Sunday, 30 August 2020

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् ।

पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् ।

सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।

यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटको आधारमा सर्वाेच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दुवैलाई रिहा भएका हुन् ।

यसअघि सुनसरीमा पक्राउ परेका यी दुवै गत भदौ २ गते सुनसरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । रिहा भएलगत्तै सुनसरी प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको थियो । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले दवैबिरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दायर गरेको थियो ।

यसरी छक्याए प्रहरीलाई 

नेतृ भुजेल र नेता पौडेललाई पुनः पक्राउ गर्न अदालत परिसरमा प्रहरी परिचालित थियो । तर, प्रहरीलाई झुक्याएर दुवै जना अदालतबाट उम्किएका छन् ।

जिल्ला अदालतको गेट अगाडि प्रहरी निरीक्षकको नेतृत्वमा दुवैलाई पुनः नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि दुवै जना अदालतको पछाडितिरको गेटबाट भागेका थिए । विप्लव नेतृत्वका दुवै नेता बेपत्ता भएपछि प्रहरीले पत्ता लगाउन सकृयता देखाएको छ ।

उनीहरुलाई फेला नपारेपछि प्रहरीले अदालतका कोठा–कोठामा पसेर खोजेको थियो ।

जिल्ला बारका अध्यक्ष डोमन साहले प्रहरीको यो कदमलाई स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै बिरोध जनाएका छन् ।



source https://www.onlinekhabar.com/2020/08/892881

अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक, कलेजहरुमा फैलियो संक्रमण

१५ भदौ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ५९ लाख ९४ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पूरै अमेरिकामा नयाँ संक्रमित, मृतक र अस्पतालमा भर्ना हुनेको संख्या कम हुँदै गए पनि मिडवेस्ट नयाँ हटस्पटको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

समाचारमा लेखिएअनुसार आयोवा, नर्थ डकोटा, साउथ डकोटा र मिनिसोटामा एक दिनमै संक्रमितको संख्याले रेकर्ड ब्रेक गरेको छ । यस्तै मोन्टानामा अस्पतालमा भर्ना हुने विरामीको संख्या ह्वात्तै बढेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवाका केही यस्ता वस्तीहरुमा नयाँ संक्रमितहरु फेला परेका छन्, जहाँ विश्वविद्यालय र कलेजहरुमा कक्षा सन्चालन गरिएको थियो । संक्रमितहरुको संख्या बढेपछि हाल विश्वविद्यालय तथा कलेजहरु फेरि अनलाइन कक्षा सुरु गरेका छन् ।

न्यूयोर्कका गभर्नरले आइतबार भनेका छन् राज्यबाट विशेषज्ञसहितको टिम प्रभावित क्षेत्रमा पठाइँदै छ ।

अमेरिकी अधिकारीहरुका अनुसार विद्यार्थीहरुले भोज आयोजना गरेका थिए र त्यसमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका केही विद्यार्थीहरु पनि सामेल भएका थिए ।



source https://www.onlinekhabar.com/2020/08/892880

Saturday, 29 August 2020

अलपत्र कामदारको उद्धारमा सरकारी जालझेल

सबैलाई जगजाहेर भएको कुरो हो कि नेपाल सरकारले प्रारम्भिक दिनमा विदेशबाट कामदार ल्याउन नै चाहेन । जो जहाँ छौं, त्यहीँ बसौं भन्यो । जबकि कतिपय हामीजस्तै कामदार पठाउने राष्ट्रहरुले योजनावद्ध ढंगले कामदार क्रमशः ल्याएर व्यवस्थापन गरिरहेका थिए ।

विशेषतः भारतबाट आउनेलाई लामो समय रोक्ने र पछिविना योजना र स्वास्थ्य मापदण्ड पालना नगरी ह्वात्त छाड्नाले कोरोना माहामारी देशव्यापीरुपमा फैलियो । नागरिकहरुले र विज्ञहरुले सल्लाह दिएअनुरुप शुरुबाट नै स˗सानो संख्यामा व्यवस्थापन गर्दै गएको भए अहिलेको समस्या आउने थिएन ।

सरकारको यो उदासीनतामा सर्वोच्च अदालतले ब्रेक लगायो र मिति २०७७/१/४ मा अलपत्र कामदार फिर्ता ल्याउन आदेश जारी गर्‍यो । सर्वोच्चको अन्तरिम आदेशलाई समेत बेवास्ता गर्दै सरकारले जेठको मध्यसम्म कामदार फिर्ता ल्याएन । उल्टै प्रचलित कानूनसमेत ख्याल नगरी २०७७/२/१२ कोे आदेशमा कामदार स्वयंले उद्धार खर्च व्यहोर्नुपर्ने निर्णय गर्‍यो ।

यो लेखक समेतको निवेदनमा सर्वोच्च अदालतले श्रम स्वीकृति लिएका कामदार (जसको करार अवधि नपुगी रोजगारी सकिएको छ उनीहरु) लाई निःशुल्क उद्धार गर्नु भनी २०७७ असार १ मा अन्तरिम आदेश जारी गर्‍यो । सर्वोच्च अदालतले आदेश दिएको २ महिना १५ दिन पुग्दा पनि सरकारले हालसम्म एकजना कामदार पनि निःशुल्क उद्धार गरेको छैन ।

