Monday, 30 March 2020

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो ।

ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् । चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् ।

विश्वभर समग्र संक्रमितको संख्या पनि सात लाख ८५ हजार नाघेको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् । त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ।

भाइरसको संक्रमणबाट निको हुनेमा चीन सबैभन्दा अगाडि छ । अहिलेसम्म चीनमा यो भाइरस संक्रमण पुष्टि भएपछि निको भएर घर फर्किने मानिसको संख्या ७६ हजारभन्दा धेरै छ ।

स्पेनमा करिब १७ हजार मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १४ हजारभन्दा धेरै भाइरस संक्रमण पछि निको भएर घर फर्किएका छन् । त्यस्तै, इरान र जर्मनीमा पनि १३ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।



source https://www.onlinekhabar.com/2020/03/849528

लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित

१८ चैत, सप्तरी । औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही हुन्छ ।”

यो पनि पढ्नुहोस सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुई युवक, कारबाहीको तयारी

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

गल्ती भएकै हो, तर दुबै तस्कर हुन् : न्यौपाने

सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले आफ्ना जवानले दुबैलाई कुटपिट गरेर गल्ती गरेको भएपनि दुबै जना तस्कर भएको बताएका छन् । ‘उनीहरु औषधि नभई दैनिक उपभोग्य सामान लिएर आइरहेका थिए’ न्यौपानेले भने, “यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा दुबै जना छन् ।”

सामान नल्याउन पटक–पटक दुबैलाई सम्झाएपनि नमानेको र देश मानवको स्वास्थ्यका लागि लकडाउन भएको समयमा पनि सामान ल्याउन नछाडेको उनले बताए । ‘लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रनुपरेको गल्ती आफ्ना जबानबाट भएको छ’ उनले भने ।

‘यसरी कुट्नुहुँदैन्थ्यो । घट्नापछि उनीहरुले पनि ‘रियलाइज गरेका छन्,’ न्यौपानेले भने, “तर समाजका व्यक्तिले पनि लक डाउनको समयमा यस्तो गल्ती गर्नेबारे सोचिदिनु आवश्यक छ ।”



source https://www.onlinekhabar.com/2020/03/849526

कोरोना भाइरसविरुद्ध तरकारी बजारमा सतर्कता

१८ चैत, काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि तरकारी बजारहरुले पनि सर्तकता अपनाउन थालेका छन् ।

सरकारले लकडाउनको समयमा पनि खुल्ने तरकारी बजारमा बिहान र साँझ सर्वसाधारणको भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् ।

उनीहरुले कम्तीमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । तरकारी किन्न जाने सबैले सो गोलो घेरामा लाइन बसी तरकारी लिनुपर्ने हुन्छ । समाज कल्याण परिषदद्वारा सञ्चालित काठमाडौंको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्वार र बाह्यद्वार भिन्ना भिन्नै बनाइएको छ ।

एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन् । साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन् । साँझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्यधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो ।

धेरै भिड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरी लामबद्ध गराउनेछन् । तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकतासम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।



source https://www.onlinekhabar.com/2020/03/849527

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !   

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठिक त्यसको उल्टो भएको छ । अहिले डाडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एक सिटामोल र करारमा खटिएका एक अनमी मात्रै छन् । अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छाडेर निजी काममा व्यस्त देखिएको स्थानीयबासीले बताएका छन् ।

स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकी थेग्नुपरेको छ । यही चैत ८ गतेदेखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयवासी टसी विकले बताए ।

अहिले डाडाफयाका स्थानीयबासी सामान्य उपचारका लागि स्वास्थ्य चौकी पुगे पनि औषधि र कर्मचारी नहुँदा रित्तो हात लिएर फिर्ता हुनुपर्ने अवस्था आएको स्थानीयबासी बाँचु शाहीले गुनासो गरे । करारमा रहेकी अनमी सङ्गीता रोकायाले बिहानदेखि बेलुकासम्म स्वास्थ्यचौकी सम्हाल्दै आएको उनले बताए । पहिला गाउँको स्वास्थचौकीमै औषधि पाइन्थ्यो, अहिले सिटामोलसमेत पाउन मुस्किल भएको शाहीले गुनासो गरे ।

