याज्ञवल्क्य¬–मैत्रेयी संवाद दर्शन जगतको निकै चर्चित प्रसंग हो । यसै प्रसंगमा भौतिक र अभौतिक सम्पत्तिको भेदको युक्तिपूर्ण वर्णन पाइन्छ । याज्ञवल्क्य आफ्नो सम्र्पूण सम्पत्ति दुबै पत्नी मैत्रेयी र कात्यायनीलाई बाँडेर सन्यस्त हुन चाहन्छन् । यसमा कात्यायनी सहमत देखिन्छिन्, तर मैत्रेयी सोध्छिन्— स्वामी ! यो सम्पत्तिबाट के म अमरत्व प्राप्त गर्न सक्छु ? होइन¬– याज्ञवल्क्य भन्छन्— धनी मानिसको समान नै तिम्रो जीवन व्यतित हुन्छ तर धनले अमरत्व प्रदान गर्दैन ।
त्यसै पृष्ठभूमिमा अमरत्वको जिज्ञासु मैत्रेयी र याज्ञवल्क्यबीचको बोधगम्य संवादले बृहदारण्यक उपनिषदलाई अद्वैत वेदान्त र सन्यास निष्ठाको प्रतिपादक बनाएको छ । यो उपनिषदहरूमा सर्वाधिक बृहदाकार तथा मुख्य दस उपनिषदको श्रेणीमा सबैभन्दा अन्तिम उपनिषद् मानिन्छ । यसको नाम (बृहदारण्यक = बृहद् + आरण्यक) को अर्थ बृहद ज्ञान वाला वा घना जंगलमा लेखिएको भन्ने बुझिन्छ । यसमा तत्वज्ञान, तदुपयोगी कर्म तथा उपासनाहरूको अति सुन्दर वर्णन पाइन्छ ।
बृहदारण्यक उपनिषद् शुक्ल यजुर्वेदसँग जोडिएको छ । दार्शनिक दृष्टिले महत्वपूर्ण यस उपनिषदमाथि आदि शंकराचार्यले पनि टीका लेखेका थिए । यो शतपथ ब्राह्मण ग्रन्थको एक खण्ड हो र यसलाई शतपथ ब्राह्मणको पाठमा सम्मिलित गरिन्छ । यजुर्वेदको प्रशिद्ध पुरुष सूक्तका अतिरिक्त यसैमा ॐ असतोमा सद्गमय । तमसोमा ज्योतिर्गमय । मृत्योर्मा अमृतंगमय । जस्ता प्रसिद्ध श्लोक भेटिन्छन्। यी श्लोकहरूको अर्थ मलाई असत्यदेखि सत्यतिर, अन्धकारबाट उज्यालोतिर र मृत्युदेखि अमरत्वतिर लैजाउ भन्ने हो ।
तमसोमा ज्योतिर्गमय अर्थात अज्ञानताबाट ज्ञानतर्फ लाग्नु भन्ने हो । यस शाश्वत वाक्यको स्थुल अर्थ धेरैले बुझे पनि यसको मर्म भने नबुझेको देखिन्छ । कतिपयले यसको मर्मलाई बुझेर पालना गरेर कृतज्ञतापूर्वक जीवन व्यतीत गरेका छन् । निरन्तर निरन्तर ज्ञानप्राप्तिको मार्गमा अग्रसर रहनु नै श्लोक साधनाको ध्येय हो ।
अज्ञानता अर्थात भौतिकतामा लौकिकतामा लिप्त रहेर जीवनको शाश्वत सुख प्राप्त हुन्न भन्ने हो । सनातन जीवन पद्धतिमा दिवाली वा दीपावलीको संस्कृति यसै अमर वाक्यको अनुकरण हो । तर त्यो कुरा त्यौहार वा तिहार नामको सांस्कृतिक जीवनमा धूमिल हुन पुगेको छ ।
दीपावली महाकाली र महालक्ष्मीको अर्चना दिवस पनि हो । अमावस्या अर्थात् कालरात्री भएकाले महाकालीको अर्चना गरिन्छ भने महालक्ष्मीको अवतार दिवस भएकाले महालक्ष्मीको अर्चना गरिन्छ । बंगालमा महाकाली पूजनको विशिष्टता छ भने नेपालमा महालक्ष्मीको ।
