Wednesday, 29 April 2020

होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु

१८ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ ।

काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका-४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/04/859526

रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

१८ वैशाख, बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालबाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दावी छ ।

बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दूरीमा ८९ वटा अस्थायी चेकपोष्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोष्टबाट अर्को पोष्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोष्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए । ‘सामान्य अवस्थामा चार सय ५० जनाले सीमा क्षेत्रमा ड्युटी गर्थे,’ पोखरेलले भने, ‘लकडाउनपछि अन्य जिल्लाबाट समेत जनशक्ति ल्याएर एक हजार जना खटाएका छौं ।’

एउटा पोष्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । दैनिक १५ जनादेखि २० जनासम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउँछन् । ‘विभिन्न नाकाबाट दैनिक १५ देखि २० जना नेपाली र भारतीय नागरिक नेपाल आउन खोज्नुहुन्छ तर हामीले आउन नदिई फर्काइरहेका छौं,’ प्रहरी उपरीक्षक पोखरेलले भने ।

लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । रुपन्देहीमा अझै ४८ जना भारतीय नागरिक बुटवल, तिलोत्तमा, देवदह, सैनामैना र मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । उनीहरु नेपालका विभिन्न विकास आयोजनामा काम गर्दै आएका हुन् ।

मालबाहक ट्रकबाट जोखिम छ : नागरिक अगुवा

प्रशासनले खुला सीमाबाट कसैलाई प्रवेश गर्न नदिएको बताए पनि बेलहिया भन्सार नाकाबाट खाद्यान्न र तरकारी आयात गर्ने ट्रक चालक र सहचालकका कारण कोरोना संक्रमणको जोखिम कायमै रहेको बेलहियाका नागरिक अगुवा रामबहादुर बस्नेत बताउँछन् ।

बेलहियाबाट दैनिक करिब डेढ सय मालबाहक ट्रक नेपाल प्रवेश गरिरहेकाले खाद्यान्न, तरकारी तथा चालक र सहचालकका माध्यमबाट संक्रमण भित्रिन सक्ने त्रास रहेको बस्नेत औंल्याउँछन् । ट्रक चालक र सहचालकलाई नाकामा ज्वरो जाँच गरेर र भैरहवा भन्सार  कार्यालयमा भारतबाट आउने ट्रकलाई सेनिटाइजेसन गरिए पनि भरपर्दो र ढुक्क हुने अवस्था नरहेको भन्सार एजेन्ट संघका केन्द्रीय अध्यक्ष एवं बेलहिया निवासी डा. शान्तकुमार शर्माले बताए । ‘अहिलेको मुख्य समस्या भारतबाट भित्रिने खाद्यान्न, तरकारी र भारतीय चालक सहचालक नै हुन्,’ डा. शर्माले भने, ‘हामीले प्रेस विज्ञप्ति नै जारी गरेर केही समयका लागि मालबाहक ट्रक पनि रोकौं भनेका हौं, तर सरकारले सुनेको छैन ।’

भारतीय गाउँ कोल्हुईमा चैतको तेस्रो हप्ताको शुरुमै ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै रुपन्देहीबासीमा भारतीय नागरिकबाट संक्रमण सर्ने हो कि भन्ने त्रास थियो । लकडाउन शुरु भएको शुरुवाती दिनमा छिटफुटरुपमा भारतीय तरकारी व्यापारीहरु मर्चवार लगायत खुल्ला नाकाबाट नेपालतर्फ आउने गरेको गुनासो आएको थियो ।



source https://www.onlinekhabar.com/2020/04/859527

वैशाख अन्तिम साता बजेट अधिवेशन, जेठ पहिलो साता नीति तथा कार्यक्रम

१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएको छ । भेटमा सभामुख सापकोटाले जतिसक्दो छिटो अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ ।

सामाजिक दुरी कायम गरेर संसद बैठक चलाउने विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । उनले बुधबार नै संसद भवन नयाँ वानेश्वर पुगेर बैठक कक्षको अवलोकन गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि वैशाख २१ गतेसम्म संसद भवनमा गर्नुपर्ने तयारी सक्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

