Tuesday, 25 July 2023

लाइभ बैठकका निर्णय लेख्न कांग्रेसमा गलफत्ती, पदाधिकारी अनिर्णित

९ साउन, काठमाडौं । सानेपा मूख्यालयमा ६ दिनसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय लेख्न सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई मंगलबार साँझ धुम्बाराही निवास डाके ।

सुरुमा देउवाले संक्षिप्त बोले, ‘ल साथीहरु बैठक सुरु भयो । सबैले आफ्ना कुरा पालैपालो राखौं ।’ महामन्त्री विश्वप्रकाश शर्माले पाइन्टको देब्रे खल्तीबाट मोबाइल फोन झिकेर देउवातिर तेर्स्याउँदै जिस्क्याए, ‘आज पनि लाइभ गर्ने कि सभापतिज्यू ?’

सबै पदाधिकारीहरु हाँसे । हँस्यौलीमा देउवा पनि मिसिए । उनले शर्मातिर हेर्दै जवाफ दिए, ‘यो त कहाँ लाइभ हुन्छ यार ? अनौपचारिक पो त ।’

देउवाको तर्फबाट बोल्दै कार्यवाहक प्रधानमन्त्री तथा उपसभापति पूर्णबहादुर खड्काले बैठकका छलफललाई ‘फाइन–ट्युन’ गर्ने, आवश्यक ठाउँमा परिमार्जन गर्ने कामको तयारी गर्नुपर्ने बताए । ‘सबै छलफललाई जस्ताको तस्तै लेख्न सम्भव नभए पनि मूख्य कुराहरु नछुटुन्, सबैको भावना आओस्, त्यसरी निर्णयहरु लेख्नुपर्छ साथीहरु,’ उनले भने ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाँणको निलम्बन मुद्दालाई पार्टीले अनिवार्य निर्णय गराइछाड्नुपर्ने, अनि मात्रै कांग्रेसले विधिको शासनमाथि राख्दै आएको प्रतिबद्धताको परिपालना हुने अडान लिए ।

एक नेताले अनलाइनखबरसँग भने, ‘आज खाँणकै विषयमा निकैबेर गलफत्ती भयो, तीन घण्टाको बैठकमा निकै समय यही विषयले खायो ।’

थापाले सभापतिलाई आग्रह गर्दै भने, ‘मान्छेहरुले हामीलाई यो निर्णयका आधारमा मूल्यांकन गर्नेछन्, त्यसैले को व्यक्ति भन्ने मुख्य होइन, हामीले के गर्‍यौं भन्ने मुख्य हो । निर्णय लेख्न खुट्टा नकमाऔं ।’

देउवा पक्षका केही पदाधिकारीले भने अहिले खाँण निलम्बनबारे निर्णय लेख्न हतार नगरे पनि हुने तर्क गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसमितिकै तर्क दोहोर्‍याउँदै खाँण लगायत कांग्रेसका प्रभावशालीविरुद्ध नियोजित रुपमा राज्यका केही मान्छे लागेको भन्दै नेतृत्वले समयमै बुझ्नुपर्ने उल्लेख गरे । एक नेताले अनलाइनखबरसँग भने, ‘आज खाँणकै विषयमा निकैबेर गलफत्ती भयो, तीन घण्टाको बैठकमा निकै समय यही विषयले खायो ।’

त्यसपछि बैठक भोलि ११ बजे फेरि बस्ने गरी विना निष्कर्ष टुंगिएको छ । भोलिको बैठकस्थल भने किटान गरिएको छैन । बैठकका समग्र निर्णयको मस्यौदा गर्ने जिम्मा महामन्त्री शर्मालाई दिइएको एक सहभागीले बताए । शर्माले भने आफूले मात्रै निर्णयको मस्यौदा नगर्ने दाबी गरे ।

यद्यपि खाँण निलम्बनबारे कुनै निर्णय नगरी बैठक सकिने सम्भावना बढ्ता रहेको केही पदाधिकारीले संकेत गरे ।

बुधबार बस्ने पदाधिकारी बैठकले नीति महाधिवेशनको मिति तोक्ने भएको छ । महामन्त्री शर्माले अनलाइनखबरलाई दिएको जानकारी अनुसार भोलि बुधबार पदाधिकारी बैठक सुरु हुनुअघि सभापति देउवा र दुई महामन्त्री छुट्टै छलफलमा जुट्नेछन् । त्यही छलफलले नीति महाधिवेशनको मितिलाई अन्तिम टुंगो दिने छ ।

आजको बैठकमा सबै पदाधिकारीका अतिरिक्त प्रवक्ता प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।

१० दिनपछि संसदीय दल बैठक बस्ने, त्यसलाई समेत लाइभ गर्ने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए । ‘रणनीतिक छलफल हुने केन्द्रीय कार्यसमिति बैठक त लाइभ गराएर सन्देश दियौं, संसदीय दलमा लुकाउनुपर्ने के हुन्छ र ?’ उनले भने, ‘केही गोप्य तयारीका विषय भए छुट्टै कुरा । नत्र यस्ता बैठक लाइभ नै गर्ने हो ।’

बागी र अन्तर्घातीलाई के गर्ने ?

पोहोर मंसिरको आम चुनावमा अन्तर्घात गर्ने, बागी उठ्ने आधिकारिक उम्मेदवार हराउन लाग्नेलाई के कसरी उन्मुक्ति दिने भन्ने निर्णय लेख्नमा आजको बैठकमा लामै मतान्तर भएको छ ।

जारी केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले अनुशासन उल्लंघनकर्ताको सूची पेश गर्दै तिनलाई कसरी फेरि पार्टी काममा फर्काउने भन्नेबारेमा प्रस्ताव राखेका थिए ।

बागी, अन्तर्घाती र अनुशासन उल्लंघनकर्ताको पहिचान गर्नेमा नै पदाधिकारी बाँडिएका छन् । देउवा निकट पदाधिकारीले उनीहरुलाई विधान कुल्चेर अनुशासन तोडे पनि सहजै कारबाही फुकुवा गरिएको सन्देश जान नहुने अडान लिएका छन् । उनीहरुले गरेको गल्तीको पहिचान हुनेगरी नै निर्णयमा लेखिनुपर्ने तर्क गरेका छन् । तत्कालीन कांग्रेस, माओवादी लगायतको गठबन्धनको विपक्षमा उभिनेहरुलाई अनुशासन तोडेको स्वीकारोक्ति गराउनुपर्ने उनीहरुको मत छ ।

देउवा इतर समूहका पदाधिकारीले भने फरक तर्क पेश गरेका छन् । कारबाही सिफारिस भएकाहरुले हामी रुखबाहेक अरु चिह्नमा भोट हाल्दैनौं भन्नु पार्टी अनुशासनको उल्लंघन नभएको उनीहरुको भनाइ छ ।

‘म पार्टीका पक्षमा छु, त्यसैले पार्टीको निर्णय मान्दिनँ भनेका हुन्, खासमा ती पार्टीका असाध्यै प्रतिबद्ध साथीहरु हुन्’, देउवा इतर पक्षका पदाधिकारीले धुम्बाराही बैठकमा राखे, ‘उनीहरुलाई सहज भावमा पार्टीमा स्वागत गर्नुपर्छ । प्रतिकुल भावना आउन नदिई काममा जिम्मेवारी दिनुपर्छ ।’

यो गलफत्ती बढ्दै जाँदा बैठक निष्कर्षमा पुग्न सकेन ।

बुधबारको बैठकले सरकारलाई पछिल्ला राष्ट्रिय सरोकारबारे गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ । शिक्षा ऐन, निजामती कर्मचारी ऐन, लम्पी स्किनका पीडित, भ्रष्टाचार र सुशासन लगायत विषयमा कांग्रेसले गम्भीर दिशानिर्देश गर्ने पदाधिकारीहरुले अनलाइनखबरलाई बताए ।

पदाधिकारी बैठक सकिएपछि भोलि अपराह्न चार बजे सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । अन्तिम दिनमा निर्णय पारित गर्ने र सभापति देउवाले बोल्ने कार्यक्रम छ ।



source https://www.onlinekhabar.com/2023/07/1341568

Monday, 24 July 2023

अतिकम विकसित देशहरूमा कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड   

९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् ।

इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने आवश्यकतासमेत औँल्याए ।

आम मानिसको जीविकोपार्जन, आम्दानी र खाद्यान्नको मूल्यमा समेत कोभिड–१९ महामारीको प्रभाव विनाशकारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खाद्य असुरक्षाका पछाडि चरम मौसमी घटना, आर्थिक झट्का, मानव, जनावर र बाली स्वास्थ्य पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दु रहेको तथ्य पेस गरे । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार, अल्पविकसित देशका दुई सय ५१ मिलियनभन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा छन् । यस्तै, ५० प्रतिशतभन्दा बढीले न्यून पोषणमा छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी ती देश हौँ, जहाँ आवश्यकताहरु धेरै छन्, तर क्षमता सीमित मात्रै छ । हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै आएको छ ।’

बढ्दो खाद्य असुरक्षा र पोषण सङ्कटलाई उपेक्षा गर्न नहुने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुमा बस्ने मानिसलाई आशाको सञ्चार गराउन सामूहिक प्रतिबद्धता जरुरी रहेको आवश्यकता औँल्याए ।

जोखिमहरुको सामना गर्दै सबैभन्दा कमजोरलाई सहयोग उपलब्ध गराउन विविध खालका सामाजिक सुरक्षाका उपाय अपनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले कामका लागि खाद्यान्न कार्यक्रम, आर्थिक सहयोग जस्ता कार्यक्रममार्फत कमजोर समुदायमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनको सामना गर्दै उत्पादकत्व बढाउनका लागि साना किसानलाई प्रविधि, मल, बजार, बाली विविधीकरण, सहज लगानी र पूर्वाधारमा सहज पहुँच जरुरी रहेको बताए ।

उनले सबैभन्दा कमजोर मानिसलाई खाद्य असुरक्षा, कुपोषण र स्वास्थ्य समस्याजस्ता जोखिमबाट सुरक्षित रहेको विश्वास दिलाउनुपर्नेमा जोड दिए ।’हामीसँग भोक र कुपोषणको पीडाबाट मुक्त संसार सुनिश्चित गर्ने अवसर छ । यसलाई मनन गरेर व्यवहारमा कार्यान्वयन गरौँ,’ उनले थपे ।

दोहा कार्यक्रमले अति गरिब र जोखिममा परेकालाई अत्यावश्यक सहायता प्रवाह गर्न, अल्पविकसित देशका लागि खाद्य भण्डारण प्रणालीको परिकल्पना गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पहल गरेकामा यसका सरोकारवालाई धन्यवाद दिए ।

प्रधानमन्त्री दाहालले एजेन्डा २०३० मार्फत खाद्य पर्याप्तता, सुरक्षित, किफायती र पौष्टिक आहारका माध्यमबाट खाद्य सुरक्षा प्राप्त गर्न, पोषणमा सुधार गर्न र दिगो कृषि प्रवद्र्धनका लागि सक्षम रहेको उल्लेख गरे ।

 



source https://www.onlinekhabar.com/2023/07/1341182

रुपन्देही, नवलपरासी, पाल्पा र प्युठानमा भारी वर्षा, तिनाउको बाढीले खतरा तह पार गर्‍यो

९ साउन, काठमाडौं । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1341177

गण्डकीको केही सडक र पुल आयोजना वर्षौंदेखि रुग्ण

९ साउन, गण्डकी (कास्की) । विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासों गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौंदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।

तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दासमेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए ।

‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलपत्र छ’, उनले भने, ‘निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि काम हुन सकेको छैन ।’ निर्माण कम्पनी क्याराभानले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । स्थानीय तह नबन्दै निर्माण सुरु भएको मनाङकै मर्स्याङ्दी नदी पुल पनि वर्षौंदेखि अलपत्र अवस्थामा छ ।

यीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन् । यसमा १३ सडक र तीन पुल आयोजना छन्  ।

पर्वतको मिलचोक-सल्यान-घाहाखेत-धारापानी-ठोटनेरी सडक, स्याङ्जाको मिर्मि–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मस्र्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ ।

तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, रिसिङ–भीरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योती सडक, फुर्सेखोला–मट्टीखान सडक रुग्ण अवस्थामा छ ।

पूर्वाधार विकास कार्यालय बागलुङ अन्तर्गत कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त गतिमा भइरहेको छ । दुवै आयोजना बहुवर्षीय हुन् । बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमि सडक सडकमध्ये दस किमि कालोपत्रका लागि विसं २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो ।

निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रो पटक म्याद थपिए अनसार विसं २०७९ पुस देखि काम सुरु गरेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम सुरु हुन सकेको छैन । २४ करोड ७८ लाखको ठेक्कामा बन्न लागेको उक्त खण्डमा अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।

सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गत वर्ष मन्त्रालय अन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए । उनले काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने उनको भनाइ थियो ।

‘कतिपय ठेक्काको धरौटी जपथ गरिएको छ, केहीमा कारबाहीको प्रकृया पनि अगाडि बढेको छ, पटकपटक ताकेता गर्दा पनि काममा ढिलासुस्ती गर्ने कम्पनीलाई सँधैभर छुट दिन सकिँदैन’, प्रवक्ता पौडेलले भने ।

मनाङको मर्स्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टीखान सडक ठेक्काको धरौटी रकम जपथ गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए । ‘मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढङ्गबाट छलफल भएको छ, वर्षौँसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ’, उनले भने,  ‘आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ ।’



source https://www.onlinekhabar.com/2023/07/1341171

Sunday, 23 July 2023

विश्वभाषा क्याम्पसमा पारिश्रमिक नपाउँदा अनुवादकले काम रोके, सेवाग्राही मारमा

८ असार, काठमाडौं । तत्कालीन राजा वीरेन्द्र स्पेन घुमेर आएपछि २०४० सालमा नेपालमा स्पेनिस भाषाको पढाइ सुरु भयो ।

विश्वभाषा क्याम्पसमा काठमाडौंका रमेश श्रेष्ठ ‘स्पेनिस भाषा तथा साहित्य’ पढ्न पहिलो ब्याचमै भर्ना भए । एक वर्ष नेपालमा पढेपछि थप तीन वर्ष पढ्नको लागि स्पेन सरकारकै छात्रवृत्तिमा पढ्न स्पेन जाने मौका पाए ।

