कति कोरोनाको कुरा गर्ने ? एकछिन यी सबै कुरा छाड्नुहोस् । मन र मस्तिष्कबाट कोरोनालाई ‘डिलिट’ गरिदिनुहोस् । बरु यो मौकामा एउटा बगैंचा निर्माण गरौं ।
बगैंचा भन्नसाथ तपाईंले घर–आँगनमा खुला ठाउँ नै खोज्नुपर्छ भन्ने छैन । यदि त्यस्तो ठाउँ भए त काइदा हुन्छ । नभए पनि निको छ ।
तपाईं जहाँ बस्नुहुन्छ, त्यहाँ छत त छ नि । बार्दली छ नि । वा कुनै खुला ठाउँ त पक्कै छ ।
त्यसो हो भने तपाईंले पुदिना, धनिया, खुर्सानी, प्याज, लसुन वा फूलहरु रोप्ने ठाउँको अभाव हुनेछैन । सजिलै सर्ने र हुर्कने प्रकृतिका घिउकुमारी जस्ता उपयोगी वनस्पति रोप्नका लागि ठाउँको अपुग हुनेछैन । यसमा तपाईंको आवश्यक्ता र तपाईंसँग उपलब्ध कुरालाई प्राथमिकतमा राख्न सक्नुहुन्छ । हुनसक्छ, यसले तपाईंको खाँचो वा अभाव टार्नेछैन । यसरी रोपेर उत्पादन गरेका खानेकुरा तपाईंका लागि पर्याप्त नहुन सक्छ । तर, अहिलेको क्षणमा तपाईंका लागि रमउने गजब बहाना हुनसक्छ । तपाईं मात्र हो र ? बालबच्चालाई काम गर्न सिकाउने काइदा पनि हुनसक्छ ।
मोवाइल वा ल्यापटपमा झुन्डिरहेका बालबच्चालाई तपाईंले यी सबै काममा सहभागी गराउनुपर्नेछ । यसबाट उनीहरुको अनुत्पादक समय रचनात्मक काममा मोड्न सकिनेछ । बाली र बगैंचाको काम सिक्नेछन् ।
यतिबेला तपाईंलाई चाहिनेछ केही गमला, माटो, मल । गमलाका लागि थुप्रै विकल्प छन् । घरमा चामलको खाली बोरो, प्लाष्टिकका भाँडा, झोला । यस्ता सामग्रीले घर फोहोर बनाएको पनि हुनसक्छ । कतिपय भँडावर्तन काम नलाग्ने भएका हुनसक्छ । पानी चुहिने बाल्टिन हुनसक्छ । यी सबै खोजौं ।
अब तपाईंले प्लाष्टिक, बोरा, बाल्टिन आदिमा मल र माटो भर्न सक्नुहुनेछ । घरको बार्दली, छत वा खुला ठाउँमा सुहाउँदो र सुरक्षित ढंगले यी गमला राख्न सकिनेछ ।
आफ्नो आवश्यक्ता र उपलब्धतालाई हेरेर त्यहाँ धनियाँको दाना लगाउन सकिन्छ । पुदिनाको बोट सार्न सकिन्छ । घिउकुमारी रोप्न सकिन्छ । यतिबेला सागसब्जी रोप्ने अनुकुल समय पनि हो । यो मौसममा धेरैथरी सागसब्जी रोप्न सकिन्छ । तपाईं्रसँग बिउ–बिजन जगेडा छ भने त अझ काइदा भयो ।
अँ, यी सबै काममा तपाईंले नेतृत्व मात्र गर्नुपर्नेछ । कामदार भने बालबच्चालाई बनाउनुहोस् । उनीहरुलाई माटो भर्नेदेखि बिउ–बिजन राख्नेसम्मको काममा खटाउनुहोस् । तर, बाध्यकारी रुपमा होइन । उत्प्रेरित गरेर ।
उनीहरुले रोपेका सागसब्जी, फूलहरु भोलि अंकुराउन थाल्नेछ । फल्न र फूल्न थाल्नेछ । यसले बालबच्चालाई उमंगित बनाउनेछ । यसरी नै फेरी पनि बोटबिरुवा, सागसब्जी रोप्न उत्साहित हुनेछन् । रोप्ने तौर तरिका सिक्नेछन् । बालीनालीको बारेमा अनुभव संगाल्नेछन् । यसले एउटा नयाँ संस्कारको थालनी हुनेछ ।
अब तपाईंको घरमा एउटा बगैंचा निर्माण भयो । यसलाई सिंचाई गर्न वा पानी लगाउनका र मलखाँद पु¥याउन के गर्ने ? शहरी क्षेत्रमा यसैपनि पानीको अभाव छ ।
जहाँ इच्छा, त्यहाँ उपाय । तपाईंको भान्सामा दुईवटा झोला र सामान्य बाल्टिन राख्न सक्नुहुनेछ । चामल धोएको, सागसब्जी पखालेको पानीलाई त्यसै मिल्काउनुभन्दा एउटा बाल्टिमा जम्मा गर्नुहोस् । सागसब्जीको बोक्रा, सडेगलेको खानेकुरालाई अर्को डस्बिन वा झोलामा राख्नुहोस् । जम्मा गरिएको पानी सिंचाईका लागि हुन्छ, सागसब्जीको बोक्रालाई सानो खाल्डो वा भाँडामा राखेर मल बनाउन सकिन्छ ।
भान्साको सही व्यवस्थापन पनि हो यो । यसबाट पनि तपाईंका बालबच्चाले कुनैपनि कुराको व्यवस्थापन गर्ने पाठ सिक्छ । खासमा यतिबेला समय कटाउन मात्र होइन, बालबच्चालाई व्यवहारिक जीवनमा हेलमेल गराउन पनि तपाईंका लागि गजबको काइदा हुनसक्छ, बगैंचा निर्माण ।
source https://www.onlinekhabar.com/2020/03/847730
0 comments:
Post a Comment