Sunday, 5 December 2021

‘जिउनुको मज्जा’ लोकार्पण

बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक ‘द जोय अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् ।

‘ह्याप्पी म्यान अफ द वर्ल्ड’को रूपमा समेत चिनिएका रिम्पोछेको पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्तरूपमा लोकार्पण गरे ।

‘आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित गर्छ’, डा वसन्त पन्तले पुस्तकबारे बोल्दै भने, ‘जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा लिन सकियो भने जीवनमा खुशी प्राप्त गर्न सकिन्छ ।’

गायिका आनी छोइङ डोल्माले आजको जीवनमा आफू आइपुग्न मिङ्युर गुरुको पथप्रदर्शक भएको बताउँदै पुस्तकले हरेक व्यक्तिलाई खुशीको मार्गमा डोर्‍याउने बताइन् । अनुवादक डा. सरोज धितालले बौद्ध दर्शनमा शान्तिको मार्ग भएकोले त्यसले हरेक व्यक्तिलाई सुखको बाटोमा लैजाने भन्दै अनुवाद गर्दाका अनुभव बाँडेका थिए ।

कार्यक्रममा रिम्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जागृत राखे क्लेशमुक्त हुन सकिने बताए । उनले भने, ‘निर्वाणका निम्ति नभै नहुने आधारभूत गुण पहिलेदेखि नै मानवमा भएकाले त्यसलाई चिन्नका लागि आफ्नो जीवन-मार्गसँगै आफूले आर्जन गरेको ग्यानलाई पुस्तकमा प्रस्तुत गरेको हुँ ।’

न्यूयोर्क टाइम्स बेस्टसेलर ‘द जोय अफ लिभिङ’ पेनगुइन अमेरिकासँग अनुवाद अधिकार लिई बुक-हिलले नेपाली भाषामा प्रकाशन गरेको हो । किताबको बजार मूल्य ५ सय रुपैयाँ राखिएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1048603

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More