रमेश फर्किएपछि विश्वभाषा क्याम्पसमा पढाउन थाले । ‘यही क्याम्पसमा पढेकै कारण मैले छात्रवृत्तिमा पढ्ने मौका पाएँ । त्यसैले क्याम्पसलाई मैले पनि केही योगदान दिनुपर्छ भनेर पढाउन सुरु गरेको हो,’ उनले त्यो क्षण सम्झिए ।

श्रेष्ठले ३५ वर्षदेखि स्पेनिस भाषा पढाइरहेका छन् । भाषा अनुवादक भएको पनि करिब ३१ वर्ष भयो । तर आज पनि उनीसँग न नियुक्त पत्र छ, न समयमा तलब ।

सुरुको केही वर्षसम्म उनलाई प्रत्येक ६ महिनाको निुयक्ति पत्र दिने र नवीकरण गर्ने क्रम चलिरहृयो । त्यसपछि केही वर्ष प्रत्येक एक वर्षमा नवीकरण भयो । अहिले त त्यो पनि छैन ।

‘विदेशी भाषाको लागि स्थायी हुने व्यवस्था पनि छैन, कहिलेसम्म गर्नुहुन्छ गरिरहनुहोस् भनेपछि चुप लागेर काम गरिरहें,’ आंशिक शिक्षकका रुपमा कार्यरत ६३ वर्षीय श्रेष्ठले भने, ‘सात महिनादेखि त पारिश्रमिकसमेत पाएको छैन । आफ्नै श्रमको मूल्य पाउनु पनि किन यत्ति चर्को हो, बुझ्न सकेको छैन ।’

३५ वर्षसम्म इमान्दारपूर्वक नियमित काम गर्दा पनि अपमानजनक व्यवहार भएको भन्दै उनले अहिले आएर यो काम ‘किन गरेछु’ भन्ने सोँच्न थालेको बताउँछन् ।

विश्वभाषामा रमेश श्रेष्ठसहित १० जना अनुवादक छन्, जसले सेवाग्राहीको कागजात अनुवाद गरेको पारिश्रमिक २०७९ पुसयता पाएका छैनन् ।

विश्वभाषा क्याम्पसले जापानिज, कोरियन, चाइनिज, स्पेनिस, फ्रेन्च, इटाली, जर्मन भाषाको कागजात अनुवाद गर्ने गरेको छ ।

सात महिनादेखि पारिश्रमिक नपाएपछि शिक्षक तथा अनुवादकहरुले २७ असारदेखि अनुवाद स्थगित गरेका छन् ।

अर्का एक अनुवादकका अनुसार भाषा कक्षा लिंदा पिरियडको आधारमा रकम पाउने भएकाले महिनामा २० हजार हारहारी हुन्छ, बाँकी कागजात अनुवाद गरेरै जुटाउने हो ।

लामो समयसम्म श्रमको पारिश्रमिक नपाउँदा दैनिकी चलाउनै मुश्किल परेपछि काम रोक्नु परेको उनले सुनाए । ‘सेवाग्राहीहरु मारमा हुनुहुन्छ, त्यसले हामीलाई पनि पीडा दिएको छ,’ एक अनुवादक भन्छन्, ‘तर हामी पनि त नखाइ काम गर्न सक्दैनौं । सात महिनासम्म ज्याला नआउँदा हाम्रो हालत कस्तो भएको होला तपाईं आफैं भन्नुस् त ।’

यो सात महिनामा क्याम्पस प्रमुख र प्रशासनसँग पटक-पटक छलफल गर्दा पनि समस्या समाधान नभएको उनीहरुको गुनासो छ ।

आजित भएका अनुवादकहरुले २४ असारमा विज्ञप्ति जारी गर्दै ‘काम गरेवापतको पारिश्रमिक नपाउँदा घर गृहस्थी बिग्रेको, घर चुलो बल्न छोडेको, बैंक तथा सहकारीमा तिर्नुपर्ने ऋण तिर्न नसक्दा शारीरिक तथा मानसिक तनाव भोग्नुपरिरहेको’ बताएका थिए ।

त्यहीबेला उनीहरुले तीन दिनभित्र पाउनुपर्ने रकम नपाए काम रोक्ने चेतावनी दिएका थिए ।
२७ गतेसम्म काम गर्दा पनि पारिश्रमिक पाउने निश्चित नभएपछि काम स्थगित गरेर बसेको उनीहरु बताउँछन् ।

नाम खुलाउन नचाहने अर्की अनुवादक भन्छिन्, ‘हामीले दैनिकी चलाउने नै यही अनुवादबाट आएको ज्यालाले हो । त्यही ज्याला सात महिनासम्म नपाएपछि कसरी काम गर्ने ?’

अनुवाद सेवा बन्द भएको दुई साता भइसक्दा समेत क्याम्पस प्रशासनलाई नछोएको उनको गुनासो छ ।

सेवाग्राही आए आफूहरुको फोन नम्बर दिएर पन्छिने गरेको भन्दै उनले भनिन्, ‘सेवाग्राहीले फोनमा गर्ने दुखेसो र एसएमएस पढ्दा रुनु मन लाग्छ । तर क्याम्पसलाई यसले कत्ति पनि छोएको छैन ।’

क्याम्पस प्रमुख डा.यादवराज पन्तले भने १ साउनमा ‘आर्थिक वर्ष अन्तिम भई कार्यालयको हिसाब मिलानसम्बन्धी कार्यमा बाधा पर्ने भएकोले साउन ५ गतेसम्मका लागि अनुवादसम्बन्धी कुनै पनि सेवा दिन नसक्ने’ भन्दै सूचना निकालेको छ ।

सेवाग्राहीलाई मर्का

अनुवादकले काम रोक्दा सेवाग्राही मर्कामा छन् । अधिकांश रोजगारदाता कम्पनीले विश्वभाषा क्याम्पसको अनुवादलाई मात्रै मान्यता दिने भएकाले सेवाग्राही समस्यामा परेका हुन् ।

नुवाकोटका रमेश थापा (२६) जापानीज भाषामा कागजात अनुवाद गर्न आइतबार क्याम्पस पुगेका थिए । ‘म जुलाइभित्र जापान उड्नुपर्ने हो अहिलेसम्म यहाँको काम भएको छैन’ एसएसडब्लु (सर्ट स्कील वर्किङ) भिसामा जापान जान लागेका रमेश भन्छन्, ‘तीन पटक भयो धाएको, कामै भएको छैन ।’

उनका अनुसार रमेश २४ गते क्याम्पस पुगेका थिए । तीन दिनपछि आउन भनियो, तीन दिनपछि जाँदा ६ गतेदेखि हुने भनेकाले आइतबार पुनः आएको बताए । ‘आज अब केही दिनमा हुन्छ भन्छन्,’ उनले भने, ‘अरुतिर गराएको पनि नहुने रे !’

दोलखाका शिव खड्का (२९) पनि २७ असारमा जापानीज भाषामा अनुवाद गराउन क्याम्पस पुगेका थिए । उनलाई पनि क्याम्पस प्रशासनले असार ६ गतेदेखि हुने भनेर पठायो ।

आइतबार जाँदा फेरि केही दिनमा हुने भनिएको भन्दै उनले भने, ‘अनुवाद हुने कोठा बन्द छ, प्रशासनमा सोध्दा शिक्षक बिदामा हुनुहुन्छ भन्नुभयो ।’

नुवाकोटकी शर्मिला तामाङ (२५) कोरियन भाषामा अनुवाद गर्न क्याम्पस धाएको दुई हप्ता भयो । उनी भन्छिन् ‘पढ्न जान लागेको हो । अबको १५ दिनभित्र भएन भने म डुब्छु ।’

उनी अनुवादका लागि दुई असार २७ मा क्याम्पस पुगेकी थिइन् । क्याम्पस प्रशासनमा अनुवादक नभेटेपछि शिक्षकको नम्बर लिएर गइन् सम्पर्क गर्दा फोन अफ पाएपछि दुई दिनपछि क्याम्पस पुग्दा आर्थिक वर्षको अन्तिम भएको भन्दै असार ६ गते आउन भनियो ।

आक्रोश मिश्रति भावमा उनले भनिन्, ‘आज फेरि दुई दिनपछि आउन भन्छन् । दुख दिनुको पनि सिमा हुन्छ नि !’

के भन्छ क्याम्पस प्रशासन

विश्वभाषा क्याम्पस विकेन्द्रीकरणमा गएपछि क्याम्पस कार्यसमितिले २०७० सालमा विद्यार्थीबाट एक पेज अनुवाद गरे बराबर ७०० रुपैयाँ शुल्क लिने र अनुवादकलाई ३८० दिने निर्णय गर्‍यो । त्यसको एक वर्षपछि त्रिभुवन विश्वविद्यालयले ‘आन्तरिक स्रोत परिचालन निर्देशिका’ ल्यायो, जसमा ५० प्रतिशत पुँजीगत कोषका रुपमा कार्यालयमा राख्ने र बाँकी ५० प्रतिशतबाट केही कार्यालय सञ्चालनका लागि राखेर बचेको रकम अनुवादकलाई दिने उल्लेख छ ।

क्याम्पसले भने क्याम्पस कार्यसमितिले गरेको निर्णय अनुसार एक पेज अनुवाद गरे बापत ३८० अनुवादकलाई दिँदै आयो ।

गत मंसिरमा निर्देशिका विपरीत भुक्तानी भइरहेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न त्रिविलाई पत्राचार गर्‍यो ।

त्रिविको छानबिन प्रतिवेदन नआएसम्म क्याम्पसले भुक्तानी रोकेको क्याम्पस प्रमुख डा. पन्त बताउँछन् ।

पछिल्लो समय अनुवादकले काम रोकेपछि क्याम्पसको अनुरोधमा त्रिवि कार्यकारीले निर्णय गरेर पठाएको छ । उनले भने, ‘केही दिनभित्र समस्या समाधान हुन्छ ।’

क्याम्पसका एक कर्मचारीका अनुसार कार्यकारी परिषदले ‘आन्तरिक स्रोत परिचालन निर्देशिका’ अनुसार भुक्तानी निर्देशन दिएको छ । र, निर्देशिका लागू भएपछि अनुवादकले पाएको पारिश्रमिक मिलान गर्ने तयारी छ ।

उनका अनुसार केन्द्रले चिठी पठाएको आधारमा निर्देशिकाले तोकेभन्दा बढी भुक्तानी भएकोलाई व्यवस्थापन अथवा कट्टा गरेर दायरामा ल्याएर र अरुको भुक्तानी गर्ने तयारी भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/07/1340658

आर्यभट्टको शून्यदेखि जिरोसम्म

टेक्सासमा एक विश्वविद्यालयमा सँगै पढ्दा मेरा एक मित्र कपिल अधिकारीले धेरै पहिले भन्नुहुन्थ्यो, ‘अक्सर थोरै मानिस मात्र आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न पैसा कमाउँछन्, धेरै मानिस कमाउनका लागि कमाउँछन्।’

उहाँले भने जस्तै पैसा कमाउनका लागि कमाउने हो भने त अन्त्यहीन सिलसिला बन्न पुग्छ र अन्ततोगत्वा मानिस उक्त प्रक्रियाको दास हुन्छ। केका लागि र किन पैसा कमाउने भन्ने ख्याल गरिएन भने कमाउने ध्याउन्नमा मात्र जीवनलीला समाप्त हुन्छ।

फगत खानका लागि खाने, हिंड्नका लागि हिंड्ने, पढ्नको लागि पढ्ने अभ्यासको के औचित्य ? खाना स्वास्थ्यबर्धक हुनुपर्छ भने यात्रा गन्तव्य सहितको। ज्ञानका लागि अध्ययन गरियो भने त्यसले जीवनमा केही सकारात्मक परिवर्तन ल्याउँछ अन्यथा फगत जीवनको आयु छोट्टिन्छ। यी बोध हुँदैन र मानिस एकै काम बारम्बार गरिरहन्छ भने जीवनको अमूल्य समय त्यसै व्यतीत हुन्छ।

भौतिक शास्त्र र गणितमा उच्च तहसम्म अध्ययन गरेको र यसैलाई पेशा बनाएर खाइटोपलिएको मलाई सन् २०१८ मा क्यानडाको भ्यानकुबर भन्ने ठाउँमा वैज्ञानिक सम्मेलनमा भेटिएका एक व्यक्तिले सोधे, ‘तपाईं त पूर्वीय दर्शन विकास भएको ठाउँबाट आउनुभएको रहेछ, आर्यभट्टको शून्य कसरी इटालीका फिबोनचिले जिरो बनाए भनेर थाहा छ ?’

मलाई केको थाहा हुनु ? आखिर मैले पनि पढ्नका लागि पढेको थिएँ। जाँच र जागिरका लागि मात्रै पढेको रहेछु जस्तो लाग्यो। उक्त घटनापछि भने मैले पहिले पढेका र मलाई रहर भएको विषय विज्ञान र दर्शनका किताब फेरि एकपटक पढ्न, खोज्न र जाँच्न थालें कि ती जाँचका लागि पढेका विज्ञान र गणितका सूत्रहरूले जीवन र जगतको कुन आयामहरूको व्याख्या गरेका रहेछन् ?

विस्तारै बुझ्न थालें, हाम्रो इतिहास, पूर्वीय दर्शन र त्यसको वैज्ञानिक पाटोहरू जुन यात्रामा अहिलेसम्म म निरन्तर लागिरहेको छु।  यो पढाइबाट न जागिर खाइएला भन्ने आश छ न त परीक्षामा फेल भइएला भन्ने त्रास। तर एउटा झिनो आशा भने छ कि कतै यी टुटेफुटेका पुराना किताबबाट बटुलेका टुक्राटाक्री ज्ञानलाई प्रज्ञाको धागोले सिउँदै जाँदा कतै न कतै जीवन र जगतको कुनै अर्थ पो फेला पार्छु कि ?

