Sunday, 29 September 2019

यसपालीको दशैंमा युवायुवतीको फेसन

यसपटकको दशैं यही आईतबारदेखि औपचारिक रुपमा प्रारम्भ हुँदैछ । आईतबार घटस्थापनासँगै हाम्रो घर-घरमा दशैं भित्रिने छ । अहिले काठमाडौंसहित देशका प्रमुख शहरका बजारहरुमा भीडभाड प्रारम्भ भईसकेको छ । विद्यार्थीहरुको विद्यालय तथा कलेजहरु बिदा भईसकेका छन् । काठमाडौंबाट आफ्नै गाउँ-घर पुगेर दशैं मनाउनेहरुले झोला तयार पार्न थालिसकेका छन् ।

दशैं भन्नेबित्तिकै किनमेल सबैभन्दा पहिलो शर्त हो । किनमेलमा पनि नयाँ लुगाको किनमेल पहिलो प्राथमिकतामा पर्दछ । हुन त अचेल अधिकांशलाई नयाँ लुगा लगाउन दशैं नै कुर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । तर, परम्परादेखि आएको चलन के छ भने दशैंमा कम्तिमा एक जोर नयाँ लुगा लगाउनै पर्छ । त्यसैले आज पनि ठूलादेखि सानासम्म यसपटकको दशैंमा के लगाउने ? भन्ने कुराको छलफल गर्दै बजारतर्फ निस्कन्छ ।

यसै प्रसंगमा हामीले काठमाडौंको पुतलीसडकमा सञ्चालनमा रहेका पुरुषहरुका अत्याधुनिक पहिरनहरु पाइने यूनिवेयर तथा पोखराको चिप्लेढुंगामा रहेको कसमम पुतलीबजारका सञ्चालकहरुसँग यसपटकको दशैंमा युवा-युवतीहरुका लागि के-कस्तो फेसन आएको छ भन्ने कुरामा छोटो कुराकानी गरेका छौं । कुराकानी प्रारम्भ गरौं, पुतलीसडकस्थित यूनिवेयरका सञ्चालक सुजन सुवेदीसँग :

सुजन सुवेदी

सुजनजी, दशैं कत्तिको लागको छ ?

दशैं राम्ररी नै लागेको छ । यसपटक असोजको दोस्रो सातासम्म पनि पानी परिरहेकाले हिले दशैं होला कि भन्ने चिन्ता छ । अझै एक साता पानी पर्ने भनिएको छ । पानी परेपछि मानिसहरुको चहलपहल अलि कम हुन्छ । हिँडडुल गर्न गाह्रो भएकोले पनि हामीले सोचेको जस्तो दशैं आइसकेको छैन ।

यसपटकको दशैंमा युवाहरुका लागि कस्तो फेशन चलेको छ ?

एकातिर पानी पर्न कम नहुनु तथा अर्कोतिर असोजको दोस्रो साता भैसकेकाले काठमाडौंमा बिस्तारै चिसो अनुभव गर्न थालिएको छ । अब बिस्तारै जाडो बढ्ने निश्चित छ । त्यसैले पनि होला यसपटकको दशैंमा समर इन्डका साथै विन्टर वेयरका पहिरनहरु फेसनमा छन् ।

तपाईंले दशैंका लागि भने नयाँ पहिरन के राख्नुभएको छ ?

अहिले हाम्रो सम्पूर्ण ध्यान दशैंमै केन्दि्रत भएको  छ । हामीले दशैंका लागि उपयुक्त हुने पहिरनहरु ल्याएका छौं । अहिले बजारमा चलेका टिनएजरदेखि बयस्कसम्मका पुरुषहरुले लगाउने फेसनका पछिल्ला नमूनाहरु यहाँ उपलब्ध छन् ।

किनमेल गर्न कस्ता प्रकारका ग्राहकहरु आइरहनु भएको छ ?

प्रायः किशोरहरु र युवाहरुको संख्या बढी छ । यसबाहेक हाम्रो स्टोरमा मेरा आफ्नै नियमित ग्राहकहरु हुनुहुन्छ । विद्यार्थीहरु हुनुहुन्छ । चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरु समेत नियमित रुपमा आइरहनु हुन्छ । अहिले दशैंका लागि समेत केही चर्चित व्यक्तित्व -सेलिब्रेटी)हरुले हाम्रै स्टोरमा सपिङ गर्नुभएको छ । यसबाहेक प्रायः मध्यम वर्गीय युवाहरु आइरहनु हुन्छ ।

दशैंका लागि उपयुक्त हुने पहिरनको मूल्य कस्तो छ ?

दशैं भन्ने पर्व सबै वर्गका मानिसहरुले मनाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामीले पहिरनको मूल्य पनि हरेक वर्गका व्यक्तिहरुलाई उपयुक्त हुने शैलीले राखेका छौं । हाम्रो स्टोरमा एक हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका पहिरनहरु पाइन्छन् ।

यसपटकको दशैंका लागि ग्राहकहरुमा कस्ता पहिरनको माग बढेको छ ?

अहिलेको युवापुस्ता फेसनमा निकै चासो राख्ने एवं जानकार हुनुहुन्छ । ईन्टरनेटले हामीलाई फेसनको सबैभन्दा पछिल्लो नमूनाका बारेमा समेत जानकारी दिन्छ । यसपटकको दशैंमा काठमाडौंमा नयाँ शैलीका कोरियन दृष्टि झल्काउने पहिरनहरुको माग बढी छ । यसबाहेक क्याजुअल कोट, हूक, टिसर्ट, हाइनेक, न्यू फेसनेवल सर्टहरुको माग बढी छ ।



source https://www.onlinekhabar.com/2019/09/800280

‘सोले’का कालियाको मृत्यु

१३ असोज, काठमाडौं । भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ तपाईंले हेर्नुभएको भए कालिया नाम पात्रलाई बिर्सिनुभएको छैन होला । उक्त फिल्ममा गब्बर सिंहले बोल्ने डाइलग ‘अब तेरा क्या होगा कालिया’ अहिले पनि प्रयोगमा आउने गर्छ ।

उनै कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो ।

खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो ।

रोचक कुरा के भने ‘सोले’बाट अत्यधिक चर्चा पाए पनि खोटेको सो फिल्ममा जम्मा दुई सिन मात्र थियो । सोले सुपरहिट भएपछि उनले गब्बर सिंहको भूमिकामा अभिनय गरेका अमजद खानसित अरू पनि धेरै फिल्ममा सँगै काम गरे ।

सन् १९४१ मा मुम्बईमा जन्मेका खोटे सन् १९६४ देखि बलिउडमा सक्रिय थिए । ‘मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



source https://www.onlinekhabar.com/2019/09/800281

सिफारिस समिति भंग गर्न द्वन्द्वपीडित र अधिकारकर्मीको माग

१३ असोज, काठमाडौं । द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग गर्न माग गरेका छन् ।

जवाफदेहिता निगरानी समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विधेयक बनाउनुपूर्व सरोकारबालाहरूसँगको परामर्शलाई प्रभावकारी बनाउन सिफारिस समिति भंग गर्न माग गरेका हुन् ।

दुवै आयोगका पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको छ । चैतमा बनेको समितिले अझै काम सकेको छैन ।

द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले परामर्शका लागि छुट्टै प्रक्रिया बनाउन, बलात्कारजस्ता गम्भीर अपराध र बाल सेनाबारे व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

यसरी माग गर्नेमा जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाई, मानवअधिकारकर्मीहरू कपिल श्रेष्ठ, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, पूर्वबाल सेनाका लेनिन विष्ट, द्वन्द्व पीडितहरु सुमन अधिकारी, मोहन परियार, नेत्रबहादुर भण्डारीलगायत रहेका छन् ।



source https://www.onlinekhabar.com/2019/09/800282

दशैंमा टेलर्सको गुनासो – रेडिमेडले खायो

१३ असोज, काठमाडौं । दशैंका धेरै विशेषताहरुमध्ये एउटा हो– नयाँ लुगा लगाउने । गाउँ होस् वा सहर, सम्पन्न होस् वा विपन्न, हरेक परिवारले दशैंका लागि नयाँ लुगाको जोहो गरेकै हुन्छन् ।

खासगरी गाउँघरका बालबालिकाका निम्ति दशैंको प्रमुख आकर्षण नै नयाँ लुगा हो । पाका उमेरकाहरु पनि दशैंमा नयाँ लुगामै सजिन चाहन्छन् । कतिले रेडिमेड लुगा किन्छन्, त कतिले टेलरमा सिलाउन दिन्छन् । टेलरहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन हो । सुचीकारहरुलाई दशैं अगाडि भात खानेसम्म फुर्सद हुँदैन ।