स्वास्थ्यचौकीमा केही मात्रामा औषधि भए पनि बालबालिकाका लागि प्रयोग गरिने औषधि केही पनि नभएको अनमी सङ्गीता रोकायाले बताइन् । कार्यालय सहयोगीलाई औषधि ल्याउनका लागि सदरमुकाम पठाए पनि औषधि लिएर आइनपुगेको उनको भनाइ थियो । स्वास्थ्यचौकीका संयोजकलाई फोन गर्दा फोन नउठेको उनले बताइन् ।

यता सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले शनिबार हाजिर गर्न नमिल्ने र बिदामा पनि नबस्न सरकारले ह्वीप जारी गरेका बेला त्यस्तो गरेको पाइए कारबाही गरिने बताए । आइतबार मात्रै औषधि अभाव भएको खबर आएपछि डाडाफया स्वास्थ्यचौकीकालाई आवश्यक पर्ने औषधि पठाइसकेको संयोजक बोहराले बताए । यस्तै जिल्लाको तल्लो क्षेत्रमा रहेको रिप स्वास्थ्यचौकीमा पनि औषधिको अभाव रहेको पाइएको छ ।



source https://www.onlinekhabar.com/2020/03/849517

चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी

१८ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।

स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगो निभाउने काम भइरहेको छ ।

आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।



source https://www.onlinekhabar.com/2020/03/849521

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

१८ चैत, काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।

सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।

२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ ।

कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्ह:पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।

२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसँग भने, ‘२०७७ सालको असोजमा मलमास परेकाले हाम्रा चाडपर्व पर सरेका हुन् ।’

२०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए ।

धर्मशास्त्रका जानकारहरुका अनुसार मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।



source https://www.onlinekhabar.com/2020/03/849520

महामारीले एसियाको आर्थिक वृद्धिमा ठूलो असर : विश्व बैंक

१८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने विश्व बैंकले बताएको छ । विशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ ।

सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्ने क्रममा विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ ।

उसले सन् २०२० मा समग्र विकासशील मलुकको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यो दर माइनस शून्य दशमलव पाँच प्रतिशतमा पनि जान सक्ने बताएको छ । जबकी सन् २०१९ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार विश्व बैंकले चीनको आर्थिक वृद्धिदर यसवर्ष २ दशमलव ३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यो वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा पनि सीमित हुनसक्ने उसको अनुमान छ । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत थियो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यो भाइरसको प्रभाव सबै मुलुकमा देखिएकोले यस्तो प्रक्षेपण गरिएको उल्लेख छ । विश्वका सबै मुलुकले आर्थिक सुधारको लागि विभिन्न कार्यक्रम अघि सार्नु जरुरी रहेको बैंकले उल्लेख गरेको छ ।

विश्व बैंक यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर आउने बैंकले उल्लेख गरेको छ ।

जबकी यस वर्ष तीन करोड ५० लाख मानिस गरिबीको रेखाबाट माथि उठ्नसक्ने अनुमान गरिएको थियो । आर्थिक अवस्था अझै कमजोर बने गरिबी एक करोड १० लाखले बढ्ने विश्व बैंकको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/03/849519

कोरोना त्रासबीच नै डर्टमण्डले सुरु गर्‍यो ट्रेनिङ

१८ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा अहिले विश्वभरीको फुटबल खेलहरु ठप्प छ । खेलसँगै ट्रेनिङहरु समेत बन्द छन् । तर, बोरुसिया डर्टमण्डले भने कोभि- १९ को त्रासकै समयमा पनि फुटबल प्रशिक्षण सुरु गरेको छ ।

जर्मन क्लब डर्टमण्डले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो । पहिलो दिन प्रशिक्षणमा नर्वेजियन युवा स्टार एर्लिङ हलान्डसँगै थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायतको उपस्थिति थियो ।

क्लबले खेलाडीको म्याच फिटनेसलाई कायम राख्न सुरक्षित तरिकाले ट्रेनिङ गराइने जनाएको छ । क्लबल खेलाडीले निश्चित दुरीमा राखेर ट्रेनिङ गराएको छ । क्लबका खेलाडी एम्रे चानले पिचमा फर्कनु महत्वपूर्ण रहेको र यसले बोरिङ फिल नहुने बताएका छन् ।

जर्मनीमा फुटबल कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो । बुण्डेसलिगामा वायर्न म्युनिखपछि डर्टमण्ड दोस्रो स्थानमा छ ।

कोरोनाको कारण ठप्प रहेको विश्व फुटबल कहिले पुराने लयमा पर्कन्छ भन्ने थाहा छैन । जर्मनीमा बुण्डेलिगा र बुण्डेसलिगाको दोस्रो डिभिजन अप्रिल ३० सम्म स्थगित गरिएको छ । युरोपका अन्य लिगहरु पनि अहिले स्थगित छन्।

