Sunday, 3 July 2022

मुख्यमन्त्री पोखरेललाई प्रश्न : किन यति साह्रो निरिह हुनुभयो ?

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सांसदले निर्वाचन क्षेत्रका योजनामा पैसा हाल्न पाउने कार्यक्रम हो, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम । कम्तिमा २ देखि ३ लाखभन्दा माथिका योजना छान्नुपर्ने र बढीमा ३० वटासम्म सांसदले छानेका योजनामा बजेट हाल्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ यो कार्यक्रमका लागि बिनियोजन हुने गरेको छ ।

पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र किरण गुरुङ अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सुरु भएको यो कार्यक्रम अर्थमन्त्री रामजी बरालले काटिदिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनका दलहरुको साझा कार्यक्रमलाई बेवास्ता गर्दै आर्थिक वर्ष २०७९/०८० को बजेटमा यो कार्यक्रम नराखेको भन्दै अर्थमन्त्री बरालको आलोचना भयो ।

निर्वाचन क्षेत्र कार्यक्रममा जाने ७२ करोड रुपैयाँ काटेकै कारण मुख्यमन्त्री पोखरेल अर्थमन्त्रीसँग रुष्ट बने । तर अर्थमन्त्री हटाउन सकेनन् । त्यही कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा समेत माग्यो ।

अन्ततः निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अर्थ विविध शीर्षकबाटै भए पनि समावेश गर्ने भएपछि बजेट पेश भएको २० औं दिनमा सोमबार बजेटमाथि छलफल सुरु हुने भएको छ ।

यस्तो अवस्था किन सिर्जना भयो, मुख्यमन्त्रीले किन यति निरिह भए ?  निर्वाचन क्षेत्र कार्यक्रम राख्नैपर्ने किन ? लगायतका विषयमा मुख्यमन्त्री पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

१ गते संसदमा पेश भएको बजेटले सरकारभित्रै मदभेदको गाँठो पर्यो, अहिले कसरी फुक्यो ?

१ गते संसदमा बजेट पेश भयो । त्यसलगत्तै वार्षिक कार्यक्रम पुस्तिका अगाडि बढाउने क्रममा टेक्निकल्ली केही कामहरु बाँकी थिए । त्यसपछि पनि केही समझदारी गर्नुपर्ने अवस्था थियो । त्यसैले पनि ढिला भएको हो, ठूलो मतभेद होइन ।

तपाईंकै निर्देशनको अवज्ञा भयो, मन्त्रीपरिषदकै निर्णय पनि अर्थमन्त्रीज्यूले मान्नुभएन भन्ने थियो नि ?

मैले यो र ऊ केही भन्दिनँ । निश्चित रुपमा केही हाम्रा आन्तरिक कुराहरु थिए । केही गठबन्धनभित्रै मिलाउनुपर्ने विषय थिए, त्यसले पनि केही समय लिएको हो । अब सोमबार बैठक बोलाइएको छ, छलफल ठिक ढंगले अगाडि बढ्छ ।

अर्थमन्त्रीसँग कुरा नमिलेकै कारण लामो समस्या संसदलाई बन्दक बनाउनुभयो भनेर सत्तापक्षकै मन्त्रीको गुनासोलाई के भन्नुहुन्छ ?

गठबन्धन भइसकेपछि आआफ्ना अडानहरु हुन सक्छन् । त्यही गठबन्धन मिलाउँदा केही समय लागेको मात्र हो । गठबन्धनमा जे भइरहेको छ, त्योभन्दा बढी बाहिर हल्ला हुनु स्वभाविकै पनि हो । १०/१५ दिन संसद बन्द हुँदा चासो र चिन्ता हुनु स्वभाविकै हो ।

अलि खुलेरै भनिदिनुस्, न कुन विषयले अड्काउँदा संसदमा छलफल चलाउन ढिला भयो ?

हाम्रो अनुकुलतामै अगाडि बढ्छ । सरकारलाई के लाग्यो भने केही तयारी गर्न बाँकी छ । मान्छेहरुले के भन्छन् भन्नेसँग मलाई मतलब छैन । गठबन्धन हो, मिलाउन समय लाग्छ, लाग्यो । अब भोलिदेखि सुचारु रुपमा जान्छ ।

न आफ्नो निर्णय लागू गर्न सक्ने न अर्थमन्त्रीसँग कुनै एक्सन लिन सक्ने, मुख्यमन्त्री साह्रै निरिह हुनुभयो भन्ने छ नि ?

मैले भनिहालें नि मिडियामा के आयो ? कता कसले के भन्यो भनेर म त्यतातिर जान चाहान्नँ । मेरो कुरा त्यही हो, भोलिदेखि संसद चालु हुन्छ ।

प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त कि अर्थमन्त्रीलाई कारबाही गर्नुस्, आफैं राजीनामा दिनुस् भन्नुभएको छ नि ?

प्रतिपक्षको त यो धर्मै हो । १० दिनसम्म हाउस के भयो अथवा कहाँ के भयो भनेर सोध्नुखोज्नु स्वभाविकै हो । प्रतिपक्षीले राजीनामा मागेर तोबा हुनुपर्ने केही छैन । जबसम्म गठबन्धन एक ठाउँमा हुन्छ, चल्छ । भएन भने प्रतिपक्षले भन्ने पर्दैन । प्रतिपक्षी दलको नेताले जुन कुरा राख्नुभएको छ, उहाँको ठाउँबाट हेर्दा जेनियुन छ ।

प्रदेशमा गठबन्धनभित्र कुरा नमिलेपछि केन्द्रीय शीर्ष नेतासम्म पुग्नुपर्यो र पनि अझै सहमति हुन सकेन है ?

कहाँ कुन नेताकहाँ गएँ, के गरें, कसरी म्यानेज गरें भन्ने हाम्रो आन्तरिक कुरा हो । त्यो मिडियामा आउनैपर्छ भन्ने छैन । यति के मान्नुस् भने निश्चित रुपमा केही न केही समस्या नभइकन रोकिएको होइन । यो हाम्रो आन्तरिक मामिला हो ।

जनताका लागि बजेट पेश भएर विवादले संसदै चल्न नसक्ने विषय पनि आन्तरिक हुन्छ र भन्या ?

जनताले चासो राख्नु स्वभाविक हो । सरकार प्रमुखको नाताले प्रेसले के चाहन्छ, त्यही बोल्ने कुरा पनि हुँदैन । जनताको कार्यक्रम हो, भोलि छलफल हुन्छ, अगाडि बढ्छ । गएको वर्ष पनि हामीले ढिलै ल्याएको हो । एक हप्ता समय इनअफ हामीलाई । १० दिन ढिलो भयो, नत्र पारित तिर गइसक्थ्यो ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, बजेटको सिलिङ काटिएको विषयमा अर्थमन्त्रीज्यूसँग सहमति भएको हो ?

सहमति भएरै भोलि संसद चल्न लागेको हो । कुन मन्त्रीले के भन्नुभयो, त्यो उहाँहरुकै कुरा हो । सिलिङ भित्रको योजनामा केही आन्तरिक समस्या भएरै यो ढिलाइ भएको हो । सिलिङ मिलाएरै अगाडि बढाएका छौं ।

भनेपछि अर्थमन्त्रीज्यूले छुटेका कार्यक्रम समावेश गर्ने हुनु भो ?