दशैं शुरु हुन केही दिनमात्रै बाँकी रहँदा हामीले काठमाडौंका केही कपडा पसल चहार्‍यौं। अधिकांश विक्रेताहरुले यसपालि पहिलेजस्तो व्यापार नभएको गुनासो गरे ।

रेडिमेड कपडा पसलेहरुको यो गुनासो सुनेपछि हामी काठमाडौंका केही टेलर्सहरुमा पुग्यौं । टेलर्सहरुको पनि उस्तै गुनासो सुनियो । उनीहरुले रेडिमेड कपडाको व्यापकताले आफूहरुको ब्यापार खर्लप्पै खाएको बताए ।

विगतमा टेलर्सको व्यापार राम्रो हुने गरेको भए पनि रेडिमेड मार्केटतर्फ मानिसहरु झुम्मिएपछि टेलरको व्यवसाय ओरालो लागेको उनीहरुको भनाइ छ । कपडा किनेर नाप मिलाएर सिउन दिनुभन्दा बजारमा छानीछानी रेडिमेड कपडा किन्न उपभोक्ता अभ्यस्त बनिरहेको उनीहरुले बताए ।

‘व्यवसायबाट पलायन हुने अवस्था आयो’

काठमाडौंको पुतलीसडक, बागबजारलगायतका स्थानमा टेलरिङ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पलायन हुने अवस्था सिर्जना हुन लागेको बताए । विगत ३० वर्षदेखि यस व्यवसायमा आवद्ध पर्साका रमेश चौधरीले यस वर्षको जस्तै हालत हुने हो भने व्यवसायबाटै हात झिक्नुपर्ने चिन्ता व्यक्त गरे ।
आफू टेलरिङ व्यवसायमा जोडिएयताकै सबैभन्दा कम व्यापार यस वर्ष भएको चौधरीको भनाइ छ । काठमाडौंको पुतलीसडकमा दी टप लाइन कलेक्शन सञ्चालन गर्दै आएका उनले खर्च धान्नसमेत धौधौ परिरहेको बताए ।

‘विगतका दशैं अगाडि भ्याई/नभ्याई हुन्थ्यो, यस वर्ष तपाईले देखिहाल्नुभयो पसल सुनसान छ,’ उनले भने ।

चौधरीले पढ्दापढ्दै टेलर्समा जागिर खान थालेका थिए । लामो अनुभवपछि ९ वर्षअघि आफैंले पसल खोलेका हुन् । ‘मेरो अनुभवमा यस्तो न्यून व्यापार कहिल्यै भएको थिएन । यही गति हो भने व्यवसाय गर्न सकिँदैन,’ उनले भने ।

चौधरीलाई भेटिसकेपछि हामी पुतलीसडकको अर्को टेलर्स ‘स्टाइल टप कलेक्शन’ मा पुग्यौं । प्रवन्ध निर्देशक ताराचन्द्र राय साथीसँग गफमा मस्त थिए ।

‘व्यापार कस्तो छ ?’ हामीले प्रश्न तेर्सायौं ।

प्रश्न भूईमै खस्न नपाउदै उनले भने, ‘भो, व्यापारको कुरा नगरौं ।’

लामो समयदेखि टेलरिङ व्यवसायमा आवद्ध रहेका उनले पुतलीसडकमा पसल खोलेको भने धेरै भएको छैन । पसल खोलेदेखि नै व्यापारले गति नलिएको उनको गुनासो छ ।

‘लामो अनुभव थियो, व्यापार राम्रै हुन्छ होला भन्ने लागेको थियो,’ रायले भने, ‘तपाईले नै देखिहाल्नु भयो, व्यापार छैन । साथीसँग चिया पिएर बसिरहेको छु ।’

पसलमा ग्राहक नै नआएका कारण व्यवसाय धेरै नटिक्ने हो कि भन्ने चिन्ता लागेको उनले सुनाए । सिलाएर लाउनभन्दा सिधै किनेर लगाउँदा सहज ठानेर मानिसहरु रेडिमेड कपडातर्फ आकर्षित भएको रायको अनुमान छ ।

बागबजारको काठमाण्डू टप कलेक्शनका सञ्चालक हरिकृष्ण श्रेष्ठ पनि दशैंको माहोलले आफूहरुलाई खासै नछोएको बताउँछन् । विगतका वर्षहरुमा जति व्यापार यस वर्ष नहुने निश्चित भसइसकेको उनको भनाइ छ । ‘पोहोर परार दशैं शुरु हुनुभन्दा १५ दिन अगाडि नै अर्डर आउन थाल्थे,’ उनले भने, ‘सिलाउने समय पनि चाहिने भएको हँुदा यतिबेलासम्म अर्डर राम्रो आउनुपर्ने थियो, त्यो आएन ।’

दशैं हाम्रो सिजन होइन : व्यापारीहामी पुगेका केही टेलर्स सञ्चालकहरुले दशैं टेलर्सको सिजन नभएको बताए । टेलर्समा कपडा सिलाउन आउनेहरु दशैंमा नभएर तिहारपछि धेरै आउने गरेको उनीहरुको अनुभव छ ।

पुतलीसडकको ग्लोबल टेलर्सका सञ्चालक कृष्ण अर्याल भन्छन्, ‘हाम्रो मुख्य सिजन भनेको तिहार र त्यसपछि हो, तिहारपछि मंसिरमा धेरै बिहेहरु हुन्छन्, त्यसबेला हाम्रो व्यापार फस्टाउँछ ।’

अर्यालले आफ्नो पसलमा अहिले पनि व्यापार निराशाजनक भने नभएको सुनाए । ‘अहिले थोरै भए पनि व्यापार बढेको छ । तर, बिहेको सिजनमा जस्तो दशैंमा हुँदैन’ अर्यालले भने, ‘दशैंमा त रेडिमेड चलिहाल्छ, विवाहको सिजनमा चाहिँ सुट लगाउने चलनले गर्दा त्यसबेला राम्रै व्यापार हुने गरेको छ ।’



source https://www.onlinekhabar.com/2019/09/800261

कांग्रेसलाई पर्यटन मन्त्री योगेशको सुझाव– अराजकतावादको घोडा नचढ्नुस्

१३ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।

भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।

भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित गतिविधि कांग्रेसको सहयोगमा भएको कतिपयको बुझाइ छ । योगेशले कांग्रेसको नाम नलिई गरेको टिप्पणी यसैतर्फ इंगित रहेको ठानिएको छ ।



source https://www.onlinekhabar.com/2019/09/800267

वीर अस्पतालमा नियमविपरीत नर्सको भागबण्डा, कसले कति पाए ?

१३ असोज, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलसहित वीर अस्पतालका पदाधिकारीको समेत भागबण्डामा नियमविपरीत २७ जना स्टाफ नर्स नियुक्त गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

वीर अस्पतालका कर्मचारीहरुले असोज १० गते शुक्रबार निर्देशक डा.केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन जम्मा पारेर स्टाफ नर्स नियुक्त गर्न लागेको भन्दै उजुरी दिएका थिए ।

यस्तैखाले उजुरी प्रधानमन्त्री कार्यालय, लोकसेवा आयोग, सतर्कता केन्द्र लगायतका निकायमा पनि परेको छ । तत्कालीन कर्मचारी आवश्यक पर्ने भए पनि खुला आह्वान गरेर प्रतिस्पर्धाबाट लिनुपर्ने उनीहरुको भनाइ छ । तर, अस्पताल प्रशासनले प्रमुख दलका नेतालाई समेत भागबण्डा दिएर गुपचुप नर्स भर्ना गरेको छ ।

२७ जना स्टाफ नर्स नियुक्त गरिएकोमा सत्तारुढ नेकपा, स्वास्थ्य मन्त्रालय सम्हालेको समाजवादी पार्टी र प्रमुख विपक्षी नेपाली कांग्रेसको कोटामा समेत भागबण्डा गरिएको स्रोतले जनाएको छ । कांग्रेसको कोटामा समेत नर्स नियुक्त गरेपछि विवादबाट जोगिने उपाय अस्पतालका निर्देशकले निकालेका हुन् ।

एक पदाधिकारीका अनुसार सबैभन्दा बढी नेकपा नेताहरुको सिफारिसका ६ जना परेका छन् भने निर्देशक केदार सेञ्चुरीले ५ जना घुसाएका छन् । त्यस्तै उपकुलपति डीएन शाहका ४ जना, समाजवादी पार्टीका २ जना र नेपाली कांग्रेसका नेताको कोटाबाट दुई जनाले नियुक्ति पाएका छन् ।

