हामी बेइजिङ पुगेको दोस्रो दिन ग्रेटवाल घुम्ने मेलो जुर्यो । जुन ११ को दिन । बुलेट ट्रेनमा बत्तिएर हामी बेइजिङ पुगेका थियौं । ग्रेटवाल टेक्ने मेरो धोको अधुरो थियो । बितेको वर्ष बेइजिङ पुगे पनि ग्रेटवालको फन्को लगाउन पाइएको थिएन । मैले सो कुरा आफूसँगै चाल मिलाइरहेका उज्वेकिस्तानका मित्र डेभरोन जेजेभलाई सुनाउँदा उनी फिस्स हाँसे । अनि आफ्नो अनुभव सुनाउँदै उनले थपे, ‘मेरो चाहिं यो दोस्रो पटक हो ।’
यसपालि पनि चीन यात्राको मेलोमेसो मिलाइदिएको थियो, नेपाल-चीन हिमालयन फ्रेन्डसिप सोसाइटीले । ‘नेक्स्ट जेनेरेसन’ सम्बन्धी सेमिनारमा सहभागी हुन हाम्रो टोली त्यसतर्फ लागेको थियो । ‘पहिलो पटक मौसमले धोका दियो,’ मैले डेभरोनलाई सुनाएँ, ‘ग्रेटवाल चढ्न नपाएको थकथकी बोकेर फर्कनुपरेको थियो ।’
मेरो कुरामा सही थाप्दै उनले भने, ‘जतिपटक उक्लिए पनि धीत नमर्ने रहेछ । पहिले भन्दा यसपालि यो अरु सफा, सुन्दर र मोहक लाग्यो ।’
‘सानैदेखि किताबमा पढ्दै र हाजिरी जवाफ खेल्दै आएको ग्रेटवाल मेरो लागि ठूलो कौतुहलताको विषय थियो,’ यसो भन्दै मैले डेभरोनलाई पछि पारें । मेरो पाइला छिटो-छिटो चलिरहेको थियो ।
ग्रेटवालमा हामीसँगै थिए, सहकर्मी पत्रकार गोकर्ण भण्डारी, आइटी इन्जिनियर किरण दहाल, बेइजिङका टुरिस्ट गाइड लिन र उनै डोभरोन ।
एउटा कुरा भनिहालौं, चीनको यो ग्रेटवाल पूर्वको शानहाई गुचानदेखि पश्चिमको लोपनूरसम्म फैलिएको छ । यसका पनि विभिन्न शाखा छन् । यो सबैलाई जोड्ने हो भने यसको लम्बाइ आठ हजार आठ सय किलोमिटर छ ।
हामी जहाँबाट ग्रेटवाल चढिरहेका थियौं जुयोङ गुनपास, यो ठाँउसम्म पुग्न बेइजिङको मुख्य सहरबाट साढे दुई घण्टाको बस यात्रा छिचोल्नुपर्ने रहेछ । लिन भन्दै थिए, ‘ग्रेटवाल चढ्ने यो नै मुख्य प्रवेशद्वार हो ।’
साथी गोकर्ण र मेरो होड
गोकर्ण र म बडो फूर्तीसाथ चमकदार सिंढीहरु एकपछि अर्को गर्दै उक्लिरहेका थियौं । हामीसँग समय दुई घण्टा मात्र थियो । त्यसैले सकेसम्म हामी जुयोङ गुनपासबाट दायाँ र बायाँ फैलिएको ग्रेटवालको धेरै सिंढी चढ्न चाहन्थ्यौं ।
आठ देशका २७ जना साथी ग्रेटवाल चढ्न जुयोङ गुनपास पुगेका थियौं र ग्रेटवालको बायाँतर्फ हामी सबै जना उत्साहका साथ लम्किरहेका थियौं । गोकर्ण र मैले सबै साथीलाई पछि पार्दै बायाँतर्फको सिंढीहरु चढेर तल फर्कियौं । हामीलाई हतारो थियो दायाँपट्टि पनि धेरै सिंढी चढ्ने ।
