Saturday, 29 February 2020

इस्टर्न रिजन टी२० : नेपाललाई १५५ रनको लक्ष्य

१७ फागुन, काठमाडौ ।  एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियाबाट जितका लागि १५५ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

मलेसियाका लागि सायद अजजि सायद मुबारकले अर्धशतक प्रहार गरे । उनले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । यस्तै ओपनर मोहम्मद अजवर अरुदिनले ३१ र कप्तान अहमद फैज मोहमद नुरले ३० रन जोडे । रामलेले २९ रन जोडे । ८९ रन हुँदा ५ विकेट गुमाएको मलेसियाका लागि सायद अजिज र अमिनुदिन रामलेले उत्कृष्ट ब्याटिङ गरे । यी दुईले छैटौं विकेटका लागि अर्धशतकिय साझेदारी गरेपछि मलेसियाले मध्ययम स्कोर बनाएको हो । छैटौं विकेटका लागि यी दुईले ६३ रनको साझेदारी गरे । करण केसीले अन्तिम ओभरमा रामलेलाई आउट गर्दै साझेदारी तोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ र अभिनाश बोहराले २ विकेट लिए । सन्दीपले मलेसियाको पहिलो विकेट लिएपछि टी२० क्रिकेटमा नेपालबाट १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने । खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई पहिले विकेटका रुपमा आउट गरेका थिए । त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । उक्त ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् ।

नवौँ ओभरमा सन्दीपले नै अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । अभिनाशले १४औं ओभमा अहमद फैज मोहमद नुर र मोहमम्द अरिफ जमालदिनलाई आउट गरेका थिए । अभिनाले ४ ओभरमा ३९ रन रखर्चेर २ विकेट लिए ।

मलेसिया विरुद्ध ३ विकेट लिएपछि राष्ट्रिय टिमका लागि सन्दीपको विकेट संख्या ३१ पुगेको छ । अरु ७१ विकेट उनले विश्वका विभिन्न फ्रेन्चाइज टी२० लिगमा लिएका थिए ।

यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।



source https://www.onlinekhabar.com/2020/02/840441

‘कैथी’को रिमेकमा अजय पक्का

सफल तामिल चलचित्र ‘कैथी’को हिन्दी रिमेक बन्दैछ । ‘रिलायन्स इन्टरटेन्टमेन्ट’ र ‘ड्रिम वारियर पिक्चरर्स’ले चलचित्रको हिन्दी रिमेक राइट्स किनेका छन् ।

केही समयदेखि बलिउड रिमेकमा को कलाकार रहने हो भन्ने विषयमा धेरै चर्चा भइरहेको थियो । चलचित्रको लागि रणवीर सिंहदेखि ऋतिक रोशनसम्‍मको नाम अग्रपन्तीमा आएको थियो ।

तर, चलचित्रको लागि नायक अजय देवगण पक्का भएका छन् । निर्माण पक्ष र अजयबीच लिखित सम्झौता पनि भइसकेको छ । तामिल ‘कैथी’मा अभिनेता कर्थीले निर्वाह गरेको भूमिका बलिउड रिमेकमा अजयले निर्वाह गर्नेछन् ।

अजय चलचित्रमा ‘इन’ भएसँगै उनी निर्माताको रुपमा पनि खडा भएका छन् । रिलायन्स इन्टरटेन्टमेन्ट, वारियर पिक्चर्ससँग ‘अजय देवगण फिल्मस्’ले पनि चलचित्र निर्माणमा सहकार्य गर्नेछ । चलचित्रको बजेट निकै उच्च हुने निर्माण पक्षले बताइरहेको छ । रिलिज भइसकेको तामिल चलचित्र भन्दा हरेक हिसाबमा उत्कृष्ट बनाउने होडमा निर्माण पक्ष लागेको छ ।

एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रलाई लोकेश कनगराजले निर्देशन गर्दैछन् । तामिल चलचित्र पनि उनी आफैँले निर्देशन गरेका थिए ।