त्यस्तै, प्रभावशाली कर्मचारीका छोराछोरीबाट चारजना परेका छन् भने प्रशासन अधिकृत, रजिष्ट्रार र लेखा अधिकृतकोसम्म भागबण्डा पुगेको बताइएको छ । नर्स नयुक्तिका लागि विज्ञापन भने गरिएको थिएन ।

कर्मचारी संघका कतिपय पदाधिकारीले नियम विपरीत नर्स नियुक्ति नगर्न सेन्चुरीलाई सचेत गराएको तर बिरोध गर्ने कर्मचारीलाई उल्टै धम्की दिइएको आरोप लागेको छ । सेन्चुरीले भने कर्मचारीको आरोपको खण्डन गरेका छन् ।

तर, कर्मचारी संघका एक पदाधिकारीले भने अस्पतालको गेटमै गुण्डाबाट असुरक्षित हुनुपरेपछि स्वास्थ्य मन्त्रालय र उपकुलपति समक्ष निवेदन दिनुपरेको बताएका छन् ।

अख्तियारमा उजुरी परेकै दिन वीर अस्पतालको ट्रमा सेन्टरमा अन्तर्वार्ता लिएर आइतबारदेखि २७ जना स्टाफ नर्सलाई नियुक्तिसमेत दिइसकिएको छ । विज्ञापन समेत नगरी गुपचुपरुपमा निवेदन लिएर नियुक्ति गरेको प्रक्रिया कानुनसम्मत नभएकाले उजुरीमाथि छानविन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

वीर अस्पताल कर्मचारी संघका पदाधिकारीहरुले प्रक्रिया विपरीत स्टाफ नर्स नियुक्ति गर्ने क्रममा आर्थिक चलखेल समेत भएको आरोप लगाएका छन् । संघको बिरोधपछि अस्पताल प्रशासनले राजनीतिक भागवण्डा गरी विवाद थामथुम पार्ने प्रयास गरेको छ ।

यसैवीच, बिरामीलाई १ रुपैयाँमा विभिन्न परिकारसहित खाना खुवाउने भनेर ठेक्का लगाएको अस्पताल प्रशासनले निर्देशकको मासिक खाजा खर्च मात्र ४ लाख ६० हजार रुपैयाँ उपलब्ध गराएको आरोप कर्मचारीहरुको छ ।

यसअघि निर्देशक निकट ठेकेदारले एक पैसा मा अन्डा, चना, बिस्कुट जस्ता खाद्यान्न उपलब्ध गराउने भन्दै ठेक्का पारेका थिए ।

तर, अस्पतालमा भर्ना भएका बिरामीको खाना सुबिधा कतौति गरिएपछि क्यान्टिनबाट किनेर खाने गरेका छन् ।



source https://www.onlinekhabar.com/2019/09/800265

‘पद्मश्री पुरस्कार थाप्छु, तीन महिना संशोधन मण्डल चलाउँछु’

१३ असोज, काठमाडौं । ‘इतिहास संशोधन मण्डल’ र यसले प्रकाशन गर्ने जर्नल ‘पूर्णिमा’ बारे चर्चा गर्दा छुटाउनै नहुने नाम हो– डा. महेशराज पन्त ।

विसं. २००१ सालमा काठमाडौंको ओटुमा जन्मेका पन्त निरन्तर इतिहासका त्रुटि सच्याउन क्रियाशील छन् ।

नयराज पन्तले विसं. २००९ सालमा स्थापना गरेको संशोधन मण्डलमा अहिले जम्मा दुई सदस्य छन्– डा. महेशराज र उनका भाइ डा. दिनेशराज पन्त ।

साढे सात दशक उमेर पूरा गरेका महेशराजलाई आफ्नोभन्दा बढी चिन्ता संशोधन मण्डल र पूर्णिमाको छ ।

हरेक तीन महिनामा प्रकाशन हुनुपर्ने पूर्णिमा आर्थिक अभावकै कारण २०७४ पुसयता छापिन सकेको छैन । संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पनि महेशराज आफैंले धानिरहेका छन् ।

कैयतको किस्सा जान्दाजान्दै पनि मैले सम्मान ग्रहण गर्ने निर्णय किन गरेँ भने त्यो पैसाले तीन महिना संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पुग्छ

पुरस्कार वा सम्मान भनेपछि चारकोश पर भाग्ने उनी पहिलोपटक सम्मान ग्रहण गर्न तयार भएका छन् । उनी भन्छन्, ‘तीन महिनाजति कार्यालय सञ्चालन खर्च पुग्ने भएकाले सम्मान ग्रहण गर्ने निर्णय लिएको हुँ ।’

प्रस्तुत छ, पद्मश्रीबाट सम्मानित हुन लागेका डा. पन्तका प्राज्ञिक यात्राका अनुभव, उनकै शब्दमा-

यसकारण लिएँ पुरस्कार

आठौं शताब्दीमा अरमुडि नामका राजा थिए । उनलाई मगर राजा भनिन्छ । उनकै पालामा कश्मिरका राजा दयापीथ विनयादेवले नेपालमा हमला गरे । आक्रमण हुन थालेपछि अरमुडिपछि हट्दै गएछन् । कालीगण्डकीको किनारमा पुगेपछि भने अरमुडिले दयापीथलाई थुनेछन् । ढुंगाको घरमा थुनिएका दयापीथ कसोकसो फुत्केर कश्मिर फर्किएछन् ।

त्यो समयमा कश्मिरमा कैयत नामका विद्वान रहेछन् । कैयतको आर्थिक अवस्था एकदमै खराब थियो । उनको घर पत्नीले बत्ती कातेर बेचेको पैसाबाट चल्थ्यो । त्यो थाहा पाएर राजा दयापीथ सहयोग गर्न उनको घरमै पुगेछन् । मेरो राज्यमा यस्ता विद्वान हुनुहुँदोरहेछ, के सहयोग गरौं भनेर सोध्दा कैयतले राजालाई भनेछन्– एकपटकलाई आउनुभयो, मेरो आग्रह छ– अबदेखि यस्तो प्रस्ताव लिएर नआउनुहोला ।
यो पनि पढ्नुहोस बीपी र गणेशमानलाई सफाइ दिएका न्यायाधीशको साविती

अरुको सहयोग लिँदा आत्मसम्मानमा धक्का लाग्छ भनेर कैयतले राजालाई त्यसो भनेका थिए । मलाई पनि पटक–पटक विभिन्न पुरस्कार र सम्मानको ‘अफर’ आएकै थिए । तर स्वीकार गरेको थिइनँ ।

म अन्तरमुखी स्वभावको मान्छे हुँ, प्रचार–प्रसार रुचाउँदिनँ । शास्त्रले पनि बुद्धिजीविलाई सम्मानबाट टाढा बस्नु भनेको छ ।

यसपटक चाहिँ पद्मश्री सम्मानको ‘अफर’ स्वीकार गरेको छु । पुरस्कार राशी दुईलाख रुपैयाँ रहेछ । कोजाग्रत पूर्णिमाको दिन दिने जानकारी गराइएको छ । कैयतको किस्सा जान्दाजान्दै पनि मैले सम्मान ग्रहण गर्ने निर्णय किन गरेँ भने त्यो पैसाले तीन महिना संशोधन मण्डलको कार्यालय सञ्चालन खर्च पुग्छ ।

विसं.२००९ सालमा स्थापित संशोधन मण्डल चलाउन आर्थिक रुपमा कति गाह्रो छ भन्ने यसैबाट थाहा पाउनुभयो होला । तत्कालीन शिक्षा पद्दतिले गम्भीर काम गर्न सक्ने विद्धानहरु उत्पादन गर्न नसकेको हुनाले मेरा पिताजी नयराज पन्तले अलग्गै पाठशाला खोल्नुभएको थियो । त्यसमा ४०–४१ विद्यार्थी थिए । मैले पनि त्यहीँ पढेँ । पढाइको मुख्य माध्यम संस्कृत थियो ।

इतिहासका त्रुटिहरुलाई तार्किक व्याख्यासहित सच्याउने उद्देश्यले स्थापना गरिएको संशोधन मण्डलको संस्थापक सदस्यको रुपमा काम गरेँ । त्यो क्रम अझै जारी छ ।

कसले अर्थ्याउने इतिहास ?

