Friday, 1 October 2021

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

१५ असोज, काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ वटा पराकम्प गइसकेका छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020917

ललितपुरको पहिलो जित, विराटनगरको लगातार तेस्रो हार

१५ असोज, काठमाडौं। अफगानी खेलाडी अजमतुल्लाह ओमारजाईले अलराउण्ड प्रदर्शन गरेपछि साविक विजेता ललितपुर प्याट्रिओट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा पहिलो जित हात पारेको छ ।

ईपीएल इतिहासकै सर्वाधिक स्कोर बनाएको ललितपुरले शुक्रबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो । ललितपुरका लागि ओमारजाईले अविजित ५८ रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । ललितपुरले अब लिग चरणमा चितवन टाइगर्सविरुद्ध मात्र खेल्न बाँकी छ र प्लेअफ पुग्न उक्त खेल जित्नैपर्नेछ ।

पूर्वविजेता विराटनगरको भने यो लगातार तेस्रो हार हो र ३ खेलपछि अंकविहीन छ । विराटनगरले पोखरा राइनोज र काठमाडौं किंग्स ११ सँग खेल्न बाँकी छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ईपीएलकै सर्वाधिक स्कोर बनाउने क्रममा २२६ रन बनाएको थियो। २२७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १८९ रन मात्र बनायो । विराटनगरले राम्रो सुरुवात गरेपनि लगातार विकेट गुमाउदा लक्ष्यसम्म पुग्न सकेन ।

विराटनगरका लागि दिल्सान मुनाविराले ३९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५९ रन बनाए । यस्तै आसिफ शेखले ३० बलमा ३७, चन्द्रपउल हेमराजले १३ बलमा २८ र सिकन्दर राजाले १२ बलमा २४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा ललितपुरका अजमतुलल्ह ओमारजाईले ४ ओभरमा ४२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २ र योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतकको मद्दतमा २२६ रन बनाएको हो ।

विराकोडीले सर्वाधिक ४३ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा ७३ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका ओमारजाईले अविजित ५८ रन जोडे । उनले २४ बल खेल्दै ७ छक्का प्रहार गरे । नारायण जोशीले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै ४ बलमा अविजित १८ रन जोडे ।

यसअघि तेस्रो संस्करणमा पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्स विरुद्ध २१५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य पूरा गरेको थियो ।

कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर ललितपुरलाई ब्याटिङको निम्तो दिएका थिए । सुरुवात देखि नै आक्रमक ब्याटिङ गरेको ललितपुरले ६ ओभरको पावर प्ले मा नै ७० रन बनाएको थियो । कप्तान कुशल भुर्तेल छैटौं ओभरको अन्तिम बलमा आउट हुनुअघि विराकोडीसंऊ ७० रनको साझेदारी गरेका थिए ।

यसअघि लगातार तीन खेल फ्लप भएका कुशलले विराटनगर विरुद्ध १७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३२ रन जोडे ।

कुशल आउट भएपछि योगेन्द्र सिंह कार्कीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै वारकोडीसंऊ ४१ रनको साझेदारी गरे । आक्रमक ब्याटिङलाई निरन्तरता दिएका योगेन्द्रले १८ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा २७ रन जोडे । पवन सर्राफ २ रन बनाएर आउट भए ।

ललितपुरले खेलमा कूल १९ छक्का र १५ चौका प्रहार गर्दै बाउन्ड्रीबाट मात्रै १७४ रन जोडेको थियो ।

यस्तै पछिल्लो सिजन च्याम्पियन बन्दाका सदस्य जयकिसन कोल्सवालाले १३ रन जोडे । श्रीलंकन ओसादा फर्नान्डोले राम्रो ब्याटिङ गर्न नसकेपछि ललितपुरले उनको स्थानमा कोल्सावालालाई खेलाएको थियो ।

विराटनगरका लागि कप्तान करण केसीले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । यस्तै प्रतिश जिसी, सिकन्दर राजा र दिल्सान मुनाविराले १-१ विकेट लिए ।



source https://www.onlinekhabar.com/2021/10/1020914

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी, महँगीको मारमा उपभोक्ता

१५ असोज, सुर्खेत। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन्। साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन्।

सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो। बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरे।

‘सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्’, उनले भने, ‘दशैँ नजिकिँदैछ, ‘विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्यो।’ प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उनको भनाइ छ।

लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरिद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिए । उनका अनुसार कार्यालयले नुन प्रतिकेजी रु १८ मा बिक्री गर्ने गरेको छ ।

अघिल्ला वर्षहरुमा दशैँ-तिहारमा सहुलियतमा नुन र चिनी बिक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जनाएको छ। यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन बिक्री वितरण गर्दै आएको छ। गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ ।



source https://www.onlinekhabar.com/2021/10/1020904

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो ।

विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन । बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर देखिन्छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।



source https://www.onlinekhabar.com/2021/10/1020907

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

१५ असोज, काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् ।

ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । यद्यपि यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको जोड थियो ।

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।

सचिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने ।’ साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2021/10/1020898

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।

समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए ।

समितिका अनुसार नेपालमा भने असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।

भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत



source https://www.onlinekhabar.com/2021/10/1020868

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

१५ असोज, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । बिहीबार ८८ हजार ७ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ८९ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि महासंघले तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ तोकेको छ । बिहीबार ८८ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ पनि शुक्रबार तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ११२० रुपैयाँका कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११४० रुपैयाँ पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1020867

के नागा र सामन्था डिभोर्स गर्दैछन् ?