यही योजना भन्ने छैन । एड्जस्मेन्ट गरेर जाने भनेको मिलाएरै जाने हो । भोलि नै वार्षिक कार्यक्रम पुस्तिका हाउसमा गएपछि थाहा भइहाल्छ नि ।

तपाईंकै क्याबिनेट मन्त्रीले अर्थमन्त्रीलाई धम्की नै दिनुभयो र तपाईं चुप बस्नुभयो भन्ने अर्थमन्त्रीको गुनासो छ नि ?

कहाँ कुन मन्त्रीले धम्की दिनुभयो, मलाई थाहा छैन । बस्दाखेरी क्याबिनेट वा अरु ठाउँमा डिस्कस् हुन्छ । आआफ्नो शैली पनि होला तर टार्गेट नै गरेर यो, त्यो भन्ने छैन ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम राख्नै पर्ने कारण के थियो र यति धेरै विवाद निकाल्नु पर्ने ?

निरन्तर भएको कार्यक्रम नराख्नुपर्ने के कारण छ त नि ? निर्वाचन क्षेत्रमा जनताले लोकप्रिय भनेका छन् । एमपीहरुले पनि खुसी मानेका छन् । सांसदले पैसा बाँड्ने होइन, योजना ल्याउने कुरा हो । यहाँ भ्रम के छ भने पहिलेको सांसद कोषमा जस्तो बिल भर्पाइ मिलाएर, अफिस खोलेर पर्सेन्टेज खाने हो भन्ने छ । तर, यहाँ हामीले ल्याएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, त्यो रकमभित्रको योजनाहरु निश्चित कार्यविधिभित्र रहेर सांसदहरुले पेश गर्ने हो । प्रदेश सरकारबाट गरिएका राम्रा काममध्ये हो, त्यो । त्यसैले पनि त्यो कार्यक्रम अगाडि बढाउने भन्ने भएको छ ।

मन्त्रीले मुख्यमन्त्रीकै निर्देशन नमान्दा पनि तपाईंले एक्सन लिन सक्नुभएन भने भोलि कसरी काम गर्नुहुन्छ ?

नमान्ने भन्ने होइन । निश्चित के हो भने, वेस्ट मिनिस्टर प्रणाली जो छ, त्यसको अक्षरंश पालना हुन्छ भन्ने गठबन्धनमा हुँदैन । त्यो केन्द्रमा पनि हो, यहाँ पनि हो । मुख्यमन्त्रीले एक्सन नै गर्न सक्दैन भन्ने पनि होइन । कसरी अगाडि लैजाने त्यो मुख्यमन्त्रीमा निर्भर कुरा हो । मलाई के लाग्छ भने गठबन्धनलाई अलि लचकदार भएरै मिलाएर लानुपर्ने हुन्छ । कतिलाई लाग्यो, यस्तो हुँदा निकालिहाले पनि हन्थ्यो । कानुनअनुसार त मेरो हस्ताक्षरले सबै मन्त्रीको पद जान्छ । तर, त्यसलाई पनि कहाँ प्रयोग गर्ने भन्ने हुन्छ, यहाँ त्यो अवस्था पनि छैन अहिले ।

मुख्यमन्त्री र अर्थमन्त्री आफैंले ठूलो बजेट राख्नुभयो भन्ने हरु मन्त्रीहरुको आरोप छ नि ?

मुख्यमन्त्री कार्यालयबाट कुनै पनि कार्यक्रम कार्यान्वयन हुँदैन । न हिजो कार्यान्वयन भएको थियो न आज हुन्छ । यथार्थ किताब आएपछि सार्वजनिक हुन्छ ।



source https://www.onlinekhabar.com/2022/07/1152146

Saturday, 2 July 2022

सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी

१९ असार, काठमाडौं । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो ।

यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सफाई पेस गर्न सात दिनको मौका दिइएकोमा त्यसको समेत बेवास्ता गरेको भन्दै मन्त्रालयले उनलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।



source https://www.onlinekhabar.com/2022/07/1151584

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

१९ असार,काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेलनीतिका साथसाथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ ।

२०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ पटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल टिमको उपाधि जितेको छ ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा उनकै नेतृत्वमा ऐतिहासिक रजत पदक जितेको थियो । उनले नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल संघको सहकार्यमा पहिलो पटक औपचारिक रुपमा विदेशी प्रशिक्षण लिने मौका पाएकी हुन् ।

राष्ट्रिय टिमबाट सेटर पोजिसनमा खेल्ने अरुणाले नेदरल्यान्ड्समा ३५ दिन यसैसम्बन्धी विशेष प्रशिक्षण लिएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनले आफ्नो पोजिसनमा विशेष प्रशिक्षण लिन पाउँदा मनोवैज्ञानिक रुपमा सवल महसुस गरेको बताइन् ।

भलिबल संस्कृतिमा उच्चस्थानमा रहेको नेदरल्याण्ड्सको सिकाइले नेपाली राष्ट्रिय टिमका लागि ठूलो सहयोग मिल्ने विश्वास अरुणाको छ । ‘हाम्रो नेपाली टिममा सबैभन्दा कमजोर पोजिसन थियो, म आफैंले अनुभवका कमीका कारण स्पाइकरहरुको क्षमतालाई सही तरिकाले प्रयोग गर्न सकेकी थिइनँ । अबका दिनमा टिमको प्रदर्शनमा केही न केही फरक पर्छ जस्तो लाग्छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

प्रशिक्षणपछि उनमा खेलको रणनीतिक ज्ञान बढेको छ । ‘यहाँ र त्यहाँको प्रशिक्षणको वातावरण निकै फरक छ । प्राविधिक, रणनीतिक, आधुनिक खेल सामग्री, रमाइलो छ त्यहाँ प्रशिक्षण गर्न,’ उनले थपिन् । नेपालमा भन्दा धेरै प्राविधिक ज्ञान उनले एक महिनाको नेदरल्यान्ड्स प्रशिक्षणमा पाइन् । भिडियो हेरेर खेलको विश्लेषण गर्ने, रणनीति बनाउने गर्दा निकै राम्रो नतिजा आएकोे अरुणाले महसुस गरिन् ।

नेपाल र नेदरल्यान्ड्सको प्रशिक्षणमा मात्रै होइन, भलिबल खेल संस्कृतिमा नै फरक पाइन् । नेपालमा उचाइ भएका मानिसलाई बाहृय रुपले रुचि उत्पन्न गराइ भलिबलमा ल्याइन्छ ।

नेदरल्यान्ड्समा भने सानै उमेरबाट बालबालिकाको रुचिलाई ध्यानमा राखी उनीहरुको भित्री इच्छाको आधारमा भलिबल खेलमा प्रवेश गराइने उनले बताइन् । भन्छिन्, ‘हामीलाई अलिकति अग्लो देखेपछि अन्य मानिसहरुले तिमी भलिबल खेल्न सक्छौं भनेर प्रेरणा दिनुहुन्छ, तर त्यहाँ त्यस्तो नहुँदो रहेछ, सबै खेलाडीले उमेरसमूह तथा विद्यालय स्तरको प्रतियोगिता खेल्दै राष्ट्रिय टिममा स्थान बनाउँदा रहेछन् ।’