नेपालको इतिहासको विषयमा प्राप्त भएका नयाँ जानकारीमध्ये ८० प्रतिशत संशोधन मण्डलले नै गरेको हो । संशोधन मण्डल जन्मनु भन्दा अगाडि नेपाली विद्वानहरूले इतिहासको खोजीनीति गर्ने चलन थिएन । विदेशीले मात्रै नेपालको इतिहास लेख्थे ।

त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय पढाइ भएको ६० वर्ष भयो । तर, मूर्ति हेरेर अभिलेख पढ्न वा व्याख्या सक्ने जनशक्ति त्यहाँबाट तयार भएको छैन

इतिहासको गहिरो अध्ययन गर्ने शिक्षा पनि नहुँदा इतिहाससम्बन्धी कागजात फेला परे पनि अथ्र्याउन सक्ने अवस्था थिएन । विभिन्न भाषा, लिपि, त्यो बेला चलेका शास्त्र, जनविश्वास आदिबारे ज्ञान नहुनाले इतिहाससम्बन्धी ‘डकुमेन्ट’ प्राप्त भए पनि त्यसबाट वास्तविक जानकारी उधिन्न सकिँदैनथ्यो ।
यो पनि पढ्नुहोस महेशराज पन्त : इतिहास सच्याउने अभियन्ता

नेपालको इतिहास केलाउन संस्कृत, नेवारी, मगर, राई, लिम्बु, जुम्लीलगायत विभिन्न भाषा जानेको हुनुपर्दछ । जस्तो, मगरको अक्खा लिपि थियो भन्ने कुरा आएको छ । वास्तविकता के हो भनेर जान्न त सम्बन्धित भाषा जानेको हुनुपर्‍यो ।

अहिले ‘रेडिमेड’ ज्ञान प्राप्त हुन्छ । अरुले खोजेर तयार पारिदिएको पुस्तकबाट ज्ञान लिइन्छ । अरु र हाम्रो शिक्षा प्रणालीमा रहेको फरक यही हो । इतिहासमा स्नातकोत्तर गर्नेहरू पनि इतिहाससम्बन्धी प्राथमिक स्रोतमाथि न्याय गर्न सक्दैनन् । अर्थात्, उनीहरू द्वीतीय स्रोत भन्दा बाहिर जान सक्दैनन् ।

त्रिभुवन विश्वविद्यालयमा इतिहास विषय पढाइ भएको ६० वर्ष भयो । तर, मूर्ति हेरेर अभिलेख पढ्न वा व्याख्या सक्ने जनशक्ति त्यहाँबाट तयार भएको छैन ।

संशोधन मण्डल आउनुभन्दा अगाडि काठमाडौं खाल्डोलाई मात्रै नेपाल भन्ने चलन थियो । चिनियाँ यात्रीले उल्लेख गरेको क्षेत्रफल लगभग अहिलेको नेपाल जत्रै क्षेत्र हो ।

कसैले गौतम बुद्धले कति पढेका थिए ? भन्छन् । त्यतिबेला पढाइ हुने शिक्षा पद्दति थिएन । बुद्धले पढेका थिएनन् भन्न मिल्दैन । अपठितलाई के भनुँ र खै !

एकथरि भ्रम के छ भने यक्ष मल्लले छोराहरूलाई बाँडिदिए भनिन्छ । अझैसम्म पनि यस्तो कुरा आउँछ । तर, वास्तविकता यक्ष मल्लको देहान्तपछि छोराहरूले आफू–आफू बाँडेर लिएका हुन् । सर्वसाधारणले यस्तो कुरा थाहा पाउने भनेको सञ्चार माध्यमहरुबाट हो । सञ्चार माध्यममा सही कुरा नआएपछि सबैले गलत नै बुझ्ने भए ।

हामीले गरेको खोजी मूलधारमा गएको छैन । हामीले निकालेको पूर्णिमा पत्रिका सबैमा पुगेको छैन । फेरि, आफै तथ्य पत्ता लगाउने हाम्रो कामलाई हिजो बजारमा मान्यता थिएन, आज पनि छैन । भाषा, भूगोल वा अन्य विषयको ‘अथोरिटी’ नेपाल बाहिर छ । इतिहासमा मात्रै त्यो ‘अथोरिटी’ नेपालमा छ ।

संशोधन मण्डल नबनेको भए २००७ साल अगाडि विदेशीले जे लेखे, त्यसैलाई ओल्टाई–पल्टाई हाम्रो इतिहास हो भनेर पढिरहेका हुन्थ्यौं । जस्तो– काष्ठमण्डपलाई प्राध्यापक रोविन कनिङघमले भनेका आधारमा सातौं शताब्दीको भनियो । त्यसलाई ‘भेरीफाई’ गर्ने नेपाली जनशक्ति छैन । कनिङ्घमको भनाइमा नै हस्ताक्षर गरेर बसेको अवस्था छ । विदेशीसँग प्रतिस्पर्धा गरेर जान सक्ने जनशक्ति नेपालमा भएन ।

अपठितलाई के भनुँ र खै !

संशोधन मण्डलले गरिरहेको व्यक्तिगत काम होइन, देशको काम हो । यस्तो कामका लागि पनि मैले खल्तीबाट मासिक ६०/६५ हजार रुपैयाँ खर्च गरिरहेको छु । संस्थागत सहयोग कसैले गरेका छैनन् । नेपालको इतिहाससम्बन्धी काम गर्नका लागि विदेशीको सहयोग लिने कुरा पनि भएन ।

सातौं शताब्दीमा आएका चिनियाँ यात्रीले नेपालीहरू अपठित हुन्छन् भनेका थिए । हो, हामी पढ्दैनौं । नपढ्नु हाम्रो राष्ट्रिय चरित्र हो । किन नपढ्ने भयौं भने हाम्रो मन हार्‍यो

कमसेकम त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा संशोधन मण्डलको पाठ्यक्रमको केही अंश लागु गर्नुपर्दछ । नेपाल–भारत युद्ध १८७१–७२ मा भयो । १८७८ मा अंग्रेज सरकारले नेपालसँग पत्राचार भएको डकुमेन्टहरू दुई भोल्युममा छापियो । त्यस्ता चिठीपत्र यहाँ पनि थिए । तर, १९९६ सालमा कागज धुल्याउने भनेर त्यस्ता कागज फालिदिए ।

सातौं शताब्दीमा आएका चिनियाँ यात्रीले नेपालीहरू अपठित हुन्छन् भनेका थिए । हो, हामी पढ्दैनौं । नपढ्नु हाम्रो राष्ट्रिय चरित्र हो । किन नपढ्ने भयौं भने हाम्रो मन हार्‍यो।

घरमा पाहुना आउँदा तपाई आफूले चाहेको कुरा खुवाएर पठाउनुहुन्छ । पाहुनाले जे भन्यो, त्यही खुवाउने कुरा हुँदैन । देशको सन्दर्भमा पनि त्यही हो । विदेशीहरू आउँदा उनीहरूको स्वार्थअनुसार गर्न दिनुहुँदैन । तर, यहाँ त स्थापनाको सात दशकपछि नेपाल कम्युनिष्ट पार्टीले सी चिनफिङले भने अनुसारको शासन व्यवस्था पो गर्न लागेजस्तो छ !

अमेरिकीहरू आउँछन् – इण्डोप्यासिफिक स्ट्राटेजीमा आऊ भन्छन् । भारतीयहरू आएर हामीले भने जस्तो गर भन्छन् । हामी त पेण्डुलम भइरहेका छौं । अर्थात्, हाम्रो आफ्नो घर पाहुनाले भनेअनुसार चलाइरहेका छौं । यसो हुनुको प्रमुख कारण अपठित हुनु हो ।

मैले केही वर्ष बाहिर पढाएँ । त्यो नभएको भए त यति पनि गर्न नसक्ने रहेछु । मेरा बुबा बित्ने बेलामा काठमाडौंमा १०/१२ रोपनी जग्गा थियो । अहिले नौ आनामा बनेको घर बाहेक केही छैन । नयाँ पुस्तक आएपछि किन्न मन लागिहाल्छ । मजस्तो ऋणमा चुर्लुम्म डुबेको प्राज्ञ पाउनुहुन्न ।
यो पनि पढ्नुहोस ‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

कसैले गौतम बुद्धले कति पढेका थिए ? भन्छन् । त्यतिबेला पढाइ हुने शिक्षा पद्दति थिएन । बुद्धले पढेका थिएनन् भन्न मिल्दैन । अपठितलाई के भनुँ र खै !

इतिहास र संस्कृतिको पढाइमा संशोधन मण्डलले भनेअनुसारको शिक्षा पद्दति लागू गर्नुपर्‍यो । सरकारले ५० लाख रुपैयाँ जति लगानी गरेर हेरोस् न कति काम हुँदोरहेछ । म पैसाका लागि चाप्लुसी गर्न जान्न ।

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर



source https://www.onlinekhabar.com/2019/09/800250

‘नौबीसे-नागढुंगा सडकको जाम हट्यो’

१३ असोज, काठमाडौं । नौबीसे-नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको भनाइ छ ।

‘सोमबार बिहानैदेखि नौबीसे-नागढुंगा सडक खण्डमा कुनै जाम छैन । सहज रूपमा सवारी आवागमन भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान सडकको पछिल्लो अपडेट सार्वजनिक गर्दै भनेको छ ।

दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे-नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।

यो पनि पढ्नुहोस जनताले एम्बुलेन्सभित्रै मर्नुपर्छ !

