Sunday, 1 March 2020

अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटे पिट

१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावी दौडमा होमिएका समलिंगी उम्मेदवार पिट बुटजज पछि हटेका छन् ।

इन्डियाना राज्यका भूतपूर्व मेयरसमेत रहेका ३८ वर्षीय पिटले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका थिए । राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी घोषणा गर्ने उनी पहिलो समलिंगी हुन् । केही सातादेखि उनको अभियानले गति समाएको थियो । फेब्रअरी ३ मा भएको प्राइमरीमा उनी आश्चर्यजनक रूपमा विजयी भएका थिए । तर, उनले अभियान परित्याग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, उनले चुनावी दौडबाट पछि हटेको औपचारिका घोषणा भने गरेका छैनन् ।

किन भए व्याक

राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्र्याटिकका तर्फबाट कैयनले आकांक्षा देखाएका थिए । तर, आकांक्षीहरू बाहिरिने क्रम जारी छ । शनिबार मात्रै अर्बपति टम स्टायर दौडबाट बाहिरिएका थिए । यो कित्तामा पिट पनि उभिएपछि अब डेमोक्र्याटका राष्ट्रपति उम्मेदवारका आकांक्षीको संख्या ६ मा झरेको छ । आकांक्षी बढी भएपछि आउँदो मंगलबार निर्वाचन गरेर टुंगो लगाउने तयारी छ ।

त्यसअघि नै पिटले उम्मेदवारीबाट हात उठाउनुको कारण अन्य उम्मेदवारले पछि पार्नु ठानिएको छ । शनिबार साथ क्यारालाइनमा उनी चौथो स्थानमा समेटिएका थिए ।

उम्मेदवारको दौडमा जो बाइडन, बर्नी स्यान्डर्सलगायत छन् । बर्नी वामपन्थी विचारधारामा झुकाव भएका नेता हुन् ।

अमेरिकामा सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । डेमोक्र्याटका तर्फबाट छानिने उम्मेदवारले रिपब्लिकनका तर्फबाट खडा हुने हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् ।



source https://www.onlinekhabar.com/2020/03/840855

सर्वशास्त्रको एउटै मत : आमा नभएको घर उजाड जंगल जस्तो

आमाको सर्वाेच्चताको विषयमा धेरै चर्चाहरु हुन्छन् । शास्त्रलाई उद्धृत गर्दै आमाको विषयमा धेरै चर्चाहरु चल्ने गर्छन् । दर्शन, विज्ञान, धर्मदेखि पूर्ण रुपमा भौतिकवादमा विश्वास गर्ने व्यक्तिहरुसम्मले स्वीकारेको कुरा हो आमाको सर्वाेच्चता ।

भौतिकवादको पूरा विरोध गर्ने वेदान्तले समेत प्रकृतिको रुपमा आमाको महत्वलाई प्रस्तुत गरेको छ । सांख्य दर्शनले त झनै प्रकृति नै सृष्टिको मुख्य कारकको रुपमा व्याख्या गर्ने गर्छ । कुनैपनि घर आमाको अभावमा घर बन्न सक्दैन ।

यो एउटा उजाड मरुभूमि जस्तो बन्छ भन्ने यथार्थ सर्वशास्त्रको निचोडको रुपमा देख्न सकिन्छ । यद्यपि चाणक्य दर्शनले भने यो विषयमा स्पष्ट नै आमा बिनाको घरलाई जंगलको संज्ञा नै दिएको छ । आमाको महत्वको बारेमा चाणक्य नीति भन्छ :

माता यस्य गृहे नास्ति भार्या चाप्रियवादिनी ।

अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।।५।।

अर्थात्, जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमतीको बोली रुखो र छुच्चो स्वभाव हुन्छ । त्यो घर नभएर जंगल समान हुन्छ । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।

आमा केवल भौतिक शरीर मात्रै नभएर यो एउटा स्नेहवाची शब्द पनि हो । जहाँ आमाको स्नेह हुन्छ वा आमाको शुभ दृष्टि परेको हुन्छ । त्यो घर आफैंमा सुवर्णले सुसज्जित घर जस्तै उज्यालो हुन्छ भन्ने धेरै शास्त्रहरुमा उल्लेख पाइन्छ ।

पूर्वीय साहित्यहरु वेद, पुराण, दर्शन, संस्मरण, महाकाव्य, उपनिषद आदि सबै आमाको विशाल महिमाले भरिएका छन्। असंख्य ऋषि, सन्यासी, पण्डित, महात्मा, विद्वान, दार्शनिक, साहित्यकार र कलाकारहरूले पनि आमाप्रतिको भावनालाई चुलीमा पुर्याउन हर प्रयास गरेको देखिन्छ ।

यी सबैको बाबजुद पनि, कुनै पनि शब्द आमा शब्दको समग्र परिभाषा र यसको असीम महिमालाई शब्दमा व्यक्त गर्ने गरिएको छैन । हामी नेपाललाई आमा भन्छौं, गाईलाई आमा भन्छौं । जोसँग हामी आश्रित छौं या जो बिना हामी बाँच्न सक्दैनौं त्यो समूहवाची शब्द नै आमा हो । जसरी आस्तिक दर्शनले संसारको सबै चराचर जगतमा ब्रह्म रहेको उल्लेख गर्छ ।

त्यस्तै, हरेक स्नेह, प्रेम र सफलतामा आमाको तिरोहित (घेरिएको) भएर रहेको मान्ने गरिन्छ । समग्रमा आमा केवल आमा मात्रै नभएर सिंगो समूहवाची शब्द हो । त्यसैको एउटा मूर्त एवं सजीव चित्रण हुन् जन्म दिने आमा । यो शास्त्रको मत हो ।

