Friday, 25 August 2023

बागलुङमा पहिरोले २ घर भत्किए, दर्जन बढी उच्च जोखिममा   

९ भदौ, ढोरपाटन (बागलुङ) ।  भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् ।

जिल्लाको बागलुङ नगरपालिका-६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ ।

घर भत्किँदा नारायणको १० लाख बराबरको क्षति भएको छ भने जमुनाको छ लाख बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताए । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताए ।

‘पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौं’, अध्यक्ष केसीले भने, ‘बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।’

विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण वस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताए । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोखे ।

बागलुङ नगरपालिका-४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उनको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताए ।



source https://www.onlinekhabar.com/2023/08/1355973

गाउँका महिलालाई उद्यमी बनाउने जियोकृषि एप्स

९ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले स्मार्ट फोन बोक्छन् । पछिल्दा दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको छ ।

तर, स्मार्टफोनको प्रयोग कुराकानीका अतिरिक्त फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल चलाउन धेरै हुने गर्छ । फुर्सद भयो कि सामाजिक सञ्जालमा व्यस्त हुने होइन मोबाइलको प्रविधि सदुपयोग गरेर उद्यमशील बन्ने महिलाको संख्या पनि बढ्दै गएको छ। उनीहरू मोबाइलकै माध्यमबाट आत्मनिर्भर हुन थालेका छन् ।

चितवनको कालिका नगरपालिका-४ की ३४ वर्षीया सुनिता बोट तिनैमध्येकी एक हुन् । कृषि पेशा गरिरहेकी उनी बजारमा तरकारीको भाउ घट्यो कि बढ्यो भन्ने मोबाइलबाटै थाहा पाउँछिन् । कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिचाइँ कसरी गर्ने, मौसम कस्तो हुँदै छ भन्‍ने जानकारी पनि उनको मोबाइलमै आउँछ ।उनलाई यी सबै जानकारी जियो कृषि नामक एप्सले उपलब्ध गराइरहेको छ ।

उनी भन्छिन्, ‘पहिला गाउँघरमै ग्राहकले भनेकै भाउमा तरकारी बेच्थेँ । जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवनशैली नै परिवर्तन भयो । अहिले बजार भाउअनुरुप तरकारी बेच्न पाएकी छु । धेरै फाइदा भएको छ ।’

उनले जियोकृषि एप्स पनि श्रीमानको मोबाइल मागेर चलाउन थालेकी हुन् । उनी भन्छिन्, ‘पहिला मोबाइल किन चाहियो भनेर बोक्दिनथेँ। तर, जब जियो कृषिमा तरकारीलगायतका पशुपालनबारे जानरी पाइन्छ र फाइदा हुन्छ भन्‍ने थाहा पाएँ, श्रीमानको मोबाइल मागेर सिकेँ।’

आफूले यसको प्रयोग गर्न थालेपछि अरू छिमेकीहरूलाई पनि सिकाइदिन थालेको उनी बताउँछिन् । ‘कसैको बाख्रा बिरामी हुन्थ्यो भने कसैको गाइ/भैँसी। अस्पताल जाँदा समय धेरै खर्च हुन्थ्यो । तर यसले समय र पैसा दुवै बचत भयो’ उनी भन्छिन् ।

मोबाइलबाटै घरमै बसीबसी सूचना र जानकारी पाउन थालेपछि उनी हाल केरा खेती गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘ कोरोनाको समय त निक्कै अप्ठेरो थियो। घरबाहिर जानै नपाउने स्थिति थियो। मैले पनि यही मौकालाई मोबाइलबाटै हेरेर केरा खेती थालनी गरेकी हुँ । अहिले केरा खेतीले मनग्यै आम्दानी दिएको छ ।’

हाल उनी तरकारी र केरा खेती गरेर वार्षिक ५ लाख रुपैयाँ बचत गर्छिन् । उनी भन्छिन्, ‘ तरकारी खेती राम्रो भएको छ । विचौलियाले ठग्न पाएको छैन।’

बर्दिया गुलरिया- ५ की ३५ वर्षीया उर्मिला नेपालीलाई पनि मोबाइल फोनबाटै जानकारी लिएर गाइपालन गर्दा सहज भएको छ । उनले अहिले पाँच वटा गाई थपेकी छिन् । उनलाई गाईको घाँस, खानेकुरा, भिटामीन र रोगहरू लाग्दा कसरी उपचार गर्ने र कहाँ लैजाने भन्नेबारे सबै जानकारी छ।

उनी भन्छिन्, ‘मैले पहिला गाईपालन गर्दा रोग लागेर हैरान भएकी थिएँ। समयमै गाईको औषधिउपचार नपाउँदा गाईले कम दूध दिन थालेको थियो। पछि जियो कृषि मोबाइल एप्स चलाउन थालेपछि गाईको उपचार गर्न सजिलो भयो। गाईले पहिलेभन्दा बढी दूध दिन थालेको छ। मैले गाई पनि थपेकी छु।’

एप्समा उपलब्ध ‘ईचौतारी’ मा गाईलाई कुनै रोग लागेमा कुराकानी गर्ने सुविधा छ । ‘त्यहीँ फोटो खिचेर पठाउँछौं। र त्यहाँ ई-चौतारीमा छलफल हुन्छ र पशु डाक्टरले समाधान दिनुहुन्छ,’ उनी भन्छिन् ।

ग्रामीण किसानलाई जियोकृषि एप्सको सुविधा अमेरिकी सहयोग नियोग (युएसएआईडी) को सहयोगमा हेफर इन्टरनेशनलले उपलब्ध गराएको हो । ग्रामीण महिलाको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर महिला उद्यमीलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हेफरका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी बताउँछन् ।

यसले गाउँघरका महिला किसानलाई सीप र ज्ञान प्रदान गर्ने र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उनको भनाइ छ ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका एकेडेमिक सहायक निर्देशक डा. स्मृतिकला पन्त र तारा पन्थीले गरेको अध्ययनले ग्रामीण महिलाहरुमा स्मार्टफोनको प्रयोग बढ्दै गएकाले त्यसमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने देखाएको थियो ।

उनीहरुले जियो कृषि एप्ससम्बन्धी कार्यक्रम कार्यान्वयन भएको क्षेत्रमा अध्ययन गरेकोमा त्यहाँ ९६ प्रतिशत ग्रामीण महिलाले स्मार्टफोन बोक्‍ने गरेको र ७५ प्रतिशतले स्मार्टफोनमा इन्टरनेट चलाउने गरेको देखिएको थियो। त्यस्तै ७० प्रतिशत महिलाहरूले प्रत्‍येक दिन १ देखि २ घण्टा नियमित स्मार्टफोन प्रयोग गर्ने गरेको पनि देखाइएको छ ।

उनीहरुको अनुसन्धान अनुसार ३९ प्रतिशत महिलाले स्मार्टफोनबाट कारोबार गर्ने गरेको तथ्यांक देखाइएको छ । यतिमात्रै नभएर व्‍यापारको लागि डिजिटल प्रविधिको प्रयोग ४४ प्रतिशत महिलाहरूले उद्यमशीलताबारेको जानकारी/ सूचना लिन स्मार्टफोनको प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै २७ प्रतिशत महिला किसानहरू कसरी उद्यमशीलताको पहुँचमा पुग्‍ने भन्‍नेबारेमा सोध्‍ने गरेको पाइएको छ ।

त्यस क्षेत्रमा ५५ प्रतिशत महिला तथा साना किसानले जियोकृषि एप्सको बारेमा थाहा पाएर उद्यम गर्न थालेको अध्ययनले देखाएको अध्ययन गर्ने पन्त र पन्थीले बताए ।

उनीहरू भन्छन्, ‘ यसले के देखाउँछ भने ग्रामीणमा महिलाहरू प्रविधिमा विस्तारै पोख्त हुँदैहुनुहुन्छ। यसबाट सीप विकास, आफ्नो बिजनेस गर्न सक्ने क्षमता र निर्णय तथा आर्थिक रुपमा आत्मनिर्भर भई अरूलाई पनि सहयोग गरिरहनु भएको छ।’

यसका साथै थप प्रविधिको दक्षता र साक्षरता बढाउन किसानहरूलाई प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्ने, नीति निर्माता र कार्यान्वयनकर्ताहरूसँग समन्वय गर्नुपर्नेमा उनीहरूको जोड छ।

पन्त भन्छिन्, ‘ अझै पनि डिजिटल साक्षरतामा खाडल देखिइरहेको छ। स्थानीय निकाय र विकासका साझेदार संस्थाहरूसँग सहकार्य गरी बजार विकासको पनि त्यति नै खाँचो छ। अनि बल्ल महिला तथा ग्रामीण किसानहरू आत्मनिर्भर बन्न सक्छन्।’

ग्रामिण महिलाहरूलाई उद्यमशीलताको सीप र दक्षतामा विकासका सबै साँझेदारहरूले सहयोग गरेमा मात्र दीगो विकासका लक्ष्य चुम्‍ने आट र सहास आउन सक्‍ने लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेल बताउँछन्।

‘दीगो विकासका लक्ष्‍यहरूमा महिलाको समान सहभागिता हुनु जरूरी छ। अझ प्रविधिमार्फत महिला उद्यमीहरू नेपालले बढाउन सके दीगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान हुनेछ । साथै मर्यादित काम र आर्थिक वृद्धिले थप उचाइ लिनेछ।’ पौडेल भन्छन् ।

