको पनि त्यस्तै हो ?

हामीले चाहिँ त्यस्तो महसुस गरेका पनि छैनौं र गुनासो पनि गरेका छैनौं । हामीलाई शुरुमा कानुनहरुको समस्या थियो । यसबीचमा हामीले ५० वटा कानुन बनाएका छौं । कर्मचारीको ‘ओएनम’ गर्न बाँकी छ । पहिले त कर्मचारी समायोजनले नै समस्या ल्यायो । सचिवहरुको व्यवस्थापन पनि अहिले संघीय सरकारले राम्रो गरिदियो । जो सचिव हुने लाइनका सहसचिव छन् उनीहरुले प्रदेशको सचिव भएर बस्नै पर्ने व्यवस्था गरिदियो । त्यसैले अब कुनै समस्या होला जस्तो मलाई लाग्दैन ।

हामीले जनतालाई सरकारी सेवा दिनका लागि अझै कर्मचारी आवश्यक परेकाले केही दिनभित्र ओएनएम गरिसक्छौं । पुर्वाधारको विकासमा बजेट राम्रै ढंगले गएको छ । कर्मचारी शुरुमा अभाव भएकाले समयमै बजेट खर्च हुन सकेन ।

अब चाहिँ कर्मचारीको समस्या नहोला । अहिले संविधानले दिएको अधिकार साझा अधिकार र एकल अधिकारको प्रयोग हामीले गर्छौं । शुरुमा हामीले भनेजस्तो सपथ नखाएपनि अहिले पाएका छौं । अधिकारक्षेत्रमा कतै संघीय सरकारले अप्ठेरो पार्‍यो कि भन्ने छ, मलाई चाहिँ त्यस्तो लाग्दैन ।

तीनवटै सरकार तीनवटा डुंगामा छन् । तीनवटै डुंगा सँगै जाने हो । हाम्रो संघीयता भनेको समन्वयकारी हो, तीनवटै डुंगा ठोक्किनुचाहिँ हुँदैन । तर, नजिक नजिक लानुपर्छ । एक अर्काको डुंगामा डोरी बाँधिएको छ ।

उदाहरणका लागि रामेछापको धावा लामाले नेतृत्व गरेको स्थानीय तहको डुंगा, कैलाश ढुंगेलले नेतृत्व गरेको प्रदेशको डुंगा र केपी ओलीले नेतृत्व गरेको डुंगा कोशीमा हेलिएको छ । तीनवटै डुंगा सँगै जानुपर्छ । तर, ठोक्किनु हुँदैन ।

तर, कुनै-कुनै प्रदेशका मुख्यमन्त्रीहरु केन्द्रले काम गर्नै दिएन भन्ने गुनासो पनि त गरिरहेका छन् नि ?

यो संविधान अहिले जुन आएको छ,नेपालको इतिहासमा यो भन्दा अधिकारसम्पन्न संविधाननै थिएन । भारतकै संघीयता र हाम्रो हेर्ने हो भन यो धेरै माथि छ । हामीकहाँ जति दिए पनि पुगेन भन्ने एक किसिमको भावना छ । त्यही प्रकट भएको हुन सक्छ । काम गर्न नसकेपछि माथिबाट अवरोध भयो भन्ने पनि होला । कतिपय मान्छेले नाँच्न नजानेपछि आँगन टेढो भन्छन् । मलाई चाहिँ आँगन टेढो जस्तो लाग्दैन ।

प्रदेश २ ले मुद्दा लडेर वन परियोजना लियो, तपाईहरुले चाहिँ संघ सरकारबाट कतिपय आयोजना प्रदेशका खोसिए भन्ने महशुस गर्नुभएको छैन ?