वेदहरुमा आमालाई अम्बा, अम्बिका, दुर्गा, देवी, सरस्वती, शक्ति, ज्योति, पृथ्वी इत्यादि शब्दद्वारा सम्बोधन गरिएको छ । यस बाहेक आमालाई माता, मातु, आमा, अम्मा, अम्मी, जननी, जनमात्री, जीवनदायिनी, जनयात्री, धत्री, प्रसु आदि शब्दले समेत चिन्ने गरिन्छ ।

ऋग्वेदमा आमाको महिमाबारे भनिएको छ, ‘हे उषाकी समान आमा ! हामीलाई महान मार्ग अनुसरण गर्न प्रेरित गर्नुहोस् । तपाईंले हामीलाई नियमप्रेमी बनाउनुहुन्छ । हामीलाई महिमा र महान उदारता दिनुहोस् ।’

त्यस्तै, सामवेदमा भनिएको छ, ‘हे जिज्ञासु छोरा ! आमाको आदेशहरू पालन गरेर आमालाई कष्ट नदेऊ। आफ्नी आमालाई आफूसँगै राख । दिमाग शुद्ध पार र आचरणको ज्योति उज्यालो पार ।’

श्रीमद्भागवत पुराणमा भनिएको छ ‘आमाको सेवाबाट प्राप्त आशीषले सात जन्मको कष्ट र पापलाई पनि हटाउँछ । उनको भावनात्मक शक्तिले बच्चाहरूको सुरक्षा कवचको काम गर्छ।’ यसका साथ श्रीमद्भागवतमा भनिएको छ कि आमा बच्चाको पहिलो गुरु हुन् ।’ महाभारतमा जब यक्षले धर्मराज युधिष्ठिरलाई सोध्छन्, भूमिभन्दा भारी के छ ?’ युधिष्ठिर उत्तर दिन्छन् :

माता गुरुतारा भुमेरू

अर्थात्, आमा यस भूमिभन्दा पनि भारी हुनुहुन्छ ।

साथै, महाकाव्य महाभारतका लेखक महर्षि वेदव्यासले आमाको बारेमा लेखेका छन्।

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गति:।

नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।

अर्थात्, आमा जस्तो छाया कतैपनि छैन, आमाको जस्तो साहारा कतै छैन । त्यहाँ आमा समान रक्षक अरु कोही पनि छैन र समग्रमा आमा जस्तो प्रिय चीज नै केही छैन ।

यही भावलाई पुष्टि गर्दै तैत्तेरीय उपनिषद् लेख्छ :

मातृ देवो भव:

अर्थात्, आमा ईश्वर समान हुनुहुन्छ ।



source https://www.onlinekhabar.com/2020/03/840851

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष

१९ फागुन, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका ७ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।

कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए ।

‘दार्चुला र बैतडीमा नेपाल–भारत सीमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ,’ प्रवक्ता खड्काले भने, ‘गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ ।’

उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिए । सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निर्णयसमेत गरेको थियो ।

सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजनासमेत बनाउन पहल भएको छ ।

त्यसैगरी, कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2020/03/840853

आँबुखैरेनी बजार सीसी क्यामराको निगरानीमा

१९ फागुन, दमौली । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सीसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सीसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सीसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सीसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए । ‘बजार क्षेत्रमा जडान गरिएका २९ सीसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छौं,’ उनले भने, ‘सीसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पुर्याउँछ ।’

प्रहरीले सीसी क्यामराको माध्यमबाट चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा १९ सीसी क्यामरा जडान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र र राजमार्गमा सीसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाको शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बीच भाग, इलाका प्रहरी कार्यालयलगायतका ठाउँमा सीसी क्यामरा जडान गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/03/840847

राप्रपा महाधिवेशनमा ४५ सय प्रतिनिधि सहभागी हुने

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन् । राप्रपाको संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।

तोकिएको न्युनतम सकृय सदस्यता नबनेका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ । गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, संघ र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

८ जनामा अनिवार्य २ महिला, १ उत्पीडित, २ जना आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ जना अन्यबाट गरी प्रतिनिधित्व रहने छ। महाधिवेशनमा प्रवासबाट सहभागी हुनेसमेत जोड्दा ४ हजार ५ सय प्रतिनिधिको सहभागीता रहने राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपाले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

महाधिवेशनको पूर्वतयारीस्वरुप केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

थापाले समय सीमाभित्र तोकिएको कार्य सम्पन्न गर्न, नियमित अनुगमन गर्न तथा तल्लो तहको अनुशिक्षण बैठक र सकृय सदस्यता अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना–प्रविधि विभाग प्रमुख राजाराम बर्तौलालगायतको उपस्थिति थियो ।



source https://www.onlinekhabar.com/2020/03/840845

म्यानचेष्टर सिटी लगातार तेस्रो पटक च्याम्पियन

१९ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले उपाधिमा ह्याट्रिक गरेको हो ।

पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि हो । सर्वाधिक उपाधि जित्नेमा सिटी दोस्रो स्थानमा छ । लिभरपुलले ८ र सिटीले ७ पटक उपाधि जितेका छन् ।

सिटीको जितमा सर्जियो अगुएरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि मबवाना समताले एक गोल फर्काए ।

प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले लिगमा भने यसपटक राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग लिडर लिभरपुलभन्दा २२ अंले पछि रहेको सिटी उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/03/840848