जीवन अति जटिल र सूक्ष्म छ भने जगत अति विशाल र अगम्य। यसलाई पूर्ण रूपमा कसैले पहिला बुझ्न सके न अब पछिकाले सक्ने छन्। तैपनि यी टुक्राटाक्री ज्ञानबाट यसको आशय मात्र बुझ्न सकें भने पनि मेरा लागि ठूलो कुरा हुनेछ जसरी मैले परदेशी पिताको चिठी पढ्दा माताले बुझ्नुहुन्थ्यो।

मेरो पिता जीवनभर भारतमा कडा श्रम गरेर बस्नुभयो, हामी ६ जना परिवारको पापी पेट पाल्नका लागि। दुई तीन वर्षमा मात्र एक पटक आउनुहुन्थ्यो नेपाल। हुलाक बाहेक कुनै अरु सञ्चारमाध्यमको विकास भइसकेको थिएन।

वर्षमा मुस्किलले एउटा चिठी आउँथ्यो। परदेशीको चिठी आउँदा साक्षात् मान्छे आए झैं हुन्थ्यो र गाउँको अलि भाका मिलाएर पढ्ने मान्छेलाई बोलाएर चिठी पढ्न लगाउने गरिन्थ्यो। छरछिमेक सबै आउँथे सुन्न।

चिठी पढिसकेपछि अलिकति छेउमा च्यात्ने चलन थियो। एउटै चिठी धेरैले पढ्दा केही समयपछि टुक्राटुक्रा हुन्थ्यो। माताले मलाई कहिलेकाहीं विरह लाग्दा त्यही टुक्राटुक्रा भएको चिठी भए पनि पढ्न लगाउनुहुन्थ्यो।

एउटा टुक्रामा ‘काली’ र अर्को टुक्रामा ‘ब्याए’ भन्ने मैले पढें भने माताले बुझ्नुहुन्थ्यो कि त्यो भनेको ‘काली भैंसी ब्यायो कि ब्याएन’ भन्ने हो भनेर। यस्तै टुक्राटाक्री ज्ञान बटुलेर आशय बुझ्न प्रयासरत छु म पनि।

अब लागौं शून्यको इतिहास र यसको उत्पत्तितर्फ। गणित र विज्ञानको विकासमा शून्यको अवधारणाले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको उत्पत्तिको श्रेय हाम्रै पूर्वीय दर्शनका गणितज्ञ आर्यभट्टलाई जान्छ।

इसापूर्व चौथो शताब्दीमा अहिलेको भारतको पटनातिर उनको जन्म भएको मानिन्छ। उनी गणित र खगोल विज्ञानमा अति नै निपुण थिए। पछि पश्चिमतिरका वैज्ञानिकले पत्ता लगाएको भनिएका धेरै कुरा उनले पत्ता लगाएका थिए। जस्तो अहिले  विज्ञानमा वृत्तको परिधि निकाल्न प्रयोग हुने पाई ग्रिक सिम्बल (𝝅) को मान आर्यभट्टको १६ औं श्लोकमा यसप्रकार उल्लेख छः

चतुराधिकं शतमष्टगुणं द्वाषष्टिस्तथा सहस्त्राणाम्

अयुतद्वयस्य विष्कंभस्य आसन्नौ वृत्तपरिणाह:

 अर्थात् २० हजार व्यास भएको वृत्तको परिधि प्राप्त गर्न ४ मा १०० जोड्नुहोस्, यसलाई ८ ले गुणन गर्नुहोस् र त्यसपछि ६२ हजार जोड्नुहोस्। यस नियमले २० हजार व्यास भएको वृत्तको परिधि ६२ हजार ८३२ बन्छ। पाई भनेकै परिधिलाई व्यासले भाग गर्दा आउने अनुपात हो जुन ३.१४१६ हुन आउँछ।

अहिलेको आधुनिक गणित अनुसार पाईको मान ३.१४२८५७ हो जुन लगभग मिल्दोजुल्दो छ। हरेक वर्ष मार्च १४ मा पाई दिवस मनाउने गरिन्छ। मार्चले पाईको दशमलव अघिको नम्बर र १४ ले दशमलव पछिको नम्बर जनाउने मानिन्छ।

पश्चिमका धेरै वैज्ञानिकले पाईको मान निकाल्न धेरै काम गरेका छन्। आर्किमिडिज, न्यूटन लगायतको यो सूचीमा अब आर्यभट्टको नाम पनि राख्न जरुरी छ। हामीले मार्च १४ का दिन आर्यभट्ट दिवस मनाउँदा झनै राम्रो हुन्छ।

उनको पुस्तक ‘आर्य-शत-अष्टा सूत्र’ कसै कसैले यसलाई आर्यभट्टीयम पनि भन्छन्। यसमा तीन पद र १०८ सूत्र भएको हुनाले यसलाई आर्य-शत-अष्टा सूत्र भनेर चिनिन्छ। यसमा गणिता (गणित-अंकगणित), काल-क्रिया (समय गणना), र गोल (गोला-ज्यामिति) गरेर तीन मुख्य भाग छन्, जसमा गणितका जटिल सूत्र र साध्यहरूलाई वर्णन गरिएको छ।

अरु संख्याहरूको स्थान चिन्नको लागि जस्तो अहिले पनि हामी १०० पछि थोप्लो अनि जिरो जिरो लेख्ने गर्छौं। आर्यभट्टले सुरुमा शून्यलाई यस्तै एक प्रतीकको रूपमा थोप्लो प्रयोग गरेका थिए।

उनका सूत्रहरूको व्याख्या गर्ने अर्का विद्वान ब्रह्मगुप्तले त्यो थोप्लो प्रतीकलाई शून्य (गोलो) ले जनाएर यसलाई शून्य संख्याको रूपमा व्याख्या गरे। ब्रह्मगुप्त पहिलो व्यक्ति थिए जसले कुनै संख्याबाट उही संख्या घटाउँदा शून्य हुन्छ भने।

भारतबाट शून्यले चीन र मध्य पूर्वमा आफ्नो बाटो बनायो र यो सन् ७७३ तिर अरबी गणितज्ञ मोहम्मद इब्न-मुसा अल-ख्वारिज्मीलेसम्म पुग्यो। उनले भारतीय अंकगणितको अध्ययन र संश्लेषण गरेर ‘अल-जबर’ भनिने सूत्रहरूको प्रणालीमा शून्यले कसरी काम गर्छ भनेर देखाए।

अहिले हाईस्कुलमा पढाइने अलजेब्रा उनै अल-जबरबाट आएको हो। अल-ख्वारिज्मीले शून्यलाई शिफ्र भने। अरबिक भाषामा यसको अर्थ शून्य वा खाली भन्ने हुन्छ।

सन् १२०० तिर इटालीका प्रख्यात गणितज्ञ फिबोनाचीले पहिलो पटक शून्यलाई जेफ्रोम भने, लेखे। त्यो इटालियन शब्द अंग्रेजीमा जाँदा खुम्चिएर जिरो भयो। यो शून्य र शिफ्र हुँदै गयो र पश्चिममाझ चिनियो।

फिबोनाचीले आफ्नो किताबमा समेत आफूले भारतीय अंकहरूको अध्ययन गरेको र यसबाट प्रभावित भएको भनेर उल्लेख गरेका छन्। पछि सर आइज्याक न्यूटन र गोटफ्राइड लाइबनिजको क्याल्कुलसको आविष्कारसँगै शून्यको महत्व झन् बढेर गयो।

रेने डेकार्टेस पहिलो गणितज्ञ हुन् जसले अहिले हामीले प्रयोग गर्ने ग्राफको केन्द्रलाई (०,० ) ले जनाउन थाले। यसलाई गणितमा कार्टिसियन कोअर्डिनेट भनिन्छ।

यस्ता धेरै शब्द संस्कृत, ल्याटिन हुँदै अंग्रेजीमा पुगेका उदाहरण पनि छन्। जस्तो संस्कृतको मातर ल्याटिनमा मेटर र अंग्रजीमा मदर भएको छ। त्यस्तै गाउँबाट काउ, द्वारबाट डोर, दन्तबाट डेन्टिस भएका छन्।

यस्ता अरु धेरै शब्द छन् जसलाई प्राय:जसो संस्कृत शब्द सीधै अंग्रेजीमा नगएर ल्याटिन हुँदै पुगेका छन्। यो कुरा आफैं अनुमानको भरमा वा कुनै एक जाति वा देश विशेषलाई प्रशंसा गर्न वा होच्याउनका लागि भनेको होइन। यो अमेरिकी भाषाविद्द्वय जेपी मल्होरी र डी क्यु एडमसले अक्सफोर्ड प्रेसबाट प्रकाशित पुस्तक ‘इन्ट्रोडक्सन टु इन्डो यूरोपिएन वर्ल्ड’ को पेज संख्या ५ मा उल्लेख गरिएको छ।

इसापूर्वको कालमा पूर्वीय संस्कृति र ग्रीक सभ्यताबीच निकै नजिकको सम्बन्ध छ। त्यतिबेलाका धेरै दार्शनिक र विद्वानहरू भारत आउने र भारतबाट ग्रीक जाने चलन थियो।

शून्यको विकास र उत्पत्ति आर्यभट्ट र ब्रह्मगुप्तले गरेतापनि प्राचीन बेबिलोनीहरूले पनि गरेका थिए भन्ने इतिहासकार बताउँछन्। बेबिलोनीहरू गणना गर्दा ६० आधारित संख्या प्रणाली प्रयोग गर्थे र हरेकपल्ट ६० पुगेपछि सानो त्रिभुजाकारको चिह्न लगाउँथे। जसरी आर्यभट्टपछि आधुनिक दशमलव-आधारित प्रणालीहरूले दशौं, सयौं र हजारौंबीच भेद गर्न शून्य प्रयोग गरिन्छ।



source https://www.onlinekhabar.com/2023/07/1340284

डिजाइनर बेल्ट र ब्याग बनाउने प्रकृति : २० हजारबाट सुरु, अहिले ५ जनालाई रोजगारी

काठमाडौंकी प्रकृति वस्तीलाई सानैदेखि फेसन डिजाइनर हुने इच्छा थियो । उनलाई फेसनको दुनियाँमा केही नयाँ गर्ने सोच त सानैदेखि थियो तर के गर्छु भन्ने चाहिं थिएन ।

उनी कक्षा ६ पढ्दा सामाजिक शिक्षकले सबैलाई प्रोजेक्ट वर्क गर्न दिएका थिए । त्यो प्रोजेक्ट वर्क कक्षाका सबै विद्यार्थीको लगभग एउटै थियो । तर एक जना विद्यार्थीको भने अरूको भन्दा फरक थियो । त्यसैले त्यो विद्यार्थीको प्रोजेक्ट वर्क हेर्न सबै जना झुम्मिए । प्रकृति पनि उत्सुक हुँदै त्यो प्रोजेक्ट वर्क हेर्न गइन् । कसरी यति राम्रो र फरक प्रोजेक्ट वर्क गरेको भन्ने प्रश्नमा ती विद्यार्थीले भने मेरो मम्मी फेसन डिजाइनर हो त्यसैले उहाँले सहयोग गर्नुभयो ।

त्यो कुरा सुनेर प्रकृति झन् उत्साहित भइन् । अब म पनि फेसन डिजाइनर बन्छु भन्ने लाग्यो उनलाई । त्यसैले उनले स्नातकमा ‘आईईसी कलेज अफ आर्ट एण्ड फेसन’मा फेसन डिजाइनिङ पढिन् ।

फेसन डिजाइनर पढेको र फेसनमा रुचि पनि भएकाले उनलाई अरूभन्दा अलि फरक लुगा लगाउन मन पर्ने प्रकृतिलाई । उनी भन्छिन्, ‘आफूले फलो गरेको फेसन टिप्सलाई सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा भिडियो बनाएर थाले । मेरो त्यो फेसन टिप्सलाई धेरैले मन पराए र माया गरे ।’

फेसन भनेको लुगा डिजाइन गर्ने मात्र हो भन्ने धेरैलाई लाग्छ । तर फेसन डिजाइनिङमा लुगासँगै  ‘एसेसरिज’ सम्बन्धी पनि पढाइन्छ । फेसन डिजाइनिङ पढेपछि बुटिक खोलेर बस्ने र लुगा डिजाइन गर्ने भन्ने सोचलाई परिवर्तन गर्न पनि उनी केही नयाँ गर्छु भन्ने सोच्थिन् ।

फेसनको लागि परिवर्तन हुने होइन आफ्नो शरीर अनुसार फेसन गर्ने हो भन्ने सोचको साथ सुरु भयो प्रकृतिको ‘वस्ती नेपाल’ जहाँ कस्टुमाइज बेल्ट र ब्याग पाइन्छ ।

यसरी सुरु भयो ‘वस्ती नेपाल‘

प्रकृतिको शारीरिक बनावट बेल्ट लगाउनुपर्ने खालको थियो । तर बजारमा उनले खोजे जस्तो बेल्ट नै नपाउने । उनको पढाइ पनि फेसन डिजाइनिङ भएकोले उनलाई अरूको भन्दा अलि फरक देखिन मन पर्ने । आफूले खोजेको जस्तो बेल्ट बजारमा नपाइएपछि उनले आफ्नो लागि आफैं डिजाइनर बेल्ट बनाउने सोचिन् । तर बेल्टको लागि आवश्यक पर्ने कच्चा पदार्थ कहाँ पाइन्छ, कस्तो बच्चा पदार्थ आवश्यक पर्छ भन्ने उनलाई थाहा थिएन, न त कच्चा पदार्थको गुणस्तरको बारेमा नै ।

बेल्टको कच्चा पदार्थको लागि उनी काठमाडौंको गल्ली-गल्ली डुल्न थालिन् । उनलाई छालाको विकल्प खोजेर बेल्ट बनाउनु थियो । त्यसको लागि कच्चा पदार्थ लिन उनले धेरै मेहनत गर्नुपर्‍यो । धेरै ठाउँ खोजेपछि उनले क्षेत्रपाटीको बेल्ट बनाउने कच्चा पदार्थ ‘रेक्जिन’ भेटिन् । किनेर ल्याएर आफ्नो नाप अनुसार बेल्ट तयार परिन् ।

उनलाई फेसनमा धेरै रुचि भएको र पढाइ पनि फेसन डिजाइनर नै भएकाले उनले फेसनसम्बन्धी विभिन्न भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । उनले आफ्नो लागि बनाएको बेल्ट लगाएर पनि भिडियो राखिन्  । त्यो भिडियोको कमेन्टमा धेरैले सोधेका थिए ‘बेल्ट कस्तो राम्रो, कहाँबाट किन्नु भयो’ धेरै प्रश्न गरेको देखेर प्रकृति छक्क परिन् र उनलाई लाग्यो अब यो बेल्टकै बिजनेस किन सुरु नगर्ने ?

