Saturday, 30 January 2021

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ माघ, धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927792

मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकको सुझाव

१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया/रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ ।

यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927791

टिम गेम खेल्दा उपाधि सम्भव भयो : विनोद भण्डारी

१८ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अघि एपीएफ अपराजित थियो । अर्कोतर्फ आर्मी समूह चरणमा एपीएफसँग मात्र हारेको थियो ।

यसअघिको दुई संस्करणमा आर्मी फाइनल पुग्दै पराजित भएको थियो । आर्मीले त्यही एपीएफलाई फाइनलमा हराउँदै चौथो संस्करणको उपाधि त जित्यो नै  आर्मीले एपीएफसँग यसअघिको फाइनलको हार र यस पटकको समूह चरणको हारको बदला समेत लियो ।

पहिलो पटक एकल रुपमा ट्रफी उचाल्न पाउँदा आर्मीका कप्तान विनोद भण्डारी खुशी देखिन्थे । सोमपाल कामी, करण केसी र कुशल मल्ल गरी तीन खेलाडी नहुँदा समेत आर्मीले उपाधि जित्न सफल भएकोमा विनोद दंग थिए ।

तर त्यसका लागि आर्मीले मेहनत भने गरेको थियो । उनै विनोदले सबै खेलाडीले राम्रो खेलेको र टिम इफोर्टले गर्दा नै उपाधि सम्भव भएको बताए । उनले यस पटक कुनै एक खेलाडीमा निर्भर भएर नखेलेको बताए ।

‘जित्न पाएपछि ट्रफी उठाउँदा जो पनि खुशी हुन्छ । भित्र के भयो कसैले सोचेको छैन । जित भनेपछि सबैले त्यसैमा खुशी मनाइरहेका छन्,’ विनोदले ट्रफी उचालेपछि भने ।

‘पहिलादेखि हेर्ने हो भने बेस्ट बलर, ब्याट्सम्यान म्यान अफ दि सिरिज हाम्रो टिमको हुन्थ्यो । अहिले छैन किनकी टिमले काम गरिराछ । कोही एकमा भर परेको छैन त्यसले गर्दा पनि सलिजो भाको हो,’ विनोदले भने, ‘तीन जना भाको भए यस्तो सोच्नु पर्थेन हामी ढुक्क भएर खेल्थ्यौँ ।’

उनले तीन खेलाडी नहुँदा शंका भने भइरहेको बताए । ‘फस्टमा ब्याटिङ गर्दा प्रेसर थियो । तीन जना मुख्य खेलाडी थिएन हामीसँग । त्यसले गर्दा टिम कतिखेर पस्छ भन्ने हामीलाई शंका थियो,’ विनोदले भने, ‘त्यसले गर्दा भारीलाई विकेट नदिए पनि टिकेर बस भनेर पठाएको थियँ । लगभग उसले आफ्नो काम गर्‍यो त्यसपछि लगातार विकेट जाँदा फेरि प्रेसर आइसकेको थियो । अनि हरीले एक साइडबाट खेलेपछि सजिलो भयो । पछि फिनिस खासै सोचेजस्तो भएन ।  २४० रन बन्छ कि जस्तो लाथ्यो,’ विनोदले खेलबारे भने ।

उनले एपीएफको पनि विकेट जाने पार्टनरसिप बन्ने जस्तो भइरहेको अवस्थामा रन बन्न गाह्रो हुने थाहा भएर त्यही अनुसार खेलेको बताए ।

‘एपीएफको २ विकेट चाँडै गएपछि पार्टनरसिप भयो । हामीलाई थाहा थियो रन बन्न गाह्रो छ । त्यसैले जतिसक्दो राम्रो बलिङ गर्ने सोचेका थियौँ  । १०-१५ रन बनाउन नि गाह्रो हुन्छ भन्ने थाहा थियो । हामी आज फाइनल हो भन्दै बोल्दै कराउ खेलिराथ्यौँ । जोराको विकेटले सहयोग भयो । जोराको विकेट पाएपछि हामीमाथि भयौँ ।’

फाइनलमा आर्मीले राम्रो खेलेर जितेको की एपीएफले नराम्रो खेलेको भन्ने प्रश्नमा विनोदले दुवैले नराम्रो खेलेको तर गल्ती कम गर्नेले जितेको जवाफ दिए ।

उनले भने, ‘हेर्ने हो भने दुवैले नराम्रो खेलेको हो । कसले बढी मिस्टेक गर्‍यो र हार्यो भन्ने हो । कम मिस्टेक गर्नेले जित्यो । राम्रो खेलेको होइन हामीहरुले । २४० भन्दा मथि रन बन्ने सोचिराथ्यौँ । तर २१२ को टार्गेट हुँदा पनि पाइट गर्नुपर्छ भनेर सोचिराथ्यौँ ।’

‘हामीले पाँचौ बलर धेरै प्रयोग गरेनौँ जम्मा ४ ओभर मात्र गरेनौँ । पाँचौ प्रयोग गर्ने कि के गर्ने भइराथ्यो त्यसले गर्दा विकेट आइराथ्यो, के गर्ने के गर्ने भइराथ्यो खासमा हामीले बीचमा धेरै छलफल गरिरहेका थियौँ,’ विनोदले भने ।

फाइनलको जित रिभेन्ज हो भन्ने प्रश्नमा विनोदले भने, ‘विभागबाट खेल्दा सबैमा सोचाइ हुन्छ राम्रो खेल्ने । तर सबैसँगै खेलिराको खेलाडी हो । एकातर्फ हाँसिमजाक भइराको हुन्छ । अर्को तर्फ जित्नुपर्छ भन्ने हुन्छ । तर लिगमा हारेर सेमिफाइनल फाइनलमा खासै केही हुन्न ।’

राम्रो ब्याटिङ गरिरहेको आसिफको विकेट गएपछि एपीएफलाई प्रेसर भएको बताए । ‘आसिफ राम्रो खेलिरहेको थियो । विकेट गएपछि प्रेसर बन्यो । उसको विकेट आइपछि सजिलो पनि भयो ।’

आर्मीले राम्रो खेल्यो : भेषावकर

उता फाइनलमा पराजित भएपछि निराश देखिएका एपीएफका कप्तान शरद भेषावकरले आर्मीले राम्रो खेलेकाले जितको हकदार रहेको बताए । ‘हाम्रो गेम राम्रो भएन आज । सोचेजस्तो खेल्न सकेनौँ । ५० ओभर खेल्न सकेनौँ,’ शरदले भने, ‘सेमिफाइनका मिस्टेकहरु दोहोरियो । उनीहरुले २०-३० रन धेरै बनाएको पनि हो ।’

शरदले गेम हातमा हुँदा अनि अनुभवको कमी देखिएकाले गुमाउन पुगेको बताए । ‘अलिकति अनुभवको कमी देखियो । ५० ओभर खेल्या भए गेम हातमै थियो । सेट ब्याट्सम्यान आउट हुन पुग्यो । त्यो पनि ब्याडलक भयो,’ उनले भने ।

शरदले आर्मीले राम्रो खेलेको बताए । ‘उनीहरु जित्न लायक टिम थियो । मिस्टेक पनि कम गर्‍यो । ब्याटिङमा पनि राम्रो गर्‍यो किनकी बिहान ब्याटिङ गर्न गाह्रो थियो । क्रेडिट उनीहरुलाई जान्छ,’ शरदले भने ।

शरदले धेरै समयपछि क्रिकेट खेल्न पाएको र ओभरअल राम्रो भएको बताए । ‘क्यानलाई पनि धन्यवाद कोभिडको बेलामा पनि टुर्नामेन्ट खेल्न पायौँ र धेरै पछि नयाँ खेलाडीहरु आए, ‘ शरदले भने, ‘सबै खेलाडीहरु खुशी छन् । ट्राई सिरिजअघि यो राम्रो भएको छ ।’

यस्तै विनोदले प्रतियोगिता हुँदा नयाँ खेलाडी आउने बताए । ‘खेल हुनु भनेको खेलाडी आउनु हो,’ भण्डारीले भने, ‘काठमाडौंमा देखिँदैन । तर हरेक क्रिकेट खेलाडीले आफ्नो ठाउँमा मेहनत गरिरहेको छ । खेल नहुँदा कता देखाउने भन्ने हुन्छ । खेल हुँदा मौका पाउने हो । अहिले त्यही भएको हो ।’ उनले नयाँ खेलाडीको आगमनले पुराना खेलाडीलाई समेत मेहनेत गर्न प्रेरित गर्ने बताए ।



source https://www.onlinekhabar.com/2021/01/927783

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

१८ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।

युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमले बताएका छन् ।

अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने बीबीसीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927781

मकैघरदेखि चियाघरसम्म : व्यञ्जनसँगै रेष्टुरेन्टको व्याकरण पनि बदलियो

काठमाडौं । बागमतीको गल्छीबाट हरदम सुस्ताइरहने मन्द बतास, नागार्जुन डाँडामाथिबाट छरिएको घामको न्यानो, एकनासले गुञ्जिरहने सारंगीको पाश्र्व धुन, काँचको मझौला गिलासमा बाफ उड्दै गरेको तात्तातो चिया अनि आफ्नै आलोकमा मग्न दौंतरीहरु । आलोकनगरस्थित बागमती खोला–किनारको सन्ध्याकालीन कोलाज हो यो ।

ठ्याक्कै दुई बर्षअघि ।

बागमतीको सुसेली उदेगलाग्दो सुनिन्थ्यो । गाईबस्तुको गोठ, मलमूत्रको दुर्गन्ध र लुकीछिपी गाँजा तान्नेहरुको जक्सन थियो यो ठाउँ । एक्लै–दुक्लै हिँड्दा असुरक्षाको भय । गणेशदेव पाण्डेलाई के झोंक चल्यो, त्यही गोठलाई ‘चिया घर’ बनाउन तम्सिए ।

छरछिमेकले भने, ‘यस्तो ठाउँमा को आउँछ चिया खान ?’