‘कोरोना संक्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन’



source https://www.onlinekhabar.com/2020/03/840840

कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता

१९ फागुन, काठमाडौं । चीनले नियन्त्रणमा आउँदै गरेको दाबी गरेको कोरोना भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता बढेको छ ।

शनिबार कतारमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यसअघि मलेसियासहित मध्यपूर्वी एसियाली देश यूएई, कुवेत, लेबनान, ओमान र बहराइनमा कोरोना भाइरसका संक्रमितहरु भेटिइसकेका छन् ।

चीन, जापान र कोरियापछि नेपाली कामदार बाहुल्य देशहरुमा कोरोना भाइरस देखिने र संक्रमण फैलिने क्रम तीव्र भएको छ । मध्यपूर्वी देश इरान र युरोपियन मुलुक इटाली पनि कोरोनाबाट प्रभावित बनेका छन् ।

करिब ४० लाख नेपाली विभिन्न मुलुकमा श्रम गरिरहेका छन् । कोरोनाले वैदेशिक रोजगार गन्तव्य मुलुकहरु प्रभावित हुने भएपछि त्यहाँ रहेका नेपालीहरुले अप्ठेरो अवस्था सामना गर्नुपर्ने चिन्ता बढेको छ ।

चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न परेमा फलामको चिउरा चपाउनुसरह हुनेछ

अहिलेसम्म दक्षिण कोरियामा ३ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको छ । १८ जनाको मृत्यु भइसकेको छ । यो मुलुकमा ४४ हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् । यद्यपि अहिलेसम्म नेपालीहरुमा कोरोना संक्रमण भएको छैन ।

खाडी मुलुक इरानमा ५९३ जनामा संक्रमण हुँदा ४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ हजार १२८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । जापानमा २४५ जनामा संक्रमण भेटिएको छ र ५ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा १०२, फ्रान्समा १००, हङकङमा ९५, अमेरिकामा ६२, स्पेनमा ४६, कुवेतमा ४५, थाइल्यान्डमा ४२, बहराइनमा ३८, मलेसियामा २५, अष्ट्रेलियामा २४, बेलायतमा २३, यूएईमा १९, क्यानडामा १४, इराकमा १३, मकाउमा १०, लेबनानमा ७, नर्वे तथा ओमानमा ६/६, इजरायलमा ५, भारतमा ३ र कतारमा १ जनामा कोरोना संक्रमण भेटिएको छ । यी देशहरु नेपाली कामदार तथा विद्यार्थीहरु रहेका मुलुक हुन् ।

न सावधानी, न तयारी

नेपाली कामदारको बर्चस्व रहेको मध्यपूर्वी एसियालाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम रहेको राष्ट्रका रुपमा सूचीकृत गरेको छ । आफैं पनि यो सूचीमा रहेको नेपालले भविश्यमा मलेसियासहितका खाडी देशमा कोरोनाका कारण आइपर्नसक्ने गम्भीर जोखिमलाई ध्यानमा राखेर अहिलेसम्म कुनै तयारी थालेको छैन ।

कोरियाबाहेकका श्रम गन्तव्य मुलुकमा जाने कामदार रोकिएका त छैनन् नै, त्यहाँबाट आएका कामदारको भरपर्दो स्वास्थ्य परीक्षण संयन्त्र बनाइएको छैन । भविश्यमा चीनमाजस्तै संकट आइलागे कामदारलाई उद्धार गर्ने वा नेपालीको जीवन रक्षाका लागि त्यहाँको सरकारसँग उचित सहकार्य गर्नेबारे कूटनीतिक पहल र वार्ता पनि थालिएको छैन ।

अहिले कोरोना पुष्टि भएपछि श्रम गन्तव्य देशका नेपाली दूतावासले सचेत रहन भन्दै नेपालीहरुका लागि वेबसाइटहरुमा सामान्य सूचना मात्रै जारी गरिरहेका छन् । त्योभन्दा बाहेक अरु सचेतना र सावधानीका लागि प्रभावकारी पहलकदमी उठाइएको छैन । सूचनाको अभावले कामदारहरुमा त्रास उत्पन्न गराइरहेको छ ।

कोरियाली सरकारले परराष्ट्र मन्त्रालयलाई पत्र नै लेखेर नेपाली कामदारको जीवनरक्षाका लागि आफू प्रतिवद्ध भएको बताएको छ । तर, त्यसबाहेकका श्रम गन्तव्य मुलुकले यसबारे सरकारलाई अहिलेसम्म केही भनेको छैन ।

खाडीका मुलुकहरु स्वास्थ्य सतर्कता अपनाउन स्रोत, दक्षता र प्रविधिका हिसावले चीन, कोरिया र जापानजति बलिया छैनन् । यसले गर्दा पनि त्यहाँ कार्यरत नेपालीमा कोरोना संक्रमण देखिए नेपाल जतिसुकै बेला गम्भीर समस्यामा पर्न सक्ने जोखिम रहेको विज्ञहरुको चिन्ता छ ।

चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न परेमा फलामको चिउरा चपाउनुसरह हुनेछ ।

संसदीय समिति खाडी गएन

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ नेपाली कामदारको जीवनरक्षामा त्यहाँको सरकारभन्दा बढी नेपाल सरकार नै जिम्मेवार बन्नुपर्ने बताउँछन् । त्रिभुवन विमानस्थलमा रहेको सामान्यखालको स्क्रिनिङ मेसिनले जोखिम टार्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