लुगाजस्तो लगाए पनि लुगासँग मिल्ने ब्याग, बेल्ट जुत्ता, एयररिङ जस्ता ‘एसेसरिज’ लगाइयो भने स्टाइलिस्ट देखिने उनको अनुभव थियो । फेसन डिजाइनर पढेकाहरूले लुगाको डिजाइन त गरेकै छन् त्यसैले फेसनको दुनियाँमा केही नयाँ गरौं भन्ने सोचको साथ प्रकृतिले सुरु गरिन् ‘वस्ती’ मेड इन नेपाल । जहाँ कस्टुमाइज र डिजाइनर बेल्ट र ब्याग पाइन्छ ।

नेपालको पहिलो कस्टुममेड बेल्ट

बजारमा विभिन्न प्रकारको बेल्टहरू पाइन्छ । अन्यभन्दा वस्तीको बेल्ट कसरी फरक भन्ने प्रश्नमा प्रकृति भन्छिन्, ‘बजारमा पाइने बेल्टहरू सबै एउटा नापका हुन्छन् कसैलाई त्यो ठूलो भइरहेको हुन्छ भने कसैलाई सानो आफ्नो साइज अनुसारको बेल्ट भेट्न गाह्रो भएकाहरूको लागि वस्तीको बेल्ट राम्रो विकल्प हो ।’

वस्तीले ग्राहकको नाप अनुसारको बेल्ट तयार पार्छ । यसलाई साडीमा, वान पिसमा, टिसर्ट, पाइन्ट जुनसुकै लुगामा पनि स्टाइल गर्न सकिन्छ । यस्तो अर्को विशेषता भनेको यो धेरै लामो समय टिक्छ । पातलोदेखि मोटो शरीर भएकाले पनि यो प्रयोग गर्न मिल्छ २४ देखि ४५ साइजसम्मको बेल्ट यहाँ बन्छ  ।

२० हजारबाट सुरु

फेसन डिजाइनिङ पढ्न र त्यसैसँग सम्बन्धित व्यवसाय सुरु गर्न कहाँ सजिलो थियो र प्रकृतिलाई । पहिले त आफन्तहरूले फेसन डिजाइनिङ पढाउनु भन्दा कानुन पढाऊँ वकिल बनाऊ भनेर सल्लाह दिन्थे अभिभावकलाई । तर उनको मम्मीले उनको फेसन पढ्ने चाहनालाई र उनलाई सधैं साथ दिइरहिन् ।

उनले आफ्नो लागि बनाएको बेल्टलाई धेरैले रुचाएपछि उनलाई अब यसकै व्यवसाय गर्छु भन्ने त भयो तर कसरी गर्ने भन्ने योजना थिएन उनीसँग । आफूले लगाउने भन्दा बिक्री गर्ने सामानको त गुणस्तर राम्रो हुनुपर्‍यो ।

स्नातक सकेपछि स्कुटर किनेर बाँकी रहेको २० हजारबाट परिवारको सल्लाह बिना उनले बेल्टको व्यवसाय सुरु गरिन् । बेल्टको व्यवसाय राम्रो हुँदै गएको एक वर्षपछि उनले डिजाइनर ब्याग पनि उत्पादन गर्न थालिन् । अहिले दुवैको माग राम्रो छ । दैनिक पाँचवटा भन्दा बढी अर्डर आउँछ ।

उनको व्यवसायमा आमा र बहिनीले पनि सहयोग गरिरहेका छन् । पाँच जनालाई उनले रोजगारी पनि दिइरहेकी छन् ।

ब्याग र बेल्टको मूल्य

वस्तीको बेल्टलाई एउटा मात्र होइन, धेरैवटा डिजाइन बनाएर लगाउन सकिन्छ । आफ्नो शरीरको आकार अनुसार कस्टुमाइज भएर तयार हुने वस्तीको बेल्टको मूल्य २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्छ । वस्तीमा पाइने ब्यागको डिजाइन अन्य ब्याग भन्दा फरक छन् । जहाँ ब्यागको मूल्य ३८ सयदेखि आठ हजार रुपैयाँसम्म पर्छ ।

बेल्ट किनेर केही समयपछि मोटाएर तथा दुब्लाएर त्यो बेल्ट ठीक भएन भने त्यसलाई फेरि साइज अनुसार रिपेयर गर्दिने व्यवस्था पनि छ यहाँ ।

छोटो समयमा ग्राहकबाट धेरै माया

दुई वर्षअघि सुरु भएको वस्तीको बेल्ट र ब्यागलाई धेरैले रुचाए । बेल्टलाई एउटा मात्र होइन, धेरैवटा डिजाइन बनाएर लगाउन सकिने, लामो समय टिक्ने, राम्रो गुणस्तर र अरू भन्दा फरक भएकोले वस्तीको बेल्ट र ब्याग धेरैको रुचिमा परेको हुन सक्ने प्रकृति बताउँछिन् ।

कुनै पनि नयाँ डिजाइनको ब्याग तथा बेल्ट तयार भएपछि पहिले प्रकृति आफैंले प्रयोग गर्छिन् । त्यो बेल्ट र ब्याग प्रयोग गर्दा उनलाई चित्त बुझ्यो भने मात्र बिक्रीको लागि राख्छिन् । जसले गर्दा पनि वस्तीको ब्याग र बेल्ट धेरैको रोजाइमा परेको छ ।

उनले सामाजिक सञ्जालमार्फत फेसन टिप्सहरू दिइरहने भएकाले उनको बेल्ट र ब्यागलाई मात्र होइन, उनलाई माया गर्नेको संख्या धेरै छ । टिकटकमा मात्र उनलाई फलो गर्नेको संख्या ४० हजारभन्दा माथि छ भने इन्स्टाग्राममा १० हजार ।

बेल्ट र ब्यागसँगै अन्य एसेसरिज पनि बनाउने योजना

बेल्टबाट सुरु भएको वस्तीको व्यवसाय ब्यागले झन् बढाएको छ । वस्तीको ब्याग र बेल्ट अरू भन्दा फरक र गुणस्तरीय भएकाले नै धेरैले रुचाएका हुन् । त्यसैले ब्याग र बेल्टको नयाँ नयाँ डिजाइन बजारमा आउँदैछ । साथै ब्याग बेल्टसँगै अन्य एसेसरिजहरु पनि बजारमा ल्याउने योजना प्रकृतिको छ ।

राम्रो लुगा लगाउनु मात्र फेसन होइन त्यो लुगासँग मिल्ने एसेसरिजहरु पनि लगाइयो भने झन् स्टाइलिस्ट देखिने भएकोले अब छिट्टै नयाँ डिजाइनको एसेसरिजहरु उत्पादन गर्ने उनी सुनाउँछिन् ।

‘सबै व्यक्ति एकै प्रकारका हुँदैनन्, केही मोटा हुन्छन् भने कोही पातला । उनीहरूले ओहो म त मोटो छु मलाई केही लगाएको सुहाउँदैन वा म त दुब्लो छु मलाई केही लगाएको सुहाउँदैन भन्ने सोच्छन्,’ प्रकृति भन्छिन् ‘यो लुगा मलाई सुहाउँदैन भन्दा पनि मलाई के सुहाउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ ।  म जे छु राम्रो छु भन्ने कुरा सबैले महसुस गर्नुपर्छ । यो कुरा सल्लाह दिने काममा पनि छिट्टै जोडिने मेरो योजना छ ।’



source https://www.onlinekhabar.com/2023/07/1340531

‘लचिलो’ भनिएको कसिलो मौद्रिक नीति

७ साउन, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले आफूलाई ‘लचिलो’ घोषणा गरेको छ । तर, मौद्रिक नीतिमा तय गरिएका लक्ष्य र नीतिहरु भने खासमा लचिला छैनन् ।

मौद्रिक नीति लचिलो हो कि होइन भन्ने कुरालाई मुख्यतः दुईवटा लक्ष्यले निर्धारण गर्छ ।

पहिलो– विस्तृत मुद्रा प्रदाय र दोस्रो– निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य । तर, यी दुवै लक्ष्यतर्फ विचार गर्दा गत आर्थिक वर्षको मौद्रिक नीति कसिलो थियो । गत साल राष्ट्रबैंकले नै घोषणा गरेरै कसिलो भनेको मौद्रिक नीतिभन्दा चालू आर्थिक वर्षको मौद्रिक नीति झनै कसिलो देखिन्छ ।

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य १२ दशमलव ६ प्रतिशत निर्धारण गरिएको थियो भने अहिले त्यसमा ११० आधार बिन्दूले घटाएर ११ दशमलव ६ प्रतिशतमा झारिएको छ । त्यस्तै, विस्तृत मुद्रा प्रदायको लक्ष्य पनि गत सालको कसिलो मौद्रिक नीतिको तुलनामा ५० आधार बिन्दूले मात्रै बढाएर १२ बाट १२ दशमलव ५ प्रतिशत निर्धारण गरिएको छ ।

‘चालू आर्थिक वर्षको मौद्रिक नीति विगत ६–७ वर्षकै तुलनामा कसिलो छ,’ नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन् । निर्धारण गरिएका लक्ष्यका आधारमा नभएर अहिलेको जनअपेक्षाका हिसाबले पनि मौद्रिक नीति कसिलो र अनुदार रहेको उनको विश्लेषण छ । ‘अहिले अर्थतन्त्रमा एक हिसाबको मन्दी छ । त्यसलाई वित्तीय नीतिले सम्बोधन गरेन । त्यसो हुँदा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ भन्ने अपेक्षा थियो । तर, मौद्रिक नीति यो हिसाबमा पनि कसिलो आएको छ’, उनले भने ।

तर, यसपटकको मौद्रिक नीतिले आफ्नो सीमा बुझेर त्यहीअनुसार आएको थापा बताउँछन् । ‘विगतमा खासगरी कोभिड कालमा सीमाभन्दा बाहिर गएर मौद्रिक नीति ल्याइएको थियो, त्यसले अर्थतन्त्रमा ठूला समस्या सिर्जना गर्‍यो, मौद्रिक नीतिले त्यो कुरा स्वीकार गर्‍यो र सुधार गरेर सीमाभित्रै रहेर आयो,’ उनले भने ।

मौद्रिक नीतिले आर्थिक वृद्धि सरकारको कार्यक्षेत्रको विषय रहेको र मूल्य र बाह्य क्षेत्र स्थिरता आफ्नो कार्यक्षेत्र रहेको विषयलाई राम्रोसँग बुझेको उनले बताए ।

नेपालको निजी क्षेत्रमा ऋणको अधिक भार परेकाले थप ऋण प्रवाहप्रति सजग रहेको गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रतर्फ जाने कर्जामा ११ दशमलव ५ प्रतिशतको वृद्धि अर्थात् ५ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा पर्याप्त हुन्छ’, उनले भने ।

‘कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको आकार दक्षिण एशियामै उच्च छ’, गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट प्रवाह भएको कर्जा समेतलाई गणना गर्दा नेपालको निजी क्षेत्र अधिक ऋण भारमा परेको स्थिति छ ।’

पछिल्लो २० वर्षमा बैंकिङ्ग क्षेत्रबाट औसतमा १९.४ प्रतिशतले कर्जा विस्तार भए पनि सोही अनुपातमा वास्तविक क्षेत्रको विस्तार हुन नसकेको उनको भनाइ छ । ‘वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा प्रतिकूल असर पर्छ’, उनले भने ।

बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि अघिल्लो आर्थिक वर्षमा १ सय ४३ अर्ब मात्रै कर्जा प्रवाह भएकाले चालू आर्थिक वर्षमा ५ सय ५० अर्बभन्दा बढी कर्जा प्रवाह गर्नु नै चुनौतीपूर्ण रहेको बताउँछन् । ‘पहिले आधार नै सानो थियो र वृद्धिको लक्ष्य ठूलो हुँदा पनि धरै कर्जा जाँदैनथ्यो । तर, अहिले आधार नै ठूलो बनिसकेको छ । त्यसो हुँदा नम्बरमा मात्रै हेरियो भने वास्तविक चित्र नदेखिन सक्छ’, उनी भन्छन् ।

वित्तीय स्रोतको केन्द्रीकरण रोक्ने प्रयास

चालू आर्थिक वर्षको मौद्रिक नीतिले सीमित व्यक्तिले वित्तीय क्षेत्रमा रहेको स्रोतको अधिक उपयोग गरेको स्वीकार गर्दै राष्ट्र बैंकले कर्जा अधिकेन्द्रीकरण घटाउने घोषणा गरेको छ । ‘ठूला ऋणीहरुको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी गर्ने, एकल ग्राहक कर्जा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गरी कर्जा अधिकेन्द्रीकरण घटाउने र साना तथा मझौला उत्पादनशील व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ’, मौद्रिक नीतिमा भनिएको छ ।

राष्ट्रबैंक आफैंले ठूला कर्जाहरुको सुपरीवेक्षण र नियमन गर्छु भनेको र यसले सीमित व्यक्तिको हातमा वित्तीय स्रोत केन्द्रीकृत हुन नियन्त्रण गर्ने थापा बताउँछन् ।

केही ठूला व्यापारीले ठूलो स्रोत उपयोग गरे भन्ने आरोप लागिरहेको सन्दर्भमा त्यो विषयलाई अध्ययन गरेर पुनरावलोकन गर्ने भन्ने कुरा राष्ट्रबैंकले गर्नु सकारात्मक भएको नेपाल बैंकसं संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए ।

ब्याजदर थप नघटोस् भन्ने मानसिकतामा राष्ट्रबैंक

बजारमा ब्याजदर कम होस् भन्ने माग बाक्लै रुपमा उठेको छ । तर, नेपाल राष्ट्रबैंकले भने निक्षेपको ब्याजदर थप नघटोस भन्ने मनसाय राखेको देखिन्छ । त्यसो हुँदा राष्ट्रबैंकले नीतिगत दर ५० आधार बिन्दूले घटाएर ६ दशमलव ५ प्रतिशतमा झारे पनि बैंकदरलाई भने ७ दशमलव ५ प्रतिशतमा कायमै राखेको छ ।

नीतिगत दर राष्ट्रबैंकले प्रदान गर्ने अल्पकालीन सापटी (ओभरनाइट)मा प्रयोग हुन्छ भने बैंकदर भने तरलता व्यवस्थापनका लागि राष्ट्रबैंकले बैंकहरुलाई कर्जा दिँदा लिने ब्याजदर हो । त्यसो हुँदा अल्पकालीन सापटीको दर घटाउने तर बैंकदर नघटाउने गर्दा बैंकहरुको लागतमा खासै कमी आउँदैन । ‘यसले ब्याजदर थप घट्नुहुँदैन भन्ने सन्देश राष्ट्रबैंकले दिएको छ’, पूर्वकार्यकारी निर्देशक थापाले भने ।