कोरोनाकै कारण आगामी जुन र जुलाई महिनामा तय भएको युरोकप २०२० र कोपा अमेरिका एक वर्षपछि सारिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/03/849516

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर

१८ चैत, फिदिम । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिए पनि पाँचथरमा त्यस्ता करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको उक्त तथ्याङ्कले देखाएको छ ।

भारत सहित अन्य विदेशी मुलुकबाट आएका मानिस तथा उनीहरुको परिवारका सदस्य क्वारेन्टाइनमा नरहँदा कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना हुनाका साथै ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिने भयसमेत सिर्जना भएको छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिको सोमबार साँझसम्मको तथ्याङ्कानुसार चैत सुरु भएयता १४९ जना विदेशबाट यहाँ आएका छन् । यहाँ आएकामध्ये ५४ जना क्वारेन्टाइनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा छन् । तीन जना आइसोलेसनमा तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वारेन्टाइनमा छन् । बाँकी सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन् । उनीहरुले सतर्कता अपनाए/नपनाएको तथा कोरोना भाइरसबारे सचेत रहे/नरहेको प्रष्ट छैन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसक्नु चिन्ताको विषय भएको बताए । “सबैलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने कुरा पनि भएन”, प्रजिअ शर्माले भने, “सबै पक्ष लाग्दासमेत सबैलाई क्वारेन्टाइनमा ल्याउन सकिएको छैन ।” जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, स्थानीयस्तरका स्वयम्सेवक विदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा पुर्‍याउन प्रयत्नशील रहेको उनको भनाइ छ । “विशेषतः स्थानीय तहले सक्रियता देखाउनुपर्ने आवश्यकता छ”, प्रजिअ शर्माले भने ।

फिदिम नगरपालिकामा चैत लागेयता ३९ जना विदेशबाट आएको फिदिम नगरपालिकाकै तथ्याङ्क छ । फिदिममा होम क्वारेन्टाइनमा चार तथा क्वारेन्टाइनमा ११ जना छन् । बाँकी सबै क्वारेन्टाइन बाहिर छन् । “कतिपय उक्त समयभन्दा अगाडि आएका पनि छन् । कतिपय सचेत मानिसहरु पनि छन्”, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले भने, “हामी सचेततापूर्वक घरैमा बस्छौँ भन्नेलाई जबर्जजस्ती गर्न पनि भएन ।”

अधिकारकर्मी मंगल बेघाले विदेशबाट फर्किएकाहरुमा सचेतना विस्तार अत्यावाश्यक रहेको बताए । “नयाँ किसिमको रोग भएकाले यसको लक्षण, समस्या र बच्ने उपायबारे ग्रामीण क्षेत्रमा सचेतनाको कमी छ”, बेघाले भने, “स्थानीय तहहरुले सचेतना पुर्‍याउनु पर्छ । विदेशबाट फर्किएकाहरुलाई राम्रोसँग बुझाउनुपर्छ ।” उनीहरुलाई राख्ने क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड अनुसार निर्माण गर्नुपर्ने र मापदण्ड पुगेका क्वारेन्टाइनमा शङ्कास्पद सबै जना बस्ने प्रवन्ध गर्नुपर्नेमा बेघाको जोड छ । “विदेशबाट फर्किएकाहरु क्वारेन्टाइन नआउँदा उनीहरुका कारण गाउँ आतङ्कित हुने अवस्था छ”, बेघाले भने ।



source https://www.onlinekhabar.com/2020/03/849512

भक्तपुरको हनुमन्ते खोलामा महिलाको शव भेटियो

१८ चैत, भक्तपुर । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ ।

शवको प्रकृति हेर्दा करिब एक साताअघि हत्या गरेर फ्याँकेको हुनसक्ने प्रहरीको अनुमान छ । सोमबार साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्षकी महिलाको शव भेटिएको हो । नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी महिलाको टाउको भने भेटिएको छैन । त्यस्तै बायाँ हातको नाडीमुनिको भाग पनि नभएको भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरिएको प्रधानले बताए । ‘शवको टाउको छैन, घटनास्थलको अवस्था हेर्दा अन्तै घटना घटाएर खोलामा ल्याएर शव फ्याँकेको हो कि भन्ने अनुमान गरेका छौँ, शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर ल्याएर फ्याँकेको अनुमान छ, शव हेर्दा घटना कम्तीमा एक साताअघिको हनुपर्ने अनुमान गरेका छौँ’ उनले भने ।

घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्री बरामद गरेको छ । शव कसको हो भन्ने पहिचान हुन नसकेको जानकारी दिँदै उनले शव पहिचान गर्न र विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको बताए ।



source https://www.onlinekhabar.com/2020/03/849505

भारत जाऔं रोग छ, नेपाल जाने बाटो बन्द छ !