आगामी दिनमा ग्रामिण महिलाको क्षमता वृद्धि र आर्थिक आत्मनिर्भरताका साथै समान सहभागितामा आफूहरूको सहयोग रहने योजना आयोगकी सदस्य अनिता शाह ढुंगाना जोड दिन्छिन् ।

‘नेपाल कृषि प्रधान देश भएकाले यहाँ कृषिलाई उद्यममा रुपान्तरण गर्नु अहिले धेरै जरुरी छ। कृषिलाई प्रविधिको माध्यमबाट महिला दिदी बहिनीहरूले उकास्ने लक्ष्यमा लागेको देख्दा तीनै तहका सरकारले सहयोग, समन्वय र साथ दिनुपर्छ।’ ढुंगाना जोड दिन्छिन् ।

यता, देशभर  १० लाख महिला तथा साना किसानले जियो कृषि एप चलाउने गरेको जियोकृषि एप्सका  सञ्चालक विकास डंगोल बताउँछन् । उनी भन्छन्, ‘खेतको जीपीएस नक्सा, बालीहरूको विवरण, पशुपालनको तरिका, जलवायुमैत्री कृषि, कालिमाटीसहित देशका मुख्य शहरमा विक्री हुने तरकारीको मूल्यसूची सँगै मौसमलगायतका सम्पूर्ण विवरण समावेश छ।यसले किसान तथा कृषि उद्यमीलाई सहज बनाएको छ।’

जियो कृषि एप्समा  बाली तथा पशु स्वास्थ्यको जाँच तस्वीर राखेर घरमै बसीबसी थाहा पाउने सुविधानसमेत रहेकाले कृषि उद्यमीहरूले बाली वा पशुमा कुनै रोग लागेमा एप्सबाटै पत्ता लगाउन सकिने डंगोल दाबी गर्छन् । उनी भन्छन्, ‘ बाली तथा पशु स्वास्थ्य जाँचका लागि उहाँहरूले तस्वीर खिचेर वा बोलेर समस्या राखेमा हामीले सम्बन्धित विज्ञको प्रतिक्रिया वा सुझाव राखिदिन्छौं।  यसका लागि एस्पमै सहायता केन्द्रमा सम्पर्क नम्बर राखिदिएका छौं। ‘

यतिमात्रै  होइन कृषि एप्समा सरकारी कार्यालय (कृषि अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग अन्तर्गतका कार्यालयहरू, पशु सेवा विभाग अन्तर्गतका कार्यालयहरू, प्रादेशिक कृषि कार्यालयहरू, कृषि ज्ञान केन्द्र तथा भेटेनरी र प्रादेशिक कृषि मन्त्रालयहरू), कृषि शिक्षण संस्थान, गैर सरकारी संघ संस्थाहरू, नविनतम् कृषि प्रविधिहरू, समिति/ बोर्ड/संस्थान / मल खाद क्यालकुलेटर समेत राखिएको उनको भनाइ छ ।

‘कृषि उद्यमीहरुले आफूले कति क्षेत्रफलमा के तरकारी लगाउँदा कति मल, खाद चाहिन्छ  भनेर त्यही हिसाब किताब समेत गर्न सक्नुहुनेछ। साथै माटो अम्लीय छ की क्षारीय छ भनेर पनि सजिलै हिसाब गरेर माटोको परीक्षण गर्न सक्ने सुविधा एप्समा राखी दिएका छौं।’ डंगोल भन्छन् ।



source https://www.onlinekhabar.com/2023/08/1355951

Thursday, 24 August 2023

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

८ भदौ, झापा । इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि आक्रमण भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएका प्रहरी निरीक्षक कटुवालको उपचारको लागि बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचारार्थ लगिएको छ ।

प्रहरीलाई आक्रमण गर्नेहरु मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए ।



source https://www.onlinekhabar.com/2023/08/1355507

पूर्व मुख्यसचिव पौड्यालको बयान : गुठीले नै नक्कली प्रस्ताव ल्याएछ, थाहै नपाएपछि कसरी रोक्नु ?

७ भदौ, काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरोकारवाला निकायहरुले नै झुक्याएर ललितानिवासको सरकारी जग्गा शंकास्पद पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गरेको बताएका छन् ।

किर्तेको अनुसन्धानका क्रममा ब्यूरोमा गएर ‘कागज गरेका’ उनले आफू मुख्यसचिव हुनुभन्दा पहिले नै मन्त्रिपरिषदमा पेश भएको प्रस्ताव विषयगत समितिमा पुगेकाले आफूले केही गर्न नसकेको जिकिर गरेका छन् । अनियमितताबारे निकै पछि मात्रै थाहा पाएको दाबी गर्दै उनले पहिल्यै नक्कलीको छनक पाएको भए रोक्न पहल गर्ने बताएका छन् ।

ललितानिवास क्षेत्रभित्र समरजंग कम्पनीको नाममा रहेको जग्गा १४ असोज २०६९ सालको मन्त्रिपरिषदको निर्णयबाट पशुपति टिकिन्छा गुठीका नाममा दर्ता भएको थियो ।

भूमाफियाहरुले ललितानिवासमा बाँकी रहेको जग्गा व्यक्तिका नाममा सार्न नक्कली गुठी बनाई, त्यसको लगत खडा गरी गुठीका नाममा दर्ता गरेको अनुसन्धानबाट खुलेको छ ।

‘पशुपछि टिकिन्छा’ गुठीका नाममा दर्ता भएपछि त्यो सरकारी जग्गा मोहीहरुको नाममा दर्ता भयो र शोभाकान्त ढकाल अनि रामकुमार सुवेदीलगायतको नाममा गयो । करिब साढे ३ रोपनी जग्गाको दर्ता अभिलेख सच्याउने निर्णय भएपनि कार्यान्वयन गर्दा झण्डै ५ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भएको अनुसन्धानबाट खुलेको छ ।

पशुपति टिकिन्छा गुठीबारे मन्त्रिपरिषदबाट विवादास्पद निर्णय हुँदा लिलामणि पौड्याल मुख्यसचिव थिए । उनले प्रस्तावमा आएका कागजात हेर्दा नक्कली भनेर शंका गर्नुपर्ने आधार नदेखिएकाले सबैलाई झुक्यानमा पारेको हुनसक्ने बयान गरेका छन् । उनले चारवटा आधार अघि सार्दै मन्त्रिपरिषदमा पेश भएको प्रस्ताव विश्वासयोग्य रहेको र शंकाको अवस्था नदेखिएको बताए ।

‘प्रस्ताव पेश गर्दा सम्बन्धित मन्त्रालयले यो जग्गा लगतमा गुठीको छ, नापी हुँदा साविकमा गुठीकै नाममा नापी भएको छ, सुवर्ण शमशेरको जग्गा जफत गर्दा यो जग्गा पनि बालुवाटार भित्र परेको हो भनेको छ’ सरकारी साक्षीको रुपमा कागज गर्दै उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको वडा नं. ४ ले सर्जमिन मुचुल्का गरी गुठीका नाममा दर्ता गरिदिन सिफारिस गरेको व्यहोरा उल्लेख गरी लगत बमोजिम दर्ता सच्याउन आवश्यक छ भनी मन्त्रिपरिषद्मा पेस गरेको देखिन्छ ।’

त्यो जग्गा पशुपति टिकिन्छा गुठीका नाउमा दर्ता गर्नका लागि २०५९ सालमै दुई पटक गोरखापत्रमा सूचना निकालेको र त्यसमा कसैले हकदावी नगरेको भन्ने व्यहोराको प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको थियो । बयानमा उनले भनेका छन्, ‘बालुवाटारको जग्गाको अभिलेख राख्ने समरजंग कम्पनीले यी कित्ताहरु उसको लगतमा नभिडेको भनी लेखेको पनि प्रस्तावमा उल्लेख छ ।’

साथै, त्यो विषय सर्वोच्च अदालतमा दुई पटक रिटका रुपमा पुगेको अनि गुठी नक्कली हो भन्ने विषय त्यहाँ पनि नउठेको भन्दै उनले शंका गर्नुपर्ने अवस्था नै नदेखिएको बताएका छन् । ‘मुख्यसचिवसँग भएको सूचना यही प्रस्ताव हो । मलाई जग्गा सरकारकै हो र गुठी नक्कली हो भन्ने आधार, अधिकार, ज्ञान, दायित्व र भूमिका यो प्रस्तावको हकमा छैन,’ उनले बयानमा भनेका छन्, ‘प्रस्तावमा जे-जे लेखिएको छ प्रमाणित गर्ने दायित्व लेख्नेको हो । गलत लेखेको भए सजायको भागिदार तिनीहरु नै हुन्छन् ।’

मन्त्रिपरिषदले फरक निर्णय गरेको र प्रमाणीकरण गर्दा अर्कै प्रमाणीकरण गरेको भए आफू सजायको भागी हुने भन्दै उनले प्रस्तावमा उल्लेख गरिएको विषय पुष्टि गर्ने दायित्व मन्त्रालयको हुने जिकिर गरेका छन् । प्रस्ताव बनाउन मुख्यसचिवको भूमिका नहुने भएकाले घटनामा आफूलाई मुछ्न नहुने उनको जिकिर छ ।

‘गुठी सम्बन्धी अभिलेख राख्ने, प्रमाणीकरण गर्ने, जाँचबुझ एकिन गर्ने मन्त्रालय नै हो, मुख्यसचिव होइन,’ उनले बयानमा भनेका छन्, ‘प्रस्ताव निर्णय गर्न हरतबरले योग्य छ र निर्णय गर्ने अधिकार म समक्ष नभएकाले मन्त्रिपरिषदले निर्णय गरिदेओस् भनेर गरिएको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भैसकेपछि मुख्यसचिवको भूमिकामा जिम्मेवारी लिएको मैले के, कुन हैसियत, आधार, अधिकार र सूचनाका आधारमा उक्त जग्गा सरकारी हो र गुठी नक्कली हो भन्न सक्छु ?’