गत आर्थिक वर्षबाट नै नेपाल राष्ट्र बैंकले मौद्रिक मुद्रास्फीतिको लक्षित सीमाभन्दा नीतिगत दर तल नहुने नीति लिएको थियो । सोही अनुसार चालु आर्थिक वर्षमा पनि ६.५ प्रतिशतको मुद्रास्फतिको लक्ष्यसहित नीतिगत दर पनि ०.५ प्रतिशत बिन्दुले घटाएर ६.५ प्रतिशत कायम गरेको हो ।

पछिल्लो २० वर्षको नेपालको औसत मुद्रास्फीति ६.७ प्रतिशत रहेकोले प्राकृतिक ब्याजदर ६.५ प्रतिशतको अनुमान रहेको केन्द्रीय बैंकले जनाएको छ । ‘प्राकृतिक ब्याजदरको तुलनामा नीतिगत दर न्यून हुँदा बाह्य क्षेत्र दबाबमा पर्ने र उच्च हुँदा आन्तरिक आर्थिक गतिविधि प्रभावित हुने सम्भावना रहन्छ’, मौद्रिक नीतिमा भनिएको छ ।

आयात १६ प्रतिशतले बढ्ने अनुमानमा लक्ष्य निर्धारण

गत आर्थिक वर्षको असारको तथ्यांक आउन बाँकी रहेको अवस्थामा २ खर्ब ६० अर्बले शोधनान्तर बचत हुने अनुमानसहित यो वर्षको मौद्रिक नीति तर्जुमा भएको राष्ट्र आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा वस्तुको आयात करिब १३ प्रतिशत र वस्तु तथा सेवाको आयात १६ प्रतिशतले वृद्धि हुने अनुमानसहित मौद्रिक नीतिका लक्ष्यहरु निर्धारण भएको श्रेष्ठले बताए । ‘बजेटको आकार, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र ब्याजदरको घट्दो क्रमलाई दृष्टिगत गर्दा आगामी वर्ष आयात तथा सेवा व्यापार करिब १६ प्रतिशतले विस्तार हुने अनुमान रहेको छ’, उनले भने ।

यस्तै रेमिट्यान्सको आधार ठूला भएकोले चालू आर्थिक वर्षमा करिब ६ प्रतिशतले मात्रै बढ्ने अनुमान रहेको उनले बताए । शोधनान्तर स्थिति २० अर्बले बचतमा रहने र चालु खाता भने घाटामा नै रहने अनुमान भए पनि कति हुन्छ भनेर प्रक्षेपण नभएको उनले अनलाइनखबरलाई बताए । सोही आधारमा मौद्रिक नीतिका विभिन्न लक्ष्यहरु तय भएका उनले बताए ।

वित्तीय स्थायित्वमा जोड

मौद्रिक नीतिले ऊर्जा, साना तथा मझौला व्यवसाय र कृषि कर्जाको अहिलेको तोकिएको सीमामा समेत पुनरावलोकन गर्ने घोषणा गरेको छ । साथै, राष्ट्र बैंकले वित्तीय स्थायित्व र बैंक वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा जोड दिएको देखिन्छ । मौद्रिक नीतिमा बैंकिङ क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने, सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गर्ने, सुपरीवेक्षकीय सूचना प्रणालीको विकास र प्रयोग गर्ने, समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आँकलन गर्न ‘माइक्रो स्ट्रेस्थ टेस्टिङ फ्रेमवर्क’ तयार गरी लागु गर्ने जस्ता विषय समेटिएको छ ।

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्थाहरु ल्याएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । ‘ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । यसले गर्दा ट्रेजरी बिल तथा अन्तरबैंक ब्याजदरहरुमा स्थायित्व आउन थाल्ने केसीको भनाइ छ ।

त्यस्तै, यसपटक मौद्रिक नीतिमा पहिलोपटक स्ट्रेस्ड लोन रिजोलुसन फ्रेमवर्क जारी गरिने उल्लेख छ । ‘प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनर्संरचनालगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापन लागि भन्दै यस्तो व्यवस्था गरिएको हो । ‘विशेष परिस्थितिका कारण बैंक ऋणहरुलाई रिभाइभ गर्न बैंकहरुले नसक्ने अवस्था थियो, त्यसलाई यो नयाँ फ्रेकवर्कले सहयोग गर्ला जस्तो लाग्छ,’ अध्यक्ष केसीले भने ।

कानूनी सुधारको प्रतिवद्धता

वित्तीय क्षेत्रसँग सम्बन्धित ऐन कानुनहरुको समसामयिक पुनरावलोकन गर्ने जस्ता विषय मौद्रिक नीतिले समावेश गरेको छ । विद्युतीय भुक्तानीको प्रवद्र्धनमा पनि मौद्रिक नीति लक्षित देखिन्छ ।

विद्युतीय कारोबारलाई सरल, सुरक्षित एवम् प्रभावकारी बनाउन भुक्तानी तथा फर्छ्यौटसम्बन्धी भौतिक पूर्वाधार, कानुनी तथा नियामकीय व्यवस्था गर्ने घोषणा गरेको छ । विद्युतीय भुक्तानीलाई प्रबर्द्धन गर्न अन्तर्राष्ट्रिय गेटवेसँग आबद्ध गर्दै नवीनतम् उपकरण र प्रविधिको प्रयोगलाई जोड दिने राष्ट्र बैंकले जनाएको छ ।

चालू पुँजी कर्जामा कस्तो पुनरावलोकन होला ?

मौद्रिक नीतिले दुईवटा प्रमुख विषयमा नीतिगत पुनरावलोकन गर्ने घोषणा गर्‍यो । पहिलो चालू पुँजीकर्जासम्बनधी मार्गदर्शनमा पुनरावलोकन गर्ने घोषणा गर्‍यो भने दोस्रो सेयर धितो, हायर पर्चेज र रियल स्टेट कर्जाको जोखिम भार घटाउने विषयमा पुनरावलोकन गर्ने घोषणा गर्‍यो । तर, त्यसमा कस्तो पुनरावलोकन गर्ने विषयमा मौद्रिक नीतिमा कुनै कुरा उल्लेख गरिएन ।

राष्ट्रबैंक स्रोतका अनुसार यी दुवै विषयमा राष्ट्रबैंको सञ्चालक समितिको बैठकमा विवाद भएकाले सहमतिको विन्दूका रुपमा पुनरावलोकन गर्ने भन्ने कुरा राखिएको हो ।

गभर्नर महाप्रसाद अधिकारी जोखिम भार र चालपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई चलाउने पक्षमा थिएनन् । तर, पूर्वडेपुटी गभर्नरसमेत रहेको राष्ट्र बैंक सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकाटीको प्रस्तावमा मौद्रिक नीतिले नै चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाको सुझावको आधारमा पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।

चालू पूँजी कर्जाका विषयमा निजी क्षेत्रले विभिन्न माग गर्दै आएको छ । ती मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सञ्चालक समितिमा लामो बहस भएको थियो । ‘खासगरी अहिले वार्षिक कारोबारको २५ प्रतिशत मात्रै चालुपूँजी कर्जा दिने व्यवस्थामा केही परिमार्जन गर्दै ३० प्रतिशत बनाउने, हाल वर्षमा एक पटक सात दिनका लागि चालू पुँजी कर्जाको खाता शून्य बनाउनुपर्ने व्यवस्था अव्यवहारिक भएकाले त्यसलाई सम्बोधन गर्ने लगायत विषय छलफलमा आएका थिए, यसमा राष्ट्रबैंकले विस्तृत अध्ययन गरेर निर्देशिकामार्फत सम्बोधन गर्ने तर त्यो सञ्चालक समितिबाट नै पारित गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो । राष्ट्रबैंकले यस विषयमा जारी गर्ने सर्कुलरमा यिनै विषय समेटिने स्रोतको भनाइ छ ।

यस्तै, सेयर धितो, रियल इस्टेट र हायर पर्चेज कर्जाको जोखिम भार घटाउने विषयमा पनि गभर्नर सकारात्मक थिएनन् । शेयर बजार तथा घरजग्गा व्यवसायीलाई केही न केही राहत दिनैपर्ने भन्ने किसिमको दबाब सञ्चालकहरुले ल्याएपछि ती विषयमा पनि पुनरावलोकन गरिने भन्ने निर्णय भयो । त्यस्तो जोखिम भार कति हुने र कतिसम्मको कर्जामा लागू हुने भन्ने विषय मौद्रिक नीतिमा उल्लेख थिएन । तर, मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनमा सानो सानो कर्जामा मात्रै जोखिम भार कम गर्ने बताएका थिए ।

‘२५ लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत कायम हुने, ५० लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत नै जोखिम भार रहनेछ’ गभर्नर अधिकारीले भने ।

त्यस्तै लाइसेन्सप्राप्त रियल इस्टेट तथा हाउजिङ डेभलपरले लिने कर्जाको जोखिम भार पनि १५० प्रतिशतबाट १०० प्रतिशतमा झरेको गभर्नर अधिकारीले बताए । यस्तो कर्जाको लोन टुभ्यालु रेसियो ६० प्रतिशत छ ।

‘हायर पर्चेज कर्जामा पनि २५ लाख रुपैयाँसम्म मात्रै जोखिम भार १०० प्रतिशतमा झार्ने तयार छ’, उनले भने । राष्ट्रबैंक स्रोतका अनुसार ती तीन कर्जाको जोखिम भार पुनरावलोकन गर्ने भन्ने कुरा मात्रै आउँदा खासगरी शेयरबजारमा सट्टेबाजी बढ्ने आँकलनका साथ गभर्नरले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

२० बुँदामा मौद्रिक नीति 

१. विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य ।

२. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राख्दै नीतिगत दरलाई ०.५ बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम ।

३. वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने ।

४. पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट वृद्धि भई २ करोड ।

५. बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने ।

६. प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिले समस्यामा परेका ऋणीहरुको कर्जा पुनर्संरचना गर्न बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने उपाय र प्रक्रियालाई समावेश गरी स्ट्रेस्ड लोन रिजोलसुन फ्रेमवर्क जारी गर्ने ।

७. वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर पुनः मूल्यांकन गर्ने र बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्ने सम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयन गर्ने ।

८ नेपाल लेखामानअनुसार ‘एक्सपेक्टेड क्रेडिट लस्ट मोडल’ कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गर्ने ।

९. तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन ।

१०. प्राइभेट इक्वीटी फण्ड/भेञ्चर क्यापिटल मा बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीलाई सहजीकरण गर्न लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन हुने ।

११. वित्तीय गहिराई मागनको लागि बैंक वित्तीय संस्था, लघुवित्त, बीमा, नागरिक लगानी कोष कर्मचारी सञचया कोष सहितका कगैर बैंकिङ वित्तीय संस्थाको वासलात समावेश गरी वित्तीय सर्वेक्षण गर्ने ।

१२. सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार पुनरावलोकन गर्ने

१३. लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन हुने ।

१४. भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराउँदै आएमोमा अब २५०० डलर सम्म उपलब्ध गराउने ।

१५. केन्द्रीय बैक विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाउने

१६. सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग र व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग र व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था हुने

१७. ड्राफ्ट/टी.टी. र डीएपी/डीएए को माध्यमबाट हुने आयातसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन हुने ।

१८. हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्क विदेशमा भुक्तानी गर्दा नियामक निकायको स्वीकृति र तोकिएका कागजातको आधारमा १ लाख डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको रकम वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने

१९. कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने व्यवस्था हट्ने

२०. बैंकहरुले राष्ट्र बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप लगायतका उपकरणहरु उपलब्ध हुने ।



source https://www.onlinekhabar.com/2023/07/1340623

Saturday, 22 July 2023

सेना संख्याको बहस कति उचित ?

पछिल्ला दिनहरूमा चर्चा र बहसमा रहेको विषय हो नेपाली सेनाको संख्या । संघीय संसदका केही सांसदले सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएसँगै यसको बहस बाक्लिएको छ । बहस नेपाली सेनाको क्षमताको स्व-अनुमान गर्दै संख्या घटाउनुपर्ने भन्ने उन्मुख देखिन्छन् । संचारमाध्यम तथा सामाजिक सञ्जालमा धेरैले यसको विरोध गरेका छन् भने केहीले नेपाली सेना ब्यारेकमा मात्र बस्ने भएकोले संख्या घटाउनुपर्ने पक्षमा तर्क दिएका छन् ।

कुनै पनि संगठनको संरचना र दरबन्दी संख्या कति हुने भन्ने सर्वमान्य सिद्धान्त त देखिंदैनन् । तर पनि केही मान्यता अवश्य रहेका छन् । नेपाली सेनाको संख्या, क्षमता, कार्य जिम्मेवारीका साथसाथै क्षमताका विषयमा हुने हल्का टिप्पणीले न टिप्पणीकर्ताको बौद्धिकता झल्किन्छ न नेपाली सेनाको मनोबल उच्च बनाउन सहयोग गर्छ ।

सेना संख्याको निर्धारक तत्व

कुनै पनि देशको सेनाको संख्या कति राख्ने भन्ने विषय उक्त देशको आन्तरिक एवं बाहृय परिस्थितिमा भर पर्दछ । आन्तरिक शान्तिसुरक्षाको अवस्था, सेनालाई दिइएको कार्य जिम्मेवारी अर्थात् सेनाको कार्य क्षेत्र, भौगोलिक अवस्थिति तथा सीमाको अवस्था, देश/कुनै भूभागको सामरिक महत्व, छिमेकी तथा अन्य मुलुकसँगको सम्बन्ध वा वैदेशिक नीतिले सेनाको संख्या निर्धारणमा महत्वपूर्ण भूमिका खेल्दछ । देशको आर्थिक अवस्था, विद्यमान जनसंख्या, देशले अँगालेको शासन व्यवस्था उत्तिकै जिम्मेवार देखिन्छ । त्यसैगरी सेनाको दक्षता/क्षमताको विद्यमान अवस्था, सेना बाहेकका अन्य सुरक्षा निकायको क्षमता एवं संख्याले समेत सेनाको संगठनात्मक संरचनामा असर गर्दछ । अत्याधुनिक हातहतियारले सुसज्जित सेना छ भने तुलनात्मक रूपमा कम संख्या हुँदा पनि फरक नपर्ने विश्व अनुभवले देखाएको छ ।

कतिपय देशहरूले रोजगारीको विद्यमान अवस्थालाई जोडेर हेर्ने गरेको पनि पाइन्छ । अर्थात् रोजगारी/राष्ट्रसेवाको दृष्टिकोणबाट पनि जनशक्तिको संख्या कायम गर्ने गरिन्छ । अन्य देशहरूले उक्त मुलुकप्रति देखाउने चासो, देश लक्षित ती राष्ट्रको सैनिक गतिविधिलाई समेत आधारको रूपमा लिइन्छ । एउटा देशको सेनाको संख्या सधैं स्थिर भने रहन सक्दैन ।

कुन देशका कति सेना ?