घर–परिवारले भने, ‘बहुलाउन लागिस् कि क्या हो ?’

उनको मनले भन्यो, ‘गर्नुपर्छ, जहाँ पनि हुन्छ ।’

उनले आफ्नै मनको ध्वनी सुने । र, ‘स्वान्तः सुखाय’ रोजे ।

चिया दोकान चल्नु÷नचल्नु विधाताको कुरा भो, कम से कम आफ्नै मनले त उत्सव मनाउँछ । ‘आफ्नै खुसीका लागि भए पनि’ पाण्डेले सुनाए, ‘चिया घर खोल्ने अड्डी लिएँ ।’

उनको त्यही अड्डी, जसले जीर्ण गोठलाई सुकिलो चियाघरमा रुपान्तरण गरिदियो ।

आजको दिनमा–

जसै तपाईं तीनकुने र बानेश्वर जोड्ने पुललाई बायाँ पारेर खोला किनारै–किनार अगाडि बढ्नुहुन्छ, केतली क्याफेको सम्मुखमा पुग्नुहुन्छ । त्यसपछि मकैघर, त्यसपछि चियाघर, त्यसपछि ठेलाघर, त्यसपछि कुकर कफी । आज, गुल्जार छ यो ठाउँ ।

कतै तपाईंलाई सयथरी चिया टक्र्याइन्छ, कतै मकैको ‘फ्युजन’ परिकारले आमन्त्रण गर्छ । कतै परम्परागत केतली चियाले त कतै कुकर कफीले निम्तो गर्छ । यो ठाउँमा उभिएर हेर्दा तपाईंलाई लाग्न सक्छ– व्यञ्जन मात्र होइन, रेष्टुरेन्टको व्याकरण पनि बदलिएछ ।

रेष्टुरेन्ट भनेको त चल्ने ठाउँमा खोल्नुपर्छ । ठूलो लगानी गर्नुपर्छ । झट्ट हेर्दा चहकिलो र रंगीन हुनुपर्छ । कुर्सी–टेबल आरामदायक र आकर्षक हुनुपर्छ । ग्राहकको स्वाद अनुसारको व्यञ्जन पस्कनुपर्छ । नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल मेनु तयार गर्नुपर्छ । तर, बागमती किनारका यी रेष्टुरेन्टहरु चाहारेपछि तपाईंको धारणा ९० डिग्रीमा बदलिने छ । अनि तपाईं निष्कर्षमा भन्नुहुनेछ, खासमा त जुक्ति चाहिने रहेछ ।

आ–आफ्नै विशिष्ठ व्यञ्जन

बागमती किनारका रेष्टुरेन्टहरुमा केही साझा विशेषता छन् । अधिकांश रेष्टुरेन्टले आ–आफ्नै विशिष्ठ मेनु तयार गरेका छन् । ‘चाउमिन–मःम’ को सदाबहार मेनुलाई खारेज गरेर उनीहरुले आफ्नो मौलिक स्वाद पस्केका छन् । जस्तो– तपाईं चियाघरमा पुग्नुभयो भने त्यहाँ थरीथरी चियाको चुस्की लिन सक्नुहुन्छ ।

दूध, चिनी र चियाको मिश्रणबाट बन्ने औसत चियासँगै अनेक स्वाद, रंग र सुगन्धको चिया तपाईंलाई टक्र्याइन्छ । इलामकै तलतल मेट्ने अर्थोडक्स चिया । ४० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको चिया । यतिविघ्न स्वाद तपाईंले सायदै अन्यत्र भेट्नुहुने छ ।

अब मकै घरमा पस्नुहोस् ।

प्युठानको गाउँघरमा उत्पादित मकैका तिख्खर खान्कीले तपाईं स्वाद फेर्न सक्नुहुन्छ । त्यहाँको मेनुमा भुटेको मकैदेखि ढिँडोसम्म समेटिएका छन् । केही परिकार कन्टिनेन्टलसँग फ्युजन गरिएको छ । जस्तो– चिकेनयुक्त क्रन्ची मकै, मकैको पिज्जा ।

मकै घरका सञ्चालक थमनकुमार भण्डारी भन्छन्, ‘प्युठानको गाउँबाट ल्याइएको शुद्ध मकैबाट हामीले नयाँ–नयाँ परिकार बनाइरहेका छौं ।’

केतली क्याफेको अभ्यास पनि भिन्न छ । सम्भव भएसम्म केतलीबाटै चिया सर्भ गर्ने । मुखमै रसाउने दूध एवं मसला चियालाई गाउँघरमा जसरी पकाउने र सर्भ गर्ने । अब उनीहरु आगोमा पकाएको चिया बेच्ने सुरसारमा छन् ।

बुटवलका युवाले चलाएको कुकर क्याफेको विशेषता नै कुकरमा तयार गरिएको कफी हो । नेपाली माटोमा उत्पादन भएको कफीलाई उनीहरुले परम्परागत ढंगले पकाउने गर्छन् ।

कवाडीको करामत

गणेशदेव पाण्डेले चियाघर खोल्दै गर्दा कवाडी सामान पनि उठाउँदै थिए । कवाडीमा मिल्काएका श्वामश्वेत टेलिभिजन, टाइपराइटर, क्यामेरा, साइकल ल्याए र कलात्मक ढंगले सजाइदिए । महंगा कुर्सी–टेबल किन्ने पैसा थिएन, त्यसैले कतै टेलिभिजनकै स्क्रिन त कतै थोत्रो टायरलाई टेबुलको रुप दिए ।

केतली क्याफेको रुपरंग पनि उस्तै छ । सतहमा गिटी बिच्छ्याइएको छ । त्यहाँ महंगा फर्निचर छैन । स–सना थोत्रो टायर जम्मा गरिएको छ र त्यसैमाथि काँचको टेबल बनाइएको छ । बस्नका लागि सामान्य मुडा राखिएको छ ।

कुकर क्याफेको संरचना नै त्यस्ता सामाग्रीबाट बनाइएको छ, जुन अन्य अन्यत्र प्रयोग भइसकेका छन् । जस्तो तार रोल गर्ने गोलाकार काठ एवं फलेक । त्यहाँ स–सना काठको टुक्रालाई समेत पुनः प्रयोग गरिएको छ । भान्सामा प्रयोग गरेर मिल्काइएका सामाग्रीलाई अनेक रुपमा काम लगाइएको छ ।

थमनकुमार भण्डारीले भने आफ्नै गाउँघरको पुराना चिजबिज जोरजाम गरेर रेष्टुरेन्ट सजाएका छन् । गाउँघरको परम्परागत प्रविधि जाँतो, ढिकी, ओखल आदि सजाएका छन् । त्यहाँ गुन्द्री वा मकैको खोसेलाले बुनिएका पिर्कामा बस्ने व्यवस्था मिलाइएको छ । यसैगरी गाउँघरकै झल्को दिनेगरी चुल्हो र आवश्यक सरसामान राखिएको छ ।

कलात्मक साजसज्जा

थमनकुमार भण्डारीले ‘मकै घर’लाई त्यस्तै रुप दिन खोजेका छन्, जुन प्युठानमा उनको पुख्र्यौली घर छ । गाउँघरमा बनाइने ढुंगा र माटोको घरजस्तै आवरणमा उनले संरचना तयार गरेका छन् । घरमा बार्दली बनाएका छन् । कमेरो र रातो माटोको झै रंग संयोजन गरेका छन् ।

पूर्खाहरुले प्रयोग गरेका प्राचिन सामाग्रीहरुले उनको रेष्टुरेन्टको शोभा बढाएको छ । मकैका झुत्तालाई ठाउँ–ठाउँमा सजाएका छन् । आँगनमा बाटुलो चौतारो पनि छ, जहाँ मकैका खोस्टाबाट बुनेका पिर्कामा आरामसाथ पलेटी कसेर बस्न सकिन्छ । सम्मुखमा चुल्हो छ । उनको रेष्टुरेन्टमा गन्र्धवले सारंगीमा गीत प्रस्तुत गर्छन् । गुन्द्रीमा पलेटी कसेर, सारंगीको धुन सुन्दै, प्युठाने मकैको तिख्खर स्वाद लिन सकिन्छ ।

चियाघरका सञ्चालक गणेशदेव पाण्डे फिल्मकर्मी हुन् । मञ्जरी, गाँजाबाजा जस्ता सिनेमा निर्देशन गरेका उनले आफ्नो कलात्मक अभिव्यक्ति रेष्टुरेन्टमा पनि पोखेका छन् । त्यहाँका कला–कौशलले चियाको हरेक चुस्कीमा स्वाद लिँदै वर्तमानमा रमाउनका लागि आग्रह गर्छन् ।

सानो लगानी, मनग्ये आम्दानी

गणेशदेव पाण्डेसँग छेलोखेलो पैसा हुँदो हो त उनी बागमतीको एकलासे किनारमा शायदै पुग्ने थिए । थमनकुमार भण्डारीसँग केही अभाव नहुँदो हो त उनका गोडा अन्यत्रै भौंतारिन्थे होला । ‘थोरै लगानीमा केही गर्न सकिएला कि’ भन्ने अभिलाषाले डो¥याउँदै उनीहरुलाई त्यहाँ पु¥यायो, जहाँ आज उनीहरुले रजगज चलाएका छन् ।