नभन्दै ग्रेटवालको दायाँपट्टिको सिंढी चढ्ने हाम्रो समूहमा हामी दुई मात्र भयौं । ग्रेटवालको सिंढी चढ्दा र ओर्लंदा भेटिएका धेरै चिनियाँ पर्यटकले हामीलाई हात हल्लाएर अभिवादन गरे । केहीले हामीसँग फोटो खिच्नसमेत रुचि देखाए । हामीले ग्रेटवालका धेरै ठाँउमा फोटो खिच्यौं, ग्रेटवालको उचाईबाट निकै तल जुयोङ गुनपासलाई नियाल्यौं, ग्रेटवाल प्रवेश गर्ने गेटलाई हेर्यौं र फेरि केही थान फोटो खिच्यौं ।
हामी साँच्चै उत्साहित थियौं । अन्तरीक्षबाट देखिने पृथ्वीको एक मात्र मानव निर्मित संरचना ग्रेटवालका धेरै सिंढी हामीले चढ्न भ्याएका थियौं । हाम्रो समूहको धेरै साथीलाई पछि पार्दै चिनियाँ पर्यटकहरुबाट अभिवादन ग्रहण गर्दै ।
हामीले निर्धारित समयभन्दा करिब आधा घण्टा ढिला गर्यौं, जुयोङ गुनपासको प्रवेश गेटसम्म आउन । किनभने हामीले साथीहरु भन्दा धेरै सिंढी चढेका थियौं ग्रेटवालको । हामी गेटछेउ आइपुग्दा साथीहरु जुयोङ गुनपासको अस्थायी बजारमा ग्रेटवाल अंकित टिसर्ट, उपहारका विभिन्न सामान, क्याप हेर्न र किन्न व्यस्त थिए ।
ग्रेटवालको कथा सुन्ने उत्सुकता
साथीहरुको किनमेलको समयलाई सदुपयोग गर्दै मैले हाम्रो गाइड लिनसँग ग्रेटवालका ऐतिहासिक तथ्यको बारेमा जिज्ञासा राखें । उनले सुनाए– किंवदन्तिहरुमा उल्लेख भएअनुसार ईशापूर्वक ६५६ मा चू राज्यका राजा चङले ग्रेटवाल (विशाल पर्खाल) को निर्माण थालेका हुन् । चू को यो अभियानलाई आठौं शताब्दीमा कुई यान र जाहो राज्यहरुले आफ्नो राज्यको सुरक्षाको लागि भन्दै निरन्तरता दिए ।
२२१ वर्ष पूर्व किन साम्राज्यले चीनमा छरिएका स-साना राज्यलाई एकीकरण गरी विशाल चीन निर्माण गरे र विभिन्न ठाँउमा रहेको पर्खाललाई समेत एकीकृत बनाएर ग्रेटवाल निर्माण गरे ।
ग्रेटवालको यो किंवदन्ती एउटा समयको साहस र विश्वासको दरिलो उदाहरण लाग्छ । त्यतिबेलाको शासकले अटल विश्वासका साथ देखाएको असाधारण साहसले चीनलाई ग्रेटवालको देश भनेर पनि चिनाउन सकेको छ ।
लिनले चीनको शासकीय किंवदन्तीलाई ग्रेटवालसँग जोडेर बडो रोचक ढंगले आफ्नो देशको गौरव गाथा र ऐतिहासिक एवं साहसिक कामको चर्चा गरिरहँदा मैले मेरो देश, मेरो जिल्ला दोलखाको गौरव शैलुङको सम्झना गरें र शैलुङमा बन्दै गरेको मिनी ग्रेटवालको सम्झना गरें ।
शैलुङमा बन्दै गरेको ग्रेटवाललाई कालिञ्चोकको फेदैफेद लामाबगर, लप्ची र फलाक हुँदै चीनको तिब्बतसम्म तन्काउन सकिए ऊबेला अंशुवर्माले तिब्बतका राजा स्रङचङ गम्पोलाई भृकुटीको विवाह गरिदिएर गाँसेको साइनो, अरनिकोले आफ्नो कलाकृति चीनमा विस्तार गरेर गाँसेको साइनो र चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौंमा वस्ती बसालेर गाँसेको साइनो सार्थक हुनेथियो कि ।