मध्यपूर्वी एसियामा उत्पन्न कोरोना त्रासका कारण संसदको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिले खाडी देशको भ्रमण स्थगित गरेको छ । त्यहाँ कार्यरत कामदारको अवस्था बुझ्न जाने भन्दै व्यवसायीसँग टोली विदेश जान लागेको थियो । समितिमा सभापति विमल श्रीवास्तवको नेतृत्वमा व्यवसायी सम्मिलित संसदीय टोली खाडी देशहरुमा जान लाग्दा त्यहाँ कोरोना संक्रमणको उच्च जोखिम रहेको सूचना पाएपछि स्थगित गरिएको हो ।

इरानमा संक्रमण फैलिएर संकटको जोखिम देखेपछि साउदी अरेबियाले पर्यटक भिसा रोकेको थियो । त्यसपछि संसदीय समितिको भ्रमण स्थगित भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

सूचनामात्रै टाँसेर बसे दूतावास

सरकारसँग मलेसियासहित खाडी मुलुकमा कति नेपाली कार्यरत छन् भन्ने कुनै तथ्यांक छैन । करिब ४० लाख नेपाली कामदार ती देशमा रहेको अनुमान छ ।

वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित संकट निम्तिन सक्ने हालको अवस्थामा दूतावासहरुबाट नेपाली कामदारलाई लक्षित गरी पर्याप्त सूचना र सन्देश जारी हुन नसकेको बताउँछन् । त्यहाँ जतिबेला पनि संकट आउन सक्ने अवस्था रहेको भन्दै उनले, दूतावास सक्रिय भएर त्यहाँ रहेका नेपालीलाई ‘मेरो सरकार छ’ भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।

‘दूतावासको फोन नै नउठ्ने गरेको गुनासो अहिले पनि उत्तिकै छ, अब दूतावासहरुले पुरानो तरिकाबाट काम गरेर हुन्न,’ उनले भने, ‘कामदारसँग परामर्श गर्ने, स्थितिको विश्लेषण गर्ने र कामदारलाई सचेत बनाउने काम लगातार गरिरहनुपर्छ ।’

दूतावासहरुबाट सरकारलाई त्यहाँको अवस्थाबारे नियमित रिपोर्ट आउनुपर्ने र त्यसका आधारमा सरकारले यहाँ योजना बनाउने गरी प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने विज्ञको सुझाव छ ।

‘फर्किन चाहे ल्याउनैपर्छ’

भविश्यमा चीनमा जस्तै संकट आए विमान पठाएर नेपाली कामदार उद्धार गरेर ल्याउन सक्ने गरी तयारी गर्नुपर्ने बताउँछन् विज्ञ गणेश गुरुङ । नागरिकको सुरक्षित रहने अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

‘कामना गरौं कि त्यस्तो अवस्था नआओस्, तर कुनै भयावह अवस्था आयो भने सरकारले के–के गर्ने भनेर प्लान ए, बी, सी बनाउनुपर्छ,’ उनी भन्छन्, ‘त्यहाँको सरकारले यदि विदेशी नागरिकको स्वास्थ्य सुरक्षामा लापरवाही गर्‍याे भने हामी चुप लागेर बस्ने अवस्था आउनुहुँदैन ।’

आर्का विज्ञ पण्डित पनि त्यहाँका नेपालीहरुलाई स्वदेश ल्याउने अवस्था अहिले नै नभए पनि स्वस्थ नेपालीले फर्किन चाह्यो भने राज्य त्यहाँ जसरी पनि पुग्नुपर्ने बताउँछन् । जोखिममा रहेको महसुस भएका नेपालीले फर्किन चाहँदा राज्यले ऋण नै गरेर भए पनि विमान पठाउनुपर्ने र प्रक्रिया पूरा गरेर भित्र्याउनुपर्ने उनको भनाइ छ ।

‘रेमिट्यान्समार्फत राज्यलाई ठूलो योगदान गरिरहेकाहरु संकटको भुमरीमा परे भने राज्यले मुख मोडेर बस्न मिल्दैन,’ उनी भन्छन्, ‘अहिलेसम्म सरकार पर्ख र हेरको अवस्थामा भए पनि भविश्यको पूर्वतयारीमा पनि लाग्नुपर्छ ।’

वैदेशिक रोजगार व्यवसायीहरु भने यस्तो अवस्थामा त्यहाँको सरकारलाई कामदारको बसोबास, सुरक्षा, खानपान र रेखदेखमा जिम्मेवार बन्न पहल गर्नुपर्ने बताउँछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले सबै कुरामा त्यहाँको सरकार र रोजगारदाताको भर पर्न नसकिने भन्दै चाहेको बेला आफ्ना नागरिक फिर्ता ल्याउन सक्ने क्षमता बनाउनतिर सरकार लाग्नुपर्नेे बताए ।

के गर्दैछ सरकार ?