कामदारलाई निःशुल्क उद्धार गर्ने कानून छ, सर्वोच्चको थप आदेश छ, निर्देशिका बनेको छ, कल्याणकारी कोषमा पैसा छ, कामदार अलपत्र छन् । तर, किन उद्धार भैरहेको छैन ? अहिले फटाफट उद्धार गर्नुपर्ने बेलामा एउटा मन्त्रालयले अर्कोलाई देखाउने, राजदूतहरुले सरकारलाई देखाउने होडबाजी चलेको छ ।

निर्देशिकामा कुनै अप्ठ्यारो छ भने श्रम मन्त्रालयले बाधा अड्काउ फुकाउनु पर्‍यो र अलपत्र नेपाली कामदारहरुलाई तत्काल उद्धार गर्नु पर्‍यो

परराष्ट्र मन्त्रालयसमेत भएर बनाएको निर्देशिकामा राजदूतहरुका चुनौतीसमेत मिडियामा सार्वजनिक भएका छन् । चार्टर उडानमा कुनै थप कानून र निर्देशिका चाहिएन । तर, निःशुल्क उद्धारमा कानून, सर्वोच्चको आदेश, निर्देशिका, कोष भए पनि थप के चाहिएको हो ? प्रश्न उठ्न थालेका छन् ।

के कानून नै नभएर वा अलपत्र कामदार फिर्ता निर्देशिका २०७७ झन्झटिलो भएर कामदारको निःशुल्क उद्धार नभएको हो त ? यो विल्कुल होइन । हामीलाई कामदार उद्धार गर्न वैदेशिक रोजगार ऐन २०६४, निवमावली र वोर्डको कार्य सञ्चालन नियमावली नै प्रयाप्त थिए । हामीले विगत वर्षहरुमा पनि अलपत्र परेका कामदारलाई तिनै कानून र कल्याणकारी कोष प्रयोग गरेर उद्धार गरेका थियौं । यो वर्ष सरकारले छाती ठूलो पारेर अझ धेरै कामदार उद्धार गर्नु पर्दथ्यो ।

सरकार अटेरी भई उद्धार नभएको पृष्ठभूमिमा सर्वोच्चले अन्तरिम आदेश गरी थप कार्यविधि बनाउनु परेको हो । यसर्थ, राजदूतहरुले भनेजस्तो कानूनको अभाव भए, गत वर्षहरुमा त निर्देशिका थिएन कसरी कामदारहरु उद्धार भए त ? यो एउटा बाहानावाजी मात्र हो ।

अलपत्र कामदार फिर्ता निर्देशिका २०७७ ले लेखवद्धविहीन कामदारलाई सम्बोधन गरेन भन्ने ठिटलाग्दो तर्क पनि मिडियामा देखियो । कानून नै नपढी र सर्वोच्च अदालतको आदेश नै नहेरी सरकारी अधिकारी वा कतिपय व्यक्तिका तर्कहरु आइरहेका छन् । वैदेशिक रोजगार ऐन र सर्वोच्च अदालतको आदेशअनुसार कल्याणकारी कोष श्रम स्वीकृति लिएर गएका कामदारको उद्धारमा मात्र खर्च गर्न सकिन्छ । त्यसको कार्यविधि बनाउन मात्र निर्देशिका बनेको हो । निर्देशिकामा कुनै सैद्धान्तिक कुरा छैन, मात्र कामदार कसरी फिर्ता गर्ने भन्ने विधि रहेको छ । त्यो कार्यन्वयनमा कुनै समस्या भए श्रम सचिवको नेतृत्वमा अनुगमन समिति छ र श्रम मन्त्रालयलाई बाधा अड्काउ फुकाउने अधिकार (निर्देशिकाको दफा १५) छ ।

अनुगमन समितिमा परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व छ । राजदूतहरुलाई साँच्चैको कुनै अप्ठ्यारो परेको भए अनुगमन समितिको बैठक बोलाएर श्रम मन्त्रालयले बाधा अड्काउ फुकाए भैहाल्छ । तर, यतातर्फ पहल छैन, राजदूतहरु ५/७ पेजको कार्यविधि अढाइ महिनासम्म ‘अध्ययन’ गरिरहनु भएको छ । राजदूत ज्यूहरुले नबुझेकै हो भने निर्देशिका बनाउनेमध्येको परराष्ट्र मन्त्रालयले बुझाउने कार्यक्रम गरे पनि भयो । तर, सर्वोच्चले तत्काल उद्धार गर्नु भनेको विषय विलम्ब गर्नु कदापि उचित छैन ।