वर्षे अधिवेशनमा सामाजिक दूरी कायम गरेर बैठक राख्न संसद सचिवालयले तयारी तीव्र पारेको छ । सचिवालयका अनुसार अब रङ रोगनको काम मात्रै बाँकी छ ।

सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्रीमात्रै बस्नेछन् । प्रधानमन्त्री बस्ने कुर्सी भन्दा पछाडिको पंक्ति खाली राखिने छ । सभामुख रहने ड्यासमा सामाजिक दुरी कायम हुने गरी स्पेस बढाइएको छ । सांसदहरुलाई वीचमा एउटा कुर्सी छाडेर फराकिलो दुरीमा राखिनेछ ।

‘सरकारका तर्फबाट मैले संसद सचिवालयलाई २१ गतेसम्म सबै तयारी पूरा गर्न भनेको छु । त्यसपछि अधिवेशन बोलाउनेबारे थप छलफल हुन्छ’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले अनलाइनखबरसँग भनिन् ।

जेठ पहिलो साता नीति तथा कार्यक्रम

नेपालमा जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ । अर्थात, जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ ।

बजेट पेश गर्नुअघि पूर्वबजेट छलफल गर्नुपर्ने हुन्छ । पूर्वबजेट छलफलमा सांसदहरुले दिएका सुझावलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछ ।

अधिवेशनको पहिलो दिन अधिवेशन आहृवानसम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाई बैठक अन्त्य गर्ने अभ्यास छ । यसरी हेर्दा, सरकारलाई अधिवेशन छिटो बोलाउनुपर्ने दवाव छ ।

अर्कोतर्फ अधिवेशन सुरु हुनु भन्दा कम्तीमा एक हप्ता अगाडि बैठक आहृवान गर्ने अभ्यास छ ।

जिल्लामा रहेका सांसदलाई राजधानी फर्किने समय र सचिवालयले गर्नुपर्ने तयारीका लागि कम्तीमा एक हप्ता समय राखेर अधिवेशन आहृवान गर्नुपर्ने संसद सचिवालयका कर्मचारी बताउँछन् ।

भर्चुअल बैठकका लागि सफ्टवेयर खरिद गरिँदै

संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीका अनुसार भर्चुअल बैठकका लागि संसद सचिवालयले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ ।

‘विभिन्न प्रदेशका सभामुखहरुसँग, विदेशका सभामुख, उपसभामुखहरुसँग समेत भर्चुअल बैठक गर्न सकिन्छ । त्यसका लागि संसद सचिवालयको आफ्नै सफ्टवेयर हुन आवश्यक छ’ उनले भने ।

संसद सचिवालयले भर्चुअल बैठक गर्नका लागि सफ्टवेरदेखि अन्य व्यवस्थापन, खर्च आदिका विषयमा अध्ययन गर्न सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरेको नेतृत्वमा समिति गठन गरेको थियो । सोम समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा सफ्टवेयर खरिद प्रक्रिया अगाडि बढेको कार्यबाहक महासचिव योगीले जानकारी दिए ।

उनकाअनुसार पहिलो चरणमा १० लाख खर्च हुने अनुमान छ । लाइसेन्स लिन २ लाख र अन्य व्यवस्थापनका लागि बाँकी रकम खर्च हुनेछ । दोस्रो चरणमा एचडी टेलिभिजन, भर्चुअल बैठकमै गोप्य छलफल जस्ता प्रविधि विकास गर्नका लागि ४२ लाख रुपैयाँसम्म खर्च हुने अध्ययन समितिको प्रारम्भिक अनुमान छ ।

अध्ययन समितिले सचिवालयमा बुझाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसार माइक्रोसफ्ट टिम्स नामक सफट्वेयरबाट ३०० भन्दा बढीले एकै पटक कुराकानी गर्न मिल्छ । यसमा रेकर्डिङ र सर्चिङ सुविधा पनि हुन्छ । छलफल हुँदै गर्दा दुई वा बढी सदस्यले आपसमा गोप्य कुराकानी गर्नसमेत सक्छन् ।

