Thursday, 3 August 2023

दिवङ्गत आरोहीका ‘जिउँदा शव’

पूर्वीय दर्शन अनुसार देवताको मृत्युपछि उनीहरूको आत्माको बास हिमालमा हुन्छ भन्ने मान्यता छ । दोस्रो शताब्दीका विख्यात साहित्यकार कालिदासले कुमार संभवम् महाकाव्यको पहिलो अध्यायमा यस सम्बन्धमा चर्चा गरेका छन् । दुर्भाग्य, देवताको पनि आत्माको बास हुने हाम्रा हिमालहरूमा आरोहीका लासको बास भएको छ । यो क्रम हिमाल आरोहणसँगै सुरु भएको हो ।

उन्नाइसौं शताब्दीको पहिलो दशकदेखि नै तत्कालीन महाशक्ति राष्ट्र बेलायत सोभियत संघको सिमाना थाहा पाउन तथा उपनिवेश विस्तारका लागि भूगोलको खोजीमा थियो । त्यही क्रममा ब्रिटिश आरोहीहरू हिमालतिर पुगे ।

त्यसपछि १९२० तिर सगरमाथा आरोहणमा एउटा परिस्थिति आयो, जुन १९५० सम्म चल्यो । पचासको दशक महाशक्ति राष्ट्रहरूका लागि ८ हजार भन्दा अग्ला हिमालहरूमा सर्वप्रथम चढेर कीर्तिमान राख्ने होडबाजीको दशक जस्तै बन्यो ।

पहिलो पटक कञ्चनजंघा हिमाल चढ्नेमा ब्रिटिशको नाम आयो । जापानिजहरूले मनास्लु आरोहण गरे । फ्रेन्चले मकालु र अन्नपूर्ण प्रथम हिमाल चढे । त्यतिबेला हिमाल आरोहणमा शक्ति राष्ट्रहरूको राष्ट्रवाद उर्लिएको थियो । सन् १९५० देखि ६० को दशकमा हिमाल आरोहण स्रोत सम्पन्न राष्ट्रहरूको पहिचानको विषय बन्न पुग्यो  ।

१९६० देखि ८० को दशकमा क्रिस बोनिङटन, रेन्होल्ड मेस्नर जस्ता आरोहीहरू एड्भेन्चरका लागि हिमाल आरोहणमा निस्किए । पर्वतीय पर्यटनमा उच्च शिक्षा अध्ययन गरिरहेका अनिश दाहालका अनुसार, त्यतिबेला एउटै मानसिकता भएका आरोहीहरूको छुट्टै समूह नै थियो ।

ती समूहका ५० प्रतिशत भन्दा बढी आरोही हिमालमै बिलाए । पचासको दशकमा धेरै हिमालको पहिलो आरोहण भइसकेको थियो । त्यसपछि आरोहीहरू रेकर्डका लागि मात्रै हिमाल आरोहणमा लागे । यो क्रम ८० को दशकसम्म नै कायम रह्यो ।

१९८५ अगाडि ट्रेकिङ व्यवसायीकरण भइसकेको थियो । तर, हिमाल आरोहण व्यवसायीकरण भएको थिएन । १९८५ अगाडि देशको मान र प्रतिष्ठाका लागि मानिसहरू हिमाल चढ्थे, तर पछि आएर व्यक्तिगत महत्वकांक्षाका लागि हिमाल चढ्ने लहड चल्यो ।

आरोहणका क्रममा मरेको कुनै आरोहीलाई सँगै हिंडेर सकुशल शिविर फर्किएको गाइड अनि संचालकबाट नै ‘मिसिङ’ भनिन थालियो । अनि नयाँ कानुनी व्यवस्थासँगै ‘मिसिङ पोलिटिक्स’ सुरु भयो ।

यसै क्रममा सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य सहित आरोहण यात्रामा हिंडेका थिए अमेरिकी व्यापारी रिचार्ड बेस । सबै महादेशका अग्ला चुली आरोहण गरिसक्दा सगरमाथा अन्तिम अवरोध बनिरहेको थियो ।

धनाढ्य व्यापारी भएकाले १९८५ मा पहिलो पटक उनी ठूलो धनराशि खर्चेर सगरमाथाको चुचुरोमा पुगे । जो पछि गएर संसारको पहिलो ‘सेभेन समिटर’ बने । शेर्पाहरूलाई पैसा दिएर सगरमाथा आरोहण गरेका उनीबाट नै व्यावसायिक आरोहण सुरु भएको मानिन्छ ।

