Sunday, 1 March 2020

सनम शाक्यकी आमा भन्छिन्– काख रित्याउनेलाई जन्मकैद होस्

१९ फागुन, बिराटनगर । त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका सनम शाक्यको हत्या भएको दुई वर्ष बितेको छ । चूडामणि उप्रेती (गोरे) समूहले यातना दिएर २०७४ फागुन १७ गते मोरङमा शाक्यको हत्या गरेको थियो । उनको शव फागुन १८ गते बिहान बिराटनगरमा भेटिएको थियो ।

शाक्यको शव भेटिएपछि सुन तस्करी प्रकरणको जालो पत्ता लागेको थियो । गोरेसहितको समूहले विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी गरेको निष्कर्षसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन आयात गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।

यो सुनकाण्डको मुद्दा अहिले मोरङ जिल्ला अदालतमा छ । दुई वर्षको अवधिमा मुद्दाको पेशी चढेको छैन । अदालतका सूचना अधिकारी युवराज पौडेल प्रतिवादीको म्याद बुझाउनै समय लागेका कारण मुद्दाको पेशी चढ्ने क्रममा रहेको बताउँछन् ।

त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएपछि नाइके भनिएका चूडामणि उप्रेती गोरेसहितको समूहले यातना दिँदा भरिया शाक्यको उर्लाबारीको मंगलबारेस्थित जंगलमा हत्या भएको थियो ।

शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको सिफारिसपछि जिल्ला सरकारी वकिलको कार्यालयले दुई पूरक अभियोगसहित ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धानको विस्तृत प्रतिवेदन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको थियो । तीनसय भन्दा बढीमाथि अनुसन्धान गर्नुपर्ने नामावलीसहित बुझाएको प्रतिवेदन लामो समयसम्म गुपचुप राखिएको छ ।

दुई वर्षमा न न्याय, न क्षतिपूर्ति

सामान्य परिवारका सनम शाक्य राधिका शाक्यका जेठा छोरा हुन् । एक सन्तान, श्रीमती र आमासहितको परिवारको जिम्मेवारी सनममाथि नै थियो । काम लगाउँछु भन्दै काठमाडौं लिएर गएका गोरेले सनमलाई सुन तस्करीको काममा लगाएका थिए । तर, शाक्यले परिवारलाई ठेक्काका काममा हिसाब–किताब हेर्नुपर्ने भनेर ढाँटेका थिए ।

एक्कासी घरदेखि केही परको जंगलमा हत्या गरी शव बिराटनगरमा ल्याएपछि मात्र सनमको परिवारले घटनाबारे जानकारी पाए ।

‘मेरो छोरो मार्नेलाई आजीवन जेल सजायँ होस्,’ आमा राधिकाले भनिन्, ‘मान्छे मार्न कसैलाई छुट छैन ।’

जेठो छोरो सनमको हत्या भएपछि शाक्य परिवारको दुई वर्ष दुःखै दुःखमा बित्यो । शाक्यका छोरा कक्षा ५ मा पढ्छन् । ‘बुहारी सानोतिनो सहकारीमा काम गर्छे,’ राधिकाले भनिन् ‘महिनामा आउने ५/६ हजारले नाति पढाएर घर चलाउनुपरेको छ ।’

शाक्य परिवारले यो दुई वर्षमा न न्याय पायो, न त क्षतिपूर्ति । राज्यले सुन तस्करीको जालो भत्काएको दाबी गरिरहँदा राधिकाले छोरो गुमाएकी छन् । उनी हत्यामा संलग्न गोरे छुट्छन् कि भन्ने चिन्तामा छिन् । उनी भन्छिन्, ‘मेरो परिवार दुःखैले चलाउछौं, मेरो काख र बुहारीको सिन्दुर खोस्नेलाई जन्म कैदभन्दा बढी सजायँ होस् ।’

सनमका काका धर्मराज शाक्यले अनलाइनखबरसँग भने, ‘सरकारले उपलब्धी हासिल गरें भन्छ, तर पीडित परिवारलाई क्षतिपूर्ति दिएको छैन । नेताहरुलाई गुनासो गर्दा वास्तै गर्दैनन् ।’

कसरी भएको थियो सनमको हत्या ?

