Sunday 23 July 2023

डिजाइनर बेल्ट र ब्याग बनाउने प्रकृति : २० हजारबाट सुरु, अहिले ५ जनालाई रोजगारी

काठमाडौंकी प्रकृति वस्तीलाई सानैदेखि फेसन डिजाइनर हुने इच्छा थियो । उनलाई फेसनको दुनियाँमा केही नयाँ गर्ने सोच त सानैदेखि थियो तर के गर्छु भन्ने चाहिं थिएन ।

उनी कक्षा ६ पढ्दा सामाजिक शिक्षकले सबैलाई प्रोजेक्ट वर्क गर्न दिएका थिए । त्यो प्रोजेक्ट वर्क कक्षाका सबै विद्यार्थीको लगभग एउटै थियो । तर एक जना विद्यार्थीको भने अरूको भन्दा फरक थियो । त्यसैले त्यो विद्यार्थीको प्रोजेक्ट वर्क हेर्न सबै जना झुम्मिए । प्रकृति पनि उत्सुक हुँदै त्यो प्रोजेक्ट वर्क हेर्न गइन् । कसरी यति राम्रो र फरक प्रोजेक्ट वर्क गरेको भन्ने प्रश्नमा ती विद्यार्थीले भने मेरो मम्मी फेसन डिजाइनर हो त्यसैले उहाँले सहयोग गर्नुभयो ।

त्यो कुरा सुनेर प्रकृति झन् उत्साहित भइन् । अब म पनि फेसन डिजाइनर बन्छु भन्ने लाग्यो उनलाई । त्यसैले उनले स्नातकमा ‘आईईसी कलेज अफ आर्ट एण्ड फेसन’मा फेसन डिजाइनिङ पढिन् ।

फेसन डिजाइनर पढेको र फेसनमा रुचि पनि भएकाले उनलाई अरूभन्दा अलि फरक लुगा लगाउन मन पर्ने प्रकृतिलाई । उनी भन्छिन्, ‘आफूले फलो गरेको फेसन टिप्सलाई सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा भिडियो बनाएर थाले । मेरो त्यो फेसन टिप्सलाई धेरैले मन पराए र माया गरे ।’

फेसन भनेको लुगा डिजाइन गर्ने मात्र हो भन्ने धेरैलाई लाग्छ । तर फेसन डिजाइनिङमा लुगासँगै  ‘एसेसरिज’ सम्बन्धी पनि पढाइन्छ । फेसन डिजाइनिङ पढेपछि बुटिक खोलेर बस्ने र लुगा डिजाइन गर्ने भन्ने सोचलाई परिवर्तन गर्न पनि उनी केही नयाँ गर्छु भन्ने सोच्थिन् ।

फेसनको लागि परिवर्तन हुने होइन आफ्नो शरीर अनुसार फेसन गर्ने हो भन्ने सोचको साथ सुरु भयो प्रकृतिको ‘वस्ती नेपाल’ जहाँ कस्टुमाइज बेल्ट र ब्याग पाइन्छ ।

यसरी सुरु भयो वस्ती नेपाल

प्रकृतिको शारीरिक बनावट बेल्ट लगाउनुपर्ने खालको थियो । तर बजारमा उनले खोजे जस्तो बेल्ट नै नपाउने । उनको पढाइ पनि फेसन डिजाइनिङ भएकोले उनलाई अरूको भन्दा अलि फरक देखिन मन पर्ने । आफूले खोजेको जस्तो बेल्ट बजारमा नपाइएपछि उनले आफ्नो लागि आफैं डिजाइनर बेल्ट बनाउने सोचिन् । तर बेल्टको लागि आवश्यक पर्ने कच्चा पदार्थ कहाँ पाइन्छ, कस्तो बच्चा पदार्थ आवश्यक पर्छ भन्ने उनलाई थाहा थिएन, न त कच्चा पदार्थको गुणस्तरको बारेमा नै ।

बेल्टको कच्चा पदार्थको लागि उनी काठमाडौंको गल्ली-गल्ली डुल्न थालिन् । उनलाई छालाको विकल्प खोजेर बेल्ट बनाउनु थियो । त्यसको लागि कच्चा पदार्थ लिन उनले धेरै मेहनत गर्नुपर्‍यो । धेरै ठाउँ खोजेपछि उनले क्षेत्रपाटीको बेल्ट बनाउने कच्चा पदार्थ ‘रेक्जिन’ भेटिन् । किनेर ल्याएर आफ्नो नाप अनुसार बेल्ट तयार परिन् ।

