Saturday, 27 February 2021

वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन

१५ फागुन, काठमाडौं । भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी-२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी-२० टिममा अटाएका हुन् ।

शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी-२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो ।

यसपटक वेष्ट इण्डिजले टिममा व्यापक परिवर्तन भएको छ । क्रिस गेल, फिडेल एडवाड्र्स, जेसन होल्डर जस्ता अनुभवी खेलाडी टी-२० टिममा परेका छन् । यस्तै एभिन लुइसले पनि पुनरागमन गरेका छन् । शिमरोन हेतमायर, सेल्ड्रन कट्रेल, ओसेन थोमस, किमो पउल, ब्रेण्डन किङ भने टिममा अटाएनन् ।

वेष्ट इण्डिजले घरेलु मैदानमा यही मार्च ४ देखि श्रीलंकाविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दैछ । टी-२० सिरिजपछि वेष्ट इण्डिज र श्रीलंकाले तीन खेलकै ओडिआई सिरिज पनि खेल्नेछ ।



source https://www.onlinekhabar.com/2021/02/934146

पत्रकार खसोग्जीको हत्या गर्न साउदी युवराजले स्वीकृति दिएको अमेरिकी दाबी

१५ फागुन, काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक रिपोर्टले साउदी पत्रकार जमाल खसोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद बिन सलमानले स्वीकृति दिएको दाबी गरेको छ ।

अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा साउदी युवराजले समात्ने वा हत्या गर्ने योजनालाई अनुमोदन गरेको उल्लेख गरेको छ ।

अमेरिकाले पत्रकारको हत्यामा संलग्न धेरैलाई प्रतिबन्ध लगाएको छ तर युवराज मोहम्मदविरुद्ध केही कदम चालेको छैन ।

उता साउदी अरेवियाले भने सो प्रतिवेदनको खण्डन गर्दै झुटो भएको बताएको छ ।

सन् २०१८ मा खसोग्जी इस्तानबुलमा रहेको कसन्तुलेटको भ्रमण गर्दा टर्कीमा मारिएका थिए ।



source https://www.onlinekhabar.com/2021/02/934145

कैलालीमा युवक मृत भेटिए, हत्या भएको आशङ्का

१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ ।

मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/02/934141

Friday, 26 February 2021

सरकारी संस्थामार्फत होटल सञ्चालन

१५ फागुन, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सहकारी संस्थामार्फत होटल सञ्चालन गरिएको छ । पाउद्वार पर्यटन सहकारी संस्थाले अन्नपूर्ण गाउँपालिका-५ खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको हो । उक्त सहकारी संस्थाले पदमार्गसमेत सुरु गर्ने तयारी गरेको छ ।

पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताए । ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौं,’ उनले भने, ‘पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीयस्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौं ।’

यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता भएको छ ।

गाउँपालिकामा पहिलो पटक दर्ता भएर यही फागुन ११ गतेदेखि सञ्चालन भएको सहकारीमा हाल पाउद्वारका १२३ जनाले ८८ लाख रुपैयाँ शेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारीमार्फत गरिने भएको छ ।

होटलको आम्दानीलाई सञ्चालन खर्च कटाएर मुनाफाका रुपमा शेयर सदस्यलाई वितरण गरिनेछ । विद्यालयअन्तर्गत सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिएपछि सहकारी मातहत ल्याइएको अध्यक्ष तिलिजाले बताए ।



source https://www.onlinekhabar.com/2021/02/934143

क्यानजेन उपत्यका : प्रकृतिको उपहार (फोटो फिचर)

१५ फागुन, काठमाडौं । सन् २०१७ मा न्यूयोर्क टाइम्सले लाङटाङलाई ‘घुम्नैपर्ने विश्वका ५२ ठाउँहरु’ माध्येमा सूचीकृत गरेको थियो । हुन पनि प्रकृतिको विराट उपहार हो लाङटाङ । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ ।

यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । कहिल्यै नपुरिने खोट बोकेर पनि उत्तिकै हार्दिकताका साथ आगन्तुकको पर्खाइमा छ लाङटाङ ।