सन् २०१० सम्म हिमाल आरोहणको स्थिति ठिकठिकै चलिरहेको थियो । आजकल भने हिमाल आरोहण चरम व्यवसायीकरण भइसकेको छ । यसले गर्दा आरोहणमा पनि ठूलो बदलाव आएको छ । पहिले आरोहणका लागि गरिएका विज्ञापनको विषयमा सोधीखोजी हुने गर्दथ्यो । अहिले हिमालमा विदेशीको ज्यान गएको, शेर्पा भागेको, हिमालमा दिसापिसाब र लास थुप्रिएको जस्ता विषयमा नकारात्मक प्रतिप्रश्न गर्न थालिएको व्यवसायीहरू बताउँछन् ।

हिमालयन डेटा बेसका अनुसार अघिल्लो वर्षसम्ममा ३६ प्रतिशत सगरमाथा आरोहण तिब्बत तर्फबाट भएका छन् भने बाँकी ६४ प्रतिशत नेपालतर्फबाट । मृतक आरोहीको संख्या हेर्दा नेपालतर्फ ६६ प्रतिशत र तिब्बततर्फ ३४ प्रतिशत आरोहीको ज्यान गएको छ ।

सगरमाथा आरोहणका सात दशकलाई केलाउने हो भने सुरुवाती चरणमा हिमालमा आरोहीको ज्यान गयो भने लास पाइँदैन भन्ने थियो । सन् २००० सम्मको स्थिति हेर्दा आरोहीको मृत्यु भए पनि लास ल्याउन त्यति धेरै प्रयत्न नगरेको देखिन्छ । तर त्यसपछि आरोहीका घरपरिवारबाट कि सास या लास चाहियो भन्ने विषय आयो अनि मात्र शवको खोजी हुन थाल्यो ।

सन् २००० पछि संसारभर हिमालमा रहेका लासको बारेमा नकारात्मक समाचार फैलिए । यसै सिलसिलामा ‘पर्वतारोहण नियमावली– २०५९’ ल्याइयो । हिमालमा फोहोर र लास राख्न नपाउने कानुनी व्यवस्था गरियो । आरोहणका क्रममा मरेको कुनै आरोहीलाई सँगै हिंडेर सकुशल शिविर फर्किएको गाइड अनि संचालकबाट नै ‘मिसिङ’ भनिन थालियो । अनि नयाँ कानुनी व्यवस्थासँगै ‘मिसिङ पोलिटिक्स’ सुरु भयो ।

आरोही कुनै अप्ठ्यारोमा परेमा या दुर्घटना भएमा उद्धार र व्यवस्थापनका लागि बीमा स्रोत परिचालन गरिन्छ । तर हामीकहाँ ‘मिसिङ रिसर्च’ भनेर बीमा रकम खर्चिएर सकिने तर आरोहीको शव त्यतिकै हिमालमै छोड्ने प्रवृत्ति बढ्दै गयो । नेपालतर्फको कुरा गर्ने हो भने साँच्चिकै हराएका बाहेक ८ हजार मिटर उचाइ भन्दा तलका धेरैजसो लास झारिएका छन् ।

जटिल भूगोलका कारण ८ हजार मिटर भन्दा माथिका लास झार्न सकिएको छैन । हाम्रा हिमालहरूमा यसअघि हल्ला गरे जति फोहोर थिएन । अहिले पनि आधारशिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा सफा नै छ । तर यसपालि खराब मौसमका कारण धेरै आरोही तथा शेर्पा फ्रस्टबाइटको शिकार भएकाले तेस्रो र चौथो क्याम्पमा अलि बढी फोहोर भएको भन्ने आएको छ, जुन सत्यको नजिक छ ।

हिमाली मौसममा आएको परिवर्तनका कारण आरोहण कठिन भइरहेको छ । जसका कारण आरोहीले ठूलो विपद् विनै ज्यान गुमाउनु परेको छ । विगत दुई दशकको अवधिमा यस वर्ष सबैभन्दा धेरै लास सगरमाथामै बास बसे । पर्यटन मन्त्रालय र विभागबाट यस विषयमा जति अध्ययन, अनुसन्धान र चासो दिनुपर्ने हो त्यति नदिएको गुनासो पनि सरोकारवालाहरूको छ ।

यस वर्षकै कुरा गर्ने हो भने आरोहणकै क्रममा दिवङ्गत भएका १७ मध्ये अधिकांश शव सगरमाथामै छन् । आइसफलमा ठूलो हिउँको ढिस्कोले पुरिन गएका तीन जना महान् शेर्पाहरूको लास साँच्चै ‘मिसिङ’ भएकाले निकाल्न सम्भव थिएन ।