हामीसँग यस्ता धेरै परियोजनाहरु छन्, जसले हामीलाई नै भारी भइरहेको छ । हामीलाई कामको खाँचो छैन । यो प्रदेशभित्र केन्द्रीय राजधानी पनि छ । सबैभन्दा ठूलो जनसंख्याको हिस्सा यसमा बस्छ । नेपालभित्रका कृषि उजहरुको सबैभन्दा बढी खपत हुने बजार यहाँ छ । बजारको दुःख नभएको प्रदेश हो ।

प्रदेश सरकारले गर्ने काम गरिरहेको छ र यसमा हामीलाई संघबाट कुनै समस्या पनि छैन । हामी ४८ अर्बको बजेट परिचालन गर्दैछौं । पूर्वाधार, कृषि, पर्यटनका क्षेत्रमा राम्रो परिणाम दिन सक्छौं ।

पूर्वाधार भन्नेवित्तिकै सडककै कुरा आउँछ, तपाईले दिने बजेट गाउँका पाखा खनेर प्राकृतिक विपत्ति निम्त्याउन खर्च भइरहेको छ, यसलाई व्यवस्थित गरेर रणनीतिक सडक बनाउनुपर्ने होइन र ?

तपाईले भनेको ठीक हो र प्रदेश सरकारले नीति पनि बनाएको छ । तर, भुकम्पले हाम्रा पुराना संरचना सबै सकिए । यो प्रदेश भूकम्पका कारण सबैभन्दा पीडित भयो । हाम्रा पुर्खाले बनाएका घरका संरचना अब छैनन् । नयाँ बनाउनेक्रममा ढुंगा माटोको ठाउँमा सिमेन्ट,गिटी बालुवा प्रयोग हुन थाल्यो ।

ती निर्माण सामाग्री घर बनाउने ठाउँसम्म लैजान पनि मान्छेले सडक खोजे । भौतिक पुर्वाधार हुँदै नभएका जिल्लामा बाटो बनाएँ भनेर भोट ल्याउनुपर्ने जनमत पनि छ । अलि बढी भयो भन्ने लागेको छ, यसलाई केही न केही व्यस्थित त गर्नैपर्छ । भौतिक पूर्वाधारको सवालवमा नयाँ भएकाले अलि बढी सडकमा बजेट गएको हो । त्यसको सदुपयोग हुने र प्राकृतिक विपत्ति ल्याउन नदिने गरी प्राविधिक सर्बे गराउनुपर्छ ।

प्रदेशको बजेटचाहिँ अर्थमन्त्रीले रामेछाप केन्द्रित गरेको गुनासो प्रदेश सांसदहरुको आएको छ नि ?

बजेट किताब सार्वजनिक छ । हामीले के भन्यौं भने, सबैभन्दा तल परेकोलाई माथि ल्याउने भनेर घोषणापत्रमै राख्यौं । प्रदेशभित्र फोकस गर्दै जाँदा गाडी कम पुगेको, पूर्वाधार कम भएको, कमजोर भएको ठाउँलाई प्राथमिकता दिने भनियो । बजेट बनाउँदा त्यो कमजोर भएको जिल्ला रामेछाप देखियो । नक्सा आएपछि मैले रंग त लगाउनैपर्‍यो ।

त्यसैले रामेछाप रसुवा, सिन्धुली यी जिल्लालाई बढी प्राथमिकता दिइएको हो । काठमाडौंमा त पिच बाटो छ, रामेछापमा चाहिएन ? रामेछापमा कलेज बनायो भनेर काठमाडौंका जनप्रतिनिधि रिसाउनुहुँदैन । त्यसैले रामेछापमा पूर्वाधारको विकासमा बढी फोकस गरेकै हो ।

दुईटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्, त्यहाँ सडक पूर्वाधारमा ध्यान दिएको हो । खिम्ती खोलाको गालातिर भन्दा लिखु क्षेत्र पछि परेको देखेपछि मैले धोबिबाट सैपु दुरागाउँ,भुजी,प्रिति हुँदै बाम्ति गुम्देल जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राखेर बजेट दिँदैछौं । त्यस्तै लिखु कोरिडोर भनेर कोलन्जोर घाटाबाट ढाँडेबेसी लैजादैछौं । पर्यटकीय केन्द्र शैलुङसम्म खैरेनीघाटबाटको बाटो लैजानैपर्ने भयो । शैलुङको गेटवे खैरेनीघाट हुनेभयो । हामीले डहुबेसी देखि दोरम्बासम्मको सडक बनाउनैपर्ने छ । त्यसैले रामेछाप केन्द्रित भयो भन्न मिलेन ।

