Monday, 21 August 2023

दलहरूले कोरेको धार्मिक गोरेटो हुँदै शास्त्रीको नेपाल यात्रा

द्वन्द्वात्मक भौतिकवादी दर्शनको दुहाइ दिएर हजारौंको ज्यान जाने गरी भएको सशस्त्र युद्धका नेतृत्वकर्ता प्रचण्डले छिमेक भारतमा पुगेर गेरुवा वस्त्र पहिरिंदै महाकालेश्वरमा ज्योतिर्लिङ्गको दर्शन/पूजा आराधना गरेको धेरै भएको छैन ।

२९ साउन अर्थात् साउन महिनाको अन्तिम सोमबार एमाले अध्यक्ष केपी ओली केही नेताका साथमा डोलेश्वर महादेव मन्दिर प्राङ्गणमा आयोजित ‘सन्ध्याकालीन आरती’मा सरिक भए । आरतीमा मुग्ध भीडमा गेरुवस्त्र ओढेर, निधारमा चन्दन लगाएर मुस्कुराइरहेका ठूलो कम्युनिष्ट पार्टीको अध्यक्षका दृश्य सामाजिक सञ्जालमा देख्न पाइयो ।

त्यसो त, झापा आन्दोलनबाट उदाएका एक क्रान्तिकारी नेताको मठ–मन्दिरसँगको यो कुनै नयाँ लगाव भने होइन । राममन्दिरदेखि पशुपतिनाथको जलहरी स्थापना अनि त्यहाँ गएर उनले गरेका पूजापाठ र निर्णय पछिल्ला वर्षहरूमा चर्चामा रहे ।

यही पृष्ठभूमिमा कम्युनिष्ट पार्टी हुँदै कांग्रेस छिरेका सांसद तथा डलर अर्बपति उद्योगपति विनोद चौधरीले एक विवादास्पद पहेंलो वस्त्रधारी ‘धर्मगुरु’ धीरेन्द्रकृष्ण शास्त्रीलाई नेपाल भित्र्याएका छन् । शास्त्री नवलपरासीको शाश्वतधाममा आइतबारबाट सुरु हनुमन्त कथावाचनका लागि सांसद चौधरीको साथमा कार्यक्रमस्थल पुगेका छन् ।

शास्त्रीको विवादास्पद व्यक्तित्व

भारतमा विवादित रहेका शास्त्रीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । सञ्चारमाध्यमहरूमा प्रसारित/प्रकाशित सामग्री हेर्दा पण्डित शास्त्री कुनै सभ्य समाजका सुयोग्य नागरिक लाग्दैनन् । अन्धविश्वासलाई प्रोत्साहन गर्ने उनी नारीद्वेष र छुवाछूतको पक्षमा सार्वजनिक अभिव्यक्ति दिन्छन् । चमत्कारको सर्कस (माइन्डरिड आर्ट) देखाउँछन् र त्यसलाई ईश्वरीय शक्ति भनेर भ्रम बाँड्छन् ।

२०२३ को मार्चमा शास्त्रीले विवाहित हिन्दुहरूले तीनदेखि चार बच्चा जन्माउनुपर्ने र चारमध्ये दुईजना हिन्दु धर्म र भगवान रामको सेवामा लगाउनुपर्ने बताए । शास्त्री संसारका सबै हिन्दुका बीच हिन्दु राष्ट्रको अलख जगाइरहेका छन् र जसरी पनि हिन्दु राष्ट्र बनाइछाड्ने जिकिर गरिरहेका छन् ।

आफ्नो फरक क्षमतालाई दुरुपयोग गरेर धर्मको आडमा अल्पसंख्यक र कमजोरमाथि बुल्डोजर चलाउने र निमिट्यान्न पार्ने कुख्यात अभिव्यक्ति दिन्छन् । भारतीय संस्थापनको आड र समर्थनमा हुर्किइरहेका उनको क्रियाकलाप विरुद्ध भारतमै विरोधका चर्का स्वर उठिरहेका छन् ।

सरकारी ‘स्वीकृति’