‘गाजाबाजा फिल्मलाई प्रदर्शनमा रोक लगाइएपछि म आर्थिक समस्यामा थिएँ’ पाण्डे सुनाउँछन्, ‘त्यसैले केही आयआर्जन गर्नका लागि सस्तो र खुला ठाउँ खोजी गरे ।’ सस्तो ठाउँको खोजी गर्दै उनी बागमतीको किनारमा पुगें, जहाँ गाईबस्तुको गोठ थियो । सहुलियतमा ठाउँ पाएपछि उनले त्यहीँ चिया घर बनाए ।

ठूलो संरचना बनाउने, फर्निचर राख्ने खर्च थिएन । कवाडीमा मिल्काइएका सामाग्री उठाएर र कुर्सी–टेवल बनाए । ‘खासमा पैसा नभएकाले मैले कवाडीमा पु¥याइएका सरसामान उठाएर रेष्टुरेन्टमा प्रयोग गरेको थिएँ’ पाण्डे भन्छन्, ‘तर, अहिले त्यसले बेग्लै शोभा दिएको छ ।’

अहिले चियाघरमा ५० बर्ष पुरानो एस्ट्रेदेखि पुराना मोडलका श्यामश्वेत टेलिभिजन, टाइपराइटर आदि सजाइएको छ । सयथरी चिया बेच्ने चियाघरले घनश्याम चिया, मनरुपा चिया, आमा समूहले इलाममा उत्पादन गरेको मदर टि अफ लभ, इलाममै किशोरीहरुले तयार गरेको कान्छी ग्रीन टि पस्किरहेको छ । ‘घनश्याम मेरा बुवाका नाममा, मनरुपमा हजुरआमाका नाममा तयार गरेको मेनु हो’ पाण्डे थप्छन्, ‘म सानो छँदा मलाई मेरा बुवाआमाले चिया बेचेर नै हुर्काएकाले चियाप्रति मेरो लगाव बढेको हो ।’ बाल्यकालमा आफूलाई चिया बेचेर नै आमाबुवाले पालनपोषण गरेकाले यसैलाई आफ्नो जीवन र भविष्यसँग जोडेको पाण्डेको भनाइ छ ।

केतली क्याफे चलाइरहेका निश्चल उपाध्यायको अनुभव पनि उस्तै छ ।

कलेज पढ्दाताका साथीभाइसँग भेटेर चिया पिउँदै आनन्दसाथ बस्ने ठाउँ हुँदैनथ्यो । सामान्य क्याफेमा धेरै समय बस्न नदिने, महंगा ठाउँमा बस्न खर्च नहुने । आफूजस्तै साथीसंगीहरुलाई बेपर्वाह बसेर गफ गर्दै चिया खाने ठाउँको खोजीमा उनीहरुले केतली क्याफे चलाउने निधो गरे । अन्ततः तीनजना साथी मिलेर केतली क्याफे खोले । झट्ट हेर्दा निर्माणाधीनजस्तै देखिने ठाउँमा उनीहरुले आफ्नो विवेकले भ्याएसम्मका सरसामान जुटाएर रेष्टुरेन्टको रुप दिए ।

थमनकुमार भण्डारी खासमा चलचित्र निर्माता हुन् । ‘पण्डित बाजेको लौरी’ लगायत चलचित्रले व्यवसायिकरुपमा सफलता हासिल नगरेको अवस्थामा उनी केही उद्यम–व्यवसाय गर्ने मनस्थितिमा थिए । संयोगले उनी चियाघरमा पुगे । त्यहाँको माहौल देखेपछि त्यसैको आसपासमा एउटा रेष्टुरेन्ट चलाउने जुक्ति फु¥यो ।

तर, कस्तो रेष्टुरेन्ट ?

‘मैले प्युठानको आफ्नै घर सम्झिएँ’ थमनकुमार सुनाउँछन्, ‘पुरानो शैलीको त्यस्तै घर बनाउने र गाउँघरकै खानेकुरा बनाएर बेच्ने आइडिया आयो ।’ अन्ततः उनले प्युठानकै शैलीको संरचना बनाए, त्यहीँको मकै ल्याए र शहरियाहरुको स्वाद फेरिदिए ।



source https://www.onlinekhabar.com/2021/01/927757

क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ५ को मृत्यु

१८ माघ, काठमाडौं । क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले पुष्टि गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी शनिबार जानकारी गराएको छ ।

मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावाहक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो । त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2021/01/927778

Friday, 29 January 2021

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् ।

उनीले खिचेका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा २ सयवटा तस्विर रहनेछन् । त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताए । ‘यो पुस्तक हेरेपछि मलाई त्यो समयको दर्दनाक स्थितिको स्मरण भयो । यसलाई पुस्तकको रुपमा देख्न पाउँदा म त्यतिबेला ज्यान गुमाउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ राजदूत कार्कीले भने, ‘यो पुस्तकलाई नेपाली समाजसम्म पुर्याउन सकियोस् । भूकम्पले पुर्याउने मानवीय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिनेछ ।’

त्यस्तै अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले पुस्तकले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो मुलुकको दुखद क्षण याद दिलाउने बताइन् । ‘यो पुस्तकले हामी प्रवासमा बसेका नेपालीहरुलाई त्यो समयको दुःखको क्षण याद दिलाउँछ । हामीले भूकम्पको समयमा नेपालमा जति सहयोग गर्न पायौँ । त्यसमा हामी खुसी छौँ,’ उनले भनिन्, ‘यो पुस्तक एउटा इतिहासको दस्तावेजीकरण हुनेछ । हामीले संरक्षण गरेर राख्नुपर्छ ।’

फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्धारसम्मका २ सय तस्विर सामेल गरेको बताए । यो तस्विर कथा इतिहासको जीवित कथा हुने उनले बताए । ‘नेपालमा गएका भूकम्पहरु मध्ये १९९० को भूकम्पका कथाहरु हामीले सुनका छौँ । तर, जिवित तस्विरको रुपमा हामीसँग त्यो समयको पुस्तक छैन,’ उनले भने, ‘हामीले यसलाई कथा र किम्बदन्तीको रुपमा मात्रै होइन जिवित बनाउने प्रयास स्वरुप पुस्तकको रुपमा ल्याएका हौँ ।’

‘यो पुस्तकले आगामी दिनमा आम मानिस जनधनको सुरक्षा गर्न सचेत हुनेछन् । यो पुस्तक अमेजनबाट किन्न सकिनेछ । नेपालका लागि निकट भविष्यमै नेपालमै मुद्रण गरिनेछ,’ उनले भने ।



source https://www.onlinekhabar.com/2021/01/927689

कविता : बाकस

बाकस आयो, बाकस आयो

छ फुटे बाकस आयो !

पल्लाघरे काकाले भने

हिड़ जाउँ काठमाडौँ, तिम्रो बाबाको बाकस आयो

 

आमा त हिजै गैसकिछन्

काका- आमालाई भन्दिनू

म पुग्नुभन्दा पहिला नखोल्नु रे बाकस !

जादाखेरि बाले भनेर गा’थे

कोशेली पठाउँछु

तिम्रा लागि बाकसभरि

आमाका लागि झोलाभरि

 

आमा त रुँदै गइन् अरे !!!

आफ्ना लागि कम भो भनेर हो कि ?

नरुनु है आमा, नाना मात्र म लगाऊँछु

पापा त खाउँला नि बाँडीचुँडी !

 

काकाले मलाई सुमसुम्याउँदै

काखमै राखे बाटोभरि

सधैं सपनीमा बा आउँछन्

गाडीमा पनि निदाएँ, आउलान् कि भनी

आज सपनीमा पनि बाकस मात्र देखें

सोचें, कस्तो लोभी भएँ म पनि !

 

ट्याक्सीमा पहिलोचोटि चढ़दैछु

सिधै छिर्यो एयरपोर्टभित्र

आमा अझै रुँदै रहिछिन्

छाती पिटीपिटी !

अलि नजिक गएर हेरें

बा पो रहेछन् बाकसभित्र !

 

आमाको मुख थुनें दुईवटै हातले

निदाई रा’छन् बा भनी !

बासँगै सत्र बाकस बन्द थिए

खुशी भएँ ! बा पनि आएछन्

ल्याएछन् बाकस अरु पनि  !

धुप अगरबत्ती, अबिर अनि खादा

आउँदा किन निदाएछन् बा

उठेरै गा’थे जाँदा !

 

बालाई पशुपति लग्नुपर्छ भन्दा

अचम्ममा परें ।

सुतिरहेको मान्छे कसरी गर्छ र दर्शन भनी !

