Wednesday 23 August 2023

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एकजना घाइते, कुखुराको खोरभित्र थुनिएको चितुवाको उद्धार गरिंदै

७ भदौ, काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।

चितुवा कुखुरापालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ ।

वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मूभ भइसकेको जानकारी दिए ।

चितुवा भेटिएको स्थान थानकोट र कीर्तिपुरको सिमानामा पर्दछ । थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ ।

थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि ती व्यक्तिले प्रतिरक्षा गर्ने क्रममा चितुवा पनि घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/08/1354901

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More