Friday, 3 March 2023

कर्तव्य नभुल्ने प्रकृति

२० फागुन, काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो ।

त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संबर्धन गर्न मानिसले बिर्सिसके तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन ।

समायानकुल आफू परिवर्तन हुनु प्रकृतिको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् ।

समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौं ।

दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौं, खेल्छौं, हाँस्छौं, बस्छौं तर प्रकृतिको संरक्षण गर्दैनौं ।

गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन ।

यदि प्रकृतिले पनि मानवजाति झैं आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ ।

हामी मानवजातिले पनि प्रकृति झैं आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन । आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ ।

हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ ।

प्रकृतिलाई मानवीकरण गर्ने हो भने बोल्दो हो – सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शीतलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ ।

मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन ।

मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा
लैजानुछ ।

तस्वीर : न्युज एजेन्सी नेपाल

 



source https://www.onlinekhabar.com/2023/03/1271947

एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा

२० फागुन, काठमाठौं । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

बंगलादेशमा भएको साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ ।

घाइते भएका कुसुम खतिवडा र अन्जली चन्दको स्थानमा जेनिफर राना र सन्दिपा भोलान टिममा समावेश भएका छन् ।

यस्तै सजनी थोकरको स्थानमा हिमा रावत टिममा समावेश छन् ।

राष्ट्रिय टिमका सदस्य प्रिती राई, अमिसा कार्की र दीपा शाही पनि टिममा समावेश छन् ।

मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा प्यालेस्टाइन र नर्थन मारिया आइल्याण्ड छन् । यस समूहको खेल प्यालेस्टाइनमा हुनेछ ।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसिया कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली टोली

गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

फरवार्ड :  गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान



source https://www.onlinekhabar.com/2023/03/1271932

शीर्ष स्थानको नापोली सिरी ए मा दोस्रो पटक पराजित

२० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोली लिगमा दोस्रो पटक पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा नापोली घरेलु मेदानमै लाजियोसँग १-० ले पराजित भएको हो ।
जितपछि लाजियो दोस्रो स्थानमा उक्लेको छ । लाजियोलाई जित दिलाउन माटियस भिसिनोले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

नापोलीले पछिल्लो ६ खेलमा बेहोरेको यो पहिलो गोल हो ।

सिरी ए मा सर्वाधिक १९ गोल गरेका नापोलीका भिक्टोर ओसिमहेन गोल नजिक पुगेपनि उनको हेडर क्रसबारमा लागेको थियो ।

सन् १९९० पछि पहिलो पटक इटलीको शीर्ष डिधिजनको उपाधि जित्ने लक्ष्यमा रहेको नापोली २५ खेलबाट ६५ अंकसहित शीर्ष स्थानमै छ र दोस्रो स्थानमा उक्लेको लाजियोमाथि १७ अंकको अग्रता बनाएको छ ।

लाजियोले २५ खेलबाट ४८ अंक जोड्दै दुवै मिलान क्लबलाई पछि पारेको छ ।



source https://www.onlinekhabar.com/2023/03/1271929

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

२० फागुन, अत्तरिया। कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् ।

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बस्नुभएका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन् ।

उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् ।

कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन’, उनले भने, ‘मैलेमात्र महिनाको रु डेढदेखि दुई लाख आम्दानी गर्छु ।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ ।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए ।

सुरुमा उनको फार्ममा ३० लाख लगानी भएको छ । अहिले लगानी ६० लाख पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौं’, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ ।’

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्‍याउन सकेका छैनौं’, उनले भने ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ ।

दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर उनले कालिज व्यवसाय सुरु गरेका हुन् ।

साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ ।

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौं ।’

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ । ‘कालिज, खुकुरा बिरामी भए आफैं गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैं खटिनुपर्छ ।’

उनले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन् । फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षाका लागि चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ ।

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन् ।

अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए ।

उनका अनुसार तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ । ‘दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई तीन हजारसम्ममा बिक्री गछौं’, व्यवसायी विकासले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ ।

विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ ।

नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ ।

कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन’, उनले भने ।

कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ ।

तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ ।

सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताए । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ ।

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उनले भने ।

फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ ।

विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए । विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/03/1271922