लेखबद्ध र अलेखबद्ध दुवै प्रकारका कामदार उद्धार गर्नु पर्दछ, भेदभाव गर्न मिल्दैन भन्ने राजदूत ज्यूहरुको सुझाव जायज छ । कार्यक्षेत्रमा रहेका राजदूतावासहरुलाई अलपत्र कामदारमध्ये कसैको उद्धार गर्नु र कसैको उद्धार गर्न मिल्दैन भन्नु सहज छैन । नेपाली कामदारहरुको कानूनी चेतनाको स्तरले पनि यो समस्या झन् बल्झाउँछ ।

तर, समस्या छ भन्दैमा अलेखवद्ध कामदारलाई कल्याणकारी कोषबाट उद्धार गर्न कानूनले मिल्दैन । तुरुन्त कानून परिवर्तन गर्न असम्भव मात्र हैन, लेखवद्ध र अलेखवद्धलाई एउटै सुविधा हुने हो भने आलेखवद्ध भई वैदेशिक रोजगारमा जाने प्रकृया प्रोत्साहित हुन सक्छ । फेरि राज्यले अलपत्र कामदारलाई अलेखवद्ध हो भनी उद्धार नगर्न पनि मिल्दैन ।

राज्य सबैको अविभावक हो, यसर्थ विगत वर्षहरुमाझैं लेखवद्ध कामदारको कल्याणकारी कोषबाट र अलेखबद्ध कामदारको अर्थ मन्त्रालयले छुट्याएको बजेटबाट उद्धार गर्नुपर्छ । अर्थमन्त्री ज्यूले बजेट भाषणमा अलपत्र कामदारलाई नेपाल फिर्ता ल्याउन बजेट विनियोजन पनि गर्नुभएकै छ । यसो गर्दा सरकारले कामदारको पीरमर्कामा योगदान गरेको पनि देखिने छ । किनकि वैदेशिक रोजगार कल्याणकारी कोषमा सरकारको कुनै योगदान छैन । र हालसम्म कामदारको उद्धारमा सरकारी रकम खर्च भएको छैन ।

संविधानको धारा १२८ अनुसार सर्वोच्च अदालतले दिएको आदेश सरकारका सबै निकायले पालना गर्नु पर्दछ । सर्वोच्च अदालतको आदेश पालना नभए अवहेलनमा कारवाही हुन सक्छ । संविधानको कसम खाएर नियुक्ति पाएका, जनताको करबाट पारिश्रमिक खाने सरकारी अधिकारीले उद्धार जस्तो तत्काल गर्नुपर्ने मानवीय कुरामा सर्वोच्चको आदेश भएको यति लामो समय किन विलम्ब गर्दैछन् ?

निर्देशिकामा कुनै अप्ठ्यारो छ भने श्रम मन्त्रालयले बाधा अड्काउ फुकाउनु पर्‍यो र अलपत्र नेपाली कामदारहरुलाई तत्काल उद्धार गर्नु पर्‍यो । अदालतको आदेशको पालना नहुने र अलपत्र कामदारहरुको निःशुल्क उद्धारमा लामो जालझेल गरिरहने हो भने अदालतको अवहेलनामा सजायँ हुने प्रक्रिया आरम्भ हुन सक्छ भन्ने सम्बन्धित सरकारी निकायहरुलाई हेक्का रहोस् ।



source https://www.onlinekhabar.com/2020/08/892683

वीरगञ्जमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि

१४ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् ।

बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन ।

पर्सामा यसअघि ४ सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । शनिबार मात्रै ६१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

३६ जना महिलासहित १ सय ४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । १ सय ९९ जना महिलासहित ९ सय ३१ जना होम आइसोलेसनमा छन् ।

हालसम्म १९ हजार ४ सय ३८ स्वाब नमुना संकलन गरिएकोमा २ सय ४० वटाको रिपोर्ट आउन बाँकी छ ।

पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ७० बेडको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा १९ जना महिला सहित ५० जना उपचाररत छन् । जसमध्ये ९ जना आइसियूमा छन् ।

१ सय २० बेड क्षमताको कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा १७ जना महिलासहित ५४ जना उपचारत छन् । जसमध्ये १९ जना आइसियूमा छन् ।



source https://www.onlinekhabar.com/2020/08/892682

कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु

१४ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणीमा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/08/892679

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

१४ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।

शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्ममा पाटन अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2020/08/892677

रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउँदैन ?

एउटा मिडियाले गत साउन ३१ एकजना विदेशमा बस्ने भाइरोलोजिष्टसँगको कुराकानीका आधारमा एउटा विवादस्पद तथा भ्रामक धारण बाहिर ल्यायो । रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन, भन्ने विपरीत एवं विवादस्पद र भ्रामक विषयका बारेमा एक आयुर्वेदिक चिकित्सक भएका नाताले मेरो ध्यानाकृष्ट भएको छ ।

रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने त्यस लेखको अन्तरवस्तुहरु नेपाली जनस्वास्थ जगतमा प्रचलनमा रही स्थापित दृष्टिकोणभन्दा विपरीत धारको छ । लेखमा रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने विषयमा तर्क गरिए पनि सन्दर्भ र तथ्य प्रष्टरुपमा समावेश नभएकाले त्यसले जनमानसमा भ्रम छरेको देखिन्छ ।