नेदरल्याण्ड्सका खेलाडीहरु शारीरिक रुपमा अग्ला, मानसिक रुपमा निकै आत्मविश्वासी पाइन् । सानोमा केही प्राविधीक ज्ञान नपाइ भलिबल खेल्न आएका खेलाडीलाई एकै पटक राष्ट्रिय टिममा आएर प्राविधिक ज्ञान सिकाएर प्रशिक्षण गराउँदा निकै गाह्रो हुने गरेको उनी आफैंले महसुस गरेकी छिन् । ‘उनीहरुको खेलाडीले विद्यालयस्तर र उमेर समुहमा खेलेर आएको कारण राष्ट्रिय टिमसम्म आउँदा अनुभवी भइसकेका हुन्छन्,’ २६ वषर्ीया अरुणाले भनिन् ।

उनले विदेशी प्रशिक्षण पाएपछि नेपाली महिला भलिबल टिमका अन्य खेलाडीलाई पनि यस्तो प्रशिक्षण हुनु पर्ने उनले बताइन् । ‘एक महिनाको भन्दा अझ लामो प्रशिक्षण हुनुपर्छ । एक एक जनालाई भन्दा पनि टिमलाई नै यस्तो प्रशिक्षणको व्यवस्था मिलाउन सके टिमको खेलमा राम्रो सुधार हुन्छ,’ उनले भनिन् ।

नेपाली टिमसँगै अरुणा अहिले आसन्न एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा छिन् । नेपालले पहिलोपल्ट महिला टोलीलाई एसियाली खेलकुदमा सहभागी गराउने निर्णय गरेको छ ।

भिडियो/तस्वीर : चन्द्र आले/अनलाइनखबर



source https://www.onlinekhabar.com/2022/07/1151575

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा शुुरु हुँदै छ ।

तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालय सचिव ढकालले बताए ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । २९९ सदस्यीय केन्द्रीय सदस्यहरुमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ ।



source https://www.onlinekhabar.com/2022/07/1151573

महानगरको निर्णयले धरापमा परेको सडकको सपना

१९ असार, काठमाडौं । कोरोना महाव्याधि नियन्त्रणका लागि भएको लकडाउनपछि कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी छिन्, तारा बोहोरा । आजभोलि एकनासको छ उनको जीवन; मध्याह्नतिर ठेला गुडाउँदै चोकमा ल्याउनु, पानीपुरी बेच्नु र साँझ उसैगरी घर फर्कनु ।

दिनभर सडकमा उभिएर चटपटे बेच्छिन् । यो क्रम राति अबेरसम्म जारी रहन्छ । राम्ररी चलेको दिन एक–दुई हजारसम्म कमाइ हुन्छ, कहिलेकाँही हुन्न । तर  उनले सडकमा उभिएर पानीपुरी बेचेकै भरमा चार जनाको परिवार जेनतेन पालिएको छ ।

उनी किन सडकमा आइन् ? किन उनलाई ठेलामा चटपटे बेच्नुपर्‍यो ? यसको छुटै रामकहानी छ ।

तारा बोहोराको स्थायी घर, उदयपुर । सानै छँदा आमा बितिन् । बुवाले सौतेनी आमा ल्याए । ताराले पढ्न, लेख्न पाइनन् । १४ वर्षको उमेरमै ताराको बिहे गराइदिए । सावाअक्षर मात्र चिनेकी उनले बालबच्चालाई आफूजस्तै ‘अनपढ’ बनाउन चाहिनन् । दुई बच्चा र श्रीमानसहित उनी काठमाडौं आइन्, उदयपुरबाट ।

काठमाडौं त आइन्, तर कसरी गुजारा चलाउने ? कुनै उद्यम–व्यवसाय गर्न लगानी छैन । काम गर्न हातमा सिप पनि छैन । जागिर खान शैक्षिक योग्यताले पुग्दैन ।

श्रीमानले एउटा बैंकको कोटेश्वर शाखामा सुरक्षा गार्डको काम पाए । तर, उनको कमाइबाट घर–व्यवहार धान्न गाह्रो भयो । त्यसैले तारा सुरुवाती दिनमा घरेलु कामदार बनिन् । अरुको घरमा जाने कुचो लगाउने, भाँडावर्तन माझ्ने, लुगा धुने । त्यसपछि ब्युटिसियनको तालिम लिइन् । तर, काम खोज्दाखोज्दै कोरोना सन्त्रास छायो, लकडाउन भयो ।

बचेखुचेका पैसा सकिँदै गयो । आफूसँग बचेको पैसाले थोत्रो ठेला खरिद गरिन्, त्यसलाई मर्मत गरिन् । अनि चटपटे, पानीपुरी बेच्न थालिन् । यसैबाट हुने आम्दानीले काठमाडौंको डेरा खर्च, खानपिन, बालबच्चाको विद्यालयको शुल्क टार्दै आएकी छिन् ।

****

तीनकुनेको बस स्टप छेवैमा यात्रु प्रतिक्षालय छ । त्यहीँ छ आर खड्का (परिवर्तित नाम) को चटपटे पसल । सानो ठेलागाडामा उनी चाउचाउ, भुजा, बदाम, दालमोठ राखेर बस्छिन् । चटपटे बनाउँछिन्, पानीपुरी बेच्छिन् । चटपटे बेचेरै उनले आफ्ना तीन सन्तान हुर्काइरहेकी छिन् ।

कोठाभाडा तिर्ने, सागसब्जी किन्ने, बालबच्चाको नास्ताको खर्च यसैबाट जुटाउने गरेकी छिन् । ‘दिनभर उभिएर काम गर्दा, गाडा गुडाउँदा ढाड दुख्छ,’ खड्काले अनलाइनखबरसँग भन्छिन्, ‘तर दुःखजिलो गरेर पनि आफ्नो समस्या टरेको छ, त्यसैमा खुसी छु ।’

****

बोहोरा र खड्का प्रतिनिधि पात्र मात्र हुन्, जसले सडक छेउमा पानीपुरी, चटपटे बेचेर गुजारा चलाएका छन् । आफू पालिएका छन्, छोराछोरी पालेका छन् । उनीहरुलाई शिक्षादिक्षा दिलाएका छन् । भारतबाट आएर यही पेशा गर्नेहरु पनि छन् ।

काठमाडौंको चन्द्रागिरिमा पानी पुरी व्यापारी र उनका ग्राहक

न जग्गाजमिन, न जागिर । न खानेबस्ने मेलो, न आयआर्जनको बाटो । खानलाउने समस्याले लखेट्दै भारत, बिहारका मुकेश कुशहवालाई काठमाडौं ल्याइपुर्‍यायो । काठमाडौं आउँदा उनी लक्का जवान थिए । सुरुका दिनमा होटलमा भाँडा माझे । होटलमै सुते । खानेबस्नेको बन्दोबस्ती त भयो । तर, यसले कहिलेसम्म जीवन चल्छ र ?