अर्बपति नेता विनोद चौधरीको नेपाली समाजप्रतिको आधारभूत दायित्व के हो ? उनी आफ्नो प्राथमिक दायित्वबाट विमुख हुने निर्णयसम्म कसरी आइपुगे ? उनले आफू सम्बद्ध राजनीतिक दल र सरकारका अधिकारीहरूसँग सल्लाह नगरी यो निर्णयमा पुगे वा दलका नेताहरूका धार्मिक गतिविधि नियालिरहेको सन्दर्भमा सल्लाह गर्न नै आवश्यक ठानेनन् ? यी प्रश्नका जवाफ समयक्रममा नेपाली समाजले खोजिरहला । तर एक विवादास्पद धर्मगुरुको नेपाल यात्रासँग जोडिएर उठेका केही गम्भीर प्रश्नहरू चौधरीको निजी कम्पाउण्ड नाघेर यो देशका शासकसम्म पुगेको छ ।

आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा शास्त्रीका ढोंग, अन्धविश्वास र जातीय/धार्मिक असहिष्णुतापूर्ण अभिव्यक्ति विरुद्ध आवाज उठ्न थालेपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शास्त्रीसँगको भेट टारे । तर सत्तारूढ माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने शास्त्री बसेको होटलमै पुगेर भेटघाट गरे ।

शास्त्रीसँग श्रेष्ठको भेटबारे एक उपप्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो भन्दा बढी धूर्त्याइँपूर्ण लाग्छ । एकातिर उनी पूर्वीय दर्शनमा रुचि भएकोले भेटेको तर्क अगाडि सार्छन् भने साथै, आफ्नो साथी स्वामी आनन्द अरुणको सल्लाहमा भेटे पनि भेटअघि उनको नामै नसुनेको प्रतिक्रिया दिन्छन् ।

शाश्वतधाम जानेक्रममा विनोद चौधरी र शास्त्री । तस्वीरः बुद्ध एयर

‘स्वामी आनन्द अरुणजी मेरो मित्र पनि, उहाँले भारतबाट एउटा अध्यात्मिक गुरु आउनुभएको छ ऊसँग भेट्दा राम्रै हुन्छ भन्नुभयो’ शास्त्रीसँगको भेटबारे श्रेष्ठले भने, ‘मैले उहाँ धीरेन्द्र शास्त्रीजीको नाम सुनेको पनि होइन । उहाँको बारेमा कहिल्यै चर्चा गरेको पनि होइन । अरुणले भनेपछि को हुनुहुन्छ उहाँ भनेर भेटेको हो । कुरा त्यत्ति हो ।’

राष्ट्रपति र प्रधानमन्त्रीले लोकलाजले भेट टारे पनि उपप्रधानमन्त्री सहित मन्त्रीहरूको जुलुसले शास्त्रीको नेपाल यात्रालाई राज्यको तर्फबाट वैधता र स्वीकृति दिएको ठहर्छ ।

उता, आफ्नै पार्टीको एक जना सांसदले विवादास्पद धर्मगुरुलाई नेपाल भित्र्याउन गरेको निर्णय बारे नेपाली कांग्रेस पनि औपचारिक रूपमा बोलेन । पार्टीभित्र लोकप्रिय रहन सानातिना विषयमा पनि ‘प्रगतिशील’ र प्रिय तर्क गर्ने युवा नेताहरू पनि मौन देखिए ।

सक्रिय र प्रतिक्रियात्मक प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेका अध्यक्ष र अरु कुनै नेताले पनि यसबारे मुख खोल्न आवश्यक ठानेनन् । सानातिना मुद्दामा संसद अवरुद्ध गरिहाल्ने दलले विवादास्पद धर्मगुरुले नेपाली भूमि टेक्नासाथ दिएको विवादास्पद अभिव्यक्ति बारे पनि कुनै प्रतिक्रिया दिएन । यसरी, शास्त्रीको नेपाल यात्राप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैको स्वीकृति देखिन्छ ।

शास्त्री नेपालमा व्यक्तिगत भ्रमणका लागि मात्र आएका होइनन्, उनी धार्मिक कथावाचनका लागि आएका हुन् । उनले दिने अभिव्यक्ति र उपदेशले नेपाली समाजमा पार्ने प्रभाव सामान्य हुनेछैन ।

हरेक समाजमा ठूलो वा सानो मात्रामा उग्रदक्षिणदेखि उग्रवाम चेतना र स्वभाव भएका मानिस हुन्छन् । शास्त्रीका अभिव्यक्तिले सुषुप्त र कमजोर अवस्थामा रहेको उग्रदक्षिणपन्थी चेतलाई जगाउन सक्छ । चाहे दक्षिण होस् वा वाम, उग्रवादी चेतले नेपाली समाजको सुन्दर यथार्थका रूपमा रहेको सामाजिक सहिष्णुतालाई बिथोल्छ नै ।