ओ हो, म त भावनामा हराएछु । बसको हर्नले मेरो भंग गरिदियो । हतारहतार बसतर्फ दौडिएँ । लिन त अघि नै बसमा पुगिसकेका रहेछन् । उफ ! एकैछिनको ढिलाले बसको अघिल्लो सिटमा उज्वेकिस्तानका काका पो बसिसकेका रहेछन् । काल्पनिक भावनाको एउटा छालले समयलाई छोपिदिंदा यता बसको अघिल्लो सिटमा बसेर बेइजिङ सहर र पाखापखेरु नियाल्दै रमाउने मेरो चाहनामा भने तुषारापात भएको छ ।
गन्तव्य तियानमेन
बेइजिङ पुगेको तेस्रो दिन तियानमेन स्क्वायर र फरविडनसिटी जाने कार्यक्रम छ । अघिल्लो दिन ग्रेटवालको यात्राले शरीर थोरै थाकेको थियो, त्यसैले पनि बेलुकाको विश्राम छिट्टै भयो । फेरि नेपालसँगको समयमा दुई घण्टा चाँडो हुन्छ चीनको समय । त्यसैले आठ बजे सुत्दा पनि नेपालको समयले छ मात्र बजाएको हुन्छ । चीन पुगेको केही समय त शरीरलाई खानपिन र सुताइको सन्तुलन मिलाउनै कठिन हुने ।
चाँडै सुतेको र थाकेको शरीरले तत्कालै निद्रा स्वीकारेको अवस्थामा भोलिपल्टको भ्रमणको परिकल्पना गर्नै पाइएन । तियानमेन गन्तव्य पहिल्याउने तेस्रो दिन बिहानको नास्तापछि यात्राको क्रममा बसको सिटमा गर्मीले झुल्दै गर्दा फ्ल्यासब्याकमा झुल्किएका सपनाको खाकाले चीनका महान् नेता माओत्सेतुङको स्मारक रहेको मेमोरियल हल हेर्ने चाहलाई भने जागृत गरिदिएको थियो । तर विडम्बना नै भन्नुपर्छ तियानमेन स्क्वायर दोस्रो पटक पुग्दा पनि माओत्सेतुङको स्मारक रहेको मेमोरियल हल पुग्ने शौभाग्य जुरेन ।
सन् १९८९ मा तियानमेन स्क्वायरमा भएको विरोध प्रदर्शनको क्रममा धेरै मानिस मारिए । त्यो घटनासँग जोडेर विश्व समुदायले अहिले पनि चीनको आलोचना गरिरहेको छ । राजनीतिक परिवेश र घटना जेसुकै होस्, तियानमेन स्क्वायरलाई एउटा महत्वपूर्ण पर्यटकीय केन्द्र बनाउन चीनले गरेको व्यवस्थापन लोभलाग्दो र अनुकरणीय छ ।
तियानमेन चोकको फन्को मारेर फोटो खिच्ने भीडमा नाइजेरियाका ब्राइट मसँगै थिए । उनी आश्चर्य मानिरहेका थिए । ‘एकैपटक पाँच लाख मानिस उभिन सक्ने चार लाख ४० हजार वर्गमिटरको यो चोक ग्रेटवाल जस्तै चमत्कारी छ,’ ब्राइट भन्दै थिए ।
तियानमेन स्क्वायर प्रवेशलाई नि:शुल्क गरिएको छ । तर त्यसको लागि अघिल्लो दिन नै जानकारी गराउनुपर्ने प्रावधान रहेछ । तियानमेन स्क्वायर चोकसँगै रहेको फरविडन सिटी प्रवेशको लागि भने ६० रुपैयाँ आरएमबी शुल्क लाग्छ रे । हाम्रो भ्रमणको व्यवस्थापन सेमिनार आयोजक उहान रिसर्च इन्सिटिच्युट अफ पोस्ट एण्ड टेलिकम्युनिकेसनबाट भएकाले शुल्कको लफडामा भने हामी लाग्नुपरेन ।