संख्याका हिसाबले विश्वमा सबैभन्दा बढी सेना भएको देश चीन हो । वाइजभोटर डटकमले विश्वका १६८ देशका सेनाको संख्या तथा सुरक्षामा गरिएको खर्चका आधारमा तयार पारेको अन्तर्राष्ट्रिय वरीयताक्रम अनुसार संख्याका हिसाबले चीन पहिलो स्थानमा रहेको छ भने रक्षा खर्चका हिसाबले अमेरिका पहिलो स्थानमा रहेको छ । चीनमा हाल २० लाख ३५ हजार सेना रहँदा अमेरिकामा १३ लाख ९५ हजार सेना कार्यरत छन् । अमेरिकाले वाषिर्क ८७७ बिलियन अमेरिकी डलर खर्च गर्दा चीनको खर्च २९२ बिलियन मात्र रहेको छ ।

१४ लाख ६० हजार सेना रहेको भारतको खर्च ८१ बिलियन डलर छ । संख्याका हिसाबले नेपाल ४८औं स्थानमा रहेको छ भने खर्चका हिसाबले ९६औं स्थानमा रहेको छ । बढी सेना हुने मुलुकको सूचीमा उत्तरकोरिया, रूस, पाकिस्तान पनि रहेका छन् । जनसंख्याका हिसाबले पनि ठूला यी देश कुनै न कुनै रूपमा युद्धमा रहेको देखिन्छ । कतिपय देशहरू छिमेकी मुलुकसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको अवस्था छ भने केही देश विश्वमा आफ्नो उपस्थिति जनाउन सेना परिचालन गरिरहेका छन् ।

ब्रिटिश सेनाको वेबसाइटमा उल्लेख भए अनुसार हाल १ लाख १२ हजार सेना रहेका छन् । बेलायतको रक्षा खर्च ६८ बिलियन डलर रहेको छ । खर्चका हिसाबले ऊ छैटौं स्थानमा रहेको छ । त्यसैगरी संख्याका हिसाबले ६२औं स्थानमा रहेको सिंगापुरमा ५१ हजार सेना रहेका छन् ।

बेलाबेलामा आन्तरिक राजनीतिमा समेत सेनाको सक्रियता रहँदै आएको थाइल्याण्डमा ३ लाख ६० हजार सेना रहेका छन् । जापानले आफ्नो सेनाको संख्या २ लाख ४७ हजार कायम राखेको देखिन्छ ।

शक्तिशाली सेना

सन् २००६ देखि विश्वका शक्तिशाली सेनाको सूची प्रकाशन गर्दै आएको ग्लोबल फायरपावर (जीएफपी) को पछिल्लो संस्करण अनुसार अमेरिका ०.०७१२ अंक (०.०००० उत्तम) सहित पहिलो स्थानमा रहेको छ । यसमा सैनिकको संख्या, हातहतियार एवं उपकरणको उपलब्धता, प्राकृतिक स्रोत, वित्तीय प्रबन्ध एवं भौगोलिक अवस्थितिका विभिन्न ६० सूचकहरूको आधारमा वरीयताक्रम निर्धारण गरिन्छ । १४५ देशको सूचीमा नेपाल २.८७२८ अंक सहित १२९औं स्थानमा रहेको छ ।

सूचीको अग्र १० स्थानमा अमेरिका पछि क्रमशः रूस, चीन, भारत, बेलायत, दक्षिणकोरिया, पाकिस्तान, जापान, फ्रान्स, इटली रहेका छन् । संख्याका हिसाबले चीन अग्रस्थानमा रहेको भए पनि शक्तिका हिसाबले अमेरिका र रूस पछि रहेकोे छ । फ्रान्स शक्तिशाली सेनाको वरीयतामा नवौं स्थानमा रहेको छ । ऊ तुलनात्मक रूपमा कम सेना रहेको मुलुकमा पर्दछ । केवल ५१ हजार सेना भएको सिंगापुर शक्तिशाली सेनाको सूचीमा २९औं स्थानमा रहेको छ । यो सूचीमा भुटान भने पुछारमा रहेको छ ।

खर्चका हिसाबले कुन देश अगाडि ?

विश्वमा सबैभन्दा बढी सैन्य मामिलामा खर्च गर्ने देश अमेरिका रहेको छ । विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार उसले कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत सैन्य खर्चका लागि छुट्याएको छ । रूस-युक्रेन युद्धका कारण युक्रेनले आफ्नो कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ बढी रकम खर्चिएको छ । आफ्नो कुल गार्हस्थ्य उत्पादनका हिसाबले सबैभन्दा बढी खर्च गर्ने देशको सूचीमा लिविया, कुवेत, साउदी अरब, ओमान रहेका छन् ।

खर्च रकमको हिसाबमा भने अमेरिका, चीन, भारत, रूस, जापान आदि देशहरू अग्रस्थानमा रहेका छन् । विश्व सैनिक खर्चमा अमेरिका एक्लैको हिस्सा ३९ प्रतिशत रहेको छ भने चीनको योगदान १३ प्रतिशत रहेको छ । विश्वको कुल सैनिक खर्चमा रूसको अंश करिब ४ प्रतिशत रहेको छ भने भारतको ३.६ प्रतिशत । प्रतिवेदन अनुसार नेपालको यस्तो खर्च ४२८ मिलियन अमेरिकी डलर मात्र रहेको छ । बढी खर्च गर्नेको विश्व वरीयतामा यो ९६औं स्थान हो । सिंगापुर सरकारले ५१ हजार सेनाका लागि १२ बिलियन अमेरिकी डलर खर्च गर्दछ ।

प्रति सैनिक खर्च

संख्या, वाषिर्क सैन्य खर्चका आधारमा प्रति एक सैनिक खर्च गणना गर्दा अमेरिकाले एक सैनिक बराबर करिब ८ करोड १८ लाख रुपैयाँ खर्च गर्दछ । संख्याका हिसाबले कम सेना भए पनि प्रति सैनिक खर्चका हिसाबले बेेलायत अग्रस्थानमा रहेको देखिन्छ । उसले प्रति सैनिक ५ करोड ७८ लाख रुपैयाँ खर्च गर्दा चीनको प्रति सैनिक खर्च १ करोड ८७ लाख रुपैयाँ बराबर रहेको छ । छिमेकी मुलुक भारतको प्रति सैनिक प्रति वर्ष खर्च ७२ लाख हुँदा पाकिस्तानको खर्च २० लाख नेपाली रुपैयाँ बराबर रहेको छ । यस्तो खर्च बंगलादेशको ४० लाख, थाइल्याण्डको २२ लाख रहेको छ । नेपालले प्रति सैनिक केवल ५ लाख ७७ हजार मात्र खर्च गर्दै आएको छ ।
हेरौं केही देशको सैनिक संख्या र खर्चको तुलनात्मक विवरण :

देश सैनिक संख्या कुल खर्च बिलियन अमेरिकी डलर प्रति सैनिक खर्च रु लाखमा
अमेरिका १३,९५,००० ८७७ ८१७.२८
बेलायत १,५३,००० ६८ ५७७.७८
प|mान्स २,०३,००० ५४ ३४५.८१
सिंगापुर ५१,००० १२ ३०५.८८
जापान २,४७,००० ४६ २४२.११
चीन २०,३५,००० २९२ १८६.५४
कोरिया ५,५५,००० ४६ १०७.७५
भारत १४,६०,००० ८१ ७२.१२
बंगलादेेश १,६३,००० ५ ३९.८८
थाइल्याण्ड ३,६०,००० ६ २१.६७
पाकिस्तान ६,५१,००० १० १९.९७
नेपाल ९६,५०० ०.४२८ ५.७७
स्रोत M https://wisevoter.com/country-rankings/military….

बहसको सान्दर्भिकता कति ?

विद्यमान सैनिक ऐनको दफा ७ को उपदफा -३) मा सेनाको संगठन संरचना तथा दरबन्दी संख्या नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ । सेनाको संगठन संरचना तथा दरबन्दी संख्या के कति हुने ? विद्यमान संरचना एवं संख्यामा पुनरावलोकन गर्नुपर्ने नपर्ने, गर्नुपर्ने भए के कस्तो बनाउने ? भन्ने विषयमा नेपाली सेना, रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषदको समन्वय र सहकार्यमा हुनुपर्दछ । आवश्यकता महसुस भएको अवस्थामा विज्ञहरूको परामर्श लिन सकिन्छ ।

नेपाल भूराजनीतिक हिसाबले संवेदनशील स्थानमा रहेको छ । सिमाना जोडिएका भारत तथा चीनसँग सीमा विवाद कायमै छ । उनीहरूले आफ्नो सुरक्षा चासोलाई नेपालसँग जोडेर हेर्ने गरेका छन् । अमेरिका लगायत पश्चिमा देशहरूको नेपालप्रतिको चासो पनि उत्तिकै रहेको छ । माथिका तथ्य एवं तथ्यांकहरू हेर्दा सेनाको संख्या घटाउने बहसमा भन्दा सेनालाई कसरी सक्षम बनाउने भन्नेमा हामी केन्द्रित हुनुपर्ने देखिन्छ ।

अत्याधुनिक हातहतियारका साथसाथै बन्दोबस्तका अन्य सामग्रीहरूको उपलब्धता सेनाको दक्षता बढाउने पहिलो शर्त हो । सेवा प्रवेश गर्ने तथा सेवामा बहाल रहेका सेनाहरूको तालिम, आन्तरिक तथा बाहृय अनुभवहरूको आदानप्रदानलाई महत्व दिइनुपर्दछ । यी दुवै हिसाबले सरकारको लगानी कम रहेको महसुस गरिएको छ । सेनाको विविधीकरणको विषय पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

नेपाली सेनाको उपस्थितिकै कारण आपराधिक आतंकवादी समूहमा मनोवैज्ञानिक त्रास उत्पन्न भइरहेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको आत्मबल बढाउने काम पनि नेपाली सेनाबाट भएको छ । महत्वपूर्ण राष्ट्रिय घटना/कार्यक्रम (निर्वाचन आदि) मा नेपाली सेनाको भूमिका अतुलनीय रहेको छ । प्राकृतिक तथा अन्य विपद्को समयमा नेपाली सेना आम नेपालीको भरोसाको केन्द्र बनिरहेको छ ।

विद्यमान संख्या कटौती गर्नुभन्दा कूटनीतिक प्रयासबाट संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जाने सुरक्षाकर्मीहरूको संख्यामा बढोत्तरी गर्ने, सेनाको आधुनिकीकरण गर्ने, राष्ट्रका लागि आउन सक्ने सम्भावित जोखिमहरूको वर्गीकरण गरी सेनाको विविधीकरण गर्न आवश्यक देखिन्छ । आन्तरिक सुरक्षा, बाहृय सुरक्षा, विपद् व्यवस्थापन, स्थल तथा हवाई आदिका आधारमा सेनाको विशिष्टीकरण गर्नुपर्दछ ।

तालिमका लागि आवश्यक पर्ने साधन/उपकरणका साथसाथै अन्य पूर्वाधार समेत पर्याप्त नभएको अवस्थामा सेनाको गुणात्मक पक्षमा कसरी सुधार गर्ने भन्ने विषयमा बहस हुनुपर्नेमा संख्याको बहसमा रुमलिनु उपयुक्त देखिंदैन । कुनै पनि विषयमा हाम्रो पूर्वतयारीको पक्ष निकै कमजोर भएका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ । घटना घटेपछि दुई चार दिन त्यसको महत्वको बारेमा विचारोत्तेजक अभिव्यक्ति दिने तर कार्यान्वयनको पक्षमा सुधार नै नगर्ने प्रवृत्ति हामीमा कायमै छ ।

आन्तरिक वा बाहृय युद्ध/लडाइँको अवस्था नरहेको भनी सेनाको संख्या कटाउने तथा उसको क्षमता/दक्षता नबढाउने हो भने विषम परिस्थितिमा अकल्पनीय परिणामको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिंदैन । कार्यप्रकृति तथा अन्य संवेदनशीलताका हिसाबले सेना आजको भोलि तयार गर्न सकिने विषय पनि होइन । अर्थात् सेना भनेको मानिसको भौतिक शरीर मात्र होइन ।

एउटा युवालाई सेना बनाउनको लागि लामो समय खर्चिनुका साथै राज्यले ठूलो लगानी गर्नुपर्दछ । सेनाको कार्य जिम्मेवारीको प्रकृति आजको कार्य स्थगन गरी भोलि सुरु गरौंला भन्ने पनि हुँदैन । यी सबै विषयलाई केन्द्रमा राखी सेनाको संख्याको हलुका बहसमा भन्दा सेनाको आधुनिकीकरण गर्ने/गराउने दिशामा हाम्रा प्रयासहरू केन्द्रित गरौं ।



source https://www.onlinekhabar.com/2023/07/1340068

Friday, 21 July 2023

ग्लोबल टी-२० क्यानडा : सन्दीपले दीपेन्द्रलाई आउट गरे, टिमलाई जिताउन सकेनन्

६ साउन, काठमाडौं । ग्लोबः टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका थिए । जहाँ दुवैले सम्झनलायक प्रदर्शन पनि गरे ।

सन्दीपले दीपेन्द्रलाई आउट गरे । तर खेल भने दीपेन्द्र सम्मिलित टिमले जित्यो । सन्दीपले २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

पहिलो पटक विदेशी लिग खेलिरहेका दीपेन्द्रले मोन्ट्रियल टाइगर्सको जितमा २८ रन योगदान गरे ।

ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा मोन्ट्रिलए टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुएर्सलाई ५ विकेटले हराएर विजयी सुरुवात गर्‍यो ।

सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जसमा दीपेन्द्रले नै सर्वाधिक २८ रन बनाए । २२ बल खेलेका उनले २ चौका प्रहार गरे । जितका लागि १३ रन आवश्यक हुँदा दीपेन्द्रलाई १७औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए ।

