२१ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ ।
अब नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले शीर्ष दुईमा स्थान बनाउन अब सिंगापुर आजै हुने खेलमा हङकङसँग पराजित हुनुपर्नेछ भने अन्तिम दिन हङकङले मलेसियालाई पनि पराजित गर्नुपर्नेछ ।
थाइल्याण्डविरुद्ध नेपालले ओपनिङमा परिवर्तन गर्दै पारस खड्का र कुशल मल्ललाई ओपनिङ गराएको थियो । यसअघि कुशल र कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पारस खड्का दोस्रो ओभरको तेस्रो बलमै व्यक्तिगत ९ रनमा आउट भए ।
त्यसपछि तेस्रो नम्बरमा ब्यटिङ गरेका पवन सर्राफले कुशललाई साथ दिए । पवनले सुरुवाती ३ बलमा रन जोड्न सकेनन् । त्यसपछि भने कुशल र पवनले विष्फोटक ब्याटिङ गरे । कुशलले तेस्रो ओभरमा लगातार ३ चौका र एक छक्का गरी १८ रन प्रहार गरेका थिए ।
यस्तै पवनले पाँचौं ओभरमा दुई छक्का र एक चौकासहित १६ रन जोडे ।
दोस्रो विकेटका लागि कुशल र पवनले अर्धशतकिय साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । कुशलले १८ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ३६ रन बनाए । यस्तै १० बल खेलेका पवनले २ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे ।
त्यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको हो ।
घरेलु टोली थाइल्याण्डका लागि हेन्नो जोर्डनले सर्वाधिक १३ रन बनाए भने विकेटकिपर फिरियापोङ सुअनचाई १२ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन खर्चिएर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
यस्तै टी २० अन्तर्राष्ट्रिय डेब्यु गरेका भुवन कार्कीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए ।
सन्दीप लामिछानेले शुरुवाती तीन ओभर मेडन गरेपछि ४ ओभरमा ९ रन खर्चिए । उनले आफ्नो तेस्रो ओभरमा वाइडबाट १ रन दिएका थिए भने अन्तिम ओभरमा ८ रन खर्चिएका थिए । सन्दीपले १ विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन र कुशल मल्लले २ ओभरमा ४ रन खर्चिए ।
source https://www.onlinekhabar.com/2020/03/841504
0 comments:
Post a Comment