मन्दिर पुग्दा त उठ्लान् बा

कस्ती लाटी म पनि  !



source https://www.onlinekhabar.com/2021/01/927686

भारतको ताकेता सफल : आकर्षक तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

१७ माघ, काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निार्णय गरेको छ ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण-बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भारतले लामो समयदेखि यो परियोजना हात पार्न ताकेता गरिरहेको थियो । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म ताकेता गरेको थियो ।

नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाइरहेको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कुल ९०० मेगावाट क्षमताको सो आयोजनामा ५० प्रतिशत काम नसिकँदै अर्को आयोजना पनि सोही कम्पनीले पाएको हो ।

सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि ‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्दैछ ।

२०७६ भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो अरुण निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा उनले अरुण तेस्रोको निर्माण भारतले नै गरिरहेकाले तल्लो अरुण पनि भारतले पाए सहज रुपमा सम्पन्न गर्न सकिने बताएका थिए ।

तल्लो अरुण सतलजले बनाउँदा लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागि समेत सजिलो हुने भारतीय पक्षको तर्क थियो ।

त्यसअघि २०७५ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन भारत भ्रमणमा पुग्दा पनि राज्यमन्त्री सिंहले यो विषय उठाएका थिए । गत कात्तिक २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा पुगेर निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षणा गरेका थिए ।

यो पनि पढ्नुहोस तल्लो अरुण पनि हात पार्न भारतको ताकेता

सजिलो आयोजना

यसअघि यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र ब्राजिलको कम्पनी ‘ब्रास पावर’सँग थियो । उसले शर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार सरकारले उसको अनुमतिपत्र खारेज गरेको थियो । अनुमति पाएको करिब १५ वर्षसम्म पनि ब्रास पावरले आयोजनामा प्रगति देखाउन सकेको थिएन ।

यो आयोजना लागतमा हिसावले ठूलो हो । तल्लो अरुण बनाउन एक खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । यो आयोजना एक हजार मेगावाटसम्मको क्षमतामा बनाउन सकिन्छ ।

विद्युत् विकास विभागले अहिले सो आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन गरिरहेको छ । भारतले अरुण तेस्रो आयोजनामा राखिएका सम्पूर्ण सर्तहरु नै कायम रहने गरी तल्लो अरुण बनाउने प्रस्ताव गरेको थियो । सरकारले भने कुन शर्तमा तल्लो अरुण दिने भनेर खुलाएको छैन ।

लगानी बोर्डले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा सरकारले सो आयोजनालाई समेत ‘शो केस’ मा राखेको थियो । यसमा भारतीय कम्पनी सतलजले पनि आवेदन दिएको थियो । यो आयोजनामा चीनको पनि चासो थियो ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पावर चाइना कर्पोरेसनसँगको साझेदारीमा तल्लो अरुण आयोजना बनाउन खोजेको थियो । तर, यी दुई कम्पनीले हालै बोर्डबाट तमोर आयोजनामा लगानीका लागि स्वीकृति पाएर एमओयू पनि गरिसकेका छन् ।

तल्लो अरुणमा पावर चाइनाको ८० र २० प्रतिशत एचआईडीसीएलको स्वामित्व हुने गरी लगानी संरचना प्रस्ताव गरिएको थियो ।

यसअघि अरुण तेस्रो आयोजना सरकारले प्रतिस्पर्धाका आधारमा भारतीय सतलज विद्युत निगमलाई जिम्मा दिएको थियो । आयोजना सतलजको पूर्णलगानीमा निर्माण भइरहेको छ । आयोजनाबाट नेपालले २१.९ प्रतिशत -१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउँछ भने बाँकी विद्युत भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार बुट मोडलमा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।

तल्लो अरुण पनि यही ढाँचामा बनाउने भारत सरकारको प्रस्ताव थियो ।  भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’ को पानी सीधै प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना आकर्षक मानिएको छ । तल्लो अरुण आयोजना अरुण तेस्रो आयोजनाको विद्युतगृहभन्दा तल पर्छ ।

अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टासम्म पानी जम्मा गरेर विद्युत् उत्पादन गर्नसक्ने अर्धजलाशययुक्त आयोजना हो ।

संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । सप्तकोसी उच्च बाँध बनेमा आयोजनाको विद्युतगृह डुबानमा पर्ने अध्ययनले देखाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927675

लघुकथा : नोटिफिकेशन

केटो कोठामा बसेर मोबाइल चलाइरहेको छ। बेलाबेला फेसबुकमा के नयाँ समाचार आयो भनेर हेर्छ । बेलाबेला इन्टाग्राममा कतिवटा लाइक पाएँ भनेर हेर्छ। यीबाहेक कि त युट्युबमा भिडियो हेर्दै, कि त पब्जी खेल्दै समय काटिरहेको छ।

छोरो बिहानदेखि बेलुकासम्म मोबाइलमा तल्लीन भएको देखेर आमा चिन्तित छिन्।

केटाकी आमा – हैन, कति चैँ चलाएको मोबाइल ? त्यो मोबाइभित्रै छिरुँलाजस्तो गरी नचला त ! जा बहिर गएर हावा खाएर आ !

केटो– ह्या ! मम्मी के बाहिर जानु। झन् याँ जितिराको बेला बाहिर जा नभन्नु न ! आमा – बाहिर जा भनेको सुनिनस् ? आहिले ड्याडीलाई भनें भने मोबाइल सोबाइल फुटाइदिनुहुन्छ।

केटो एकै छिन सोच्छ।

केटो– ल  ल एकैछिनमा आइहाल्छु । मःमः खाएर आउँछु।

केटो आफ्नो पर्स र मोबाइल गोजीमा हाल्छ र कोठाबाट निक्लिन्छ।

घरबाट निक्लिना साथ गोजीमा राखेको मोबाइल झिक्छ। डाटा अन गर्छ र फेरि मोबाइलमै लिप्त हुन्छ। उसलाई आफू वरपर के भइरहेको छ, होस हुँदैन।

हिँड्दै, मोबाइल चलाउँदै अघि बढ्छ। हिँडिरहेको हुन्छ, नजिकै एउटा केटाले एउटी केटीलाई जबरजस्ती हात समातेर तानेर लगिरहेको हुन्छ। तर, मोबाइलमा हराएको केटाले यो घटना देख्दैन। रामको मोबाइलमा नोटिफिकेशन आउँछ।

“फलानो गल्लीमा दिनदाहाडै युवतीको अपहरण र बलात्कार”

केटो नोटिफिकेशन पढ्छ र भन्छ– छ्या, हाम्रै घर नजिकै पो भएको रहेछ। बिचरा !

त्यो न्युजलाई आफ्नो समाजिक सञ्जालमा सेयर गर्छ ।

बाटोमा एउटा सानो जात्रा भइरहेको हुन्छ। जात्रामा मानिसहरु नाचिरहेका हुन्छन्। तर, मोबाइलमा डुबेको केटाले यो कुरा देख्दैन। जात्रा कट्ना साथ उसको मोबाइलमा नोटिफिकेशन आउँछ।

“फलानो चोकमा फलानो देउताको जात्रा सम्पन्न”

केटो नोटिफिकेशन पढ्छ र भन्छ– कहिले भएको रहेछ यो जात्रा फेरि ? थाहा नै भएन। येसो हेर्न जान हुन्थ्यो। कस्तो छुटेछ।

केटो जात्राको समाचारलाई लाइक गर्छ ।

नजिकै एक ठाउँमा झगडा भइरहेको हुन्छ। तर, उसले त्यो पनि देख्दैन। ऊ मोबाइलमै तल्लीन भएर अघि बढ्छ। झगडा भएको ठाउँ कट्नासाथ उसको मोबाइलमा नोटिफिकेशन आउँछ।

“फलानो गल्लीमा झगडा”

केटो नोटिफिकेशन पढ्छ र भन्छ– लौ ! आफ्नै केटाहरु पो झगडामा परेछन्। थाहा भाको भए यसो जान हुन्थयो नि  हत्तेरी !

केटो मोबाइल चलाउँदै अघि बढिरहेको हुन्छ। साँघुरो गल्लीबाट बाहिर मेन सडकमा निक्लिन्छ। मेन सडकमा धेरै गाडीको चाप हुने भएकाले केटो अलि सतर्क हुनुपर्यो भन्ने सोचेर मोबाइलबाट आँखा हटाएको मात्र हुन्छ, धेरै गतिमा आइरहेको गाडीले उसलाई ठक्कर दिन्छ।

सडकमा केटो ढलेको छ। जताततै रगत बगेको छ। वरपर मानिसहरुको भिड लागेको छ। टि…डिङ गरेर उसको मोबाइलमा नोटिफिकेशन आउँछ। नोटिफिकेशनको आवाजले केटो होसमा आउँछ।

दुखिरहेको रगताम्मे हातले मोबाइल अनलक गर्छ र नोटिफिकेशन हेर्छ– फलानो चोकमा दुर्घटना !

आफू लडिरहेको र घाइते भएको तस्बिर र समाचार देख्छ। समाचार लाइक र सेयर गर्छ।



source https://www.onlinekhabar.com/2021/01/927682

कहाँ उभिएको छ नेपाली उपन्यास ?

नेपाल र नेपालीमाथि केन्द्रित भएर उपन्यास कति लेखिए ? देशभरिका जनताको मनमा बस्न सफल महान् चेतनाले उच्चस्तरका उपन्यास लेखिए या लेखिएनन् ? राजनीतिक–आर्थिक या आर्थिक–सामाजिक मुद्दामा कति उपन्यास लेखिए ? भारतीय नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा हेर्ने कि नेपाली साहित्यको रूपमा हेर्ने ?