आहा चिनियाँ जीवनशैली
२१ दिनको चीन बसाइका क्रममा बेइजिङ, उहान र लुओयाङका धेरै पर्यटकीय गन्तव्य घुम्ने अवसर मिल्यो । बेइजिङको ग्रेटवाल, तियानमेन स्क्वायर, फरविडन सिटी, टेम्पल अफ हेभन । लुओयाङको लङ्गमेन ग्रोटोज, लुओयाङ म्युजियम, ह्वाइट हाउस टेम्पल, साउलेन टेम्पल, उहानको चू नदी, याङ्जी नदीजस्ता धेरै ठाँउ छन्, जहाँ दैनिक पचासौं हजार पर्यटक पुगिरहेका हुन्छन् ।
यी प्रत्येक ठाँउमा गन्तव्य पहिल्याउँदै गर्दा मानिसको भीडमा हेलिंदै हेलिंदै अगाडि बढ्नुपर्ने बाध्यता भनौं या रोमाञ्चकता ! यात्रालाई अविस्मरणीय बनाउने अचुक औजार । चीनका हरेक नागरिक आफ्नो काम र जिम्मेवारीप्रति सचेत छन्, इमान्दार छन् तर फुर्सदमा रोमान्टिक र मनमौजी छन् । घुम्ने र खाने चिनियाँहरुको विशिष्ट खालको सौखजस्तै लाग्छ ।
चीनका हरेक सहरका, हरेक होटल र रेस्टुरेन्टमा चपस्टिकले परिकारहरुलाई चेप्दै गरेको दृश्य सुखद् लाग्छ । पार्क र विभिन्न पर्यटकीय केन्द्रहरुमा आधुनिक फेसनसँग दौंतरीको हात समाउँदै उच्छवासका मुस्कान पस्किएको दृश्यले काउकुती लगाइदिन्छ ।
यो पो जिन्दगी ! चिनिया लाइफ स्टाइलले मदहोस बनाउँछ साँच्चै ।
मातृभूमि सम्झिंदा मनमा सिरेटो चल्छ
हामीसँग पनि यस्ता धेरै प्राकृतिक सुन्दरताहरु छन् । धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरु छन् । तर हामीले न आन्तरिक पर्यटकलाई ती ठाँउहरुमा पुर्याउन सक्यौ, न बाह्य पर्यटक नै भित्र्याउन सक्यौं राजनीतिक र प्रशासनिक क्षेत्रका उपल्लो तहका धेरै व्यक्तिले युरोप, अमेरिका, चीनलगायतका विकसित मुलुकहरुको भ्रमण गर्नु भएको छ । त्यहाँको रहनसहन, आदर सत्कार, व्यवस्थापन नियाल्नु भएको छ । तर खै के कुराले छेक्छ वा इच्छा शक्ति नै छैन । देखेको कुरा सिक्नै चाहँदैनन् ।
न हामी काममा इमान्दार हुन सकेका छौं, न भ्रमणको त्यति धेरै सौखिन नै बन्न सकेका छौं ।
तियानमेन चोकको विशाल भूमिमा उभिएर घोत्लिंदै गर्दा होस या ग्रेटवालको ऐतिहासिक सिंढी चढेर सुस्ताउँदै गर्दा होस्, मेरा हरेक श्वासका सिरेटोहरुले मातृभूमिको सुन्दरता खोजिरहेको थियो । तै, मैं पो केही गर्न सक्छु कि ? समयको प्रतीक्षामा छु ।
-२०८० साउन १०
तस्वीरहरु : ग्रेटवाल र तियानमेन स्क्वायर
source https://www.onlinekhabar.com/2023/08/1345995
0 comments:
Post a Comment