आधुनिक चिकित्साबाट कोभिड १९को संक्रमणको उपचार गर्न सकिएको छैन, यो सबैलाई थाहा छ ।

डा. रामदेव पण्डित

आयुर्वेद चिकित्साबाट ७ दिनमै निको भए संक्रमित भन्ने समाचारहरु प्रकाशित भइरहेको परिवेशमा रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने भ्रमले महामारीका विरुद्ध विश्वभरिका वैकल्पिक चिकित्साकर्मीहरु सक्रिय रहेको अभियानको आधारभूत सिद्धान्तलाई उल्ट्याउने प्रयास गरेको छ । त्यसबाट शरीरको राम्रो इम्युनिटी भए पनि कारोना–कोभिड १९ को संक्रमण र त्यसबाट हुने मृत्युबाट बचाउन केही गर्न सक्दैन भन्ने सीधा अर्थ लाग्छ छ । के यो बुझाइ सही हो त ?

पहिलो कुरा, कोभिड १९को संक्रमणबाट विश्वभर ज्यान गुमाएकाहरु मध्ये अधिकांश कुनै न कुनैखालका दीर्घरोगबाट ग्रसित भएका देखिएका छन् भन्ने तथ्यहरु प्रष्ट छ । कोभिड १९को संक्रमणबाट मर्नेहरुमध्ये अधिकांश ४० बर्ष माथिका उमेर समूहका छन् भन्ने अर्को तथ्य पनि सर्वविधित छ ।

यी दुई तथ्यबाट के प्रष्ट हुन्छ भने स्वस्थ शरीर वा बलियो शरीरले संक्रमणविरुद्ध लड्न सक्छ, संक्रमणलाई रोगका रुपमा विकास हुनबाट रोक्न सक्दछ । संक्रमणलाई रोगको रुपमा विकास हुन नदिने तत्व इम्युनिटी न भए के हुन सक्छ । स्वस्थ शरीर वा बलियो शरीर भनेको सबल रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) हुन पनि होइन र ?

अतः भाइरल होस् वा व्याक्टेरियल वा अन्य जस्तोसुकै संक्रमणलाई छेक्न वा संक्रमणलाई रोगका रुपमा विकास हुन शरीरको इम्युनिटीले रोक्छ भन्ने चिन्तन विश्वका सबै चिकित्सा पद्धतिको समान र सामान्य सिद्धान्त हो । दोस्रो कुरा, अन्य सूक्ष्मजीवको संक्रमणभन्दा भिन्न, कोभिड १९को सन्दर्भमा इम्युनिटीलाई विशेषरुपमा पनि बुझौं ।

विनाप्रमाण कोभिड १९को संक्रमणबाट बच्न बेसार, तातोपानी, सम्यक खानपिनलाई अवैज्ञानिक भन्दै खण्डन गर्नु र हानिकारक एन्टिभाइरल प्रयोगका लागि सल्लाह दिनु कति वैज्ञानिक होला ? यसलाई प्रष्टरुपमा आधुनिक विज्ञानको दुरुपयोग, आधुनिक औषधिहरुको व्यापारको प्रवर्द्धन र वैकल्पिक चिकित्साप्रतिको पूर्वाग्रहकारुपमा बुझ्दा फरक नपर्ला

कोभिड १९ को  संक्रमणले श्वास–प्रश्वास प्रणालीमा रोग लगाउँछ भन्ने विषय आज वैज्ञानिकरुपमा सर्वस्वीकार्य तथ्य हो । अतः यहाँ भन्न सकिएला कोभिड १९ ले कमजोर (श्वासप्रश्वास प्रणलीमा स्थानीयरुपमा हुने इम्युन कोषहरुको कमी अथवा अभाव वा श्वास प्रस्वाससम्बन्धी रोग) श्वास प्रश्वास प्रणाली भएकाहरुलाई प्रभावित गर्ने हो, शरीरको इम्युनिटी बलियो भएर कोभिड १९ को संक्रमण र रोगलाई त्यसले रोक्न वा छेक्न सक्दैन । अतः रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्न सकिएला । यो वाक्यांश कमजोर श्वास प्रश्वास प्रणाली भएकाहरुका लागि सही होला । तर, त्यो आम स्वस्थ मानिसहरुका लागि भन्नु कदापि सही होइन ।

तेस्रो कुरा, कोभिड १९ को संक्रमणले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई अति सक्रिय बनाएर शरीरमा विभिन्न खतरा निम्त्याउँछ भन्ने पनि केही अनुसन्धानहरुले देखाइरहेको हुन सक्ला । लेखमै पनि उक्त कुरा जनाइएको छ । कोभिड १९ नयाँ भाइरस भएकाले यसको सन्दर्भमा विश्व्यापीरुपमा प्रत्येक दिन भइरहेका नयाँ अनुसन्धान प्रतिविदेनहरुको निश्कर्ष यस महामारीको सुरुवातकालदेखि नै बाझिँदै आएका देखिएका छन् । जसकारण स्वयं विश्व स्वास्थ संगठनले पनि धेरैपटक आफ्ना धारणाहरु आफैँले काट्दै नयाँ–नयाँ धारणाहरु सार्वजनिक गरिरहेको सबैमा जग जाहेर छ । अतः केही प्रारम्भिक अनुसन्धानहरुलाई आधार बनाएर इम्युनिटीले कोभिड १९ संक्रमणलाई केही गर्दैन भन्ने निश्कर्षमा पुग्नु हतार मात्र हुनेछ ।