केही समयमा नै छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रले रिलिज मिति पनि तय गरिसकेको छ । चलचित्रले २०२१ को फेब्रुअरी २१ लाई रिलिज लक्ष्य बनाएको छ ।



source https://www.onlinekhabar.com/2020/02/840440

Friday, 28 February 2020

टी-२०मा सन्दीप लामिछानेको १०० विकेट पुरा

१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे ।

त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए ।

मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफनो टी-२० करियरमा विकेट संख्या १०१ पुर्‍याए । उनले टी-२०मा राष्ट्रिय टोलीबाट ३० विकेट लिइसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/02/840437

तापसीको ‘थप्पड’ले कमायो ३ करोड

शुक्रबारबाट बलिउड चलचित्र ‘थप्पड’ रिलिज भएको छ । तापसी पन्नु स्टारर यस चलचित्रले निकै राम्रो समीक्षा पाइरहेको छ । चलचित्रको विषयबस्तु र त्यसको प्रस्तुतीलाई दर्शकले रुचाएका छन् ।

रिलिजको पहिलो दिन चलचित्रको कमाई भने सन्तोषजनक रहेको छ । चलचित्रले शुक्रबार ३ करोड ७ लाखको व्यापार गरेको छ । सानो बजेटमा बनेको चलचित्रको यो कमाई सन्तोषजनक कमाई हो ।

चलचित्रको माउथ पब्लिसिटी राम्रो भएका कारण शनिबार र आइतबार चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको अनुमान छ । बलिउडमा शनिबार र आइतबारको कमाईले नै चलचित्रको विकेन्ड कति हुन्छ भन्ने कुराको तय गर्नेछ ।

श्रीमानको एक थप्पडले गर्दा परिवारमा आएको उत्तारचढाब र त्यसले निम्त्याएको द्वन्द्व नै चलचित्रको विषयबस्तु हो । अनुभव सिंहा निर्देशित चलचित्रमा पभेल गुलाटीको पनि मुख्य भूमिका रहेको छ ।



source https://www.onlinekhabar.com/2020/02/840435

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपाल र मलेसिया भिड्दै

१७ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेलमा नेपालले पहिले बलिङ गर्दैछ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ ।

थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेलेको नेपालले थोरै समय तयारी गर्न पाएको हो ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

कुल खेल : ७

नेपाल विजयी : ६

मलेसिया विजयी : १

२००७ एसीसी टी२० कप

नेपाल २१ रनले विजयी

२००९ एसीसी टी२० कप

मलेसिया ६ विकेटले विजयी

२०१३ एसीसी टी२० कप

नेपाल १९ रनले विजयी

२०१८ आईसीसी विश्वकप टी२० एसिया रिजन क्वालिफायर बी

नेपाल ८ विकेटले विजयी

२०१९ नेपाल इन मलेसिया टी२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

तर निरन्तर क्रिकेट खेलिरहेकोले टिम इस्टर्न रिजनका लागि तयार रहेको कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले थाइल्याण्ड जानुअघि बताएका थिए ।



source https://www.onlinekhabar.com/2020/02/840432

मिस नेपालबाट किन खोसियो ‘मिस युनिभर्स’ ?

मिस नेपालमा ५ वटा उपाधिहरु थिए, मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेश्नल, मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ र मिस सुपरनेश्नल । तर, मिस नेपाल २०२० मा भने ४ वटा मात्रै उपाधि रहनेछन् । मिस नेपाल २०२० बाट मिस युनिभर्स खोसिएको छ ।

आखिर किन खोसियो मिस युनिभर्स ? यसको उत्तर मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका सम्बन्धित व्यक्तिहरुसँग पनि छैन् । उनीहरुले पनि किन खोसियो भन्ने प्रश्नको उत्तर पाएका छैनन् ।

मिस युनिभर्स फ्रेन्चाइज उपाधि हो । यस टाइटिल लिनको लागि मिस नेपाल आयोजक हिडन ट्रेजरले प्रतेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ । तर, यस वर्षको लागि भने नेपालले नविकरण गर्न पाएन ।

हिडन ट्रेजरका निर्देशक दीवाकर राजकर्णिकारले भने, ‘यस वर्ष हामीले नविकरण जानु पूर्व नै उहाँहरुले यस वर्ष नेपाललाई नदिने भनेर मेल गर्नुभयो । हामीले कारणबारे प्रश्न गर्दा केही पनि कारण देखाउनु भएको छैन ।’

