Wednesday, 12 October 2022

नवौं राष्ट्रिय खेलकुदः हकी मैदान तयार नहुँदा खेल अनिश्चित

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारबाट सुरु हुने भनिएको हकी प्रतियोगिता खेल मैदान तयार नहुँदा अनिश्चित बनेको छ । खेलका लागि खेलाडीहरु मैदान पुगिसकेका छन् । तर, मैदान मर्मत जारी रहेकाले उनीहरुसमेत अलमलमा परेका छन् ।

मैदानको घाँस काट्नुपर्ने, मार्किङ गर्नुपर्ने तथा खेल सामग्री नै नआइपुगेकाले खेल अनिश्चित बनेको नेपाल हकी संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को पोखराको गण्डकी बोर्डिङ स्कुलमा महिला र पोखरा–२५ स्थित गौरीशंकर मैदानमा पुरुष हकी प्रतियोगिता बिहीबार बिहान साढे ७ बजेदेखि सुरु गर्ने तालिका थियो ।

हकी संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले खेल उद्घाटन समय घर्किंदासमेत मैदान तयार नभएको जानकारी दिए । ‘गौरीशंकर मैदानमा अझै पनि घाँस काट्ने काम भइराखेको छ । अहिले घाँस काटेर कतिबेला सक्ने ?’ उनले अनलाइनखबरसँग भने, ‘बिहान हुने भनिएको खेल दिउँसो सारिएको छ । तर, दिउँसो पनि सम्भव छैन । आज हुने नहुने अनिश्चित छ ।’

महिला हकी प्रतियोगिता हुने तय भएको गण्डकी बोर्डिङ स्कुलको खेल मैदान ‘जसोतसो’ तयार पारिए पनि खेल सामग्री नआएकाले खेल रोकिएको खड्काले जानकारी दिए । बिहीबार पनि खेल उद्घाटनको निर्धारित समयभन्दा पछि मात्रै ‘मार्किङ’ सुरु गरिएको उनले बताए ।

‘राखेपले खेल हुनुभन्दा अगाडि नै सबै सामान हामीलाई दिइसक्नु पर्ने थियो । हकीका लागि सामान्य एउटा नेट पनि आएको छैन । यस्तोबेला खेल खेलाउन कसरी सम्भव हुन्छ ?’ खड्काले भने, ‘खेल सुरु हुनेबेला बल्ल मार्किङ गर्दैछौं ।’

एक महिना अगाडि नै खेल मैदान तयारी अवस्थामा राख्नुपर्ने भए पनि बुधबार दिउँसोबाट मात्रै मैदान मर्मत थालिएको थियो । राखेपले जिम्मा दिएको ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि हकी संघले वडा कार्यालयसँगको सहकार्यमा ६ जना महिला कर्मचारी खटाएर घाँस काट्न लगाएको थियो । तर, ठूलो मैदानमा हातले घाँस काट्न सम्भव नभएपछि पछि मेसिन ल्याइएको थियो ।

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हकीसहित ७ खेल सुरु हुने तय छ । जसअन्तर्गत गोरखामा बुद्धिचाल, म्याग्दीमा महिला महिला भलिबल, पोखरा प्रदर्शनी केन्द्रमा फुलकन्ट्याक कराते, गोस्तेघाटमा पुरुष फुटबल, वालिङमा महिला फुटबल, हिमालयन गल्फ कोर्समा गल्फ प्रतियोगिता हुनेछन् ।

शुक्रबारबाट नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिने भए पनि पोखरामा २४ गतेबाटै ह्यान्डबल, फेन्सिङ तथा महिला क्रिकेट प्रतियोगिता भइरहेका छन् । पुरुष क्रिकेट एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ ।



source https://www.onlinekhabar.com/2022/10/1203762

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More