मौसम अपडेट : पहाडी क्षेत्रमा चट्याङ्सहित पानी पर्ने

२० फागुन, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति पनि  कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।



source https://www.onlinekhabar.com/2023/03/1271908

महिलाको प्रचार गर्न मिडियाले कञ्जुस्याइँ गरेका छन् : सभामुख घिमिरे

१९ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले संसद र अन्य संघसंस्थामा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमले त्यस अनुसार स्थान नदिएको बताए ।

आफू सभामुख भइसकेपछिका संसद बैठकमा धेरै महिला सांसदले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले प्रचार गर्न कन्जुस्याइँ गरेको घिमिरेको भनाइ छ ।

‘म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि …चाहे शून्य समयमा होस् वा विशेष समयमा होस् उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचार प्रसारहरु छैन’ उनले भने ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले ठूला नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको पनि बताए । ‘खास खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ । नभए करिव शून्य शून्य हुन्छ’ उनले भने, ‘….अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’

उनले सञ्चारमाध्यमहरुले नेता र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने धारणा राखे ।

हेर्नुहोस् भिडियो



source https://www.onlinekhabar.com/2023/03/1271560

Thursday, 2 March 2023

पीएनजी विरुद्ध नेपाल बलिङ गर्दै, गुल्सन झाको ठाउँमा भीम सार्की

१९ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध बलिङ थालेको छ ।

यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गरेको हो ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन् ।



source https://www.onlinekhabar.com/2023/03/1271519

‘उत्पादनलाई बजार चाहियो भन्दा मुद्दा खेप्नुपर्छ’

हामीले घरमा पहिल्यैदेखि सुन्दै आएका थियौं, कृषि गरेर व्यवहार चल्दैन । पढ्दै जाँदा त्यो बेला पनि नेपालबाट तरकारी र कृषि उत्पादन विदेशमा निर्यात हुने कुरा थाहा पाइयो, यो बाजेबज्यैको पालाको कुरा भनौं ।

२०६२/६३ को राजनीतिक क्रान्तिपछि हाम्रो पुस्ता देशमा परिवर्तन हुने आशमा बस्यो । सूचना र सञ्चारले पनि धेरै कुरा सिकायो । यसमध्येको एउटा कुरा हो– ‘नेपालमै केही गर्न सकिन्छ ।’

म एमएस्सी गरेको व्यक्ति कानुन पनि पढेको छु । नेपालमा कृषि क्रान्ति गर्न भन्दै कृषिमा होमिएँ । पढ्दै गरेको युवा म २०७२ सालको भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीले मलाई कृषिमा घचेटेरै ल्याएको परिस्थिति थियो ।

अनि परनिर्भरता तोड्नुपर्छ, स्वदेशमै उत्पादन गर्नुपर्छ भनेर २०७३ सालमा हामीले चितवनमा सामूहिक खेती सुरु गर्‍यौं । साथीहरू मिलेर १५० बिघा जमिनमा सामूहिक मौसमी तरकारी लगायौं । यसका लागि धितो जमानी गरेर १२ करोड ऋण लिएका छौं । सरकारी अनुदान पनि यहाँ लगानी भएको छ । तर, उत्पादनको पहिलो वर्षबाटै हामीलाई बजारको चिन्ता भयो ।

हामीले उत्पादन गरेको तरकारी वा फलफूल बजारमा जाने बेलामा लागत भन्दा पनि सस्तोमा विदेशी तरकारी नेपाल भित्रिंदा हाम्रो उत्पादन बजारमा टिक्न नसक्ने अवस्था आयो— करेला, काँक्रो, फर्सी, गाँजर, मुला, काउली, बन्दा जेसुकै होस् । जब हाम्रो खेतमा तयार हुन्छ तब भारतबाट तिनै सामान हाम्रोभन्दा सस्तोमा नेपाली बजारमा उपलब्ध हुन्छ ।

यसरी पहिलो वर्ष पनि राम्रो व्यापार गर्न सकिएन । दोस्रो वर्ष भारतीय तरकारी भित्रिएर आफ्नो उत्पादनले बजार नपाएको थाहा पायौं । अहिले ६ वर्ष भयो अब चैं अति नै भयो भन्ने अवस्थामा पुगेका छौं ।

यो मेरो मात्रै समस्या होइन, चितवनका सयौं किसानको समस्या हो । हाम्रो फार्ममा मात्रै १०० जनाले रोजगारी गर्छन् । पढेर विदेशिन सक्ने म जस्तै अन्य साथीहरू पनि साझेदारीमा छौं तर पनि हामीलाई गरिखाने अवस्था पटक्कै भएन ।