दाल, भात र हावाले यो रोगलाई ठीक पार्छ भन्नुमा सत्यता छैन भन्ने बुझाइ गलत हो, अतिवादी बुझाइ हो । किनकि, कसैले पनि आजसम्म दाल, भात र हावाले कोभिड १९  निको पार्छ भनेर भनेको छैन । भनिएको के मात्र हो भने महामारीका बेला जनमानसले भात दाल सम्यकरुपमा खानुपर्छ । यसका दुई कारणहरु छन् । पहिलो कारण सम्यक रुपले खाँदा व्यक्ति स्वस्थ रहन सक्छ र संक्रमण भइहाले पनि मृत्युबाट जोगिन सकिन्छ । दोस्रो–कारण भनेको महामारीका बेला ठीक तरिकाको खानपान गर्दा रोग प्रतिरोधात्मक क्षमता कायम रहन्छ । किनकि आहार नै स्वास्थको आधार हो, जसमा कसैको दुई मत नहोला ।

तातोपानी, बेसार खाएर केही अर्थ छैन भन्नु पनि सरासर गलत हो, किनकि तातोपानी र बेसारले रोग ठीक पार्छ भनेर कसैले भनेको छैन । बेसार र तातोपानी नेपाली समाजमा बर्षौंदेखि प्रयोग हुँदै आएको र आज वैज्ञानिकरुपमा यसले इम्युनिटी बढाउँछ भन्ने सन्दर्भमा मात्र बेसार र तातोपानीको चर्चा गरिएको हो । महामारीका बेला अन्यखालका रूघा, घाँटी खसखस गर्नेजस्ता समस्यालाई ठीक पार्छ, जुन अहिलेको पनि आवश्यकता हो ।

विनाप्रमाण र विनाऔचित्य पुष्टि विश्वमा हाल उपलब्ध एन्टिभाइरल औषधी र इम्युनोमोडुलेटर प्रयोग गरी उपचार गर्नुपर्छ भन्ने सल्लाह भ्रामक छ । रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन पनि भन्ने अनि इम्युनोमोडुलेटरको प्रयोग गर्न सल्लाह दिनु विरोधाभाष हो । अझ विनाप्रमाण कोभिड १९को संक्रमणबाट बच्न बेसार, तातोपानी, सम्यक खानपिनलाई अवैज्ञानिक भन्दै खण्डन गर्नु र हानिकारक एन्टिभाइरल प्रयोगका लागि सल्लाह दिनु कति वैज्ञानिक होला ? यसलाई प्रष्टरुपमा आधुनिक विज्ञानको दुरुपयोग, आधुनिक औषधिहरुको व्यापारको प्रवर्द्धन र वैकल्पिक चिकित्साप्रतिको पूर्वाग्रहकारुपमा बुझ्दा फरक नपर्ला ।

आधुनिक चिकित्सा विज्ञानका केही एन्टिभाइरल औषधीले श्वास प्रश्वास प्रणालीमा नै नकारात्मक असर पार्नेखालका छन्, जुन कोभिड १९ को सन्दर्भमा प्रयोग गर्नु प्रत्युत्पादक बन्न नसक्ला भन्न सकिन्न । त्यसबाहेक ती एन्टिभाइरल औषधीहरुले मानसिक बेचैनी, थकान,  वाकवाकी, उल्टी, पखाला, टाउको दुख्ने, पेट दुख्ने, अरुचि आदि समस्या ल्याउँछ । जसले कालान्तरमा दीर्घकालीन समस्याहरु निम्त्याउन सक्छन् ।

अतः जबसम्म कोभिड १९ को खोप विकास हुँदैन, तबसम्मलाई एन्टिभाइरल औषधीहरु उपचारमा प्रयोग गर्ने सल्लाह दिनु जनस्वास्थ्यलाई झनै बिगार्नु मात्र हुन्छ । अतः त्यसको विकल्पमा गुर्जो, सुठो, तुलसी र मरिचलाई नै आफ्नो सहजतामा निर्धक्क भई प्रयोग गर्दा संक्रमणबाट बच्न सकिन्छ ।

भाइरसहरुको संक्रमण हुनुमा अनेक कारण भए पनि आमरुपमा त्यसलाई छेक्ने र रोक्ने सन्दर्भमा शरीरको रोग प्रतिरोधात्मक शक्तिको विकल्प छैन, हुँदैन । कोभिड १९ को संक्रमणमा पनि यो निशंकोच लागु हुन्छ र भइरहेको छ । नि:सन्देह रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउँछ भन्नु कदापि अन्यथा होइन ।

यस महामारी र लकडाउनमा स्थानीयरुपमा उपलब्ध साधन स्रोतकै प्रयोग गरी आफूलाई स्वस्थ राखौं, आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई सबल बनाऔं । यही बुद्धिमता हो । सर्वहितकारी हो ।



source https://www.onlinekhabar.com/2020/08/892673

विदेशमा कोरोनाबाट यो साता ३ नेपालीको मृत्यु

१४ भदौ, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको एनआरएनएले जनाएको छ ।

एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्यामा सामाजिक दुरी कायम गरेर गर्न आग्रह गरे ।



source https://www.onlinekhabar.com/2020/08/892670

प्राकृतिक विधीबाट कसरी निरोगी हुने ?