अद्भूत हिमाली सौन्दर्यलाई पृष्ठभूमिमा राखेर लाङटाङले दुर्लभ वन्यजन्तुलाई आश्रय दिएको छ । शिरमा भीमकाय चट्टाने पहाड र काखमा समतल लेकाली खर्कको अनुपम संयोजनले यो भूगोललाई ‘स्वर्ग’ बनाएको छ ।

क्यान्जेन उपत्यका यही भूगोलभित्र समेटिएको अर्को प्राकृतिक-शिल्प हो । यसलाई हिमाली उपत्यकाको उपमा दिन सकिन्छ । चारैतिर हिम चुचुराले घेरेको क्यान्जेन उपत्यकाले विराट सौन्दर्यलाई आफ्नो गर्भमा समेटेको छ । त्यसो त प्राचिन धरोहर र धार्मिक आस्थाको संगमस्थल पनि हो ।

यहाँ अवस्थित क्यनजेन गुम्बा ७ सय वर्ष पुरानो रहेको बताइन्छ । यही गुम्बाको नामबाट उपत्यकाको न्वारान गरिएको हो । क्यानजिङ गुम्बा लाङटाङ उपत्यकाको सबैभन्दा बढी उचाईमा रहेको मानव वस्ती पनि रहेछ । चिसो सिरोटोले हरदम स्पर्श गरिरहने क्यानजेन उपत्यका समुन्द्री सतहबाट तीन हजार ८ सय ५० मिटर माथि छ । लाङटाङ हिमाल हेर्नका लागि यो सबैभन्दा उपयुक्त स्थल पनि हो । यो विन्दुबाट दोर्जे लाक्पा, लिरुङ, जुल,गाङछेम्पो जस्ता हिमाललाई नजिकबाट नाङ्गो आँखाले नियाल्न सकिन्छ ।

लेकाली खर्क, कन्चन खोलानाला, त्रिभूज आकारका टाकुरा अर्थात यहाँको भू-बनौट साहसिक पदयात्राका रोज्जा मानिन्छ । त्यसो त काठमाडौंदेखि नजिकको एक प्रमुख पदयात्रा पनि हो यो । हिमाली दृश्यहरु साक्षतकार गर्दै लेकाली भन्ज्याङ छिचोल्नुको विछट्टै आनन्द हुन्छ । क्यानजेनलाई गन्तव्य बनाएर स्याफ्रुङबेसीबाट पदयात्रा थालनी गर्न सकिन्छ । यो पदयात्रामा सात हजार २ सय ४६ मिटर उचाइको लाङटाङ हिमालसँगै नेपाल र तिब्बतका दर्जनौ हिमशृंखला नियाल्न सकिन्छ । क्यान्जेन उपत्यका हरदम आगन्तुकको स्वागतार्थ मुस्कुराइरहेको अनुभूत हुन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्यानजेन उपत्यका कुनैबेला स्वदेशी-विदेशी आगन्तुकले भरिभराउ हुन्थ्यो । अहिले भने यहाँको पर्यटन केही सुस्ताएको छ । पर्यटनका लागि आवश्यक पूर्वाधार भएर पनि क्यानजेन उपत्यकाले अपेक्षाकृत पाहुन भित्र्याउन सकेको छैन । लाङटाङको फन्को लगाउँदै क्यानजेन उपत्यकासम्म पैदल यात्रा गर्न एक हप्ताको समय लाग्न सक्छ ।

क्यानजेन उपत्यकाबाट हेलम्बुसम्मको अर्को पदयात्रा गर्न सकिन्छ । गञ्जल पास हुँदै हेलम्बुसम्म यात्रा गर्न भने अरु तीन दिन समय लाग्नसक्छ ।

तर हामी भने पदयात्रा नगरेर हेलिकप्टमा क्यानजेन भ्याली पुगेका हौं । काठमाडौंदेखि ४५ मिनेट लाग्छ क्यानजेन पुग्न । एक पटक ५ जना जान मिल्ने भएकाले हामी ५ जना सपरिवार क्यानजेन जाने योजना बनायौं । पेसाले म पर्यटन व्यवसायी भएका कारण पनि त्यहाँको भौगोलिक अवसथासहित के कस्ता सुविधाहरु रहेका छन् बुझ्ने मौका मिल्यो । अर्कोतर्फ परिवारसहित जादा निकै रमाइलो हुने भएकाले सपरिवार जाने सोच भयो ।