उपन्यास भन्दै खालि उपन्यासिका मात्रै पो लेखियो कि ! किनकि उपन्यास युरोपको संस्कृति हो र उनीहरूकै परिभाषा अनुरूप यसलाई हामीले अपनाउनुपर्ने हो कि ? यस्ता प्रश्नहरूमाथि स्वचेतनाले भयानक मन्थन गर्नपर्ने अवस्था देखिन्छ ।

मनगढन्ते कल्पनालाई छोडेर यथार्थको धरातलमा उभिएर उपन्यास लेख्न थालिएको ८६ वर्ष बितिसकेको छ । अनिवार्य नेपालीका विद्यार्थीबाहेक कसैले उपन्यास नपढ्ने माहोलमा अहिले सुधार त आएको छ । पाठक बढेका छन् । ‘पल्पसा क्याफे’को प्रकाशनपश्चात् निजी प्रकाशन संस्थाहरूको दौडाहा र दैनिक पत्रिकाले साहित्यको प्रचार प्रसार व्यापक रूपमा गर्न थालेकाले पनि पठन दर बढेको हुन सक्छ ।

यति हुँदाहुँदै पनि नेपाली साहित्यको इतिहासमा देखापरेका आजसम्मका उत्कृष्ट उपन्यासहरू जनताको हातमा अझै पुगिसकेको देखिँदैन । यस वर्ष जे प्रचारबाजीमा आयो, त्यो किताबमात्रै खोज्न दौडिने अवस्था यथावत छ । कुनकुन चाहिँ हो त खास सदाबहार नेपाली उपन्यास ? थाहा नपाएर भौंतारिनेहरू पनि छन् ।

वि.सं. २०६३ पछि उपन्यासको बाढी आएको देखिनुको कारण प्रचारबाजी नै हो । वास्तवमा नेपालमा २०२० को दशकदेखि नै उपन्यासको बाढी बग्न सुरू भएको थियो र त्यो बाढी आजपर्यन्त रोकिएको छैन । उपन्यास लेख्नेहरू प्रायः मध्यम वर्गभित्र पर्ने स्कुल कलेजका शिक्षक, सरकारी कर्मचारी, पत्रकारिता गर्नेहरू, साहित्यिक क्षेत्रमा चासो राख्नेहरू, समालोचकहरू आदि थिए र छन् ।

यी सबमा कुनै खराबी देख्नु र गुनासो गर्नुमा कुनै तुक छैन । सबैले आफ्नो चेतनाको स्तर अनुरूप लेख्ने हुन् । पढ्नेले पनि आफ्नो चेतना अनुरूपकै किताब पढ्ने हुन् ।

नेपाली साहित्य भारतीय साहित्यको छायाको रूपमा बलियोसँग स्थापित भइसकेको हुनाले यसको स्वत्व नै नरहेको देखिन्छ । नेपाली बुद्धिजीवी मान्यता अनुसार विदेशी (युरोपेली) उपन्याससँग तुलना नगरी प्रकाशित हजारौं उपन्यासहरूमध्ये बाढीमा देखिएका ठूलाठूला मुढाजस्ता पढ्न लायक केही नेपाली उपन्यासबारे चर्चा गर्न लागिएको छ ।

हुन त भारतीय साहित्य पनि विदेशी नै हो । साहित्य तुलना गरिने चिज हैन । यो अतुल्य छ । युरोपको होस् या भारतको दुबै एकै चिज हुन् । रविन्द्रनाथ र चेखव दुबै विशुद्ध साहित्य हुन् । गुलाव र कमलको फूलबीच तुलना गर्नु हास्यास्पद हो । साहित्यको स्तर नै नपुर्याई लेखिएमा युरोपकै किताबमाथि पनि दुनियाँ हाँस्छ ।

केके हुन् त छुटाउनै नहुने नेपाली उपन्यासहरू जसले यौटा आकाश बनाउन सफल भयो नेपाली साहित्यमा ?

यथार्थ जीवनमा आधारित आधुनिक उपन्यासको थालनि नै नेपाली महिलाको बुहार्तन र महान आदर्शगाथाको बयानबाट भएको हो । आधुनिकता र त्रासद यथार्थलाई समेट्न नसके पनि प्रथम उपन्यास भएको हुनाले ‘रूपमती’  आजपर्यन्त महत्त्वका साथ पठनपाठन हुने क्रम रोकिएको छैन । तर, प्रथम आधुनिक उपन्यासको पगरी गुथेपनि रूपमतीमा एक प्रतिशत पनि आधुनिकता देखिँदैन ।

रूपमतीपछि हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नी मानिस’ सहनसिला अवलाको विपरित विद्रोही रूपमा देखापर्यो । महिलामाथिको थिचोमिचो र अन्याय अत्याचारको छनक पाइए पनि बौद्धिक चेतनाको आँखाले हेर्दा दुबै उपन्यास आजको या हिजोको मानव समाजका निम्ति बेतुकको देखिन्छ । आजको पुस्ताले दुवै उपन्यासमा उच्च चेतनाको सट्टा केटाकेटीपन देख्न थालेका छन् ।

 प्रधानकै ‘एक चिहान’ उपन्यासमा पनि त्यस्तै सतही चेतनाकै छनक पाइन्छ । चिनियाँ कम्युनिष्ट आन्दोलनको प्रभाव, कमरेड पुष्पलाल श्रेष्ठको विचार तथा भारतीय सुधारवादी आदर्शको गन्ध एक चिहानमा पाइन्छ ।

मार्क्सवादी चेतनाले ओतप्रोत मुक्तिनाथ तिम्सिनाद्वारा लिखित त्यसै समयको ‘को अछुत ?’ २०११ सालको उपन्यास आजको सन्दर्भमा पनि पढ्न लायककै छ । ‘को अछुत ?’ उपन्यासको रूपमा भन्दा पनि बढी चेतनामुलक लेखको स्वरूपमा लेखिएको छ । को अछुतपछि दलित विषयमा सम्पूर्ण केन्द्रित भएर आजसम्म लेखिएका अरू उपन्यासमा शरद पौडेलको ‘लिखे’ हो । लिखे उपन्यासले ‘को अछुत’ उभिएको खुड्किलो पार गरेर अर्को खुड्किलोमा पाइला टेकेको सम्म मान्न छ ।

२००८ सालभित्र दार्जीलिङमा युग, स्थान र शिक्षा अनुरूपको चेतनाले आधुनिकताको छनक सहित ‘मुलुकबाहिर’, ‘माइतघर’, ‘लङ्गडाको साथी’जस्ता अमर उपन्यासहरू लेखिसकिएको भएपनि २०१५ सम्म नेपालभित्र लेखिएका उपन्यासहरू एक महिने भ्रुणको अवस्थाका देखापरे ।

नेपाल र नेपालीको यथार्थ चित्र दुनियाँलाई अवगत गराउन ‘बसाइँ’जस्तो उपन्यास नेपालभित्रकाले नभइ गुहाटीका भारतीय नेपालीले लेखिदिनुपर्यो । नेपालसँग सम्बन्धीत भएको हुनाले बसाइँ, मुलुकबाहिरजस्ता उपन्यासले नेपाली उपन्यासको मान्यता पाएका छन् र सदाबहार नेपाली उपन्यासको सूचीमा यिनको नाम छुटाउन मिल्दैन र छुटाएमा नेपाली उपन्यास क्षेत्र मुर्दा हुन जान्छ ।

महिलाको मनोविज्ञानलाई आधार बनाएर नेपाली परिवेशसहित २०१६ सालमा गोविन्द गोठालेले प्रथमपल्ट आजको पुस्तालाई मात्र नभई भोलिको पुस्तालाई समेत हुनेगरी पूर्ण विकसित शिशुको रूपमा ‘पल्लो घरको झ्याल’ सार्वजनिक गरे । वास्तवमा प्रथम नेपाली आधुनिक उपन्यासको पगरी लगाउन ‘पल्लो घरको झ्याल’ लायकको छ । लगत्तै महिला माथि नै केन्द्रित भएर विजय मल्लले ‘अनुराधा’ निकाले ।

बसाइ र मुलुक बाहिरले जस्तो नेपाली सामाजिक–आर्थिक अवस्थाको उजागर नगरे पनि पल्लो घरको झ्याल  र अनुराधाले काठमाडौं भित्रका नेवार समुदायका मध्यम र उच्च वर्गका नेपाली महिलाको कुण्ठित मनोविज्ञान र उनीहरूको सामाजिक अवस्थालाई थोरै रूपमा भएपनि देखायो ।

मनोवैज्ञानिक उपन्यास भइकन पनि मल्ल दाजुभाइका उपन्यासहरूले नेपाली सामाजिक सांस्कृतिक अवस्थाको चित्रण भने गरेका छन् । पल्लो घरको झ्यालकी मिश्रीको विद्रोह पश्चातको बचाइ र मनोविज्ञान अनि अनुराधाको विद्रोह गर्ने चाहनामा सीमित मनोविज्ञानको चित्रण लेखकहरूले राम्रैसँग गरेका छन् ।

विजय मल्लकै उपन्यास ‘कुमारी शोभा’ कुमारी परम्परालाई आधार बनाएर कुण्ठित व्यक्ति मनोविज्ञानमा आधारित उत्कृष्ट उपन्यास हो । दुःखद कुरा यो कि कुमारी शोभा उपन्यास वर्षौंदेखि अनुपलब्ध छ ।  गोठाले र विजय मल्ल (दाजुभाइ) दुबैले नेपाली साहित्यमा आफ्ना उपन्यासमार्फत महिला पनि पुरूष जस्तै रगत र मासु हो देवताको फूलबारीबाट झरेका दैवी आत्मा हैनन् भन्ने देखाए । दुबैका उपन्यासहरू सदावहार छन् । मनोवैज्ञानिक उपन्यासको कुरा गर्दा तारिणीप्रसाद कोइरालाको ‘सर्पदंश’ छुटाउनै नहुने उपन्यासमा पर्दछ । मानव मनोविज्ञान र जीवन–मृत्युको दर्शन मिसिएको उपन्यास सर्पदंश सदाबहार छ ।

