Monday 21 August 2023

उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र आज टुंगो लाग्ने

५ भदौ, काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरुले आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउँदै छन् ।

सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो । सो समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेसहितको कार्यदल पनि गठन गरिएको थियो ।

सो कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ । सोही बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको मस्यौदा तयार पारेर आज दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने छ । शीर्ष नेताहरुको बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

दिउँसो बस्ने शीर्ष नेताहरुको बैठकले उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रलाई अन्तिम रुप दिएपछि समिति गठन हुने नेताहरुले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ गत साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने विश्वास छ ।

उच्चस्तरीय समिति गठन हुनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सरकारको अडानका कारण संसद अवरुद्ध हुँदा महत्वपूर्ण विधेयकहरु अलपत्र परेका थिए ।

सुन तस्करीको विषयमा सुरुका १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । त्यसमा संगठित गिरोह संलग्न भएको खुलेपछि थप छानबिन गर्ने जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई दिइएको थियो ।

यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परिसकेका छन् । ‘ब्रेक शु’बाट छुट्टयाइएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।



source https://www.onlinekhabar.com/2023/08/1353838

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More