यसका साथै हामीले प्रदेशमा पर्यटन विकासमा फोकस गरेका छौं । दोलखापछि रामेछाप पनि पर्यटकीय केन्द्र बनोस भनेर जटापोखरीमा केबलकार हाल्दैछौं । तामेडाँडामा पनि अध्ययन हुँदैछ । कृषि र पर्यटन हाम्रो प्राथमिकता हो । प्रदेश सरकार बनेपछि जनताले महशुस हुने गरि काम नगर्ने हो भने किन चाहियो संघीयता भन्ने प्रश्न उठ्छ । त्यसैले रामेछापमात्र होइन, समग्र प्रदेशको विकासको गति अब बढछ  ।



source https://www.onlinekhabar.com/2020/02/832912

अक्षय स्टारर ‘सूर्यवंशी’मा ज्याकी श्राफको इन्ट्री

काठमाडौं । अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’ छायांकनको अन्तिम चरणमा छ । पुलिस अफिसरको कथामा बनेको यस चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गरिरेहका छन् । चलचित्र एक्सनप्रधान बन्नेछ ।

चलचित्रको मुख्य नायिकाको रुपमा कटि्रना कैफ देखिँदैछिन् । साथै यस चलचित्र ‘सिंघम’ स्टार अजय देवगण र ‘सिंम्बा’ स्टार रणवीर सिंहलाई पनि देख्न सकिनेछ । उनीहरुलाई चलचित्रको क्लाइमेक्समा देखाइएको निर्देशक सेट्ठीले बताएका छन् ।

यस्तैमा चलचित्रमा भेट्रान अभिनेता ज्याकी श्राफको प्रवेश भएको छ । २ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका ज्याकीलाई यस चलचित्रमा अतिथी कलाकारको रुपमा देख्न पाइने छ । निर्माण पक्षले एक तस्वीर सार्वजनिक गर्दै हाल ज्याकीको पार्टको छायांकन चलिरहेको जानकारी दिएको छ ।

‘सूर्यवंशी’ यस वर्षको प्रतिक्षित चलचित्र हो । ‘सिंघम’ र ‘सिंम्बा’ जस्ता सफल चलचित्रको सिरिज चलचित्र भएका कारण पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । त्योमाथि मसलेदार चलचित्र निर्माणमा खप्पिस निर्देशक रोहितको चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले कुरिरहेका छन् ।

यस चलचित्रले मार्चको २७ तारिखलाई आफ्नो रिलिज मिति तय गरेको छ ।



source https://www.onlinekhabar.com/2020/02/832896

सरकारले थाल्यो दुर्घटनाग्रस्त क्षेत्र र सडकको अध्ययन

१८ माघ, काठमाडौं । सरकारले दुर्घटनाग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न अध्ययन थालेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार ठूला दुर्घटना भइरहेका राजमार्ग र दुर्घटनास्थलमा ट्राफिक प्रहरी र विज्ञसहितको टोलीले अध्ययन सुरु गरेको छ ।

‘सिन्धुपाल्चोकका दुर्घटनाग्रस्त क्षेत्रबाट हामीले अध्ययन थालेका छौं,’ उनले भने, ‘अब बीपी राजमार्ग र पूर्वपश्चिम राजमार्गका विभिन्न स्थलहरुको पनि अध्ययन गरेर दुर्घटना कम गर्ने उपाय खोज्छौं ।’

यो कामका लागि उपमहानिर्देशक सापकोटाको नेतृत्वमा टोली खटिएको छ । टोलीले काभ्रे, सिन्धुली, सुनसरी, धादिङलगायतका क्षेत्रका सडकको अवस्था हेरेर सुधारका लागि गर्नुपर्ने कामबारे सिफारिस गर्नेेछ ।