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ ।

तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । पेट खराब हुन थाल्छ । कलेजो, मुटु, फोक्सोको कार्य क्षमता घट्न थाल्छ । उमेर ढल्कदै गएपछि स्वभाविक रुपमा शरीरका अंगहरु पनि कमजोर र शिथिल हुन्छ । तर, बाल्यकालबाट उमेरको सिंढी चढ्न थालेपछि हाम्रो शरीर रोगी हुन थाल्छ । किशोर, युवा अवस्थामा समेत हामी अनेक रोगसँग जुध्न थाल्छौं । किन ?

किनभने जति–जति हुर्कदै जान्छौं, हामी आफ्नो प्राकृतिक जीवनशैलीबाट विमुख हुन थाल्छौं । हामीलाई आफ्नो शरीर वा स्वस्थ्य अनुसार भन्दा पनि मन र रहर अनुसार चल्न थाल्छौं । शरीरको प्राकृतिक प्रणाली भंग गरिदिन्छौं । यही कारण हामीमाथि रोग हावी हुन थाल्छ ।

रोग लाग्नु भनेको के हो ? कसरी हामी रोगको शिकार बन्छौं ?

शरीरमा जब कुनैपनि किसिमका विकारहरु सञ्चय हुन थाल्छ, तब हाम्रो शरीरका अंगहरुले सही कार्य सम्पादन गर्न सक्दैन । शरीरको कार्य प्रणाली बिग्रन्छ । त्यही अवस्थालाई हामी रोग लागेका भन्छौं । यस्तो किन हुन्छ ?

जब हामी खराब खानपान गर्छौं, खराब जीवनशैली अपनाउँछौं, तब शरीर विकारयुक्त बन्छ । त्यस्ता विकार जति–जति शरीरमा सञ्चय हुन्छ, उत्तिनै हामी रोगी हुन्छौं । शरीरको सही शुद्धिकरण हुँदैन र रोगले डेरा जमाउँछ ।

यसरी शरीरभित्र विकार सञ्चय भएपछि वा रोग लागेपछि हामी त्यसको उपचारको खोजीमा दौडन्छौं । औषधि उपचार, शल्यक्रिया जस्ता विधीहरु अपनाउँछौं । यसले हामीलाई रोगबाट मुक्त हुन सघाउँछ । तर, रोग लागेर उपचार खोज्नुभन्दा रोगमुक्त जीवन बाँच्नु उचित हो ।

रोगमुक्त जीवन कसरी बाँच्ने त ?

यसका लागि एउटै तरिका हो, प्राकृतिक जीवनशैली । प्राकृतिक ढंगको जीवनयापन नै सर्वोत्तम मानिन्छ ।

हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई रोगहरुबाट मुक्त गरेर स्वस्थ राख्ने हरक्षण प्रयास गरिरहेको हुन्छ । सोही प्रणाली अनुसार जीवनशैली, खानपान र सोंच चिन्तन अपनाएर प्राकृतिक रुपमै निरोगी बन्न सकिन्छ ।

जस्तो कि, सही समयमा सुत्ने । सही समयमा उठ्ने । स्वास्थ्य जीवनका लागि सात–आठ घण्टाको गहिरो निद्रा अनिवार्य मानिएको छ । राम्ररी निदाउनु पनि आफैमा एक स्वस्थ्य जीवनको सूचक हो । त्यसैगरी सही समयमा खानपान गर्नु । एउटा सन्तुलित तालिका अनुसार खानेकुरा सेवन गर्नु । शरीरलाई आवश्यक र उचित खानेकुरा मात्र सेवन गर्नु । सक्रिय दिनचर्या विताउनु । व्यायाम, योग, ध्यान आदिलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु । सधै सकारात्मक र खुसी रहने प्रयास गर्नु । प्रकृतिसँग एकाकार हुने अभ्यास गर्नु ।

सही र सन्तुलित जीवनशैली अपनाउनु नै रोगमुक्त हुनु हो । गहिरो निद्रा लिनु, सुपाच्य खानेकुरा खानु, उचित समयमा मलत्याग गर्नु, सरसफाई गर्नु आफैमा निरोगी हुने सूत्र हुन् ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।

जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।

उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।

माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।

हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।

ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।

शरीर पञ्चतत्वले निर्माण भएको छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी ।  प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ ।



source https://www.onlinekhabar.com/2020/08/892671

बार्सा र मेसीको चेस गेम, विजेता को होला ?