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल स्थिति संवेदनशील रहेको स्वीकार्छन् । उनले अहिलेसम्म कुनै पनि कामदारले कोरोनाकै कारण आफू असुरक्षित भएको जानकारी दिएर सहयोग नमागेको बताए ।

उनले यो समय आत्तिएर भन्दा पनि धैर्यतापूर्वक त्यहाँका सरकार र नेपाली दूतावासले जारी गरेको सूचनालाई पछ्याउन र सुरक्षित रहने उपाय अवलम्वन गर्न कामदारहरुलाई आग्रह गरे ।



source https://www.onlinekhabar.com/2020/03/840834

बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

१९ फागुन, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।
आईतबार राति घरेलु मैदानमा भएको खेलमा रियले बार्सिलोनालाई २–० ले हराएको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि रियलले दोस्रो हाफमा दुई गोल गर्‍यो । रियलको जितमा भिनिसियस जुनियर र मारियानो डियाले एक(एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

एल क्लासिकोको जितले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले एक अंक मात्र जोडेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमै पराजित भएपछि रियलका प्रशिक्षक जिदान दबाबमा थिए ।

एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/03/840831

सनम शाक्यकी आमा भन्छिन्– काख रित्याउनेलाई जन्मकैद होस्

१९ फागुन, बिराटनगर । त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका सनम शाक्यको हत्या भएको दुई वर्ष बितेको छ । चूडामणि उप्रेती (गोरे) समूहले यातना दिएर २०७४ फागुन १७ गते मोरङमा शाक्यको हत्या गरेको थियो । उनको शव फागुन १८ गते बिहान बिराटनगरमा भेटिएको थियो ।

शाक्यको शव भेटिएपछि सुन तस्करी प्रकरणको जालो पत्ता लागेको थियो । गोरेसहितको समूहले विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी गरेको निष्कर्षसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन आयात गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।

यो सुनकाण्डको मुद्दा अहिले मोरङ जिल्ला अदालतमा छ । दुई वर्षको अवधिमा मुद्दाको पेशी चढेको छैन । अदालतका सूचना अधिकारी युवराज पौडेल प्रतिवादीको म्याद बुझाउनै समय लागेका कारण मुद्दाको पेशी चढ्ने क्रममा रहेको बताउँछन् ।

त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएपछि नाइके भनिएका चूडामणि उप्रेती गोरेसहितको समूहले यातना दिँदा भरिया शाक्यको उर्लाबारीको मंगलबारेस्थित जंगलमा हत्या भएको थियो ।

शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको सिफारिसपछि जिल्ला सरकारी वकिलको कार्यालयले दुई पूरक अभियोगसहित ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धानको विस्तृत प्रतिवेदन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको थियो । तीनसय भन्दा बढीमाथि अनुसन्धान गर्नुपर्ने नामावलीसहित बुझाएको प्रतिवेदन लामो समयसम्म गुपचुप राखिएको छ ।

दुई वर्षमा न न्याय, न क्षतिपूर्ति

सामान्य परिवारका सनम शाक्य राधिका शाक्यका जेठा छोरा हुन् । एक सन्तान, श्रीमती र आमासहितको परिवारको जिम्मेवारी सनममाथि नै थियो । काम लगाउँछु भन्दै काठमाडौं लिएर गएका गोरेले सनमलाई सुन तस्करीको काममा लगाएका थिए । तर, शाक्यले परिवारलाई ठेक्काका काममा हिसाब–किताब हेर्नुपर्ने भनेर ढाँटेका थिए ।

एक्कासी घरदेखि केही परको जंगलमा हत्या गरी शव बिराटनगरमा ल्याएपछि मात्र सनमको परिवारले घटनाबारे जानकारी पाए ।

‘मेरो छोरो मार्नेलाई आजीवन जेल सजायँ होस्,’ आमा राधिकाले भनिन्, ‘मान्छे मार्न कसैलाई छुट छैन ।’

जेठो छोरो सनमको हत्या भएपछि शाक्य परिवारको दुई वर्ष दुःखै दुःखमा बित्यो । शाक्यका छोरा कक्षा ५ मा पढ्छन् । ‘बुहारी सानोतिनो सहकारीमा काम गर्छे,’ राधिकाले भनिन् ‘महिनामा आउने ५/६ हजारले नाति पढाएर घर चलाउनुपरेको छ ।’

शाक्य परिवारले यो दुई वर्षमा न न्याय पायो, न त क्षतिपूर्ति । राज्यले सुन तस्करीको जालो भत्काएको दाबी गरिरहँदा राधिकाले छोरो गुमाएकी छन् । उनी हत्यामा संलग्न गोरे छुट्छन् कि भन्ने चिन्तामा छिन् । उनी भन्छिन्, ‘मेरो परिवार दुःखैले चलाउछौं, मेरो काख र बुहारीको सिन्दुर खोस्नेलाई जन्म कैदभन्दा बढी सजायँ होस् ।’

सनमका काका धर्मराज शाक्यले अनलाइनखबरसँग भने, ‘सरकारले उपलब्धी हासिल गरें भन्छ, तर पीडित परिवारलाई क्षतिपूर्ति दिएको छैन । नेताहरुलाई गुनासो गर्दा वास्तै गर्दैनन् ।’

कसरी भएको थियो सनमको हत्या ?

त्रिभुवन विमानस्थल हुँदै भित्रिएको तस्करीको सुन चोरेको आरोपमा आफ्नै ग्याङमाथि केरकार गरिरहेका गोरेसहितको समूहले मृतक शाक्य, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई एकै ठाउँमा राखेर चरम यातना दिए । यातनाकै कारण शाक्यको मृत्यु भयो । कार्की र काफ्ले भने भाग्यले बाँचे ।

२०७४ फागुन पहिलो सातादेखि नै केरकार गर्दै आएको गोरे समूहले फागुन १२ गतेदेखि नरेन्द्र कार्कीलाई यातना दिन सुरु गरेको थियो । काठमाडौंमा पटक–पटक यातना पाएपछि १८ गते बिहान करिब ६/७ बजे गोरे, मोहन काफ्ले, भोजराज भण्डारी र दाबा शेर्पा चढेको गाडी कान्छीचोकको जंगलमा पुग्यो । कृष्ण चढेको गाडी पुग्दा खाना पकाई खाएको ठाउँमा मोहन काफ्लेका हातखुट्टा बाँधेर गोरेले पाइपले कुट्दै थिए ।