विगत केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनेनीको बिच डिभोर्सको चर्चा चलिरहेको छ । उनीहरुले, डिभोर्स गर्ने प्रक्रिया अगाडि बढाएको र अदालतमा मुद्दा दर्ता गरिसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडियाका अनुसार, ३ महिनाभित्र उनीहरुविच डिभोर्स हुनेछ र सामन्थार्लाइ अलग भएपछि गुजारा भत्ता स्वरुप ५० करोड मिल्ने उल्लेख छ ।

तर, यो बिषयमा सामाजिक संजालमा शुभचिन्तकले सोधेको प्रश्नमा सामन्थाले जावफ दिएकी छिन् । डिभोर्सपछि सामन्था हैदराबादबाट मुम्बई सिफ्ट हुन लागेको खबर समेत सार्वजनिक भएको छ । डिभोर्स र मुम्बई सिफ्ट हुन लागेको बिषयमा सामन्थाले लेखेकी छिन्–‘यस्ता किसिमका सयौं गलत खबर कहाँबाट उडिरहेको छ मलाई केही पनि थाहा छैन । म मुम्बई सिफ्ट हुन लागेको खबर गलत हो । हैदराबाद मेरो घर हो र म यही नै रहनेछु । हैदराबादले मलाई सबै कुरा दिएको छ । यसैले, यहाँ म खुशीले बस्न सक्छु ।’

केही समय अगाडि पत्नी सामन्थासँग डिभोर्सको बिषयमा नागा चैतन्यले जवाफ दिदै यस्ता खालका खबरले असर पर्ने उल्लेख गरेका थिए । उनले, आफूले करिअरको सुरुवातदेखि नै व्यक्तिगत र व्यवसायिक जीवनलाई फरक तरिकाले हेरेको भन्दै यी सबै कुरालाई निरन्तरता दिने बताएका छन् ।

सन् २०१७ मा गोवामा नागा र सामन्थाले बिहे गरेका थिए । उनीहरुको बिहेमा १० करोड खर्च भएको थियो ।



source https://www.onlinekhabar.com/2021/10/1020866

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् भनेका रहेछन् । त्यही भएर उनले श्रपेच निकाल्ने प्रयास गरेका थिए ।’ प्रहरीका अनुसार डिप्रेसनमा रहेका उनले त्यो कुरालाई गम्भीरतापूर्वक लिए र श्रीपेच लगाउन भन्दै पक्राउ पर्नुअघि तीन पटकसम्म संग्रहालय प्रवेश गरेका थिए ।

‘खासमा ती व्यक्तिले पनि जिस्किँदै भनेका रहेछन् तर उनले गम्भीरतापूर्वक लिएछन्’ प्रहरी भन्छ । नारायणहिटी दरबार संग्रहालयका एक अधिकारी पनि घर्तीले घटनालगत्तै आफूलाई राजा बन्न मन लागेको बयान दिएका थिए ।

यो पनि पढ्नुहोस खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो

उनका अनुसार घर्तीले पहिलो पटक आउँदै श्रीपेच राखिएको सिसा फुटाउन नसकिने थाहा पाइसकेका थिए । ‘श्रीपेच राखेको ठाउँमा साइरन पनि छ, त्यो थाहा पाएका उनीले अर्को दुई पटकको प्रयास पनि आँट गर्न सकेनछन्’ उनले सुनाए, ‘चौथो पटक श्रीपेच नजिकै राखिएको खुकुरी निकाल्न खोज्दै गर्दा उनी पक्राउ परे ।’

उनका अनुसार खुकुरी राखिएको सिसा उनले मुड्कीले हानेर फुटाए तर निकाल्न सकेनन् । ‘खुकुरी निकालेको भए सुरक्षाकर्मी पनि भाग्ने स्थिति आउन सक्थ्यो अथवा अप्रिय घटना हुनसक्थ्यो’ उनले सुनाए, ‘उनले खुकुरी दापबाट निकाल्न नसक्दा तीन जना सैनिक गएर घेरा हालेर समाते ।’

सैनिकले समात्दा उनको हातबाट रगत बगिरहेको थियो । त्यसपछि एक जवानले उनको हातमा ब्यान्डेज पनि लगाइदिएको उनी बताउँछन् । त्यसपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको जिम्मा लगाइएको उनले बताए ।

यो पनि पढ्नुहोस यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

दरबारमार्गका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर पौडेलका अनुसार घर्तीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ‘उनको मानसिक अवस्था ठिक नभएकाले अरु कसुर पुष्टि गर्न गाह्रो हुने हुँदा अभद्र व्यवहारको कसुरमा म्याद थप गरेका हौं’ पौडेलले अनलाइनखबरसँग भने, ‘हाल अनुसन्धानका लागि ५ दिन म्याद लिएका छौं ।’