मन्त्रिपरिषद्मा आएको प्रस्ताव सक्कली हो कि नक्कली भनेर छानविन गर्ने अभ्यास अहिलेसम्म नभएको भन्दै उनले अरुले ल्याएको प्रस्तावका बारेमा आफूलाई किर्तेको अभियोग लगाउन नहुने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘मन्त्रालयको सचिव र मन्त्रीले आफ्नो कार्यक्षेत्र भित्रको यो विषयमा यसो हुनुपर्छ भनेर किटान राय दिएको अवस्थामा मुख्यसचिवले त्यसको छानबिन गर्दैन ।’

‘सूचना पाएको भए रोक्थें’

पौड्यालले कतैबाट कुनै कारणले थोरै शंका गर्ने सूचना आएको भए आफ्नो अधिकारक्षेत्र भित्र नपरे पनि त्यो निर्णय रोक्न सक्दो पहल गर्ने दावी गरेका छन् । उनले आफ्नो अधिकार नहुँदा नहुँदै पनि सरकारी सम्पत्ति जोगाउनका लागि पहल गरेको विवरण बयानमा खुलाएका छन् ।

नारायण गोपाल चोकको सार्वजनिक जग्गा अतिक्रमण रोक्न, धोबीखोला किनाराको २७ रोपनी जग्गा अतिक्रमण रोक्न, धोबीखोला किनारकै घरेलु तथा साना उद्योग विकास समितिको ४ रोपनी जग्गा दर्ता रोक्न, बागमती किनाराका जग्गाहरु अतिक्रमण हटाउन, विशाल मिलन केन्द्रको जग्गा व्यक्तिका नाममा दर्ता गर्न रोक्न र नवलपरासी बर्दघाटको २ बिघा जग्गा अनधिकृत व्यक्तिले गर्न लागेको दर्ता रोक्न आफूले पहल गरेको भन्दै उनले ती घटनामा अन्यत्रबाट सूचना आएको बताएका छन् ।

उनले बयानमा भनेका छन्, ‘२०५९ सालमै गुठीमा दर्ताका लागि गोरखापत्रमा सूचना निकालेको व्यहोरा प्रस्ताव उल्लेख भएको अवस्थामा म पदमा बसेको त्यसपछिका १३ वर्षमा कालखण्डमा यति धेरै जग्गा सम्बन्धी अपचलनमा सूचना आउँदा मलाई यसबारेमा कसैले गलत हुँदैछ भनेर त्यसको सूचना दिएनन् ।’

मन्त्रिपरिषदमा मुलुकको हित विपरीतका प्रस्ताव आएको थाहा पाउँदा आफूले त्यसको विरोध गरेको भन्दै उनले कतिपय अवस्थामा ‘मन्त्रिपरिषदको निर्णय अवरोध गरेको भनेर राजीनामा मागिएको’ बताएका छन् । नेपाल विद्युत प्राधिकरणको डिजल प्लान्ट खरिद गर्ने मन्त्रिपरिषदको निर्णय आफू अध्यक्ष रहेको सञ्चालक समितिले उल्ट्याइदिएको भन्दै उनले आफू गृहसचिव हुँदा सूत्र परिचालनका नाममा पाउने सुविधा नलिएर करिव ३६ लाख रुपैयाँ राज्यकोषको रकम जोगाएको दाबी पनि गरेका छन् ।

हेर्नुहोस्, मुख्यसचिव पौड्यालको बयानको सारसंक्षेप-

प्रस्ताव पेश गर्दा सम्बन्धित मन्त्रालयले जग्गा लगतमा गुठीको छ, नापी हुँदा साविकमा गुठीकै नाउमा नापी भएको छ । सुवर्ण शमशेरको जग्गा जफत गर्दा यो जग्गा पनि बालुवाटार भित्र परेको हो र कामपा वडा नं. चारले सर्जमिन मुचुल्का गरी गुठीका नाममा दर्ता गरिदिन सिफारिस गरेको व्यहोरा उल्लेख गरी लगत बमोजिम दर्ता सच्याउन आवश्यक छ भनी मन्त्रिपरिषदमा पेश गरेको देखिन्छ ।

गुठीका नाउमा जग्गा दर्ता गर्नका लागि २०५९ सालमै दुई पटक गोरखापत्रमा सूचना निकालेको र त्यसमा कसैले हकदावी नगरेको व्यहोरा पनि प्रस्तावमा उल्लेख छ ।

बालुवाटारको जग्गाको अभिलेख राख्ने समरजंग कम्पनीले यी कित्ताहरु उसको लगतमा नभिडेको भनी लेखेको पनि प्रस्तावमा उल्लेख छ ।

यो विषय सर्वोच्च अदालतमा दुई पटक रिटका रुपमा पुगेको र गुठी नक्कली हो भन्ने विषय त्यहाँ पनि उठेको देखिँदैन ।

यो प्रस्तावका आधारमा म मुख्यसचिवले मन्त्री र सचिवलाई यो तपाईंले नक्कली गुठीलाई सक्कली भनी प्रस्ताव ल्याउनु भयो भनेर अभियोग नै लगाउने ठाउँ कानून, क्षमता, हैसियत, ज्ञान, सूचनाले कतै देखिँदैन ।

मन्त्रिपरिषदमा आएको प्रस्ताव सक्कली हो वा नक्कली हो भनेर छानविन गर्ने गरेको मेरो जानकारीमा छैन । कुन गुठी हो वा होइन भनेर छुट्टयाउने मेरो कार्य क्षेत्र भित्रको विषय होइन । मेरो क्षमताको विषय र विज्ञताको विषय पनि होइन ।
मन्त्रिपरिषदमा दर्ता भएको प्रस्ताव बाहेक अरु कागजातहरु मन्त्रालयमै रहन्छन् । मन्त्रालयको सचिव र मन्त्रीले आफ्नो कार्यक्षेत्र भित्रको यो-यो विषय यसो हुनुपर्ने/पर्छ भनेर किटान राय दिएको अवस्थामा मुख्यसचिवले त्यसको छानबिन गर्दैन ।

यस अवस्थामा मलाई यो जग्गा सरकारकै हो र गुठी नक्कली हो भन्ने आधार, अधिकार, ज्ञान, दायित्व, र भूमिका यो प्रस्तावको हकमा छैन । प्रस्तावमा जे-जे लेखिएको छ त्यो प्रमाणित गर्ने दायित्व त्यो लेख्नेको हो र गलत लेखेको भए सजायको भागिदार तिनीहरु नै हुन्छन् ।

यदि मन्त्रिपरिषदले फरक निर्णय गरेको थियो र त्यो निर्णय प्रमाणीकरण गर्दा मन्त्रिपरिषदले गरेको निर्णय भन्दा फरक प्रमाणीकरण गरें भने म सजायको भागी हुनुपर्छ, न कि जे निर्णय गरेको हो त्यही प्रमाणीकरण गर्दा ।

यो प्रस्ताव निर्णय गर्न हरतवरले योग्य छ र निर्णय गर्ने अधिकार म समक्ष नभएकाले मन्त्रिपरिषदले निर्णय गरिदेओस् भनेर गरिएको प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भैसकेपछि मुख्यसचिवको भूमिकामा जिम्मेवारी लिएको मैले के, कुन हैसियत, आधार, अधिकार र सूचनाका आधारमा उक्त जग्गा सरकारी हो र गुठी नक्कली हो भन्न सक्छु ?