यस्तै दिलप्रित सिंहले अविजित २८ रन नै जोडे । शकिब अल हशनले २६ र क्रिस लिनले २२ रन बनाए । कार्लोस ब्रेथवेइटले ६ बलमा अविजित १४ रन बनाए ।

बलिङमा सन्दीपले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले ६ विकेट गुमाएर १३६ रन बनाएको थियो । जसमा कप्तान इप्ट्टिखर अहमदले अविजित रहँदै सर्वाधिक ४० रन बनाए । जतिन्दर सिंहले २७ रन जोडे ।

शकिब अल हशनले ३ विकेट लिए ।

 



source https://www.onlinekhabar.com/2023/07/1339902

३ वटा ट्रक लिएर नेपाल आएका सरदार प्रितम, राजा महेन्द्रदेखि प्रचण्डसम्मका सम्झना

६ साउन, काठमाडौं । नेपालमा यातायात व्यवसाय भित्र्याउने व्यक्ति हुन् सरदार प्रितम सिंह । भारतको जम्मुमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका ८८ वर्षे प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

सन् १९५९ मा तीन वटा ट्रक लिएर भाइसँगै नेपाल आएका प्रितम काठमाडौं बस्ने पहिलो पुस्ताका सरदार हुन् । नेपालमा राम्रो सडक नभएको समयमा उनले ६ चक्के ट्रक लिएर नेपाल आए । ट्रक कसरी आइपुग्यो, त्यसको आफ्नै कथा छ । धेरै घुम्ती भएको त्रिभुवन राजपथमा ट्रक चलाउनु निकै कठिन थियो । कति पटक बाटोमा ट्रक बिग्रिएर अलपत्र परेको, ट्रक बनाउने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतको पटनाबाट ट्रक बनाउन मिस्त्री ल्याएको आदि ।

भारतीय सेना गभर्मेन्ट अफ इन्डियाले नेपालको त्रिभुवन राजपथ निर्माण गरिरहेको थियो । नेपाललाई ट्रान्सपोर्ट व्यवसायको गन्तव्य बनाउने लक्ष्य राखेर व्यापार बुझ्न त्यसै वर्ष उनी बुवा कहन सिंहसँग नेपाल आए ।

‘म खासमा पाइलट बन्न चाहन्थें, आमाले तिमीलाई उड्नेभन्दा गुड्ने पेसा ठीक छ भनेर धेरैपल्ट भनेपछि बाटो बदलें’, प्रितमले भने ।

उनी काठमाडौं आएर न्युरोड फोटो कन्सर्ननेरको एउटा होटलमा बसेका थिए । संयोगवश होटल बाहिर हिंडिरहेको समय उनीसँगै लखनऊमा पाइलट कोर्स गरेका सहपाठी त्रिलोचन सिंहसँग उनको भेट भयो । सिंह राजा महेन्द्रका पाइलट थिए । जीप चलाएर कामविशेषले न्युरोड आएका रहेछन् ।

प्रितमले पाइलट सिंहसँग नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे छलफल गरे । त्यतिबेला नेपालमा व्यवस्थित ट्रान्सपोर्ट थिएन । राजा र राणाका केही साना गाडी मात्र चल्थे, उपत्यकामा । पाइलट सिंहले नेपालमा ट्रान्सपोर्ट व्यवसाय नाफामुखी हुने सुझाव दिए । उनैले राजा महेन्द्रसँग पनि भेट गराइदिए ।

राजा महेन्द्रसँगको भेटमा नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारबारे कुरा राखे । महेन्द्रले नेपालमा ट्रान्सपोर्ट व्यवसाय गर्न आवश्यक प्रबन्ध मिलाइदिने बताए ।

सन् १९५९ मा प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर ट्रान्सपोर्ट व्यवसाय व्यवस्थित बनाउने काम सुरु गरे । १९६१ मा राजधानी वरपरका जिल्लामा खाद्य सङ्कट परेपछि तत्कालीन सरकारले छिमेकी सहित दातृ निकायसँग सहयोग माग्यो । यस क्रममा छिमेकी भारतले नेपाललाई मानवीय सहायता स्वरूप १० हजार टन चामल उपलब्ध गराउने घोषणा गर्‍यो ।

राजाले दिएको बक्सिस्, नेपाल र नेपालीले दिएको मायाले उनलाई आफ्नो काम अझै राम्रोसँग गर्ने हौसला मिलिरहृयो । सार्वजनिक यातायात शून्य रहेको अवस्थामा प्रितमले नै पहिलोपल्ट काठमाडौंमा बस भित्र्याए

भारतले नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएको चामल दिल्लीबाट रक्सौल ल्याइपुर्‍याइदियो । तर नेपालमा सडकका नाममा अमलेखगन्ज-भीम फेदीसम्म मात्र मोटर कुद्थे । रक्सौल आइपुगेको भारतीय चामल सुरुमा भारतीय सेनाले काठमाडौं ल्याइदिने घोषणा गरेको थियो ।

भारतीय सेनाले यस्तै २०-३० टन चामल लरी (ट्रक) मार्फत रक्सौलबाट काठमाडौं ल्यायो । तर नेपालको भौगोलिक अवस्थिति र खराब बाटोका कारण काठमाडौं चामल लिएर आउने क्रममा केही भारतीय सैनिक दुर्घटनामा परेर घाइते भए भने केहीले त ज्यानसमेत गुमाए । भारत सरकारले निःशुल्क काठमाडौं चामल पुर्‍याइदिने घोषणा गरे पनि उसको सेनाले सकेन । चामल लिएर आउने भारतीय सेनाका गाडी काठमाडौं पुग्न ४-५ दिन लगाउँथे ।

प्रतिकूल भौगोलिक अवस्थितिका कारण समय बढी लागेपछि भारतीय सेनाले अन्य उपायबाट काठमाडौंमा चामल ल्याउन सकिने सुझाव नेपाल सरकारलाई दियो । त्यो विकल्प भनेको हवाई यातायात हुन्थ्यो । त्यसका लागि भारतीय सैनिकले थप लागत माग गर्‍यो । तर नेपालसँग रकम तिर्न सक्ने सामथ्र्य थिएन । नेपालमा ट्रान्सपोर्ट चलाउने प्रितम मात्र थिए ।

राजा महेन्द्रले प्रितमलाई दरबार बोलाए र सुक्खा पीडितका लागि आएको चामल रक्सौलबाट काठमाडौं ल्याइदिन आग्रह गरे । त्यतिबेलाको १० हजार टन खाद्यान्न परिमाणमा ठूलो थियो । चामल बोक्ने साधन पर्याप्त थिएनन् ।

प्रितमले यसबारे राजा महेन्द्रलाई जानकारी गराए । उनको कुरा सुन्ने बित्तिकै राजाले एकै चोटि ५ सयदेखि ६५० सम्मका नम्बर प्लेटयुक्त भारतीय मालवाहक ट्रक नेपालमा ल्याउन अनुमति दिए । ती ट्रक यहाँ ल्याउँदा भन्सार, कर सबै छूट दिइयो । त्यसपछि डेढ सय ट्रक मार्फत रक्सौलबाट सहयोगको चामल काठमाडौं ल्याइयो ।

राजा महेन्द्रको आग्रह अनुसार प्रितमले त्यतिबेला खाद्यान्न ढुवानी गर्दा लाग्ने शुल्कभन्दा धेरै कममा चामल बोके । २ रुपैयाँ १५ पैसा प्रतिटनमा भारतीय सहयोगको सबै चामल काठमाडौं उतारे । त्यो चामल सरकारले सुक्खा पीडितलाई बाँड्यो ।

काठमाडौंमा सहयोगको चामल उतारेको केही दिनपछि राजा महेन्द्रले उनलाई दरबारमा बोलाए । खाद्य सङ्कटमा परेकाहरूको सहयोगार्थ सेवा गरेबापत राजा महेन्द्रले १ हजार रुपैयाँ बक्सिस दिए । सरदारहरू साहसी र इमान-जमानका पक्का हुँदारहेछन्, विपद् आइलागेको समय सहयोग गरेको भन्दै राजाले उनलाई धन्यवाद पनि दिएका थिए ।

राजाले दिएको बक्सिस्, नेपाल र नेपालीले दिएको मायाले उनलाई आफ्नो काम अझै राम्रोसँग गर्ने हौसला मिलिरहृयो । सार्वजनिक यातायात शून्य रहेको अवस्थामा प्रितमले नै पहिलोपल्ट काठमाडौंमा बस भित्र्याए ।

राजा महेन्द्रको पालादेखि नै सरदार प्रितम सिंह नेपालको विकास यात्राको निरन्तर साथी बनेका छन् जसले उनलाई नेपालका सबै शासकहरूसँग घनिष्ठ सम्पर्कमा ल्याएको छ । उनी विगतका नेताहरूमध्ये कृष्णप्रसाद भट्टराईलाई विशेष गरी सम्झन्छन् । ‘नेपालको हितमा काम होस् भनेर सोचियो, जन्मभूमि नभए पनि नेपाल मेरो कर्मभूमि हो, यसको माया औधी लाग्छ’, प्रितमले भने ।

यिनै सरदार प्रितम सिंहको आत्मकथा विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितमले आफूलाई धेरैपल्ट साथ सहयोग र स्नेह दिएको भन्दै कृतज्ञता दर्शाए । उनले आफूलाई १२ वर्षअघि प्रधानमन्त्री बनाउन समेत कोसिस गरेको विवादास्पद वक्तव्य दिएका थिए ।

प्रचण्डले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरै चोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ ।’

‘रोड्स टु द भ्याली’की लेखिका एवम् छोरी किरण दीप सिंहका साथमा प्रितम ।

प्रधानमन्त्रीले दिएको यो अभिव्यक्ति पछि सरदार प्रितम सिंह को हुन् भन्ने बारे धेरै चर्चा समेत भएको थियो । अनलाइनखबरसँग कुरा गर्दै प्रितमले आफू राजनीतिक क्षेत्रमा नभई केवल सामाजिक काममा र सेवामा प्रवृत्त भएको भन्दै प्रधानमन्त्रीको भनाइबारे आफू स्पष्ट हुन नसकेको दाबी गरे । ‘उहाँले भावनामा बगेर त्यो भनेको भनी स्पष्ट पारिसक्नुभएकाले अहिले त्यसमा नजाउँ, मेरो चाहना सबैको भलो होस् राम्रो होस् भन्ने मात्रै हो’ प्रितमले भने, ‘त्यसैले गुरुद्वारामा गएर प्रचण्डको लागि प्रार्थना पनि गरियो, पम्फाजीसँग हाम्रो मित्रता थियो ।’

प्रितमले नेपालको यातायात क्षेत्रमा गरेको योगदान र उनको नेपालसँगको नाताको विषयमा उनकी छोरी किरण दीप सिंहले लेखेको आत्मकथा ‘रोड्स टु द भ्याली’ अहिले बजारमा उपलब्ध छ ।

हाल मलेशिया बस्दै आएकी छोरी तथा लेखिका किरणले आफ्ना पिताले नेपाली समाजमा छाडेका पदचापहरूलाई प्रकाशमा ल्याउने चाहना स्वरुप पुस्तक आएको बताइन् । उनले यो पुस्तक बिक्रीका लागि नभए पनि उठ्ने पैसा समाजसेवामै लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

तस्वीर /भिडियो : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2023/07/1339884

किन सफा राख्नुपर्छ शौचालय ?

शौचालय एक यस्तो सुविधा हो, जसलाई मानिसलेे मल एवं मूत्रको समुचित व्यवस्थापनको लागि प्रयोग गर्दछ । शौचालय शब्दको प्रयोग त्यस्तो कक्षको लागि गर्न सकिन्छ, जसमा मल-मूत्र विसर्जन गर्ने तकनिकी वा विधि प्रयुक्त गरिएको होस् ।

सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातावरणीय स्वच्छता कायम गर्ने कार्य हो । मानिसले सरसफाइमा ध्यान दिने हो भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ ।

सरसफाइको परिभाषा मान्छेपिच्छे फरक-फरक हुन्छ । एक जनाले आफ्नो हात पानीमा भिजाएर ओठ चुठेपछि हातमुख सफा भयो भन्ठान्छ । तर अर्को जना धारामा गएर साबुन पानीले राम्ररी हातमुख धोएपछि मात्र सन्तुष्ट हुन्छ ।

शौचालय र सरसफाइबीच नजिकको सम्बन्ध छ । शौचालयको सरसफाइले संसारमै एउटा ठूलो मुद्दाको रूप लिएको छ । शौचालय सरसफाइको प्रवृत्ति र आचरणमा सुधार ल्याउन ठूलो प्रयास र लगानी भइरहेको छ । संयुक्त राष्ट्रको घोषणा अनुरूप सहस्राब्दी लक्ष्य अन्तर्गत अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय स्तरमा निकै जिम्मेवारी तथा उत्तरदायित्व निर्धारण गरिएको छ ।

घर र वरपरको सरसफाइको महत्व दर्शाउँदै घर आउने पाहुनालाई शौचालय देखाऊ भन्ने अर्ती छ । यो भनाइको तात्पर्य यो हो कि जुन घरमा शौचालय सफासुग्घर छ, त्यो घर स्वतः सफा हुन्छ । तर यो अर्तीलाई मानिसले व्यवहारमा ल्याउन अझ गर्नुपर्ने धेरै बाँकी छ । नेपाली समाज खुलाबाट बन्द शौचालयमा परिवर्तनशील छ ।

शौचालयलाई ब्रश र हार्पिकलगायतको लिक्युडले नियमित सफा गर्नुपर्छ, खर्चिलो ठान्नुहुन्न । स्वास्थ्यको रक्षाका लागि खानपान र रहनसहनमा खर्च गरे जस्तै शौचालय सफाइको खर्च पनि स्वस्थताकै निरन्तरताका लागि हो

खुला शौचालय प्रणाली सामूहिक शौचालय प्रणाली थियो । पोखरी, नदी वा जलाशयको डिल र किनार, बस्तीभित्रका वा चौर, बाँसघारी, झाडी आदि शौच क्षेत्र हुन्थ्यो । पानी लिएर शौच गर्नुपर्ने, माटोले हात र पानी बोक्ने भाँडो माझ्नुपर्ने, हात-खुट्टा धुनुपर्ने हुन्छ । खुला शौचको सफाइ जनावर विशेषले आहारको रूपमा प्रयोग गरेर गर्थ्यो । मलको केही अंश माटोमा कम्पोष्ट भएर मिल्थ्यो ।