त्यसमाथि मान्छेले उनलाई मान्छे नै नगन्ने । गाली र अपहेलना त कति सहे कति । तर उनले हिम्मत हारेनन् । होटलमा दुःखजिलो गरेरै ठेला किने, चटपटेका लागि सरसामन जुटाए र सडकमा निस्किए । चटपटे र पानीपुरी बेच्न थाले । अहिले पनि त्यही गर्छन् । अब उनको मुख्य ध्येय हो, चटपटे बेचेरै भएपनि छोरालाई राम्रो विद्यालय पठाउने ।

तर, सडकको सपना सधैं धरापमा हुन्छ । पछिल्लो समय काठमाडौं र ललितपुर महानगरपालिकाले खुला स्थानमा पानीपुरी, चटपटे लगायतका खानेकुरा बेच्न नदिने निर्णय गरेको छ ।

 

यसले धेरैलाई अब के गर्ने भन्ने पिरलो थपिएको छ । कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी तारा भन्छिन्, कोरोना महाव्याधीले सडकमा ल्यायो । अर्काे व्यवसाय गर्न पैसा छैन ।’

महानगरपालिकाले ठेला चलाउन नदिए फेरि घरेलु काममा फर्किनुको विकल्प उनले देखेकी छैनन् । ‘छोराहरूको फिस महिनावारी तिर्नु पर्छ । कोठाको त्यस्तै,’ भन्छिन्, ‘खाली बसेर पुग्दैन ।’

तिनकुनेकी खड्कालाई पनि महानगरको निर्णय मन परेको छैन । तर महानगरले आफूहरुको कुरा सुनेर निर्णय सच्याउँछ भन्ने आश पनि छैन । त्यसैले उनी के काम गर्ने होला भनेर चिन्तामा छिन् । विगतमा कार्यालय सहयोगीको काम गरेको सम्झिँदै उनी भन्छन्, ‘अब जुन दिन बेच्न पाइन्छ, त्यही दिनदेखि फेरि चटपटे पानीपुरी सुरु गर्नेछु ।’



source https://www.onlinekhabar.com/2022/07/1151565

अध्यक्ष नेपाल भेट्न भारतीय राजदूत कोटेश्वरमा

१८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ ।

राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/07/1151562

Friday, 1 July 2022

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

१८ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको  छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ ।

बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् ।

असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तिकारीको विवाद थप उत्कर्षमा पुगेको हो ।

असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिनेछ। अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।

संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको तिमिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका नेता बालकुमार केसीले जानकारी दिए । तल्लो कमिटीबाटै संगठनको पुनर्गठन गर्दै आउने उनले बताए ।

असन्तुष्ट पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।

संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । उनीहरूले आफ्ना मागबारे पार्टी अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराइसकेका छन् ।

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।



source https://www.onlinekhabar.com/2022/07/1151387

तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद भएन

१८ असार, बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् ।

मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा ७९ हजार ९७९ घर परिवार मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान छ ।

मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल समेत रहेको बुटवल उपमहानगरपालिका गत सोमबार सामान्य वर्षमा पनि डुबानमा पर्‍यो ।

मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरुले विगत वर्षमा भन्दा यो वर्ष धेरै वर्षा हुने र जोखिम पनि बढी हुने बताइरहेका छन् । विगत वर्षभन्दा बढी जोखिम हुने आकलन गरिएको र वर्षाले त्यसको लक्षण देखाइसकेको अवस्थामा पनि लुम्बिनी प्रदेशमा विपद्को सामना गर्ने विशेष तयारी भने छैन ।

मनसुनी वर्षा र विपद्का घटना सुरु भइसक्दासमेत सरकारले सम्भावित विपद्को सामना गर्ने उद्धार सामग्री नै खरिद गर्न सकेको छैन ।

विपद् आइहाले पहिलो काम विपद्मा परेकालाई उद्धार गर्नु हो, तर सरकारले तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद गर्न सकेको छैन । प्रभावग्राही बोलपत्रदाता टेण्डर प्रकृयामा नआउँदा सरकारले टेण्डर नै रद्ध गरेको छ । जसले गर्दा सरकारसँग उद्धार सामग्रीको अभाव छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका विपद व्यवस्थापन महाशाखाका अधिकृत बाबुराम पन्थीले भने, ‘मन्त्रालयले एक करोड मूल्य बराबरका उद्धार सामग्री खरिदका लागि तीनपटकसम्म टेण्डर गर्दा पनि प्रभावग्राही बोलपत्रदाता आएनन् ,त्यसैले टेण्डर नै रद्द गर्‍यौं ।’

उनका अनुसार विपद् उद्धार सामग्रीका रुपमा मन्त्रालयमा अहिले ३०० थान त्रिपाल, २०० थान टेन्ट र १०० थान ब्ल्याङ्केट मात्रै मौज्दात छ ।

विपद् प्रतिकार्यका लागि विभिन्न ९ वटा विषयगत क्षेत्रहरुलाई क्रियाशील बनाएर विपद् न्यूनीकरण, उद्धार र पुनःस्थापना गरिने पन्थीले बताए ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले लुम्बिनी प्रदेशमा विपद् व्यवस्थापन गर्न मुख्यमन्त्रीको नेतृत्वमा विपद् व्यवस्थापन परिषद्, आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षमा विपद् व्यवस्थापन कार्यकारी समिति र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको नेतृत्वमा विपद् व्यवस्थापन कोष सञ्चालन समिति गरी तीन वटा समितिहरू गठन भएका र तिनले आवश्यक काम गरिरहेका बताए ।

उनले विपद् व्यवस्थापनका लागि कम्तीमा १० करोड रुपैयाँ विपद् व्यवस्थापन कोषमा रहेको जानकारी दिए ।

सरकारले कोष परिचालनका लागि २ वटा कार्यविधि र निर्देशिका र उद्धार खर्च सञ्चालन कार्यविधि समेत बनाएको उनले बताए ।

विपद्बाट घरबारविहीन भएकालाई घर निर्माण गर्न ४० हजार, विपद्बाट मृत्यु भएमा हकवालालाई एक लाख रुपैयाँ र विपद्बाट घाइते भएकालाई बढीमा एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराउने नीति रहेको धमलाले बताए ।

आर्थिक वर्ष ०७८/०७९मा प्रदेश सरकारले विपद्बाट प्रभावित २७३ जना घर परिवारलाई एक करोड ३२ लाख रुपैया राहत वितरण गरेको उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि उद्धार सामग्री खरिदमा एक करोड, विपद् न्यूनीकरणका लागि स्थानीय तहमा विपद प्रतिकार्य तालिमका लागि ३२ लाख, आपतकालीन अवतरण गर्न हेलिप्याड निर्माणका लागि २५ लाख, विपद् पूर्व सूचना प्रणालीका लागि १० लाख, विपद् सम्बन्धी गोष्ठीका लागि ५ लाख, कृत्रिम अभ्यासका लागि १० लाख, खोज उद्धार तालिममा २० लाख बजेट विनियोजन गरेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेश सरकारको अक्षमताले विपद् न्यूनीकरण र उद्धारमा अघिल्लो वर्षदेखि नै असफल भएको बताए । ‘उद्धार सामग्री खरिद गर्न नसक्नु सरकारको अक्षमता र असफलता हो’, चौधरीले भने ।



source https://www.onlinekhabar.com/2022/07/1151373

पाँचथरमा पहिराले घर बगाउँदा ३ जना बेपत्ता

१८ असार, पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/07/1151383

‘बुवा तपाईं जस्तो पुरुषको हाम्रो समाजलाई खाँचो छ’