कतै कुनै कारणबाट पनि थोरै शंका गर्ने सूचना भइदिएको भए मेरो अधिकार क्षेत्र भित्र नभए पनि म यस्तो निर्णय रोक्नको लागि मेरो सबै सामर्थ्य प्रयोग गर्ने थिएँ । किनभने मैले त्यस्तो धेरै पटक गरेको छु ।

२०५९ सालमै गुठीमा दर्ताका लागि गोरखापत्रमा सूचना निकालेको व्यहोरा प्रस्ताव उल्लेख भएको अवस्थामा म पदमा बसेको त्यसपछिका १३ वर्षमा कालखण्डमा यति धेरै जग्गा सम्बन्धी अपचलनमा सूचना आउँदा मलाई यस बारेमा कसैले गलत हुँदैछ भनेर त्यसको सूचना दिएनन् ।

कतिपय अवस्थामा मन्त्रिपरिषदले निर्णय गरेर दिएको आदेश -विद्युत प्राधिकरणमा डिजल प्लान्ट खरिद गर्न) राष्ट्रको हितमा छैन भन्ने लागेर म अध्यक्ष भएको समितिबाट उल्टाइदिएको छु ।

पटक पटकका त्रुटीपूर्ण निर्णयहरु र सरकारी कागजातको सक्कल अभिलेख राख्नेले कागजात नै सच्याई नक्कलीलाई सक्कली हो भनी सरकारी अधिकारीले नै प्रमाणीकरण गरेर दिएको अवस्थामा त्यसउपर छानबिन गर्नुपर्ने निकायले समयमै छानबिन नगरिदिंदा पटक-पटक गरी सरकारी सम्पत्तिहरु अपचलन हुने स्थिति आयो ।

यदि यो गुठी नक्कली हो भन्ने कुरा मैले थाहा पाउनु नै पर्ने भन्ने हो भने यही व्यहोरा सर्वोच्च अदालतको फैसला प्रमाणीकरण गर्ने इजलास सहायकलाई लागू हुन्छ कि हुँदैन ? मैले अहिले गरेको काम न्यायालयले गरेको फैसला प्रमाणीकरण जस्तै हो ।

म २२ साउन, २०६९ देखि २१ साउन २०७२ सम्म मुख्यसचिव भएँ । यो प्रस्ताव म मुख्यसचिव हुनुभन्दा पहिले ९ साउन, २०६९ मा दर्ता भएको छ र १८ असोजमा निर्णय भएको छ । यदि १८ असोजभन्दा पहिले नै मन्त्रिपरिषद परिवर्तन भएको भए प्रस्ताव पनि त्यसरी नै फिर्ता जाने थियो । यो प्रस्ताव मेरो कार्यकालमा मन्त्रिपरिषदमा पेश (दर्ता) भएको होइन र मलाई जवाफ दिइरहनु पर्ने पनि होइन, प्रस्ताव दर्ताको पुष्ट्याई दिन खोजेको होइन । वस्तुस्थितिको जानकारी गराएको मात्र हो ।

आजीवन भ्रष्टाचार, अनियमितता, बेथिति सरकारी सम्पत्तिको दुरुपयोग र कामचोर प्रवृत्तिविरुद्ध कुनै लोभलालच, डरधाक वा धम्कीका सामु नझुकी, ज्यानको बाजी थापेर लडेको म सरकारी कागजात कीर्ते जस्तो जघन्य अपराधमा संलग्न हुने कुरा मेरो कल्पनाभन्दा बाहिरको विषय हो ।

मैले गृह सचिव हुँदा सूत्र परिचालन खर्चका नाउँमा दैनिक रु.२० हजारका दरले बिल भरपाई पेश नगरी झिक्न पाउने र अघि पछिकाले झिकिरहेको, मेरो करिब छ महिनाको कार्यकालमा हुने करिब रू ३६ लाख रकम समेत लिइनँ । पूर्व पदाधिकारीहरुले पेन्सन रकम लिइरहँदा करिव रु.१५ लाख रुपैयाँ मैले लिइनँ ।
म कुनैबेला सहसचिवको हैसियतमा डेरामा बस्दा दुई जना जुनियर अधिकृत डेरामा एउटै घरमा बस्थंे । मेरो ११ वर्षकी छोरीले ६/७ केजीको झोला बोकेर स्कूल जाँदै गर्दा म त्यही बाटो ल्याण्डक्रुजरमा अफिस जाने गर्थें ।

मेडिकल कलेजहरुले अफर गर्दा मैले छोरीलाई एमबीबीएस पढाइनँ । छात्रवृत्तिमा उनको नाम निस्केन । आज सरकारी जग्गा किर्ते गर्ने काममा तिम्रो बाबुको नाम पनि छ भन्दा आज उनको मनमा के परिरहेको होला भन्ने कुराले मलाई उद्देलित बनाउँछ ।

मैले कानूनले गर्न नमिल्ने कुनै काम गरेको छैन । कानूनले गर्नै पर्छ भन्ने कुनै काम छोडेको छैन । मैले यो विषयमा गरेको भनेको मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण मात्र हो र मन्त्रिपरिषदले गरेको निर्णय मैले प्रमाणीकरण गर्नैपर्छ । त्यो मेरो अपराध होइन, अनिवार्य कानुनी दायित्व हो । तसर्थ मलाई अभियोग लगाउनुपर्ने कुनै कारण देख्दिनँ ।



source https://www.onlinekhabar.com/2023/08/1354949

Wednesday, 23 August 2023

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते, कुखुराको खोरभित्र थुनिएको चितुवाको उद्धार गरिंदै

७ भदौ, काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।

चितुवा कुखुरापालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ ।

वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मूभ भइसकेको जानकारी दिए ।

चितुवा भेटिएको स्थान थानकोट र कीर्तिपुरको सिमानामा पर्दछ । थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ ।

थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि ती व्यक्तिले प्रतिरक्षा गर्ने क्रममा चितुवा पनि घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/08/1354901

बास्केटबल कप्तान श्रेया उत्साहित, एसियन गेम्समा खेल जित्ने लक्ष्य

७ भदौ, काठमाडौं । एक महिनापछि चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने २९ खेलमध्ये एउटा खेल हो- थ्री अन थ्री महिला बास्केटबल ।

फुलकोर्ट बास्केटबलभन्दा फरक थ्री अन थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो पटक सहभागिता जनाउन लागेको हो ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा नेपालको महिला टोलीले फुल कोर्ट बास्केटबल नै खेलेको थियो । तर त्यसपछि भने नेपालले थ्री अन थ्री मात्र खेलेको छ । यस पटक त बास्केटबलमा नेपालको महिला टोलीमात्रै सहभागी हुने छ ।

एसियन गेम्समा पदक जित्नु नेपालका लागि ठूलो चुनौती बनिसकेको छ । धेरै जसो खेल र खेलाडीका लागि सहभागी हुन पाउनु र अनुभव बटुल्नु नै ठूलो अवसर हो । बास्केटबलका लागि बलिया टिमसँग खेल्न पाउनु नै सिक्ने अवसर हुनेछ । नेपाली टिमले एसियाली खेलकुदमा पदक भन्दा पनि खेल जित्ने लक्ष्य राखेको छ ।

कप्तान श्रेया खड्काले भनिन्, ‘हाम्रो लक्ष्य लिग चरणमा खेल जित्ने नै हो । अर्को भनेको ठूला टिमसँग खेल्दा धेरै सिक्ने अवसर पनि पाइन्छ ।’

एसियाली खेलकुदको अनुभवले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने उनको लक्ष्य छ । ‘१३औं सागमा हामीले रजत पदक जित्यौं । अब पाकिस्तानमा हुने १४औं सागमा स्वर्ण जित्ने रहर छ र त्यही नै म र हाम्रो टिमको लक्ष्य पनि हो’, उनले सुनाइन् ।

अनुभवी खेलाडीको काँधमा कप्तानको जिम्मेवारी

श्रेया नेतृत्वको टिममा गरिशा सिलवाल, मिना गुरुङ र रिनछेन मोक्तान छन् ।

श्रेयासँगै गरिशा र मिनाले सिनियर टिमबाट फुल कोर्टमा खेलिसकेका छन् । २०१९ मा नेपालमै भएको १३औं सागमा थ्री अन थ्रीतर्फ उनीहरु सम्मिलित टिमले कांस्य पदक जितेको थियो ।

चार वर्षअघि अनुसा मल्लको कप्तानीमा एसियन गेम्स खेलेकी श्रेया यस पटक आफैं कप्तान बनेपछि उत्साहित छन् । नेतृत्वलाई उनले अवसर र चुनौती दुवै मानेकी छन् ।

‘कप्तान भएपछि धेरै कुराहरु हुन्छ । ग्रेट पावर कम्स ग्रेटर रेस्पोन्सबिलिटी’, कप्तानीबारे उनले भनिन्, ‘यसअघि खेलाडी हुँदा आफ्नो बारेमात्र सोच्दा हुन्थ्यो, कप्तान भएपछि त सबै कुरा सेट गर्नुपर्छ ।’

त्यसमा खेलको पनि दबाब थपिने उनले बताइन् ।

‘ठूला टिमसँग खेल्दा राम्रो अनुभव हुन्छ सिक्ने मौका पाइन्छ’, श्रेयाले भनिन्, ‘त्यो बेला हामीसँग खेलेको दुई टिम सेमिफाइनल पुगेका थिए ।’

‘थ्री अन थ्रीमा कोच सँगै हुँदैनन् । कोचले केही निर्देशन दिन पाउँदैनन् । सबै आफैंले हेर्नुपर्छ’, उनले थपिन्, ‘स्ट्राटेजी, डिसिजन मेकिङ कोर्टमा कम्युनिकेसनदेखि टिम सेट गर्ने बललाई कसरी खेलाउने सबै जिम्मेवारी कप्तानकै हुन्छ ।’

सन् २०१६ मा नेपालमै भएको साउथ एसियन बास्केटबल साबा च्याम्पियनसिपबाट फुलकोर्टमा डेब्यु गरेकी श्रेयाले युवा उमेरमै नेपालका लागि धेरै खेल खेलिसकेकी छन् । उनले साबा दुई पटक, एसियन गेम्स (यू-२३) र दक्षिण एसियाली खेलकुद एक एक पटक खेलेकी छन् ।