समय बदलिएको छ । खुला शौचालय प्रणाली लोप हुँदै सफाइ र सभ्यताको विकास हुँदै गएको छ । खुला शौचालय बन्द शौचालयको रूपमा र सामूहिक शौचालय निजी शौचालय तथा सार्वजनिकको रूपमा परिवर्तित भएका छन् । सार्वजनिक शौचालयहरू व्यावसायिक तर अधिकांश अव्यवस्थित अवस्थामा छन् । सरकारी शौचालयहरू कि अमानतमा कि ठेक्कामा सञ्चालन गरिन्छन् ।

सार्वजनिक शौचालय व्यवसायमा निजी क्षेत्रको भूमिका अत्यन्तै कम छ । यसलाई सामाजिक प्रतिष्ठामा कमी आउने किसिमको व्यवसाय मानिन्छ । कुनै जातिविशेषलाई शौचालय सफाइकर्मी जातिको दायरा तोकी छुवाछूतको भेदभाव अपनाउने अवस्था अब रहेन । शौचालयको सेफ्टी ट्यांकीबाट मल झिकेर बाहिर लैजाने काममा ढुवानी साधन -सेफ्टी ट्यांक क्लिनर) को चलन उत्साहवर्द्धक छ ।

बन्द शौचालयहरूमा निजी, सार्वजनिक र व्यावसायिक गरी तीन किसिमले बाँड्न सकिन्छ । सरसफाइको दृष्टिकोणले यी सबै किसिमका शौचालयहरूको अध्ययन आवश्यक छ । निजी शौचालयको सरसफाइ थप गर्नुपर्ने कुराहरू धेरै छन् । तर अभियानअन्तर्गत बनाइएका शौचालयहरूको दिगो सरसफाइका लागि थप चेतनामूलक काम आवश्यक छ ।

नेपालमा खुला दिसामुक्त घोषणा अभियान २०६८ देखि सुरु भयो र २०७६ मा आउँदा देशको प्रत्येक भूभाग र प्रत्येक इञ्च खुला दिसामुक्त छ । तर गाउँ होस् वा बजार इलाका हरेक बाटो गल्लीमा खुला दिसाले मानिसलाई गिज्याइरहेको हुन्छ ।

घर-घरमा शौचालय निर्माणको नाराले धेरैको घरमा शौचालयको अभाव हटाएको छ । घर-आँगनमै शौचालय बनाउन दिक्क मानिरहेका मानिसहरू येनकेन शौचालय बनाइसकेपछि त्यसै शौचालयप्रति गर्व गर्न थाले । घर-आँगन आउने आफन्त र अतिथिलाई शौचालयको दर्शन गराउन थालेका थिए । तर तिनै मानिस अचेल शौचालयको चर्चा गर्न हिच्किचाउँछन् । किनभने शौचालय अब पुरानो भएको छ भन्दा पनि फोहोर रहन थालेको छ । शौचालय जाने मानिसहरूले शौचालयको सफाइ पनि उत्तिकै आवश्यक छ भन्ने व्यवहार आलस्य मान्दछन् । सफाइप्रतिको उत्प्रेरणाको कमी छ ।

नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न प्रतिवेदनको निष्कर्ष छ । तर पनि शौचालयले परिवारजनलाई रोगजन्य आक्रमणबाट कसरी बचाउँछ भन्ने तथ्यप्रति जागरुकता आउन सकेको छैन । शौचालयलाई किन र कसरी सफा राख्ने भन्ने चेतनाको प्रसार हुन नसक्दाÙ शौचालय नहुँदाको अवस्थाभन्दा शौचालय हुँदाको अवस्थामा जोखिम बढेको छ ।

आम मानिस त्यस्तो जोखिमप्रति सजग हुन नसक्नु अस्वाभाविक छैन । तर शौचालय अभियानका अगुवाहरूको नवअवतार नहुनु भने स्वाभाविक हुन सक्दैन । अब, शौचालय सफा राखौं भन्ने नारा लगाउने बेला आएको छ ।

कुनै पनि समुदायका घरपरिवारमा प्रायः समान किसिमको संरचना बनाइएको हुन्छ । जस्तै देउताको, भान्साको, खाने, सुत्ने, बस्ने, त्यस्तै शौचालयको । घरको सफाइ परिवारको लागि नियमित कार्यहरूमा पर्दछ । प्रत्येक दिन बिहान र बेलुका घरको सरसफाइ गरिन्छ । बेलुका धूप आरती देखाउने चलन पनि छ । घरको सरसफाइमा शौचालयले नियमित स्थान पाएको हुँदैन ।

शौचालयको सफाइ अरू स्थानको भन्दा बढी मिहिनेती हुन्छ । शौचालयको सफाइमा केही विशेष साधन -ब्रस, हर्पिक, फिनायल आदि) आवश्यक पर्छ । प्रायःजसो घरमा ती सामग्रीको अभाव रहेको देखिन्छ । घरको सरसामान खरिदमा शौचालय सफाइ सामग्री उपेक्षाको शिकार भइरहेको हुन्छ । सफाइ सामग्रीले शौचालय सफाइतर्फ आकर्षित गर्दछ ।

शौचालय अभियान अन्तर्गत जुन घरमा चर्पी छैन, त्यो घरमा छोरी नदिने नारा चल्यो । तर छोरीलाई घर पठाउँदा शौचालय सफाइको पाठ पढाएर पठाइएन । प्रतिफल छोरीको घर जाँदा बाबुलाई शौचालयतर्फ हैन, लोटा दिएर चौरतिर पठाइन्छ । तर बाबुले यति हुँदा पनि शौचालय सरसफाइ शिक्षाको दरकार बुझ्न सकेको छैन । सबैको हाल उस्तै छ ।

जसरी मलको हिस्सा पेटमा अडाएर राख्न सकिंदैन त्यसरी नै मललाई बाहिर सडाएर राख्न सकिंदैन । शौचालय सफाइ स्वास्थ्य र जीवन स्तर राम्रो बनाउनको लागि हो

परम्परागत समाजले घरेलु कार्यको अभिभारा महिलालाई बोकाएको छ । लोग्नेमान्छेले बाहिरी जिम्मेवारी हेरोस् भन्ने ठानिन्छ । घरेलु काम हेर्ने मानिसको उपहास गरिन्छ । बरु लोग्नेले नुहाउने पानी स्वास्नीले तानिदिनुपर्छ । पुरुष आफ्नो घरमा पाहुना झैं हुन्छन् । त्यसमा पनि शौचालय सफा गर्ने कुरा त निकृष्ट र अपवित्र काम मानिन्छ ।

भगवानले वराह अवतार लिएको रहस्य सुनाउँछन् तर त्यसबाट प्रेरणा लिने काम गर्दैनन् । ठूलो र संयुक्त परिवारहरूमा शौचालय सफाइको कुरा त झन् बढी जटिल हुन्छ । परिवारभित्रका कतिपय असहमतिको मार शौचालय सफाइमाथि नै पर्दछ ।

शौचालयको सफाइप्रति घरको मुख्य व्यवस्थापकको चासो हुनुपर्दछ । चासो मात्र होइन, आचरण पनि देखिनुपर्छ । एक त शौचालय, त्यसमा पनि गन्हाउने भनेपछि अरू पनि दूर दूर नै रहने कोसिस हुन्छ । घरको व्यवस्थापकले अरूलाई सुझाउने वा अह्राउने गरेर मात्र हुँदैन परे आफैंले पनि गरेर देखाइदिनुपर्दछ ।

महात्मा गान्धीले एकपटक एक बालकलाई धेरै गुलियो न खाऊ भनी सम्झाउनुपर्ने परिस्थिति पैदा भयो । उनले त्यसका लागि सात दिनको समय लिए, पहिले आफूले त्यो बानी छोडे अनि मात्र सम्झाउने कार्य गरे ।

शौचालयको उचित व्यवस्थापनका केही प्रमुख नियम हुनसक्छन् । शौचालय सफाइ पारिवारिक छलफलको विषय बन्नु भाग्यमानी कुरा हो । ती नियमको पालना गर्नका लागि सबैलाई सिकाउनु आवश्यक हुन्छ । शौचालयमा पानीको प्रयोग पनि एक महत्वपूर्ण विषय हो । शौचालय र पानीको स्रोतबीचको दूरी पनि अर्को महत्वपूर्ण पक्ष हो । शौचालयभित्र वा बाहिर हात धुने स्थानमा साबुन, तौलिया, कवर बिन आदि वस्तुको व्यवस्था जरूरी छ ।

जुठो र बचेको खानाको उचित व्यवस्थापन नगरी कतिपयले ट्वाइलेटको प्यानभित्र हालेर खानालाई फ्लस गर्ने गरेको प्रयास उचित होइन । यसो गर्दा पानीको दुरुपयोग बढी हुन्छ र खानाको कण र तेलले प्यानको सफाइलाई खर्चिलो बनाउँछ । जुठो र बचेको खानाको सबैभन्दा सजिलो उपाय त्यसलाई कम्पोष्ट बनाउनु हो ।

घरमा स-साना नानी छन् भने प्यानमाथि ढक्कन राख्न उचित हुन्छ । यसो गरेर तपाइँ आफ्नो प्यारो बच्चा र स-साना महत्वपूर्ण तथा बहुमूल्य सामग्रीलाई समेत सुरक्षित तुल्याउनुहुनेछ । अब बालमैत्री शौचालयको समय आएको छ । केटाकेटीको स्वभाव र बानी बुझेर उनीहरूलाई कठिनाइ नहुने किसिमको शौचालय संरचना बनाउनु नै बालमैत्री शौचालय हो । हुनत शौचालय वृद्धमैत्री पनि बनाउनुपर्छ । शौचालय पानी जम्ने अवस्थामा राख्नुहुँदैन, काई लागेर चिप्लिने हुनसक्छ ।

शौचालयको सफाइ कति मात्रामा गर्ने ? प्यानमा एक-दुई बाल्टिन पानी हालेर पुग्यो कि ? यताउति दुई-चार पटक ब्रस चलाएर भयो कि ? अथवा वास्तवमा सफा सुग्घर चिटिक्क पार्ने हो ? शौचालयलाई सिंगार्न सकिन्छ । स्नानागार र शौचालय सँगै छ भने सिंगार्ने उपाय धेरै हुन्छ । ओडोनिल जस्तो सुगन्धित टिकिया राख्न सकिन्छ । यसो गरियो भने निश्चय पनि स्वस्थ जीवनको समर्थक मानिन्छ ।

शौचालयलाई ब्रश र हार्पिकलगायतको लिक्युडले नियमित सफा गर्नुपर्छ, खर्चिलो ठान्नुहुन्न । स्वास्थ्यको रक्षाका लागि खानपान र रहनसहनमा खर्च गरे जस्तै शौचालय सफाइको खर्च पनि स्वस्थताकै निरन्तरताका लागि हो ।

मानिससँग केही आलस्य पनि हुन्छ भने केही समयको अभाव पनि हुन्छ शौचालयको सफाइका लागि । त्यसैले कतिपयले दैनिक शौचालय सफाइका लागि मानिस पनि नियुक्त गरेका हुन्छन् । मानिस राख्नु गलत होइन । तर आफैंले गर्दा पैसाको बचत हुने भन्दा पनि शारीरिक अभ्यासमा योगदान गर्नु ठूलो कुरा हुनसक्छ ।

मल भोजनको अपचित भाग हो, जसमा पानी, ग्याँस र ठोस तीन वटै अंश हुन्छन् । एक स्वस्थ व्यक्तिले प्रतिदिन औसत ३०० ग्राम मल त्याग गर्दछ । एक स्वस्थ व्यक्तिको मलमा ६० ग्राम ठोस भाग रहन्छ । अर्थात् एक वर्षमा एक व्यक्तिद्वारा लगभग १८ किलो ठोस मलको त्याग गरिन्छ । भोजन गर्नका लागि एउटा व्यक्तिले कति मिहिनेत र प्रयास गर्दछ तर भोजनको अवशेषको व्यवस्थापनका लागि के गर्दछ भन्ने सबाल एक-एक व्यक्तिका लागि महत्वपूर्ण बन्नु आवश्यक छ ।

जसरी मलको हिस्सा पेटमा अडाएर राख्न सकिंदैन त्यसरी नै मललाई बाहिर सडाएर राख्न सकिंदैन । शौचालय सफाइ स्वास्थ्य र जीवन स्तर राम्रो बनाउनको लागि हो ।

दिगो विकासको मुख्य आधार नै स्वच्छ खानेपानी र सरसफाइयुक्त व्यवहार हो । व्यक्तिले घरभित्रको सरसफाइको महत्व नबुझेसम्म घर बाहिर फोहोर गर्ने कार्यबाट निजात पाउन सक्दैन । एक सुदृढ एवं प्रभावकारी शिक्षा, सूचना एवं संप्रेषण प्रणालीको माध्यमले स्वच्छताप्रति प्रेरणा उत्पन्न गरेर स्वच्छता एवं स्वास्थ्य शिक्षाको प्रसार गर्नु आवश्यक छ । सरसफाइ सम्बन्धी प्रविधिको अध्ययन, विकास, अनुसन्धान तथा सूचना व्यवस्थापन, दीर्घकालीन गुरुयोजनाको मूल्यांकन तथा परिमार्जन गर्ने, नीति, कार्यक्रम र कार्यनीति बनाउने, शैक्षिक सामग्रीको विकास, उत्पादन र वितरण गर्ने, वाषिर्क कार्यक्रम तथा बजेट बनाउने कार्यमा आवश्यक गम्भीरता अपनाउनु आवश्यक छ ।



source https://www.onlinekhabar.com/2023/07/1339851

प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’

मन मनकै कुरा गर्छु मनैबाट सुन्नु

मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु

मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल

मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल

हलहलहल मन हलहलहल

गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् यी । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यो गीतमा जातीय विभेदको कथा प्रस्तुत गरेका छन् ।

प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश दिइएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायतको अभिनय छ । बालकलाकारको रुपमा दिप्लव विक र प्रभार सपुतले अभिनय गरेका छन् । भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्जर सुदीप सागर हुन् ।

प्रकाशले यस वर्षलाई जातीय विभेदविरुद्धका गीत सिर्जना गर्ने वर्षको रुपमा काम गर्ने घोषणा गरेका छन् ।



source https://www.onlinekhabar.com/2023/07/1339844

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More