यस घटनाका कारण परिवारको दबाबमा रोप फिक्सिङ टोलीका ४ जना शेर्पाले आरोहण परित्याग गरे । फिक्सिङको जिम्मा लिएको कम्पनीले अरू प्राविधिक शेर्पाहरूको व्यवस्था गरी डोरी टाङ्ने काम सम्पन्न गर्यो । यस्तो परिस्थितिमा कसैलाई दोष दिन मिल्दैन । यस्तो दुर्भाग्यपूर्ण अवस्थामा राज्यले पनि विचार गर्नुपर्नेमा के गरियो या गरिएन, जानकारीमा आएको छैन ।

हिमालमा ‘मिसिङ’ भनेको खासमा शव नभेटिएको भन्ने बुझ्नुपर्ने हुन्छ । आरोहणका क्रममा एक्कासी बिग्रिएको स्वास्थ्यस्थिति र दुर्घटनाका कारण आरोहीको मृत्यु हुन सक्छ । र मोटामोटी तल शिविर फर्किएको उसको गाइडलाई सबै थाहा हुन्छ । कुन ठाउँबाट बेपत्ता हो या मरेको हो भन्ने कुरा गाइड मार्फत सरदार र सरदार मार्फत सम्पर्क अधिकृतलाई रिपोर्ट गर्नुपर्ने हुन्छ । त्यसकारण गाइड सहित आरोहणमा गएका आरोहीहरूलाई ‘मिसिङ’ भनिनु तर्कसंगत हुँदैन ।

हिमालमा हराएको केही दिनमा मान्छे बरफ बनिसक्छ । हिमालमा हराएकाहरू लामो समयपछि कोही फर्केर आएको या जिउँदै भेटिएको इतिहास छैन । थुकेको थुक, बगेका पसिना अनि झरेका आँशु त क्षणभरमै बरफ हुने ठाउँमा हराएको मानिस ज्युँदो भेटिने कल्पनासम्म गर्न सकिंदैन ।

केहीले बाल्कोनी र साउथ समिटको बीचमा रहेका शव पनि तल झारेका छन् । तर केहीले भने लास झार्न सकेनन्/झारेनन् । हुन त जिउँदो मान्छे एक्लै झर्न गाह्रो हुने त्यो ठाउँबाट शव झार्न कठिन हुन्छ नै ।

चौथो शिविरबाट लास आधारशिविरसम्म ल्याउन मात्र कम्तीमा ६ जना शेर्पाहरू चाहिन्छ । त्यसका लागि कम्तीमा ५० हजार डलर खर्च लाग्छ । हिमालमा जाने कतिपय शेर्पाहरूको राम्रो बीमा गरिएको हुँदैन । लाखौं डलरको बीमा भएका विदेशीको शव त यसै छोडिएको छ भने अरू त के कुरा ?

‘मिसिङ लास’ हरूको बारेमा कानुन अस्पष्ट छ । अल्पाइन स्टाइलमा आरोहणमा निस्किएकाहरू मिसिङ हुनसक्ने स्वाभाविक हुन्छ । जस्तो यस पटक हङ्गेरियन आरोही मिसिङ नै हुन् । किनकि उनी विना अक्सिजन एक्लै गएका थिए । रञ्जित साह गाइड सहित हराए । यी घटनालार्ई मिसिङ भन्नुपर्छ । गाइड फर्केर आउने, उनीसँगै गएको आरोही बेपत्ता हुने भन्ने हुँदैन ।

तर कतिपय अवस्थामा एक्सपिडिसन संचालकहरूले ‘मिसिङ’ या ‘मृत्यु’ के प्रतिवेदन दिंदा सहज हुने हो, त्यही अनुसार रिपोर्टिङ गर्ने गरेको समेत देखिन्छ । किनकि त्यहाँ आर्थिक विषय जोडिन्छ । आरोहीको नाममा भएको बीमा रकम लिइन्छ तर आरोहीको लास हिमालमै छोडिन्छ । यसो गर्नु प्रचलित कानुन विपरित हो ।

अधिकांश दुर्घटना आरोहणको अन्त्यतिर हुन्छन् । शव ल्याउन कठिन हुनुको पहिलो कारण जनशक्तिको अभाव हो । शेर्पाहरू क्याम्प निर्माण गर्नेदेखि लिएर दोस्रो हुँदै चौथो शिविरसम्म सामान पुर्याउँदा र आरोहीलाई शिखरसम्म पुर्याउँदा थकित भइसकेका हुन्छन् ।