दीपावलीको अवसरमा धन र भोजनको लागि घरघरमा महालक्ष्मीको पूजा गरिन्छ । माता लक्ष्मीलाई धन र समृद्धिको देवी भनिन्छ । पौराणिक कथा अनुसार देवी लक्ष्मी कार्तिक अमावस्याका दिन अवतरित भएकाले यस दिनलाई उनको जन्मदिनको रूपमा दीपावली मनाइन्छ ।
दीपावलीको अर्थ र लक्ष्मीपूजाको अर्थ भिन्न भिन्न हुन्छ । दीपावली अर्थात् दीप प्रज्वलन गर्नु, साधारण बोलचालमा दियो बाल्नु हो । दीपोत्सवमा घरघर र मन्दिरका ढोकाहरूमा दीप प्रज्वलन गरिन्छ । लक्ष्मीपूजा अर्थात् देवी लक्ष्मीको अर्चना गर्नु हो, धन प्राप्ति वा धन वृद्धिको कामना गरी धनकी देवीलाई प्रसन्न पार्नु हो । रातको समयमा उज्यालो पार्न अनेक उपाय हुँदै आएका छन् । प्रकाशका लागि आज अनेक विधि र प्रविधिको उपयोग हुने गर्दछ । दियो बाल्ने कार्य पनि त्यसै कालक्रम र परम्पराको एक हिस्सा हो । दीपावली पर्वमा दियो त्यसैको एक प्रतीकको रूपमा रहेको छ ।
दीपावली नेपाल र भारतमा परापूर्वकालदेखि नै मनाइँदै आएको छ । दीपावलीको प्रारम्भ किन, कहिले र कसरी हुन गयो भन्ने कुरामा अनेक आख्यान र मतहरू भेटिन्छन् । तर यसको प्रारम्भलाई सामाजिक दृष्टिकोणले पनि हेरिनुपर्छ । कतिपयले त्रेतायुगमा भगवान राम लंकामाथि विजय प्राप्त गरी फर्कंदा अयोध्यावासीले उनको स्वागतमा पहिलो पटक दीपावली मनाएको मान्दछन् ।
भारतको अयोध्यामा केही वर्षयता हरेक वर्ष दीपावलीको अवसरमा लाखौंको संख्यामा दीप बाल्न थालिएको छ । अयोध्या नगर र सरयु नदीको किनारमा आयोजना गरिने दीपोत्सवको रोमाञ्च लिन भारतमात्र होइन, विदेशबाट पनि लाखौं पर्यटक आउँछन् । दियो बनाउन माटो प्रयोग गरिन्छ । यस वर्ष त सवा लाख दियो गोबरबाट मात्र बनाइएको बताइन्छ ।
चौबिसौं तीर्थङ्कर महावीर स्वामीले यसै दिन मोक्ष प्राप्त गरेका र संयोगवश उनका शिष्य गौतमले यसै दिन बुद्धत्व प्राप्त गरेकाले जैनहरूले दीपावली पर्व मनाउन थाले । सिखहरूले सन् १५७७ देखि दीपावली मनाउन सुरु गरेको भनिन्छ । मुगल शासक जहाँगिरले छैटौं गुरु हरगोविन्द सिंहलाई यसै दिन कैदमुक्त गरेको अवसरमा खुसी साट्न दीपावली मनाए । त्यसै दिन अमृतसरमा स्वर्ण मन्दिरको शिलान्यास पनि गरिएको थियो ।
आर्य समाजीले स्वामी दयानन्द र स्वामी रामतीर्थले यस दिन मोक्ष प्राप्त गरेको संस्मरणमा दीपावली मनाउने गरेका छन् । खासगरी नेबार समुदायको मानिने नेपाल संवत् यसै दिन प्रारम्भ हुन्छ । वौद्ध, इसाइ, इस्लाम धर्ममा दीप प्रज्वलनको स्थान छ । सुफीहरूले मैनबत्तीलाई प्रतीकात्मक रूपमा ईश्वरीय ज्योति र ईश्वरीय मार्गदर्शन मान्दछन् । कुरानको पर्यायको रूपमा ईश्वरीय मैनबत्ती वा परमेश्वरको ज्योति भन्ने गरिएको छ ।