सनमको हत्याबारे कृष्ण भनिने नरेन्द्र कार्कीले गरेको बयान

सनम शाक्य र म एउटै गाडीमा थियौं । जंगलमा पुगेपछि समन र मलाई भुइँमा झारी हातखुट्टा बाँधी पाइपले कुट्न थाले । कुटेको केहीबेरपछि गोरेले रूखमा बाँधेर यिनीहरुलाई पिट भन्यो ।

गोरेको आदेशपछि टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर र लाक्पा शेर्पाले जंगलवीचमा लगेर रुखमा बाँधेर राखे । ठकुरीले मेरो मुखमा कपडाको बुझो खाँदेर पाइपले हात, खुट्टा र जिउमा हिर्काउन थाल्यो । लाक्पा शेर्पाले पनि त्यसरी नै मोहन काफ्लेलाई कुटपिट गयो । टुकबहादुर मगरले सनम शाक्यलाई कुटपिट गर्‍याे। सुरेन्द्र गौतमले तीन जनालाई पालैपालो कुट्यो ।

कुट्दै मुखको बुझो निकालेर सोधपुछ गर्थे । तर, खोला किनारमा मान्छेको चहल–पहल बढेपछि यातना दिने तरिका फेरियो । मान्छेहरु आएपछि हामीलाई गाडीभित्र राखेर करेन्ट लगाउन थालियो ।

बिहानै पाइपको कुटाइले गर्दा थकित थियौं । बाँधेको रूखबाट ल्याएर सनम शाक्य र मोहन काफ्लेलाई बा १२ च ५९६३ नम्बरको स्कारपियो गाडीमा लगे । मलाई लाक्पा शेर्पा र टुकबहादुर मगरले मे १ च ५३९५ नम्बरको टाटा हाईलेक्स गाडीमा राखेर झ्यालढोका बन्द गरी गाडीको म्युजिक ठूलो बनाएर मुखमा बुझो कोचेर करेन्ट लगाउन थाले । करेन्टको व्यथा सहन नसकेर म बेहोस भएछु । त्यहीबेला यसलाई छाड्दे यो मर्छ भनेपछि गाडीबाट बाहिर निकाली चौरीमा लडाइदिएछन् ।

चौरमा लडाएको १०/१५ मिनेटपछि पानी ल्याएर खान दिएपछि मेरो होस फिरेको हो । सोहीबेला सनम लास्ट भयो भन्दै कोही पानी लिन र कोही ग्लुकोज लिन हिँडे ।

म होसमा आएपछि गोरेले जा सनम शाक्य मरेको छ, छैन हेर् भनी पठायो । सनम शाक्य र मोहन काफ्ले स“गै थिए गाडीभित्र । गाडीमा सनम शाक्य पहेंलो भैसकेको थियो । के भयो भनी मोहन काफ्लेलाई सोधें । स“गै करेन्टको पीडा सहेका काफ्लेले सनम त सकियो भन्ने जवाफ फर्काए । सनमको हात छाम्दा पनि चिसो भइसकेको थियो । नशा चल्न छाडिसकेका थिए । मैले गोरेलाई सनमको मृत्यु भयो भन्ने जानकारी दिएँ ।

सनमको मृत्यु भइसकेपछि लास कसरी व्यवस्थापन गर्ने भन्दै छलफल चल्यो । भोजराज भण्डारीले कोशीमा फालिदिने भने । काल्पनिक दुर्घटना देखाउने पनि सल्लाह भयो । तर, गोरेले जंगलमा नै खाल्डोमा पुर्ने निर्णय सुनाए ।

शाक्यको शवलाई पुर्न टुकबहादुर मगर र सुरेन्द्र गौतमलाई खाल्डो खन्न लगाए । गोरेलाई फोन आएपछि खाल्डो खन्न रोके । सनमको शव गाडीमा सामान्य मान्छे बसेको जस्तै अवस्थामा थियो । पछि लासलाई तौलियाले छोपियो । कसैले सोधे बिरामी जस्तै देखिने बनाइयो । लास रहेको गाडीमा टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर, रोहित आचार्य, लाक्पा शेर्पा र म चढ्यांै । अरू अर्काे गाडीमा चढेर धरानको निर्भाना कन्ट्री क्लबमा पुग्यौं ।

त्यहाँ पुगेपछि कोही बियर खान थाले भने कोही गफ गरेर बसिरहे । सबै बसेको स्थानबाट माधव घिमिरे निस्किए । सबैले राति त्यहीँ बसेर बिहान मात्र हिँड्ने योजना बनाएका थिए । तर, गोरेलाई उर्लाबारीबाट आएको फोनमा सनम शाक्य मरेको खबर उर्लाबारीमा फैलिएको जानकारी दिइयो । सबै तितर–बितर भए ।

योजनाअनुसार भबिन राई भन्ने भविन तामाङ, रुस्तम मिया, रोहित आचार्य र राजन कुमारलाई काठमाडांै जानू भन्दै गोरेले सबैलाई ३/३ हजार रुपैयाँ दियो । राजन कुमार ड्राइभर थिए । मोहन काफ्ले र मलाई कसैलाई नभन्ने बचन गराए ।