यसकारण थाकिसकेका शेर्पाहरू पुनः माथि जानु जोखिम हुन्छ । सामान्य मानिस भन्दा आरोही शेर्पा एवम् गाइडहरू उचाइमा काम गर्न सक्ने हुन्छन् तर शेर्पाको पनि त हाम्रै जस्तो ज्यान हो । कहिलेकाहीं मौसमले पनि साथ दिंदैन । सबैको बीमाले शव तल झार्ने खर्च नव्यहोर्ने पनि हुन्छ । कहिलेकाहीं एक्सपिडिसन कम्पनीले पनि बेवास्ता गर्छन्, तर यस्तो गर्ने न्यून छन् ।

उच्च हिमालमा अकस्मात् बिग्रिरहने मौसम, जटिल भूगोल, कमजोर सरकारी उपस्थिति लगायत थुप्रै कारण छन् जसले गर्दा लास झार्न कठिन हुने गरेको छ ।

जति नै कुरा गरे पनि हामी सबैले बुझ्नुपर्ने के हो भने साउथकोल भन्दा माथिको शव झार्नु सबै दृष्टिकोणबाट चुनौतीपूर्ण छ । यसलाई अलि फरक ढङ्गबाट हेरिनुपर्छ । व्यवसायीलाई भनेर मात्र पनि हुँदैन, हामीले हामीतिरै फर्केर पनि हेर्नुपर्छ ।

काठमाडौंमा बसेर हिमालका कुरा गर्न आनन्द छ, तर हिमालमा काम गर्न धेरै कठिन छ । यसो भन्दै गर्दा हामीले ऐन–नियमको बेवास्ता गर्नुपर्छ भन्न खोजेको होइन । हिमालबाट शव तल झार्ने काममा जवाफदेही बनाउन उपलब्ध कानुनको पूर्ण कार्यान्वयन गर्न सक्नुपर्छ । यतिले नपुग्ने देखिएमा कानुनमा संशोधन पनि गर्नुपर्ने हुन्छ । हिमाल आरोहणका कारण संसारभर नेपालको प्रचारप्रसार भइरहेको छ । तर, हामीले उचित नियमन गर्न सकेनौं ।

हिमालमा राज्यको कमजोर उपस्थिति छ । उपस्थित भए पनि लाचार भएर बस्नु परेको छ । सम्पर्क अधिकृतहरू खटिए पनि कम्पनीले नै दिएको खाएर बस्नुपर्ने बाध्यता छ । पूर्ण रूपमा कानुनको पालना गर्न/गराउन सकिएको छैन । उनकै रासन खाएर उनीमाथि शासन गर्ने कुरा कति प्रभावकारी होला र ? विचार गर्नुपर्ने कुरा छ ।

यसअघि कुनै आरोहीले अवैध गतिविधि गरेको पाइएमा यसमा संलग्न आरोहीलाई निश्चित अवधि तोकी नेपाल प्रवेशमा प्रतिबन्ध लगाइन्थ्यो । उनीहरूलाई देश निकाला गरिन्थ्यो । यस वर्ष त अवैध रूपमा पाराग्लाइडिङ गरेका एक अमेरिकी आरोहीलाई उतिखेरै आरोहण अनुमति दिएर पठाइयो ।

यसले नेपालमा जे गरे पनि पैसा भए केही फरक पर्दैन भन्ने सन्देश गएको छ । यसको कारण या त म जस्ता सम्पर्क अधिकृतले कर्तव्य पूरा गर्न सकेनौं या हाम्रो निर्णय ठिक भएन । कतै न कतै हामी चुक्यौं । आरोहण संचालकहरूलाई मात्र दोषी करार गरेर हामी उम्कन मिल्दैन । हामीले भन्नैपर्छ, नेपालको पर्वतीय पर्यटन आरोहण संचालकहरूले र शेर्पाहरूले नै धानिदिएका छन् ।

सगरमाथामा ज्यान गुमाएका मध्ये धेरैजसो नेपालतर्फ नै मृत्यु भएका छन् । तिब्बततिरबाट अलि अगाडि पुराना लासहरू तल झार्ने अभियान नै चलाइयो । हामीले पनि केही गर्न खोजिरहेका छौं तर प्रभावकारी हुनसकिरहेको छैन । पुराना सबै लास ल्याउन सकिएको छैन । नयाँ लासहरू ‘ज्यूँका त्यूँ’ छन् । सगरमाथामा मात्र होइन अरू हिमालमा पनि दिवङ्गत आरोहीका ‘जिउँदा शव’ छन् ।

अबको बाटो

अहिलेको पर्वतारोहण प्रशासनमा नीतिगत सुधार जरूरी छ । सम्पर्क अधिकृतको अनुपस्थितिको कुरा छ । हिमालमा सबै गतिविधि आरोहण सञ्चालकको भरमा चलेको छ । दुःखका साथ भन्नुपर्छ, राज्यले केवल सम्पर्क अधिकृत खटाउने र प्रमाणपत्र वितरण गर्ने काम मात्र गरेको छ । आरोहण प्रक्रियाको विस्तृत अनुगमन हुनसकेको छैन ।