दीपावली महिमाको वर्णन असाध्य हुन्छ । भगवान कृष्णद्वारा यसै दिन नरकासुर मारिएका थिए । नरक चतुर्दशीको पर्व दीपावलीको एक दिन अगाडि मनाइन्छ, जसको पछाडि भगवान कृष्णद्वारा नरकासुरको अन्त्य भएको हो । नरकासुरले प्रदोषपुरम राज्यलाई अत्याचारले त्रस्त बनाएको थियो । भगवान श्रीकृष्णले नरकासुरको वध गरेर प्रदोषपुरमलाई मुक्ति दिलाएका थिए ।
पौराणिक कथामा यो पनि उल्लेख गरिएको छ कि राजा बलीले संसारको सम्पूर्ण सम्पत्ति आफ्नो कब्जामापारेका थिए। धनकी देवीलक्ष्मीलाई नै आफ्नो कैदमा राखेका थिए । विपन्नता चरममा थियो । भगवानले वामन अवतार लिए, राजा बलिमाथि विजय प्राप्त गरे र देवी लक्ष्मीसँगै जगतलाई राजा बलिको कोपबाट मुक्ति दिलाएको दिन यही थियो । महाभारतको एक महत्वपूर्ण घटना पनि दीपावलीको दिनसँग जोडिएको छ । पाण्डवहरू १२ वर्षसम्म जंगलबास र एक वर्षको गुप्तवास पूरा गरेर आफ्नो राज्यमा फर्केका थिए ।
दीपावली दीप संस्कृतिको पर्व हो । सनातन संस्कृतिमा बिहान र साँझ घर–घरमा कमसेकम एकवटा दीप बाल्ने घरबारका कुराहरूमा समावेश छ । खास खास अवसरमा मन्दिर मन्दिरमा दीप बाल्ने कार्य कर्तव्यसरह मानिन्छ । आधुनिक नागरिकीय संस्कृतिमा विशेष दिवस वा अवसरहरूमा घरघरमा वा चोकहरूमा खुसी भनेर वा प्रतीकात्मक रूपमा दियो बाल्ने गरिन्छ । प्राचीन सनातन संस्कृति र आधुनिक नागरिकीय संस्कृतिमा दिपोत्सवमा यो वा त्यो अथवा यस्तो वा त्यस्तो फरक छ भनेर हँुदैन, दीप प्रज्वलन गरिनुका पछाडिको सोचका आधार एउटै हो भनेर बुझ्नुपर्छ ।
दीपोत्सव कहिले मनाइन्छ ? दीपावली शारदीय नवरात्रापछि आउने पहिलो चाड हो । कात्तिक अमावस्या अर्थात् आश्विन शुक्ल पक्षपछि आउने कार्तिक कृष्ण पक्षको अमावस्याको दिन मनाइन्छ । अमावस्या कृष्ण पक्षको अन्तिम तिथि हो । अमावस्यात्यो दिन हो, जुन दिन चन्द्रमा देख्न सकिंदैन । चन्द्रमाले पृथ्वीको एउटा परिक्रमा २८ दिनमा पूरा गर्छ भने १५ दिनपछि चन्द्रमा पृथ्वीको अर्कोतर्फ हुन्छ । जम्बुद्विपमा चन्द्रमा नदेखिने दिनलाई अमावस्या भनिन्छ ।
सनातन संस्कृतिमा अमावस्याको महत्वपूर्ण स्थान छ । प्रत्येक अमावस्या कुनै न कुनै पर्व हुन्छ । सोमबार पर्ने अमावस्या सोमावती अमावस्या भनिन्छ । शनिबार पर्ने शनि अमावस्या भनिन्छ । भाद्र अमावस्यामा पोल पर्व मनाइन्छ । यो पर्व ऋतु परिवर्तनसँग पनि सम्बन्धित छ । यो समयवर्षा ऋतु र शरद ऋतुको सन्धिकाल हो । जसका कारण सामाजिक जनजीवनमा ठूलो परिवर्तन आउने गर्दछ । सनातन साहित्यमा ऋतुहरूको छाप कतिसम्म छ भन्ने कुराको आकलन गर्न कठिन हुन्छ ।