दलहरूले खनिदिएको गोरेटो
कम्युनिष्ट पार्टीकै नेताहरू मन्दिर र गेरुवस्त्रतिर लागेपछि प्रश्न उठेको थियो– देश कुन बाटोमा हिंड्दैछ ? विवादास्पद धर्मगुरु शास्त्रीको नेपाल यात्राले एउटा जवाफ दिएको छ– हाम्रा नेताहरूले खनिदिएको धार्मिक राजनीतिको गोरेटो हुँदै शास्त्री नेपाल छिरे र यो बाटो विस्तारै फराकिलो हुनसक्छ ।

यसका पछाडि भारतमा भारतीय जनता पार्टीको उदय र उसको विस्तारित राजनीतिक–धार्मिक–आर्थिक साम्राज्य र त्यसको प्रभावसँग जोडेर हेर्न बिर्सनुहुँदैन । विश्वकै महाशक्ति बन्ने सम्भावित यात्रामा नरेन्द्र मोदी नेतृत्वको भारतीय नयाँ संस्थापन बेरोकतोक अगाडि बढिरहेको छ । यो अभियानले ल्याएको बाढीमा भारतका अल्पसंख्यक र गैरहिन्दु समुदायहरू बगिरहेका छन् । उनीहरू १८औं शताब्दीको बर्बरता भोग्न बाध्य छन् ।

यो पृष्ठभूमिमा हिन्दुत्वमा आधारित रहेर भारतले गर्ने हरेक निर्णयको नेपाल प्रभाव कमजोर हुँदैन । यही कुरा बुझेका नेपालका दलहरूले आफ्नो अहिलेसम्मको पृष्ठभूमि र पहिचानलाई दाउमा राखेर ‘हँसिया र हथौडा’ बिसाएर शंख–घण्ट बजाउन सुरु गरेका छन् । यो आफ्नो विशेषता र जनतालाई नचिन्नु र अविश्वास गर्नुको परिणाम हो ।

‘दलहरू आफ्नो नैतिकतामा रहेको भए, आन्तरिक लोकतन्त्र र न्यायिक बाटोबाट विचलित नभएको भए नेपालमा धार्मिक राजनीतिको प्रवेश हुँदैनथ्यो’ राजनीतिक विश्लेषक तथा लेखक डम्बर खतिवडा भन्छन्, ‘शास्त्री ओलीको मठमन्दिर मोह र प्रचण्डको गेरुवस्त्रको बाटो हुँदै नेपाल प्रवेश गरेका हुन् ।’

भारतको जस्तो हिन्दु कट्टरपन्थमा नेपालमा हिन्दुत्वको विकास र विस्तार मात्र होइन, रक्षा पनि हुनसक्दैन । यो हाम्रो अनुभवसिद्ध मौलिक निष्कर्ष हो । सहिष्णुताको विराटतामा नै नेपालमा हिन्दुत्व मौलाइरहेको छ । यो कुरा नेपाल र भारतका राजनीतिक नेतृत्व मात्र होइन, सांस्कृतिक–धार्मिक नेतृत्वले पनि नबुझे झैं लाग्छ ।

आफ्नो दलगत राजनीतिक स्वार्थको वैतरणी तर्न हिजो नेपाली समाजमा प्रगतिशील एजेन्डा स्थापित गर्न शानदार नेतृत्व गरेका नेतृत्व नै धार्मिक अस्त्रको सहारा लिन थालेका छन् । हिजो अप्ठ्यारोमा सत्ता टिकाउन तत्कालीन राजा ज्ञानेन्द्र शाहले धार्मिक अस्त्रको असफल प्रयोग गरेजस्तै आज प्रमुख दलका शीर्षनेताहरू सोही बाटोमा हिंडिरहेका त होइनन् भन्ने प्रश्न बलियो गरी उठेको छ ।

खासगरी कम्युनिष्ट नेताहरू उनीहरूको पार्टीको नाम, दर्शन र पृष्ठभूमिको ऐनामा हेर्दा यो सवालमा असंगतिपूर्ण देखिने खतिवडा तर्क गर्छन् । लामो र संघर्षपूर्ण राजनीतिक जीवनमा उनीहरूले नागरिकको बलिदानीकै बलमा जुन भाष्य स्थापित गरे, सत्ता र शक्तिमा रहिरहन उनीहरू अहिले त्यही विरुद्ध उत्रन थालेका छन् । कम्तीमा उनीहरूका व्यवहार र सार्वजनिक अभिव्यक्तिहरूले यही भन्छन् ।