नेवार समुदायकै चित्रण गरेर धुस्वाँ सायमिले महिलामाथि लेखेको ‘गंकी’ उपन्यासले भने मल्ल दाजुभाइको उपन्याहरूको उचाइ छुन सकेन । तर गंकीमा सायमिले यौन कुण्ठित महिलाको नभई निम्न आर्थिक अवस्थामा बाँच्न विवश महिलाको संघर्षको चित्रण गर्ने कोशिस गरेका छन् । यस उपन्यासको अर्को विकसित रूप हालसम्म देखा नपरेकाले यसैलाई पढ्पर्ने अवस्था रहेको छ ।

२०१८ सालको ‘खैरेनीघाट’ उपन्यास पहिलोपल्ट नेपालभित्रकै लेखकले आफ्नो देशको यथार्थचित्र भव्य रूपमा लेखेको पहिलो उपन्यास हो । यो साँच्चिकैको नेपाली उपन्यास हो र आजसम्म यत्तिको नेपाली उपन्यास लेखिएन ।

जेलभित्र बसेर उपन्यास लेख्ने डायमण्डशमशेरका दुई ऐतिहासिक उपन्यास ‘बसन्ती’ र ‘सेतो बाघ’को भव्य स्तरमा पुगेका अरू कुनै ऐतिहासिक उपन्यास देखापर्न सकेनन् । ऐतिहासिक विषयमा आधारित महिलाकै दुर्दशामाथि लेखिएको चर्चित उपन्यास ‘एकादेशकी महारानी’ बलिउड फिल्मी शैलीको भएपनि यस उपन्यासमा राणा खानदानका महिलाहरूको भारतीय रजौटाहरूसँगको यातनामय बैवाहिक जीवनको ब्याख्यान पढ्न पाइन्छ ।

२०१७ देखि २०२५ सम्म जेलभित्रै बसेर उपन्यास लेख्ने नेता बि.पि. कोइराला साहित्यमा (विश्वेश्वर कोइराला)का दुई उपन्यास ‘नरेन्द्र दाइ’  र ‘बाबु’ आमा र छोरा’ नेपाली साहित्यका लागि अर्को ठूलो प्राप्ति हो । ‘मोदीआइन’ उपन्यास नभएर एक उत्कृष्ट लामो–कथा हो । भारतका रेणुजस्ता लेखक र नेहरूजस्ता नेताहरूको संगत पाएका कोइरालाको देन यति नै हो । उनका अरू उपन्यासमा हदै केटाकेटीपना देखिन्छ । ‘तीन घुम्ती’मा आफ्नो इच्छा अनुसारको पुरूषलाई पति रोज्नेबाहेक अरू घटनामा नारीवाद कहिँ कतै देखिन्न ।

तीन घुम्तीले विश्वका धेरै प्रतिशत नारीको प्रतिनिधित्व नगरेर अँध्यारो कुनाकाप्चामा मान्छे ढुकेर बस्ने थोरै ठग, लुटेरा, बदमास र घोर व्यक्तिवादीहरूको वकालत गर्दछ । विदेश गएका लोग्नेलाई बिल्लिबाठ पार्ने नयाँ नेपाली संस्कृतिको गुरूका रूपमा तीन घुम्ती उपन्यासलाई लिन सकिन्छ । ‘सुम्निमा’ उपन्यासमा ऐतिहासिक गल्ती छ । विश्वामित्र, किराँत जाति र मिथिलासम्म फैलिएको कुश सभ्यतालाई लिएर । त्यसैगरी डायरीजस्तो ‘हिटलर र यहुदी’ उपन्यासमा हिटलरको नाजीवाद ह्वास्सै गन्हाउँछ ।

‘आज रमिता छ’ उपन्यास भारतीय भूमीमा भारतीय नेपालीहरूको जीवन संघर्ष सम्बन्धि भएको हुनाले यो नेपाली उपन्यास भन्दा ज्यादा भारतीय उपन्यास हो । २०२० मा आएर नेपाली उपन्यासलाई अघि बढ्नका लागि फेरि पनि युग सुहाउँदो बाटो तयार गरिदिने काम दार्जीलिङे चेतनाकी पारीजातले नै शिरिषको फूल गरिदिनुपर्यो । बामपन्थीमाझ कुख्यात ‘शिरिषको फूल’लाई खुंखार बुर्जुवाबादी चश्मा लगाएर चिरफार गर्दा पनि यो उपन्यास कागजकै फूल देखापर्दछ ।

उपन्यासमा न त शंकर लामिछानेले भने झैं बुद्धवादी शून्यवाद देखिन्छ न त नित्सेवादी शून्यवाद । न त विश्वविद्यालयले देखेको नारीवाद नै यसमा देखिन्छ । महिला र पुरूषबीचको समागममा पूर्णविराम लगाउने बरीको विचार नारीवाद पनि होइन । बरी उर्फ पारिजातको भावुक केटाकेटीपन झल्कने अल्लारे बकबकलाई डा. ईश्वर बरालले घतलाग्दो गरी चिरफार गरिदिएकै छन् । अझ केवल हावाको अत्यन्तै न्युन चालले पनि झर्ने शिरिषको फूललाई भमराको चुम्बनपश्चात झरेको देख्ने ‘अनिदो पहाड’, ‘तोरीबारी बाटो र सपना’जस्ता खास नेपाली उपन्यास जन्माउने भविष्यकी खरो पारिजातको बतिला लागेको चेतना शिरिषको फूलमा देखिन्छ । मोटाइका हिसाबले पारिजातको ‘उसले रोजेको बाटो’ पनि उपन्यासिका नै हो । यो उपन्यासिकाको अन्तिम लाइनबाहेक अन्त कुनै खोट देखिन्न । यौटा मानिस क्रान्तिका लागि तयार हुन कति समय लाग्छ र कसले त्यो बाटो रोज्छ भन्ने कुरा उसले रोजेको बाटो मा देखिन्छ ।

नेपाली समाज र नेपालको आर्थिक–राजनीतिक अवस्थाको चित्रण गर्ने अन्य उपन्यासमा डीपी अधिकारीका दुई उपन्यास ‘धर्ती अझै बोल्दै छ’  र ‘आशमाया’  पर्दछन् । तर अधिकारीका उपन्यासहरू हृदयचन्द्र सिंहका दुई उपन्यासहरूमा गरिएको ५० प्रतिशत सुधारमात्रै साबित भए । त्यसमा थप ५० प्रतिशत सुधार गर्ने काम पारिजातले नै गरिन् ।

सुधारमात्रै गरिनन् नेपाली भाषालाई मिठासको चरम सीमामा पुराउने काम समेत पारिजातले गरिन् र नेपाली साहित्यकी साँच्चिकै तारा रानी भइन् । तर उनका उपन्यासहरूको औचित्य २०४६ सालको बहुदलीय प्रजातन्त्रको आगमनसँगै समाप्त भएर गयो । सीमित चेतनाका कारण ती गोर्कीको ‘आमा’झैं हुन सकेनन् ।

नेपाली समाजकै चित्रण गरेर उपन्यास लेखे पनि हावादारी फिल्मी शैलिका उपन्यास लेख्ने दौलतविक्रम विष्टको प्रयोगको छनक पाइने ‘चपाइएका अनुहार’ भने क्लासिक पिस हो । दोस्रो विश्वयुद्धसँग सम्बन्धित कथा समेटिएको उपन्यासमा मानव जातिकै उपस्थितिमा मानव अस्तित्व शंकटमा परेको विद्रुप अवस्थाको बयान छ । मान्छेबाहेक यस उपन्यासमा जंगली जीवहरू र पर्यावरण नै पात्रको रूपमा (मौन रूपमा) देखा परेको छ ।

पारिजातलाई नायिका बनाएर मञ्जुलले आफ्नो सुरूआतकालीन अद्भूत लेखनशैलिद्वारा लेखेका ‘छेकुडोल्मा’ कविताका पारखीहरूका निम्ति खजाना हो । प्रयोगको नाममा पाठकको टाउको दुखाउने उपन्यासहरूको बाढीमा छेकुडोल्मा राम्रै मुढा हो ।

हिन्दू मिथमा आधारित भएर पनि दुई सदाबहार र सफल उपन्यास लेखिए । मदन माड्साब (मदनमणि दीक्षित) को ‘माधवी’  र राजेश्वर देवकोटाको ‘द्वन्दको अवसान’ । मदन माड्साबले जीवनकालमा जे जति हिन्दकुशकालीन साहित्य र दर्शन तथा पश्चिमी दर्शनको अध्ययन गरे, बुझे त्यसको जगमा उभिएको भव्य उपन्यास हो, माधवी । वेद, पुराण र उपनिषद माथि टेकेर लेखिएको माधवीमा राजनीति, अध्यात्म, नारी चिन्तन, आधुनिकता र पुरातन सबथोक छ ।

माधवी यसरी लेखिएको छ कि अब नेपाली साहित्यमा अर्को पौराणीक उपन्यास लेख्नुको औचित्य छैन । लेखककै अर्को उपन्यास ‘मेरी निलिमा’ माधवीको तुलनामा छ्याङको छोक्रामात्रै हो ।

प्रयोगवाद मन पराउने पूर्वीय दर्शनकै अर्का अध्ययता राजेश्वर देवकोटाका गम्भीर चिन्तन र विशाल दर्शनले ओतप्रोत अन्य राम्रा उपन्यासहरूमा ‘डबली’ र ‘आवर्तन’ पर्दछन् । मल्ल दाजुभाइ र धुस्वाँकै बाटो पकड्दै बानीरा गिरीले २०३० को दशकमा उच्च वर्गकी महिलामाथि केन्द्रित दुई उपन्यास लेखिन्- ‘कारागार र ‘निर्बन्ध’ ।