रामायणमा तुलसीदासजीले लेखेका छन्, ‘बरषा बिगत सरद ऋतु आई । लछिमन देखहु परम सुहाई । फूलें कास सकल महि छाई । जनु बरषाँ कृत प्रगट बुढ़ाई ।। हे लक्ष्मण ! हेर वर्षा बितेर गयो, परम सुन्दर शरद ऋतु आयो । फूलेका ‘कास’ सारा पृथ्वीलाई ढाकेको छ । मानौं वर्षा ऋतु कासरूपी सेताम्य कपालको रूपमा आफ्नो वृद्घत्वलाई प्रकट गरिरहेको छ ।’
दीपावली एक्लो पर्व होइन । यो पर्वहरूको समूह हो । खास दीपावलीको दुई दिन अघिदेखि, सात दिनपछिसम्म चाडैचाड हुन्छ । त्यसैले यी सबै चार्डहरूलाई समष्टिमा सम्बोधन गर्न तिहार भन्ने गरिएको हो । हिन्दीमा त्यौहार र मैथिलीमा पावनितिहार भन्ने गरिएको हो । संस्कृतमा यमपञ्चक भनिन्छ ।
तिहारमा कुकुर पूजा, काग पूजा, नर्क निवारण चतुर्दशी, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, गाई पूजा, यम पूजा, चित्रगुप्त पूजा, भ्रातृ द्वितीया, छठ पूजा (सूर्य पूजा) गरी गनी हेर्दा दुबै हातको औंला सकिन्छ । कुकुर, काग, दीप, लक्ष्मी, गणेश पूजा कात्तिक कृष्णपक्षमा पर्दछ भने त्यसपछिका अन्य चाडहरू कात्तिक शुक्ल पक्षमा पर्दछ । कात्तिक शुक्ल पूर्णिमाको दिन समाचकेवा भनिने प्रख्यात पर्व मनाइन्छ । यी सबै चाडहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, आध्यात्मिक मूल्यहरूको कुरा गर्ने हो भने अवर्णनीय हुनेछ ।
दीपावलीलाई अन्य भाषाहरूमा विभिन्न नामले पनि बोलाइन्छ । दीपावली नेपाल र भारतमा मात्र नभई अरु देशहरूमा पनि धूमधामका साथ मनाइन्छ, जस्तै–श्रीलंका, म्यानमार, मौरिसस, गुयाना, ट्रिनिडाड र टोबागो, सुरिनाम, मलेसिया, सिङ्गापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया आदि । यी देशहरूमा पनि दीपावलीको बिदा दिइन्छ ।
दीपावली सबैभन्दा ठूलो किनमेलको मौसम पनि हो, जसमा मानिसहरूले आफ्नो र आफ्नो परिवारको लागि सवारी, गहना, लुगा, उपहार, उपकरण, भाँडाहरू आदि महँगो वस्तु किन्छन् । किनमेलकै लागि धनतेरस (त्रयोदशी तिथि) प्रसिद्ध छ । सामान्यतया मिठाइ र सुख्खा फलहरू नातेदार र साथी भाइलाई दिने चलन छ ।
