Monday 31 October 2022

साफ यू-१५ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

१४ कात्तिक, काठमाडौं । नेपालले बंगलादेशमा भोलीदेखि सुरु हुने साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतियोगिताको अघिल्लो दिन सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक भगवती थापा मगर र कप्तान दीपा रोकायले उपाधि जित्ने लक्ष्य रहेको बताए ।

दीपा रोकायको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगितामा भुटान र बंगलादेशसँग दुई(दुई पटक खेल्नुपर्नेछ । तीन टोली मात्र सहभागी प्रतियोगितामा डबल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

नेपालकी प्रशिक्षक भगवती थापा मगरले प्रतियोगिता खेल्न पाउँदा सबै खुशी रहेको बताइन् । ‘हामी यस प्रतियोगिता खेल्न उत्साहित छौं र खुशी छौं । हामी प्रतियोगिता लागि तयार छौं र हामी जित्नेछौं,’ भगवतीले भनिन्, ‘हरेक खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

यस्तै कप्तान दीपाले पनि प्रतियोगिता जित्ने लक्ष्यसहित खेल्ने बताइन् । ‘म एकदमै खुशी छु कि यस प्रतियोगिता खेल्दैछु । यस प्रतियोगिता जित्ने सोचमा छौं । हामी यहाँ जित्न आएका हौं,’ उनले भनिन् ।

प्रशिक्षक भगवतीले आफ्नो टिम शारीरिक र मानसिक रुपमा तयार रहेको बताए । ‘हामीले चार साता तयारी गरेका छौँ । हामी शारीरिक र मानसिक रुपमा तयार छौं । हामी बंगलादेशसँग साफ महिला च्याम्पियनसिपमामा बेहोरेको हारको बदला लिन चाहन्छौं ।’

अनुभवकाे कमी

देशभरबाट खुल्ला रुपमा खेलाडी छनोट गरेर बनाएको नेपाली टिमका खेलाडीहरु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछन् ।

टिम रहेका सबै खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो हुनेछ । प्रशिक्षक भगवती थापा मगरले पनि आफ्नो टिम नयाँ भएको बताइन् । उनले त्यहाँको मौसमका कारण केही कठिन हुने भएपनि राम्रो प्रदर्शनको आशा राखेकी छन् ।

‘हामी नयाँ छौं र सुरु गर्दैछौं । खेलाडीले राम्रो फुटबल खेल्ने विश्वास छ,’ भगवतीले भनिन्, ‘सबै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । तातो मौसम हाम्रा लागि प्रतिकुल हुनसक्छ ।’

बंगलादेश र भुटान उत्तिकै उत्साहित

उता बंगालदेशको सिनियर महिला टिमलाई साफ च्याम्पियन बनाएका गोलम रब्बानी छोटन नै बंगलादेशको जुनियर टिमको प्रशिक्षक छन् । छोटोनले कोरोना कारण ३ वर्ष प्रतियोगिता नभए पनि आफ्नो टिमले ४ महिनादेखि प्रशिक्षक गरिरहेको बताए ।

‘सिनियर टिमले नेपालमा साफ च्याम्पियनसिप जितेपछि जुनियर खेलाडीहरु पनि उत्साहित छन् । धेरैजसो खेलाडी एक वर्षदेखि सँगै छन् र केही खेलाडी चार महिनाअघि टिममा समावेश भएका छन् ।’

बंगलादेशकी कप्तान रुमा अल्टरले प्रतियोगिताका लागि एकदमै उत्साहित र खुशी रहेको बताइन् ।

भुटानकी प्रशिक्षक नगवाङ यानछेनले आफ्नो टिमले ३ महिना देखि तयारी गरेको र खेलाडीहरु उत्साहित रहेको बताए ।

भुटानकी कप्तान केल्देन वाङ्ग्मोले प्रतियोगिता लागि मानसिक रुपमा तयार रहेको र उत्साहित रहेको बताइन् । उनले तीनवटै टिममा नयाँ खेलाडी रहेको र आफूहरुको आशा उच्च रहेको बताइन् ।



source https://www.onlinekhabar.com/2022/10/1211183

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More