गोप्य भोटिङ गर्न सकिने, फाइल सेयर तथा स्टोर गर्न सकिने, मोवाइल, डेस्कटप, ल्यापटपमा वेवबाटै सिधै कन्फरेन्समा भाग लिन सकिने सुविधा यो सफ्टवेयरमा भएको  फ्रेन्सिङ गर्न सकिने लगायत सुविधा यो सफ्टवयेरमा रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार यो प्रविधिलाई आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउन १० दिन समय लाग्छ । वैशाख ४ गते गठित अध्ययन समितिले एक महिनाभित्र पूर्ण प्रतिवेदन दिनुपर्नेछ ।



source https://www.onlinekhabar.com/2020/04/859478

गाउँ फर्किएका ९९ प्रतिशत क्वारेन्टाइन बाहिर

१८ वैशाख काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले लकडाउनका बेला काठमाडौं, काभ्रे, धादिङ, सिन्धुपाल्चोक लगायतका ठाउँबाट करिब १५ लाख रुपैयाँ खर्च गरेर सात सय जनालाई घर फर्कायो ।

११ वटा क्वारेन्टाइन तयार पारेर बाहिर रोकिएका नगरपालिकावासीलाई फर्काएको नगर प्रमुख काशीचन्द्र बराल बताउँछन् । त्यसरी नगरपालिका प्रवेश गरेकामध्ये १८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । अरू सबै होम क्वारेन्टाइनमा बसेको बरालले बताए ।

रास्कोट नगरपालिका एउटा उदाहरण मात्र हो । पहुँचवाला नेता, मन्त्री, सांसद, स्थानीय सरकार सबैले लकडाउनमा घर फिर्ता लगेकामध्ये नगन्य मात्र क्वारेन्टाइनमा बसेका छन् । कतिपय स्थानीय तहले घर लैजानुअघि क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता समेत गराएका थिए । प्रतिवद्धता जनाएकामध्ये एक प्रतिशतले पनि त्यसको पालना गरेनन् ।

नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु औँलामा गन्न सकिने संख्यामा मात्रै क्वारेन्टाइनमा बसेको सूचना पाएको बताउँछन् । उनको हिसाबमा सहरबाट घर जानेमध्ये ९९.९९ प्रतिशत क्वारेन्टाइनमा छैनन् ।

‘क्वारेन्टाइनमा बस्ने भए घर किन आउँथे ?’

देशभरि ४७ हजार चार सय ६२ जना बस्न मिल्ने क्वारेन्टाइन बनेका छन् । आधाभन्दा बढी क्वारेन्टाइन खाली नै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर २२ हजार नौ सय एक जना क्वारेन्टाइनमा बसेका छन् । यो विभिन्न देशबाट आएका, आशंकितको सम्पर्कमा पुगेका व्यक्तिहरू समेतको तथ्यांक हो ।

योभन्दा कैयौँ गुणा बढी काठमाडौंबाट गाउँ फर्केका छन् । तर, उनीहरूले ‘घर फर्केपछि क्वारेन्टाइनमा बस्नुपर्ने’ शर्त पूरा गरेका छैनन् । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ दशैंमा जस्तो बसमा कोचेर गाउँ पठाउनु आफँैमा जोखिमपूर्ण काम भएको बताउँछन् ।

क्वारेन्टाइनमा बस्छु भनेर गएकाहरू सबैजसो घरमा बसेको सूचना प्राप्त भएको उनले बताए । सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष रहेका श्रेष्ठ भन्छन्, ‘अधिकांशले १४ दिन क्वारेन्टाइनमा बस्ने भए त काठमाडौंमा नै बस्थे नि भन्ने गरेका छन् ।’

जसले भोटको राजनीति गरेनन्

नेता र मन्त्रीहरूले धमाधम मान्छे ओसार्न थालेपछि गाउँपालिका महासंघले एउटा निर्णय गर्‍यो- राजनीतिक प्रभावको आधारमा मान्छे ओसार्न बन्द गर्ने । महासंघका अध्यक्षको जुगल गाउँपालिकाले अहिलेसम्म सहरबाट मान्छे ओसारेको पनि छैन ।