अझ क्यानजेनको बारेमा मैले धेरै सुनेको थिएँ । तर, प्रत्यक्ष पुगेको भने पहिलो पटक हो । जाने मन भए पनि व्यस्थताका कारण जाने मौका मिलेको थिएन । अहिले कोभिडका कारण विदेशी पर्यटकहरु चहलपहल कम भएसँगै मेरो व्यस्थता पनि कम भयो । यही मौका छोपेर सपरिवार हेलीमा क्यानजेन यात्रा गर्ने मौका मिल्यो ।

सामान्यतया विगतका वर्षहरुमा वर्षभरि नै देशभर बाह्य तथा आन्तरिक पर्यटकहरु देशका विभिन्न जिल्लाहरुमा पदयात्रा तथा पर्यटन क्षेत्रका कार्यहरुका लागि व्यस्त रहिरहने गर्दथिए । हाम्रो टाभल कम्पनी एक्सपोलर डोल्पा टेकिग कम्पनी देशभर पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमा क्रियाशील रहने गर्दछ । अझ भन्नु पर्दा पश्चिम नेपालसहित कर्णाली जिल्लामा बढी केन्द्रित रहेको छ ।

कोभिडका कारण अहिले विदेशी पर्यटक नआएकाले अहिले अलिक फुर्सद रहेको छ । यही फुर्सदको मौका छोपी म, मम्मी, जीवसंगीनी, छोरा र छोरीसहित क्यानजेनमा हेलीमा घुम्न मौका मिल्यो ।

देशका विभिन्न क्षेत्रमा यात्रा गरेता पनि क्यानजेन मेरा मात्र नभएर परिवारको पनि पहिलो यात्रा हो । विविध कारणले विगतमा चाहेर पनी परिवारसहित हिमाली क्षेत्रमा यात्रा गर्न सकेको थिएन । यही कोभिडले मेरो यात्रा जुरायो ।

हुन त म हिमाली जिल्ला डोल्पामा जन्मे हुर्केको भए पनि परिवारसहित यसरी आफ्नो जिल्ला बाहेक हिमाली जिल्ला जाने मौका मिलेको थिएन । यही मौका जुरायो अहिले क्यानजेन हेली टुरले । जब क्यानजने हेली टुरमा मसहित सपरिवार पुग्यौं । मैले सोचेभन्दा निकै रमाइलो तथा आन्नददायी यात्रा भयो । जब हामी काठमाडौंबाट क्यानजेभ भ्याली पुग्यौं । अनि आफूमा भएका सबै तनावहरु कम भएको अनुभूति भयो ।



source https://www.onlinekhabar.com/2021/02/934117

झापामा पहिलो रबर उद्योग सञ्चालनमा आउँदै

१५ फागुन, काठमाडौं । नेपालमा रबर खेती सुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कन्काई नगरपालिका–७ मा २० करोड रुपैयाँको लगानीमा स्थापित कन्काई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ ।

२०४६ सालमा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उनको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गरेका हुन् । हाल झापा, मोरङ र सुनसरीमा करिब ७ सय हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौं र झापाका लगानीकर्ताले साझेदारीमा कन्काई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए ।

नेपालमा सयौंको संख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब्स र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए ।



source https://www.onlinekhabar.com/2021/02/934118

विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

१५ फागुन, काठमाडौं । विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ ।

शनिबार बिहान लुम्बिनीमा भएको एक कार्यक्रमबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन (स्यांक्चुरी) सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो ।

परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको पिस स्यांक्चुरी विश्वकै ठूलो शान्ति-स्मारक हो । जहाँ सभाहलसहितको विशाल भवन बन्ने तयारी छ ।

सभामा बोल्दै श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने बताए । उनले जनताको एकएक रुपैयाँको सहभागिताबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउन आफूले शंकल्प साँचेको उद्घोष गरे ।