यस वर्ष नभएको मिस युनिभर्स अर्को वर्ष पुनः हुन सक्ने आश्वासन निर्देशक राजकर्णिकर दिन्छन् । उनले थपे, ‘यस वर्ष उहाँहरुले अर्कै देशलाई दिन लाग्नुभएको रहेछ । आश गरौँ अर्को वर्ष हामीले पाउन सक्नेछौँ ।’ मिस युनिभर्समा नेपालको सहभागिता राम्रो हुदाँ हुदैँ उक्त उपाधि खोसिनु दुःख लाग्दो कुरा नै भएको उनले बोलेका छन् ।



source https://www.onlinekhabar.com/2020/02/840431

युवा फाइभ–जीका, नेता वान–जीका छन् अनि कसरी मिल्छ ? : चन्द्र भण्डारी

१७ फागुन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ठूला पार्टीका शीर्ष नेताहरुलाई ‘बाँदरहरूको झुण्ड’को उपमा दिएका छन् । पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन आएका नेता भण्डारीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अहिलेका नेताबाट देशको हितमा कुनै पनि काम हुन नसक्ने जिकिर गरे ।

‘यी सबै ठूला पार्टी शीर्ष नेताहरूको हविगत देखिसकियो, जनताले पनि देखे, यी सबैको क्यारेक्टर एउटै हो, यिनीहरूबाट देश चल्दैन, चलाउन पनि सक्दैनन्,’ नेता भण्डारीले आक्रोशित हुँदै भने, ‘यिनले आफ्ना सन्तानलाई पुग्ने कमाए, ठूलठूला दरबार बनाए, आफन्तलाई जागिर लगाए, पोस्नुसम्म पोसे, अझै यिनकै झगडा हेरेर बस्नुपर्ने ? अहिलेका युवा फाइभ–जीका छन्, नेता वान–जीका छन् अनि कसरी मिल्छ ?’

नेता भण्डारीले मन्त्री र सांसद बाँड्ने कांग्रेसका नेता नेविसंघका लागि झगडा गरेर बसेको भन्दै कटाक्ष गरे । उनले त्यस्ता नेताहरुलाई बलपूर्वक भए पनि विदा गर्नुपर्ने बताए । उनले भने, ‘यस्ता नेतालाई कुनै पनि हालतमा फाल्नुपर्दछ, सकेसम्म फकाएर फाल्ने हो, नमाने जनताको बलमा बिदाइ गर्नुपर्दछ ।’

नेकपा उपाध्यक्ष बामदेव गौतमका विषयमा किचलोलाई उनले लज्जाको विषय भएको बताए । ‘म पनि हारेको मान्छे हुँ, पाँच वर्ष म संसदमा जान मिल्दैन, बाहिर बस्नु भनेका छन् जनताले,’ नेता भण्डारीले भने, ‘एउटा हारेको व्यक्तिलाई सांसद बनाउनुप¥यो भनेर यत्रो रमिता गर्ने ? संविधान संशोधन गरेर सांसद र प्रधानमन्त्री बनाउनुपर्ने ?’



source https://www.onlinekhabar.com/2020/02/840428

अख्तियारको कार्यक्रममा रमाइलै रमाइलो

१७ फागुन, डोटी । डोटी, आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले गाउँमा जनशक्ति नपाइने र थोरै ज्याला भयो भनेर काम नगर्ने भएका कारण डोजर लगाउन पाइने कि नपाइने भन्दै प्रश्न गरे ।

उनको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले भने, ‘डोजरको प्रयोग गर्न पाइँदै पाइँदैन, यदि डोजरको प्रयोग गराएर काम गर्नु भएको छ भने म तपाईंलाई कारबाही गर्छु ।’

खतिवडाको जवाफले हाँसो गुञ्जियो ।

केआई सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले अर्को वर्ष भुक्तानी दिने गरी उधारोमा सडक काट्न पाइने कि नपाइने भन्ने प्रश्न गरे । त्यसको जवाफमा खतिवडाले भने, ‘तपाईं विकासको ठेक्का नलिनुस् । बजेटै नभई कसरी काम गराउनु हुन्छ ?’ फेरि हलमा हाँसो गुन्जियो ।