२०१९ मा भएको १३औं साग र २०२२ मा भएको साबामा नेपालले रजत पदक जित्दा श्रेया नेपाली टिमको सदस्य थिइन् ।

श्रेयाले सन् २०१३ मा थाइल्याण्डको बैंककमा भएको यू-१८ एसियन थ्री अन थ्री च्याम्पियनसिपबाट नेपालको लागि पहिलो पटक प्रतिनिधित्व गरेकी थिइन् ।

यस्तै २०१८ मा श्रीलंकामा भएको साउथ एसियन क्वेस्ट च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् ।

श्रेया २०१६ मा भारतमा भएको १२औं साग खेल्ने टिममा रहे पनि नेपाल अन्तिम समयमा खेल्न बञ्चित हुँदा खेल्ने अवसर पाइनन् ।

घरेलु बास्केटबलमा भने नेपाल पुलिसबाट खेल्दै थ्रुपै उपाधि समेत जितेकी छन् । सुरुमा त्रिभुवन आर्मीबाट खेल्दै सातौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी उनले त्यसपछि नेपाल पुलिसबाट आठौं राष्ट्रिय खेलकुद र पहिलो महिला बास्केटबल लिगमा उपाधि जितेकी थिइन् ।

गत वर्ष गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदमा भने उनले रजत पदक जितेकी थिइन् । स्कुल लेभलदेखि नै बास्केटल खेल्न थालेकी श्रेयाको लागि पछि यही प्यासन बन्यो । अध्यननलाई समेत सँगै अगाडि बढाएकी उनी हाल किंग्स कलेजमा ‘एमबीए ननप्रफिट’ गरिरहेकी छन् ।

पाँच वर्षअघि इन्डोनेसियाको जाकार्ता र पालेम्बुङमा भएको १८औं एसियन गेम्स खेलेकी उनी त्यतिबेलाको अनुभव अहिले काम लाग्ने बताउँछिन् ।

इन्डोनेसियामामा नेपालले कुनै खेल जितेन तर ठूला टिमसँग खेल्दै अनुभव लिने अवसर भने पायो । पुल बी मा जापान र चाइनिज ताइपेई जस्ता बलियो राष्ट्रसँग खेलेको नेपालले मंगोलिया भने कडा टक्कर दिएको थियो ।

‘ठूला टिमसँग खेल्दा राम्रो अनुभव हुन्छ सिक्ने मौका पाइन्छ’, श्रेयाले भनिन्, ‘त्यो बेला हामीसँग खेलेको दुई टिम सेमिफाइनल पुगेका थिए ।’

मंगोलियाविरुद्ध नेपालले कडा टक्कर दिए पनि १२-११ ले पराजित भएको थियो । त्यसखेलमा नेपालका लागि श्रेयाले नै सर्वाधिक ४ अंक स्कोर गरेकी थिइन् । त्यसमा भावना लामाले ३ तथा अनुसा मल्ल र एलिना गुरुङले समान दुई स्कोर गरेका थिए ।

पहिलो खेलमा चाइनिज ताइपेईसँग १९-८ ले पराजित भएको नेपाल अन्तिम खेलमा भने जापान विरुद्ध भने २१-४ ले पराजित भयो ।

नेपालले खेलेको मंगोलिया बाहेक जापान र चाइनिज ताइपेई दुवै सेमिफाइनल पुगे । जापान दोस्रो हुँदा चाइनिज ताइपेई चौथो भएको थियो ।

१९औं एसियन गेम्सको तयारीमा समस्या

नेपाली टिमले वैशाख अन्तिमदेखि एसियन गेम्सका लागि तयारी गरिरहेको छ । लामो समयदेखि प्रशिक्षणमा रहे पनि बास्केटबलले अझै पनि पर्याप्त रुपमा प्रशिक्षण गर्ने स्थान र सामग्री पाएको छैन ।

प्रशिक्षक विकास शाहीले भने, ‘कहिले यता कहिले उता गरेर प्रशिक्षण गर्नुपरेको छ । राम्रो फ्यासिलिटी भए मात्र राम्रो नतिजा ल्याउन सकिन्छ ।’

कहिले सूर्य फुटसल त कहिले माम्बा सेन्टरमा उनीहरु तयारी गरिरहेका छन् । यो बास्केटबल मात्र नभएर हरेक जसो खेलकै समस्या हो ।

कप्तान श्रेयाले पहिले तुलनामा अहिले स्ट्रेन्थ एण्ड कन्डिसन ट्रेनिङ थपिएको तर पर्याप्त नभएको बताइन् । ‘हामीले खेलको प्रशिक्षणसँगै स्ट्रेन्थवाइज तयारी गरिरहेका छौं । तर अझै पनि धेरै कुराहरु आवश्यक छ ।’

यस पटक बास्केटबल खेलाडीले फिटनेसमा पनि विशेष ध्यान दिएका छन् । ‘पावर लिफ्टिङ पनि गरिरहेका छौं । जसलाई जुन किसिमको वर्कआउट आवश्यक पर्छ त्यही अनुसार नै गरिरहेका छौं ।’ फिट भएपछि नै मज्जाले खेल्न सकिन्छ’, श्रेयाले भनिन् ।

खेलाडीहरुले अझै पनि पर्याप्त खेल सामाग्री पाएका छैनन् । जसले गर्दा पूर्ण रुपमा प्रशिक्षण हुन सकिरहेको छैन ।

अपेक्षा र चुनौती

थ्री अन थ्री बास्केटबल फुल कोर्टभन्दा फरक हुन्छ । यसमा टिममा जम्मा चार जना हुन्छ भने एक पटकमा तीन जनाले खेल्छन् । यो खेल हाफ कोर्टमा खेलिन्छ भने दुवै टिमले एउटै बास्केटमा स्कोर गर्नुपर्छ ।

 ‘नियम, रणनीति लगायत अरु धेरै कुरा फरक हुन्छ,’ कप्तान श्रेयाले भनिन्, ‘यसमा प्रशिक्षक दर्शक बस्ने ठाउँमा बस्नुपर्छ । खेलाडीलाई निर्देशन पनि दिन पाउँदैनन् ।’

थ्री अन थ्री मा खेल्दा शारीरिक रुपमा चुनौती हुने श्रेयाले बताइन् । ‘यसअघि पनि हामीले मंगोलियासँग जम्मा एक अंकले मात्र हारेका थियौँ । अन्तिम १० सेकेण्डमा हामी पराजित भएको थियौं।

थ्री अन थ्रीमा छिटो निर्णय गर्नुपर्छ । यसमा जम्मा १० मिनेटको खेल हुन्छ र एक टिमले एक पटकका जम्मा १२ सेकेण्ड मात्र बल होल्ड गर्न पाउँछ । यदी कुनै टिमले छिटो २१ अंक ल्याएमा समय नसकिए पनि खेल उसैले जित्छ ।

तस्वीर : विकास श्रेष्ठ



source https://www.onlinekhabar.com/2023/08/1354887

गौराले सामाजिक सम्बन्ध जीवन्त बनाउन भूमिका खेलेको छ  : प्रधानमन्त्री

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताए ।

‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको गौरा मनाउने गरिन्छ ।



source https://www.onlinekhabar.com/2023/08/1354885

राष्ट्रपतिले दिए उज्याली गौरा पर्वको शुभकामना

७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् ।

‘यस पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन् । साथै यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको देखिन्छ’, सन्देशमा उनले भनेका छन् ।

उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/08/1354883

आज पश्चिम नेपालमा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

७ भदौ, काठमाडौं । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

चन्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौं), तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए ।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ ।

गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । ‘यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेंडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ’, उनले भने ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ ।

जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् ।

दुर्वाष्टमी    

दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।

अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताए । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ । यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् ।

राजधानीमा सुदूर र मध्यपश्चिमवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।



source https://www.onlinekhabar.com/2023/08/1354881

रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

७ भदौ, काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।

युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए ।

त्यतिबेला वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1354874

Tuesday, 22 August 2023

मन्त्री किरातीका बुवालाई प्रधानमन्त्रीबाट श्रद्धाञ्जली

६ भदौं, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न लागिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । तर, पानी परिरहेकोले शव गाउँ लैजान ढिला भइरहेको छ ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

   



source https://www.onlinekhabar.com/2023/08/1354416

ओपेनहाइमरमाथि बलात्, परिणाम परमाणु बम !