वेभसाइट सार्वजनिक कार्यक्रममा चर्चित व्यवसायीहरू प्रसिद्ध बहादुर पाण्डे, ध्रुव कुमार श्रेष्ठ, शंकर घिमिरेलगायत उपस्थित थिए ।

www. peacesanctury. org नामको उक्त वेभसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।



source https://www.onlinekhabar.com/2021/02/934115

‘हल अफ फेम’ सिजन-२ को फाइनल आज

काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित र हिमालय टेलिभिजनमा प्रसारित अनलाइन गायन प्रतियोगिता ‘हल अफ फेम’ सिजन-२ सुखद् यात्रा पार गर्दै समापनको  चरणमा पुगेको छ ।

प्रतियोगिताका अडिसनदेखि विभिन्न चरणहरू पार गर्दै यो प्रतियोगिताको शनिबार राति विजेता घोषित हुँदैछन् ।

विश्वमा कोरोना महामारीको प्रकोपको मध्यतिरबाट सुरू भएको यस प्रतियोगिताले मानिसहरूको पीडामा केही मात्रामा मल्हम लगाउने प्रयास गरेको थियो । विभिन्न देशका प्रतियोगिहरूले पठाएको अडियो क्लिपबाट छनौट गर्दै पहिलो चरणमा ५० जना प्रतिसपर्धीले प्रवेश पाएका थिए ।

५० जना प्रतिस्पर्धी विभिन्न ४ महादेशका रहेका थिए । अफ्रिका, एसिया, अष्ट्रेलिया सहित युरोपबाट समेत यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगीहरू जस्तै यस प्रतियोगितामा निर्णायकहरूले पनि अष्ट्रेलिया र नेपालबाट सहभागिता जनाएका छन् । नेपालबाट वरिष्ठ गायक दीप श्रेष्ठ र गायिका रजिना रिमालले निर्णायकको भूमिका निभाउँदा अष्ट्रेलियाबाट कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले यो भूमिका सम्हालेका छन् ।

विभिन्न १४ एपिसोड प्रसारण भएका यस प्रतियोगिताका हरेक एपिसोड विविध कारणले सम्झन लायक रहे । प्रतियोगिताको रोचक पक्ष भने युवा पुस्तासँगै बाल पुस्ताले पनि भाग लिनु रह्यो ।

अडिसन राउण्डको दोश्रो एपिसोडमा बिर्तामोड झापाका बालकले ’प्रसाद’ फिल्मको ’लै लै’ गीत गाए । उनले सबै निर्णायकहरूबाट ५-५ अंक गरी समग्रमा १५ अंक पाएका थिए । त्यस्तै, अडिसन राउण्ड अन्तर्गत तेस्रो एपिसोडमा हङकङबाट नामसाङ थापाले गीत गाएका थिए । प्रतियोगिताको चौथो एपिसोडमा अष्ट्रेलिया निवासी आँचल बस्यालको गायकीले पनि दर्शक तथा निर्णायकहरूको ध्यान खिचेको थियो ।

पाँचौ एपिसोडसम्म अडिसन राउण्ड भएको यस प्रतियोगितामा छैठौँ एपिसोडबाट भने च्यालेन्ज राउण्ड सुरू भयो । अडिसन राउण्डमा छानिएका ५० जनामध्येबाट च्यालेन्ज राउण्डका लागि २७ जना छनौट भएका थिए ।

च्यालेन्ज राउण्डमा पर्न सफल २७ जनालाई जम्मा ९ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूले ९ वटा गीतमा एक अर्कालाई च्यालेन्ज गरेका थिए । च्यालेन्ज राउण्डको पहिलो एपिसोडमा दर्पण रिजाल, गिरिजा खतिवडा र रोनिश श्रेष्ठले दीप श्रेष्ठको ’मेरो आखामा हरदिन’ गीत गाएका थिए । त्यस्तै, विजय सुनार, सन्दीप गहतराज र सञ्जीवनी महर्जनले रजिना रिमालको ’म मर्ने बेला तिमी चाहिँ आउनु’ गीत गाउँदा नामसाङ राई, दिनेश गुरूङ र सुरेन लिम्बुले ’हङकङ पोखरा’ गीत गाएका थिए ।

एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले देश बाहिर रहेका नेपालीरुलाई जोड्ने एउटा कडी हल अफ फेम बन्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘महामारीको बेलामा विश्वभर छरिएर रहेका नेपाली प्रतिभाहरुलाई गुम्सिएर बस्नु नपरोस् भनेर हामीले यो कार्यक्रम सुरु गरेका थियौं । यसैले अनलाइनको माध्यमबाट नै भए पनि प्रतिभाहरुलाई अघि बढाउने हाम्रो सोच बन्यो । कार्यक्रमको सफलताले निकै खुशी छु ।’

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठको सञ्चालनमा अघि बढेको हल अफ फेम सिजन-२ मा पछिल्लो समय सुमन कार्कीको इन्ट्रीलाई पनि दर्शकहरुले औधि रुचाएको पाइएको छ ।

गायन प्रतिस्पर्धासँगै विभिन्न स्रष्टाहरूलाई सम्मान गर्दै अगाडि बढेको हल अफ फेमले ११औँ र १२औँ एपिसोडमा स्वर सम्राट स्वर्गीय नारायण गोपालको स्मरण गर्दै अघि बढेको थियो । उक्त एपिसोडमा ९ जना प्रतियोगीले नै स्वरसम्राटका कालजयी गीतहरुमा आफ्नो आवाज भर्ने प्रयास गरे ।

निर्णायकमध्येका एक गायक विवेक श्रेष्ठले हल अफ फेमको मुख्य उद्देश्य नै प्रतिभा प्रोत्साहन र अज्रजहरुको सम्मान भएको प्रतिक्रिया दिए । उनले रञ्जित गजमेरलाई कार्यक्रममा निम्त्याउँदाको स्मरण गर्दै भने, ‘हाम्रा अग्रजहरुले कोरिदिएको बाटोमा नै हामी अघि बढेका छौं ।’

हल अफ फेमको निर्माणमा पूर्णत व्यवसायिक र अनुभवी नेपाली प्राविधिक र सिर्जनात्मक हातहरुको साथ थियो । कार्यक्रमका नेपाल संयोजक अभिमन्यु देवकोटा निर्माणको यो यात्रा चुनौतीपूर्ण र उतारचढावपूर्ण भए पनि फाइनल तहबाट फर्किएर हेर्दा रोमाञ्चक लागेको प्रतिक्रिया दिन्छन् ।

अन्तिम ६ जना चुनिइसकेपछि प्रतियोगितामा उपाधिका लागि टिका मगर, पूर्ण विक र विजय सुनारले अन्तिम ३ मा स्थान बनाउन सफल भएका छन् । अब उनीहरू तीन जनाले नै ’हल अफ फेम-२’को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हल अफ फेम सिजन-२ को उपाधि विजेता थाहा पाउन भने शनिबार राति नेपाली समय अनुसार ८ बजे हिमालय टेलिभिजन वा एमएनटीभी अष्ट्रेलियाका डिजिटल प्लेटफर्महरुमा हेर्नुपर्नेछ ।

एमएनटीभी अष्ट्रेलियाका प्रधान सम्पादक एवं ‘हल अफ फेम’ सिजन-२ का प्रमुख कार्यकारी निर्माता चिरञ्जीवी देवकोटाले यस प्रतियोगितामा प्रथम हुनेले १ लाख रूपैँया नगद पुरस्कारसहित ५ लाख बराबरको प्याकेज प्राप्त गर्ने बताए ।

यो प्याकेजमा एउटा गीत र म्युजिक भिडियो रेकर्डिङ, फोटोसेसनसहित प्रबर्धनका कार्यक्रमहरु समेटिएको छ । त्यस्तै, यस प्रतियोगिताका तीन जना निर्णायकहरू वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमालसँग अष्ट्रेलिया टुर गर्ने अवसर समेत प्रथम हुनेले पाउनेछन् ।



source https://www.onlinekhabar.com/2021/02/934112

सन्दीपले लाहाेरबाट पीएसएल खेल्ने, कराँची प्रस्थान

१५ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्ने भएका छन् ।

सन्दीपले लाहोर कलन्दर्सबाट पीएसएल खेल्ने भएका हुन् । जसका लागि सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।

सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।

यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन पीएसएल ड्राफ्टमा अनसोल्ड भएका थिए । तर यसपटक लाहाेरबाट खेलेका अफगानिस्तानका रासिद खान दुई खेलपछि नै टिम छाड्दै राष्ट्रिय टिमबाट खेल्न गएपछि सन्दीपले अवसर पाएका हुन् ।

अष्ट्रेलियामा बिग बास लिग खेलेर आएका सन्दीप आईपीएलमा अनसाेल्ड भएका थिए ।



source https://www.onlinekhabar.com/2021/02/934109

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

१५ फागुन, गण्डकी (कास्की) । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको आँबुखैरेनी गाउँपालिका-१ का वडा अध्यक्ष किसन थापाले बताए ।

पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणसँगै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आफूहरू सक्रियताका साथ लागेको उनले बताए ।

पर्यटक लक्षित गरी स्थानीय युवाले पनि होटेल व्यवसायमा लगानी बढाउन शुरु गरेका छन् । ‘आँधिमूल पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढाएका छौँ’, वडाध्यक्ष थापाले भने । पछिल्ला वर्षमा स्थानीय तहका साथै गण्डकी प्रदेशले पनि यसको विकासलाई चासो दिएको छ ।

आँधिमूलमा तनहँ, कास्की, गोरखा, लमजुङलगायत आसपासका जिल्लाका साथै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी युवराज मास्के मगरले जानकारी दिए । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पनि दर्शनार्थीको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

मन्दिरको उत्पत्ति सम्बन्धमा विभिन्न रोचक तथ्य रहेको बताउँदै उनले एक किंवदन्तीअनुसार परापूर्व कालमा एक जना बज्यै र उहाँकी नातिनी गाई चराउन यस ठाउँमा आएछन् । नातिनीलाई प्यास लागेछ । पानी खोज्दै जाँदा यहाँ छिपछिप पानी भेटिएछ र प्यास मेटिछन् । मगर भाषामा आँ भनेको प्यासअर्थात् तिर्खा र डि भनेको पानी भनिने भएको भएकाले तिर्खा मेटाउने पानी रहेको स्थानका कारण यसको नाम आँडिमूल भएको र पछि अपभ्रंस भई आँधिमूल भन्ने गरिएको तर्क छ ।

यसको वास्तविक पहिचान आँडिमूल भएकाले आगामी दिनमा ठाउँको नाम आँडिमूल नै भन्नुपर्ने स्थानीयवासी बताउँछन् । त्यस्तै अर्को किंवदन्तीअनुसार परापूर्वकालमा मावली भेट्न आउदै गरेकी चेलीबीच बाटोमा पर्ने जङ्गलको बिचमा आइपुग्दा ठूलो आँधिबेहरी आएछ । आँधिबाट जोगिन यस स्थानमा रहेको चापको रुखको फेदमा रहेको ओडारमा ओत लाग्न पुग्दा त्यही अलप भइछन् ।

पछि सपनामा आफन्तलाई रुखको फेदमा आँधिमूल बाराही रहेको र त्यहाँ नित्य नसके पनि पूर्णिमाको दिन धुप दीप गरी पूजाअर्चना गर्नु भन्ने आदेश भएछ । सो स्थानमा उत्खनन गर्दा शिला (बाराही) उत्पन्न भएपछि सोही रुखको फेदबाट निस्किएको पानीको मूललाई पोखरीको रुपमा परिणत गरियो । सोही समयबाट आँधिमूल बाराही र पोखरीमा उत्पन्न भएका माछा (मत्स्य अवतार)लाई यहाँका बासिन्दाले पुज्दै आएको जनविश्वास छ ।

पोखरी नजिकैको वनलाई संरक्षित वनको रुपमा संरक्षण गर्नुपर्ने, पोखरी रहेको माछालाई हुचिल र सर्पबाट जोगाउनु पर्ने, केटाकेटी र वस्तुभाउबाट जोगाउनु पर्ने, माछालाई चाराको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने तथा मन्दिर क्षेत्रमा बढ्दै गएको फोहोरमैला उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । पछिल्ला दिनमा आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