गत मंसिर २९ गते सिन्धुपाल्चोकमा १५ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएपछि सरकारले सुरुवाती कदमहरु चाल्न सुरु गरेको हो ।

सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भन्दै प्रधानमन्त्री ओलीले चालकहरुलाई तालिम, लाइसेन्सको पुनःपरीक्षण, सडक पूर्वाधारको सुधार र प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न भनेका थिए । हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।

अहिले सरकारले दुर्घटना घटाउन विभिन्न उपायको खोजी भइरहेको बताएको छ । यातायात व्यवस्था विभागले चालकको अन्त ध्यान मोड्ने खालका ट्रक साहित्यलगायतका सामाग्री हटाउन निर्देशन जारी गरिसकेको छ ।

सवारी चालकलाई सहज हुने गरी सडक पूर्वाधारहरु सुधार गरेपछि दुर्घटनामा कमी आउने सडक विभागको विश्वास छ ।

यो पनि पढ्नुहोस दुर्घटना निम्त्याएको भन्दै ‘ट्रकसाहित्य’मा रोक

उपचार खोजौं : विज्ञ

दैनिकजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

तर सरकार र सरोकारवाला निकायले भने हरेक सवारी दुर्घटनालाई भवितव्यका रुपमा मात्रै व्याख्या गर्दै आएका छन् । सडक सुरक्षाबारे हेर्ने छुट्टै नियमनकारी निकाय स्थापना गर्ने विषय उठेको वर्षौं बित्यो ।

तीव्र गतिमा गाडी चलाउनु, चालकले मादक पदार्थ सेवन गर्नु, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको दुरावस्थाका कारण दुर्घटना हुने गरेका छन् ।

चालकलाई जिम्मेवार बनाउने, सडक पूर्वाधारमा सुधार गर्ने, सवारी साधनको उच्च प्राविधिक अवस्थाको वैज्ञानिक जाँच गर्ने, चालक, यात्रु र नियामक निकायद्वारा कानुनको परिपालना गराउनेलगायतका विषयमा जोड नदिएसम्म सडकमा जोखिम नघट्ने बताउँछन् विज्ञहरु । सरकारले आपतकालीन उद्धार, उपचार र पुनःस्थापनामा पनि ध्यान दिएर नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सडक सुरक्षा विज्ञ पदमबहादुर शाही सडकलाई सुरक्षित बनाउन सरकारको ध्यान नपुगेको बताउँछन् । उनकाअनुसार सातै प्रदेशमा भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने सरकारी नीति अधुरै छाड्दा त्यसको असर सडकमा देखिने गरेको छ । यस्ता सेन्टरमा नियमित रुपमा सवारीको यान्त्रिक तथा भौतिक अवस्था निरीक्षण गरेर पास भएकालाई मात्रै सडकमा गुड्न अनुमति दिने सरकारी नीति कागजमै सीमित छ ।

ओभरलोड रोक्ने गरी कडा कानूनी व्यवस्था छैन भने तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई आधुनिक र व्यवहारिक साधन र प्रणाली उपलब्ध गराइएको छैन ।

ग्रामीण सडकमा दुर्घटनाको जोखिम अझै उच्च छ । ग्रामीण सडक पूर्वाधारको अवस्था दयनीय भएकाले ठूला दुर्घटनाको भय हुने गरेको छ ।

देशभर करिब १ लाख किलोमिटर सडक सञ्जाल छ । तीमध्ये अधिकांश धुले सडक हुन् । १५ हजार किलोमिटरको राष्ट्रिय राजमार्गमध्ये पनि धेरै खण्ड अझै कालोपत्रे भएको छैन । सडकहरु बनाउन केन्द्रित संघ, प्रदेश र स्थानीय सरकारहरुले सुरक्षामा भने खासै ध्यान दिएका छैनन् । राष्ट्रिय राजमार्गमा सवारी सुरक्षाका लागि ‘क्र्यास ब्यारियर’ राखिए पनि यो सबै ठाउँमा पुगेको छैन ।



source https://www.onlinekhabar.com/2020/02/832907

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More