गएको २१ जुलाईका दिन क्रिस्टोफर नोलनको प्रतीक्षारत चलचित्र ‘ओपेनहाइमर’ सार्वजनिक भयो । परमाणु बमका जन्मदाता रोबोट जे. ओपेनहाइमर भौतिकशास्त्रको प्राध्यापक भएदेखि लोस एलामसको प्रयोगशालाको निर्देशक हुँदै परमाणु बम बनाउँदासम्मको जीवन अवधिलाई यस चलचित्रमा समेटिएको छ ।

दोस्रो विश्वयुद्धमा जर्मन गठबन्धन विरुद्ध बनेको गठबन्धनमध्येको एक अमेरिकाले ‘नयाँ विश्व बनाउने सपना’ पूरा गर्ने एउटा मात्र उपाय परमाणु बमको आविष्कार र विस्फोटलाई बनाएको थियो । उसको त्यो विनाशक सपना ओपेनहाइमरले पूरा गरिदिएका थिए । अमेरिकालाई सबैभन्दा शक्तिशाली साम्राज्यवादी देश बनाउनमा ओपेनहाइमरको परमाणु बमको आविष्कार र जापानको हिरोसिमा र नागासाकीमाथिको प्रहारले मुख्य भूमिका मात्र खेलेन कि त्यसपछिका सबैजसो वैज्ञानिक प्रयोग, आविष्कार र मुख्य रूपमा सूचनाप्रविधिमाथिको एकलौटी कब्जा हुन पुगेको थियो ।

चलचित्रको कथावस्तु

अमेरिकालाई महाशक्तिमा दर्ज गर्न विशेष भूमिका खेलेका तिनै ओपेनहाइमरको सन् १९४१ देखि १९४५ सम्मको जीवन अवधिलाई आधार मानेर तयार पारिएको चलचित्र हो ओपेनहाइमर । चलचित्रको सुरुमा ‘प्रोमिथसले भगवानबाट आगो चोरेर मान्छेलाई दिएका कारण उसले चट्टानमा बाँधेर अनन्तकालको लागि यातना दियो’ सुनिन्छ ।

त्यसपछि भयानक विस्फोटको आवाज सहित तीव्र विकिरण, उच्च ताप, तेज प्रकाशको भान हुने दृश्य देखा पर्दछ । केही समयमा नै नेपथ्यमा आवाज आउँछ- रोबोट, रोबोट र रोबोट । उक्त आवाजले आँखा चिम्लिरहेको एक दुब्लो पातलो मान्छे अनिच्छापूर्वक आँखा खोल्दछ । उसको मुखबाट आवाज निस्कन्छ- योर अनर ।

रंगीन पर्दा एकाएक श्यामश्वेतमा बदलिन्छ । सोध्नेहरू मध्येको एक जनाले हामी न्यायाधीश होइनौं भन्दछन् । उनीसँग बमका बारेमा सोधिन्छ । ओपेनहाइमरले बम बनाउँदा अमेरिकाको सुरक्षाका लागि कत्तिको असर पर्दछ भनेर सोधिएको हुन्छ । यो उनीमाथिको छानबिन उनको विगतलाई लिएर गरिएको हुन्छ ।

पहिलो कुरा ओपेनहाइमर एक जना यहुदी हुन्छन् । दोस्रो उनी अमेरिकी कम्युनिस्ट पार्टीको समर्थक हुन्छन् । अमेरिकाबाट प्रकाशित हुने पिपल्स वल्र्ड नामक पत्रिकाका नियमित पाठक हुन्छन् । तेस्रो कुरा उनको सम्बन्धमा रहेका दुईवटा महिलाहरू जीन ट्याटकल र क्याथेरिन (किटी) दुवै कम्युनिस्ट पार्टीका सदस्य रहेका हुन्छन् । चौथो कुरा कम्युनिस्टहरूले सञ्चालन गरेको बेर्केले (बहस)मा सहभागी हुने गरेका हुन्छन् । ओपेनहाइमरसँगको सोधपुछ र अनुसन्धानको प्रक्रिया लामो समयसम्म चलिराख्दछ ।

एउटा वैज्ञानिकको जीवनको छोटो अवधिलाई ७८ वर्षपछि देखाउँदा तत्कालीन विश्व राजनीति, हतियारको होड, विश्व साम्राज्यमा फैलाउन अपनाइएका तिकडम, जर्मन र जापानी साम्राज्यवादका विरुद्ध बनाइएको गठबन्धनको बेवास्ताले अहिले आएर वर्तमान विश्वमा भएको आणविक हतियार उत्पादनको प्रतिस्पर्धा भइराखेको छ, त्यसको जड अमेरिका हो भनेर बुझ्न सहज बनाइदिएको छ

यही क्रममा ओपेनहाइमरलाई १९४१ म्यानहाटन प्रोजेक्टमा अनुबन्धन गरिन्छ र न्यु मेक्सिकोमा रहेको लोस अलामोस प्रयोगशालाको निर्देशकमा नियुक्ति गरिन्छ । त्यहीं बसेर ओपेनहाइमरको टिमले ˆयुजनको विधिद्वारा परमाणु बमको आविष्कार गर्दछन् । अमेरिकी सेनाको कडा सुरक्षा र घेराबन्दीमा उनका श्रीमती, छोराछोरीलाई असुविधाजनक घरमा राखिन्छ ।

त्यहाँ ओपेनहाइमरको टीमले पहिला साना-साना नमूना बम बनाएर परीक्षण गर्दछ । उनीहरू सफल हुन्छन् । १६ जुलाई १९४५ मा उनीहरूले ठूलो परीक्षण गर्दछन् । उक्त परीक्षणपछि ओपेनहाइमरलाई सम्मान गरिन्छ ।

हृयारी एस. ट्रुम्यानले ओपेनहाइमरलाई भेट्न बोलाउँदछन् । उक्त भेटघाटमा आफूले बनाएको बमप्रति पछुतो गर्दछन् । उनले भन्दछन् ‘राष्ट्रपति महोदय, मलाई आफ्नो हात रगतले रंगिएको जस्तो लागिरहेको छ ।’

अमेरिकाको संघीय जाँच ब्यूरोको उनीमाथि गरेको कम्युनिस्ट हो कि होइन भन्ने अनुसन्धानबाट मुक्त हुन पुग्दछन् । उनले बनाएको परमाणु बमले हिरोसिमा र नागासाकीमा गरी १ लाख ७० हजार निहत्था जापानीको ज्यान गएको समाचार आउँछ । अमेरिकी प्रशासकहरूले जापानले ७ डिसेम्बर १९४१ मा पर्ल हार्बरमाथि भएको आक्रमणको बदला लिएको भन्ने भाष्य तयार पार्दछ । जापानमाथिको अमेरिकी आक्रमणलाई सही ठहर्‍याउँदछ ।

तर ओपेनहाइमरको दिमागमा टि्रनिटी कोड नाम दिइएको, १०० फिट अग्लो टावरमा राखेर विस्फोट गराइएको र १८.६ किलोमिटरसम्म जबर्जस्त प्रभाव पारेको बमको त्रास थियो । टावर, घाँस र बालुवालाई पूरै वाष्पीकरण गरिदिएको थियो । मेक्सिकोको मरुभूमिका गरिएको उक्त परीक्षणको त्यो भयानक दृश्य उनको दिमागमा त्रासको रूपमा बसेको थियो ।

केही रोचक दृश्य

चलचित्रको २५औं मिनेटमा ओपेनहाइमर र उनकी प्रेमिका जीन ट्याटकलका बीचमा शारीरिक सम्बन्ध भएको देखाइएको छ । ओपेनहाइमरको टेबुलमा भगवद्गीता हुन्छ । संस्कृत भाषामा लेखिएको उक्त गीतालाई हातमा लिएर यो के हो भनेर प्रश्न गर्दछिन् । उनले संस्कृतमा लेखिएको गीता भन्दछन् ।

चलचित्रमा देखाइएको यो दृश्यलाई लिएर भारतीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले ‘भगवद्गीतालाई किन पूजनीय बनाइएन ?’ भन्ने प्रश्न उठाएका छन् । यस्तो प्रश्न उठाउनुको अर्को कारण हिन्दु धर्मभीरुहरूले भन्दै आएको जस्तो परमाणु बमको परीक्षण हुँदै गर्दा ओपेनहाइमरले गीता पढिरहेका थिए भन्ने भनाइमा आधारित कुनै दृश्य र संवाद छैन ।

त्यसैगरी भारतमा भगवद्गीतालाई शारीरिक सम्बन्धका समयमा देखाउनु अपराध भएको भन्ने आवाज उठाइएकोले उक्त चलचित्रले भारतमा त्यति राम्रो व्यापार गर्न सकेको छैन ।

अर्को रोचक दृश्य भनेको ट्रिनिटीको सफल परीक्षणपछि राष्ट्रपति ट्रुम्यानसँग भएको संवाद हो । ओपेनहाइमर भेट्न जाँदा बसिरहेका राष्ट्रपति कुर्सीबाट उठ्छन् र उनी भएतिर आएर हात मिलाउँदै प्रश्न गर्छन्, ‘तपाईं विश्वको चर्चित मान्छे बन्दा कस्तो लागेको छ ?’