दशैंको मुखमा सडक अस्तव्यस्त भएपछि यसको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि गृह मन्त्रालयले सडक खुलाउन निर्देशन नै दिएको थियो । गृहको निर्देशनपछि अहिले यो सडक खण्डमा सवारी आवागमन सहज भएको छ । ठूला मालबाहक सवारी साधनलाई सो सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ ।

जाम हटाउन राजमार्गमा अप्रेसन टोली

दशैंमा घर फर्किने यात्रुले सडकमा सास्ती झेलेपछि धादिङ प्रहरीले अप्रेसन टोली परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको नेतृत्वमा राजमार्ग अप्रेसन टोली खटाइएको हो ।

यसरी परिचालन गरिएको टोली चौबीसै घण्टा खटिने र सडकमा कुनै अवरोध आएलगत्तै समाधान गर्ने कार्यालयले जनाएको छ ।

समस्या आए प्रहरीलाई फोन गर्नुस्

यात्राको दौरानमा कुनै समस्या आएमा कार्यालयको कन्ट्रोल रुमको टेलिफोन नं. ०१०-५२०१९९, ९८५१२८३४८० मा सोझै गुनासो गर्न पनि कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ ।

त्यस्तै, प्रहरी उपरीक्षक राजकुमार बैदवारको ९८५१२४५५५५, कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रूपक खड्काको ९८५१२२९८६० र अप्रेसन कमाण्डर अधिकारीको ९८५१२५५७७७ मोबाइल नम्बरमा सम्पर्क गरेर पनि आफ्ना गुनासो बिसाउन कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ । पृथ्वी राजमार्गको सडक खण्डमा रहेका विभिन्न प्रहरी कार्यालयहरूले पनि यात्रुहरूलाई सघाउने कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस नागढुंगामा रेल ! निस्सासिए यात्रु (फोटो फिचर)

source https://www.onlinekhabar.com/2019/09/800249

महिषासुरका सन्तानहरुले कसरी मनाउँछन् विजयादशमी ?

आश्विन शुक्ल दशमीका दिन विश्वभरका हिन्दूहरुले विजयादशमी मनाउने गरेका छन् । विजयादशमीको सम्बन्धनमा फरक फरक पौराणिक कथाहरु पाईन्छ । नेपालमा धेरै दूर्गा र महिषासुरको कथा चर्चित छ भने नेपालबाहिर राम र रावणसम्बन्धी कथा चर्चित छ । यसमध्ये दूर्गा र महिषासुरको कथालाई प्राचीन मानिन्छ भने सोही दिन त्रेता युगमा समेत रामले रावणमाथि समेत विजय हाँसिल गरेका थिए ।

आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको उपलक्ष्यमा नेपालसहित छिमेकी मुलुक भारत र बंगलादेशका हिन्दूहरुले समेत धुमधामका साथ शारदीय नवरात्र पूरा भएपछि विजयादशमी मनाउने गरेका छन् । नेपालको समेत पूर्वको र पश्चिममा दशैं मनाउने चलन भिन्न छ । समुदाय अनुसार भिन्न भिन्न रुपले दशैं मनाउने गरिन्छ । तर, हामीले असत्यमाथि सत्यको विजय भएको अवसरमा दशैं मनाइरहँदा भारतका केही गाउँहरुमा भने सोही दिन महिषासुरको पूजा गरेर शोक दिवस मनाउने गरिन्छ ।

यो परम्परा भारतको झारखण्डको हो । उक्त प्रान्तको नेतरहाटको पहाडमा बस्ने असुर आदिवासीहरुले विजयादशमीका दिन महिषासुरको पूजा गरेर शोक मनाउने गर्दछन् । उनीहरु आफूलाई महिषासुर वंशीय मानेर पूर्खाको पूजा गर्नेगर्दछन् । यस्तो पूजा झारखण्डका साथसाथै पश्चिम बंगालको पुरुलिया जिल्लाको काशीपुर प्रखण्डमा समेत गर्ने गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महिषासुरको पूजा गर्ने यो प्रचलन पुरानो भने छैन । सन् २०११ देखि मात्रै यी गाउँहरुमा महिषासुरको पूजा एवं शोक दिवस मनाउन थालिएको हो । अहिले यी दुबै गाउँमा उक्त जनजातिको संख्या तेज रुपमा घटिरहेको छ । झारखण्ड, पश्चिम बंगाल र छत्तिसगढमा समेत असुर आदिवासीहरुको बस्ती छ । उनीहरुले पनि यो दिन महिषासुरको स्मरण गर्दछन् ।

बिबिसी हिन्दीमा छापिएको एक रिपोर्टका अनुसार आदिवासीहरुले महिषासुरलाई हुडुर दुर्गाको नामबाट चिन्ने गर्दछन् । उनले महिलामाथि हतियार नउठाउने प्रतिज्ञा गरेका थिए । जसका कारण देवगणले दुर्गालाई अगाडि सारेर छलकपटपूर्ण रुपले हत्या गरेको आदिवासीहरुको मत छ । उनीहरुले आफ्नो नामको पछाडि असुर नाम राख्ने गरेका छन् ।

एकमात्र असुर कथाकार सुष्मा असुर भन्छिन्, मैले स्कूलको किताबमा देवताहरुले असुरहरुको संहार गरेको पढें । हाम्रो पूर्वजलाई देवताहरुले सामूहिक हत्या गरेका थिए । त्यसैले देवताहरुको व्याख्या लिनेहरुले विजयादशमी मनाइरहँदा हामी असुरका सन्तानहरुले शोक दिवस मनाउन किन नहुने ?

कर्नाटकको मैसूरमा महिसासुरको विशाल प्रतिमा खडा गरिएको छ । त्यहाँका बच्चाहरु समेत माटोले बनाएको सिंहको प्रतिमा बनाएर त्यसैमाथि खेल्ने गर्दछन् । तर, त्यस्तो प्रतिमामा सिंहको शीर छेद गरिएको हुन्छ । सिंह दूर्गाको सवारी हो । जसले उनीहरुको पूर्खाको संहार गरेको थियो । त्यसैको आक्रोशमा माटोको प्रतिमामाथि पूर्खाको रिस पोख्ने गरिन्छ ।

सन् २००८ को विजयादशमीमा तत्कालीन मुख्यमन्त्री शिबू सोरेनले राँचीको मोराबादी मैदानमा हुन लागिरहेको रावण दहन कार्यक्रममा उपस्थित हुन अस्वीकार गरेका थिए । उनले रावण आदिवासीहरुको पूर्वज भएको भन्दै त्यो दहनमा अनुपस्थित भएका थिए । आदिवासीहरुका अनुसार सन् ९७ देखि नै यो उत्सव मनाउन थालिएको हो । तर, यसलाई सन् २०११ देखि यसको धुमधामका साथ मनाउन थालिएको हो ।

महिसासुर नायक कि खलनायक ?

आसुरी शक्तिका नायक मानिने ‘महिषासुर’ मूल रूपले ‘महिष’ र ‘असुर’ शब्दको संयोग हो । ‘महिष’ शब्दको सर्वाधिक पुरानो अर्थ ‘महा शक्तिमान’ भन्ने हुन्छ । यो ‘मह’ धातु मा ‘इषन’ प्रत्यय जोडेर बनेको छ । जसमा गुरूताको भाव रहेको हुन्छ । गुरूताको भावकोलागि ‘मह’ धातुबाट अनेक शब्द बनेको हुन्छ ।

भारतमा जतिबेलासम्म राजतन्त्रको विकास भएको थियो । त्यतिबेला ‘महिष’को एक नयाँ अर्थ ‘राजा’ भन्ने थियो । त्यसैले अहिले पनि रानीलाई ‘महीषी’ नामले चिनिन्छ । भारतीय वाड्मयमा ‘महिष’को अर्थ ‘भैंसी’ भन्ने हुन्छ । तर, स्मृतिग्रन्थहरुमा महिष शब्दको अर्थ भैंसी भन्ने पाईंदैन ।

त्यसैले, शाब्दिक अर्थलाई हेर्ने हो भने महिषासुरको अर्थले खलनायक जनाउँदैन । तर, हाम्रा पौराणिक कहानीहरुले दैवी शक्तिलाई दुख दिएको कारणले मात्रै महिषासुरलाई खलनायकको रुपमा व्याख्या गरिएको हो ।



source https://www.onlinekhabar.com/2019/09/800215

‘परिवारलाई भनेको छु, मलाई सडकमै गिराउन सक्छन्’

