Sunday 6 August 2023

बैंकको लकरमा गोली लुकाउने ल्यारक्याललाई लुम्बिनीको नेतृत्व

२१ साउन, काठमाडौं । ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला पर्‍यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा एक अभियुक्तको लकर खोलिएको थियो ।

लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति कोही नभएर संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा थिए ।

तिनै लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र लुम्बिनीको नेतृत्व सुम्पिएका छन् । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी लामालाई सुम्पिएको हो ।

उनले आगामी ५ वर्ष कोषको नेतृत्व गर्ने एक मन्त्रीले बताए । ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् ।

आपराधिक पृष्ठभूमिका लामाले राजनीतिक संरक्षण भने पाइरहेका छन् । हाल उनी सत्तारुढ माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । दुई वटै संविधानसभामा उनी सदस्य रहेका थिए ।

निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल १० साउनमा पूरा भएको थिो । त्यसपछि शान्तिक्षेत्र लुम्बिनी विकास कोषको नेतृत्वका लागि बौद्ध परम्पराका विशिष्ट व्यक्तित्वहरुले रुचि राखेका थिए । कोषको उपाध्यक्षको नेतृत्वको होडमा गायिका आनी छोइङ डोल्मा, कोषकै पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), सुमार्ग भिक्षु, भिक्षु कुन्डयसहित थिए ।

तर, सरकारले कोषको नेतृत्वका लागि उनीहरुलाई होइन, आपराधिक पृष्ठभूमिका लामालाई योग्य देखेर नियुक्त गर्‍यो ।

प्रधानमन्त्री प्रचण्डकै सोझो हस्तक्षेपमा लामालाई कोषको उपाध्यक्ष बनाइएको स्रोतले अनलाइनखबरलाई बतायो । केही अगाडि उपाध्यक्षको होडमा रहेकी गायिका आनी छोइङ डोल्मासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भेट गर्दै तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । यो पोष्टलाई मन्त्रीको चाहना उपाध्यक्षमा आनी नै रहेको भन्ने सन्देशका रुपमा बुझिएको थियो ।

वैदेशिक रोजगारमा ठगी र भ्रष्टाचारका आरोपी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ सालमा लामाविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीमाथि झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको थियो । २०५८ पुस १९ गते गुम्बा विकास समितिमा नियुक्त भएदेखि उनी नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुँदै व्यवस्थापिका संसद सदस्यसमेत भइसकेका छन् ।

वास्तविक आयभन्दा ९ करोड ४४ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार जरिवाना र कैद सजाय माग गरिएको थियो ।

विशेष अदालतले सफाइ दिएपछि भने सो फैसलाको सर्वत्र विरोध भएको थियो । त्यो निर्णयपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्नसक्नेमा त्यसो नगरेकाले पनि फैसला राजनीतिक दबाबमा भएको अनुमान गरिएको थियो ।

त्यसअघि पनि लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि र वैदेशिक रोजगारी ठगीको आरोपमा समेत गरेर उनी जेल बसेका थिए ।

उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि प्रहरीले पक्राउ गरेको थियो ।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा र तिरिङडोल्मा लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए ।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भाञ्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’ उल्लेख गरेका थिए । कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।

कांगेस–एमालेबाट उदाए, माओवादीबाट लाभ लिए

लामा कांग्रेस र एमालेको पृष्ठभूमिपछि पछिल्लो समय उनी माओवादीबाट पदक पटक लाभको पदमा पुगेका छन् । झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला लामा अर्थ राज्यमन्त्री भएका थिए । दोस्रो संविधानसभाको चुनावमा भने तिनै लामा माओवादीको समानुपातिक सूचीमा समेटिए । चुनावपछि समानुपातिक सांसद बनेका थिए ।

२०५८ मा गुम्बा विकास समितिको अध्यक्ष चाहिँ उनलाई कांग्रेसले सिफारिस गरेको थियो । उनी मन्त्री हुँदा समेत दोहोरो नागरिकताको विवादमा फसेका थिए । सोही बेला उनले राजीनामा समेत दिएका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1346957

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More