चलचित्रमा अभिनय, प्रस्तुति, कला, विषयवस्तु एकदमै माझिएको छ । दृश्यभन्दा संवादहरू धेरै रहेका छन् । धेरै संवाद ओपेनहाइमर कम्युनिस्ट हो कि होइन भन्नेमा खर्चिएको छ

त्यहाँ पहिलादेखि नै जिम बसिराखेका हुन्छन् ।

राष्ट्रपति, ‘तपाईंको आविष्कारले केटाहरूलाई ल्याउन अनुमति दिनेछ ।’

ओपेनहाइमर, ‘मैले बडो मुश्किलले आविष्कार गरें ।’

राष्ट्रपति, ‘राम्रो, तपाईंले समयमा नै भ्याउनुभयो ।’

जिमले भन्दै थिए, ‘तपाईं सोभियत संघसँगको हतियारको प्रतिस्पर्धालाई लिएर चिन्तित हुनुहुन्थ्यो ।’

ओपेनहाइमर, ‘हो, राम्रो हाम्रो छनोटले अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जाका बारेमा कस्तो सहयोग रहन्छ भन्ने हो । मेरो चासो मात्र हो ।’

राष्ट्रपति, ‘तपाईंलाई थाहा छ, सोभियतसँग बम कहिले हुनेछ ? मैले सोचेको छैन ।’

ओपेनहाइमर, ‘म तपाईंलाई भन्न सक्छु जस्तो लाग्दैन ।’

राष्ट्रपति, ‘उसले कहिल्यै पनि सक्दैन, कहिल्यै पनि सक्दैन… … ।’

ओपेनहाइमर, ‘राष्ट्रपति महोदय, मेरो हातमा रगत लागेको छ जस्तो मलाई लागिरहेको छ ।’

टि्रनिटी परीक्षण गर्दा उल्टो गन्ती सकिएपछि ओपेनहाइमरले बोलेको वाक्य ‘र विश्व विनाशक बन्न मृत्यु बनेको छु’ लाई भगवद्गीताबाट लिएको दाबी गरिएको छ । तर केही समालोचकहरूले यो वाक्य बाइबलबाट लिएको दाबी गरेका छन् ।

उनीहरूको भनाइ अनुसार ओपेनहाइमरले सफलतापूर्वक परीक्षण गरेको ट्रिनिटी चर्चित कवि जोन डोनको कविताबाट लिइएको भन्ने छ । जब बम माथि गयो ‘हजार सूर्यको किरण’ भन्दा बढी ताप, राप, विकिरण, प्रकाश सहित तीव्र ध्वनि निस्कियो । तर भगवान विष्णु देखिएनन् । यो केवल विशाल विस्फोट मात्र भयो । टि्रनिट्राटोलेन १५ हजार टन शक्ति बराबरको विस्फोटक क्षमता उक्त बममा राखेको थियो ।

परीक्षण सफल भएपछि भएको भव्य समारोहमा ओपेनहाइमरले ‘विश्वले यो दिनको सम्झना गर्नेछन्’ भन्दै गर्दा उनको मनमस्तिष्कमा बमबाट निस्किएको विकिरण र तापले हजारौं सहयोद्धाहरू जलिरहेको दृश्य घुमिरहेको हुन्छ । यो दृश्यले ओपेनहाइमरले बमको आविष्कार गरिसकेपछिका समय उनले पश्चात्तापमा बिताएको, चिन्तित भएको देखाउँछ ।

उनको आविष्कारका कारण अमेरिका विश्व महाशक्तिशाली देश बन्न पुग्यो । विश्व व्यवस्थाले फरक रूप लियो । शीतयुद्धको सुरुवात भयो । अमेरिकाको नयाँ संसार जन्माउने सपना सफल भयो ।

जुन उद्देश्य लिएर अल्बर्ट आइन्स्टाइनले ऊर्जाको सूत्र पत्ता लगाएका थिए । परमाणु बमका आविष्कारक ओपेनहाइमरले भनेका थिए, ‘भविष्यमा वैज्ञानिकहरूले मेरो बारेमा प्रश्न गर्ने छन् ।’ उनले भने जस्तै भएको छ ।

यो चलचित्रले उजागर गरेका केही वास्तविकताले ओपेनहाइमरलाई परमाणु बम बनाउन निकै नै दबाब दिएको देखिन्छ । उनलाई कम्युनिस्ट भएकोले मानसिक तनाव सिर्जना गरिन्छ । उनी संगठित भएको फेडेरेशन अफ आर्टिटेक्ट इञ्जिनियर्स, केमिस्ट एण्ड टेक्निसियन जुन मजदुर संगठन हो त्यसमा बसेको भनेर धेरै प्रश्न गरिएको छ ।

एउटा वैज्ञानिकको जीवनको छोटो अवधिलाई ७८ वर्षपछि देखाउँदा तत्कालीन विश्व राजनीति, हतियारको होड, विश्व साम्राज्यमा फैलाउन अपनाइएका तिकडम, जर्मन र जापानी साम्राज्यवादका विरुद्ध बनाइएको गठबन्धनको बेवास्ताले अहिले आएर वर्तमान विश्वमा भएको आणविक हतियार उत्पादनको प्रतिस्पर्धा भइराखेको छ, त्यसको जड अमेरिका हो भनेर बुझ्न सहज बनाइदिएको छ ।

यस चलचित्रमा विलियम मर्की, इमिली क्लन्ट, भ्याट्ट ड्मामोन, रोबोट डोनी जेआर, फ्लोसेन्स पग, जोस हार्नेट कलाकार रहेका छन् । अभिनय, प्रस्तुति, कला, विषयवस्तु एकदमै माझिएको छ । दृश्यभन्दा संवादहरू धेरै रहेका छन् । धेरै संवाद ओपेनहाइमर कम्युनिस्ट हो कि होइन भन्नेमा खर्चिएको छ ।

कैबर्ड र मार्टिन जे.श्वेरिनद्वारा लेखिएको ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक अमेरिकी प्रोमिथसबाट लिइएको अंशलाई आधार बनाएर चलचित्र बनाइएको हो । विज्ञानप्रति जासो लाग्नेहरूका लागि यस चलचित्रमा आइन्स्टाइन, निल बोर, हिसन्बर्ग जस्ता त्यस समयका वैज्ञानिकहरूलाई देखाइएको छ ।

अर्को चाख लाग्दो कुरा आइन्स्टाइन र ओपेनहाइमरका बीचमा कुराकानी हुँदा जहिले पनि चियोचर्चाे गर्ने मान्छे पठाइएको दृश्य देखाइएको छ । त्यसैले उनीहरूका बीचमा गहन छलफल हुन नसकेको भाव प्रस्तुत गरिएको छ ।

चलचित्रको सन्देश

बम बनाउनुको मुख्य कारण जापानले पर्ल हार्बरमाथि गरेको आक्रमण भनिए तापनि जर्मन साम्राज्यवादलाई युद्धमा हराएको सोभियत संघलाई तर्साउनु थियो भन्ने कुरा अमेरिकी सेना अधिकृतहरू प्याट्रिक ब्ल्याकेट र डेभिड हिलले ओपेनहाइमरसँग गरेको संवादबाट स्पष्ट हुन्छ । यो चलचित्र वास्तवमा विज्ञानको आविष्कारमा भन्दा पनि तत्कालीन विश्व राजनीतिमा आधारित छ । यसले अमेरिकाको पहिलो हुने चाहना पूरा गर्न गरेको अमानवीय दौडलाई चित्रित गरेको छ ।



source https://www.onlinekhabar.com/2023/08/1354410

एमालेलाई बिझाइरहने ब्यानरको तस्वीर

६ भदौ, काठमाडौं । प्रदेश संरचनादेखि मुनिका कमिटीहरुको अधिवेशनमा जुटेको नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली बदल्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । १ भदौमा अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशिका (अपानि-८) जारी गरेर ब्यानर, मञ्च, अतिथि र वक्ता चयन जस्ता विषयमा फरकशैली अपनाउन निर्देशन दिएका हुन् ।

एमालेले सामान्यतयाः सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोबाट भएको निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेपछि अपानिमा पठाउने गर्छ । तर यसपटक २९औं र ३०औं सचिवालय बैठकले गरेको निर्णयलाई समेटेर अपानि पठाइयो ।

जसमा कार्यक्रम सञ्चालन गर्दा नेताहरुलाई कसरी र कहाँ राख्ने ? खादामाला प्रयोग नगर्नेदेखि ब्यानरमा कसको तस्वीर राख्ने र कसको नराख्ने समेत उल्लेख छ । अझ पार्टीको सार्वजनिक कार्यक्रम हुँदा जिवित नेताहरुमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर ब्यानरमा राख्ने निर्देशनले धेरैको ध्यान तानेको देखिन्छ ।

अपानिको ४ नम्बर निर्देशनबाट ओली बाहेक अरु जिवित नेताको तस्वीर ब्यानरमा राख्न बर्जित गरिएको छ । ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा -तीन अग्रज नेताहरु- संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, अपानिमार्फत् निर्देशन दिइएको छ ।

पार्टीलाई अनुशासित बनाउन र कार्यक्रमको मर्यादा बढाउन यस्तो निर्देशन दिनुपरेको नेताहरुले तर्क गरेका छन् । ‘सकेसम्म पार्टीको ब्यानरमा कोही पनि जिवित नेताको तस्वीर प्रयोग नहोस् भन्ने भावनाले यस्तो निर्णय गर्नु परेको हो’ एक पदाधिकारी भन्छन् । केन्द्रीय कार्यालय र सचिवालय बैठकमा पार्टीको ब्यानरमा मनपरी नहोस् भनेर त्यसलाई रोक्नेबारे छलफल भएको ती पदाधिकारी बताउँछन् ।

तर अपानि हेर्दा भने ओलीको तस्वीर राख्ने निर्णयले औपचारिकता पाएको देखिन्छ । ‘पार्टी अध्यक्षको तस्वीर ब्यानरमै राख्नुपर्छ भन्ने आशयले प्रस्ताव आएको थिएन, बैठकमा छलफल भएको पनि होइन’, अर्का पदाधिकारी भन्छन्, ‘अपानिमा अलिक भिन्न आशय लाग्नेगरी लेखिएछ ।’