स्थानीय तहका साथै प्रदेशबाट पनि आँधिमूलको प्रवद्र्धन र विकासमा चासो दिएसँगै आगामी दिनमा यहाँको थप विकास हुने आशा जगाएको स्थानीवासीले बताए । नेपाल सरकारले देशभरबाट १०० पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०÷१० पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटन प्रवद्र्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा बजेटसमेत विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल बाराहीसहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र र्मिलुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।

यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवं स्थानीय तहको सहकार्यमा रु १५ लाख विनियोजन गरी तारबारलगायतका काम गरिएको आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् । यस क्षेत्रको संरक्षण र विकासका लागि आँधिमूल युवा क्लबका साथै यहाँको आँधिमूल महिला समूहले पनि उत्तिकै चासो दिएको छ । आँधिमूल महिला समूहले विसं २०५४ मा यहाँस्थित पानीको कुण्डभित्र शिवलिङ्ग स्थापना गरेको समूहकी संस्थापकसमेत रहेकी उपप्रमुख श्रेष्ठले बताइन् ।

पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्गलाई कालोपत्रे गर्ने तयारीका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरिएको छ । जङ्गलको खोचमा अवस्थित यस तीर्थस्थलमा पर्यटक सवारी साधनबाट सहजै पुग्न सक्दछन् । हिँड्न रुचि राख्ने पर्यटक आधा घण्टाको पैदलमार्ग हुँदै पुग्न सक्ने स्थानीयवासी गाउँकार्यपालिका सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार पछिल्ला वर्षमा विशेषतः सार्वजनिक बिदाको दिनमा मानिस यस स्थानमा घुम्न र वनभोजका लागि पर्यटक आउने गरेका छन् । यहाँको मनोरम दृश्यले आन्तरिक एवं बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधिमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

प्राकृतिक एवं सांस्कृतिक रुपमा आँधिमूल र आसपासको क्षेत्रको महत्व रहेको पर्यटनविद् हरिसिंह गुरुङले बताए । ‘यहाँको प्रकृति र संस्कृतिलाई जोड्दै आँधिमूललाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने धेरै सम्भावना छ’, उनले भने ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यस क्षेत्रको विकासलाई गाउँपालिकाले महत्व दिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग अपरिहार्य हुने बताए । आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न विभिन्न सङ्घ संस्थाले पनि चासो दिँदै आएका छन् ।

यहाँको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फेनिज) गण्डकी प्रदेशले हालै आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आँधिमूलमा नै सम्पन्न गरेको फोनिज गण्डकीका अध्यक्ष एमवि आस्थाको भनाइ छ । ‘आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न पनि हामीले यसै ठाउँमा अन्तक्रिया गरेका हौँ’, उनले प्रष्ट्याए, ‘यस्ता पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवद्र्धनमा फोनिजको सधैँ साथ र सहयोग रहने छ ।’



source https://www.onlinekhabar.com/2021/02/934106

शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन गर्दै व्रतालु (फोटो फिचर)

१५ फागुन,काठमाडौं । यो वर्षको श्री स्वस्थानी व्रतकथाको आज अन्तिम दिन । एक महिले व्रतकथाको आज विधिवतरुपमा समापन गरिँदैछ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

आज पनि शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका

दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

चन्द्रबहादुर आलेले कैद गरेका शालीनदीका केही तस्वीहरु –



source https://www.onlinekhabar.com/2021/02/934096

बाल विवाह गरेको आरोपमा बेहुला र उनका बुवा पक्राउ

१५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

‘बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘ तराई-मधेसको समाजमा बाल विवाह अत्याधिक हुने गरेको भए पनि उजुरी नआउँदा कारबाहीमा समस्या हुँदो रहेछ । उनले भने जानकारीमात्रै दिए पनि हामी कारबाही गर्छौ ।’

बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।

यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।



source https://www.onlinekhabar.com/2021/02/934093

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

१५ फागुन, काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।

नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।

स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ ।

अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।

पछिल्लो समय सन २०१५ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।

नेपाली नियोगका अनुसार सन् २०२२ मा स्तरोन्नतिभएको अवस्थामा समेत नेपालले अल्पविकसित मुलुकमा रुपमा पाइरहेको सुबिधा सन २०२६ सम्म नै पाउने भएको हो ।



source https://www.onlinekhabar.com/2021/02/934092

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More