उनलाई फेसनमा धेरै रुचि भएको र पढाइ पनि फेसन डिजाइनर नै भएकाले उनले फेसनसम्बन्धी विभिन्न भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । उनले आफ्नो लागि बनाएको बेल्ट लगाएर पनि भिडियो राखिन्  । त्यो भिडियोको कमेन्टमा धेरैले सोधेका थिए ‘बेल्ट कस्तो राम्रो, कहाँबाट किन्नु भयो’ धेरै प्रश्न गरेको देखेर प्रकृति छक्क परिन् र उनलाई लाग्यो अब यो बेल्टकै बिजनेस किन सुरु नगर्ने ?

लुगाजस्तो लगाए पनि लुगासँग मिल्ने ब्याग, बेल्ट जुत्ता, एयररिङ जस्ता ‘एसेसरिज’ लगाइयो भने स्टाइलिस्ट देखिने उनको अनुभव थियो । फेसन डिजाइनर पढेकाहरूले लुगाको डिजाइन त गरेकै छन् त्यसैले फेसनको दुनियाँमा केही नयाँ गरौं भन्ने सोचको साथ प्रकृतिले सुरु गरिन् ‘वस्ती’ मेड इन नेपाल । जहाँ कस्टुमाइज र डिजाइनर बेल्ट र ब्याग पाइन्छ ।

नेपालको पहिलो कस्टुममेड बेल्ट

बजारमा विभिन्न प्रकारको बेल्टहरू पाइन्छ । अन्यभन्दा वस्तीको बेल्ट कसरी फरक भन्ने प्रश्नमा प्रकृति भन्छिन्, ‘बजारमा पाइने बेल्टहरू सबै एउटा नापका हुन्छन् कसैलाई त्यो ठूलो भइरहेको हुन्छ भने कसैलाई सानो आफ्नो साइज अनुसारको बेल्ट भेट्न गाह्रो भएकाहरूको लागि वस्तीको बेल्ट राम्रो विकल्प हो ।’

वस्तीले ग्राहकको नाप अनुसारको बेल्ट तयार पार्छ । यसलाई साडीमा, वान पिसमा, टिसर्ट, पाइन्ट जुनसुकै लुगामा पनि स्टाइल गर्न सकिन्छ । यस्तो अर्को विशेषता भनेको यो धेरै लामो समय टिक्छ । पातलोदेखि मोटो शरीर भएकाले पनि यो प्रयोग गर्न मिल्छ २४ देखि ४५ साइजसम्मको बेल्ट यहाँ बन्छ  ।

२० हजारबाट सुरु

फेसन डिजाइनिङ पढ्न र त्यसैसँग सम्बन्धित व्यवसाय सुरु गर्न कहाँ सजिलो थियो र प्रकृतिलाई । पहिले त आफन्तहरूले फेसन डिजाइनिङ पढाउनु भन्दा कानुन पढाऊँ वकिल बनाऊ भनेर सल्लाह दिन्थे अभिभावकलाई । तर उनको मम्मीले उनको फेसन पढ्ने चाहनालाई र उनलाई सधैं साथ दिइरहिन् ।

उनले आफ्नो लागि बनाएको बेल्टलाई धेरैले रुचाएपछि उनलाई अब यसकै व्यवसाय गर्छु भन्ने त भयो तर कसरी गर्ने भन्ने योजना थिएन उनीसँग । आफूले लगाउने भन्दा बिक्री गर्ने सामानको त गुणस्तर राम्रो हुनुपर्‍यो ।

स्नातक सकेपछि स्कुटर किनेर बाँकी रहेको २० हजारबाट परिवारको सल्लाह बिना उनले बेल्टको व्यवसाय सुरु गरिन् । बेल्टको व्यवसाय राम्रो हुँदै गएको एक वर्षपछि उनले डिजाइनर ब्याग पनि उत्पादन गर्न थालिन् । अहिले दुवैको माग राम्रो छ । दैनिक पाँचवटा भन्दा बढी अर्डर आउँछ ।

