१९ असार, काठमाडौं । कोरोना महाव्याधि नियन्त्रणका लागि भएको लकडाउनपछि कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी छिन्, तारा बोहोरा । आजभोलि एकनासको छ उनको जीवन; मध्याह्नतिर ठेला गुडाउँदै चोकमा ल्याउनु, पानीपुरी बेच्नु र साँझ उसैगरी घर फर्कनु ।
दिनभर सडकमा उभिएर चटपटे बेच्छिन् । यो क्रम राति अबेरसम्म जारी रहन्छ । राम्ररी चलेको दिन एक–दुई हजारसम्म कमाइ हुन्छ, कहिलेकाँही हुन्न । तर उनले सडकमा उभिएर पानीपुरी बेचेकै भरमा चार जनाको परिवार जेनतेन पालिएको छ ।
उनी किन सडकमा आइन् ? किन उनलाई ठेलामा चटपटे बेच्नुपर्यो ? यसको छुटै रामकहानी छ ।
तारा बोहोराको स्थायी घर, उदयपुर । सानै छँदा आमा बितिन् । बुवाले सौतेनी आमा ल्याए । ताराले पढ्न, लेख्न पाइनन् । १४ वर्षको उमेरमै ताराको बिहे गराइदिए । सावाअक्षर मात्र चिनेकी उनले बालबच्चालाई आफूजस्तै ‘अनपढ’ बनाउन चाहिनन् । दुई बच्चा र श्रीमानसहित उनी काठमाडौं आइन्, उदयपुरबाट ।
काठमाडौं त आइन्, तर कसरी गुजारा चलाउने ? कुनै उद्यम–व्यवसाय गर्न लगानी छैन । काम गर्न हातमा सिप पनि छैन । जागिर खान शैक्षिक योग्यताले पुग्दैन ।
श्रीमानले एउटा बैंकको कोटेश्वर शाखामा सुरक्षा गार्डको काम पाए । तर, उनको कमाइबाट घर–व्यवहार धान्न गाह्रो भयो । त्यसैले तारा सुरुवाती दिनमा घरेलु कामदार बनिन् । अरुको घरमा जाने कुचो लगाउने, भाँडावर्तन माझ्ने, लुगा धुने । त्यसपछि ब्युटिसियनको तालिम लिइन् । तर, काम खोज्दाखोज्दै कोरोना सन्त्रास छायो, लकडाउन भयो ।
बचेखुचेका पैसा सकिँदै गयो । आफूसँग बचेको पैसाले थोत्रो ठेला खरिद गरिन्, त्यसलाई मर्मत गरिन् । अनि चटपटे, पानीपुरी बेच्न थालिन् । यसैबाट हुने आम्दानीले काठमाडौंको डेरा खर्च, खानपिन, बालबच्चाको विद्यालयको शुल्क टार्दै आएकी छिन् ।
****
तीनकुनेको बस स्टप छेवैमा यात्रु प्रतिक्षालय छ । त्यहीँ छ आर खड्का (परिवर्तित नाम) को चटपटे पसल । सानो ठेलागाडामा उनी चाउचाउ, भुजा, बदाम, दालमोठ राखेर बस्छिन् । चटपटे बनाउँछिन्, पानीपुरी बेच्छिन् । चटपटे बेचेरै उनले आफ्ना तीन सन्तान हुर्काइरहेकी छिन् ।
कोठाभाडा तिर्ने, सागसब्जी किन्ने, बालबच्चाको नास्ताको खर्च यसैबाट जुटाउने गरेकी छिन् । ‘दिनभर उभिएर काम गर्दा, गाडा गुडाउँदा ढाड दुख्छ,’ खड्काले अनलाइनखबरसँग भन्छिन्, ‘तर दुःखजिलो गरेर पनि आफ्नो समस्या टरेको छ, त्यसैमा खुसी छु ।’
****
बोहोरा र खड्का प्रतिनिधि पात्र मात्र हुन्, जसले सडक छेउमा पानीपुरी, चटपटे बेचेर गुजारा चलाएका छन् । आफू पालिएका छन्, छोराछोरी पालेका छन् । उनीहरुलाई शिक्षादिक्षा दिलाएका छन् । भारतबाट आएर यही पेशा गर्नेहरु पनि छन् ।
न जग्गाजमिन, न जागिर । न खानेबस्ने मेलो, न आयआर्जनको बाटो । खानलाउने समस्याले लखेट्दै भारत, बिहारका मुकेश कुशहवालाई काठमाडौं ल्याइपुर्यायो । काठमाडौं आउँदा उनी लक्का जवान थिए । सुरुका दिनमा होटलमा भाँडा माझे । होटलमै सुते । खानेबस्नेको बन्दोबस्ती त भयो । तर, यसले कहिलेसम्म जीवन चल्छ र ?
त्यसमाथि मान्छेले उनलाई मान्छे नै नगन्ने । गाली र अपहेलना त कति सहे कति । तर उनले हिम्मत हारेनन् । होटलमा दुःखजिलो गरेरै ठेला किने, चटपटेका लागि सरसामन जुटाए र सडकमा निस्किए । चटपटे र पानीपुरी बेच्न थाले । अहिले पनि त्यही गर्छन् । अब उनको मुख्य ध्येय हो, चटपटे बेचेरै भएपनि छोरालाई राम्रो विद्यालय पठाउने ।
तर, सडकको सपना सधैं धरापमा हुन्छ । पछिल्लो समय काठमाडौं र ललितपुर महानगरपालिकाले खुला स्थानमा पानीपुरी, चटपटे लगायतका खानेकुरा बेच्न नदिने निर्णय गरेको छ ।
यसले धेरैलाई अब के गर्ने भन्ने पिरलो थपिएको छ । कोटेश्वर चोकमा पानीपुरी र चटपटे बेच्दै आएकी तारा भन्छिन्, कोरोना महाव्याधीले सडकमा ल्यायो । अर्काे व्यवसाय गर्न पैसा छैन ।’
महानगरपालिकाले ठेला चलाउन नदिए फेरि घरेलु काममा फर्किनुको विकल्प उनले देखेकी छैनन् । ‘छोराहरूको फिस महिनावारी तिर्नु पर्छ । कोठाको त्यस्तै,’ भन्छिन्, ‘खाली बसेर पुग्दैन ।’
तिनकुनेकी खड्कालाई पनि महानगरको निर्णय मन परेको छैन । तर महानगरले आफूहरुको कुरा सुनेर निर्णय सच्याउँछ भन्ने आश पनि छैन । त्यसैले उनी के काम गर्ने होला भनेर चिन्तामा छिन् । विगतमा कार्यालय सहयोगीको काम गरेको सम्झिँदै उनी भन्छन्, ‘अब जुन दिन बेच्न पाइन्छ, त्यही दिनदेखि फेरि चटपटे पानीपुरी सुरु गर्नेछु ।’
source https://www.onlinekhabar.com/2022/07/1151565
0 comments:
Post a Comment