कारागारकी मूल नायिका बौद्धिक तर लबस्तरी छे । उसमा बौद्धिकता छ तर नारीवादी सचेतता छैन । पत्नीपीडित धनी पुरुषको भित्रिनी भएर बाँच्ने महिलाको त्रासद अन्त्यको कथा समेटिएको उपन्यास कारागार नेपाली साहित्यमा नयाँ बौद्धिक आयामसहित देखिनुको साटो पुरानै शैलीको भावुकतामा रूमल्लिएको छ ।

निर्बन्धमा भने कारागारकै पत्नीपीडित पुरूषकी भ्रष्ट श्रीमती कसरी भ्रष्ट हुन पुगी भन्ने देखाइएको छ । ‘अनुराधा’मा झैं बाबु र छोरी बीचको फ्राएड सिद्धान्तलाई नै पकडेर लेखिएको निर्बन्ध पनि सचेत र जुझारू पारिजातका नारी पात्रले भरिएका उपन्यास र कथाका तुलनामा कमजोर नै लाग्छ । पारिजातको नारी सचेतताको परम्परालाई कसैले अघि बढाउने काम गरिएको देखिएन ।

गोविन्दराज भट्टराईको उपन्यासिका ‘मणिपुरको चिठी’ (२०३४) मा उच्च जातकी केटी र अछुत केटाबीचको विवाह र उच्च जातका महिलाहरूले भोग्ने समस्या दर्शाइएको छ ।

भट्टराईकै उपन्यास ‘मुगलान’ले लाहुर पुगेका लाहुरेहरूको डरलाग्दो व्यथा बोकेको छ । लेखकले त्यसलाई जसरी भव्य रूपमा सुरू गरेका थिए त्यसरी सकाउन सकेनन् । उपन्यासको पहिलो आधा पाटो त ज्यादै खरो र जीवन्त छ । मानौं डकुमेन्ट्रि हो । तर पछिल्लो आधा पाटो बलिउड फिल्मको स्क्रीप्टजस्तो छ ।

पारिजात, टि.आर. विश्वकर्मा आदिद्वारा समेत प्रशंसित २०२७ सालमा प्रकाशित जगदिश घिमिरेको उपन्यास ‘लिलाम’, ‘खैरेनिघाट’ पछिको दोस्रो विशुद्ध नेपाली उपन्यास हो ।

यसको भाषा, रामेछापको गाउँले परिवेश, समकालिन आर्थिक अवस्था, सामन्तिहरूको शोषणले उत्पन्न विषम परिस्थिति आदि हरेकथोक तारिफयोग्य छ । ‘साविति’  भने घिमिरेको पतन भएको चेतनाद्वारा लिखित उपन्यास हो ।

बलिउडको स्क्रीप्टको कुरा गर्दा संस्मरणात्मक निबन्धका उस्ताद ध.च. गोतामेको ‘घामका पाइलाहरू’ उपन्यास छुटाउन मिल्दैन । तराईको जीवन देखाउन कोसिस गरिएको यस उपन्यासमा रूपमतीकालीन आदर्शवाद त हावी भएकै छ, हिन्दी फिल्मको शैली पनि हाबि भएको छ । वास्तविक तराइको सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था, जनताको चेतनापट्टिभन्दा मध्यम वर्गको सानोतिनो गुनासो, महत्त्वाकांक्षा र सपना अनि साधारण बँचाइबाहेक अरूथोक छैन । संसार बदल्ने बौद्धिक र आदर्शवान जमात आफू भएको र संसार बदल्न ठूलो भूमिका निभाइरहेको भ्रममा फसेको मध्यमवर्गीय चेतको गन्ध यस उपन्यासमा पाइन्छ ।

वास्तवमा ‘नरेन्द्रदाइ’बाहेक तराईमा आधारित सदाबहार उपन्यास आजसम्म अरू लेखिएकै छैन । तर भव्य रूपमा तराईको सामाजिक–आर्थिक अनि सांस्कृतिक झलक दिने उपन्यास भने लेखिएकै छैन । न त २०४६ अघिको तराईको न त २०४६ पछिको नै । हिमाली जिल्लाहरूको जीवनबारे पनि आजसम्म उपन्यास लेखिएन । नेपाली उपन्यास फाँट ज्यादै नै गरिब देखिन्छ ।

आफ्ना कतिपय कथाहरूसमेत बलिउड टाइपका लेख्ने रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रवती’मा पनि फिल्मी–शैली देख्न सकिन्छ । काभ्रेका माझीहरूको जीवन संघर्षमाथि लेखिएको भएपनि मार्क्सवादी पाठक, आलोचक, तथा विद्वानहरूले समेत नरूचाएको विकलको उपन्यासले साविति  उपन्यासको उचाइ छुन सकेको छैन ।

आफूलाई प्रगतिवादी लेखक सिद्ध गर्नमात्रै उपन्यास लेखिएको छ । लेखकले माझिहरूको भयानक बँचाइलाई भित्रैदेखि आत्मसात गरेर लेखेको देखिँदैन उपन्यास आधा पढिसक्दा । यस उपन्यासलाई १० मा ६ दिन मिल्छ ।

२०५० को दशकमा देखा परेको नारायण ढकालको उपन्यास ‘पीत संवाद’ र नयनराज पाण्डेको उपन्यासिका ‘उलार’ले राजनीतिक भ्रष्टता, ब्युरोक्रेसी र असफल प्रजातन्त्रको छनक दिन्छन् ।  सरूभक्तले ‘समय त्रासदी’मा नेपालको राजनैतिक वातावरणको ज्यादै सटिक चित्रण प्रस्तुत गरेका छन् । नेपाली उपन्यासलाई नयाँपन दिलाउने यो उपन्यास छेकुडोल्मापछि आजसम्मकै एकमात्र सफल प्रयोगवादी उपन्यास हो । ‘पागल बस्ती’ जस्तो अल्लारे चेतनाको उपन्यास लेख्ने सरूभक्तको समय त्रासदी परिपक्व चेतनाको उपन्यास हो ।

विशेषतः पाठकलाई डोहोर्याउँदै लगेर डिप्रेसनको खाडलमा खसालिदिने खालका तथा ‘म विशेष बौद्धिक वर्ग हुँ, म हिरो हुँ, तर म अवहेलित छु’ भन्ने मध्यमवर्गीय कुण्ठाले ओतप्रोत उपन्यासहरू लेख्ने नेपाली विषयका प्राध्यापकहरू र समालोचकहरूमाझ चर्चित उपन्यासकार डा. ध्रुवचन्द्र गौतमको सबैभन्दा सफल र सरल उपन्यास ‘उपसंहार अर्थात चौथो अन्त्य’ स्मरणयोग्य छ ।

उपन्यास पत्रकारिता क्षेत्र र प्रजातन्त्रमा देखा परेका परजीविहरूबारे लेखिएको छ । राणाकालीन अवस्थामा महिलाहरूको दुर्दशाको चित्रण गर्न प्रयत्नरत गौतमकै उपन्यास ‘स्वर्गीय हिरादेवीको खोज’ पनि पठनीय छ । भाषाको हिसाबले मल्ल दाजुभाइ, मञ्जुल, वाङदेल, वीपी या पारिजातको जादुमय उचाइ छुन नसके पनि ब्यङ्ग्यको मिसावटका कारण गौतमका उपन्यास पढ्दा पाठकले नयाँ स्वाद फेला पार्छन् ।

वास्तवमा डा. गौतमको पुरस्कृत तर पाठक तथा कतिपय समालोचकहरूबाट चोरिको आरोपसमेत लागेको अलिखितभन्दा यी दुई उपन्यास माथिल्लो स्तरका छन् ।

२०५० को दशकमा निस्किएका उपन्यासहरूमा इन्दिरा प्रसाईंका ‘शिखा’ र ‘रनमाया’ले नारीको दुर्दशा देखाउने कोसिस गरेका छन् । शिखाले पनि निर्बन्धले झैं विजय मल्लको बाबु–छोरीको सम्बन्धको मनोविज्ञानलाई पकड्ने काम गरेको छ तर शिखा उपन्यासमा आमाको इगोग्रस्त मनोविज्ञान पाठकलाई स्वाभाविक र विश्वास दिलाउने खालको देखिन्न । महिलाको असुरक्षित जीवनको सानो झलक भने उपन्यासमा देखिन्छ । रनमाया भने शिखाभन्दा उन्नत छ ।

शोभा भट्टराईको आत्मसंस्मरणात्मक उपन्यास ‘अन्त्यहीन अन्त्यमा’ पनि नेपाली नारीको नयाँ भोगाइलाई प्रस्तुत गरिएको छ । कुनै साहित्यकारद्वारा नलेखिएको हुनाले उपन्यास उत्कृष्ट हुन नसकेपनि नयाँ विषय हुनाले पठनीय नै छ ।

नारायण ढकालको अत्यन्तै चर्चित उपन्यास ‘प्रेतकल्प’ले राणाकालीन समयमा काँठ क्षेत्रका बासिन्दाको जीवन संघर्ष, राजनैतिक जागरण र राणाहरूको घटिया प्रवृत्तिबारे जानकारी दिलाउने प्रयास गरेको छ । डायमन शमशेर पछि नेपाली इतिहासलाई उपन्यासमा सिरियस्ली लेख्ने काम ढकालले गरेका छन् ।

तर, पनि नेवार समुदाय (विशेष ज्यापू समुदाय) यस उपन्यास छुट्न गएका छन् । प्राचीन काठमाडौंको चारहिटी बाहिरको इतिहास उठाउँदा ज्यापू समुदाय छुट्नु अलि खट्किने कुरा हो । उपन्यासलाई दसमा सात दिन मिल्छ ।