गत वर्ष पहिलो पटक हामीले भारतीय तरकारीलाई फेलापरेसम्मको तरकारी मण्डीमा बिक्रीका लागि रोकौं भन्यौं । उनीहरूले नमाने पनि हाम्रो तरकारी उनीहरूकै मण्डीमा खन्याइदिएर आयौं । दोस्रो वर्ष बाटोमा रोक्ने भन्दै भारतबाट तरकारी बोकेर आएका गाडी जाँच गरेर तरकारी नष्ट गर्‍यौं ।

यो पटक हामीलाई थप जानकारी पनि भयो कि अरू नै तरकारी भनेर भन्सार पास भएको गाडीमा फरक खालको तरकारी समेत भेटियो । त्यस बापत हाम्रा साथीहरूले सार्वजनिक अपराधको मुद्दा खेपे ।

आफ्नो कृषकको उत्पादन बचाउनुपर्ने राज्यले पहिलो; बाह्य उत्पादनलाई सहजै आयात गर्न दियो, दोस्रो; आयातमा भन्सार लुज गरेर किसानको उत्पादनमा असर गर्ने उत्पादन भित्र्याउन दियो । तेस्रो; राज्यले गर्नुपर्ने काम किसानले गर्दा मुद्दा हाल्यो । आज हामी हाम्रो उत्पादनलाई बजार चाहियो भन्दा मुद्दा खेप्नुपर्ने अवस्थामा छौं ।

हरेक पटक किसानको उत्पादन डम्प गर्ने नीति लिएर अर्को देशबाट कृषि उपज भित्रिंदा राज्यले पहल गरे जस्तो गर्दै फेरि छोड्दै गर्‍यो । अब यसलाई नीतिगत रूपमा सल्ट्याउनुपर्ने अवस्था देखियो । आन्दोलन गर्ने केही समय समाधान हुने अनि फेरि दुःख पाइयो । ६ वर्षमै हामी हरेश खाने अवस्थामा पुग्यौं । खेतमा हुनुपर्ने मान्छे अहिले कहिले मन्त्रालयमा, कहिले सडकमा कृषक बचाउन माग लिएर हिंड्नु परेको छ ।

आफ्नो उत्पादनको बजारका लागि आन्दोलन गर्दागर्दै थाकिएछ भने खेती छाड्छौं । खेती गर्ने साधन सरकारलाई बुझाउँछौं । होइन यदि सरकारले काम गर्छ भने हाम्रो उत्पादन उपभोक्तालाई सहज र सस्तोमा पुग्ने गरी व्यापार नियमन गर्नुपर्छ । हाम्रो उत्पादन बिक्रीको बजार तय गर्नुपर्छ ।

व्यापारी र किसानको सम्बन्ध राम्रो हुँदा मात्रै किसान पनि टिक्ने गरी व्यापारीले बजारको चक्र बनाउँछन् । नत्र व्यापारीले किसानलाई पेल्न भारतबाट कृषि उपज ल्याइदिन्छौं भन्छन् । त्यसकारण कृषि उपजको व्यापार सरकार मातहत हुनुपर्‍यो । खरिद विवरण पनि सरकारलाई दिनुपर्‍यो । उत्पादक किसान र ढुवानीमा पनि सरकारले अनुदान दिनुपर्‍यो ।

(‘युवा आधुनिक सामूहिक खेती’ का सञ्चालक मध्येका एक भुसालसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2023/03/1271422

लिग टुमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

१९ फागुन, काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।

नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित गरेको थियो ।

लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।

लिग टुको शीर्ष ३ मा रहँदा विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यदि नेपालले आजको खेल हारे शीर्ष तीनको सम्भावना सकिनेछ ।

लिग टुमा सबै ३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रोमा छ । ३० खेलबाट २८ अंकसहित नेपाल छैटौं स्थानमा छ । नेपालले पाँचौ स्थानमा रहेर ओडिआई मान्यता जोगाउन पनि अब बाँकी रहेको ६ मध्ये ४ खेल जित्नुपर्नेछ ।

नेपालले युएई शृखंलाको अन्तिम खेल सोमबार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि लिग टुको अन्तिम शृखंला यही तीन टोलीबीच काठमाडौंमा मार्च ९ देखि १६ (फागुन २५ देखि चैत २ गते) सम्म हुनेछ ।