मेरो बुवा, मेरो पापा, तपाईं जस्तो पुरुष हाम्रो समाजमा, अझ यो संसारमा नै विरलै हुन्छन् । हुर्कंदै गर्दा मलाई आफ्नो यो प्रिभिलेज बारे महसुस थिएन । केही वर्ष अगाडि मेरो अमेरिका बसाइको क्रममा सानफ्रान्सिस्कोमा एउटा कार्यक्रममा विशेषज्ञको रूपमा बोल्न पाउँदा मलाई एउटा प्रश्न गरिएको थियो । तपाईंलाई फेमिनिस्ट (महिलावादी) हुन के कुराले प्रेरित गर्‍यो ? मैले भनेकी थिएँ- मेरो आमा-बुवाले । सामाजिक विकासको क्षेत्रमा काम गर्ने क्रममा धेरै फेमिनिस्ट, महिला अधिकारवादीहरूसँग काम र संगत गर्ने, त्यससँग सम्बन्धित कार्यक्रममा सहभागी हुने मौका मिल्यो ।

अफिसमा महिला अधिकारका कुरा गर्ने र घरमा आएर पुरुषले भनेको जुठो भाँडा पनि उठाउन हुन्न भन्ने सोच भएका धेरै पुरुष छन् । फेमिनिस्ट र स्मास्स प्याटि्रआर्की भन्ने महिलाहरू पनि आफूचाहिं अधिकारको कुरा गर्ने तर घरमा आफ्नै आमा, भाउजू वा बुहारीलाई सहयोग नगर्ने, हेप्ने वा कार्यालयमा अन्य महिला सहकर्मीलाई निरुत्साहित गर्ने गरेको पनि धेरै देखेको छु ।

अधिकारवादी संस्था नै चलाएर पुरस्कार पाएर बसेकाहरूले दैनिक जीवनमा कति समानताको बाटो हिंड्छन् भन्ने पनि नदेखेको हैन । यो सँगसँगै साँच्चीकै राम्रो काम गरिरहेका र संसारमा नै उदाहरणीय महिला अधिकारकर्मीहरूसँग पनि काम गर्ने मौका नमिलेको हैन । तर पापा, नेपालमा काम गर्दा होस् वा विकसित भनिने अमेरिकाको घरपरिवार नियाल्दा होस् तपाईं जतिको समानतावादी र सही अर्थमा फेमिनिस्ट मैले अहिलेसम्म देखेको र भेटेको छैन ।

हाम्रो परिवारमा हुर्कंदै गर्दा मैले महिला र पुरुषमा, छोरा र छोरीमा विभेद हुन्छ, घरमा बुवाको भन्दा आमाको वा भाइ भन्दा मेरो स्थान अलि कम हो वा मैले गर्नुपर्ने व्यवहारहरू फरक हुन्छ भन्ने कुराको कहिल्यै पनि महसुस गरिनँ ।

घरमा दुवै आमा-बुवाको प्राध्यापनको काम र घरको काम पनि बराबर मिलेर गरेको देखेर नै हामी हुर्कियौं । घरको काममा पापाले नगर्ने भनेको केही पनि थाहा छैन, खाना पकाउने, भाँडा माझ्ने, बढार्ने, सिसीमा अचार हाल्ने, गुन्द्रुक बनाउने, सरसफाई गर्ने सबै आमासँगै पापाले पनि गर्ने ।

भाइलाई र मलाई पनि घरका सानातिना कामहरू सानैदेखि बाँडफाँट गरेर गराउने । छोरी हो त्यही भएर मैले चाहिं घरको कामहरू गर्नुपर्ने भाइले नपर्ने भन्ने घरमा कहिल्यै थिएन र छैन ।

अथवा छोरी भएर भाइभन्दा म कम महत्वको वा मेरो पढाइ, करियर कम महत्वको भन्ने भानसम्म पनि कहिल्यै भएन । बरु पहिलो सन्तानको रूपमा अलि बढी महत्व नै पाएँ हुँला । सधैं घरको निर्णय र जिम्मेवारीहरू आमाबुवा मिलेर र एकै हैसियतमा रहेर तथा घरका निर्णयहरूमा हामीलाई पनि समावेश गराएरै हुर्किएकोले यी कुराहरू मलाई सामान्य नै लाग्थ्यो ।

मलाई याद छ सानो हुँदा मेरो साथीले जिस्काएको, बिहान कौसीमा ममी पत्रिका पढिरहेको र तपाईंले चिया दिन आएको देखेछ, कस्तो अचम्म, स्वास्नी पत्रिका पढेर बस्ने, लोग्नेले आएर चिया दिने, छिमेकी साथीको घरको परिवारै मिलेर त्यो अचम्मको दृश्य हेरेछन् । अरूलाई अचम्म लाग्ने यस्ता कुराहरू सामान्य लागेर नै हामी हुर्कियौं ।

कुसंस्कार र पुरातनवादी, अन्धविश्वासका कुराहरू हामीलाई कहिल्यै घरमा सिकाइएन, सानैदेखि त्यस्ता कुराहरू थाहा नै नभएपछि दिमागमा त्यस्ता कुराले जरा गाड्नै पाउँदैन रहेछ ।

आमाले आफ्नो कार्यक्षेत्रमा प्रगति गर्न सक्नु र उच्च स्थानमा पुग्न सक्नुमा तपाईंको घरमा हुने सहयोग र प्रोत्साहन कति महत्वपूर्ण छ भनेर अहिले झन् राम्ररी बुझ्दैछु ।

मैले पनि कुनै रोकटोक विना जे काममा पनि हौसला र प्रोत्साहन पाएँ, कुनै बेला त्यो सामान्य लाग्थ्यो । तर जति धेरै संसार देख्दै गएँ र मान्छेहरू चिन्दै, अरू परिवारहरू देख्दै गएँ, थाहा पाउन थालें तपाईं जस्तो बुवा र श्रीमान् हाम्रो समाजमा सामान्य हैन, उदाहरणीय हो ।

अहिले म जे छु, तपाईंको त्यो प्रोत्साहन विना सम्भव नै थिएन । हाम्रो समाजमा छोरीलाई राम्रो केटा पाउँछ भनेर मात्र पढाउने, इन्जिनियर त बनाउने तर दुर्गम वा गाह्रो ठाउँमा काम गर्न नदिने, डाक्टर त बनाउने तर कोभिड जस्तो आवश्यकताको बेला लुकाएर राख्ने बुवाहरू धेरै छन् ।

दैनिक जीवनमा नै समानता नभई अरू ठाउँमा कसरी हुन सक्छ ? हाम्रो समाजको अरू पुरुषहरूले पनि तपाईंको व्यवहारको आधाजति मात्र सिके पनि समाजमा धेरै परिवर्तन आउँथ्यो होला । त्यसैले भनेको पापा, तपाईं धेरै छिटो जानुभयो, तपाईं जस्तो पुरुषको यो समाजलाई खाँचो छ