झट्ट हेर्दा ओलीको मठमन्दिर मोह, प्रचण्डको गेरुवस्त्र धारण र श्रेष्ठ–शास्त्री भेट परिस्थितिजन्य घटना जस्ता लाग्छन् तर अन्तर्यमा सत्ता–स्वार्थका लागि नेपाली नेताहरूले गरिरहेको ‘मार्गपरिवर्तन’ नै हो भन्न सकिने प्रशस्त आधार छन् जुन कुरा उनीहरूको श्रृंखलाबद्ध गतिविधि र अभिव्यक्तिबाट पुष्टि हुन्छन् ।

भोटको राजनीति
भारतमा धर्मको राजनीति फस्टाइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीले धार्मिक एजेन्डा उठाइरहेको छ तर उसले धर्मसँगै राजतन्त्रको एजेन्डालाई मिसाउँदा असफल सावित हुँदै आएको छ ।

‘कुनै अर्को दक्षिणपन्थी शक्तिले गणतन्त्र र हिन्दु राज्यको नारा लिएर आए के हुन्छ ?’ यही प्रश्नको आसपास दलहरूले उल्लेख्य ‘भोट’ रहेको बुझाइ बनाउन थालेका त होइनन् ? प्रश्न उब्जिएको छ ।

यही पृष्ठभूमिमा नेपालमा वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडन छ भन्दै यसको विकल्पमा लोकतान्त्रिक संघीय गणतन्त्रको एजेन्डा बोकेर हिंसात्मक क्रान्तिको बाटो रोजेका प्रचण्ड एकाएक दौरा–सुरुवालमा सहज देखिन थालेका छन् । महेन्द्रपथको विरोध सहित बोकेको ‘पहिचान’को राजनीतिक एजेन्डा नबिसाउँदै दौरा–सुरुवाल रोजेर कक्टेल राजनीति गरिरहेका प्रचण्डले संसदबाट सहजै भनिदिए, ‘मैले दौरा–सुरुवाल लगाएको मन पराइयो । भोट त यतै रहेछ ।’

धर्मको राजनीतिलाई पनि दलहरूले यसरी नै भोटको राजनीतिका रूपमा अवलम्बन गरेका हुनसक्छन् । तर भौतिकवाद र अध्यात्मवादको खिचडीको स्वाद नागरिकले कति मन पराउने हुन्, नतिजा थाहा पाउन अर्को चुनाव कुर्नुपर्छ ।

यद्यपि सत्ताको अतृप्त भोक मेटाउन राजनीतिमा धार्मिक अन्धताको प्रयोग सभ्य र सहिष्णु समाजले स्वीकार्नेमा बलियो आशंका गर्न सकिन्छ ।

फरक गन्तव्य, एउटै बाटोको विरोधाभास

भारतमा हिन्दुत्वको राजनीति मौलाउनुमा भाजपाको लामो मिहिनेत मात्र होइन, उक्त देशको ऐतिहासिकता पनि जिम्मेवार छ । भारतले विभिन्न कालखण्डमा चार–चार पटक गरी सयौं वर्षसम्म विभिन्न धर्मका शासकहरूको अतिक्रमण व्यहोरेको छ ।

सयौं वर्षसम्म धार्मिक अतिक्रमण व्यहोरेको भारतमा हुनसक्ने स्वाभाविक प्रतिक्रियाको बलमा भाजपाले धर्मलाई राजनीतिक दर्शनको रूपमा लिने हिन्दुत्वको बाटो लिएको छ । धर्मलाई राष्ट्रको आधार मान्दै यस्तो राष्ट्र टिकाइराख्न हिंसाको प्रत्यक्ष–परोक्ष प्रयोग गर्ने नीतिमा भाजपा देखिन्छ । यो निषेधको राजनीतिको उर्बर भूमि लामो समयसम्मको धार्मिक अतिक्रमणको प्रतिक्रिया पनि हुनसक्छ ।

नेपालको सन्दर्भ फरक छ । हामीले इतिहासमा कहिल्यै पनि भारतमा जस्तो धार्मिक अतिक्रमण व्यहोर्नुपरेन । देशकै शासकहरूको धार्मिक हस्तक्षेप व्यहोरे पनि हाम्रो समाजको जनसांख्यिक बनोटको विविधतालाई सधैंभरि धार्मिक सहिष्णुताले जोड्दै आएको छ ।

