Friday, 10 December 2021

केपी ओली सुध्रिने सम्भावना छैन : माधव नेपाल

२५ मंसिर, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताए ।

उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमाले भित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुन आग्रह गरे । ‘केपी ओली निरंकुश प्रवृतिका पात्र हुन्, उनी सुध्रिदैनन्’ नेपालले भने, ‘एमाले ओलीको प्राइभेट कम्पनी जस्तै भएको छ, त्यसबाट मुक्त हुनुपर्छ ।’

अध्यक्ष नेपालले आफूहरूले गरेको विद्रोह एमालेको चितवनमा भएको महाधिवेशनको तमासाबाट पुष्टि भएको दाबी गरे । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनलाई सामान्तवादको भूत जगाउने कोसिस नगर्न चेतावनीसमेत दिएका छन् । ‘राजेन्द्र लिंगदेनलाई भन्न चाहान्छु, प्रतिगामी सोच नराख्नुस्, पुरानो इतिहास दोहोरिदैन, नेपालले भने, ‘खोज्दै जाने हो भने त राणा शासन र दास प्रथा ल्याए भयो नि, तर पछाडि फर्कन सम्भव छैन ।’

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्टिय सभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । उनले स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै नेता नेपालले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए ।

अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पुँजीवाद भएको अध्यक्ष नेपालले बताए । दलाल पुँजीवादले समाजका सबै अंगमा विकृति विसंगति हुर्काएको र दलका नेताहरू समेत यसमा चुर्लुम्म डुबेको अध्यक्ष नेपालको भनाइ थियो ।



source https://www.onlinekhabar.com/2021/12/1050721

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More