चौतर्फी दबाबका बाबजुद गाउँपालिका अडान लिएर बसेको छ । बसमा ६०-७० जना कोचेर ल्याउँदा कोरोना भाइरसको झन् जोखिम हुने भएकाले नचाहिँदो काममा नलागेको उनीहरू बताउँछन् । ‘भोटभन्दा जनताको स्वास्थ्य ठूलो हो, त्यसैले अहिलेलाई जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुस् भनेका छौँ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘एक हजार ३०६ परिवार जुगलवासीलाई सम्बन्धित स्थानमै राहतको व्यवस्था गरेका छौँ ।’

संकटको नाममा सस्तो लोकपि्रयता नबटुल्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका पनि एक हो । यो गाउँपालिकाले पनि सहरबाट मान्छे ओसार्न गाडी पठाएको छैन । यसको मतलब यो गाउँपालिका पाँचपोखरी थाङपालवासीप्रति गैर-जिम्मेवार बनेको होइन । सहरमा रहेका आफ्ना नागरिकहरूका लागि बसेकै ठाउँमा औषधि पुर्‍याएको गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन् ।

बाहिर रहेका गाउँपालिकावासीमध्ये राहत आवश्यक पर्नेहरूको पहिचान गर्न वडाध्यक्षहरूलाई काठमाडौं पठाएको उनले बताए । ‘अब उहाँहरुलाई पनि बसेकै ठाउँमा राहत पुर्‍याउने व्यवस्था गर्छौँ’, लामाले भने, ‘गाउँ फर्काउन हामीमाथि पनि चर्कोे दबाब छ, तर त्यता लाग्दैनौँ ।’

केही नेता र मन्त्रीहरूले रातारात मान्छे गाउँ पुर्‍याउन थालेपछि सबै स्थानीय तहमा त्यसैगर्ने दबाब बढ्यो । ‘दबाब यस्तो कि काठमाडौंबाट गाउँ घुम्न आउनेलाई पनि स्थानीय सरकारको खर्चमा ल्याउनु पर्ने भयो’ झापाको एक स्थानीय तह प्रमुख भन्छन्, ‘वरिपरिका स्थानीय तहहरूले मान्छे ओसार्न थालेपछि ल्याउन नपर्ने व्यक्तिका लागि पनि गाडी पठाउन बाध्य भयौँ ।’



source https://www.onlinekhabar.com/2020/04/859443

बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।

रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको रणधीरले जानकारी दिएका छन् ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

उनी फेरि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जाल प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

सामाजिक सन्जालमा निकै सक्रिय हुने ऋषि कपुरले अप्रिल महिनायता ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो एक पोष्टमा उनले दीपिका पादुकोणसँग फिल्म खेल्ने उल्लेख गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/04/859523

अष्ट्रेलियास्थित नेपाली दूतावासले भन्यो– यात्रा गर्दा जोखिम हुन्छ, यथास्थानमै बस्नू

सिड्नी । आगामी मे महिनाको पहिलो साता सिड्नी आउन लागेको नेपाल एयरलाइन्सको जहाजमा अष्ट्रेलियास्थित नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउने माग आइरहेको बेला नेपाली दूतावासले भने अहिले यात्रा गर्नु सुरक्षित नहुने जनाएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले केही समयको लागि धैर्यधारण गरी जो जहाँ छ, त्यहीँ सुरक्षित रूपमा रहन अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’

नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज आगामी मे महिनाको पहिलो साता अष्ट्रेलियाको सिड्नी आउँदैछ । सोही जहाजमा अष्ट्रेलियामा रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेको दूतावासले जनाएको छ ।

नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई अत्यन्त गम्भीरताका साथ ग्रहण गरी नेपाल सरकारसम्म पुर्याउने काम गरिरहेको दूतावासले जनाएको छ । नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्नसमेत दूतावासले अनुरोध गरेको छ ।