तर, कानुनमा सुधार गर्दैगर्दा हामीले व्यवसायीहरूको पेशागत सुरक्षातर्फ पनि सोच्नुपर्छ । पर्वतीय पर्यटन उद्योगलाई संरक्षण गर्नु पनि राज्यको दायित्व हो । सस्तो लोकप्रियताकै लागि गरिने चर्का कुराहरू कार्यान्वयन योग्य नहुन सक्छन् । तसर्थ कार्यान्वयन योग्य कानुन बनाउनुपर्छ ।

हिमाललाई लासमुक्त बनाउन ‘एक्सपिडिसन इथिक्स’ तय गरी लागू गरौं । शव एवं फोहोर व्यवस्थापन गर्न एउटा कोष बनाउन पहल गरौं । अहिलेको गार्बेज धरौटीको रकम फिर्ता नगरी त्यो कोषमा जम्मा गर्न तथा थप योगदान गर्न आरोही तथा एक्सपिडिसन संचालकहरू पनि सकारात्मक नै देखिन्छन् ।

तालिम र अनुभव विना कसैलाई पनि सगरमाथा आरोहण अनुमति नपाउने व्यवस्था गरौं । हामीले सगरमाथालाई सस्तोमा बिक्री गरिरहेका छौं । अब रोयल्टी वृद्धि गरौं । तिब्बतबाट सगरमाथा आरोहण गर्दा १६ हजार डलर रोयल्टी लाग्छ भने हामीकहाँ ११ हजार डलर छ । यो धेरै सस्तो भयो । किनभने सगरमाथा आरोहण गर्नु केवल एउटा हिमाल चढ्नु मात्रै होइन, पृथ्वीको तेस्रो ध्रुवमा पुग्नु पनि हो ।

यसअघि विभिन्न प्रतिवेदनले कम्तीमा नेपालको कुनै ७ हजार मिटर अग्लो हिमाल आरोहण नगरेसम्म सर्वोच्च चुली आरोहण गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरेका छन्, जसलाई लागू गर्न अपरिहार्य छ । जसले गर्दा अनुभवी र तालिमप्राप्त आरोही मात्र सगरमाथामा आउने हुन्छन् र मृत्युदर पनि स्वतः कम हुन्छ ।

हाल नेपालमै पर्वतीय पर्यटन सम्बन्धी औपचारिक पढाइ समेत भइरहेको छ । पर्वतीय पर्यटनलाई नियमन गर्न यो शैक्षिक जनशक्तिलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर नीतिगत तहमा सोच्नुपर्ने बेला आएको छ ।

अब हामीले यो बुझ्नुपर्छ कि सामान्य प्रशासन र ‘पर्वतीय पर्यटन प्रशासन’ फरक हुन् । कहिल्यै उच्च हिमालमा नगएका, भौगोलिक जानकारी नभएका, अस्पतालको स्वास्थ्य रिपोर्ट मात्रै राम्रो भएका तर स्वास्थ्य ठिक नभएकाहरू नै सम्पर्क अधिकृतमा खटिन मरिहत्ते गर्ने व्याप्त प्रचलन छ ।

यसका पछाडि पनि आर्थिक विषय जोडिन पुग्छ । त्यसैमाथि सकेसम्म नजाने, गए पनि आधारशिविर समिट गरेर तुरुन्तै फर्किहाल्ने प्रवृत्ति छ । यसलाई सुधार गर्न नसकिएमा पर्वतीय पर्यटनमा सरकारी उपस्थिति अझै उदेकलाग्दो हुने निश्चित छ ।

हिमाल आरोहणलाई व्यवस्थित दक्ष/विज्ञ जनशक्ति रहने ‘पर्वतीय प्रशासन युनिट’ को गठन गर्न ढिला भइसकेको छ । तमाम समस्या र बेथिति हेर्दा सामान्य प्रशासनकै भरमा पर्वतीय प्रशासन संचालन हुन सक्दैन भन्ने आफैं पुष्टि हुँदैन र ?

(सगरमाथा सम्बन्धी पुस्तक पन्ध्रौं चुली का लेखक गौतम लामो समयदेखि यस सम्बन्धी अध्ययनमा संलग्न छन् । सगरमाथा क्षेत्र आरोहण अनुगमन समितिमा समेत रहेका गौतमसँग गरिएको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2023/08/1345914

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More