१४ भदौ, काठमाडौं । लिओनल मेसीले आफूले आइतबार पिसिआर टेष्ट नगर्ने भनेर बार्सिलोनालाई जानकारी गराए । मेसी आफैँ क्लब छाड्ने मनसायमा रहेकाले कोरोना परीक्षणसमेत नगराउने अवस्थामा पुगेका हुन् ।

गत मंगलबार क्लब छाड्ने मनसायसहित मेसीले क्लबलाई पत्र लेखेका थिए । उनको सम्झौता अझै एक वर्ष बाँकी रहेपनि उनी क्लब छाड्न स्वतन्त्र रहेको उनलाई लागेको थियो । यद्यपि बार्सिलोना समरमा मेसीलाई गुमाउन चाहँदैन ।

क्लबको भनाइ के छ भने यदि मेसीले क्लब छाड्ने हो भने यो जानकारी १० जुनअघि नै गराउनुपर्थ्यो। यसको अर्थ अब मेसी र क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ चेसको गेममा फसेका छन् । जसमा हरेक चालको महत्व छ र एक मात्र विजेता हुन सक्छ ।

यदि मेसी क्लबमा रहने हो भने बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् । मेसीले सोमबारदेखि सुरु हुने प्रि सिजनअघि पिसिआर टेष्ट नगर्ने भनेर जवाफ फर्काएका छन् । कप्तान मेसीले आफूलाई बार्सिलोना छाड्नुपर्ने अवस्थामा पुर्‍याएको अनुभव गरेका छन् ।

बार्तामेउले यसअघि जनवरीमा एर्नेस्टो भेलभर्डलाई बर्खास्त गर्दै किके सेटिएनलाई प्रशिक्षक बनाएका थिए । जुन राम्रो भएन । टिमको योजना खराब रह्यो र भविष्यको पनि अनिश्चित बन्यो ।

दुई महिनाअघि बार्तामेउ मेसी क्लबमै बस्नेमा पक्का थिए । ‘उनी आरामदायी छन् र उनले बार्सिलोनमामै सन्यास लिनेमा कुनै शंका छैन,’ बार्तामेउले भनेका थिए, ‘उनको सम्झौता नवीकरण गर्नु हाम्रो दायित्व हो ।’

त्यसयता क्लबको हकमा विभिन्न खराब निर्णयहरु भएका छन् । जसमध्ये पहिलो नयाँ प्रशिक्षक रोनाल्ड कोएमनले फरवार्ड लुइस सुआरेजलाई अर्को सिजनको लागि आफ्नो योजनामा नभएको भन्नु हो ।

यो चेस खेलमा के छ भने मेसीको पक्षमा एक कुरा छ, फ्यान । यस अवरोधमा कुनै अन्त्य छैन ।

बार्सिलोनामा मेसीको रिलिज क्लब ७ सय मिलियन युरो छ । कुनै क्लबले त्यो रकम तिरे मात्र बार्सिलोनालाई उनलाई छाड्न दिनेछ । तर मेसी भने क्लबमा काम गर्न अस्वीकार गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2020/08/892667

आलियाको ‘सडक २’लाई खराब प्रतिक्रिया

महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘सडक २’को ट्रेलरले युटुबमा डिसलाइकको रेकर्ड नै राखेको थियो । अब, यो चलचित्रले प्रतिक्रिया पनि निकै खराब पाएको छ । यो चलचित्र अगष्ट २८ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । यसलाई आइएमडीबीमा जम्मा १.१ रेटिङ मिलेको छ ।

यो चलचित्रलाई बलिउड समिक्षकहरुले पनि निकै खराब भनेका छन् । समिक्षक तरण आदर्शले १ स्टार दिदै चलचित्रलाई खराब भनेका छन् ।

चलचित्र हेरेका दर्शकले ‘सडक’को ब्रान्डलाई नै यो चलचित्रले खराब बनाइदिएको बताएका छन् । यो चलचित्रमा संजय दत्त, आलिया भट्ट, आदित्य रोय कपुर लगायतका कलाकारको मुख्य भूमिका छ ।

भारतमा हलहरु बन्द हुँदा चलचित्रहरु धमाधम डिजिटल माध्यमबाट रिलिज भैरहेका छन् । तर, यसले दर्शकहरुलाई पूर्ण सन्तुष्टी भने दिन सकेको छैन । रिलिज भएका चलचित्रहरुले निरन्तर खराब प्रतिक्रिया पाउँदा बलिउड चलचित्रको डिजिटल प्लेटफर्मको भविष्यमाथि नै प्रश्न उठेको छ ।



source https://www.onlinekhabar.com/2020/08/892668

द्वन्द्वपीडित भन्छन्– सरकारले सुखी नेपालीको मन्त्र जपेको देख्दा अचम्मित छौं

१४ भदौ, काठमाडौं । द्वन्द्वपीडितहरुले आफूहरुका मागमा सरकारले आँखा चिम्लेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पीडितहरुको सत्य, न्याय र परिपूरणको जायज मागलाई निरन्तर उपेक्षा गरेको उनीहरुको भनाइ छ ।