उनका अनुसार, नेताहरुले हैसियत देखाउन ब्यानरमा आफ्नै तस्वीर राखेर कार्यक्रम चलाउने, बोर्ड बनाउने गर्न थालेपछि त्यस्तो प्रवृत्ति रोक्ने निर्णय भएको थियो । तर अपानिले ओलीलाई ब्राण्डिङ गर्ने गरी ब्यानर निर्माणलाई प्रोत्साहन गरेको देखिन्छ ।

केही वर्ष यताको गतिविधि हेर्दा ओलीको ब्राण्डिङ नयाँ विषय भने होइन । नवौं महाधिवेशन -१९-२५ असार २०७१) बाट एमाले अध्यक्ष निर्वाचित भएपछि नै ओलीले आफ्नो ब्राण्डिङमा जोड दिइरहेका छन् । आफ्नो तस्वीरको ब्राण्डिङलाई ओलीले राष्ट्रियतासँग जोड्ने गरेका छन् ।

२०७४ को चुनावपछि प्रधानमन्त्री हुँदा ओलीले सरकारी कार्यक्रमको प्रचार गर्दा समेत आमसञ्चार माध्यम र शहरका पोलहरुमा आफ्नै तस्वीर झुण्ड्याए । ५ पुस २०७७ मा प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेपछि ओलीको मस्कट नै बनाएर सभा, जुलुस र प्रदर्शन भयो ।

एमाले भनेकै ओलीको अनुभूति दिलाउनेगरी पार्टी कार्यक्रमहरु गरिएको थियो । तत्कालीन नेकपा विभाजन भएर ब्यूँतिएको एमालेको ६,७४३ वडा, ७५३ पालिका र ७७ जिल्लाकै अधिवेशन ओलीले उद्घाटन गरेका थिए । केन्द्रीय कार्यालय बसेर भर्चुअल माध्यमबाट ६ कात्तिक २०७८ मा ओलीले सबै वडाको एकैपटक उद्घाटन गरे । त्यही विधिबाट ९ कात्तिक २०७८ मा पालिका र २३ पुस २०७८ मा जिल्ला अधिवेशन भएको थियो । त्यसरी अधिवेशन गराउँदा एमालेका अरु कुनैपनि नेताले मुख्य अतिथि बन्ने अवसर पाएनन् ।

यद्यपि त्यसरी सम्पन्न अधिवेशनबाट निर्वाचित नेतृत्व प्रभावकारी नभएको निष्कर्ष निकालेर दुई वर्षभित्रै प्रदेश संरचनादेखि तलका कमिटीहरुमा एमालेले अधिवेशन गर्दैछ ।

बदलिएको आपत्ति

जिवित नेताहरुको तस्वीर ब्यानरमा राख्ने विषयप्रति कडा प्रावधानसहित यसपटक एमालेले अपानि जारी गरेपनि पार्टीमा यस्तो समस्या नयाँ भने होइन । यसअघि धेरैपटक नेताको तस्वीर झुण्ड्याउने विषयमाथि पार्टी छलफल भएको एमाले नेताहरु बताउँछन् ।

विशेषगरी फ्लेक्स प्रिन्टको प्रविधि सहज हुँदै गएपछि जिवित नेताको तस्वीर राख्नेबारे मतभेद बढेको हो । एमालेका एक पुराना नेताका अनुसार, २०६४ पहिलो संविधानसभा चुनावपछि पार्टी नेतृत्वमा आएका झलनाथ खनालको तस्वीर झुण्ड्याइएकोप्रति पार्टी बैठकमा विरोध भएको थियो ।

त्यसबेला केपी ओलीले नै विरोधको अगुवाइ गरेका थिए । ‘जिउँदो मान्छेको फोटो भित्तामा टाँगेर कार्यक्रम कसरी गर्ने ? यसरी त दिवगंत नेताहरुलाई राखिन्छ’ ओलीले खनालको तस्वीर राखिएकोमा आपत्ति जनाएका थिए । ओलीलाई त्यसबेला माधव नेपालले बलियो साथ दिएका थिए । ‘आठौं महाधिवेशनपछि केपी ओली र माधव नेपाल एउटै कित्तामा हुनुहुन्थ्यो’ एक नेता सम्झन्छन्, ‘झलनाथ खनालको तस्वीरबारे पनि उहाँहरु एकमुख भएर उत्रनुभयो । उहाँहरु नजिकका अरु नेताले पनि विरोध गरे ।’

खनालले आफ्नो चाहना नभएर सचिवालयले राखिदिएको प्रष्टोक्ति दिँदा समेत धर पाएनन् । अन्ततः आफ्नो तस्वीर राखिएको ब्यानर हटाउने भनेर बैठक अगाडि बढेको थियो । आफ्नो तस्वीर राख्दा विरोध गर्ने ओली र नेपाल नवौं महाधिवेशनसम्म आइपुग्दा प्रतिस्पर्धी भए । अध्यक्षमा प्यानल बनाएर प्रतिस्पर्धा गरे ।

अध्यक्ष पदको प्रतिस्पर्धा चलिरहँदा नवौं महाधिवेशन भएको भृकुटीमण्डप परिसर ओली र नेपालको तस्वीरले भरिएको थियो । कतिसम्म भने बन्दसत्र हलका भित्ताहरुमा समेत ओली र नेपालको तस्वीर टाँगियो । जहाँ, मार्क्स, लेनिन, एंगेल्सदेखि पुष्पलाल र मदन भण्डारीका तस्वीर झुण्ड्याएको थियो । आफ्नो तस्वीरलाई लिएर पार्टी बैठकमा हंगामा गर्ने ओली र नेपालको तस्वीर यसरी टाँगिएपछि अध्यक्ष मण्डलको अध्यक्षता गरिरहेका झलनाथ खनाल आक्रोशित बनेका थिए ।

बन्दसत्र हलबाट सबै नेताको तस्वीर हटाउन निर्देशन दिँदै खनालले भनेका थिए, ‘कसैलाई रहर लाग्दैमा महान् नेताहरुको लहरमा उसको तस्वीर टाँगिदैन, जनताको मनमा बसेपछि श्रद्धामा टाँगिने हो ।’ त्यो महाधिवेशनमा नेपाललाई हराएर ओली अध्यक्ष बने ।

२०७४ को चुनावपछि एमाले र माओवादीबीच एकता भयो । फेरि ओली र प्रचण्डको तस्वीर राखेर कार्यक्रमहरु राखिन थालियो ।

nekapa

‘प्रचण्डपथ’ भनेर आफ्नै नाममा सिद्धान्त बनाउन पनि पछि नपरेका प्रचण्डले माओवादीलाई त्यसरी नै चिनाउँदै आएका थिए । अहिले पनि माओवादी नेताहरुले प्रचण्डलाई व्यक्ति मात्रै नभएर सोंच र क्रान्ति समेत भन्ने गर्छन् ।

तर एमालेतर्फका नेताहरुले ओली र प्रचण्डको तस्वीर राखिने गरिएकोमा आपत्ति जनाए । १५-१९ माघ २०७६ मा सम्पन्न नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा राजेन्द्र राई, जगनाथ खतिवडा लगायतले ओली र प्रचण्डको तस्वीर हटाउन माग गरे ।

राईले त बैठकको दृष्यलाई राजतन्त्रसँग तुलना गरेका थिए । ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो यो त’ राईले भनेका थिए । विरोधपछि ओली र प्रचण्डको तस्वीर हटाएर बैठक चलेको थियो ।

तर नेकपा विभाजन भएपछि फेरि ओली र प्रचण्डले आ-आफ्नो पार्टीमा तस्वीर राख्न थालिहाले । पछिल्लो समय त एमालेबाट अलग भएको एकीकृत समाजवादीमा समेत अध्यक्ष नेपाल र नेता खनालको तस्वीर देखिन थालेको छ । एमाले र माओवादीमा त ओली र प्रचण्डको तस्वीर राख्नु सहज स्वीकारोक्ति देखिन्छ ।

बरु यसपटकको अपानि हेर्दा एमालेमा ओली बाहेक अरु नेताको समेत तस्वीर राखिनुलाई चाहिँ समस्या ठानिएको छ । ‘आमचुनावमा मतदातामाझ उम्मेदवार चिनाउन तस्वीर राखेर प्रचार गरिनु स्वभाविक हो । तर एमालेमा देखिएको प्रवृत्ति ठीक भइरहेको छैन’, स्थायी कमिटीका एक नेता भन्छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली कसैको पनि तस्वीर राखेर पार्टी कार्यक्रम चलाउनु ठीक नहुने बताउँछन् । ‘पार्टी विधानले चल्छ । अध्यक्षले विधान कार्यान्वयन गर्ने हो’ उनी भन्छन् । तर कसैको तस्वीर राखेर पार्टी चल्दा व्यक्तिको देवत्वकरण हुने ज्ञवाली तर्क गर्छन् । ‘व्यक्तिको देवत्वकरण खतरनाक विषय हो । यसले पार्टीलाई नोक्सान मात्रै पुग्छ’, उनी भन्छन् ।



source https://www.onlinekhabar.com/2023/08/1354380

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More