१३ असोज, काठमाडौं । सन्तान जन्मिने तर नबाँच्ने पीडाबाट पीडित बाबुआमाका ११ औं सन्तान हुन् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ । उनी लमजुङको गाउँ शहरमा सामान्य राजनीतिक चेत भएको मध्यम वर्गीय परिवारमा ०२५ मंसिर १५ गते जन्मिएका हुन् ।

एघारौंपटक सुत्केरी हुन ज्योतिकी आमालाई माइत पठाएको थियो । उनलाई मृत्युबाट जोगाउन जन्मने बितिक्कै जोगीको झोलीमा हालेर जोगीजस्तो बनाइयो । नभन्दै, उनी नै बानियाँ दम्पत्तिका जीवित र अन्तिम सन्तान हुन पुगे ।

गाउँका दौंतरीले ज्योति बानियाँलाई अहिले पनि जोगी भनेरै चिन्छन् ।

जोगीबाट ज्योति

जोगी बनाइएका अर्थात कुलबाट निकालिएका एकमात्र जीवित सन्तान ज्योति परिवार र मावलीमा सबैका प्यारा थिए । चार वर्षको उमेरमा उनी नजिकै मजुङ माध्यमिक विद्यनलयमा भर्ना हुन पुगे । फारममा मास्टरले नाम लेखे– जोगी बानियाँ ।

उपभोक्ता अधिकारकोे नारा बोकेर २५ वर्षदेखि संघर्ष गर्दा ज्योति बानियाँले धेरै शत्रु कमाएका छन् । आम नेपाली खुलेआम लुटिएको, ठगिएको बुझेपछि आफूलाई निद्रा नलाग्ने उनी बताउँछन्

तर, हेडमास्टर बुद्धीबहादुर बुढोथोकीलाई त्यो नाम जँचेन । उनले स्कुल भर्ना गर्न छोरा लिएर आएकी आमालाई ‘जोगी’जस्तै सुनिने र स्त्रीवाचक भएकाले जेको डर हो, त्यो दोषबाट पनि जोगिने भन्दै ‘ज्योति’ लेख्न सहमत बनाए ।

विद्यालयसँगै जेलनेल

बानियाँ परिवारमा त्यसबेलाको नेकपा (माले) का नेताहरुको आउजाउ थियो । बानियाँकी आमा मार्क्र्सवाद, लेनिनवादको वकालत गर्थिन् । उनका माइती ९थापा) मा जेठो दाजु प्रधानपञ्च थिए भने कान्छो भाइ माले ।

आमा र मामाको राजनीतिक चेत ज्योतिमा पनि सर्‍यो। कक्षा ८ मा पढ्दै गर्दा मालेको बिद्यार्थी मोर्चामा काम गर्ने विद्यार्थीको नाम लेखिएको डायरी कतैबाट प्रहरीले बरामद गरेछ । पक्राउ परे ।

लमजुङकै माविबाट ०४० सालमा एसएलसी उत्तीर्ण हुनेबितिक्कै ज्योतिले अलि परको स्कुलमा जागिर पाए । शिक्षण पेशा ठिकठाक चल्दै गर्दा देशभर शिक्षक आन्दोलन उठ्यो । त्यसले उनलाई नछुने कुरै भएन । उनी खोसुवामा परिहाले । ‘१६ वर्षको उमेरमा जिल्लामा प्रतिबन्धित भएपछि ०४२ सालमा चितवन पुगेँ’, उनी सम्झन्छन् ।

त्यहीबेला भरतपुर क्याम्पसमा पहिलो पटक कानुन विषयमा प्रवीणता प्रमाणपत्र तह (आइएल) को भर्ना खुल्यो । जेल, अड्डा–अदालत भोगेका उनी कानुनका विद्यार्थी बने ।

पढाइ चल्दै गर्दा मालेको राजनीतिले उनलाई फेरि पाँच महिनाका लागि जेल पुर्‍यायो । आइएल सकेपछि उनी बीएल पढ्न काठमाडौं आए र नेपाल ल क्याम्पसमा भर्ना भए ।

कानुनले अधिकार बुझायो

कानुन क्याम्पस पढ्दा ज्योतिलाई पहिलो पुस्ताको अधिकार, नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुलाई दोस्रो पुस्ताको अधिकार रहेछन् भन्ने वोध भयो । देशको कानुनी अवस्थाबारे अध्ययन गर्दै जाँदा उनलाई लाग्यो– दोस्रो पुस्ताको अधिकार त यहाँ प्रयोग नै भएको रहेन छ । उनी भन्छन्, ‘अनि ती अधिकारहरु स्थापित गर्न लाग्नुपर्छ भन्ने भयो ।’

कठोर पञ्चायतकालमा ज्योतिले जागिर पाउने र पाए पनि टिक्ने सम्भावना कमै थियो । आईएल पास गर्ने बितिक्कै उनले अभिवक्ताको अनुमतिपत्र लिए । बीएल दोस्रो वर्ष पढ्दै गर्दा उनी एउटा ल फर्ममा आवद्व भए ।

त्यहीबेला ल क्याम्पसका उनका एक गुरु थप अध्ययनका लागि दिल्ली विश्वविद्यालय गएका थिए । फर्केपछि उनले ज्योति लगायत तेस्रो वर्षका केही विद्यार्थीलाई ‘म गेष्ट लेक्चर दिन्छु भाइहरु आओ है’ भने । तेस्रो वर्षमा इन्टर्नसिपको एउटा पेपर र अर्को शोधपत्र बुझाउनुपथ्र्यो ।

दिल्ली विश्वविद्यालयले त्योबेला कानुनका धेरै विषय ‘इन्डोर्स’ गरिसकेको थियो । तर, नेपालमा परिवार, कर जस्ता विषयमा कुल ५० नम्बरको पढाइ हुन्थ्यो । ‘०४८ सालतिरको कुरा हो, गुरुले तिमीहरुले अहिल्यै थेसिसहरु लेख्यौ भने हाम्रो क्याम्पसलाई पनि दबाव पर्ला भनेर सन्र्दभ सामाग्रीहरु ल्याइदिएको छु भनेर दिनुभयो’, ज्योति भन्छन्, ‘सबभन्दा अगाडि बसेको मेरो हातमा ‘उपभोक्ता कानून’ नामको किताब पर्‍यो।’

त्यो बेलासम्म उनले उपभोक्ता विधिशास्त्रबारे सुन्दै सुनेका थिएनन् । त्यही किताब पढेर उनले थेसिसको फर्ममा ‘कन्जुमर ल’ उल्लेख गरे । तर तयारीका क्रममा थप सन्दर्भ सामाग्रीहरु पाएनन् ।

‘स्वर्गीय न्यायाधीश भरतराज उप्रेती मेरो गाईड तोकिनुभएको थियो’, उहाँले मेरो थेसिस विषय हेर्ने वितिक्कै बनियाँ–व्यापारीलाई वाणिज्य नै परेछ भनेर जिस्काउनुभयो ।’

उप्रेतीले भनेका र जुटाइदिएका सन्दर्भ सामग्री र गाइड गरेकै आधारमा ज्योतिले करिब दुई सय पृष्ठको थेसिस तयार पारे । थेसिस पढेपछि क्याम्पस प्रमुखले बोलाएर थप तीनप्रति फोटोकपी गर्न भन्दा ज्योतिले पैसा नै छैन भनेर टार्न खोजे । उनलाई लाग्यो– थेसिस बुझाएर सबै साथी हाईसञ्चोमा बसेका छन्, सन्दर्भ सामग्रीमै धेरै टाउको दुःखाएको मलाई भने क्याम्पसले थप तनाव दिँदैछ ।

फोटोकपी गरेर ल्याउ, पैसा क्याम्पसले तिर्छ भनेपछि उनले त्यो पनि गरे । एकदिन फेरि क्याम्पसका पियन खोज्दै आएर क्याम्पस प्रमुखले तुरुन्त भेट्न चाहेको बताए । फेरि के तनाब दिन लागे भन्दै क्याम्पस पुग्दा प्रमुखकोमा तीनवटा चिठ्ठी तयार थिए ।

‘कानुन, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई देशमा उपभोक्ता विधिशास्त्र सम्बन्धी कानुन अत्यावश्यक भएकाले ती विषयका सोधपत्र आवश्यक कारवाहीका लागि पठाइएको छ भनेर लेखिएको रहेछ’, ज्योति सम्झन्छन्, ‘०४९ सालतिरको कुरा हो, ती पत्र आफैं लगेर बुझाएँ ।’

लेखक खोज्दै थेसिस आयो

कानुन मन्त्रालयले आफ्नो थेसिसकै आधारमा टिप्पणी उठाएर कानुनको मस्यौदा बनाउन ल क्याम्पसमा पत्र पठाएको ज्योतिको दाबी छ ।