१८ चैत, दाङ । लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुलाई अप्ठेरो भएपछि दाङको राजपुर गाउँपालिकाको टोली ट्याक्टरमा दाल–चामलका बोरा लिएर भारतीय सीमा नाका नजिकका वस्तीहरुमा पुग्यो ।

जनतालाई सुविधा होस् भनेर घर आँगनसम्मै खाद्यान्न त लग्यो, तर धेरैजसोले आफूहरुसँग पैसा नभएकाले त्यो पनि किन्न नसक्ने बताए । ढुवानी खर्च नजोडिएकाले बजारभन्दा सस्तो मूल्यमा खाद्यान्न दिने गाउँपालिकाको उद्देश्यमा धक्का लाग्यो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका निवासी प्रमोद घर्तीले भने, ‘सस्तो भएर के गर्ने, हामीसँग त्यो किन्ने पनि पैसा छैन । दिने नै हो भने सरकारले निःशुल्क देओस् ।’

भारतीय सीमा बजारमा मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका राजपुर गाउँपालिका–७ गम्भीरा नाकाका लालबहादुर विश्वकर्माको गुनासो पनि त्यस्तै थियो । उनले भने, ‘भारत जान बन्द भएपछि पैसा आउने बाटो पनि बन्द भयो । घरमा अन्न छैन । बेसाएर कति दिन चल्छ ?’

नाकाबासीका गुनासा मिश्रित प्रश्नका उत्तर जनप्रतिनिधिहरुसँग थिएन ।

आफ्नै देश बिरानो

गम्भीरा नाकाका लालबहादुर विश्वकर्माले घरको अन्न सकिएपछि छोराछोरीलाई मामाघर पठाएका छन् । ‘पैसा सकिएपछि सापटी माग्न ससुराली गएँ, ससुरालीमा पनि पैसा थिएन । त्यसपछि छोराछोरीलाई उतै छाडेर आएँ,’ विश्वकर्माले सुनाए, ‘अहिले घरमा बुवा, आमा र म छौँ । मकै भुटेर खाइरहेका छौं ।’

नाकाबासीको मुख्य आय स्रोत भनेको खसीबोका बिक्री हो । तर, अहिले लकडाउन र कोरोना भाइरस संक्रमणको जोखिमका कारण खसीबोका किन्ने व्यापारी नआएपछि आफूहरु समस्यामा परेको उनीहरु बताउँछन् ।

उनीहरु नेपाली नै हुन् । तर आफ्नै देश बिरानो छ उनीहरुका लागि । नजिकका बजार लमही, जिल्ला सदरमुकाम घोराहीलाई उनीहरुले ‘नेपाल’ भन्छन् ।

खंग्रा नाका निवासी कविराज पुरीले भने, ‘खेतबारीमा गहुँ र अडहर (रहर) छ, तर भएर के गर्नु ? त्यसै खानु भएन । मिल बन्द छ । भारत जाउँ रोग छ, नेपाल जाउँ बाटो छैन ।’

भारतसँग जोडिएका सीमा क्षेत्रमा बस्ने दाङका बासिन्दा दैनिक उपभोग सामान किनमेल गर्न नजिकको भारतीय बजार बेचैपुरूवा, सिरसिया, कोइलाबासलगायतका स्थानमा जान्छन् । कोरोना भाइरस रोकथामका लागि अहिले नेपाल–भारत दुवैले सीमा नाका बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले भारतसँग जोडिएका दाङका सना–ठूला सबै २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरेको छ । त्यसलगत्तै सरकारले सबैलाई आ–आफ्नो घरभित्रै बस्न आग्रह गर्दै देशभर लकडाउन घोषणा गरेपछि ज्याला मजदुरी गरेर पेट पाल्नेहरुको पैसा आउने बाटो बन्द भएको छ ।