त्रिभुवन विमानस्थल हुँदै भित्रिएको तस्करीको सुन चोरेको आरोपमा आफ्नै ग्याङमाथि केरकार गरिरहेका गोरेसहितको समूहले मृतक शाक्य, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई एकै ठाउँमा राखेर चरम यातना दिए । यातनाकै कारण शाक्यको मृत्यु भयो । कार्की र काफ्ले भने भाग्यले बाँचे ।

२०७४ फागुन पहिलो सातादेखि नै केरकार गर्दै आएको गोरे समूहले फागुन १२ गतेदेखि नरेन्द्र कार्कीलाई यातना दिन सुरु गरेको थियो । काठमाडौंमा पटक–पटक यातना पाएपछि १८ गते बिहान करिब ६/७ बजे गोरे, मोहन काफ्ले, भोजराज भण्डारी र दाबा शेर्पा चढेको गाडी कान्छीचोकको जंगलमा पुग्यो । कृष्ण चढेको गाडी पुग्दा खाना पकाई खाएको ठाउँमा मोहन काफ्लेका हातखुट्टा बाँधेर गोरेले पाइपले कुट्दै थिए ।

सनमको हत्याबारे कृष्ण भनिने नरेन्द्र कार्कीले गरेको बयान

सनम शाक्य र म एउटै गाडीमा थियौं । जंगलमा पुगेपछि समन र मलाई भुइँमा झारी हातखुट्टा बाँधी पाइपले कुट्न थाले । कुटेको केहीबेरपछि गोरेले रूखमा बाँधेर यिनीहरुलाई पिट भन्यो ।

गोरेको आदेशपछि टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर र लाक्पा शेर्पाले जंगलवीचमा लगेर रुखमा बाँधेर राखे । ठकुरीले मेरो मुखमा कपडाको बुझो खाँदेर पाइपले हात, खुट्टा र जिउमा हिर्काउन थाल्यो । लाक्पा शेर्पाले पनि त्यसरी नै मोहन काफ्लेलाई कुटपिट गयो । टुकबहादुर मगरले सनम शाक्यलाई कुटपिट गर्‍याे। सुरेन्द्र गौतमले तीन जनालाई पालैपालो कुट्यो ।

कुट्दै मुखको बुझो निकालेर सोधपुछ गर्थे । तर, खोला किनारमा मान्छेको चहल–पहल बढेपछि यातना दिने तरिका फेरियो । मान्छेहरु आएपछि हामीलाई गाडीभित्र राखेर करेन्ट लगाउन थालियो ।

बिहानै पाइपको कुटाइले गर्दा थकित थियौं । बाँधेको रूखबाट ल्याएर सनम शाक्य र मोहन काफ्लेलाई बा १२ च ५९६३ नम्बरको स्कारपियो गाडीमा लगे । मलाई लाक्पा शेर्पा र टुकबहादुर मगरले मे १ च ५३९५ नम्बरको टाटा हाईलेक्स गाडीमा राखेर झ्यालढोका बन्द गरी गाडीको म्युजिक ठूलो बनाएर मुखमा बुझो कोचेर करेन्ट लगाउन थाले । करेन्टको व्यथा सहन नसकेर म बेहोस भएछु । त्यहीबेला यसलाई छाड्दे यो मर्छ भनेपछि गाडीबाट बाहिर निकाली चौरीमा लडाइदिएछन् ।

चौरमा लडाएको १०/१५ मिनेटपछि पानी ल्याएर खान दिएपछि मेरो होस फिरेको हो । सोहीबेला सनम लास्ट भयो भन्दै कोही पानी लिन र कोही ग्लुकोज लिन हिँडे ।

म होसमा आएपछि गोरेले जा सनम शाक्य मरेको छ, छैन हेर् भनी पठायो । सनम शाक्य र मोहन काफ्ले स“गै थिए गाडीभित्र । गाडीमा सनम शाक्य पहेंलो भैसकेको थियो । के भयो भनी मोहन काफ्लेलाई सोधें । स“गै करेन्टको पीडा सहेका काफ्लेले सनम त सकियो भन्ने जवाफ फर्काए । सनमको हात छाम्दा पनि चिसो भइसकेको थियो । नशा चल्न छाडिसकेका थिए । मैले गोरेलाई सनमको मृत्यु भयो भन्ने जानकारी दिएँ ।

सनमको मृत्यु भइसकेपछि लास कसरी व्यवस्थापन गर्ने भन्दै छलफल चल्यो । भोजराज भण्डारीले कोशीमा फालिदिने भने । काल्पनिक दुर्घटना देखाउने पनि सल्लाह भयो । तर, गोरेले जंगलमा नै खाल्डोमा पुर्ने निर्णय सुनाए ।