हेड टु हेड

खेल : ७

नेपाल विजयी : ५

पीएनजी विजयी : २

विगतमाको खेल नतिजा

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल २ विकेटले विजयी

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल १५१ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल २ विकेटल विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल ७ विकेटले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ६ रनले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ३ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२३ फेब्रुअरी : नेपाल ३ विकेटले विजयी



source https://www.onlinekhabar.com/2023/03/1271410

महोत्तरीबाट घुससहित नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

१९ फागुन, वीरगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण पक्राउ परेका हुन् ।

अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दहालले जानकारी दिए ।

फागुन १८ गते श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2023/03/1271398

Wednesday, 1 March 2023

६० वर्षपछि नोकियाले बदल्यो लोगो

काठमाडौं । फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ ।

यद्यपि सन् १९६६ पछि नोकियाको लोगोमा धेरथोर परिवर्तन हुँदै आएको थियो । तथापि ब्राण्डको लोगो पूर्णरुपमा परिवर्तन भएको यो पहिलोपटक हो । स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्र्ड कंग्रेसका अवसरमा नोकियाले कम्पनीको लोगो परिवर्तनको घोषणा गरेको हो ।

कम्पनीको लोगो बदलिएसँगै नोकिया कम्पनी अब मोबाइल व्यवसायका अलावा नेटवर्क व्यवसायमा पनि एकपटक केन्द्रित हुने तयारीमा रहेको संकेत गरेको छ ।

नोकियाको नयाँ लोगो पाँचवटा आकृति मिलाएर बनाइएको छ जसले मिलाएर नोकियालाई जनाउँदछ । नोकियाको लोगो यसअघि निलो रङमा हुने गरेकोमा त्यो पनि परिवर्तन भएको छ ।

स्मरण रहोस् नोकिया कम्पनीले केवल स्मार्टफोन मात्र होइन फाइभ जी उपकरण पनि बनाउँछ । त्यसैले कम्पनीमा अब दुईवटा लोगो देखिनेछ । एउटा लोगो खासगरी मोबाइल फोन सेग्मेन्टका लागि राखिएको छ भने अर्को लोगो कम्पनीका अन्य व्यवसायका लागि तय गरिएको छ ।

नोकिया मोबाइल ब्राण्डको कुरा गर्दा नोकियाको मोबाइल फोन बनाउने लाइसेन्स फिनल्याण्डको एचएमडी ग्लोबल कम्पनीसँग छ । त्यसैले नोकिया कम्पनीले आफ्नो लोगो परिवर्तन गरे पनि एचएमडी ग्लोबलले भने नोकियाको पूरानै लोगो भएका स्मार्टफोन बिक्री गर्ने बताएको छ ।

नोकियाका सीईओका अनुसार नोकिया अब केवल स्मार्टफोन कम्पनी मात्र होइन बिजनेस टेक्नोलोजी कम्पनी बनिसकेको छ ।

– एजेन्सी



source https://www.onlinekhabar.com/2023/03/1270799

वडा कार्यालयमा कृषि मेला, किसान दंग

१७ फागुन, पोखरा । आर्बामा व्यावसायिक तरकारी खेती गर्दै आएका श्रीधर बराल बुधबार १३ नम्बर वडा कार्यालयमा भेटिए । वडा कार्यालय आउँदा उनको हात खाली थिएन, उनले आफूले उमारेको अदुवा, आलुसहित तरकारी बोकेका थिए ।

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषक बरालको अदुवा, आलु राम्रोसँग नियाले र प्रशन्न देखिए । तत्कालै ५ किलो किनिहाले । ‘यो अदुवा पनि एकदमै राम्रो छ । सक्नेले बिउकै लागि किनेर लैजाँदा हुन्छ है बजारमा यस्तो पाइन्न,’ उनले भने ।

सन्दर्भ थियो, पोखरा महानगर वडा नं. १३ ले बुधबार राखेको वडास्तरीय बृहत कृषि मेला प्रदर्शनी ।

बरालले ५ वर्षदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । उनले उत्पादन गरेको ‘कपुरकोट १’ जातको अदुवाले राम्रो चर्चा पाएपछि दंग थिए । ‘३–४ किलो वर्षमा उत्पादन हुन्छ । कहिले ३ सय रुपैयाँ किलोसम्म बेच्छु अहिले सिजन भएर सय रुपैयाँ किलो जान्छ,’ उनले सुनाए ।