आयोगले शुक्रबार डोटीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयको अन्तक्रिया कार्यक्रममा यस्तै रमाइलो भयो । प्रमुख प्रशासकीय अधिकृतहरुले वास्तविकता र वाध्यता प्रस्तुत गरे । अख्तियार कञ्चनपुर प्रमुखले कडा जवाफ दिए ।

अख्तियार कञ्चनपुरका प्रमुखले बेनामी उजुरीकर्तालाई देउताको संज्ञा दिँदा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले अख्तियारप्रति व्यंग्य प्रहार गरिन्

अख्तियार प्रमुख भन्छन्– उजुरीकर्ता देउता हुन्, नगर प्रमुखले भनिन्- म त मान्दैन

कार्यक्रममा खतिवडाले अख्तियारमा उजुरी गर्ने व्यक्तिहरु अख्तियारका लागि देउतासरह भएको बताए । ‘नामी बेनामी जस्तो उजुरी गरे पनि उजुरीकर्ताहरु हाम्रा देउता हुन्, हामीले उनीहरुको सम्मान गर्नुपर्छ,’ बेनामी उजुरीबारे सहभागीहरुले जिज्ञासा राखेपछि खतिवडाले भने, ‘हामी उजुरीकर्ताको संरक्षण गर्छौं, उनीहरुलाई हतोत्साही गर्दैनौं ।’

उनले अख्तियारमा ५९ प्रतिशत बेनामी उजुरी पर्ने गरेको जानकारी दिए । नाम उल्लेख गरेर ३३ प्रतिशतले मात्रै उजुरी दिने गरेको, संस्थागत उजुरी तीन प्रतिशत र पत्रपत्रिकाबाट पाँच प्रतिशत उजुरी पर्ने गरेको खतिवडाले जानकारी दिए । उनले भने, ‘यद्यपि बेनामी उजुरीमा अनुसन्धान गर्न ढिलो हुन्छ, उजुरी पढ्दा धेरै ठूलो भ्रष्टाचार भएको जस्तो देखिने, बुझ्दै जाँदा भ्रष्टाचार भएको हो कि ! जस्तो पनि लाग्ने तर अदालतमा जानलाई प्रमाण नपुग्ने अवस्था छ ।’ तर पनि अख्तियारले उजुरीकर्तालाई निरुत्साहित नगर्ने खतिवडाले कताए ।

अख्तियार कञ्चनपुरका प्रमुख खतिवडाले बेनामी उजुरीकर्तालाई देउताको संज्ञा दिँदा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले अख्तियारका अधिकारीहरुप्रति व्यंग्य प्रहार गरिन् । उनले भनिन्, ‘हुँदै नभएको विषयमा ठूलै भ्रष्टाचार भएको भन्दै बेनामी उजुरी गरेर अनावश्यक दुःख दिनेलाई म त देउता मान्न सक्दैन ।’

मलासीको यो जवाफमा हल एक पटक फेरि हाँसोले गुन्जियो । मलासीले बेनामी उजुरीकर्ताकै कारण स्थानीय तहहरुलाई काम गर्न गाह्रो भइरहेको गुनासो गरिन् । उनले भनिन्, ‘व्यक्तिगत स्वार्थ पूरा नभएपछि भ्रष्टाचार भएको भन्दै उजुरी गर्ने प्रवृत्ति बढेको छ । त्यसमा कुनै सत्यता हुँदैन ।’ उनले उजुरी झुट्टा ठहरे उजुरीकर्तालाई पनि कारवाही हुने व्यवस्था गर्न अख्तियारलाई सुझाव दिइन् ।

आफू भ्रष्टाचार नगर्ने र कर्मचारीहरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताउँदै मेयर मलासीले थपिन्, ‘कर्मचारीहरुले हामीलाई काम गर्न पनि सिकाइरहेका हुन्छन्, भ्रष्टाचार गर्न सिकाउने पनि उनीहरु नै हुन् ।’