द्वन्द्वपीडितहरुले संयुक्त अपिल जारी गर्दै पीडितका पीडामा मल्हमपट्टी नगर्ने सरकारले सुखी नेपालीको हास्यास्पद कुरा गरेको टिप्पणीसमेत गरेका छन् ।

द्वन्द्वपीडितका ४१ संस्थाले जारी गरेको संयुक्त अपिलमा लेखिएको छ, ‘हामी पीडितको सत्य, न्याय र परिपूरणको जायज मागलाई निरन्तर उपेक्षा गर्ने सरकारले “सुखी नेपाली, समृद्ध नेपाल”को मन्त्र जपेको देख्दा हामी अचम्मित छौं । पीडितका पीडामा मलमपट्टी गर्ने दायित्वबाट समेत चुक्ने सरकारले सुखी नेपालीको कुरा गर्नुभन्दा अर्को हास्यास्पद कुरा शायदै होला ।’

दशकौंदेखि सत्य, न्याय र परिपूरणको अनवरत पर्खाइमा रहेका द्वन्द्वपीडितहरूले राजनीतिक तथा संवैधानिक परिवर्तनको अनुभूति गर्न नपाएका दुखेसो गरेका छन् । कोभिडको महामारीको असमानुपातिक असर आफूहरुमाथि पनि परेको भन्दै उनीहरुले राहत तथा सुविधाका सन्दर्भमा विशेष ध्यान दिनुपर्ने नागरिकको सूचीमा आफूहरुलाई राख्नेतर्फ सदाशयता नदेखाइएको गुनासो गरेका छन् ।

द्वन्द्वकालीन समयमा पीडित भएकाहरुलाई न्याय र परिपूरणका लागि भनेर आयोगहरु गठन भए पनि द्वन्द्वपीडितहरुलाई त्यसको आभाससमेत नभएको संयुक्त अपिलमा उल्लेख छ ।

अपिलमा लेखिएको छ, ‘सत्यनिरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगहरू गठनमा विगतमा भएका त्रुटि र असफलताबाट सरकारले सिक्दै सिकेन । बरू गल्तीलाई हाकाहाकी पुनः दोहो¥याएको छ । निर्लज्ज तरिकाले राजनीतिक हस्तक्षेप गरेर पुनः पदाधिकारी नियुक्त गरिएको छ । आयोगका कथित पदाधिकारीहरू कोभिड–१९ महामारीलाई बहाना बनाएर कहाँ कुना पसेर जागिर खाँदैछन् ? पीडितका लागि गठन गरिएका भनिएका आयोग छन् भन्ने आभाससम्म हामीलाई हुन सकेको छैन ।’

संक्रमणकालीन न्याय प्रक्रियालाई पुनः सही मार्गमा ल्याउन भन्दै उनीहरुले सरकारसमक्ष ११ बुँदे सार्वजनिक अपिल गरेका छन् ।

हेर्नुहोस् द्वन्द्वपीडितहरुको संयुक्त अपिल



source https://www.onlinekhabar.com/2020/08/892663

मेरो पहिलो फिल्मको पारिश्रमिक १५ हजारः स्वस्तिमा

स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र ‘चिसो मान्छे’ काम गर्ने पक्का गरेकी छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ रिलिजका लागि तयार भएको पनि लामै समय भैसकेको छ ।

स्वस्तिमाले चलचित्र करिअरको सुरुवात ‘होस्टेल रिटर्न्स’बाट गरेकी हुन् । यो चलचित्रबाट डेब्यू गरेका केही कलाकारमध्ये स्वस्तिमा र नायक नाजिर हुसेनले यो क्षेत्रमा बलियो उपस्थिती जनाइरहेका छन् । नायक सुशिल श्रेष्ठ सफलताको खोजी गरिरहेका छन् ।

स्वस्तिमाले यो चलचित्रबाट कती पारिश्रमिक पाएकी थिइन् होला ? एक दर्शकको प्रश्नमा जवाफ दिदै स्वस्तिमाले भनेकी छिन्–‘मैले यो चलचित्रका लागि १५ हजार पारिश्रमिकमा संझौता गरेकी थिएँ । तर, अझै पनि आधा रकम त लिन बाँकी नै छ ।’

तर, स्वस्तिमाले यो चलचित्रले नै आफूलाई यो स्थानसम्म ल्याएको बताएकी छिन् । उनले चलचित्रका निर्माता, निर्देशकसँग आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारेकी छिन् । स्वस्तिमाले तपाई के चलचित्र निर्माण गर्न सक्नुहुन्छ भन्ने एक दर्शकको प्रश्नमा भनेकी छिन्–‘म अहिले नै चलचित्रमा पुरा लगानी गर्न त सक्दिनँ । तर, शेयर भने हाल्न सक्छु होला ।’



source https://www.onlinekhabar.com/2020/08/892666

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More