थेसिसमा फोन नम्बर नहुने भएकाले मन्त्रालयले क्याम्पसमा तारन्तार गरेछ । ‘त्यो सूचना पाएर मन्त्रालय पुग्दा उपसचिवले तपाई कति ठूलो मान्छे हो, खोज्नलाई तीन महिना लाग्ने भन्दै थर्काए’, उनी भन्छन्, ‘अनि मेरो थेसिस देखाउँदै ल योभन्दा राम्रो लेख्नुपर्‍यो भन्दै हाँसे ।’

त्यसपछि एक महिनाको समय दिएर कानुनको पहिलो मस्यौदा लेख्न भनियो । अनि आफ्ना शिक्षकहरुसँग बसेर उपभोक्ता कानुनको पहिलो ड्राफ्ट बनाएको ज्योति बताउँछन् ।

त्यसवापत मन्त्रालयबाट ५५ हजार रुपैयाँ पाउँदा ट्वाल्ल परेको उनले सुनाए । ‘मेरो थेसिस दुईवर्ष पछि मलाई खोज्दै आयो, विज्ञता बिकाएर रकम पनि दिएर गयो’, उनी भन्छन्, ‘त्यसबेला एकमुष्ट ५५ हजार ठूलो रकम थियो ।’

अग्रजहरुको सहयोग र आफ्नो मेहनतबाट नेपालमा ०५१ सालमा पहिलोपटक उपभोक्ता संरक्षण ऐन तयार भएको ज्योतिले सुनाए, जुन ०५४ सालमा जारी भयो ।

उपभोक्ता हित संरक्षण मञ्चको जन्म

मन्त्रालयले कानुनको मस्यौदा लेख्न भन्दैगर्दा ज्योतिको कुनै संस्थागत आवद्धता थिएन । मस्यौदामा काम गर्न संस्था चाहिने त्यहाँ भनियो । ‘त्यसैको परिणाम हो उपभोक्ता हित संरक्षण मञ्च’, उनी भन्छन्, ‘२० चैत ०५१ मा यो संस्था जन्मियो, जसमा सुन्दरमणि दीक्षित अध्यक्ष हुनुहुन्थ्यो, म सचिव थिएँ ।’

ऐन आउने भएपछि कार्यान्वयन गर्न माग पक्ष चाहिने भएकाले यो संस्था जन्माइएको उनले बताए । पछि उपभोक्ता अधिकार कानुन प्रयोग गर्ने विषयमा नयाँ व्यवस्थाहरु थपिँदै गएपछि बजार अनुगमनको थालनी भएको उनी बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्चले महत्वको हिसाबले सञ्चार माध्यममा राम्रो स्थान पाएको र उपभोक्ता ठगिएको विषयमा मुद्दा पर्ने क्रम बढेको ज्योतिको अनुभव छ ।

घटनाबारे गहिरो अध्ययन, त्यसपछि अनुगमन, छापा वा कुनै पनि नाममा घटना सिर्जना गर्ने र त्यसलाई मुद्दा बनाएर क्षतिपूर्तिसहित अदालत जाने काम उपभोक्ता हित संरक्षण मञ्चले गर्छ । हरेक वर्ष मञ्चले देशभर एकसय भन्दा धेरै मुद्दा अदालतमा दर्ता गर्ने गरेको छ ।

पछिल्लो मुद्दा दुर्गा घिमिरेको थियो । पाटन अस्पतालमा शल्यक्रिया गर्दा पिसाब नली पनि काटिएपछि लापरवाही विरुद्व मञ्चले ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्‍यो । जिल्ला प्रशासनबाट जिल्ला अदालत गएको मुद्दामा डा. लक्ष्मीनाराण आरसीलाई रु.७ लाख र अस्पताललाई ५ लाख रुपैयाँ क्ष्तिपूर्ति भराउन आदेश भयो ।

त्यस्तै, दुर्घटनामा परेका ताप्लेजुङका सहायक सिडियोको उपचारमा लापरवाही गरेको पुष्टि भए पछि ओम अस्पताललाई ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो ।

ज्योतिले बिर्सन नसक्ने मुद्दा चाँही लाउण्ड्रीमा धुन दिएको कोट सम्बन्धी भएको ज्योति बताउँछन् । उनका अनुसार, लाउण्ड्रीले आइरनले डढाएर दिएको कोटबारे मञ्चले लडेको मुद्दामा अदालतले १२ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला दिएको थियो ।

बानियाँका जस पाउने काम

नेपालमा उपभोक्ता अधिकारलाई कानुनी मान्यता दिलाउनु अधिवक्ता ज्योति बानियाँ र उपभोक्ता संरक्षण मञ्चको सबभन्दा महत्वपूर्ण काम हो । उपभोक्ता संरक्षण ऐन २०७५ का मस्यौदाकारमध्ये पनि एक हुन्, बानियाँ । संविधानको मौलिक हकमै उपभोक्ता अधिकार, गुणस्तरीय वस्तु तथा सेवा पाउने हक तथा नपाए क्षतिपूर्तिको व्यवस्था गराउनेमा पनि उनले श्रेय पाएका छन् ।

यस्तै चुरोट र खैनीको बट्टामा ७५ प्रतिशतसम्म चेतनामूलक तस्वीर राख्न सक्नु पनि उनको सफलता हो । धुम्रपानको खोलमा ७५ प्रतिशत चेनतामूलक तस्वीर राख्ने मुलुक संसारमा नेपाल एक्लो हो । विद्यालय क्षेत्रको एक सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने व्यवस्था पनि बानियाँकै पहलमा भएको थियो ।

सरकारी अस्पतालमा फार्मेशी हुनुपर्ने व्यवस्था पनि मञ्च र बानियाँहरुको सक्रियताबाट सम्भव भएको हो । नेपालमा छ्याप्छ्याप्ती पाइने भियाग्रा बिक्री विरतरणमा रोक लगाउनुमा पनि उनको योगदान छ ।

त्यस्तै, काठमाडौं उपत्यकाका पसल अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थामा पनि बानियाँको हात छ ।

धारा तोरीको तेलका मालिकविरुद्व कालोबजारी मुद्दा हालेर भाग्न बाध्य बनाउने पनि यही टिम थियो । होटल तथा रेष्टुराँमा लिइने सेवा शुल्कविरुद्व हालेको मुद्दा पनि उपभोक्ताको पक्षमा आएर कार्यान्वयनको चरणमा रहेको अधिवक्ता बानियाँ बताउँछन् ।

‘ज्योतिलाई सडकबाट उठाउनुपर्छ’

उपभोक्ता अधिकारकोे नारा बोकेर २५ वर्षदेखि संघर्ष गर्दा ज्योति बानियाँले धेरै शत्रु कमाएका छन् । आम नेपाली खुलेआम लुटिएको, ठगिएको बुझेपछि आफूलाई निद्रा नलाग्ने उनी बताउँछन् । ‘नजानेका मानिस त बोलेनन् ठिकै छ, जानेकाहरु समेत चुप बस्दा यिनीहरु किन लास भएका हँ भन्ने लाग्छ’, उनी भन्छन्, ‘यही हुटहुटीमा सकृय हुँदा अनेक शत्रु कमाइएको छ, कैयौंपटक मार्ने धम्की खेपिएको छ ।’

जोखिमको बाटोमा हिँडेकाले बेलाबेला परिवार निकै चिन्तित हुने गरेको उनी बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘श्रीमती र दुई सन्तानलाई भनेको छु, नागरिक अधिकारका लागि लडेकै कारण सडकबाट मेरो लास उठाउने दिन आउन सक्छ, मानसिक रुपमा तयार रहनू ।’



source https://www.onlinekhabar.com/2019/09/800236

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो ।

प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुने छ ।

काठमाडौं राष्ट्रिय सभागृहमा सोमबार मध्याह्न आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने छन् । खुला दिसामुक्त देश घोषणा कार्यक्रमको सबै तयारी पूरा भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । घोषणासभाको पहिलो सेसनको कार्यक्रमअन्तर्गत बिभिन्न कार्यपत्रहरुको प्रस्तुती र साँस्कृतिक कार्यक्रम प्रदर्शनी भने बिहान १० बजेदेखि नै जारी रहने छ ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ

नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरु, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।

दुई वर्ष ढिला पूरा भएको लक्ष्य

सरसफाइ गुरुयोजनाअनुसार ‘खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले  (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहिँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।’

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै सबै घरमा शौचालय निर्माण गर्ने र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यअनुसार काम नहुँदा दुई वर्ष ढिला गरी खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको थियो । यो अभियानले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई कार्यान्वयन गरेको छ ।

कुन प्रदेशमा कति शौचालय बने ?