जिल्ला समन्वय समिति प्रमुख भन्छन्- डोर हाजिरी हेर्दै नहेर्नुहोस्

अख्तियार कञ्चनपुर कार्यालय प्रमुख खतिवडाले सडक काट्दा डोजरको प्रयोग गर्ने र नक्कली डोर हाजिरी फाराम भरेर ल्याउने गरेको अनुसन्धानको क्रममा पाइएको सुनाए । खतिवडाको यो भनाइमा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले भने, ‘तपाईंहरु डोर हाजिरी त हेर्दै नहेर्नुहोस् ।’ प्रमुख ऐरको उक्त भनाइ सुनेर हलमा सहभागीहरु फेरि अर्कोपटक हाँसे ।

उनले डोर हाजिरी भन्नेबित्तिकै नक्कली भएको दाबी गरे । ‘डोर हाजिरी भर्ने गरी कसैले मजदुरी गर्दैनन्, सबैले ठेक्कामै हुन् काम गर्ने,’ प्रमुख ऐरले भने, ‘डोर हाजिरी कसरी कसरी भरिन्छ भन्ने कुरा सबैलाई थाहा छ ।’ उनले उपभोक्ता समितिलाई काम दिएर भ्रष्टाचार बढाउनुभन्दा टेण्डर गर्ने बानीको विकास गर्नु उपयुक्त हुने सुझाव दिए । उनले कोटेशनबाट सोझै १० प्रतिशत रकम आउने गरेको बताए ।

९० प्रतिशत भ्रष्टाचारी

अख्तियारको कञ्चनपुर कार्यालय प्रमुख खतिवडाले अख्तियार प्राप्त व्यक्तिहरुमध्ये ९० प्रतिशत भ्रष्ट रहेको दाबी गरे । ‘शत प्रतिशत त म भन्दिनँ, तर ९० प्रतिशत त भ्रष्ट छन्,’ खतिवडाले भने, ‘काम गर्ने क्रममा त्रुटी हुन्छन्, तर त्यो त्रुटी बदनियतपूर्ण हो कि होइन भन्ने विषय अख्तियारले हेर्छ ।’

उनले सबै नागरिकलाई अख्तियार बनाउन चाहेको पनि बताए । ‘आफ्नो टोलमा अनियमित काम भइरहने तर नागरिकहरु टुलुटुलु हेरेर बस्ने गरेका कारण भ्रष्टाचार वढेको हो,’ खतिवडाले भने, ‘अब सबै नागरिकहरुले खबरदारी गर्नु जरुरी छ ।’ उनले अख्तियारले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीन क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले अख्तियारकै कर्मचारीहरुको पनि नियत सफा हुनु पर्ने बताए । उनले भने, ‘हुन त सबै कर्मचारीहरुको नैतिक आचरण सफा हुनुपर्छ नै, त्यसैमा अख्तियार जस्तो संस्थाको कार्यालयमा काम गर्ने कर्मचारीहरुको उच्च नैतिक आचरण हुनु जरुरी छ ।’

सात महिनामा ६५८ उजुरी

आयोगको कञ्चनपुर कार्यालयमा चालु आर्थिक बर्षको सात महिनामा ६ सय ५८ उजुरी परेका छन् । कार्यालयका अधिकृत अमर ओलीले कार्यालयको तथ्यांक प्रस्तुत गर्दै माघ मसान्तसम्म आएका ६ सय ५८ उजुरीमध्ये पाँच सय नौ उजुरी फर्छ्यौट भइसकेको जानकारी दिए ।

०७० सालमा अख्तियारको कार्यालय स्थापना भएदेखि हालसम्म पाँच हजार चार सय ५७ उजुरी परेका र सोमध्ये ४ हजार ६ सय ४१ उजुरी फर्छौट भइसकेको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/02/840425

बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको नेता पाण्डेले बताए । ‘पार्टीमा अहिले देखिएको विवादको समाधान हुन्छ, एउटा सहमतिमा नेताहरु पुग्न लागेको बुझिन्छ,’ नेता पाण्डेले भने, ‘बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुन्छ, प्रधानमन्त्रीका चासोहरु पनि सम्वोधन हुन्छन् ।’



source https://www.onlinekhabar.com/2020/02/840422

नेपाल स्वर्ग हो, सबै मिलेर समृद्ध बनाऔं : राज्यमन्त्री मानन्धर

१७ फागुन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् ।

शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए ।

काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै–कतै गलत इन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।

