Monday, 2 March 2020

पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार, क्वारेन्टाइन खोजिँदै

२० फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमितलाई उपचार गर्न पोखरामा ६० शय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनको खोजी पनि भइरहेको छ ।

शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा शय्याको व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालमा ३, चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

‘क्वारेन्टाइनका लागि संभावित स्थलको खोजी भइरहेको छ,’ डा. शर्माले भने, ‘साविकको लेखनाथ नगरपालिकाको भवन, एकअर्कामा गाभिएर खाली भएका विद्यालय वा कहाँ हुनसक्छ अध्ययन गरिरहेका छौं ।’

गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको डा. शर्माले जानकारी दिए ।

एक महिनाअघि नै टास्कफोर्स, तर सुरक्षाका सामाग्री अभाव

कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै गण्डकी प्रदेशले १ महिना अगाडि नै टास्क फोर्स गठन गरेको थियो । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माको संयोजकत्वमा गठित टास्क फोर्सले नै कोरोनाको सतर्कता अपनाउने काम गर्दै आएको छ ।

‘अघिल्लो महिनाको अन्तिमसम्म त अब ल कोरोना नियन्त्रण नजिक पुग्यो भन्ने आइरहेको थियो । तर पछि यसको संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलियो,’ निर्देशक शर्माले भने, ‘हामीले जोखिमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री नै पर्याप्त छैनन् । केही दिनअघि जम्मा ५ सेटमात्र रहेकोमा अहिले प्रदेशमै जम्मा २५ सेट सावधानीमा लगाउने सामाग्री उपलब्ध छ ।

विशेष प्रकारको हेलमेट, पञ्जा, मास्क लगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।

चिनियाँ नागरिक निगरानीमा

लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा कार्यरत ३८ जना चिनियाँ हालै काममा फर्किएपछि कोरोना भाइरस आफूहरुमा सर्ने भन्दै स्थानीयबासी सशंकित बनेको खबर सार्वजनिक भएपछि चिकित्सकसहितको टोलीले यथार्थ बुझ्ने काम गरेको थियो । तर, उनीहरु संक्रमित नभएकाले अरुमा नसर्ने निष्कर्ष टोलीले निकाल्यो ।

यद्यपि अन्य कुनै स्थानमा विदेशी पर्यटक छन् कि छैनन् र उनीहरुको स्वास्थ्य कस्तो भनेर निरन्तर निगरानी गरिरहेको डा. शर्मा बताउँछन् । ‘न्यादी जलविद्युत आयोजनाका चिनियाँ कामदार क्वारेन्टाइनमा बसेर चीन सरकारले नै पठाएका हुन् । त्यहाँ समस्या छैन,’ डा. शर्माले भने, ‘अन्त पनि चिनियाँ नागरिकलाई निगरानी गर्न, अन्य पर्यटकलाई पनि सावधानी अपनाउन अनुरोध गर्न भनिरहेका छौं ।’

प्रदेशको टास्क फोर्सले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारमाथि पनि निगरानी गरिरहेको छ । १÷२ दिन बिराएर विमानस्थलमा पुग्ने र चिनियाँ कामदारको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

पोखरा र मुस्ताङमा हेल्थ डेस्क

गण्डकी प्रदेशमा हवाईयात्रामार्फत आउने पर्यटकको अवस्था बुझ्न २ ठाउँमा हेल्थ डेस्क राखिएको छ । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखेर स्वास्थ अवस्था बुझ्ने काम भइरहेको प्रदेश स्वास्थ निर्देशनालयले जानकारी दिएको छ ।

‘पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ,’ निर्देशक डा. शर्माले भने, ‘चीनसँग सिमाना जोडिएको मुस्ताङमा पनि त्यसरी नै डेस्क छ । चीनसँग जोडिएको कोरला नाकाबाट उनीहरुले नै बाहिर जान आफ्ना नागरिकलाई निषेध गरेका छन् ।’ पोखराको हेल्थ डेस्कमा २ र मुस्ताङमा एक जनालाई खटाइएको छ ।

पोखरा सुरक्षित रहेको र सावधानी अपनाउन सन्देश दिने भन्दै सोमबार पोखराका पर्यटन व्यवसायीले ¥याली निकालेका थिए । उनीहरुले चीनको पीडामा पोखरेली पनि सँगै रहेको सन्देश दिन हस्ताक्षर अभियान पनि चलाएका छन् । हस्ताक्षरहरु उहान प्रान्तका मेयरलाई पठाइने छ । चीनको पीडामा ऐक्यवद्धता जनाउँदै व्यवसायीले भने, ‘अहिलेसम्म त हामी सुरक्षित छौं ।

डर र चिन्ता कायमै

सुरक्षित रहेको सन्देश दिने भनिए पनि व्यवसायीमा कोरोनाको डर र चिन्ता भने कायमै छ ।

बढी पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्र यतिबेला सुनसान छ । त्योमात्रै होइन चीनको उहानबाट विश्वका धेरै देशमा फैलिँदै गएको कोरोनाको संक्रमण नेपालमा आइपुग्यो भने के हुन्छ ? व्यवसायीमात्रै होइन, पोखरेली नै सशंकित छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि आशंका बढेको छ । कोरोनामा नेपालमा भित्रियो भने सरकारले कसरी नियन्त्रण र व्यवस्थापन गर्ला ? यतिबेला हरेक नेपालीको चिन्ता छ ।

नेपालमा छिरे पर्यटनको हब मानिएको गण्डकी प्रदेश पनि कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम भएको प्रदेश हो । गण्डकी प्रदेश चीन र भारतसँग सीमा जोडिएको छ । आन्तरिक पर्यटकको आउजाउ धेरै हुने भएकाले पनि पोखरेलीमा डर छ ।



source https://www.onlinekhabar.com/2020/03/841186

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More