वडाभित्रका किसानलाई लक्ष्य गरी गरिएको कृषि मेलामा विभिन्न १० वटा स्टल राखिएको थियो । जसमा फलफुलदेखि पुष्प, खाद्यान्नसम्मका उत्पादन प्रदर्शन तथा बिक्री वितरणमा राखिएको थियो । किसानी पेसामै रमाउँदै आएका स्थानीय वडा कार्यालयमै आफ्नो उत्पादन प्रदर्शनमात्रै नभएर बिक्री वितरण गर्न पाउँदा मख्ख थिए ।

मेलामा उत्पादन प्रदर्शनसँगै रैथाने बाली परिकार, माटो परीक्षण, बाली उपचार शिविरलगायत पनि गरिएको थियो । ‘किसानी गर्दैै आए पनि वैज्ञानिक रुपमा कसरी गर्ने थाहा थिएन । अरुबेला बिचौलियाको भर पर्नुपथ्र्यो, अहिले सिधै ग्राहकहरुसँग परिचय भएको छ,’ कृषक ब्रिजकुमार चौधरीले भने, ‘यस्तो मेला बेलाबेला गरिराखे हामीलाई पनि राम्रो हुन्थ्यो ।’

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले वडास्तरमा हुने साना कृषि मेलाले मेलाले पनि किसानलाई ठूलो सहयोग पुग्ने बताए । उनले उत्पादन बढाउनुका साथै बाली तथा बिउविजनबारे जानकारी दिन पनि मेलाले सघाउ पु¥याउने सुनाए ।

‘अग्र्यानिक उत्पादनको एकदमै ब्रान्डिङ गर्छ । पोखरा फेरि आफैं विविधता बोकेका ठाउँ हो । तल्लो माथिल्लो क्षेत्र फरक छ, कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भन्ने पनि मेलाले सिकाउँछ,’ कडरियाले भने, ‘हाम्रो बाँच्ने आधार नै कृषि भएकाले सबै कृषिमा गम्भीर हुन जरुरी छ ।’

कडरियाले सस्तो पाउने नाममा पछिल्लो समय बाहिरबाट विषादी भित्राउने काम भइरहेको सुनाए । ‘खासमा सस्तो पाउने नाममा फोहोरको डंगुर भित्र्याइरहेका छौं । यसलाई स्थानीय उत्पादन बढाएरमात्रै घटाउन सकिन्छ,’ उनले भने । उनले महानगरले चाँडै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले कृषि प्रधान देशमा कृषिको महत्व बुझाउन र किसानसँग नजिक हुन पनि मेला आयोजना गरिएको सुनाए । ‘नेपाललाई कृषि प्रधान देश भनिरहेका छौं । तर, हाम्रो खाद्यान्न, तरकारी, फलफुल सबै आयातित छ । हामीले हाम्रै प्रोडक्ट पनि मार्केटिङ गर्न सकिराखेका छैनौं,’ उनले भने, ‘लोकल उत्पादनलाई मार्केटिङ गर्न पनि मेला आवश्यक हुने रहेछ ।’



source https://www.onlinekhabar.com/2023/03/1270786

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन 

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए । अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आईएसपीए)लाई ललितपुर महानगरले जिम्मा दिएको छ । उक्त कार्यका लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

सम्पदाको शहर ललितपुरको शाख जोगाउन अन्य सरोकारवाला निकायसँग पनि सहकार्य गरिने उनले बताए ।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण शहर कुरुप बनेको उनकाे भनाइ थियो ।

‘नगर र नगरबासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ,’ महर्जनले भने, ‘१० दिन भित्र तार नहटाए महानगरले नै हटाउने छ ।’ तार हटाउँदा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘मेसिन खरिद गरिसक्यौं, आफैं काट्छौं ।’

सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको महर्जनको भनाइ थियो । ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा भेट्न आउने विदेशी पाहुनाले यी असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गर्दा आफूलाई सहज भएको उनले बताए । ललितपुरका मनमोहक सम्पदाका तस्वीर खिज्न खोज्दा अव्यवस्थित तारले तस्वीर खिचन् समेत बाधक बनेको गुनासो आफू समक्ष गरेको तितो अनुभव उनले बैठकमा सुनाएका थिए ।



source https://www.onlinekhabar.com/2023/03/1270728

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More