छोरी जति उमेरको, जति पढेको भए पनि विश्वास नगर्ने, घरमा छोराको लागि र छोरीको लागि अर्कै अनुशासनका नियमहरू हुन्छन् । मलाई थाहा छ तपाईंलाई पनि कति ठाउँहरूमा मलाई पठाउन गाह्रो लाग्थ्यो, विश्वास नलागेर हैन, पीर लागेर । तर तराई आन्दोलन भएको बेला प्रथम फिल्डको काममा होस् वा भुईंचालोको बेला सिन्धुपाल्चोकमा काम गर्दा होस्, आमाबुवाको साथमा नै सधैं अगाडि बढ्न पाएँ ।

आमाबुवाको साथ भएपछि रिस्क लिन वा दुनियाँको जस्तोसुकै चुनौतीसँग पनि लड्ने आँट आउँदो रहेछ । मेरो आत्मविश्वास मेरो नभएर तपाईंको साथको नै परिणाम रहेछ भन्ने पनि बल्ल बुझ्दैछु ।

नीति, कानुनमा, किताबमा, कार्यक्रममा जति नै समानता र महिला अधिकारको कुरा भए पनि घरपरिवारमा समानता नभएसम्म समाजमा परिवर्तन आउन सक्दैन ।

दैनिक जीवनमा परिवारमा महिला पुरुषले समान जिम्मेवारी र अधिकार नपाएसम्म महिलाहरू घरकै जिम्मेवारीमा पेलिएर बस्नुपर्ने हुन्छ ।

हाम्रो परिवारमा तीनदशक अगाडि जति समानता थियो अहिले आजको समाजमा पनि त्यस्ता परिवार विरलै छन् ।

हाम्रो समाज फेरि पुरुषहरूले अलिअलि घरको कामहरू गर्‍यो भने त्यो कुरालाई सकारात्मक रुपमा लिने हैन कि उल्टै स्वास्नीको नोकर भयोदेखि लिएर जोइटिङ्ग्रे भयो भन्ने चलन छ ।

कति पुरुषहरूले त त्यही भएर अरू बेला गरे पनि अरू मान्छेको अगाडि घरको काम गर्दैनन् । तर तपाईंलाई त्यस्ता कुराहरूले कहिल्यै असर गरेन । अनि अर्को यस्ता पुरुषहरू पनि छन् जो महिनाको दुई चोटि खाना पकाएर वा घरको केही अति सामान्य काम गरेर केके न धेरै सघाएको छु, म यस्तो राम्रो श्रीमान् हुँ भनेर नथाक्ने गर्छन् ।

हाम्रो घरमा भने काम महिला वा पुरुषको हैन जसले भ्याउँछ उसैले गर्नेे । तपाईंले समानताका ठूलाठूला कुरा गरेको, मैले यस्तो गरिदिएको छु भनेर सुनाएको कहिल्यै पनि थाहा छैन । ममीले काममा देश-विदेश जानु पर्दा सधैं तपाईंले भन्ने गरेको सुनेको छु- “तिमी जाउ न घर त म हेरिहाल्छु नि !” अझै पनि श्रीमतीले काम त गरोस् तर आफूभन्दा सानो पदमा, आफू भन्दा कम कमाउने होस् भन्ने मानसिकता मेरै जेनेरेसनका अधिकांश पुरुषहरूमा भएको पाउँछु ।

तपाईंले भने ममीलाई पीएचडी गर्न होस्, विभिन्न संघ-संस्थामा लाग्न होस् वा देश-विदेशमा पेपर प्रेजेन्टेसन गर्न, सधैं अघि सारेको र उहाँको उन्नतिमा गर्व गरेको मात्र पाएँ । त्यसैले पनि आफ्नो जीवनसाथी कस्तो हुनुपर्छ भन्ने कुरामा म प्रष्ट थिएँ ।

तपाईं जत्तिको मिहिनेती र कहिल्यै नथाक्ने, कहिल्यै अल्छी नलाग्ने मान्छे मैले अरू देखेको छैन । इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पस यति प्रतिष्ठित हुनुमा त्यहाँको परीक्षा शाखामा रहेर तपाईंले गरेको कामको कति ठूलो भूमिका छ भनेर तपाईंकै सहकर्मी र विद्यार्थीबाट सुनेको छु ।

निरन्तर रूपमा अक्षलोक जस्तो साहित्यिक पत्रिका आफ्नै मात्र प्रयासमा दशकौंदेखि निकाल्नको लागि तपाईं कति खटेर काम गर्नुहुन्थ्यो भनेर पनि देखेकी छु ।

अफिसबाट आएपछि पनि घरको काम र आफ्नो स्टडी रुममा लेखपढ गरेर बसिरहने । त्यसै फुर्सदमा कहिल्यै नबस्ने । अन्तिम समयसम्म पनि तपाईंलाई परिवारको भन्दा लुम्बिनी विश्वविद्यालयको धेरै चिन्ता थियो रे ! त्यहाँ पनि त तपाईं परीक्षा नियन्त्रक भएपछि विश्वविद्यालयको नै मुहार फेरिएको हो ।

कहिल्यै केही कुराको लोभ, कसैको डाह, रिस गरेको, कहिल्यै केही नराम्रो वचन बोलेको थाहा छैन । भन्छन् बालबालिकाले आमाबुवाले यसो गर त्यसो गर भनेको अर्ति सुनेर हैन आमाबुवाले आफूले के गर्छन् त्यो देखेर सिक्ने हो ।

सरलता, समानता, संस्कार र साना खुसीहरूमा रमाउन मैले तपाईंबाटै सिकेको हो । यो कोभिडले गर्नु गर्‍यो पापा । मेरो सबैभन्दा प्यारो मान्छे मेरो बुवा नै मसँग खोसेर लगिदियो ।

हुन त तपाईंबाट सिक्नुपर्ने कुरा धेरै नै छन् । जीवनमा सधैं विस्मात लाग्ने कुरा यही नै हुनेछ कि मेरो सन्तानले ती गुणहरू तपाइर्ंबाट प्रत्यक्ष सिक्ने मौका पाउन सकेन । तपाईं गएको वर्ष दिन बिते पनि मनको एउटा कुना निरन्तर दुखिरहन रोकिएको छैन ।

तपाईंले साहित्यिक क्षेत्रमा गर्नुभएको योगदानलाई निरन्तरता दिन तपाईंको नाममा संस्था पनि खोलेका छौं- सिद्धिश्वमान अक्षलोक साहित्यिक केन्द्र, आमाको र हाम्रो मन सम्हाल्ने थलो त्यही संस्था बनेको छ । के गर्नु तपाईं जस्तो इमानदार भएर तर हल्लाखल्ला नगरी निरन्तर काम गर्ने मान्छेहरूलाई यो देशले पहिचान र सम्मान गर्न सक्दैन रहेछ ।

तपाईंबाट यो समाजले सिक्नुपर्ने ठूलो पाठ समानताको हो । पापा यदि हरेक बुवा तपाईं जस्तो हुने हो भने कुनै छोरीहरूले हाम्रो समाजमा विभेद भोग्नुपर्ने थिएन । हरेक श्रीमान् तपाईं जस्तो हुने हो भने घरको काम र जिम्मेवारीको नजानिंदो बोझले महिलाहरूले आफ्नो करियरको कति कुराहरूमा सम्झौता गर्नुपर्ने वा अगाडि बढ्न हिच्किचाउनुपर्ने थिएन ।