शाक्यको शवलाई पुर्न टुकबहादुर मगर र सुरेन्द्र गौतमलाई खाल्डो खन्न लगाए । गोरेलाई फोन आएपछि खाल्डो खन्न रोके । सनमको शव गाडीमा सामान्य मान्छे बसेको जस्तै अवस्थामा थियो । पछि लासलाई तौलियाले छोपियो । कसैले सोधे बिरामी जस्तै देखिने बनाइयो । लास रहेको गाडीमा टेकराज मल्ल ठकुरी, सुरेन्द्र गौतम, टुकबहादुर मगर, रोहित आचार्य, लाक्पा शेर्पा र म चढ्यांै । अरू अर्काे गाडीमा चढेर धरानको निर्भाना कन्ट्री क्लबमा पुग्यौं ।

त्यहाँ पुगेपछि कोही बियर खान थाले भने कोही गफ गरेर बसिरहे । सबै बसेको स्थानबाट माधव घिमिरे निस्किए । सबैले राति त्यहीँ बसेर बिहान मात्र हिँड्ने योजना बनाएका थिए । तर, गोरेलाई उर्लाबारीबाट आएको फोनमा सनम शाक्य मरेको खबर उर्लाबारीमा फैलिएको जानकारी दिइयो । सबै तितर–बितर भए ।

योजनाअनुसार भबिन राई भन्ने भविन तामाङ, रुस्तम मिया, रोहित आचार्य र राजन कुमारलाई काठमाडांै जानू भन्दै गोरेले सबैलाई ३/३ हजार रुपैयाँ दियो । राजन कुमार ड्राइभर थिए । मोहन काफ्ले र मलाई कसैलाई नभन्ने बचन गराए ।

रात छिप्पिँदै थियो । गोरेले मे १ च ५३९५ नम्बरको टाटा हाइलेक्स गाडीमा इटहरीतिर पठाए । गोरे, टुकबहादुर मगर, सुरेन्द्र गौतम, दावा शेर्पा र लाक्पा शेर्पा सोही स्थानमा थिए । म र मोहन इटहरीको मितेरी होटेलमा दुईवटा बेड भएको रुम १२०० मा बुक गरेर बस्यौं ।

१८ गते बिहान अन्दाजी ७ बजे गोरेले मोहन काफ्लेलाई फोन गरी टेकराज मल्ल ठकुरीसँग भेटेर एक डकुमेन्टमा साइन गर्न भन्यो । त्यसको केही समयमा ठकुरीले काफ्लेलाई फोन गरी इटहरीको स्वस्तिका होटेलमा बोलाए, जहाँ डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल बास बसेका रहेछन् । उनीहरुले आधा घण्टा थुनेर सनम शाक्यको हत्या सम्बन्धमा सोधपुछ गरे ।

प्रहरीले सनम शाक्यको हत्या सिराहा जिल्लाको लाहान आसपासको जंगलमा भएको हो होइन भनी सोधे । मैले र मोहनले वास्तविकता बताउँदा सञ्जेलले कम्मरको भागमा लुकाएको पेस्तोल देखाउँदै ‘इन्काउन्टर स्पेसलिस्ट सञ्जेल मामा मै हुँ, चिन्छस् ?’ भन्दै डर देखाए । मैले पहिले नै चिनेको प्रतिक्रिया दिएँ ।

सई बालकृष्ण सञ्जेलले डीएसपी प्रजित केसीसँग चिनजान गराउँदै ल्यापटपमा बयान नोट गराए ।

सञ्जेल मामाले लाहानदेखि सनम शाक्यको लाससहितको गाडी लिएर आएको वयान दिन निर्देशन दिँदै होटलबाट बाहिरिए । त्यसपछि डीएसपीसहितको गाडीमा बिराटनगर आउँदा समातियो । बिराटनगर आउँदा डीएसपी प्रजित केसीको गाडीमा म पनि बसेको थिएँ भने टेकराज मल्ल ठकुरीले चलाएको लाससहितको बा १२ च ५९६३ नम्बरको स्कारपियोमा अपराध महाशाखाबाट आएका एकजना प्रहरी चढेका थिए । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटा पिकअपमा सञ्जेल मामा चढेका थिए ।

बिराटनगरको ढाटमा आइपुगेपछि र लाससहितको गाडी र डीएसपी चढेको गाडी ढाटबाट पश्चिम गएर फेरि सोही स्थानमा फर्किएर बिराटनगरको बरगाछी आइपुग्यो । बरगाछीबाट पूर्वतर्फ लाग्ने सल्लाह अनुसार लास बोकेको गाडी पूर्व मोडियो । बरगाछीबाट केही पूर्व पुगेर पुनः उत्तर लागेर केही अगाडि बढेपछि प्रजित केसी चढेको गाडी अगाडि पुगेर शव भएको गाडीलाई छेक्यो ।



source https://www.onlinekhabar.com/2020/03/840832

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More