अष्ट्रेलिया, नेपाललगायत सारा विश्व नै हाल अकल्पनीय महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुधिरहेको र –१९ नियन्त्रणका लागि अन्तर्र्रािष्ट्रय यात्रु आगमनमा रोकलगायतका विभिन्न उपायहरू अपनाइरहेको भन्दै दूतावासले धेरै विषयमा सम्झौता गर्नुपरेको अवस्थालाई स्मरण गराएको छ ।



source https://www.onlinekhabar.com/2020/04/859520

कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो ।

सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो ।

अमेरिकाको लागि पहिलो त्रैमासमा देखिएको अर्थतन्त्रको गिरावट सन् २००९ को पहिलो त्रैमासयताकै ठूलो हो । मार्चको अन्तिम दुई सातामा अमेरिकाको आर्थिक गतिविधिमा देखिएको कमीसँगै अमेरिकाको अर्थतन्त्रमा त्यसको असर देखिएको हो । उक्त अवधिमा अमेरिकामा लाखौं मानिसले बेरोजगारी सुविधाको लागि आवेदन दिएका थिए ।

गत मार्चमा अमेरिकाको विभिन्न राज्यमा दिइएको घरमा नै बस्ने निर्देशनको असर अमेरिकाको अर्थतन्त्रमा देखिएको हो । आगामी त्रैमासमा यसको अझ ठूलो असर अर्थतन्त्रमा देखिन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको यो महामारीबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ ।

स्रोत : अल जजिरा



source https://www.onlinekhabar.com/2020/04/859518

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् ।

पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । यसअघि बेलायतमा अस्पतालमा मृत्यु हुनेको संख्या मात्र गणना गरिँदै आएको थियो ।

यससँगै इंगल्याण्डमा मात्र मृतकको संख्यामा तीन हजार आठ सय ११ थपिएको छ । अहिले थपिएका मध्ये ७० प्रतिशत अस्पतालभन्दा बाहिर र बाँकी ३० प्रतिशत अस्पतालमा मृत्यु भएका मानिसहरु थिए ।

बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

स्रोत : बीबीसी



source https://www.onlinekhabar.com/2020/04/859517

Tuesday, 28 April 2020

फ्रेण्ड्स क्लबका पूर्वखेलाडी महेश पन्थीको कोरोनाबाट मृत्यु

१७ वैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ ।

ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएको हो । फ्रेण्ड्स क्लबलको यसको सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको छ ।

फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ । यस्तै फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले पनि महेशको निधनमा दु:ख व्यक्त गरेका छन् ।

नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थी एक दशकदेखि अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्।

कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु नभए पनि विदेशमा भने करिब ५० जना नेपालीको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/04/859272

प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।

सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो अधिवेशन आह्वान गर्नुपर्ने दबाबमा सरकार छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

बजेट अधिवेशन आह्वानका विषयमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफलसमेत भएको छ । छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।




source https://www.onlinekhabar.com/2020/04/859271

पूजा र मबीच साथी–साथीको प्रेम छ: आकाश श्रेष्ठ

चलचित्र ‘रामकहानी’मा काम गरेपछि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मित्रता गहिरो बन्यो । अहिले चलचित्र बनाउने निर्माताले पनि यी दुईको जोडीलाई खुबै खोज्ने गर्छन् ।

त्यसैले पनि होला, चलचित्रमा एकसाथ काम गरेको २ वर्षमै यी दुईले ५ वटा चलचित्रमा एकसाथ काम गरिसकेका छन् ।

एकसाथ काम गरिरहँदा पूजा र आकाशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि नचलेको होइन । तर, नायक आकाश श्रेष्ठ भने पूजासँग आफ्नो प्रेम सम्बन्ध नरहेको बताउँछन् ।