समाजलाई समानताको उदाहरण नै दिएर मेरो विवाहमा तपाईंहरूले मलाई दाइजो हैन अंशको रुपमा घर नै दिनुभयो । हुनत तपाईंले खुलेर सबैलाई भन्नु नै हुन्थ्यो त्यो घर मैले हैन सावित्रीले (आमाले) नै आफ्नो कमाइबाट बनाएको हो । तर कति गर्वको साथ मलाई घरको कागजात विवाहकै समारोहमा तपाईंले दिनुभएको थियो ।

‘छोरीलाई अंश हैन शिक्षा’ भन्नेहरूको लागि पनि यो ठूलै पाठ होला । तपाईंले भने छोरीलाई शिक्षा, अंश, साथ, सहयोग, माया, हौसला, प्रेरणा सबै नै दिनुभयो । तर हेर्नुस् न पापा, हाम्रो समाज अझै पनि कति पिछडिएको सोच राख्छ ।

तपाईं जानुभएपछि, नाता प्रमाणित गर्नुपर्ने कागजातमा छोरीको नाम राख्न नमिल्ने रे ! यसमा कानुनले रोक्ने भन्दा पनि कागज बनाइदिने निकायका पदाधिकारीको सोचले रोकेको हो । तपाईंको पहिलो सन्तानसँग तपाईंको केही नाता नै नभए जस्तो ।

समानताका ठूल्ठूला कुरा गर्ने तर सामाजिक व्यवहार, सोच र व्यावहारिक जीवनमा घर गृहस्थीको ठूलो भार महिलालाई मात्र दिएर लैंगिक समानता कहिल्यै पनि हुन सक्दैन ।

दैनिक जीवनमा नै समानता नभई अरू ठाउँमा कसरी हुन सक्छ ? हाम्रो समाजको अरू पुरुषहरूले पनि तपाईंको व्यवहारको आधाजति मात्र सिके पनि समाजमा धेरै परिवर्तन आउँथ्यो होला । त्यसैले भनेको पापा, तपाईं धेरै छिटो जानुभयो, तपाईं जस्तो पुरुषको यो समाजलाई खाँचो छ ।

(प्रा. सिद्धिश्वरमान श्रेष्ठ लुम्बिनी विश्वविद्यालयको परीक्षा नियन्त्रकको रूपमा कार्यरत रहँदै गत जेठमा कोभिडको कारणले दिवंगत हुनुभएको थियो ।)



source https://www.onlinekhabar.com/2022/07/1151379

वडाको अधिकार माग्दामाग्दै गाउँपालिका अध्यक्ष

१८ असार, काठमाडौं । २०७४ मा लोकेन्द्र राई खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ का वडाध्यक्ष थिए । उनले त्यो कार्यकालभरी वडाको अधिकारका लागि पालिका अध्यक्ष भुपेन्द्र राईसँग गनगन गरिरहे । भुपेन्द्र कांग्रेसबाट निर्वाचित थिए भने लोकेन्द्र एमालेबाट । त्यसैले कतिले त राजनीतिक विचार नमिलेका कारण किचकिच गरेको समेत भने ।

तर उनलाई त्यस्तो केही लागेन । लोकेन्द्रले गाउँपालिका अध्यक्षले वडामा बजेट र अन्य अधिकार नदिएको भन्दै विरोध गरिरहे ।

लोकेन्द्रले सामाजिक सुरक्षाभत्ता, कर, राजश्व तिर्ने जस्ता विषयहरु वडा मै अधिकार प्रत्यायोजनको आवाज उठाएका थिए । गाउँपालिकाको क्षेत्रफल ठुलो भएकोले पालिका केन्द्रमा जनता धाउन नसक्ने भन्दै वडामा धेरै अधिकार आउनुपर्ने माग सहित लोकेन्द्रले बारम्बार विरोध गरेका थिए ।

पाँच वर्ष गाउँपालिका अध्यक्षसँग अधिकारका लागि लडेको बताउने उनै लोकेन्द्र अहिले वडालाई अधिकार दिने ठाउँमा पुगेका छन् । २०७९ को निर्वाचनमा उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

चुनाव हार्ने डरले अरु अघि नसर्दा पाएका मौका

०७४ मा गाउँपालिका अध्यक्षसहित उपाध्यक्ष र ४ वटा वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो । गाउँपालिकाको ७ वटा वडामध्ये ४ नम्बर वडाध्यक्षमा लोकेन्द्रसहित एमालेले जम्मा ३ वडा मात्र जितेको थियो ।

गाउँपालिकाका कांग्रेस बलियो छ । त्यसैले स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षको दाबेदारी गर्ने धेरै भएनन् ।

लोकेन्द्रले अध्यक्षमा दाबेदारी गरेपछि पार्टीले उनलाई सहजै टिकट दियो । र उनले कांग्रेसका उम्मेद्वारलाई ६४१ मतान्तरले हराए । उनीसहित गाउँपालिका उपाध्यक्ष र ४ वडामा एमाले विजयी भयो ।

‘एमालेका सिनियर नेताहरुले चुनाव हार्ने डरले उठ्न नखोजेको पनि देखियो । कांग्रेस शक्तिशाली भन्दै एक्लै लडेको थियो । हाम्रोमा पनि पार्टी फुटको असर अलि अलि चैं पर्‍यो । म निरन्तर जनतासँग थिएँ । संघीयता बलियो बनाउनुपर्छ भनेर लागि रहेको थिएँ, त्यसकारण सहज रुपमा जितें,’ राईले भने ।

उनी थप्छन्, ‘पार्टी नहुँदा जित्ने कुरा सम्भव त थिएन तर व्यक्तिगत रुपमा प्रभाव नपारेको भए अहिलेको मत ल्याउन साह्रै गाह्रो पर्थ्यो ।’

शिक्षा सुधारदेखि पूर्वाधार निर्माणसम्मका योजना

निर्वाचित भईसकेपछि राई सबैभन्दा पहिले आफुले शिक्षा क्षेत्रमा काम गर्न थालेको बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै राईले भने, ‘हामी पढ्दा पनि कक्षा कोठाहरु धुलाम्य थियो । अहिले पनि हाम्रो पालिकाका अधिकांश सरकारी विद्यालयहरुको कोठाहरु सुधार भएका छैनन् । त्यसकारण सुरुमा धुलोरहित कक्षाकोठा निर्माण गर्ने हाम्रो अभियान छ । त्यसको लागि अब आउने बजेटमै त्यसको व्यवस्था गर्ने तयारी गरेको छु ।’

खोटाङ चुँईचुम्मा गाउँपालिकाका विदेश गएका युवाको श्रीमान वा श्रीमती आफ्नो बालबच्चा पढाउन शहर पस्दा धेरै सामाजिक समस्या देखा परेको भन्दै उनले गाउँमै गुणस्तरीय शिक्षा दिने योजना बनाएका छन् ।

वडाध्यक्ष हुँदा वडाको अधिकारको लागि संघर्ष गर्नुपरेको भन्दै लोकेन्द्रले वडाले पाउनुपर्ने सबै अधिकार वडामा हस्तान्तरण गर्ने बताए ।