जनसंख्याको अनुपात हेर्दा भारतमा भन्दा नेपालमा जनजातिको उपस्थिति उल्लेख्य छ । इतिहास हेर्दा पनि, नेपालमा धार्मिक राष्ट्रवादको हिंसात्मक अवतार कहिल्यै पनि प्रमुख शासकीय स्वभाव वा प्रवृत्ति रहेन । त्यसैले नेपालमा ‘धर्म’ छाडेर गरिने धर्मको राजनीति कहिल्यै फस्टाएन ।

यो राजनीतिको यस्तो अभ्यास हो जहाँ नागरिकलाई सहिष्णुबाट स्वीकारेको निषेधात्मक साँघुरो गल्तीमा प्रवेश गराउँछ । नागरिकको धार्मिक भावनाको शोषण गरेर सत्तासीन भइरहने यस्तो धूर्ततापूर्ण दुष्प्रयासले नागरिकलाई विस्तारै धार्मिक अन्धता र अतिवादको शरणमा पुर्‍याउँछ ।

भारतमा बीजेपी उदयअघिका राजनीतिक नेतृत्वले धार्मिकभन्दा राजनीतिक र आर्थिक हस्तक्षेपको नीति अख्तियार गरे । बीजेपीको उदयसँगै धार्मिक–सांस्कृतिक हस्तक्षेप देखिने गरी सुरु भएको छ । यसको प्रतिरोध गर्नुपर्ने राजनीतिक नेतृत्व यसैलाई अवसरको रूपमा उपयोग गर्न लालायित देखिन्छ ।

भारतको जस्तो हिन्दु कट्टरपन्थमा नेपालमा हिन्दुत्वको विकास र विस्तार मात्र होइन, रक्षा पनि हुनसक्दैन । यो हाम्रो अनुभवसिद्ध मौलिक निष्कर्ष हो । सहिष्णुताको विराटतामा नै नेपालमा हिन्दुत्व मौलाइरहेको छ । यो कुरा नेपाल र भारतका राजनीतिक नेतृत्व मात्र होइन, सांस्कृतिक–धार्मिक नेतृत्वले पनि नबुझे झैं लाग्छ ।

गलत अभ्यासको सुरुवात

धार्मिक कथावाचन गर्न नेपाल आएका शास्त्री फरक आस्था र विश्वासमाथि खुलेआम बुल्डोजर चलाउने कुरा मात्रै गर्दैनन् यसका लागि सार्वजनिक आह्वान गर्छन् । उनलाई नेपाल भित्र्याएर प्रत्यक्ष रूपमा हजारौं र अप्रत्यक्ष रूपमा लाखौं नेपालीलाई आस्थागत विविधता अस्वीकार्न प्रशिक्षण दिने काम भइरहेको छ र यसलाई राज्यले पनि सहर्ष स्वीकृति दिएको देखिन्छ ।

यो सहिष्णु नेपालीलाई ‘धर्म’ छाड्नका लागि प्रशिक्षित गर्नु हो । व्याख्याहरूको विविधताप्रतिको सहिष्णुता र सबै धार्मिक आस्थाहरूप्रति निरपेक्ष हुनसक्ने हिन्दु धर्मको केन्द्रीय ‘धर्म’ विरुद्ध गरिएको ‘अधर्म’ हो । र, शक्ति केन्द्र रिझाएर सत्ता स्वार्थ रक्षार्थ राजनीतिमा धार्मिक राष्ट्रवादको प्रयोगको सुरुवात हो ।

यो राजनीतिको यस्तो अभ्यास हो जहाँ नागरिकलाई सहिष्णुबाट स्वीकारको निषेधात्मक साँघुरो गल्तीमा प्रवेश गराउँछ । नागरिकको धार्मिक भावनाको शोषण गरेर सत्तासीन भइरहने यस्तो धूर्ततापूर्ण दुष्प्रयासले नागरिकलाई विस्तारै धार्मिक अन्धता र अतिवादको शरणमा पुर्‍याउँछ ।

विज्ञान सिकिरहेका हाम्रा सन्ततिलाई अन्धविश्वासको अँध्यारो सुरुङमा धकेलिदिन्छ । अनि मान्छेले मानवीयतासँग विस्तारै दूरी बढाउन थाल्छ । परिणाम के हुन्छ ? सिक्नका लागि दूर इतिहासका हिटलरबाट होइन, निकट छिमेकको मणिपुर घटना नै काफी छ ।



source https://www.onlinekhabar.com/2023/08/1353241

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More