आकाशले पुजालाई जन्मदिनको शुभकामना दिँदै भने–‘हामीलाई दर्शकहरुले निकै मन पराउनुभएको छ । त्यसैले पनि नाम जोडिएको हुनसक्छ । हामी एक अर्कालाई काममा साथ दिन्छौँ । तर, प्रेम सम्बन्ध नै छ भन्ने होइन । हामीमा साथी साथीमा हुने प्रेम छ ।’

आकाशले पूजासँग मात्र काम गर्नुपर्छ भन्ने नभएको बताए । तर, दर्शकले आफूहरुको जोडीलाई निकै मन पराएका कारण पनि निर्माताले चलचित्रमा एकसाथ लिएको आकाशको भनाई छ ।

आकाशले पूजालाई जन्मदिनमा सधै नै सफलता मिलोस् भने शुभकामना दिएका छ्न् । आकाश लकडाउनको समय आफ्नो घर दाङमा छन् ।



source https://www.onlinekhabar.com/2020/04/859273

चितवनकी महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

१७ वैशाख, भरतपुर । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् ।

आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका-८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/04/859259

भरतपुर अस्पतालले बन्द गर्‍यो फेसबुक पेज

१७ वैशाख, काठमाडौं । विवादमा परेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबुक पेज बन्द गरेको छ । अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबुक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि अस्पतालको फेसबुक एकाउण्ट बन्द गरिएको हो ।

अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेपछि उनीहरुको पक्ष र विपक्षमा विज्ञप्तिबाजी चलिरहेको छ ।

पछिल्लोपटक दुई संगठनले पत्रकारलाई धम्क्याउँदै निकालेको विज्ञप्ति अस्पतालको फेसबुक पेजमा सेयर गरिएको थियो ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ जिल्ला समिति चितवन र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा कर्मचारीले चोरी गरेको आरोप झुट भएको जिकिर गर्दै समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्की दिइएको थियो । सो विज्ञप्ति अस्पतालकै फेसबुक पेजमा पोष्ट भएपछि पत्रकारहरुले विरोध जनाएका थिए ।

भरतपुर अस्पतालका अध्यक्ष तथा कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले केही व्यक्तिको असावधानीका कारण अस्पतालको फेसबुकमा त्यस्तो पोष्ट भएको भन्दै अस्पतालको आधिकारिक धारणाका रुपमा नबुझिदिन सबैलाई अनुरोध गरेका छन् । ‘भूल र असावधानीका कारण त्यसमा पोष्ट गरेको रहेछ’, उनले भने, ‘मैले थाहा पाउनेबित्तिकै पोष्ट हटाउन लगाएँ र अहिले फेसबुक एकाउण्ट पनि बन्द गरिएको छ ।’ कोरोना विशेष अस्पताल भरतपुर अस्पतालकै एक अंग हो ।

सञ्चारमाध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा कोरोना विशेष अस्पतालका तीन कर्मचारी मिलेर स्टोरबाट सामान पोको पारेर बाहिर निकालेको देखिन्छ । उनीहरुको दाबीअनुसार ती सामान अर्को स्टोरमा सार्नका लागि पोको पारिएको हो । सदस्यसचिव डा. अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि यही दाबी गरिएको छ ।

यसको स्वतन्त्र छानबिन गर्नका लागि बनाइएको छानबिन समितिको संयोजकले नै काम गर्न नसक्ने भनेपछि भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले जिल्ला प्रशासन कार्यालय गुहारेका छन् । उनले जिल्ला प्रशासनलाई चिठी लेखेर स्टोरको सामग्री चोरीको आरोपसहित अनलाइनखबर डटकमले समाचार लेखेको विषयमा छानबिन गरिदिन भनेका छन् । अस्पतालका अध्यक्ष डा. अधिकारीले जिल्ला प्रशासन कार्यालयले छानबिन अघि बढाइसकेको बताए । छानबिनपछि सबै सत्य आउने भन्दै केही समय धैर्य गरिदिन उनले सबैलाई अनुरोध गरेका छन् ।

अस्पतालमा लाखौंको आर्थिक अनियमितता भएकोसमेत सूचना सार्वजनिक भएपछि हिँजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/04/859265

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More