बेरोजगार युवालाई कृषिसँग जोडेर आधुनिक कृषि प्रणालीमा लैजाने, भौतिक रुपमा व्यवस्थित कार्यालय सहित सुशासन र सेवा प्रवाहमा चुस्तता दिने लगायतको योजनामा काम सुरु गरिसकेको उनको दाबी छ ।

लोकेन्द्रले प्रत्येक वडालाई सडक सञ्जालमा जोड्ने योजना सुनाउँदै भने ‘हाम्रो उच्च पहाडी क्षेत्र भएकोले अहिले पनि सडक क्षेत्रले धेरै वडाहरु छुन सकेको छैन् । त्यसकारण पनि यहाँका कृषि क्षेत्रलाई उकास्न सकेको छैन ।’

गाउँपालिकाभरी जम्मा एउटा मात्रै बैंक रहेको भन्दै राईले सामाजिक सुरक्षाभत्ता लिन पालिका आउँदा ६ घण्टासम्म लाग्ने अवस्था रहेकोले वडाबाट नै भत्ता बाँड्न बैकहरुसँग छलफल गरिरहेका बताए।



source https://www.onlinekhabar.com/2022/07/1151376

कार्यकता भित्र्याएर नेतृत्वलाई दबाब दिने प्रचण्ड रणनीति

१८ असार, काठमाडौं । बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

संघ र प्रदेशको चुनाव नजिकिँदै गर्दा प्रचण्डले पूर्वमाओवादीको एकतामा जोड दिएका छन् । नेताहरूका अनुसार हालको गठबन्धनलाई कामय राख्दै पार्टीको आकार सके २०७४ कोभन्दा बढाउने, नभए घट्न नदिने प्रचण्डको रणनीति छ । त्यसका लागि सके पाँच दलबीच देशव्यापी गठबन्धन गर्ने, नभए नेपाली कांग्रेससँग मिल्नसक्ने ठाउँमा मिल्ने र अन्यत्र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मोर्चा बनाउने उनको प्रयास छ ।

छिन्नभिन्न पूर्वमाओवादी समूहहरुलाई माओवादी केन्द्रमा समाहित गर्ने प्रयास पनि प्रचण्डको छ । यसका लागि माओवादी नेताहरुले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेक्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोलालगायगसँग सम्वाद गरिरहेका छन् । त्यहीक्रममा प्रचण्डले एक ठाउँमा आउन आहृवान गरेका हुन् ।

घर सम्झाउने माहौल

वैद्य, विल्लवलगायतले विद्रोह गर्दै नयाँ पार्टी खोल्न थालेपछि प्रचण्ड नेतृत्वको माओवादी छाड्ने लहर चलेको थियो । नयाँ कम्युनिष्ट पार्टीहरु पनि ‘क्रान्तिकारी’ नभएको भन्दै निराश बनेका नेता-कार्यकर्ताहरुतिर अहिले प्रचण्डले नजर लगाएको देखिन्छ ।

गत माघ २५ मा विप्लव नेतृत्वको नेकपाको जुम्ला जिल्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको थियो भने १ फागुनमा सिन्धुलीका पुराना नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका थिए । १ वैशाखमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराईको नेतृत्ववमा जर्दजनबढी पूर्वलडाकू माओवादी केन्द्रमा फकिएका थिए । त्यहीँ नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्यूरो सदस्य ज्ञानु बम पनि माओवादीमा प्रवेश गरेका थिए । २५ वैशाखमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

दुई दिन अघि १५ असारमा मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका ओमप्रकाश पुनसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पुनसहितका नेता-कार्यकतालाई स्वागत गर्दै प्रचण्डले बाँकी सबैलाई एकीकृत हुन आह्वान गरे । ‘अब जनता पनि आजित भए’ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि चुनावी प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नजाने भन्ने देखियो । अरुबाट क्रान्ति हुन्छ कि भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ ।’

उनले छिट्टै पूर्व माओवादीहरुबीच संस्थागत ढंगले नै एकीकरण हुने समेत दाबी गरे । उनको यो अभिव्यक्ति पूर्वमाओवादी कार्यकर्तालाई आउन उत्साहित पार्ने र नेताहरुलाई एकताका लागि दबाब दिने रणनीति मानिएको छ ।

माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेस साह अहिले माहोल नै पुरानो घर सम्झाउने बनेको बताउँछन् । संसदीय व्यवस्था नमान्ने भनेका विप्लवहरु पनि चुनावमा गएको र त्यहीकारण पार्टी विभाजन भएबाट निराश नेता-कार्यकर्ता मुलघर फर्किने मनस्थितिमा पुगेको उनले बताए । ‘सबै थाकिसके’ उनी भन्छन्, ‘वाम अतिवादको बजार पनि रहेन । यो अवस्थामा अन्यत्र पलयान हुन नसक्ने पुर्वमाओवादी साथीहरु पुरानो घर फर्किनु स्वभाविक हुन्छ ।’

वैद्यले इन्कारे, बाबुराम मझधारमा

माओवादी केन्द्रले एकताको आह्वानसँगै पूर्वमाओवादी नेताहरुसँग संवाद थालेका छन् । वैद्य र विप्लवसँग कष्णबहादुर महरा तथा विप्लव समूहमा बिद्रोह गरेर नयाँ पार्टी खोलेका धर्मेन्द्र बास्तोलालगायतसँग वर्षमान पुन निरन्तर संवादमा छन् । तर वैद्यले एकता इन्कार गरेको र विप्लवले आउँदो असोजमा हुने महाधिवेशनपछि मात्र चित्र स्ष्ट हुने जवाफ दिएको एक नेता बताउँछन् ।

पार्टी एकताको प्रस्ताव अस्वीकार गरेकोबारे अनलाइनखबरको जिज्ञासामा वैद्यले भने, ‘माओवादी केन्द्रसँग फेरी एकता असम्भव छ । उहाँ (प्रचण्ड) संसदीय व्यवस्थाको रक्षक भएर हिँड्ने अनि कसरी हुन्छ हामीसँग पार्टी एकता ?’ प्रचण्डले गरेको राजनीतिक गल्ति स्वीकार नगरेको र गर्ने सम्भावना पनि नभएकाले पार्टी एकता असम्भव भएको वैद्यको भनाइ छ ।

बास्तोलाले भने प्रचण्डबाट भएको पार्टी एकताको पहल सकारात्मक भएको बताएका छन् । ‘यो राम्रै कुरा हो’ उनले भने, ‘राजनीतिमा सम्भावना नहुने भन्ने कुरै हुँदैन ।’

प्रचण्ड, जसपाबाट अलग हुने तयारीमा रहेका बाबुराम भट्टराईसँग पनि निरन्तर छलफललमा छन् । जसपामा संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईसँग प्रचण्ड स्वयमले तीन पटक छलफल गरिसकेको एक नेताले बताए ।

भट्टराई एकता भन्दा मोर्चा बनाएर सकारात्मक देखिएको भन्द उनले भने, ‘उहाँ मोर्चाका नाममा एउटै चिह्न लिएर चुनावमा जान तयार देखिनुभएको छ ।’



source https://www.onlinekhabar.com/2022/07/1151371

Thursday, 30 June 2022

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।



source https://www.onlinekhabar.com/2022/07/1150856

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More