 



source https://www.onlinekhabar.com/2021/10/1020861

एमाले प्रदेश-२ को संसदीय दलको नेतामा मण्डल चयन

१५ असोज, जनकपुरधाम। नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई चयन गरिएको छ । मण्डल यसअघि पनि दलको नेता थिए ।

पार्टी विभाजनपछि बसेको पहिलो संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले सांसद किशोरी साह ‘कमल’ लाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रमुख सचेतक साहका अनुसार हालै बसेको बैठकले यो निर्णय गरेको छ ।

प्रदेश सभा गठन भएको समयमा मण्डल नै एमालेको संसदीय दलको नेता थिए । एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि मण्डल नै एकीकृत पार्टीको संसदीय दलको नेता थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि मण्डललाई हटाएर शत्रुद्यन महतोलाई नेता बनाइएको थियो । महतो अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका छन् ।

प्रदेश २ मा एमालेका कुल २१ सांसदमध्ये १३ जना नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । अब एमालेसँग ८ सांसद मात्रै बाँकी छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020858

Thursday, 30 September 2021

एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने भएको हो ।

गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् ।

उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020778

वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ फिल्मको सुटिङ शुरु

वीरगञ्जमा ‘बिहार से काठमाण्डु’ चलचित्रको सुटिङ शुरु भएको छ । आशुतोष फिल्म प्रोडक्सन प्रा.लि. एण्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको यो चलचित्रको छायांकन बिहिबारदेखि सुरु गरिएको हो । नविनकुमार अग्रवालको प्रस्तुतीमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् ।

चलचित्रमा वीरगञ्जकै गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन् । चलचित्रका लािग करिब १ करोड बजेट खर्च गरिने निर्माता किरणले बताए । किरणले भोजपुरी सस्कृतिको प्रवद्र्धनका लागि चलचित्र बनाउन लागेको बताउँदै परिवार नै बसेर हेर्न मिल्ने कथामा चलचित्र बन्ने बताए ।

भोजपुरी नायक परदेशी साहरको साथमा नायिका एलिना बाँस्कोटाले यो चलचित्रमा मुख्य भूमिकामा निर्वाह गर्दैछन् । कोरोना महामारीका कारण थला परेको चलचित्र जगतलाई यो चलचित्रले उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । वीरगञ्जमा हलहरु खुलेपनि दर्शकको चाप भने खासै देखिएको छैन ।

एक महिनामा यो चलचित्रको छायांकन सकेर छठ पर्वको समयमा रिलिज गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रका नायक साहले बिहार र नेपालबीचको सुमधुर सम्बन्धको बारेमा यो चलचित्रले चर्चा गर्ने बताए ।

‘काठमाण्डुको चेली बिहारमा बुहारी बनेर आउँछिन् भने उनले बोल्ने र सासुले बोल्ने भाषा त फरक हुन्छ नै । त्यसै विषयलाई समेटेर यो चलचित्र बनाउँदैछौं । यो आफ्नै समुदायको कथा भएपनि समुदाय बाहिरकाले पनि बुझ्न खोजेको विषयबस्तु भएकोले दर्शकले मन पराउने निर्देशकको भनाई छ । नायक परदेशीले एसपी खरेल, जब प्यार कियातो डरना क्या, दीवाना–२, जय मधेश, देश प्रेमी’ लगायत एक दर्जन भोजपुरी चलचित्रमा अभिनय गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/10/1020794

युरोपा लिग : लेस्टर सिटी र नापोली पराजित

१५ असोज, काठमाडौं। इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोली युरोपा लिगमा पराजित भएका छन् ।

गएराती भएको समूह जी को खेलमा लेस्टर पोलिस क्लब लेगिया वार्सासँग १-० ले पराजित हुँदा नापोली रसियन क्लब स्पार्टाक मस्कोसँग ३-२ ले पराजित भयो ।

वार्सालाई जित दिलाउन माहिर इम्रेलीले ३१औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए।

लगातार दोस्रो जितपछि वार्सा समूह सी मा ६ अंक जोडेर शीर्ष स्थानमा छ । लेस्टर १ अंकसहित पुछारमा छ ।

अर्को खेलमा नापोलीले पहिले अग्रता लिएपनि मस्कोले पुनरागमन जित हात पारेको हो । दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

मस्कोका लागि स्वीन्सी प्रोम्सले दुई तथा मिखाइल इगनाटोभले एक गोल गरे । नापोलीका लागि एलजिफ एलमास र भिक्टो ओसिमहेनले गोल गरे ।

नापोलीका मारियो रुई २९औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । मस्कोका म्याक्सिमिलियानो काउफ्रिज ८२औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

समूहमा पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेको मस्को दोस्रो स्थानमा छ । नापोली १ अंकसहित चौथो स्थानमा छ ।

युरोपा लिगकै अन्य खेलमा जर्मन क्लब बायर्न लेभरकुजनले सेल्टिकलाई ४-० ले पराजित गरेको छ ।



source https://www.onlinekhabar.com/2021/10/1020795

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More