गाउँपालिका अध्यक्ष भन्छन्– विपन्नको डाटा खोज्दै छौं

राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले निःशुल्क पाइन्छ भनेर पैसा हुनेहरुले पनि ‘छैन’ भन्ने गरेकाले समस्या परेको बताए । यद्यपि ढुवानी अनुदानको तीन ट्याक्टर खाद्यान्न नाका क्षेत्रका केही व्यक्तिहरुले किनेको बताए । किन्न नसक्नेहरुको विवरण यकिन गरेर निःशुल्क खाद्यान्न पठाइने उनले बताए ।

‘सस्तो दाल–चामल पनि किन्न नसक्ने को–कति छन् तथ्यांक संकलन गरेर ल्याउनुस् भनेर मैले वडाहरुलाई निर्देशन दिइसकेको छु, त्यो विवरण आइसकेपछि किन्नै नसक्ने अवस्थाकालाई निःशुल्क राहत बाँड्छौं,’ गाउँपालिका अध्यक्ष केसीले भने ।

उपाध्यक्ष धनपति देवी यादवले गाउँपालिकाले ढुवानी खर्च व्यहोरेको खाद्यान्न पटौली, खंग्रा र भैसाही नाकाका बासिन्दालाई बजारको भन्दा सस्तो मूल्यमा बिक्री गरिएको बताइन् । गरिब र विपन्न परिवारको विवरण आइसकेपछि उनीहरुलाई निःशुल्क खाद्यान्न पुर्‍याउने उनले बताइन् ।

राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाले सबै नाकामा डाटा संकलनको काम दुई दिनभित्र सकिने जानकारी दिए । ‘डाटा आइसकेपछि गाउँपालिकाको बैठकबाट निर्णय गराएर सकेसम्म सबैलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउँछौं,’ रोकाले भने, ‘बैठकबाट पास नभएसम्म हामीले केही गर्न सक्दैनौं ।’



source https://www.onlinekhabar.com/2020/03/849509

भक्तपुरबाट गएको जिप रामेछापमा दुर्घटना, ३० जना घाइते

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान जिप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछापका डीएसपी बसन्त पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरीले दुर्घटना भएको खबर पाउनेवित्तिकै बिहान ५ बजे घाइते ३० जनाको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

लकडाउनको समयमा भक्तपुरमा अलपत्र परेकाहरु राति जिप चढेर रामेछापको विभिन्न गाउँ फर्किन लागेका थिए ।

चालकले स्थानीय प्रशासनसँग अनुमति लिएर रामेछापतर्फ आएको बताए पनि अनुमति लिएको पुष्टि नभएको डीएसपी पाठकले बताए ।

पाठकका अनुसार जिपमा सवार सबै भक्तपुर क्षेत्रमा मजदुरी काम गर्दै आएका मानिस र तिनका परिवार रहेका छन् ।



source https://www.onlinekhabar.com/2020/03/849504

लकडाउन पालनामा सहयोग गर्न तरुण दलको परिपत्र

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारले लागू गरेको लकडाउन पूर्ण पालनामा सहयोग गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलले मंगलबार जिल्ला समितिलाई परिपत्र गरी यो अवधिमा दैनिक जीवन कठिन बन्न सक्ने भएकाले स्थानीय प्रशासनको अनुमति लिई सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

तरुण दलले बाहिरी मुलुकबाट आएका व्यक्तिलाई क्वारेन्टाइनसम्म पुर्‍याउन सहयोग गर्ने, आफ्नो ठाउँका मानिसलाई कुनै समस्या परे सहयोग गर्ने, लकडाउनका कारण गन्तव्यमा पुग्न नसकी बीच बाटोमा अलपत्र परेकालाई गन्तव्यसम्म पुर्‍याउन र खान बस्नको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

त्यस्तै खाद्यान्न, तरकारी, दुध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामान खरिद गर्दा भीड हुन नदिन सहयोग गर्ने,ज्याला मजदुरी गरेर साँझ विहानको छाक टार्ने वर्गलाई जीवन निर्वाहका लागि सहयोग गर्न पनि निर्देशन दिएको छ ।

भारतबाट फर्किने क्रममा विभिन्न सीमा नाकामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रन सहजीकरण गर्न, लकडाउनको अवधिमा आफ्नो वरपरको वातावरण सरसफाइमा ध्यान दिन र सुरक्षित तरिकाले घरमै बसेर केही समयलाई सामाजिक दूरी कायम गर्न पनि तरुण दलले आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2020/03/849502

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More