२०६० देखि २०७६ सम्मका बजारमा सफल र पुरस्कृत उपन्यासहरू ‘पल्पसा क्याफे’, ‘राधा’, ‘सेतो धरती’, ‘योगमाया’जस्ता उपन्यासहरूले खारिएको चेतना भएका पाठकहरूलाई भन्दा पनि सपाट चेतनाका पाठकलाई सन्तुष्ट पारेको देखिन्छ ।

वास्तवमा २०५० साल देखि २०७७ सम्मका उपन्यासहरूले यौटा युग बिताउन बाँकी छ । अबको चालीस वर्षपछि ती सबैको मूल्यांकन हुने नै छ जुन रूपमा वीपी, पारिजात, शंकर कोइराला या मल्ल दाजुभाइका उपन्यासबारे आज मूल्यांकन भएको छ । अहिलेको तत्कालीन आँखाले हेर्दा पनि ती सबैमा ‘मोडर्न क्लासिक’को कुनै लक्षण भने देखिन्न । किनकि क्लासिक भनिएका कतिपय हाम्रा पुराना किताबमा समेत क्लासिक गन्ध छैन ।

२०४० साल देखि २०७७ सम्मका कुनैपनि उपन्यासमा नेपाली समालोचकहरूले भने झैं नयाँ या भव्य आधुनिकता देखिँदैन । जसरी सलमान रूस्दी या भि.एस. नैपलका उपन्यासहरूमा देखिन्छ ।

समग्र राष्ट्रिय चेतना र संस्कृतिको प्रतिनिधित्व गर्ने र जनताको मुखमा झुण्डिन सक्ने उपन्यास अझै आउन सकेको छैन । धेरैभन्दा धेरै नेपाली उपन्यासहरूमा चिन्तन र दर्शनको साथै तथ्यगत अध्ययनको अभाव छ । यथार्थ जीवनलाई जरैदेखि अध्ययन गरेरभन्दा पनि सतही चेतनामा कोठे कल्पनामा भारतीय साहित्य चोरचार गरी मिसाएर लेख्ने प्रवृत्ति हाबी छ । त्यसैले पनि आजसम्मको नेपाली उपन्यासको इतिहासलाई हेर्दा विश्वबजारमा पेश गर्न लायक खैरेनिघाट, नरेन्द्र दाइ, सेतो बाघ लगायत ज्यादै थोरै उपन्यास देखिन्छन् । प्राचीन हिन्दकुशका पौराणिक कथामा आधारित भएर लेख्ने प्रवृत्ति त्यत्तिकै छ । आफू संलग्न पार्टीको सिद्धान्त र घोषणापत्रका कुरा थुपार्नलाई मात्रै उपन्यास लेख्नेहरू पनि छन् ।

नेपाली साहित्यले भारतीय साहित्यले झैं ‘क्लासिक युग’ अझै पार गर्न बाँकी नै छ वास्तवमा । रेणु, प्रेमचन्द, नागार्जुन, रविन्द्र ठाकुरहरूले जसरी भारतलाई आफ्ना उपन्यासमा स्थापित गरेर गए र पछिका पुस्ताले राजनैतिक ब्यङ्ग्यका ‘रागदरबारी’ हुन् वा ‘नेताजी कहिन’ लेखे, सत्ता र संस्कृतिद्वारा निचोरिएका मानिसहरू माथि ‘नाच्यो बहुत गोपाल’ लेखे, राजनीतिको आगोले खाएका सम्पूर्ण मानव जातिकै निम्ति ‘आधा गाँव’, ‘तमस’ लेखे आधुनिक नारीका बारे ‘शेष यात्रा’ लेखे या समकालीन भोगाइका ‘लाल पीली जमिन’, ‘महाभोज’ आदि लेखे ।

 आधुनिकताको खास परिचय बोक्ने महाश्वेता देवीसम्म पुग्नुअघि हामीले धेरै वास्तविक नेपालको चित्र देखाउने ‘नरेन्द्रदाइ’  या ‘खैरेनिघाट’जस्ता उपन्यासले बोकेका विषयमा ध्यान दिएर अझ गहकिला उपन्यास ब्यापक अध्ययनपश्चात लेख्न बाँकी थियो । हाम्रो उपन्यास लेखनको शिलशिला जताततै भत्किएको छ ।

शून्यवाद, अस्तित्ववाद, सररियलिस्ट, उत्तरआधुनिक आदि लक्षणका सक्कली र भव्य उपन्यासहरू युरोपमा प्रशस्तै छन् । रोमान्टिक लक्षणले ओतप्रोत लैनसिंह वाङ्देलका उपन्यासलाई भारतीय समालोचकहरूको शब्द सापटी लिएर अति यथार्थवादी उपन्यास भन्ने नेपाली प्राध्यापक, समालोचक, केही साहित्यिक पत्रकारहरूले हल्ला गरे झैं कुनै पनि नेपाली उपन्यासमा दादावाद, सररियालिजम, उत्तरआधुनिकता मैले फेला पारेको छैन ।

नेपाल राष्ट्रमा लेखिएका उपन्यासहरूले छिमेकी देश भारतका पाठकहरू माझ परिचय नै बनाउन नसकिरहेको अवस्थामा ठूला सिद्धान्त र सपनाको कुरा गर्नु पक्कै बुद्धिमानी होइन !

(लेखक साहित्यिक अध्येता हुन्।)



source https://www.onlinekhabar.com/2021/01/927679

केटु हिमाल आरोहीलाई पाकिस्तानी दूतावासको सम्मान

१७ माघ, काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई नेपालस्थित पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

शुक्रबार ठमेलको एक होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा हिमाल आरोहण गरेर नेपालीहरुले विश्व कीर्तिमानी राखेको भन्दै पर्वतारोहीहरुको उच्च प्रशंसा गरे ।

डिनरसहितको सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीको समेत उपस्थिति थियो ।

कार्यक्रममा पाकिस्तानी राजदूत शाहले पर्वतारोही समूहका नेतृत्वकर्ता निर्मल पूर्जा र मिङमा ग्याल्जे शेर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली पर्वतारोहीहरुले हिमाल आरोहणका क्रममा पाकिस्तानी सरकारबाट न्यानो आतिथ्य पाएको भन्दै आभार व्यक्त गरेका थिए ।

नेपाली पर्वतारोहीहरुको १० सदस्यीय टोलीले गत माघ ३ गते साँझ ५ बजे पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल जाडो याममा चढेर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान हासिल गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/01/927677

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् । यतिका धेरै मन्त्री एकैपटक चितवन आउन लागेको यो पहिलोपटक हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षकी नेतृ एवम् राष्ट्रिय सभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उनले बताइन् ।

प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेट नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा केहीबेर आराम गर्ने र त्यसलगत्तै भरतपुरको बाइपास सडक नजिक बन्न लागेको बहुउद्देश्यीय सिटी हलको शिलान्यास गर्ने कार्यक्रम छ ।

सो शिलान्यास सकेपछि प्रधानमन्त्री ओली भरतपुर केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षले गरेको छ ।

ओली पक्षकी नेता एवम् नेकपा केन्द्रीय सदस्य पार्वती रावलले चितवनका हरेक वडावडामा कार्यक्रममा सहभागिता जनाउन जनपरिचालन गरिएको जानकारी दिइन् । त्यसको संयोजन नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले गरिरहेका छन् । सभाअघि पूर्व क्षेत्रको गोन्द्राङ बसन्तचोक, पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिने छ ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भरतपुर महानगर र प्रचण्ड माधव समूहको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको सिटी हल र नारायणगढ–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । उनीहरुले क्षेत्राधिकार मिचेर शिलान्यास गर्न लागेको, निर्वाचन आचारसंहिता लागेको, सरकार कामचलाउ भएकाले शिलान्यास गर्न नपाउने दावी गर्दै आएका छन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरसँग समन्वय नगरी शिलान्यास गर्न लागिएको भन्दै विरोध गरिन् । उनले आफ्नो पहलकदमीमा सिटी हल र सडक विस्तार गर्न लागिएको दावी गर्दै आएकी छिन् । तर, यी दुबै योजना संघीय सरकारको बजेट र कार्यक्रम रहेको ओली पक्षको भनाइ छ ।

यस्तै, प्रचण्ड माधव समूहले पनि निर्वाचन आचारसंहिता विपरीत कामचलाउ प्रधानमन्त्रीले शिलान्यास गर्न लागेको भन्दै नाटक मञ्चन गरिएको आरोप लगाएको छ । सो समूहका जिल्ला इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्रीले दीर्घकालीन महत्वका कामको शिलान्यास यतिबेला गर्न नपाउने बताए ।

सिटी हल र छ लेन सडक विस्तार द्रूत गतिमा

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सङ्घीय सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा सिटी हलको ठेक्का सम्झौता भएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।

सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फ्रेन्स हल रहने छ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष पनि रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड र बगैँचा हुनेछ । २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ ।

भरतपुरमा नै नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म एक अर्ब १२ करोड रुपैयाँको लागतमा ६ लेनको सडक दुई वर्ष ४ महिनाभित्र बनिसक्ने गरी ठेक्का सम्झौता भैसकेको छ । दुबै आयोजनाको निर्माणको जिम्मा इन्डो सगुन रौताहा जेभीले लिएको छ ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर ओरालो र बजार क्षेत्रमा ४ लेन छ ।

दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/01/927672

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More