दीपावलीमा धेरै ठाउँमा जुवा खेलिन्छ, रातारात हुने जुवामा कोही मालामाल त कोही कंगाल हुन पुग्छन् । भन्नेहरूले के पनि भन्छन् भने दीपावलीको दिन भगवान शिव र माता पार्वतीले जगतमा पहिलो पटक जुवा खेलेकाथिए । त्यसबेलादेखि जुवाको चलन चलिरहेको छ । जुवा तास खेलेर धन सम्पत्ति हारेर ‘दिबाला’ भएर दीपावली मनाउनु हुँदैन । लक्ष्मी पूजाजस्तो दिनमा दिबाला हुनु भनेको अति दुखद घटना हो ।
उपनिषद् मानवको संस्कृति हो, संस्कृति सदैव मानवताको रक्षा गर्दछ । मानिसको सबै खाले आचरण र व्यवहार संस्कृति होइनन् । उपनिषद्बाट प्रमाणित आचरणवा संस्कारहरू मात्र सस्कृतिमा पर्न सक्छन् । किनभने यी कुराहरूको संस्कार भएको हुन्छ ।
अर्थात् लामो लामो समयमा यस्ता आचरणहरूको आरम्भ, अभ्यास र प्रवद्र्धन भएको हुन्छ, संरक्षित तुल्याइएको हुन्छ । मानव जीवनलाई सार्थकताको मार्गमा अभिप्रेरित गर्दछ । दीप सामाजिक आवश्यकताबाट जन्मेको छ तर दीपोत्सव उपनिषद्को गर्भबाट अवतरित भएको छ । दीपोत्सवको एकमात्र ध्येय तमसोमा ज्योतिर्गमय हो ।
यमपञ्चकदेखि समाचकेवासम्मको साढे दुई सप्ताहको अवधि मानिस पूर्ण रूपमा सांस्कृतिक, धार्मिक वातावरणमा व्यतीतगर्दछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, लक्ष्मी, गाई रचित्रगुप्त पूजा हुन्छ । काग पूजाको दिन धनतेरस मनाइन्छ । लक्ष्मी पूजाको साँझ दीपावली मनाइन्छ । चित्रगुप्त पूजाको दिन भाइटीका मनाइन्छ । तिहारभरि देउसी खेल्ने चलन छ ।
यम (यमराज) मृत्युका देवता हुन् । यमराज जीवहरूको शुभाशुभ कर्मका निर्णायक हुन् । दक्षिण दिशामा उनलाई दिक्पाल भनेर सम्बोधन गरिन्छ । यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुभ्बर, दघ्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त– यी चौध नामले यमराजको आराधना हुन्छ । यी नै नामले यिनलाई तर्पण दिइन्छ । यमराजको लोकलाई यमलोक भनिन्छ ।
सनातन मान्यता के छ भने मानिस मरेपछि यमलोक जान्छन् । त्यहाँ यमराजसामु उपस्थित हुन्छन् । त्यहीँ उसको शुभ र अशुभ कृत्यमाथि विचार गरेर उसलाई स्वर्ग वा नर्कपठाइन्छ । यमराजले धर्मपूर्वक विचार गर्दछन् । त्यसैले ‘धर्मराज’ नि कहलाउँछन् । यो पनि मान्यता छ कि मृत्युको समय यमराजकै दूत आत्मा लिन आउँछन् ।
यमपञ्चकको वर्तमान सामाजिक स्वरूप जे जस्तो देखिए पनि यो गुढ रहस्यले भरिएको छ । यमपञ्चकको तेस्रो दिनमा देवी लक्ष्मीको स्थानमा देवी कालीको पूजा गर्ने गरी क्रम निर्माण गर्ने हो भने काग, कुकुर, काली, गाई र चित्रगुप्त देवताको क्रमले यमपञ्चकको अर्थ स्पक्ष्ट गर्दछ । यी सबै मृत्युसँग जोडिएका तत्व हुन् ।