उनको व्यवसायमा आमा र बहिनीले पनि सहयोग गरिरहेका छन् । पाँच जनालाई उनले रोजगारी पनि दिइरहेकी छन् ।

ब्याग र बेल्टको मूल्य

वस्तीको बेल्टलाई एउटा मात्र होइन, धेरैवटा डिजाइन बनाएर लगाउन सकिन्छ । आफ्नो शरीरको आकार अनुसार कस्टुमाइज भएर तयार हुने वस्तीको बेल्टको मूल्य २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्छ । वस्तीमा पाइने ब्यागको डिजाइन अन्य ब्याग भन्दा फरक छन् । जहाँ ब्यागको मूल्य ३८ सयदेखि आठ हजार रुपैयाँसम्म पर्छ ।

बेल्ट किनेर केही समयपछि मोटाएर तथा दुब्लाएर त्यो बेल्ट ठीक भएन भने त्यसलाई फेरि साइज अनुसार रिपेयर गर्दिने व्यवस्था पनि छ यहाँ ।

छोटो समयमा ग्राहकबाट धेरै माया

दुई वर्षअघि सुरु भएको वस्तीको बेल्ट र ब्यागलाई धेरैले रुचाए । बेल्टलाई एउटा मात्र होइन, धेरैवटा डिजाइन बनाएर लगाउन सकिने, लामो समय टिक्ने, राम्रो गुणस्तर र अरू भन्दा फरक भएकोले वस्तीको बेल्ट र ब्याग धेरैको रुचिमा परेको हुन सक्ने प्रकृति बताउँछिन् ।

कुनै पनि नयाँ डिजाइनको ब्याग तथा बेल्ट तयार भएपछि पहिले प्रकृति आफैंले प्रयोग गर्छिन् । त्यो बेल्ट र ब्याग प्रयोग गर्दा उनलाई चित्त बुझ्यो भने मात्र बिक्रीको लागि राख्छिन् । जसले गर्दा पनि वस्तीको ब्याग र बेल्ट धेरैको रोजाइमा परेको छ ।

उनले सामाजिक सञ्जालमार्फत फेसन टिप्सहरू दिइरहने भएकाले उनको बेल्ट र ब्यागलाई मात्र होइन, उनलाई माया गर्नेको संख्या धेरै छ । टिकटकमा मात्र उनलाई फलो गर्नेको संख्या ४० हजारभन्दा माथि छ भने इन्स्टाग्राममा १० हजार ।

बेल्ट र ब्यागसँगै अन्य एसेसरिज पनि बनाउने योजना

बेल्टबाट सुरु भएको वस्तीको व्यवसाय ब्यागले झन् बढाएको छ । वस्तीको ब्याग र बेल्ट अरू भन्दा फरक र गुणस्तरीय भएकाले नै धेरैले रुचाएका हुन् । त्यसैले ब्याग र बेल्टको नयाँ नयाँ डिजाइन बजारमा आउँदैछ । साथै ब्याग बेल्टसँगै अन्य एसेसरिजहरु पनि बजारमा ल्याउने योजना प्रकृतिको छ ।

राम्रो लुगा लगाउनु मात्र फेसन होइन त्यो लुगासँग मिल्ने एसेसरिजहरु पनि लगाइयो भने झन् स्टाइलिस्ट देखिने भएकोले अब छिट्टै नयाँ डिजाइनको एसेसरिजहरु उत्पादन गर्ने उनी सुनाउँछिन् ।

‘सबै व्यक्ति एकै प्रकारका हुँदैनन्, केही मोटा हुन्छन् भने कोही पातला । उनीहरूले ओहो म त मोटो छु मलाई केही लगाएको सुहाउँदैन वा म त दुब्लो छु मलाई केही लगाएको सुहाउँदैन भन्ने सोच्छन्,’ प्रकृति भन्छिन् ‘यो लुगा मलाई सुहाउँदैन भन्दा पनि मलाई के सुहाउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ ।  म जे छु राम्रो छु भन्ने कुरा सबैले महसुस गर्नुपर्छ । यो कुरा सल्लाह दिने काममा पनि छिट्टै जोडिने मेरो योजना छ ।’



source https://www.onlinekhabar.com/2023/07/1340531

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More