रात छिप्पिँदै थियो । गोरेले मे १ च ५३९५ नम्बरको टाटा हाइलेक्स गाडीमा इटहरीतिर पठाए । गोरे, टुकबहादुर मगर, सुरेन्द्र गौतम, दावा शेर्पा र लाक्पा शेर्पा सोही स्थानमा थिए । म र मोहन इटहरीको मितेरी होटेलमा दुईवटा बेड भएको रुम १२०० मा बुक गरेर बस्यौं ।

१८ गते बिहान अन्दाजी ७ बजे गोरेले मोहन काफ्लेलाई फोन गरी टेकराज मल्ल ठकुरीसँग भेटेर एक डकुमेन्टमा साइन गर्न भन्यो । त्यसको केही समयमा ठकुरीले काफ्लेलाई फोन गरी इटहरीको स्वस्तिका होटेलमा बोलाए, जहाँ डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल बास बसेका रहेछन् । उनीहरुले आधा घण्टा थुनेर सनम शाक्यको हत्या सम्बन्धमा सोधपुछ गरे ।

प्रहरीले सनम शाक्यको हत्या सिराहा जिल्लाको लाहान आसपासको जंगलमा भएको हो होइन भनी सोधे । मैले र मोहनले वास्तविकता बताउँदा सञ्जेलले कम्मरको भागमा लुकाएको पेस्तोल देखाउँदै ‘इन्काउन्टर स्पेसलिस्ट सञ्जेल मामा मै हुँ, चिन्छस् ?’ भन्दै डर देखाए । मैले पहिले नै चिनेको प्रतिक्रिया दिएँ ।

सई बालकृष्ण सञ्जेलले डीएसपी प्रजित केसीसँग चिनजान गराउँदै ल्यापटपमा बयान नोट गराए ।

सञ्जेल मामाले लाहानदेखि सनम शाक्यको लाससहितको गाडी लिएर आएको वयान दिन निर्देशन दिँदै होटलबाट बाहिरिए । त्यसपछि डीएसपीसहितको गाडीमा बिराटनगर आउँदा समातियो । बिराटनगर आउँदा डीएसपी प्रजित केसीको गाडीमा म पनि बसेको थिएँ भने टेकराज मल्ल ठकुरीले चलाएको लाससहितको बा १२ च ५९६३ नम्बरको स्कारपियोमा अपराध महाशाखाबाट आएका एकजना प्रहरी चढेका थिए । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटा पिकअपमा सञ्जेल मामा चढेका थिए ।

बिराटनगरको ढाटमा आइपुगेपछि र लाससहितको गाडी र डीएसपी चढेको गाडी ढाटबाट पश्चिम गएर फेरि सोही स्थानमा फर्किएर बिराटनगरको बरगाछी आइपुग्यो । बरगाछीबाट पूर्वतर्फ लाग्ने सल्लाह अनुसार लास बोकेको गाडी पूर्व मोडियो । बरगाछीबाट केही पूर्व पुगेर पुनः उत्तर लागेर केही अगाडि बढेपछि प्रजित केसी चढेको गाडी अगाडि पुगेर शव भएको गाडीलाई छेक्यो ।



source https://www.onlinekhabar.com/2020/03/840832

लीलामणि पौड्याल अयोग्य, नेताका सालीदेखि व्यापारीका छोरीसम्म योग्य

१९ फागुन, काठमाडौं । बुधबार हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र चीनका लागि नेपाली राजदूत फिर्ता बोलाइएको विषयले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक नेपाल भ्रमण वर्ष स्थगित गर्ने सरकारको निर्णय, कोरोनाको बढ्दो जोखिमलगायत विषय पनि आजका पत्रपत्रिकाहरूमा समेटिएका छन् ।

नयाँ पत्रिकाले राजदूत नियुक्तिको प्रवृत्तिबारे मुख्य समाचार लेखेको छ । क्षमतावानहरूलाई फिर्ता बोलाएर अयोग्यहरूलाई राजदूत बनाइएको समाचारको सार छ ।

चीनबाट लिलामणि पौड्याल फिर्ता बोलाइएको प्रसंगसँग जोड्दै नयाँ पत्रिकाले लेखेको छ– पूर्वमुख्यसचिव लीलामणि पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर सरकारले चीनबाट १५ दिनभित्र फर्कन निर्देशन दिएको छ । तर, देउवाको सासू प्रतिभा राणाले जापानमा, ओलीको साली अञ्जन शाक्यले इजरायलमा, यती समूहका सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पाले स्पेनमा र म्यानपावर व्यवसायी शर्मिला पराजुलीले ओमानमा गरेको काममा भने सरकारले प्रश्न गर्न उचित ठानेको छैन ।

छात्रा शिक्षा कोषमा ४७ करोड बजेट भए पनि एक रुपैयाँ पनि वितरण नभएको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

‘जसले दिँदैछन् प्रधानमन्त्रीलाई मिर्गौला’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, झापाकी २२ वर्षीया उनी ओलीलाई यसअघि मिर्गौला दान गर्ने भाइबुहारी अन्जान घिमिरेकी भान्जी हुन् । यस नाताले उनी प्रधानमन्त्रीकी पनि भान्जी नै पर्छिन् । ओलीलाई उनको मिर्गौला प्रत्यारोपण गर्ने टुंगो मंसिरको दोस्रो साता नै लागेको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ ।



source https://www.onlinekhabar.com/2020/03/840824

Saturday, 29 February 2020

क्लासिक टेक र प्रभु टिभीको इन्टरनेट साथै टिभी सेवा

१८ फागुन, काठमाडौं । विगत १० वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरी उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ ।

यो सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौं उपत्यकालगायत प्रायः सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ ।

अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम ‘आयो है आयो’ बजारमा आएको छ । कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान मात्र ९ सय प्रतिमहिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुबिधा निःशुल्क प्रदान गर्ने भएको छ ।

नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुबिधा उपलब्ध गराइएको यो पहिलो पटक हो । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ ।



source https://www.onlinekhabar.com/2020/03/840576

खाना लगत्तै चुरोट र मदिरा : दश गुणा बढी नोक्सानी

धेरैलाई अन्योल हुनसक्छ खाना खाएपछि के गर्ने र के नगर्ने भन्नेमा । हामी धेरैलाई देख्न सक्छौं कि धेरै मानिसहरू खाना खाने बित्तिकै निदाउँछन् वा धेरैको चिया र कफी पिउन जान्छन् ।

यो कतिपय मानिसको बानी बनिसकेको हुन्छ । तर, यसको बेफाइदाको बारेमा नजानेरै पनि धेरैले यस्ता गल्तीहरु गरिरहेका हुनसक्छन् । जुन शरीरको पाचन प्रणालीको लागि नोक्सानदायक हुन्छ । तर, खानाको पाचन प्रणालीको लागि खाना पछि गरिने केही गल्तीहरु निम्नानुसार छन् ।

खाना पछि चिया र कफी पिउनुहुँदैन

खाना खाएपछि तुरुन्तै चिया पिउनु स्वास्थ्यको लागि लाभदायक नहुने चिकित्सकहरु बताउँछन् । किनभने यसले पाचन प्रक्रियामा बाधा उत्पन्न गर्छ । डाक्टरहरुका अनुसार चिया वा कफी खाना खाएको एक घण्टापछिसम्म पनि सेवन गर्नु उपयुक्त हुँदैन ।

चिया वा कफीमा रहेको रासायनिक ट्यानिनले शरीरलाई चाहिने आइरनको अवशोषित प्रक्रियामा बाधा सिर्जना गर्छ । जसले पाचन प्रक्रियामा अवरोध खडा गर्छ । यही बानीको कारण पछि एनिमिया पनि हुनसक्छ ।

खाना खाए लगत्तै फलफूल खानुहुँदैन

खाली पेटमा फलफूल उपभोग गर्नु उत्तम मानिन्छ । तर यही फल खाजा वा बिहान, बेलुकाको खाना पछि खानु राम्रो मानिँदैन । जब तपाईँको पेट भरिएको छ र त्यस फल खान सुरू गर्नुहुन्छ भने यी फलहरू पचाउन कठिनाई उत्पन्न हुन्छ । जसको फलस्वरूप तपाईँ फलहरूको पर्याप्त पोषण प्राप्त गर्नसक्नुहुन्न ।

चिसो पानी नपिउनुहोस्

पिउने पानी पाचनका लागि धेरै महत्वपूर्ण हुन्छ । तर, खाना लगत्तै पानी पिउनु हुँदैन र चिसो वा धेरै चिसो पानी त झनै पिउनु नै हुँदैन। चिसो पानी पिउँदा त्यसले पाचन प्रक्रियालाई कमजोर बनाउँछ । विज्ञहरूका अनुसार हामीले खाना खाइसकेपछि र खाना खाएको ४५ मिनेट पछिसम्म पानी पिउनु हुँदैन ।

खाना पछि चुरोट पिउन बन्द गर्नुहोस्

हामी सबैलाई थाहा छ कि चुरोट खानु स्वास्थ्यको लागि हानिकारक कुरा हो । खाना खाए लगत्तै धुम्रपान गर्नु अझ खतरनाक हुन्छ । किनकि त्यसो गर्दा इरिटिएबल बावल सिन्ड्रोम नामक रोग लाग्नसक्छ ।

जसले अल्सरको खतरा निम्त्याउँछ । हालसम्म गरिएको धेरै अध्ययन अनुसार खाना खाएपछि तुरुन्त खाएको एउटामात्रै चुरोट सेवनले पनि अरु समयमा १० वटा चुरोट खाए बराबरको नोक्सानी शरीरलाई गर्ने गर्छ । त्यसैले खाना खाएपछि चुरोट पिउने बानी परिवर्तन गर्नु नै राम्रो हुन्छ ।

मदिरा सेवन नगर्नुहोस्

खाना खाए पछि रक्सी सेवन गर्ने बानी कसैको छ भने त्यो पाचन प्रक्रियाको लागि एकदमै नोक्सान दायक कुरा हो । शरीर भित्रको आन्ऽालाई यसले ठूलो नोक्सानी पुर्‍याउँछ । रक्सी पिउने बानी नै छ भने खानाभन्दा १० मिनेट अघि नै पिउनु राम्रो हुन्छ । बरु यो कम नोक्सान दायक हुनसक्छ ।

खाना पछि तुरुन्तै ननुहाउनुहोस्

आयुर्वेदका साथसाथै आधुनिक चिकित्सा विज्ञान पनि विश्वास गर्दछ कि खाना खाएपछि तुरुन्तै नुहाउँदा अचानक शरीरको तापक्रम कम हुन्छ । जसले रगतको संचारलाई असर गर्छ ।

यस अवस्थामा पाचन प्रक्रियामा शरीरलाई सहयोग पुर्‍याउने रगतको सञ्चारलाई असर पर्दा पाचन प्रक्रिया बिथोलिने भएकोले खानापछि स्नान गर्ने काम बन्द गर्नु नै राम्रो हुने चिकित्सकहरु सुझाव दिन्छन् ।

 



source https://www.onlinekhabar.com/2020/03/840575

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More