काग सन्देशवाहक हो, जसले यस अर्थमा मृत्युको खबर ल्याउँछ भने यमलोकमा स्वर्ग वा नर्कतिरको यात्रामा साथ दिने कुकुर हुन्छ । देवीमहाकाली श्मसानवासिनी हुन् । गाईले वैतरणी पार गराउँछ भने चित्रगुप्त भनेको कर्मफलको निर्णय गर्ने देवता हो । यसबाट, यमपञ्चक पर्वको सार र सन्देशलाई आत्सात गर्नु नै आत्मप्रकाश हो, जसलाई दीपोत्सवले आफ्नो अन्तर्याग भावद्वारा मद्दत पु¥याउँछ ।
छठपर्व सूर्य उपासनाको पर्व हो । छठ पर्वको लोक गीतमा छठ परमेश्वरीको भक्ति अन्तर्निहित देखिन्छ । समस्त देवदेवीमध्ये स्वयं परमेश्वरकै आराधनामा आधारित भएकोले यो पर्व सम्पूर्ण पर्वमध्ये श्रेष्ठ पर्व हो भन्न सकिन्छ । यस पर्वमा मानवीय जीवनमा जलाशय र घरवारीमा उमारिने वृक्ष एवं वनस्पतिको महत्व पनि साक्षात्कार हुन्छ ।
छठ शरद ऋतुको पर्व हो तर यो समय पर्व आयोजन गर्न नभ्याउनेहरू चैत नवरात्राको षष्ठीमा पनि गर्न सक्छन् । छठ पर्व शारीरिक, मानसिक साधनाको पर्व हो । साथै यस पर्वले मानिसलाई आउँदो शिशिर ऋतुसँग पनि तादात्म्य गराउँदछ । यस पर्वमा पञ्चमीको साँझ खरना, षष्ठीको साँझ र सप्तमीको प्रातः सूर्यलाई अर्घ दिइन्छ ।
सनातन संस्कृति बहुआयामिक संस्कृति हो, समाचकेवा पर्व पनि त्यसै आयामको हिस्सा हो । समाचकेवा एक उल्लासपूर्ण पर्व हो । यस पर्वको विशिष्टता के हो भने यसमा मानिस र चराचुरुंगीबीचको भावनात्मक सम्बन्धको विन्यास अनुभव गर्न सकिन्छ । समाचकेवा पर्वका अनेक सार छन् ।
एक मानिसले चराचुरुंगीसँग प्रेम गर्नुपर्छ भन्ने हो, दोस्रो यो पर्व भाइबहिनी स्नेहको पर्याय हो, तेस्रो यसमा दम्पत्तिबीच उत्पन्न हुन सक्ने मनोमालिन्य, त्यसका कारक र सम्बन्धलाई समन्वित गर्न स्त्रीपक्षको भाइले निर्वाह गर्नुपर्ने भूमिका पनि परिलक्षित हुन्छ । यति मात्र होइन, लोककला र लोकगीतको संरक्षण र प्रतिभाको विकासमा पनि यस पर्वको ठूलो भूमिका देख्न पाइन्छ ।
संस्कृति समाजको गुण, चरित्र र आचरण हो । मानिसको सोच, विचार, कार्य, खानपिन, बोली, नृत्य, गीत, साहित्य, कला, वास्तु आदिको स्रोत हो । संस्कृति मानव जीवनको रक्षक हो । संस्कृतिबिनाको समाजको अस्तित्व रहँदैन । संस्कृतिको संरक्षण संस्कृति आफैंले गर्दछ । तर त्यसको संवाहन त्यस संस्कृतिका उत्तराधिकारीले गर्नु पर्दछ । र, यस प्रकारको जागरणमा दीपोत्सवको मुख्य भूमिका हुन्छ । यस वर्ष दीपावलीमा खण्डग्रास सूर्यग्रहण पनि लागेको छ । यस कुराले दीपोत्सव २०७९ लाई स्मरणीय बनाएको छ ।
(लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)
source https://www.onlinekhabar.com/2022/10/1209638
0 comments:
Post a Comment