आइतबारदेखि शुरु हुने युवा इन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् ।

देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताए । राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री मानन्धरले नेपाल धर्तीको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपूर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताए ।



source https://www.onlinekhabar.com/2020/02/840419

भौतिक पूर्वाधार मन्त्रालयको १०० दिनको प्रगति- ९५०० खाल्डा पुरियो

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ ।

मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ ।

यसका साथै काठमाडौं उपत्यकाका करिब २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको छ । यसलाई पनि मन्त्री नेम्वाङले  गौरव गर्न लायक काम भनेर उल्लेख गरेका छन् ।

‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके तापनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ,’ प्रगति विवरणमा लेखिएको छ ।

यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए ।

१७ वटा चोकहरुमा ट्राफिक लाइट बालिएको, बल्खु, महालक्ष्मीस्थान र बानेश्वरमा आकाशे पुल निर्माण थालिएको, कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम थालिएकोलगायतका विषयलाई प्रगति विवरणमा समेटिएको छ ।

मन्त्रालयका अनुसार १५ सय वटा रुग्ण आयोजनाको म्याद विनासर्त एक वर्ष थप गरिएको छ ।



source https://www.onlinekhabar.com/2020/02/840416

सैनामैनामा कृषक पाठशाला शुरू

१७ फागुन, बुटवल । कृषिजन्य उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको सैनामैनामा कृषक पाठशाला शुरू भएको छ । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला शुरू गरिएको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा नगरपालिकाका तीनवटा वडाका ७५ जना किसानहरुका लागि १६ हप्ते कृषि पाठशालामा सञ्चालन गरिएको हो । उनीहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिने सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले जानकारी दिइन् ।

कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्याउने र बेफाइदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादनमुलक कसरी बढाउने, खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषय सिकाइने सुवेदीले बताइन् ।

‘कृषि पाठशालामा सहभागी सबै किसानहरुलाई खेतबारीमै लगेर स्वस्थ बाली उत्पादन, नियमित खेतबारीको अवलोकन, मित्र जीवहरुको संरक्षण, शत्रु जीवको व्यवस्थापन, माटोको सुरक्षा, जैविक विषादी बनाउने र प्रयोग गर्ने तरिका सिकाइन्छ,’ कृषि शाखा प्रमुख सुवेदीले भनिन्, ‘यो तालिमपछि किसानमा गुणात्मक परिवर्तन आउने छ ।’

रुपन्देहीका १६ स्थानीय तहहरुमध्ये कृषि पाठशाला शुरु गर्नेमा सैनामैना पहिलो भएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । ‘सैनामैनामा कृषि र पशुपालनको प्रचुर सम्भावना भएकाले यो कार्यक्रमलाई नमूना परियोजनाको रुपमा अघि बढाइएको हो,’ नगरप्रमुख कार्कीले भने, ‘नगरभित्र व्यवसायिकरुपमा कृषि र पशुपालन गर्ने सबै किसानलाई आफैं प्राविधिक बनाउने हाम्रो लक्ष्य हो, दोस्रो चरणमा पशुपालनसम्बन्धी कक्षा पनि शुरु गर्छौंं ।’

सैनामैनालाई कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्यअनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको उनले बताए ।

पहिलो चरणमा वडा नंं. ६, ९ र ११ का किसानलाई शुरु गरिएको कृषक पाठशाला कक्षा कार्यक्रम क्रमशः नगरका ११ वटै वडामा विस्तार गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । तालीमपछि किसानहरु सामान्य समस्यामा पनि प्राविधिक खोज्दै भौंतारिनुपर्ने समस्याबाट मुक्त हुने र कृषि उत्पादनमा हुने लागत घटेर जाने पन्थीले बताए ।



source https://www.onlinekhabar.com/2020/02/840411

नेपालगञ्जका किशोरीलाई आत्मरक्षा तालीम

१७ फागुन, बाँके । महिला तथा किशोरीको आत्मरक्षाका लागि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ ।

कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् ।

तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने शाखा अधिकृत पाण्डेले जानकारी दिइन् ।



source https://www.onlinekhabar.com/2020/02/840410

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More