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् ।

प्रदेश १ मा ९ लाख ६५ हजार २७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६४९ र प्रदेश ३ मा १६ लाख २२ हजार १९३ घरधुरीमा शौचालय बनेका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा चार लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् । सदस्यसचिव झाका अनुसार यति शौचालय बनाउन झन्डै ७५ अर्ब रुपैयाँ पूर्णलगानी नागरिकको छ।

‘नागरिकको पूर्ण लगानी र सहभागितामा सफल भएको यो नेपाल सरकारको एक उदाहरणीय कार्यक्रम हो,’ सदस्यसचिव झाले भने ।

पहिलो खुला दिसामुक्त जिल्ला कास्की, अन्तिम भोजपुर

नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो । कास्कीलाई २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको नेपालको अन्तिम अर्थात् ७७ औं जिल्ला भोजपुर हो । भोजपुर जिल्लालाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

राजधानी काठमाडौंलाई गत भदौ ३१ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।

तर, पर्याप्त आधारबिना हतारमा खुला दिसामुक्त घोषणा गरेको भनेर सरकारको आलोचना पनि हुने गरेको छ । कतिपय घरमा शौचालय नभएको, भएको पनि प्रयोगमा नआएको र सार्वजनिक शौचालय अभाव भएको कारणले पनि खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।



source https://www.onlinekhabar.com/2019/09/800235

फलफुल, तरकारी र अन्नका कारण हुने एलर्जी

धुलो-माटो, दुर्गन्ध-सुगन्ध, धुवाँ र मौसमको कारण मात्र एलर्जी हुन्छ भन्ने हुँदैन । हामीले दिनहुँ खाने फलफुल, तरकारी र अन्नका कारण पनि हामीलाई एलर्जी हुन सक्छ । तर एलर्जी भएको पत्ता लगाउन केही गाहे हुन सक्छ । एलर्जी हुने कारण हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ । हाम्रो शरीर कहिलेकाहिं केही पदार्थका कारण संवेदनशील हुन्छ ।

यी पदार्थको सेवन गर्नासाथ त्यसको असर शरीरमा देखिन थाल्छ । कहिलेकाहिं कुनै पदार्थ खाएको केहि समयमा नै शरीर चिलाउन थाल्छ, रातो डाबर निस्कने जस्ता धेरै कारणहरु हुन सक्छ । संसारमा करिव ६ प्रतिशत बालबालिकाहरु ४ प्रतिशत खाद्य पदार्थको एलर्जीबाट पीडित छन् ।

के हो एलर्जी ?

जब हाम्रो शरीर कुनै कुराप्रति ओभर रिएक्ट गर्छ भने त्यसलाई एलर्जी भनिन्छ । त्यस्तो स्थितिमा हाम्रो इम्यून सिस्टमले केही विशेष कुराहरुलाई स्वीकार गर्न सक्दैन । जसको नतिजा रिएक्शनको रुपमा देखिन थाल्छ । धेरै जसो एलर्जी खतरनाक हुँदैन, तर कहिलेकाहिं यो समस्या गम्भिर पनि हुन सक्छ ।

एलर्जीका लक्षणहरु

-छटपट हुनु ।

-आँखा पोल्नु ।

-पातलो दिशा हुनु अथवा कब्जियत हुनु, पेट दुख्नु र वजन बढ्नु अथवा घट्नु ।

-रिंगटा लाग्नु, जोर्नी अथवा हड्डीको दुखाई र एनीमिया ।

-महिलाहरुमा महिनावारी अनियमित हुनु ।

-छालामा निशान बस्नु अथवा चिलाउनु ।

एलर्जीको कारण

तरकारी र फलफुलको एलर्जी

तरकारी अथवा फलफुल फलाउनका लागि प्रयोग हुने कीटनाशक औषधीहरुका कारण केही व्यक्तिलाई एलर्जी हुन सक्छ । केही व्यक्तिलाई कीटनाशक औषधीले धेरै एलर्जी हुन सक्छ । जसका कारण त्यस्ता फलफुल र तरकारी खानाले उनीहरुले एलर्जीको सामना गर्नु पर्छ । यदि तपाईंलाई त्यस किसिमको समस्या छ भने तपाई अग्र्यानिक तरकारी र फलफुल खान सक्नु हुन्छ ।

त्यस प्रकारको फलफुल र तरकारीमा सिन्थेटिक कीटनाशकहरुबाट मुक्त हुन्छ । यदि त्यसको प्रयोगले तपाईंलाई एलर्जी ठीक हुन्छ भने तपाईं आफुलाई नोक्सान पु¥याउने कुराको सेवन गर्दैन गर्नुहोस् । तर यदि तपाईलाई अग्र्यानिक तरकारी र फलफुल खाँदा पनि एलर्जी कम भएन भने तपाईंलाई कुनै विशेष फलफुल र तरकारीका कारण एलर्जी भएको हुन सक्छ ।

यदि तपाईंलाई लेटेक्सले एलर्जी हुन्छ भने तपाईले केरा, एवोकाडो, किवी जस्ता फलफुल सेवन गर्नु हुँदैन । केही व्यक्तिहरुलाई तरकारी र फलफुलको कुनै विशेष रुपमा एलर्जी हुँदैन । जस्तै स्याउको मुरब्बा, एप्पल पाई खाँदा एलर्जी हुँदैन तर ताजा स्याउ खानाले एलर्जी हुन थाल्छ । उच्च तापक्रममा पाक्ने भएकोले तथा एलर्जी उत्पन्न गर्ने प्रोटीन हराउने भएकोले त्यस्तो भएको हुन सक्छ ।

अन्नबाट हुने एलर्जी

यस्तो एलर्जी १ सय ५० जना व्यक्तिहरु मध्ये एक जनालाई हुन सक्छ । यसको मुख्य कारण शरीरको ग्लूटेन नामक प्रोटीनलाई अवशोषित नगर्नु हो । त्यसमा जब व्यक्तिले ग्लूटेनयुक्त कुनै खाध्य पदार्थ सेवन गर्छ भने उ बिरामी पर्न सक्छ । त्यो रोगलाई सीलिएक भनिन्छ ।

त्यो सानो आन्द्रामा हुने रोग हो । त्यो रोग गहुँ, रायो र जौं जस्ता ग्लूटेन समावेश भएका पदार्थहरुबाट हुन्छ । यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । त्यस्तो स्थितिमा रोटी, अन्न समावेश भएको खाजा, पिज्जा जस्ता कुनै पनि पदार्थको सेवन गर्नु हुँदैन । किन भने ती चिजहरुमा ग्जूटन हुन्छन् । गहुँको पिठो भन्दा मकै अथवा चामलको पिठो प्रयोग गर्नु पर्छ । त्यस्ता एलर्जीबाट बच्ने उपाय पिडितकै हातमा हुन्छ ।



source https://www.onlinekhabar.com/2019/09/800214

भैंसेपाटीमा भीआईपी आवासको शिलान्यास आज

१३ असोज, काठमाडौं । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सरकारले बनाइदिने आवासको शिलान्यास आज हुँदै छ । ललितपुरको सैंबु भैंसेपाटीमा सोमबार बिहान १०ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् ।

सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न अलग-अलग भवन बनाउँदै छ ।

दुई वर्षभित्र मन्त्री निवासका साथै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सभामुख, उपसभामुखका लागि २७ वटा भवन बनाइने छ । त्यसका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि बन्ने १४ वटा भवनका लागि ८५ करोड बजेट छुट्याइएको छ ।

यो पनि पढ्नुहोस मन्त्रीका लागि भैंसेपाटीमा यसरी बन्दैछ आवास

यी सबै भवनहरुको निर्माण काम सुरु भएको मितिले दुई वर्षभित्रै सक्ने लक्ष्य छ । निर्माणको जिम्मा केसी कन्स्ट्रक्सन तथा सामानान्तर जेभीले पाएका छन् ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले भीआईपीहरुका लागि भैंसेपाटीमा आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो । हाल मन्त्रीहरु बस्दै आएको पुल्चोकस्थित निवासमा भने विदेशी पाहुनाहरुलाई राख्न अतिथि गृह बनाउने सरकारले निर्णय गरेको छ ।

सरकारले हालै प्रधानमन्त्री बस्ने सरकारी निवास बालुवाटारमा र संघीय संसद भवन सिंहदरबारमा शिलान्यास गरेको छ ।

यो पनि पढ्नुहोस सिंहदरबारभित्रै यस्तो बन्दैछ आधुनिक संसद भवन

source https://www.onlinekhabar.com/2019/09/800244

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More